Saturday, November 4, 2017

त्यो अचानक यो अचानक





नयाँ पत्रिका   |   कार्तिक १६, २०७४
यो अचानक (२०१७) 
पहिले यो र अहिले भइरहेको अचानककै कुरा गरौैँ । यतिवेला नेपाली राजनीतिलाई आउँदै गरेको चुनावले तताएको छ । लामो समय ठेक्कापट्टामा कमिसन खान, कर्मचारी सरुवा र बढुवा गराउन, मन्त्री बनाउन र फुस्काउन, समीकरण बनाउन र भत्काउन र मूलतः आफ्नो सत्ताको आयु तन्काउन मात्र ध्यान दिएका नेताहरू इस्त्री गरेका दौरासुरुवाल थन्काएर पुराना कमिज पाइन्टमा स्पोर्ट सुज लगाएर आङ तन्काउँदै निर्वाचन क्षेत्रतिर लागेका छन् । सरकार बनाउन र भत्काउन बनाइने गठबन्धनको स्वरूप बदलिएर चुनाव जितहारकै लागि नयाँ समीकरण बन्दै छन् । भत्कँदै र फेरि बन्दै छन् । एकथरी नरेहरू ओल्लो घर पल्लो घर सरिरहेका छन् । आयाहरू गया र गयाहरू आयाराम बनिरहेका छन् । दृश्य रमाइलो छ । र, यो रमाइलोमा एउटा कोरस गीत थपिएको छ– विचारधाराको ।
अचानक कांग्रेसका नेताहरू कतै धमिराले खाएका पोस्तकबाट धुलो झार्दै प्रजातान्त्रिक समाजवादको गायत्री कण्ठ पार्न व्यस्त छन् । यता एकीकृत माक्र्सवादी लेनिनवादी र माओवादीहरू पुराना रेडबुक खोज्दै त्यसको गाताको आभा आफ्नो अनुहारमा पर्ने गरी घामतिर फर्काउँदै छन् । एकाएक कांग्रेसले आफ्ना सहयात्री वर्गबन्धुहरूलाई कम्युनिस्ट अधिनायकवादी देख्न थालेको छ । शरीरमा देवी प्रवेश गरेर बर्बराउँदै गरेको झाँक्रीझैँ कांग्रेसका नेताहरू यताउता फर्कंदै देशमा कम्युनिस्टको एकदलीय अधिनायकवाद प्रवेश गरिसकेको र केही सातामै नेपालीले रुन पनि नपाउने गरी त्यसले ढपक्कै ढाक्छ भन्न थालेका छन् । मानौँ बालकलाई भुताहा कथा वाचन गरिँदै होस् । अचानक तिनीहरूलाई सिद्धान्तको याद आएको छ । विचारको याद आएको छ । दर्शनको याद आएको छ । अस्ति भर्खर माओवादी नेतृत्वको सरकारमा पार्टनरसिप गरेको तिनले बिर्सेका छन् । अस्ति भर्खर एमाले नेतृत्वको सरकारमा पार्टनरसिप गरेको पनि भुसुक्कै भुलेका छन् । अहिले पनि माओवादी मन्त्रीहरूसहितको सरकार रहेको पनि तिनले बिर्सेका छन् । र, बिर्सेका छन्, ०४६ र ०६३ का आन्दोलनका कुरा । (मलाई भने अचानक ०४६ सालअघि भएको विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ र अखिलका नेताले गर्ने भाषण या ०४८ को संसदीय निर्वाचनमा नेताहरूले गर्ने भाषणको सम्झना भइरहेछ ) ।
यता एमाले–माओवादी वृत्तमा झन् अनौठो दृश्य गोचर हुँदो छ । चुनावका लागि गरिएको गठबन्धनलाई संसदीय प्रतिपक्षले दिनदिनै कम्युनिस्ट गठबन्धन भन्न थालेपछि उनीहरूलाई बडो आपत् परेको छ । गठबन्धन त मधेसवादी नेताहरूसँग पनि गरिएकै हो । गठबन्धनका लागि राप्रपाजस्ता हिन्दू धर्मवादी र राजावादीसँग पनि खुला राखिएकै हो । तर, कांग्रेस र उसको वृत्तबाट रातदिन, चोक–चौतारा र चियापसलदेखि मेलापात र स्कुल अफिससम्म तिमीहरू कम्युनिस्ट नै हौ भन्दै औंला ठड्याएको देखेपछि एमाले–माओवादी वृत्त तिलमिलाएको छ । कहाँ उहिल्यै दराजमा थन्क्याएका विचार र सिद्धान्तको झोला काँधमा भिर्नुपरेको छ ।
