Monday, September 18, 2017

सम्झनामा ती दिन…

केही सम्झना बालुवामा पर्ने पाइतालाका डोबजस्ता हुन्छन् । अलिकति हावा चल्नुपर्छ उडेर आउने बालुवाले नामेट पारिदिन्छ । या कवि तीर्थ श्रेष्ठले कवितामा भनेजस्तो हिउँमा लेखिएका नामजस्ता हुन्छन् जो हिउँ परे पुरिएर हराउँछन् । घाम लागे हिउँ पग्लेर हराउँछन् ।
भदौ २९, २०७४ nayapatrika

केही सम्झना चट्टानमा खोपेका चित्रजस्तै हुन्छन् । केही लेउ लाग्न सक्छ, केही चमक हराउन सक्छ । छामेर हेर्नुस् ती जस्ताका तस्तै बसिरहन्छन् । थोरै पुछपाछ गर्नुस् ‘क्रिस्टल क्लियर’ भएर आउँछन् । बाल्यकालका अनेक घटना यस्तै चट्टानमा खोपिएका हुन्छन्, जसले जीवनलाई पछि फर्केर हेर्दा रमाइलो बनाउँछन् । दुःखी बनाउँछन् । रुवाउँछन् पनि र हसाउँछन् पनि । जीवनको जिउने कला, जीवनप्रतिको हेराइ, बुझाइ या समग्रमा जीवन दर्शन निर्माण गर्नमा यस्तैयस्तै अनेक चट्टानमा कोरिएका सम्झना त काम लाग्ने हुन् । गाउँघरको कृषि जीवनमा हुर्केकाहरूका बाल्यकालीन स्मृतिमा गाउँमा हुने जात्रा, वनपाखामा गाइने गीत र तिनले बोक्ने भाव तथा लयको जबर्जस्त प्रभाव हुन्छ । मलाई अहिले पनि तिनको गज्जबको प्रभाव छ । अहिले सजिलै प्रविधिले सुन्ने अवसर दिने यस्तै गीतले कहिले काहीँ निरसलाग्दा दिन या साँझलाई जिउनलायक बनाइदिन्छन् ।
यस्तै सम्झनामा पर्छ करापुटार र यस्तै सम्झनामा पर्छन् ठाडो भाकाका गीतहरू । यसो सुन्यो सुनूँ–सुनूँ लाग्ने । गुनगुनाउन मन लाग्ने । अहिले पनि फुर्सदमा सुनिबस्छु । फनक्कै घुम्यो हेर सनिसारै डाँडा माझैमा गैरी ताल … ए होला र यस्सै माया जाल… गैरी ताल … । सुन्न त सुनिन्थे तल पर्‍यो डुम्रे बजार, माथि पर्‍यो बन्दिपुर … तिम्रो मनको सुर … । अथवा रोइला र चुड्काहरू । तर, करापुटार भनेपछि सुन्न मन लाग्ने र सम्झनामा बढिरहेको चाहिँ त्यही ठाडो भाका हो । मामाघर थियो करापुटार चिसंकु । खान बस्नको समस्या हुन्थेन । गैहालिन्थ्यो ।
हाम्रो समयभन्दा अघिल्लो पुस्ताबाटै यो ठाडो भाका गाउँदै हिँडेका भेडीखर्के साइँलाको मंगलबार मृत्यु भएछ । यिनको गीत करापुटारमा उहिले झन्डै चालीस वर्षपहिले एकपटक प्रत्यक्ष सुनेको सम्झना छ । शिवरात्रिका वेला करापुटारको फाँटको बीचमा रहेको इसानेश्वर महादेवको मन्दिरमा दूध चढाउने र राति ठाडो बत्ती बाल्ने अथवा लाखबत्ती बाल्नेहरूको भिड हुन्थ्यो । वरपरबाट आफ्ना उत्पादन बिक्री गर्न आउनेहरू र एक पन्थ दुई काज गर्दै धार्मिक उद्देश्य र किनमेलको काम पनि सँगै गर्नेहरूले जात्रा निकै ठूलो बनाउँथे । चोयाका सामान डोको, मान्द्रो, भकारी, अलि तल पर्ने पोल्याङका कुमालले ल्याउने माटाका भाँडा र फलामका कुटो, कोदाला, आँसी, बन्चरो यहाँका मुख्य आकर्षण थिए, कृषि अर्थतन्त्रसँग गाँसिएका । तर, हाम्रा लागि यी सबैभन्दा बढी यो बजारको महत्व यिनै गीत सुन्नुमा थियो । दिउँसैदेखि दोहोरीका खाल बस्थे । रातभर चल्थे । भोलिपल्ट दिनभर पनि र अर्को रातभर गाइरहने पनि हुन्थे ।
