Saturday, November 4, 2017

सीको उदय र चीनको पुनरोदय

बुधबार बिहान ग्रेट हल अफ दि पिपुलमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीको आगामी पाँच वर्षे कार्यकालका लागि निर्वाचित कम्युनिस्ट पार्टीको शक्तिशाली निकाय पोलिटब्युरोको स्थायी समितिका नेता उपस्थित थिए । पार्टीको १९औँ महाधिवेशनबाट महासचिवका रूपमा पुनः निर्वाचित सी जिनपिङ पत्रकारहरूका अगाडि उभिएर बोलिरहेका थिए । उता उनका ६ जना सहयोगी मञ्चमा सिपाहीझैँ हलचल नगरी उभिएका थिए । त्यहाँ उनीहरूलाई मात्र होइन, जिनपिङलाई पनि बस्ने कुुर्सीको व्यवस्था थिएन । पत्रकार सम्मेलनभरि नै तिनीहरूको त्यस प्रकारको अनुशासित उपस्थिति लिबरल डेमोक्रेसी भएका देशमा कल्पना पनि गर्न सकिन्न । अघिल्लोपटक महासचिवका रूपमा चुनिएर सीले सम्बोधन गर्दा पनि यस्तै दृश्य देखिएको थियो । यसपटक चीनको सबैभन्दा शक्तिशाली नेतृत्वपंक्ति मानिने कम्युनिस्ट पार्टीको स्थायी समितिबाट पाँचजना सदस्यले बिदा लिएका छन्, जसको उमेर ७० को नजिक पुगेको छ । अनि पाँचजना नयाँ सदस्य थपिएका छन् । जिनपिङ र प्रधानमन्त्री ली खछ्याङ मात्रै यो पंक्तिमा दोहोरिएका छन् । मंगलबार उनीहरू सबै केन्द्रीय समितिमा निर्वाचित भएका थिए । बुधबार बसेको केन्द्रीय समितिको बैठकले यो नेतृत्व चयन गरेको थियो । तर, बुधबार बिहान निस्कने हङकङको अंग्रेजी दैनिकले मात्रै को–को स्थायी समितिमा आउँदै छन् भन्ने अनुमानसहित नाम प्रकाशित गरेको थियो । अर्थात् चीनजस्तो शक्तिशाली देशको राज्य सञ्चालन गर्न को–को आउँदै छन् भन्नेबारे दुनियाँ अनभिज्ञ नै थियो । पश्चिमा सञ्चार माध्यम र विश्लेषकले लिएका कतिपय नाम यसमा परेनन् ।
यसले देखाउने कुरा के हो भने उदारवादी लोकतन्त्र भएका देशमा जस्तो जनताबाट प्रत्यक्ष निर्वाचनमार्फत शासक चुनिने र आवधिक निर्वाचनमार्फत फेरबदल हुने प्रणालीभन्दा चीनले भिन्न अभ्यास गरिरहेको छ । हामीकहाँ निर्वाचनअघि देखिएका तालमेल र गठबन्धनका अनेक खेल र झेल, उम्मेदवार बन्न दलभित्र र बाहिर हुने चलखेल, पदको खरिद बिक्रीले वाक्क बनाएका वेला चीनको यो प्रयोग अचम्मको लाग्न सक्छ । त्यहाँ लामो समय पार्टी जीवनका अनेक अंगमा काम गरेर, लामो शासकीय अनुभव संगाली आफ्नो विशिष्ट पहिचान बनाएका र समाजले अस्वीकार गर्ने खालको कुनै दाग नलागेका नेतामध्ये पार्टीले अनेक परीक्षण गर्छ र नेतृत्वमा लैजान्छ । तिनै नेता पछि संसद्बाट राष्ट्रपति, प्रधानमन्त्री आदि पदमा चुनिन्छन् । यस्तो प्रणाली अभ्यास गर्दा डोनाल्ड ट्रम्पहरू नेतृत्वमा आउन्नन् भन्ने उनीहरूको विश्वास देखिन्छ । यो प्रणालीबाट नेता छान्दै र राजनीतिक स्थिरता कायम गर्दै आर्थिक विकासतिर लम्कनु, जनताको जीवनस्तर उकास्नु र देशलाई समृद्ध र शक्तिशाली बनाउनुलाई चीनले राजनीतिक प्रणालीका रूपमा सफल मोडल भन्दै विश्वलाई सन्देश दिन खोजेको छ । उदारवादी लोकतन्त्र भएका दुनियाँभरका देशमा देखिने राजनीतिक उतारचढावबाट मुक्त भएर चीनले विगत चालीस वर्षमा गरेको आर्थिक उन्नतिलाई उसले यही मोडलको सफलता मानेको छ ।