उपल्लो वर्गका व्यापारी, दलाल पुँजीपति, ठेकेदार, कालाबजारी, उदारवादको लिस्नो चढेर बनेका नवधनाढ्यहरूको सरसंगतको फल कमिसनले आफ्नो वर्गोत्थान हुँदै जाँदा बिर्सिइएका सिद्धान्त, वर्ग र समाजवाद घोक्नुपरेको छ । सर्वत्र निजी शिक्षा र स्वास्थ्य सेवालाई प्रोत्साहन गर्दै सार्वजनिक संस्थालाई सकेसम्म दुहिसकेपछि यता जनतासँग वामपन्थी एकताको नक्कली आइएसओ प्रमाणपत्र देखाउँदै हिँड्नुपरेको छ । सबैभन्दा ठूलो कुरो त हिजो जे–जे पढेर आफूलाई माक्र्सवादी या कम्युनिस्ट भन्ने गरिएको थियो, अब त्यही–त्यही पढेर यो गठबन्धन कम्युनिस्ट नभएको, अधिनायकवादी नभएको भन्दै बचाउ गर्नुपरेको छ । यति गर्दा पनि उनीहरू घरिघरी झुक्किएर आफूलाई कम्युनिस्ट नै भएको भन्ने ठान्न विवश भएका छन् । एकथरी त सपनामा पनि झस्किँदा हुन्, कतै बिहान उठ्दा कम्युनिस्ट भएर नउठियोस् । कतिपय त वामपन्थको बचेखुचेको पिठोलाई सक्कली माक्र्सवादी ब्रान्डको चामल भन्दै बेच्न थालेका छन् । कमरेड विनोद चौधरीले अचानक लोकतन्त्रवादी भएर वक्तव्य दिएपछि एकथरीलाई लाग्न थालेको छ– हो भने हो त लौ ।
अचानक नेपाली राजनीतिको वृत्तमा विचारधाराको विषय प्रवेश गरेको छ । कांग्रेसहरू आफ्नो नेतृत्वमा सारा सार्वजनिक संस्थान कमजोर बनाइसकेपछि लोककल्याणकारी राज्य र प्रजातान्त्रिक समाजवादको सपना बेच्न विवश भएका छन् । एकैपटक सम्भ्रान्तहरू, ठूला पुँजीपति र नवधनाढ्यको सम्पत्ति र हाँस्न पाउने अधिकारको रक्षा पनि गर्ने र गरिबको रुन पाउने अधिकारको रक्षा पनि गरिदिने दायित्व कांग्रेसले आफ्नो काँधमा भिरेको छ ।
यसरी अचानक नेपालमा समाजवाद र कम्युनिस्ट शब्द सार्वजनिक बहसको केन्द्रमा पुगेका छन् । अल्प समयका लागि नै सही यो राम्रो भएको छ । कमसेकम नयाँ पुस्ताले यी शब्दबारे धेरथोर चासो राख्ने मौका पाएको छ । हरेक कालो बादलमा चाँदीको घेरा देखिन्छ भने कांग्रेस, कम्युनिस्टहरूको यो विवादमा किन चाँदीको मात्र सुनकै घेरा देखिन थालेको माने पनि हुन्छ ।
त्यो अचानक (१९१७)
नेपालमा त्यतिवेला कम्युनिस्ट हो र होइन, हो हो जस्ता भाषामा बहस भइरहेको छ, जतिवेला विश्वभर अक्टोबर क्रान्तिको सय वर्ष पुगेको भन्दै सम्झना कार्यक्रम गरिँदै छ । दिवस मनाइँदै छ । यसै साता अर्थात् ७ नोभेम्बरमा रसियाली कम्युनिस्ट पार्टी बोल्सेभिकहरूले कब्जा गरेका थिए । लेनिनको नेतृत्वमा रुसका मजदुर किसान र युद्धमोर्चाबाट फर्केका सिपाहीले गरेको विद्रोहबाट पहिलोपटक समाजवादी सत्ता स्थापित भएको थियो । रसियाली बुर्जुवा वर्गले कत्ति नपत्याएका, पश्चिमा विश्लेषकले पटक्कै भाउ नदिएका, फेब्रुुअरी क्रान्तिका समयमा खासै शक्तिमा नदेखिएका बोल्सेभिकले आमसाधारण रसियालीको समर्थनमा गरेको सशस्त्र विद्रोह सफल भएको थियो ।
नोभेम्बर ८ का दिन बोल्सेभिकका नेता तथा पहिलो कम्युनिस्ट सरकारका प्रमुख लेनिनले सम्पूर्ण निजी सम्पत्तिमाथि नियन्त्रणको आज्ञप्ति जारी गरेका थिए । अब किसानलाई जमिन वितरण गरिने भएको थियो । कारखानाको सञ्चालन मजदुरको सहभागितामा गर्ने भनिएको थियो । बैंकहरू राष्ट्रियकरण गरिएका थिए । पुराना सरकारी कार्यालयका बाबुसाहेबहरू, बैंकका व्यवस्थापक र कर्मचारीहरू यस्तो सोभियत सत्ताको मातहत काम गर्न अस्वीकार गरिरहेका थिए । पेत्रोग्राद र मस्कोका सडकमा बुर्जुवा सम्भ्रान्त वर्गका सदस्य वोल्सेभिकलाई धारेहात लगाएर गाली गर्दै दुई दिन पनि यिनको सत्ता टिक्दैन भन्दै थिए । सारा युरोपेली र अमेरिकी पुँजीवादी साम्राज्यवादी शासकले सुरुमा बेवास्ता गरे पनि पछि बोल्सेभिकहरूलाई सत्तामा टिक्न नदिने भन्दै रसियाली प्रतिक्रान्तिकारीलाई हातहतियार र फौजी सहयोग गर्न थालेका थिए । अक्टोबर क्रान्तिपछिका तीन वर्ष घनघोर गृहयुद्ध भएको थियो । अन्त्यमा समाजवादी देशका रूपमा रुस आफ्नो खुट्टामा उभिन सफल भयो ।
