Saturday, August 15, 2015

यसपछि मैले सक्रिय राजनीति छाडेँ

१) ०४८ साल मंसिर २८ गते शनिबार । स्थान बालमन्दिरको सभाहल, पुतलीबजार स्याङ्जा । एमालेका केन्द्रीय सदस्य कमरेड त्रिलोचन ढकाल माइकअगाडि हातमा शपथ–ग्रहणसम्बन्धी नोट लिएर उभिएका थिए । स्याङ्जा जिल्ला कमिटी एमालेका सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय सचिव कमरेड लक्ष्मीकुमारी कार्की र नेकपा एमालेको साधारण सदस्य रहेको म झलक सुवेदीबीच विवाह सम्पन्न हुँदै थियो । पार्टीले नै यो विवाह कार्यक्रम आयोजना गरेको थियो । मञ्चमा भाषण र शुभकामनाको लहर चल्यो । वधूका परिवारजनले टीका लगाएर शुभाशिष दिने क्रम पनि सँगसँगै चल्यो । कुनै पनि खालको उपहार र दान–दक्षिणा भने निषेधित थियो । त्यसपछि शपथ–ग्रहण गर्ने, गराउने समय आयो । शपथ–ग्रहणका लागि उभिएपछि कमरेड त्रिलोचन शपथ व्यहोरा पढ्न थाल्नुभयो । मैले शपथका लागि त्यहाँ पढिएको भनाइ दोहोर्‍याउनुका साटो माइक लक्ष्मीजीतिर सारिदिएँ । हलमा मेरा मित्रहरू गलल्ल हाँसे । कोही बुझेर हाँसे र कोही नबुझेर हाँसेका थिए । पार्टीका विधि–विधान र अनुशासनमा बसिरहने मेरो अनिच्छाको सार्वजनिक अभिव्यक्ति थियो त्यो । त्यही वर्षको जेठमा संसद् निर्वाचन सकिनासाथ मैले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर निजी जीवन बिताउन थालेको थिएँ । हामी दुवै तत्कालीन नेकपा मालेका पूर्णकालीन कार्यकर्ता, अखिलको केन्द्रीय कमिटीमा सँगै रहेर काम गरेका र पृथ्वीनारायण क्याम्समा सभापति र सचिवको भूमिकामा रहेका एक समयका क्रान्तिकारी  नेता र सहकर्मी थियौँ । दुवैले सँगै जेलजीवन पनि बिताएका थियौँ । ०४६ सालको आन्दोलनका वेला लक्ष्मीजीको चर्चा शिखरमा पुगेको थियो । केही वास्तविकता र केही काल्पनिक हल्लाको मिश्रणसहित । विवाहको केही दिनपछि म एमएको पहिलो र दोस्रो वर्षको परीक्षाको तयारीमा लागेँ । लक्ष्मीजी स्याङ्जामा बसेर पार्टी काममै लाग्नुभयो । संसद्का लागि ०४८ मा भएको निर्वाचनमा स्याङ्जाको क्षेत्र नम्बर ४ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार भएर पराजित भएपछि पार्टीले लक्ष्मीलाई त्यही क्षेत्रको काममा खटाएको थियो । पार्टीप्रति अति लोयल भएकाले अनि आफ्नो भविष्य पार्टीमै देखेकाले होला लक्ष्मी उतै खटिनुभएको थियो । २) त्यही वर्ष फागुनको कुनै दिन मेरा पुराना मित्र गणेश तिमिल्सिना मलाई खोज्दै आइपुगे । उनी पर्वतको पार्टी नेताका रूपमा स्थापित भइसकेका थिए । सायद धवलागिरि अञ्चल कमिटीका सचिव थिए । पर्वतको तिलाहारमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयको अध्यापन गर्ने लेक्चरर चाहिएको रहेछ । मेरो