लेकाली गाउँहरू सिङ्धी, पसगाउँ, भुजुङ, गिलुङ, मिजुरे, नाल्मा या घलेगाउँतिरबाट झरेका गुरुङहरू, सिन्दुरे ठुलो स्वाँरातिरका दुराहरू, कछाडतिरका मगर आआफ्ना हुल बाँधेर आउँथे र दोहोरीमा जम्थे । नाच्थे, गाउँथे, रमाइलो गर्थे, धर्मकर्म गर्थे, किनमेल गरेर अर्को वर्ष भेट्ने बाचा गर्दै फर्कन्थे । यस्ता गीतमा माया पिरतीका कुरा पनि हुन्थे, घर–परिवार र समाजका दुःखसुखका कुरा पनि हुन्थे, चेलीका दुःख माइतीलाई माइतीका दुःख चेलीलाई सुनाउने अनेक कथ्य हुन्थे । गीतमा हुने ‘न्यारेसन’का यी भाव झलकमानको कर्खा या धर्मराज थापाले गाएका कतिपय गीतमा, अम्बरको नौ लाख तारा उदाएमा या भूपाल राईले लेखेर कुन्तीले गाएको धरान धनकुटामा, भूपिले लेखेको र नारायण गोपालले गाएको अल्झेछ क्यारे पछेउरी, जीवन शर्माका गीतहरू, जेबी टुहुरेको आमा–दिदी–बहिनी हो जस्ता अनेक गीतमा पनि हुन्छन् । बब मार्ले र गत वर्षको नोबल पुरस्कार पाउने गायक बब डिलनले गाएका गीतमा पनि । यी करापुटारे गीतमा स्थानीय ब्लुज हुन्थे, स्थानीय कथाहरू, कृषि जीवनका अनेक बिम्ब सामेल भएका गेडा सम्झँदा यिनको तागत पछि–पछि महसुस हुँदै छ ।

अहिले जीवन बदलिएको छ । गाउँको कृषि अब सीमान्तीकरणमा परेको छ । विप्रेषण, बसाइँसराइ, बजारको विस्तार र अन्यत्र उत्पादन हुने दाल चामल या खाद्यवस्तु फैलेका छन् । विद्यालयको विस्तार र नयाँ युवामा परम्परागत ग्रामीण प्रचलनको प्रभाव घट्दै जाने गरी टिभी, एफएम र मोबाइल हुँदै जोडिएका नयाँ–नयाँ अवसरहरू । अर्थतन्त्रको आधारमा आउने परिवर्तनले संस्कृति, सम्बन्ध र जिजीविषामा आउने फेरबदलका प्रभाव । बेफुर्सदी र निराशाले निर्माण गर्ने कोलाहल । यी सबले बिस्तारै–बिस्तारै गाउँले जीवनमा उम्रने लोकलय र भाकाहरूको ठाउँ सहरका कोठामै कल्पना गरिने भाका र लयहरूले लिन थालेका छन् ।
भेडीखर्के साइलाको नाममा जे छ, त्यो लमजुङको ठाडो भाकासँग गाँसिएको छ । सिन्दुरेकै एउटा सानो ठाउँ भेडीखर्कमा जन्मेका भएर भेडीखर्के र आफ्ना दाजुभाइमध्येका साइँला भएकाले भेडीखर्के साइँला बनेका यिनको नाम आफैँमा तत्कालीन समयको एउटा बिम्ब हो ।
