Saturday, October 5, 2013

कमरेड केसी र ‘कम’रेड भेटवाल

म आफूलाई अहिले पनि सगर्व एमाले हुँ भन्न रुचाउँछु । भ्रम नरहोस् यहाँ विमल निभाको परिभाषाअनुसारको एमाले भनिएको हो । हो म एमाले नै हुँ : ‘एउटा माक्र्सवादी लेखक’ । यो विचित्रको संसारमा मेरो राजनीतिक हैसियत पनि विचित्रसँग एमाले अर्थात् एकीकृत माक्र्सवादी लेनिनवादी पार्टीसँग भूतदेखि वर्तमानसम्म गाँसिएको छ । मैले ०५९ सालपछि लुसुक्क अर्थात् विनाहल्लाखल्ला पार्टीसँगको औपचारिक सम्बन्ध त्यागेको थिएँ । कुनै अर्को पार्टीमा प्रवेश गरेर या एमालेसँग कुनै झ्वाँक फेर्न परित्यागको वक्तव्य दिएर म एमाले भन्ने पार्टीमा नरहेको होइन । बरु विशुद्ध एमाले (एउटा माक्र्सवादी लेखक) बन्न सकिन्छ कि भनेर म यसरी एक अर्थमा एउटा एमालेबाट अर्कोमा ‘पलायन’ भएको थिएँ । तर, म लेखक एमालेलाई पार्टी एमालेले भने आफ्नो नियन्त्रणमा राख्ने प्रयास अझै छाडेको छैन । कसैले पोखरा बैरागी वनछेउमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीको कास्की जिल्ला पार्टी कार्यालय भवनको कुनै दराजमा थन्क्याइएको ०६५ साल वैशाखको जिल्ला कमिटी बैठकको माइन्युट पल्टाएर हेर्‍यो भने म अझै पनि सांगठनिक रूपले एमालेमै देखिनेछु । उक्त निर्णयबारे मैले अनौपचारिक रूपमा सुनेअनुसार मलाई पहिलो संविधानसभामा तत्कालीन माओवादीका उम्मेदवार श्री देवप्रसाद गुरुङलाई मत दियो भन्ने आरोप लगाएर ६ वर्षका लागि एमालेको साधारण सदस्यबाट समेत निलम्बन गरिएको छ । उक्त माइन्युटको पुच्छरमा एमाले कास्कीका तत्कालीन सचिव कमरेडको हस्ताक्षर अवश्य होला (हस्ताक्षर उपस्थितिमा मात्र गाराइएको पनि हुनसक्छ) । अहिले त्यस्तो निर्णय भएको पाँच वर्ष ६ महिना मात्र बितेको छ र अझै मेरो सांगठनिक हैसियत उक्त पार्टीको साधारण सदस्यबाट निलम्बित कार्यकर्ताको रूपमा रहेको छ । यसलाई कसैले चाह्यो भने म एमालेमै रहेको प्रमाणका रूपमा पेस गर्ने पूरा अधिकार राख्छ (यसमाथि मेरो प्रतिवाद स्वत: बदरभागी हुने देखिन्छ, कमरेड अमृत बोहरा, टीकाराम भट्टराई या हरिकृष्ण कार्कीको मत यसबारेमा के हुन्छ भन्ने चाहिँ मलाई थाहा भएन) ।
यसरी एमालेको एउटा दस्ताबेजमा अल्झेर अझै एमालेमै रहेकाले पनि हुनसक्छ, एमालेका बारेमा प्राप्त खबरहरूमा ध्यान गैरहन्छ । यसपालि भने भर्खर चलचित्रको रंगीन दुनियाँबाट राजनीतिको फोहोरी दुनियाँमा (खै किन हो राजनीतिलाई फोहोरी भन्नेहरू अचानक राजनीतिमा हाम फाल्न रुचाउँछन्) हाम फालेका कमरेड भुवन केसी चर्चामा छन् र उनैका कारण मेरो पनि ध्यान खिचिएको छ । अहिले बजारमा सिनेमाको होइन, निर्वाचनमा उम्मेदवारको टिकट धमाधम ब्ल्याकमा बिक्री भइरेहेको चर्चा सुनिन्छ । नेतालाई निश्चित संख्याको टिकटले त्यसभन्दा बढी आकांक्षीको चित्त बुझाउनुपरिरहेछ । उनीहरू बाहिर माइकबाट टिकट सकिएको अनाउन्स गरिरहेछन् र भित्रभित्रै आफ्ना मान्छेलाई मोलमोलाइ गरी बढी मूल्यमा टिकट दिइरहेछन् भन्ने आरोप छ । यसैक्रममा सिने जगत्का नायक–नायिका पनि टिकटार्थीको लाममा छन् । केही समयपहिलेदेखि कमरेड रेखा थापा एमाओवादीका तर्फबाट पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने व्यापक चर्चा थियो । तर, यो आलेख तयार पार्ने वेलासम्म उनको नाममा टिकट जारी भएको आधिकारिक जानकारी आएको छैन (कुन्नि जनयुद्ध लडेर आएका पर्साका कमरेडहरू यसबाट कतिको पुलकित छन्) । यस मामिलामा नायक भुवन केसीको नायकत्व भने एकदम चम्केको छ । उनले राप्रपा, नेपालका कमल थापासँग मिलेर एमालेका कमरेडलाई चक्मा दिएका छन् र टिकट हात पारेका छन् । उनी अब काठमाडांैको एक नम्बर क्षेत्रबाट सभासद्का लागि प्रत्यक्ष रूपमा कांग्रेस महामन्त्री प्रकाशमान सिंह र प्रचण्डपुत्री कमरेड रेणु दहालसँग भिड्नेछन् । कमरेड माधव नेपालको विजयका लागि कमरेड विदुर मैनालीको टिकट खोसिएको छ र हात पारेका छन् कमरेड भुवनले । यहीँनिर मेरो ‘एमाले’ हुनुको परिचयको हावा खुस्केको छ । यो कस्तो एमाले पार्टी निस्कँदै छ, जसले एकजना पुराना माक्र्सवादीका स्थानमा सिनेमाका नायकलाई टिकट प्रदान गरिरहेको छ ? दस्ताबेजको एमालेका रूपमा होस् या कवि विमलको परिभाषाको एमालेका रूपमा कमरेड केसीको सिफारिसको अर्थ लगाउन मलाई मुस्किल परिरहेको छ । के एमालेको ‘माक्र्सवादी लेनिनवादी’ शब्दको अर्थ विनिर्माण भएको हो ? के अब एमालेका आफ्ना कार्यकर्तामाथिको विश्वास सकिएको हो ? अन्यथा राप्रपामा जान लागेका केसीलाई जबर्जस्ती तानेर टिकट दिनुपर्ने कारण के हुनसक्छ ? मलाई यसबारे एउटा हाइपोथेसिस सुझेको छ : हालै गोकर्ण रिसोर्टमा बसेको एमाले स्थायी समितिको बैठकले निष्कर्ष निकालेको हुनुपर्छ, अब एमालेमा कुनै नायक रहेनन् । न विचारको नायकत्व रह्यो न व्यक्तित्वको । न जबजको नायकत्व न समावेशी लोकतन्त्र र पहिचानसहितको संघीयताको । न जनजातिको न मधेसीको । न मजदुरको न श्रमजीवीको । झलनाथ खनाल, केपी ओली, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोख्रेल आदि कोही पनि अब नायक रहेनन् (यसबारे नेपाल या विदेशमा रहेका एमालेका शुभचिन्तकमा को अनभिज्ञ छ र ?) । नायकै नभएको पार्टी कसरी निर्वाचनमा एकसे एक हेमानका भिलेनहरूसँग सामना गर्न सक्छ ? यही भएर नायक केसीलाई कमल थापाको अँगालोबाट तानेर ल्याउनुपरेको हो । दृश्यमा अचानक भुवन केसीको प्रवेश हुनुको यो रहस्यबारे कमरेड विदुर मैनाली र सावित्रा भुषालहरूको के राय छ कुन्नि ?

