Sunday, November 26, 2017

नेपाली टिभी, टक शो र विश्लेषक


सुरु सुरुमा यहि परिचय पनि आफुलाई केहि हुँ भनेर मख्ख पर्ने विषय बनेको थियो । केही लोभ थिए, केहि ईगो थिए केही स्वभाविक मानवीय कमजोरी पनि । अहिले त्यहि परिचय आफैलाई भारी हुँदै गएको छ । यसपटक गाउँतिर जाँदा त मलाई सबै राजनीतिक कार्यकर्ता र शिक्षकहरुले “राजनीतिक विश्लेषक” भनेर चिनाउँने या अव यस विषयमा त ‘विश्लेषकलाई था हुन्छ’ भनेको सुनेपछि कस्तो कस्तो आत्मग्लानी पोे भयो । किन किन यो विशेषण एक बोझ बन्दै गए झैं लाग्छ । हुन त पेशा नै राजनीतिक टिप्पणी गर्ने र त्यसैको आम्दानीले पेट पाल्ने भएकोले यस्तो परिचय आफ्नै पेशाको सम्मानका रुपमा लिन पनि नसकिने होईन । तर किन केले लखेट्यो र मलाई चैं त्यसप्रति उच्च वितराग उत्पन्न हुँदै छ त्यसमा म आफै अलमलमा छु । 
वास्तवमा मेरो यो परिचय चैं सुधिर शर्माले नेपाल साप्ताहिकमा मेरै लागि सिर्जना गरेर राजनीतिक विश्लेषक भन्ने एउटा पदजस्तो राखेर प्रिन्टलाईनमा राखिदिनु भएको विशेषणले बनेको हो । त्यस अघि र पछि त्यस्तो विशेषणयुक्त नाम कुनै नेपाली पत्रिकाको प्रिन्टलाईनमा भएको मलाई थाह छैन ।
गएको शुक्रवार । मिडियामा नेमकिपाका नेता प्रेम सुवाल र प्राध्यापक सुरेन्द्र केसीका विच कुनै टिभीको टक शो मा एकले अर्कालाई तँ भारतीय दलाल तँ कोरीयन दलाल भनेर आरोप लगाईरहेको श्रव्यदृष्य भाईरल बन्दै थियो । हाम्रा विश्लेषक, टक शो का होष्टहरुले कसरी कस्तो स्तरको भाषा प्रयोग गर्छन, कतिसम्म अराजक र अशिष्ट हुन्छन भन्ने अलग बहस र चिन्तनको विषय हुन्छ । तर केसी र सुवालको आरोप प्रत्यारोपले वक्ताको लगौंटी तल तल झारिरहेको थियो । 
त्यहि बेला नेपालका दुईवटा स्थापित टेलीभिजन च्यानलबाट मलाई टक शोका लागि बोल्न फोनबाट निम्तो आईरहेको थियो । त्यसमध्यको एउटालाई, जसले आईतवारका लागि समय मागेका थिए, मैले आफ्नो कामको अनिस्चयताका कारण आउन सक्दिन अर्को व्यक्ति वन्दोवस्त गर्नुु राम्रो भनेर आफ्नो अवस्था बताएपछि सकियो । अर्को च्यानलको लागि भने समय मिल्यो भने आउन सक्छु भरेसम्म फोन गर्नुस भनेर पर्खाएँ उनले शनिवार दिउसको समय मागेका थिए । मिलेको भए जान्थें पनि । तर मनमा भने यस्ता कार्यक्रमहरुमा सहभागि हुने कुराप्रति अलि बढि नै वितराग आउन थालेको छ । त्यसका मनग्गे कारण पनि छन ।