लमजुङे अथवा करापुटारे ठाडो भाकाको आयु पनि सवा सय वर्षजतिको भएको छ । सुरुमा ठुलोस्वाँराका देउबहादुर दुरा र गहतेका पञ्चैसुब्बा गुरुङले गाउने गरेको यो गीत पछि महिलाको पनि टिम तयार पारेपछि थप लोकप्रिय भएको भनिन्छ । पञ्चैसुब्बाको संकलनको एउटा गीत २००७ सालतिरै काठमाडाैँमा प्रकाशित हुने कुनै पत्रिकामा छापिएको भनेर मार्टिन चौतारीका अध्येता रमेश पराजुलीले एकपटक तस्बिर खिचेर ट्विटेका थिए । तर, अहिले खोजीपस्दा मैले पनि भेटिनँ उनको पनि रेकर्डमा रहेनछ । खस नेपालीमा गाइने भाका भएकाले त्यतिवेलै लमजुङमा गुरुङ र दुरा भाषामाथि खस नेपाली भाषाको प्रभाव बढिसकेको अनुमान लगाउन सकिन्छ । दुरा भाषाचाहिँ अहिले झन्डै लोप भइसकेको छ ।
देउबहादुर दुराको मृत्युपछि केही समय यो गीत गाउनेको अभाव खट्केको थाहा हुन्छ । गाउँमा बुढाहरूले यसको चर्चा गरेर सुनाएको मलाई सम्झना छ : कहाँ गयो देउबहादुर दुरा, शून्य भयो कर्पुटार बजार ।
भेडीखर्केले त्यही शून्यता पूर्ति गरेर ठाडो भाकालाई निरन्तरता दिएका थिए । उनको मृत्युसँगै ठाडो भाकाको निरन्तरता फेरि संकटमा परेको छ । स्याङ्जाली लोकगायक पशुपति शर्माले मुना थापामगरसँग मिलेर पनि ठाडो भाकामा गीत गाउने प्रयास गरेका रहेछन् । तर, त्यो गीत अभ्यस्त गायकको जस्तो छैन, ठाडो भाकाको गहिराइ त्यसले बोेकेको छैन । सामान्यतया यस्ता भाका र गीत भन्ने शैलीलाई आधुनिक जीवनका चुनौतीसँग मिलाएर गाउने गरियो भने त्यसले नयाँ जीवन पाउँछ । जसरी क्यारेबियन या अफ्रिकी देशका अनेक ब्लुज या परम्परागत गीतले अमेरिका प्रवेश गरेर प्रभाव सिर्जना गरेका छन् । त्यस्तै हाम्रा यी भाकाको निरन्तरता दिने र संरक्षण गर्ने प्रयासको खाँचो देखिन्छ । समय र आर्थिक सामाजिक विकासको क्रम पछि फर्केर देउबहादुर, पञ्चैसुब्बा या भेडीखर्केको जमानामा पुग्दैन, यो अघि बढ्छ । तर, मानिसका दुःखसुख व्यक्त गर्ने माध्यमका रूपमा सिर्जना हुने यी भाका र लयमा नयाँ जीवनका चुनौतीले थिलथिलो मनलाई उपचार गर्ने या मानिसलाई नयाँ समयसँग जुध्न प्रेरित गर्ने क्षमता हुन्छ, त्यसैले पनि यसलाई बचाइरहनु आवश्यक छ ।
केही वर्षपहिले द्वन्द्वकालका केही घटनाबाट पीडितको इतिहास उनीहरूकै कथ्यमा आधारित भएर एउटा डकुमेन्ट्री तयार पार्न अनुप सुवेदीसँग म पनि करापुटार पुगेको थिएँ । त्यस क्रममा करापुटारे भाकाविना यताको वास्तविक बिम्ब प्रतिनिधित्व नहोला भनेर स्थानीय रामबजारका एकजना गुरुङ दाइको घरमा स्थानीयलाई जम्मा गरेर गाउन लगाइएको थियो । अझै पनि डकुमेन्ट्रीचाहिँ सार्वजनिक प्रदर्शनमा आएको छैन । गीत के–कति समेटिएको छ भन्ने पनि था भएन । यता केही वर्षदेखि लमजुङका विभिन्न ठाउँमा ठाडो भाकाका गीत रेकर्ड गरिएका र पाको या काँचो रूपमा युट्युबमा राखिएको भने पाइन्छ । ठाडो भाका गाउँदै हिँड्नेलाई, श्रद्धाञ्जली भेडीखर्के साइँलालाई ।

Wednesday, September 6, 2017

कमलु सदा, इयान कुर्दी र भुइयाँ


जीवनभरि माटोसँगै खेले पनि, माटोमै हुर्किए पनि
हामीसँग आफ्नो भन्ने 
माटो नै कहाँ थियो र तँलाई गाड्नू ?
