Monday, October 21, 2019

बुढो हुँदै जाँदा


हेर्दा हेर्दै
अन्ठाउन्नौ जन्मदिन आयो र गयो
अब दुइबर्षमै हुनेछु म तिनबिस उमेर काटेको
राज्यले मलाइ मान्नेछ जेष्ठ नागरिक
नचाहे पनि म हुनेछु विद्यालयका केटाकेटी झंै
सार्वजनिक यात्रा र अस्पतालमा छुट पाउन लायक
काम गरेर खान अयोग्य ठहर गरेको प्रमाणजस्तो
दिइने छ मलाइ पनि एउटा परिचय पत्र
बसका छेउमा छुट्याइने दुइ सिटमा
मेरो पनि हक हुनेछ
यता विस्तारै म विस्थापित हुनेछु
घरको दैनिक व्यबहारबाट
............
छोराले सुनाउन छाड्ला आफ्नो नयाँ योजना
अथवा गर्ला आफ्नो विहेमा निम्तो
मलाइ नसोधी
जसरी मैले गरेको थिएँ आफ्नो विहेको निम्तो बा आमालाइ
मलाइ नसोधी किन्ला कतै घडेरी
कुनै दिन भनिदेला म त डिभी परेर हिँडें अमेरिकातिर
या कुनै विहान खाना खाँदै गर्दा
भन्ला छाडेर जाँदैछु घर
जसरी विना सुचना मैले पनि गरेको थिएँ
गृहत्याग
अथवा घुर्की लगाउला र सुनाउला आक्रोस
तिमिहरुले ल्याएको गणतन्त्र र
आउँछ भनेको समाजवादले
केही दिएन गरिखाने ठाउँ
पाखुरी बजारेर खान जाँदैछु अष्ट्रेलिया
थपिदै जाँदा उमेर
आउला परिवारको शक्ति सम्वन्धमा फेरवदल
.........
हजुरबाले झैं म पनि विहान निदाउन छाड्ने छु
चार घडी रात छँदै व्युझने छु
कल्पन्छु मेरा के योजना होलान
ओच्छ्यानमा कोल्टो फेर्दै सम्झीनका लागि ?
साठी कटेपछी
हजुर बा सुनाउँनुन्थ्यो ‘रे’ आफ्ना कुरा
यिनै असोजका रातहरुमा निद्राबाट ब्युँझेपछि
बुनेका योजना
कार्तिकको आखिरीमा बेसी झरेर धान काटेको
दाँइ सकेर गोठ पनि बेसीतिर सारेको
मंसीरमा नुन लिन लेते या झुम्सा  पुगेको
फर्के पछि खर काटेको र उखु पेलेको
त्यति गर्दा पनि उज्यालो नभएपछि उठेर तमाखु तानेको

बालाइ मैले कहिल्यै सोधिन
के गुन्नु हुन्थ्यो विहानको अनिद्रामा
साठी कटेपछी
मलाइ कहिल्यै फुर्सद भएन बासंग यति बात मार्ने
कहिले राजनीतिका तानाले तान्यो
कहिले जिजिविषामा यता उता काम गर्दै भूलियो
काठमाण्डौका सभा र गोष्ठी
पत्रिका र टिभी रेडियो
खुब गरियो सामाजिक न्यायका कुरा
कहिले आफ्ना लागि
कहिले अरुका ‘कामका’ लागि कुदियो
अहँ बा संग कहिल्यै नजिकै बसेर
उनका योजना सुन्ने फुर्सद निकालिएन
आफ्ना हाड घोटेर
परिवारको निधारमा लगाइएकोे चन्दन
कति दुःख्छ फर्किरहने पिडौंला अहिले ओच्छ्यानमा
घाँसको भारीसहित लडेर दुःखेको ढाड
धनुस झैं बाँगिएको मेरुदण्ड
करकर खाइरहने देव्रे गोडा
र बोकिएका धुरी खाँवा र खनिएको खेत
विराएको बगर र फाँडिएका खोरिया
सम्झनामा आउँदा कस्तो हुन्छ मन
र के देखिन्छ तिनको परिणाम ?
कस्तो लाग्छ जीवन असी कटेपछि
र कस्तो लाग्छ सम्झिदा
हुर्केको र बनाएको घर
पसिनाले मुछेको माटोमा फलाएको अन्न
गोरेटो खियाउने पाइताला
र पाइताला खियाउने गोरेटो
सन्तानहरुको भविष्य बनाउँदा विग्रेको आफ्नो भविष्य
असि कटेपछी ?