दोस्रो वर्षको परीक्षा त सकिएको थियो, पहिलो वर्षको परीक्षा दिन बाँकी नै थियो । पार्टीको जिम्मेवारी छाडेर अर्थात् सक्रिय राजनीति छाडेर बसेको वर्षदिन हुन लागेको थियो । त्यसबीच पोखराबाट हाम्रै पहलमा निस्कने गरेको नौलो हाँक साप्ताहिकको सम्पादकका रूपमा काम गरेको थिएँ । एकपटक पार्टीका जिल्ला सचिव खगराज अधिकारीको अन्तरवार्ता प्रेसमा दिएर हिँडेको थिएँ । भोलिपल्ट बिहान जाँदा त पत्रिकाको उक्त पेज नै जफत भएको रहेछ । पार्टीमा केन्द्रीय सदस्य कमरेड वाचस्पति देवकोटाको नेतृत्वमा छानबिन समितिसमेत गठन भयो । पार्टीसँग आर्थिक रूपले निर्भर पत्रिकामा यति विवाद भएपछि बस्ने सम्भावना थिएन । मैले सोही दिन पत्रिकाबाट बिदा लिएँ । यसरी म विनाआम्दानी परीक्षाका लागि मात्र भनेर पोखराको बगरमा रहेको कमल गुरुङको घरमा डेरा लिएर बसेको थिएँ । आर्थिक समस्याले गाँज्दै थियो । त्यतिवेलासम्ममा हाम्रो प्रथम सन्तान आमाको पेटमा बसेर बाहिर आउने समय कुर्न थालेको छ भन्ने थाहा भइसकेको थियो । अर्थात् जिम्मेवारीचाहिँ थपिँदै थियो । यस्ता जिम्मेवारीभन्दा पनि ठूलो समस्याचाहिँ आफँैभित्र थियो : लामो समय राजनीतिमा संलग्न रहेर बाहिरिएपछि व्यक्तित्व र करिअरमा देखापरेको अनिश्चितताको भय ।   यही दबाबबीच मैले गणेश तिमिल्सिनाको प्रस्ताव स्वीकार गरेँ र झोला बोकेर तिलाहारतिर हिँडेँ । झन्डै १० हजार विद्यार्थी पढ्ने पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति, अनेरास्ववियुको केन्द्रीय सदस्य, शिक्षक संगठनको जिल्ला सदस्य, गण्डकी अञ्चल वाममोर्चाको सदस्य, ०४६ सालको जनआन्दोलन संयन्त्रमा कास्कीको सचिव, युवासंघको जिल्ला संयोजक,  एमाले कास्की जिल्ला कमिटीको सचिवालय सदस्यलगायत अनेक जिम्मेवारीसहित सक्रियतापूर्वक राजनीतिमा नेतृत्व गरिसकेको मेरो तिलाहार यात्रा अरू कतिपयका लागि अविश्वसनीय थियो । तर, म भने जीवनलाई यही सरल रेखामा बुझ्ने र स्वीकार गर्ने प्रयासमा थिएँ । आफ्नो जीवनको आयतनभन्दा निकै साँघुरो गाउँठाउँ तिलाहारमा गएपछि सुरुका दिन न्यास्रालाग्दा र डिप्रेसन गराउलान् झैँ एकलासका थिए । पोखरा–बाग्लुङ सडक भर्खर बन्दै थियो । न पत्रपत्रिका आउँथे, न टेलिफोनको सुविधा थियो । भर्खर बिहे गरेकी र गर्भवती पत्नीसँग महिनौँ भेट हुन्नथ्यो । बिहानमा क्लास थियो । आइएका प्रथम र दोस्रो वर्षका लागि अर्थशास्त्र, इतिहास र राजनीति–शास्त्र पढाउँथेँ । मेरो विषय त अर्थशास्त्र हो तर क्याम्पस प्रमुख मोतीप्रसाद पौडेल बाँकी दुई विषय पनि मलाई पढाउन लगाएर कहिले खासा व्यापारमा जान्थे, कहिले जग्गा कारोबारका लागि या स्थानीय रूपमा कांग्रेसको राजनीतिका लागि हिँड्थे । मबाहेक