तैँले नांगैभुतुंगै खेल्ने ऐलानी आँगन
सरकारको थियो
तेरो बाबुले बर्खामा जोतेर हिउँदमा धानको सिला खोज्ने गरेको खेत
मालिकको थियो
हामीसँग माटो त त्यति मात्र थियो 
जुन श्रमको पसिनासँगै 
हाम्रो आङमा टाँसिएर आएका थिए 
आज बाढी बनेर आएका आँसुका भेलमा 
ती माटोलाई पनि खलल्ल पखालेर
अचानोमा राखेर आफ्नो मुटु तँलाई बिदा गर्दै छु
जानू, खुसीले जानू
जहाँ माटो भेटिन्छ त्यहीँ टक्क अडिनू
र समाधिस्थ हुनु
— विवश पोखरेल, १७ भदौ २०७४, कान्तिपुर

कमलु सदा विश्वभर चर्चामा छन् । साउन अन्तिम साता आएको बाढी र डुबानका समयमा जलमग्न आफ्ना बस्तीमा उनले आफू गाडिने तीन फिट जमिन पनि पाएनन् । आफ्नो नाममा कुनै माटो नभएका परिवारले उनलाई सत्गत गर्न ओभानो जमिन पनि नपाएपछि, कसैले उनलाई माटोमा गाडिने व्यवस्थाका लागि सहयोग नगरेपछि, यो सारा सभ्य समाज, यो राज्य, यी संस्था, यो लोकतन्त्र र मानव अधिकारका फगत डकुमेन्ट्सप्रति व्यंग्य गर्दै कमलु सदाको लास कोसीको भेलमा बगिरहेको दृश्य ‘भाइरल’ बनेर फैलियो । यसले २ सेप्टेम्बर ०१५ स्पेनको समुद्री तटमा मरेपछि छालले किनारमा धकेलर घोप्टो परेको अवस्थामा भेटिएको तीन वर्षे सिरियाली शरणार्थी बालक इयान कुर्दीको लासको झल्को दिन्थ्यो । इयान कुर्दी पुँजीवादी विश्वकीकरणको चेपमा परेर गृहयुद्ध सल्केको सिरियामा शान्तसँग बस्ने जमिन नपाएर भाग्दै गरेका हजारौँ शरणार्थीका दुःखका प्रतीक थिए । कमलु सदा सामन्तवादले हुर्काएको र पुँजीवाद र भ्रष्ट राजनीतिले मलजल गरेर स्यहारेको सीमान्तीकरणको सिकार भएका नेपालका लाखौँ दलित र भूमिहीनका दुःखका प्रतीक हुन् । विवश पोखरेलको कविताले कमलु सदाका नियतिमाथि, कमलु सदाकी शोकाकुल आमाका विवशता र बाबुका सुस्केरामाथि शक्तिशाली न्याय गरेको छ तथा नेपाली राज्य र यसका सञ्चालकको अपराधमाथि गम्भीर प्रहार गरेको छ । आजको नेपाली कवितामा कमजोर वर्गका पक्षमा यो कविताले जति शक्तिशाली हस्तक्षेप गरेको कमै देख्न पाइन्छ ।
कमलुको कोसीमा बग्दै गरेको लासले नेपालमा आफ्नो माटो नहुनेका दुःख भन्छ । र, यसले दलित, सुकुम्बासी, हरुवा–चरुवा, हलिया, पहिरोपीडित र विकासपीडित भूमिहीनबारे घोत्लिन बाध्य पार्छ । यता बजारमा यही साता आएको यज्ञशको गैरआख्यान पुस्तक भुइयाँले यी सीमान्तीकृत भूमिहीनका संघर्षका अनेक कथामार्फत माटोमाथिको साझा अधिकारका पक्षमा आवाज उठाएको छ ।