सी विचारधारा
विगत ८ वर्षदेखि चीनले विश्व अर्थतन्त्रको विकासमा ३० प्रतिशतको योगदान गर्दै आइरहेको छ । बितेका ४० वर्षमा चीनले ७० करोड मानिसलाई गरिबीबाट मुक्त गरेर मध्यम वर्गमा उकालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र त भएको छ नै सँगै विश्वशक्तिमा पनि प्रतिस्पर्धी महाशक्ति बन्ने तरखरमा छ । यसले चीनको आत्मविश्वास ह्वात्तै बढाइदिएको देखिन्छ । यसको अभिव्यक्ति बेल्ट एन्ड रोड पहलमा व्यक्त भएको छ । बिस्तारै चीन विश्वकीकरणको प्रवक्ता बन्न पुगेको छ । सैन्य दृष्टिले क्षेत्रीय शक्तिबाट विश्व शक्तिमा बदलिँदै छ । विश्वको प्रत्येक कुनामा आफ्नो बजार विस्तार गर्दै छ, लगानी फैलाउँदै छ र वैदेशिक व्यापारबाट अकुत मुनाफा आर्जन गरेर खर्बौैंको बचत गर्न सफल भएको छ ।
यही वेला विश्व शक्तिका रूपमा अमेरिकाको भूमिका खुम्च्याउने गरी राष्ट्रपतिका रूपमा एकजना जोकर जस्ता लाग्ने डोनाल्ड ट्रम्प सत्तामा आएका छन् । युरोप र अमेरिकामा देखिएको पपुलिस्ट दक्षिणपन्थी राजनीतिको उदयले उदारवादी विश्वव्यवस्थामाथि प्रश्न उठेको छ । हरेक देशको हरेक समुदाय या व्यक्तिले असुरक्षित महसुस गर्दै गएको छ । अमेरिकामा काला जातिका मानिस र हिस्प्यानिक या एसियाली मात्र होइन, स्वयं एंग्लो स्याक्सन गोरासमेत भयभीत हुँदै गएका देखिन्छन् । युरोप जातिवादको रंगमा घोलिँदै गएको छ । अफ्रिका र ल्याटिन अमेरिका भ्रष्ट शासक र जारी विश्वकीकरणका अनेक थप्पड खाँदै लड्खडाइरहेका छन् । मानिस परिवर्तन खोजिरहेका छन् । यता चीन यही समयमा उच्चस्तरको आर्थिक वृद्धि र चामत्कारिक पूर्वाधार विकासतिर लम्केको लम्केकै छ । यसले चीनमा नयाँ आशा र उत्साह जागेको छ ।
यसका लागि माओले गरेको जनवादी क्रान्ति, देङले आरम्भ गरेको खुलापन र बजार समाजवादको प्रयोगले मुख्य भूमिका खेलेको मानिन्छ । माओ र देङले निर्माण गरेको यही जगमा उभिएर सी जिनपिङले चीनको पुनरोदयको सपना देखाएका छन् । सत्ताधारी दलका कार्यकर्ता नेता र आफन्तले विशेष लाभ हासिल गर्ने भ्रष्टाचारले लछप्पै भएको र क्रोनी पुँजीवादको विकास हुँदै गएको पछिल्लो चिनियाँ राजनीतिमाथि सीले आत्मविश्वासपूर्वक हस्तक्षेप गरे । उनले चिनियाँ सपनाको कुरा गरे । एउटा उच्चस्तरको विकसित समाजवादी समाजको निर्माण गर्ने लक्ष्य तय गरे र यसप्रति चिनियाँ समाजमा विश्वास स्थापित गरे । यसैलाई उनले सी विचारधाराका रूपमा पार्टी विधानमा सामेल गराएका छन् । यद्यपि यो केवल सीको विचार होइन । बरु सामूहिक नेतृत्वमा विश्वास गर्ने चिनियाँ कम्युनिस्ट पार्टीका अनेक नेता र अनुसन्धाताका अनेक प्रयासको सामूहिक अभिव्यक्ति हो ।
एक पार्टी राज्य अर्थात् एक पार्टी सत्ताको अवधारणामा हिँडेर समाजमा विद्यमान अन्तरविरोध हल गर्न सकिन्छ । आर्थिक विकास र सांस्कृतिक सम्पन्नता हासिल गर्न मानिसलाई धनी बनाउन सकिन्छ र व्यक्तिमा रहेको सम्भावनालाई उच्चस्तरमा प्रस्फुटित हुने समाजवादी मूल्य प्रणाली सम्भव छ भन्ने मान्यता बोकेको चिनियाँ मोडलको समाजवादी व्यवस्था अबको विश्वको वैकल्पिक विचारधारा हो भन्ने जिनपिङको मान्यतालाई नै कम्युनिस्ट पार्टीले सी जिनपिङ विचारका रूपमा विधानमा सामेल गरेको छ । वैचारिक रूपले यो धाराको निर्माता अन्वेषकचाहिँ अहिले स्थायी समितिमा सामेल भएका एकजना नेता वाङ हुनिङ पनि हुन् ।