गणितमा मित्र गोविन्द तिमिल्सिना र अंग्रेजीमा कास्कीको निर्मलपोखरी फोक्सिङका विष्णु पराजुली पनि पढाउँथे । पराजुली र म एउटै कोठामा बस्थ्यौँ । कहिले काहीँ डिमुवा हुँदै दोबिल्ला या बिरेठाँटीसम्म मोदी किनारमा गएर असला माछा खानु, कहिले थामर्जुङ या देउपुरतिर उक्लेर फलफुल चाख्नु र धेरैजसो भने कोठामै बसेर साथमा भएका उपन्यास पढ्नु मेरो दिनचर्या बनेको थियो । वार एन्ड पिस र  क्राइम एन्ड पनिसमेन्ट मैले त्यहीँ छँदा दोहोर्‍याएर पढेको थिएँ । त्यहीँ गएको एक महिनामै एमए प्रथम वर्षको परीक्षा आउँदै, जाँदै गरेर दिएँ । पहिलो वर्षको तथ्यांक–शास्त्रबाहेकका सबै र दोस्रो वर्षका सबै पत्र मैले यसैपटक पास गरेँ । वास्तवमा मेरा लागि राजनीति छाडेपछिको जीवन व्यवस्थापनको भयानक अप्ठेरो र अन्तरद्वन्द्वका दिन थिए ती । राजनीति छाड्छु त भन्थेँ तर राजनीतिले मलाई पटक्कै छाड्दैनथ्यो । मेरो जीवनबाट राजनीतिको नशा हटिसकेको थिएन । मैले यो अन्तरद्वन्द्वको सामना त्यसपछि पनि लामो समय गरिरहनुपर्‍यो । त्यही वेला मेरो मनमा आफ्नो विगत र आगतबारेको नमिलेको खाता ओल्टाई–पल्टाई हेर्ने अवसर मिलेको थियो । सक्रिय राजनीतिक जीवनबाट बाहिरिनुका कारणको जस्टिफिकेसन गर्नु र नयाँ जीवनको सहीपना स्थापित गर्ने तर्क या कुतर्कको खोजी मेरो मनमा खेल्ने मुख्य विषय थियो । ३) ०४४ साल मंसिरमा पृथ्वीनारायण कलेजमा स्थानीय प्रशासनले मच्चाएको मालेविरोधी अप्रेसनका वेला म गाउँनजिकै सैमराङमा रहेको राष्ट्रज्योति निमाविमा शिक्षक थिएँ । शिक्षक संगठनको काम र स्थानीय इलाकाको पार्टी काम पनि गर्दै थिएँ । उक्त घटनामा स्ववियु सभापति तुलबहादुर गुरुङ र सचिव रामनाथ ढकालसहित विद्यार्थी नेताहरू अपहरण गरिएका थिए । केही साथी पहिल्यैदेखि जेलमा थिए । अचानक विद्यार्थी नेतृत्वको संकट परेकाले केही समय मलाई त्यो खाली ठाउँ भर्न पार्टीले बोलायो । अपहरणकाण्डविरोधी आन्दोलन लगभग साढे दुई महिना चल्यो । मैले विद्यालयमा शिक्षक पदबाट त्यहीबीच राजीनामा दिएँ । त्यहीबीच चैतमा अनेरास्ववियुको नवौँ राष्ट्रिय सम्मेलनले मलाई केन्द्रीय समितिमा निर्वाचित गर्‍यो । रंगशाला काण्डका कारण ०४४ फागुनको साटो वैशाख ०४५ मा मात्र स्ववियु निर्वाचन भयो । म सभापति निर्वाचित भएँ । त्यतिवेला यसरी सक्रियतापूर्वक राजनीतिको मोर्चामा खटे पनि मेरो मनमा दुइटा प्रश्नले हलचल मच्चाइरहेका थिए : पहिलो– विश्वमा साम्यवादी राजनीतिक प्रयोगको भविष्य र दोस्रो– नेकपा मालेको राजनीतिक भविष्य । ०३५ सालमा स्थापित नेकपा माले ०२८ को झापा आन्दोलनको विकसित रूप मात्र थिएन । यो झापा आन्दोलनका राजनीतिक अवस्थाहरूको विस्थापन र विश्व राजनीतिमा