एउटा समय गुज्रेपछि मान्छेको सोचाइले पनि कोल्टो फेर्छ । देखिरहेका कुरा पुराना लागेपछि मान्छे भ्रमणमा नयाँ ठाउँमा जान रुचाउँछ । सहरमा अहिले बौद्धिक विमर्शमा पनि एउटा नयाँ पालुवा पलाउन खोज्दै छ । पहिले राजनीतिकर्मीले गर्ने या गैससले आफ्नो ‘कन्स्टिच्युएन्सी’ बनाउन दलित र गरिबका कुरा गर्थे । केही समाजशास्त्री आफ्ना खाइजीविकाको स्रोतका लागि गरिबका बस्तीमा पुग्थे, तिनले केही लेखिहाले भने पनि त्यो जर्नल या विश्वविद्यालयको घेरा या सेमिनार र बढीमा अंग्रेजीका पाठकका लागि पुस्तकका रूपमा आउँथ्यो । अहिले गरिब या सीमान्तकृत वर्गका मान्छेको खोजी पपुलर बौद्धिक विमर्शका फोरममा पनि हुन थालेको छ । अवश्य आमसामाजिक मनोविज्ञानजस्तै बौद्धिक चेतना र शोधको पनि वर्ग पक्षधरता हुन्छ । आफ्नो पुस्तक विमोचनका वेला बोल्दा यज्ञश भन्दै थिए– हाम्रो बौद्धिक बहस र पत्रकारितामा मध्यम वर्गका कुरा र चिन्तन हाबी भए । सीमान्तीकरणमा परेका तल्लो वर्गप्रति पनि ध्यान दिनु जरुरी भइसकेको छ । केही महिनापहिले पत्रकार जनक सापकोटा वैदेशिक रोजगारीमा जाने र तिनका आश्रित परिवारका अनेक हन्डरबारे कहर लिएर आएका थिए । अहिले पत्रकार यज्ञश भुइँमान्छेको अर्को शक्तिशाली कथ्य लिएर आएका छन् ः भुइयाँ ।
उभिने जमिनका लागि 
जसरी कमलु सदाले गाडिने तीन फिट जमिन पनि पाएनन्, इयान कुर्दीले मर्नका लागि पनि जमिन नपाएर समुद्रमा मरेपछि छालबाट हुत्तिएर किनारमा धकेलिनुप¥यो । त्यसरी नै भुइयाँ या जमिन आफ्नो नाममा नभएर, कतै ढुक्कले छानो हालेर वास बस्ने जमिनको टुक्रो नभएर, दशनङ्ग्रा खियाएर खाने माटो नभएर यही देशमा शरणार्थी बनाइएका लाखौँ मानिस छन्, कमलु सदाका आमाबाबुजस्तै । विवश पोखरेलको कविताले भनेको जस्तै ।
तर, यता तिनीहरू केबल भाग्यलाई सरापेर या पुर्पुरोमा हात लगाएर आत्महत्या मात्र गर्दैनन् । देश भनिने कुनै अवधारणाले, आफैँमाथि शासन गर्ने हक खोसेर लिएको राज्य भन्ने कुनै अवधारणाले, परम्पराका नाममा, जातका नाममा, लिंगका नाममा स्रोत मुठ्याएर बसेकाहरूले सिर्जना गरेको संरचनागत थिचोमिचोले पेलिएर निसास्सिएकाहरू पनि संघर्षमा उठ्दै गरेका छन् । कहिले राजनीतिक दलले आशा देखाएर उनीहरूलाई उठाएका छन् र बीच धारमा लगेपछि छाडेका छन् । कहिले विभिन्न गैरसरकारी संस्थाले पनि आशा जगाएका छन् । केहीले आफ्ना लागि विकल्प साँघुरिँदै गएपछि संगठित भएर प्रतिरोध गरेका छन् ।