एकातिर रुसमा समाजवादको अभ्यास गरिँदै थियो । अर्कातिर त्यही जसका लागि समाजवाद भनिएको हो, उही निर्णय प्रक्रियामा धेरै सामेल हुन नपाउने र नेताको आदेश जनमतभन्दा बलियो हुने नोकरशाही राज्य प्रणाली अपनाउन थालियो । एकातिर किसानले जमिन पाए (जुन पनि अचानक जस्तै सामूहिकीकरण गरियो) । मजदुर, सर्वहारा, सुदूर इलाकाका गरिब किसानका सन्तान सबैले शिक्षामा अवसर पाए । स्वास्थ्यमा पहुँच स्थापित भयो । परम्परागत सामन्त जमिनदार, सेनाका जर्नेल र सहरिया पुँजीपति वर्ग समाजवादी व्यवस्थापनको प्रतिरोध गर्न नसकेर पलायन भयो या सम्झौता गरेर बस्यो । रुसले अभूतपूर्व रूपमा एउटा कुरा स्थापित गर्‍यो– यो संसारमा शासन गर्ने अधिकारमा कसैको एकलौटी भन्ने हुँदैन । हजारौँ वर्षदेखि सत्तामा बसेको सम्भ्रान्त वर्ग र पछि सत्तामा पुगेको पुँजीपति वर्गलाई गद्दीबाट खसालेर हेपिएका, दलिएका, सीमान्तीकरणमा परेर आफ्नो निजी सपना देख्नबाट वञ्चित गरिएकाहरूले संगठित भए भने सत्ता चलाउन सक्छन् । यही दुनियाँमा समानता सम्भव छ । यही दुनियाँलाई सबैको साझा बनाउन सकिन्छ भन्ने स्थापित भयो । महिलाहरू खुलेर घरबाहिरको दुनियाँमा पुरुषसँग सहकार्य गर्न सक्ने भए ।
साम्राज्यवाद रक्षात्मक बन्दै गएर ढल्यो । उपनिवेशहरू मुक्त भए । जाति व्यवस्थाहरू ढल्दै गए । साना देशलाई आत्मनिर्णयको अधिकार प्राप्त हुँदै गयो । स्रोतबाट वञ्चित गराइएकाहरूले अधिकार खोज्दै गए र अरू देशमा पनि समाजवादी क्रान्ति भयो । स्वयं पुँजीवादले आफ्नो रूप बदलेर अनुहारमा मानवीय रंग घोल्न, लोककल्याणकारी राज्यका अवधारणा अपनाउन, सामाजिक सुरक्षाको व्यवस्था गर्न, महिलालाई पनि मतदानको अधिकार दिन बाध्य भयो ।
यसरी अचानक, आजभन्दा सय वर्षअघि दुनियाँको चित्र बदलिएको थियो । त्यसको संगीत अहिले पनि बजिरहेको छ । त्यसको धुन अहिले पनि जताततै सुनिन्छ । त्यसबाट अहिले पनि सम्पत्तिशाली वर्ग तर्सिरहेको छ । अहिले पनि मजदुर र श्रमजीवी वर्गले त्यसबाट आशाको उज्यालो पाइरहेको छ । सय वर्षका अनेक हन्डर, आफ्नै कमजोरी र गल्तीका बाबजुद, सोभियत समाजवादको पतनका बाबजुद त्यसले मानिसलाई देखाएको आशा आत्मसम्मान र भविष्य मरेको छैन ।
यसरी ७ नोभेम्बर १९१७ मा समाजवाद श्रेष्ठ हो कि पुँजीवाद भन्ने लडाइँले अनेक तरहले हामीलाई अहिले पनि प्रभावित गरिरहेको छ । जसरी त्यो वेला बुर्जुवा समाजमा कम्युनिस्ट शब्द गालीको विषय थियो । अहिले नेपालमा पनि त्यस्तै बनाउने प्रयास जारी छ । जसरी त्यतिवेला समाजवाद र पुँजीवादबीचको लडाइँ तिख्खर थियो र मानिस दुई ध्रुवमा विभाजित थिए, पानी मिसाइएको सुरुवाको पनि सुरुवा जस्तो भए पनि अहिले नेपालमा त्यो जारी छ ।
अक्टोबर दिवसले समाजवाद र पुँजीवादसम्बन्धी बहसलाई बढी जिम्मेवार बनाउन र क्षणिक लाभका लागि होइन, दीर्घकालीन सन्दर्भका लागि चेतना माझ्ने बनाउन सहयोग पुर्‍याओस् । आफैँभित्रका कमजोरी चिन्न र सच्चिँदै अघि बढ्न प्रेरणा प्रदान गरोस् ।

No comments:

Post a Comment