कम्युनिस्टहरूको बदलिँदो राजनीतिक नक्साको पनि प्रतिनिधि थियो । माओले चलाएको सांस्कृतिक क्रान्तिका प्रभावबाट थालिएको झापा आन्दोलनका प्रतिनिधि बीस वर्ष नपुग्दै सोभियत संघलाई समाजवादी भन्ने तहमा पुगेका थिए । ०३७ मा भएको जनमतसंग्रहले सुधारवादलाई सहयोग गर्ने र सामन्तवाद साम्राज्यवादविरोधी जनवादी क्रान्तिलाई पछि धकेल्ने निष्कर्षमा पुगेर त्यसको बहिष्कारको निर्णय गरेका झापाली कमरेडहरू ०४३ मा भएको राष्ट्रिय पञ्चायत र ०४४ मा भएको स्थानीय पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवार भन्दै पार्टीलाई निर्वाचनमा होम्न तयार भएका थिए । विश्व रंगमञ्चमा देङको बजार समाजवाद बिक्न थालेको समय थियो । सोभियत समाजवाद गतिहीनताको सिकार भइरहेको थियो । यस्तो अवस्थामा विश्व समाजवादी आन्दोलनको भविष्य मैले प्रारम्भमा देखेको जस्तो सरल र उज्यालो थिएन । परम्परागत ढर्राको जनवादी या समाजवादी क्रान्ति पनि नहुने र त्यस प्रकारका एकदलीय राजनीतिक प्रणाली पनि अव्यावहारिक हुने मेरो ठम्याइ थियो । तर, यसको विकल्पबारे मेरो कुनै धारणा बनिसकेको थिएन । मालेको पञ्चायती मञ्चको उपयोग नीतिका केही नकारात्मक पाटा पनि झांगिँदै थिए । कुनै पदमा निर्वाचित हुनेको नाम र ‘ग्ल्यामर’ले अरूलाई पोल्ने, निर्वाचित हुनेको जीवनशैली अरूले नपचाउने र निर्वाचित हुनेले आफूलाई विशिष्ट ठान्ने सम्भावना त्यस्तो कडा अनुशासन भएको पार्टीमा पनि जन्माइदिएको थियो । मैले यसलाई पार्टीको संसदीय राजनीतितर्फको यात्राका प्रारम्भिक चरित्रका रूपमा बुझेँ । स्ववियु निर्वाचनमा सभापति भएपछि म एकपटक जेलमा रहेका विद्यार्थी नेतासँग भेट्न हिँडेँ । क्रमश: दमौलीमा आनन्द सुवेदी, गोर्खा जेलमा हितकाजी गुरुङ, वीरगन्ज कारागारमा रहेका गणेश तिमिल्सिनालाई भेट्न गएँ । यी साथीमा जेलमा रहँदाका न्यास्रोपन देखिए पनि आन्दोलनप्रतिको उत्साहमा कत्ति कमी देखिएन । वीरगन्जमा मित्र रामकुमार भट्टराईको कोठामा एकरात बिताएर म रेलमा रक्सोलबाट बैरगनिया गएँ र गौरमा रहेका खगराज अधिकारीलाई भेट्न गएको थिएँ । गौर कारागारमा म पहिले मोदनाथ प्रश्रितलाई भेट्न पुगेको थिएँ ०४२ सालमा । असारको पहिलो साता उग्र गर्मी थियो । हामीले दिउँसो चार घन्टाजति कारागार कम्पाउन्डको चौर र रुखका छायामा बसेर राजनीतिका यावत् विषयमा कुरा गर्‍यौँ । अखिलको केन्द्रीय उपाध्यक्ष र क्याम्पस स्ववियुमा दुईपटक सभापति भइसकेका अधिकारी प्यासीजीको पक्षमा निर्वाचनको प्रचार–प्रसार गरिरहेका वेला पक्राउ परेका थिए । दुई वर्षदेखि जेलमा रहेका उनीसँगको लामो कुराकानीका क्रममा उनले बारम्बार फर्केर कास्कीमा पार्टीको प्रभाव र अर्कोपटकको