यसरी नै संघर्षमा सामेल भएका महिला (चुके चौधरी र बलदेव रामबाहेक) जिजीविषाका कथा यज्ञशले यसमा उनेका छन् । जो–जो पात्रमार्फत लेखकले यसमा कथा भनेका छन्, तिनले भूमिहीनताको मात्र प्रतिनिधित्व पनि गर्दैनन् । मुस्लिम, मुसहर, बादी, तामाङजस्ता सीमान्तीकरणमा परेका समुदायको पनि प्रतिनिधित्व गर्छन् । कम्लरी बनाइएकी, आफ्नै पतिबाट बेचिएकी, आफ्नै बिरादरीका महिला र पुरुषबाट चौतारीमा नांगै पारिएकी पार्वती डगौरा र यिनका दुःखमा साथ दिन आइपुगेको कमैया चुकेका कथा छन् । आफ्नो अधिकार खोज्न अधियाँमा कमाएको धान तिरो तिरेको रसिद नलिई दिन्न भन्दा वर्षाैंदेखि जमिनदारको भाग धान भकारीमा राखेर पर्खेकी तर सबै राज्यका संयन्त्र र राजनीतिक शक्तिको दमनमा परेकाले खेतबाटै बेदखलमा परेकी सलमा बेहेनाले भूमि अधिकारका लागि गरेका संघर्षका कथा पनि छन् ।
पार्वती विक र पुतली तामाङ, पार्वती राजीले आफ्नै जमिनमा वास भए यो जीवन कति सार्थक हुन्थ्यो भनेर कल्पेका र गरेका संघर्षका कथा । सीमान्तीकरणमा परेर हेपिएका मुसहर महिलाले विद्यालयमा भइरहेको ठगीविरुद्ध गरेका संघर्ष या चन्द्रेश्वरी सदाले आफ्नै कुलदेवता राख्ने स्थान खोज्दै सार्वजनिक जमिन ओगटेर स्थानीय भूमिपतिसँग पौंठेजोरी खेल्दै गरेको संघर्षको कथा । यस्तै कथा छन् पुस्तकमा । कसरी नेपालका राजनीतिक दलले, खासगरी वामपन्थी भनिने दलले आशा र सपना देखाएर यी साधारण मानिसलाई ठगे र अपमान गरे भन्ने विस्तारको चर्चा यो पुस्तकमा भएको एउटा भव्य कथ्य हो । यसलाई एमाले र माओवादी पार्टीका बडेबडे क्रान्तिकारीले पनि पढे हुन्छ, तिनको क्रान्तिले कसका लागि काम गरेको थियो भन्ने जान्नका लागि ।
एउटा विडम्बना या संयोग, पुस्तकमा बलदेव रामको प्रसंग छ । उनका आक्रोश र प्रश्नले केही पेज स्थान पाएका छन् । लेखकले बलदेव अझै आफ्नो आक्रोश पोख्दै होलान् भन्ने कामना गरेका छन् । तर, पुस्तक विमोचन भएको ठीक एक महिनाअघि बलदेव रामको मृत्यु भयो । उनका प्रश्न भने अझै यो धर्तीमा गुञ्जिरहेका छन् । उनको आक्रोशको आगो अझै बलिरहेको छ । उनले आफू र लेखकबीचको दूरी, भिन्न जात र समुदायबीचको दूरीबारे लेखकसँग प्रश्न गरेका छन्, ‘ए सर मभित्र के होला ? जसले मलाई रिसाहा बनाउँछ ? यतिका वर्षसम्म मैले भोगेका कुरा तपाईंले भोग्नुभएको छ ? अर्काको घरको मरेको भैंसीको मासु सात दिनपछि ल्याएर खानुभएको छ ? खान्नँ भन्दाभन्दै जबर्जस्ती कसैले तपाईंको मुखमा हालिदिएको छ ? हामीले रिसाउन पनि नपाउने ? हामीलाई के दिएको छ र हामी खुसी हुने ? गरिबले सजिलै पाउने पीडा मात्रै हो । पीडा धेरै भएपछि आक्रोश जन्मिन्छ ।’
फेब्रिकेसन