अहिले बा अल्जाइमर्सले ग्रस्त छन
न विगत वारे थाह छ
न आगतबारे
न आफु बारे थाह छ
न जन्म र मृत्युबारे
अब बासंग सोध्ने कुरा सकिए
तर सकिने छैन कहिल्यै
समय छँदै नगरिएको कुराका लागि पछुताउनु
र आफैसंग शरम मान्नु
नसम्झिने बासंग
नदिइएको समयका लागि मन मनमा माफि माग्नु
अपराधबोधले लज्ज्ति हुनु
एउटा स्मृती दशं रहिरहनेछ बा का नाममा
..........
यता म हिसाव गर्छु
जीवनमा गर्नुपर्ने केही काम बाँकी छँदै
हुँदै गइएछ बुढो
अब बिस बर्ष पछि पनि
पाण्डे र बराल सरहरु जस्तै
ठम ठम हिँडेर काठमाण्डौका गल्लीहरुमा
गरिएला के वौद्धिक कर्म ?
अभी, खगेन्द्र र बैरागीहरुले झैं
सभा र गोष्ठीमा पत्रपत्रिकामा
बोलिएला के ज्ञान गुनका कुरा ?
कि समय नहुँदै डिपि सरजस्तै
भैएला इन्तु न चिन्तु ?
.........
मलाइ गर्नैपर्ने कामको फेहरिस्त लामो भए झैं लाग्छ
यता आफ्नो समय घट्ने
उता गर्नुपर्ने कामको सुचि तन्कने
तनावमा हुन्छु म विहान विहान
बरालिएरै वितेको यायावरी जिन्दगी जस्तै
आउने दिन पनि यसै वित्लान कि भन्ने चिन्ताले

मलाई केही काम सकेर मात्र मरुँ भन्ने छ
कम्तीमा उत्तर खोज्न सकियोस
कि
गणतन्त्र उत्सव मनाइरहेको टुँडिखेलमा
गणतान्त्रीक राज्यका संरक्षकहरुलाइ
किन सुरक्षा दिइरहेका हुन चार कुनामा
घोडामा कासन कसेका
निरंकुश साशकका विम्वहरुले ?
किन बसिरहेको हो त्रिभुवनको शालिक
अमर सहिदहरुको काँधमा टेकेर
शहिद गेटमा ?
.........
गणतन्त्रको झण्डा गाडिएको सिंहदारवारको जग भित्र
पिपामा भर्ति गरेर दास बनाइएका
नासिने जात भनिएका तामाङ पुर्खाहरुको
उत्खनन गरेर अस्थिपञ्जर
गरियो कि गरिएन दाहसंस्कार ?
गणतन्त्रका लागि मारिएका
अभागी आमा बाबुका सन्तानहरुको
गरियो कि गरिएन सतगत
कि अझै मुच्र्छित छन तिनका आत्माहरु ?
वर्ग मित्रहरुलाइ लिएर लडाइमा
अघि लागेका हुरीचराहरु
किन पुगे कर्पोरेट हाउसकै खोपीमा गुँड बनाउन ?
........
आफ्ना कार्यकर्ताहरुलाइ पढाउँदै माक्र्सवाद
सिकाउँदै विकासको ऐतिहासीकता
र कम्युनिष्ट मेनुफेष्टो
अथ्र्याउँदै धर्म र अफिमको उपमा
जप्न लगाउँदै द्धन्दात्मक भौतिकवाद
कसरी पुग्यो साम्यवादी नेता
परम माताको शरणमा ?
पिएर गुरुको विर्य मिश्रित होली वाइन
कसकसले गरे समाजवादको गर्भाधान ?