निर्वाचनमा पार्टीको सम्भावित स्थानबारे निकै ध्यान दिएर कुरा गरिरहे । उनले आन्दोलनको भविष्य या देशमा पञ्चायती व्यवस्थापछिको राजनीतिका सम्भावनाबारे भन्दा आउने निर्वाचनमा केन्द्रित रहेर दोहोर्‍याई–तेहेर्‍याई कुरा गरेपछि म एकप्रकारले झस्किन पुगेँ । साँझ म जेलकै अगाडि रहेका शिव पुरीको घरमा बास बसेँ, जसको व्यवस्था कमरेड अधिकारीले नै मिलाइदिएका थिए । भोलिपल्ट निजगढ पुगेर पुरुषोत्तम पौडेलको घरमा बास बसेँ । संयोगले अहिले पौडेल र अधिकारी एउटै मन्त्रिपरिषद्मा सदस्य छन् । साथीहरूसँग भेटेर पोखरा फर्कें तर मेरो मनमा मालेको राजनीतिक भविष्यका विषयमा एउटा गम्भीर प्रश्न उठ्यो । पञ्चायती निर्दलीयताको अन्त्य त ढिलो–चाँडो हुनेवाला नै थियो । यसको अन्त्यपछि कुनै जनवादी व्यवस्था स्थापित हुँदैन भन्ने पनि प्रस्ट भइसकेको थियो । ०३७ मा जनआन्दोलनलाई पहिलो प्राथमिकतामा राखेर संगठन सुरु गरेको पार्टी बिस्तारै सशस्त्र विद्रोहबाट निकै टाढा पुगेको थियो । प्रस्टै थियो, अब देश संसदीय मोडेलको बहुदलीय व्यवस्थातर्फ उन्मुख थियो । नयाँ जनवादले राजाको निरंकुशता या सामन्तवाद अन्त्य गरेर मात्र हुन्नथ्यो, साम्राज्यवाद अर्थात् देशको आन्तरिक राजनीतिमा उदार पुँजीवादी राजनीतिको पनि निषेध गर्नुपथ्र्यो । त्यो एक त सशस्त्र विद्रोह र सत्ता कब्जामा मात्र निर्भर थियो, अर्कातर्फ त्यसका लागि कमसेकम एउटा छिमेकीको सम्पूर्ण समर्थन पनि चाहिन्थ्यो । चीनले यसरी सहयोग गर्ने बाटो छाडिसेकेको थियो । त्यही भएरै पनि बर्मा र थाइल्यान्डको शक्तिशाली माओवादी विद्रोह तहसनहस भइसकेका थिए । यस्तो अवस्थामा ०३६ देखि नयाँ जनवादका लागि भनेर लड्न हिँडेको हाम्रो राजनीतिक भविष्य र काग्रेससँग सहकार्यको संसदीय बाटोमा हिँडेका मनमोहन अधिकारीहरूको भविष्य एउटै भएको थियो । संसदीय राजनीतिमा प्रवेश गरेपछि राजनीति सम्पूर्ण रूपमा व्यक्तिवादी हुनु अनिवार्य छ । त्यसमाथि हाम्रो जस्तो मध्यम–वर्गीयबहुल राजनीतिको भ्रष्टीकरण पनि अनिवार्य छ । मैले गौरबाट फर्केपछि लामो समय यसमाथि चिन्तन गरेँ र निष्कर्षमा पुगेँ : म पञ्चायतको समाप्तिसँगै राजनीतिबाट पछि हट्छु । यो मेरो बाटो होइन । मेरो निस्पृह खालको बिन्दास जीवनशैलीसँग राजनीतिले मेल खाँदैन । यही निष्कर्षसाथ म पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहिरहेँ । त्यसको दुई वर्ष नपुग्दै देशमा जनआन्दोलन सफल भयो । आन्दोलनका क्रममा पोखरामा व्यापक दमन भयो । त्यतिवेलाको राजनीतिक परिदृश्यबारे मैले मेरो उपन्यास आधा जुनमा विस्तारमा चर्चा गरेको छु । मलाई कलेजबाटै पक्राउ गरियो र केही दिन हतकडीसहित कस्टडीमा राखेर जेलमा लगियो । राज्य