ठीक यही वेला पूर्वमाननीय जागृतप्रसाद भेटवालले चितवन क्षेत्र नम्बर एकमा कमरेड सुरेन्द्र पाण्डेलाई टिकट दिने निर्णयको विरोधमा विद्रोहको झन्डा उठाएका छन् । उनले समानुपातिकतिर टिकट पाउने आश्वासन पाएर यो झन्डा लतारेनन् भने अवश्य पनि यसले कमरेड सुरेन्द्र पाण्डेलाई धक्का लाग्नेछ । सुरेन्द्र पाण्डे भर्खर अर्थमन्त्री भएर निस्केकाले निर्वाचनका लागि आवश्यक अर्थको व्यवस्थापन पनि गर्न सक्ने तथा पार्टीमा समेत भविष्य भएका जल्दाबल्दा नेता हुन् । उनले टिकट पाउनु एमालेका लागि अस्वाभाविक अवश्य होइन । तर, कमरेड भेटवाल विस्थापित हुनु, उनलाई पाण्डेले विस्थापित गर्नु र यता कमरेड भुवन केसीले टिकट पट्याउनु एउटा संयोग मात्र अवश्य मान्न सकिन्न । केही समयपहिले कमरेड विनोद चौधरी पनि नवलपरासीका २ वटा क्षेत्रबाट सिफारिस भएका थिए । एमालेका पहिलो श्रेणीका नेता पछि यस्ता क्षेत्र रोज्न पाउने भाग्यमानी कमरेड चौधरी नै हुन् । यता कमरेड विषमलाल अधिकारी दनुवार एमाले परित्याग गरेर एमाओवादी प्रवेश गरेका छन् । विषमलालहरूले पार्टी परित्याग गर्ने, निर्मल भट्टराई या राजेन्द्र श्रेष्ठ, अशोक राई या रामचन्द्र झा, धनप्रसाद तामाङ या अजम्बर काङमाङ, मोहमद रिजवान अन्सारी या गोपाल ठाकुर धमाधम एमालेबाट बाहिरिने र कमरेड भुवन या कमरेड विनोद चौधरीहरू भित्रने । भेटवाल र विदुरहरू सिफारिस हुने केसी र पाण्डेहरूले पट्याउने । यो एमालेका लागि सकारात्मक या नकारात्मक के लक्षण बन्ने हो भन्ने थाहा पाउन त मंसिर ४ नै कुर्नुपर्ने होला । तर, एउटा कुरा भन्न सकिन्छ : भेटवालहरू अब ‘कम’रेड बन्दै गएका छन् र भुवन केसीहरू ‘कमरेड’ । मलाई भने ०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचनमा तत्कालीन मालेको उम्मेदवारका रूपमा जितेका र ०४६ सालको आन्दोलनका वेला चितवनमा भीमबहादुर श्रेष्ठसँगै नेतृत्व गरेका जागृत भेटवालको पातलो काया स्मरण भइरहेछ । के उनी अझ पनि ब्ल्याकमा टिकट किन्न नचाहने एउटा माक्र्सवादी लेनिनवादी अर्थात् पुरानै ‘एमाले’ भएको दाबी गर्दै छन् ?