गोलघरको सन्देश लिएर
जेल तोडेर भाग्ने
मोदनाथ प्रश्रीत
अचानक किन गर्दैछन परिक्रमा
पृथ्विनारायाण शाहको शालिक ?
किन गाउँदै छन सनातन धर्मको महिमा
पुरानो सत्ताको राष्ट्रगान ?
भत्काएर युद्धप्रसाद मिश्र र गोपाल प्रसाद रिमालको शालिक
या पुरेर माटोमुनी गोकुल जोशीको स्मृती,
विर्सेर दुर्गालाल श्रेष्ठ या विमल निभा
पारिजात या कुन्ता शर्मा
कसरी बने माधव र सत्यमोहन गणतन्त्र नेपालका राष्ट्रद्धिप ?

गणतान्त्रीक प्रज्ञाप्रतिस्ठानका डवलीहरुमा
किन बज्छन निरंकुश कालका विचारसत्ताका बाँसुरी
किन पुजिन्छ विभेदकारी सत्ताको प्रेतात्मा ?

माछापुच्छ्ेको छायाँमा आनन्दले सुस्ताउँदै
प्रकृती र प्रणयलिलाको मञ्चन गर्न छाडेर
पागलवस्तीलाइ नाट्यरुपान्तरण नगरेर
किन निर्देशित गर्र्दैछ
मन्नु भण्डारीसंग पैंचो लिइलिइ
नाटक महाभोज
अनुप बराल ?

जुत्ता सिउँदा सिउँदै मरेको
हर्कबहादुर सार्किको नाती
दौरा सुरुवालमा ठाँटीएर
अघि पछी साइरन बजाउँने गाडीको लस्कर
झण्डा हल्लाउँदै हुँइकिने अवसर
गरेर ‘आहुती’
आफ्ना घोप्टे र बाँक्ला जुँघा
र आँखामा आक्रोसको ज्वाला लिएर
तेस्र्याउँदै सिंहदरवारतिर एउटा चोर औंला
किन गरिरहेको हो पुतलिसडकमा ओहोर दोहोर ?
प्रज्ञाका डवलीहरुमा उसको प्रवचन
तालि बजाउँदै र मुण्टो हल्लाउँदै
किन सुनिरहेका हुन पण्डित बाजेका नाती नातिनीहरु ?

किन बरालिएका हुन यी
दलित, खम्वु, लिम्वु र खाम
या थारु र मधेशी युवायुवतिहरु
दोस्रो दर्जाको ट्याग झुण्ड्याएका महिलाहरु
कवितामा, कथामा, सामाजिक सञ्जालमा
आक्रोसको ज्वाला लिएर  ?
नाघेर तोकिएको मर्यादाको सिमा
छाडेर आरन र मेशिन  या गृहस्थी
भुुसुक्कै विर्सेर जदौ र हजुर
भाषाकै विपठन गर्दै किन हिँडिरहेका हुन जुलुसमा ?

आफ्ना पतिपत्नि अथवा प्रेमीप्रमिकाको प्रेम पासमा
सुस्तरी सासै सासले भावना पोख्न छाडेर
किन लेख्दै हिँडेका हुन बाउँठिएका कविता
सङ्गीत, विनोद, राजु, स्वप्नील र सरिता ?

अब पनि विना योजना विस बर्ष बाचेँ भने
के म यतिका प्रश्नहरुको उत्तर खोज्न सकुँला ?
अन्ठाउन्न लागेपछिका मेरा कच्मिला आँखा
गनिरहन्छन प्रश्न
तर अझै पाउने छाँट छैन मैले यीनको उत्तर

के म प्रश्नकै भारले थिचिएर मरुँला
र यमराजसंग पनि यीनै प्रश्न तेस्र्याएर
सुरु गरुँला नर्क यात्रा ?
प्रश्न लिएरै भेट्न पुगुँला
गोविन्द वर्तमान र अग्नि शिखा ?
तिनबिस लाग्दै गर्दाको यो क्षणमा गम्दा
मेरा अतृत्प सपना ऐंठन गर्न आउँछन
विनायोजना बुढो हुँदै जाँदा ।

९ असौज २०७६
(२०७६ असौज २६ गते कान्तिपुर दैनिकको कोसेली मा प्रकाशित कविता सम्पादन सहित )
आजै देखी बिस्तारै समाचारमा उध्रीत् गरिने श्रोत ब्यक्ती नबन्ने निर्णय गरियो । पहिले टि.भी बाट यो थालिने छ । विस्तारै अखबार्मा पनि लागु हुने छ । रेडियो त छोडिनै सकियो । जय होस् ।