विप्लवदेखि सार्वजनिक अपराधसम्मका अनेक मुद्दा लगाइयो । तर, हार्ने पालो राजाको थियो । २६ चैतमा दलमाथिको प्रतिबन्ध हट्यो र हामी वैशाख २ गते जेलमुक्त भयौँ । २७ गते नै मैले जेलमा रहेका रवीन्द्र अधिकारीलगायत साथीहरूलाई भनेको थिएँ– साथी हो म अब पहिलो निर्वाचनसम्म मात्र राजनीतिमा काम गर्छु अनि आफ्नै पेसामा लाग्छु । ममा केही हदसम्म सोलोखोभको उपन्यास ‘जो देशका लागि लडे’ को पात्र लोपाखिनको प्रभाव थियो । साथीहरूले भने त्यसलाई गम्भीरतापूर्वक लिएनन् । त्यसपछि म एक वर्ष जिल्लाका अनेक भागमा पार्टीको संगठन बनाउन र निर्वाचन परिचालनमा खटेँ । संसदीय निर्वाचनमा जिल्ला निर्वाचन समिति र क्षेत्र नम्बर एकको निर्वाचन परिचालन समितिको मुख्य नेताका रूपमा काम गरेँ । खटेँ अरूजत्तिकै या अझ बढी नै । प्रेसर निकै लो थियो । तौल ४६ केजी । खाना रुच्दैनथ्यो । तर, कहिल्यै रातभर सुतिएन । कांग्रेसका तारानाथ रानाभाटले एक नम्बर क्षेत्रको निर्वाचन जिते । हाम्रो पार्टी पाराजित भयो दुई हजारजति मतले । उम्मेदवार थिए तिनै खगराज अधिकारी, जसलाई मैले गौर गएर भेटेको थिएँ । पहिले पार्टीले यस क्षेत्रमा बलराम उपाध्यायलाई टिकट दिएको थियो । पछि केहीले विरोध गरेपछि पार्टीले बलरामको स्थानमा खगराजलाई उठाएको थियो । मेरो अनुमानको संसदीय राजनीतिको एक झल्को पनि यही नै थियो, जसबाट म भाग्न चाहन्थेँ । निर्वाचन परिणाम घोषणा भएको चौथो दिन पोखरा नयाँबजारस्थित कमरेड सुरेश राजभण्डारीको घरमा भएको पार्टी जिल्ला कमिटीको बैठकमा मैले पहिले नै लेखेर लगेको राजीनामा–पत्र बुझाएँ र बाहिर निस्केँ । सम्भवत: यो ०४८ जेठ ९ गतेको दिन थियो । मैले अब आफ्नो जीविकाको बाटो खोज्नु थियो, करिअर बनाउनु थियो । २८ वर्षको भइसकेको थिएँ, घरजम पनि नगरी हुन्न भन्ने आग्रह मनभरि पालेको थिएँ । तर, बाहिर निस्कँदा मसँग यतै जाने भन्ने कुनै गन्तव्य र लक्ष्य थिएन । कतिसम्म भने बा, आमा र साथीभाइले अब के गर्छस् भनेर सोधे भने त्यसको उत्तर पनि मसँग थिएन । म सरासर क्याम्पस गेट गएँ र लगातार चिया पिइरहेँ । म अनिश्चिततामा त थिएँ तर आफ्ना निर्णयप्रति पटक्कै पश्चात्तापमा थिइनँ । (मैले तत्कालीन माले र पछि एमालेको पार्टी राजनीतिमा जोडिँदै र छाड्दै गरेर जीवनका झन्डै २३ वर्ष बिताएँ । अन्तिमपटक ०५९ मा दलगत आबद्धता त्याग्नुअघि पनि मैले दुईपटक राजनीति छाडेको भनेको थिएँ । यी तीन खण्डका अनेक सन्दर्भ र कारण छन् । यसपटक ०४८ मा सक्रिय राजनीति त्याग्नका मुख्य कारणबारे संक्षेपमा उल्लेख गरेको छु । बाँकी कुनै अर्को अवसरका लागि ।) - See more at: http://www.enayapatrika.com/2015/08/21102#sthash.B5KHG6gC.dpuf