साँझसम्म फोन आईरह्यो । घरमा म प्राय फोन साईलेण्टमा राखेर बस्छु । वेलुका सात बजे पछि र विहान आठ बज्नु अघि सकेसम्म फोन उठाउन्न । प्राय साईलेन्टमा नै हुन्छ । केहि निजत्वका लागि हो यसो गरेको । कुनै खास उपलब्धीपूर्ण सिर्जनात्मक कामका लागि पनि होईन । न व्यापारी न नेता न व्यस्त कर्मचारी । आफ्नो पेशाका लागि यस बाहेकको समयमा सम्पर्कमा रहे पनि पुगिहाल्छ । बरु र्फुसद मिले पढ्यो भने केहि ज्ञान पनि हुने उपलब्धी पनि । त्यसैले उताबाट आएको फोनमध्ये मिस्डकलहरु हेरेर आवस्यक ठाने कलव्याक गरिहाल्छु । उक्त फोनवालाले मलाई शनिवारका लागि समय मागिरहेका थिए (साथी भाई हुन, हाई हेलो भैरहन्छ नाम लिन सक्दिन, उनको कुनै दोष पनि म देख्दिन) । मैले साँझ समय मिल्ने पक्का भएपछि एसएमएस गरिपठाएं ‘ल्याउने लाने व्यबस्था भयो भने आउन सक्छु है ।’
उताबाट रिप्लाई आयो ‘म भोली विहान फोन गर्छु दाई भनेर लेखिएको थियो । मैले यसपछि सम्पर्क गर्ने कुरा आएन । भोलीपल्ट उताबाट पनि फोन आएन । मलाई हाईसञ्चो भयो । उक्त दिन मैले भक्तपुर सिरुटार पुगेर ८६ बर्षका बा र ७९ बर्षकी आमासंग दुई घण्टा विताएँ । टिभीमा गएको भए म बा आमालाई भेट्न जान सक्ने थिईन ।
तर एउटा कुरा मनमा खेलीरह्यो । उनले मलाई ल्याउने लाने व्यबस्था गर्न नसकेर फोन गरेनन कि ? या आफै आउन नसक्नेलाई को फकाई फकाई ल्याओस भनेर छाडिदिए होलान ? 
नेपालमा टिभी टक शोहरुमा होष्टहरुले आफ्नो कार्यक्रमको क्षेत्र अनुसार विभिन्न क्षेत्रका विश्लेषक, या विषय विज्ञ या त्यस क्षेत्रका चर्चित व्यक्ति या राजनीतिक विषय छ भने नेताहरुलाई बोलाएर कार्यक्रम चलाई रहन्छन । यस्तो कार्यक्रम रेडियो एफएममा पनि हुन्छन । पत्रपत्रिकाले अन्तरवार्ता र वाईट राखेर पनि यस्तै मान्छेहरुलाई समेटिरहेका हुन्छन । कतिपय व्यक्तित्वहरुलाई यस्तो कार्यक्रममा जानु र टेलीभिजनका पर्दामा देखिनु आकर्षणको विषय हुन्छ । शुरुशुरुमा मैलाई हुन्थ्यो । यसरी जानेहरुलाई प्राय न त कुनै पारिश्रमीकको व्यबस्था हुन्छ न ल्याउने लाने । एकाध सञ्चारगृहले मात्र सम्मानपूर्वक ल्याउने लाने व्यबस्था गर्छन । कान्तीपुर टिभी यस्तोमा अग्रणी छ (त्यसमा पनि एकपटक मेरो हुर्मत भएको छ र उक्त समयको लाईभ कार्यक्रम नै रद्ध गर्नु परेर कार्यक्रम व्यबस्थापकलाई आपत परेको छ । त्यो चैं सामान्य समय हिसाव गर्दा गरिएको व्यबस्थापकीय त्रुटिले भएको थियो होला भन्ने मेरो अनुमान छ) । 
यसपटकको कुरा गरौं । म कुनै दल विशेषको नेता होईन जसलाई टेलीभिजनमा अनुहार देखाएर मतदाता या कार्यकर्तालाई प्रभावित पार्नु परोस । म कुनै सिने कलाकार या गित संगित क्षेत्रको मान्छे पनि होईन जसलाई आफ्नो कलाको विज्ञापन गर्ने माध्यमका रुपमा टिभीमा जान रहर र वाध्यता होस । कुनै व्यापारी पनि होईन जसलाई आफ्नै धनको तुजुकले मताएको तर सामाजीक प्रतिष्ठा ग्लामरस नभैसकेकोले यस्ता टक शोका लागि खर्च गरेर या विज्ञापन दिएर भएपनि अनुहार देखाउने मन होस । 