सी आउने मार्चमा अर्को पाँच वर्षका लागि फेरि राष्ट्रपतिमा निर्वाचित हुनेछन् । आगामी पाँच वर्ष चीनको नेतृत्व गर्ने क्रममा उनले चीनमा प्रयोग गरिएको बजार समाजवादलाई अझ उन्नत बनाउने, विश्वको उत्पादन कारखाना भनिने चीनलाई आधुनिक र उच्च प्रविधिमा आधारित अर्थतन्त्रमा फड्को मार्ने, बाँकी रहेको गरिबी समाप्त गर्ने लक्ष्य तय गरेका छन् । यसका प्रभाव विश्वव्यापी हुने निश्चित छ । यसअघि नै वान बेल्ट वान रोड, एआइआइबीलगायत संस्थागत प्रयासमार्फत चीनले हासिल गरेको नेतृत्वमार्फत चीनलाई अब अरूले तय गरेका कानुन पालन गर्ने देश होइन, कानुन या नियम बनाउने देशका रूपमा स्थापित गर्ने उनको प्रयास हुनेछ ।
सीको शक्तिको नेपाल प्रभाव
सीको सबैभन्दा महत्वपूर्ण राजनीतिक पक्ष भनेको माओपछि कम्युनिस्ट पार्टीको भूमिका र साम्यवादी विचारप्रतिको जोड हो । चीनले सन् १९७८ पछि नै विश्वमा कम्युनिस्ट विचारधाराका पक्षमा या समाजवादका पक्षमा काम गर्न छाडेको थियो । पहिले समर्थन दिँदै आएका कम्युनिस्ट या माओवादी क्रान्ति या दललाई समर्थन दिन छाडेको थियो । तर, सीले यसमा परिवर्तन गरेर समाजवादी खेमा निर्माण गर्ने सूक्ष्म प्रयास गर्ने संकेत दिएका छन् । नेपालमा, जहाँ भर्खरै कम्युनिस्ट पार्टी एउटै छातामुनि आउन थालेका छन्, जसका नेता व्यक्तिगत रूपमा चीनका नेताहरूसँग परिचित छन् तथा भूराजनीतिक रूपले निकट छन्, सीले लिएको नयाँ दृष्टिकोणको दूरगामी प्रभाव पर्ने सम्भावना छ । अहिले स्थायी समितिमा बढुवा भएका एकजना नेता वाङ याङ केही महिनापहिले नेपाल भ्रमणमा आएका वेला यहाँका सबै दलका नेतालाई भेटेको, तीमध्ये केपी ओलीसँग अलग्गै आधा घन्टा भेटेको र कम्युनिस्टलाई एकै ठाउँमा ल्याउन सम्झाएको समाचार पुरानो भएको छैन । यसका लक्षण देखिएका छन्, जसको जस अलिकति वाङलाई गयो भने अनौठो मान्नुपर्दैन ।
दि गार्जियनमा सीको साढे तीन घन्टाको प्रतिवेदनमाथि टिप्पणी गर्दै मार्टिन केटलले भनेका छन्– सीको सम्झौताहीन आत्मविश्वास र महत्वाकांक्षा सबैभन्दा अर्थपूर्ण विषय हो । यो त्यस्तो व्यक्तिको भाषण थियो, जसलाई आफ्नो शक्तिशाली देश कहाँ लैजाने भन्ने थाहा छ र त्यहाँसम्म लैजाने शक्ति पनि छ । वास्तवमा अब चीन कता जान्छ ? विश्व त्यसैको प्रतिक्रियामा चल्नेछ अनि चीन कहाँ पुग्छ भन्ने कुरा सी र उनको टिमलाई राम्रोसँग थाहा छ । बहुलवाद र खुलापनबाहेकका सन्दर्भमा चीनको समाजवाद नेपालका अनेक रंगका वामपन्थी र कम्युनिस्टका लागि मार्गदर्शक बन्न सक्छ । यद्यपि सी विचारधारा भने चिनियाँहरूको आफ्नै कुरा हो नेपालीका लागि यसको खासै अर्थ रहनेछैन ।
 काठमाडौं   |   कार्तिक ०९, २०७४

No comments:

Post a Comment