यज्ञशको पुस्तकका कथा नेपाली आममान्छेका कथा हुन् । आममान्छे मतदाता हुन सक्छ, अरूका लागि काम गरिदिने र यो सामाजको वैभवतालाई सहयोग गरिदिने श्रमिक हुन सक्छ । तर, अरूजस्तै मान्छे बन्न पाउँदैन, नागरिक बन्न पाउँदैन । अहिलेसम्मको न्यायविधान यही हो । यसलाई यज्ञशले राम्रोसँग उतारेका छन् । न्यारेसनको एउटै समस्या छ । कतिपय कथामा लेखकले ‘भिजुअल इफेक्ट’ सिर्जना गर्न निकै मिहिनेत गरेका छन् । कहिलेकाहीँ त यस्तो भिजुअल इफेक्टले मूल कथालाई छायामा पार्न खोजेको देखिन्छ । एक्लो ढुकुरको कथा या नेपालगन्जका चोक र होटेल, गुलरियाको एउटा चिया पसलमा टाँसिएको कमल थापाको पोस्टर अथवा बुढासुब्बाको चित्रण यस्तै फेब्रिकेसनको सिकार भएर लेखिएझैँ लाग्छन् । सायद सानैदेखि सिनेमाको लत लागेका यज्ञशलाई ‘सबकन्सस माइन्ड’ले यता निर्देशित गरेको हुन सक्छ । यज्ञशले आउने दिनमा यस्ता थप सिर्जना ल्याउने आशा गरौँ र यस्ता रिपोर्ताजमा ‘मेन स्टोरी’लाई ‘स्याडो’मा पार्ने गरी उपकथा नथप्न उनले ध्यान दिनेछन् भनेर विश्वास गरौँ ।
पुस्तकको अन्तिम अनुच्छेद आवश्यक थिएन । ‘दि सेकेन्ड लास्ट प्याराग्राफ’ले मलाई चर्चित भारतीय चलचित्र निर्देशक श्याम बेनेगलको सिनेमा अंकुरको आखिरी दृश्यको सम्झना दिलाए । सिनेमाको अन्तममा जमिनदार सूर्या (अनन्त नाग) ले बहिरो र बोल्न नसक्ने किस्तया (साधु मेहर) लाई कुटेर थिलथिलो पारेपछि उसकी पत्नी लक्ष्मी (सवाना आजमी) ले लिएर जाँदै गर्दा एउटा दश–बाह्र वर्षको बालक दृश्यमा आउँछ र सूर्याको घरको सिसाको झ्यालमा ढुंगाले प्रहार गरेर भाग्छ । यो प्रहारलाई क्रान्तिको टुसा पलाएको अर्थमा आरोपित गरेर बेनेगलले एउटा सन्देश दिन खोजेका छन् । यता हाम्रा लेखक भन्छन्, ‘मान्छेका कति पुस्ता आक्रोशको आगोमा जलेका छन्, कति पीडाको नदीमा बगेका छन् र कति करुणासँगै जमेका छन् । पानी पनि जम्यो भने हिउँको चट्टान बन्छ । चट्टानहरू एकत्रित भए भने सत्तामाथि प्रहार गरिने ढुंगा बन्छन् । त्यसले फेरि कति पुस्तापछि जन्माउँछ आगो ? आक्रोशको आगो ।’ यो पुस्तकमा समेटिएका सबै कथा यस्तै सिनेमा बनाउन योग्य छन् ।
यति लेखेपछि पछिल्लो प्याराग्राफ थपेर लेखक अचानक राजनीतिक आग्रह छोप्न नसक्ने अखबारको डेस्क सम्पादकमा बदलिन्छ र नराम्रोसँग फस्छ । जुन अरू अध्यायमा पनि ठाउँ कुठाउँ आएको छ ।
जो–जो नेपालको राजनीतिलाई र वेला–वेला हुने अनेकखाले आन्दोलनलाई चिन्न चाहन्छन्, जो नेपाली समाजबारे स्कुल र कलेजमा पढाइएका पाठ र संरचनागत रूपमा राज्यले निर्माण गरेको वैचारिक वर्चस्वभन्दा भिन्न ढंगले बुझ्न चाहन्छन्, तिनले यो पुस्तकबाट अवश्य केही खुराक पाउनेछन् । त्यसपछि कमलु सदाको तस्बिर बल्ल असामान्य लाग्नेछ । हाम्रो राजनीति, अर्थतन्त्र र समाज व्यवस्थामा अझै प्रहार नपुगेको थाहा हुनेछ ।
नयाँ पत्रिका 9/7/2017