आफ्नो राजनीतिक पृष्ठभूमि, अध्ययन र व्यसन तथा मुख्यतया हातमुख जोर्ने मेलोको रुपमा पत्रपत्रिकामा राजनीतिक टिप्पणी लेख्ने क्रममा यता चिनीएको हुँ । वामपन्थी पृष्ठभूमिबाट यता आउने थोरै अलि अराजक मध्यको भएकोले पनि मलाई कहिलेकाहिँ रङ्ग या वाना मिलाउने टक शोमा बोलाईन्छ । अलिअलि मेरो अराजक र अलि बढि स्वतन्त्र अभिव्यक्तिले पनि बोलाउन प्रेरित गर्दो हो ।
मैले यदि टक शोमा आउने हो भने पारिश्रमीक चाहिन्छ भनेर अहिलेसम्म भनिहालेको छैन । किनभने यस्तो उपस्थितीले मेरो पेशागत प्रभाव विस्तारमा थोरै भएपनि मद्धत गर्छन । तर त्यसले सार्वजनिक हुने जुन छवि हुन्छ त्यो भने दिक्क लाग्दो हुन्छ । खासगरी शहरमा हिँड्दा पसलमा, रेष्टुरेण्टहरुमा या बसमा कसैले चिन्ने र बोलाउने या कुरा गर्ने गर्दा आफ्नो निजत्व हराएको अनुभूति हुन्छ । दिक्क लाग्छ पनि । 
तर म बसेको ठाउँबाट शहर झर्न सजिलो छैन । मेरो नीजि सवारी साधन छैन । कलङ्कीको बाटो त जाम र धुलोले हिडिसाध्य छैन । कहिले कहिँ त रत्नपार्क पुग्न नै दुई घण्टा लाग्छ । त्यसैले म २५ मिनेट हिँडेर मच्छेगाउँ जान्छु र बस चढ्छु । बसले १ घण्टामा रत्नपार्क पुर्याउँछ । त्यो टिभी स्टेशनसम्म पुग्न अर्को बस चढ्नु पर्छ जसले कम्तीमा आधा घण्टा थप लगाउने छ । यसरी म जाँदा मात्र १ घण्टा ५५ मिनट लाग्छ । आउँदा पनि त्यति गर्दा तिन घण्टा ५० मिनट जति लागिहाल्छ । टिभी कार्यक्रम १ घण्टा, यसो चिया खाँदा आधा घण्टा लाग्यो भने थप डेढ घण्टा समेत गर्दा मेरो शनिवारको दिनको झण्डै छ घण्टा उक्त टक शोका लागि खर्च हुनेथियो । बस भाडा पनि ७० रुपैया खर्च हुन्थ्यो । यति हिसाव गरिसके पछि ः न आउने जाने व्यबस्था छ न पारिश्रमीक । म के का आकर्षणले उक्त टिभी शो मा जानु ?
यसरी बोलाउने साथिहरु कार्यक्रम सञ्चालन गरेवापत तलव खान्छन । टिभीका लगानीकर्ताहरुले त्यहि समयमा विज्ञापन बजाउँछन र आय आर्जन गर्छन । यता विश्लेषक भनाउँदाहरुको भने आफ्नै खर्चमा लखर लखर जानु र कसैप्रति टिप्पणी गरेर शत्रु कमाउनु जस्तो मात्र हुनजान्छ । 
यो टिप्पणीमा भन्न खोजेको कुराको सार भने निकै थारै छ । मैले दुई घण्टामा लेखिसक्ने राजनीतिक टिप्पणीको मुल्य पाँच हजारसम्म हुन्छ । यता ६ घण्टा खर्च गरेर टिभीमा जाँदा भने उल्टो आफ्नो खल्तीबाट खर्च गर्नुपर्ने हुन्छ । कहिलेसम्म यी टिभीवालाहरु यसरी अरुको समय, क्षमता र पैसा समेत प्रयोग गरेर कार्यक्रम चलाईरहनु र आय आर्जन गर्नुलाई व्यावसायीक नैतिकता मानेर बस्ने होलान ? 
२०७४÷०८÷१०


No comments:

Post a Comment