Tuesday, October 30, 2018

नेकपालाई सन्चो–बिसन्चो


गीत–संगीत क्षेत्रमा हरेक साता र कतिपय त दिनमा नै कुन गीत लोकप्रियताको पहिलो नम्बरमा छ र कुनको हविगत १० नम्बरबाट पनि ओरालो लाग्यो भन्ने हिसाब भइरहन्छ । नयाँ गीतले पुरानोलाई विस्थापित गर्दै लगेजस्तै राजनीतिक र सामाजिक घटनाका पनि चर्चाको उच्चता र ओरालोको गति हुन्छ । यतिवेला नेकपाभित्रको राजनीति चर्चाको पहिलो नम्बरमा छ ।
संसद्को वर्षे अधिवेशन समाप्त हुने वेला नेकपाका वरिष्ठ नेता कमरेड माधव नेपालले संसद्को रोस्ट्रममा उभिएर जे बोले, त्यसले उत्पन्न गरेको तरंगले अझै पनि नेपाली राजनीतिमा चर्चाका लागि स्थान पाइरहेको छ । सामाजिक सञ्जालदेखि पत्रकारितासम्म पार्टीका कोठे भेलादेखि चियापानसम्म चर्चामा, यस्तो विषयले देशमा यति लामो समय चर्चा पाउनु भनेको राजनीतिक घटनाक्रम अत्यन्त सुस्त छन् भन्ने कुराको संकेत पनि हुन सक्छ । यस्तो चर्चाका अनेक पक्षमध्ये नेकपाभित्र माधव नेपालले राखेको असहमति पनि एउटा हो ।

पार्टीभित्रका मित्रहरूबाट कार्यालयको कुर्सीमा बस्दा पनि यसो यताउता हात लगेर सिटबेल्ट खोज्छन् भन्दै चिनाइने गरेका कमरेड नेपालको अनुपस्थितिमा भएको बैठकका निर्णंयबारे असहमति दर्ज गरेर चियापानसमेत आयोजना गर्न पुगेका उनको यो क्रम सचिवालय बैठकमा समेत जारी रहेको छ ।  उनको आलोचनाका पछि दुइटा पक्ष देखिन्छन् । पहिलो हो, उनी सरकारको कामको गतिबाट असन्तुष्ट छन् ।
असन्तुष्ट त आमनागरिक पनि छन्, पार्टीभित्र पनि खुसुरबुुसुर सुरु भएको छ । कतै यो दुईतिहाइको वामपन्थी सरकारको कामको बचाउ गर्न मुुुस्किल पर्ने त होइन भन्ने चिन्ता कार्यकर्तामा सुरु भएको देखिन्छ (गुटगत मनोविज्ञानका कारण यसमा मात्रात्मक भिन्नता अवश्य हुनुपर्छ) । यसपालि दसैँ मनाउन पोखरा आएका वेला भेटिएका नेकपाका कार्यकर्ताले मसँग गरेका कुरा सुन्दा तल्लो पंक्ति चाहिनेभन्दा बढी असन्तुष्ट रहेको देखाउँथे । को कुन गुटको हो भन्ने थाहा नभएकाले यस्तो असन्तुष्टिका पछि गुटगत राजनीतिको प्रभाव के–कति छ भन्ने यो पंक्तिकारलाई ठम्याउन सहज भएन । तर, नेकपाको एउटा पंक्ति असन्तुष्ट छ भन्नेचाहिँ बुझियो ।
माधव नेपालले आफ्ना असन्तुष्टिको कुनै वैचारिक राजनीतिक पक्ष भने प्रस्ट पारेका छैनन् । बरु उनले सरकारका मन्त्रीहरूले काम नगरेको या सडकमा खाल्डाखुल्डी भएको विषयलाई हल्काफुल्का ढंगले उठाएका छन् ।
एकपटक देशको प्रधानमन्त्री भइसकेका र नेकपा एमालेको १५ वर्ष नेतृत्व गरिसकेका माधव कमरेडले सरकारको आलोचन गर्दा सामान्य विरोधीले या आमनागरिकले गर्ने आलोचनाका वरपर रहेर बोल्न सुहाउने कुरा थिएन ।
उनले संघीय सरकार र प्रदेश सरकारका अन्तरविरोधबारे केही भनेका छैनन्, अहिलेको सरकारको नीतिगत कमजोरी कहाँनेर हो पनि भनेका छैनन्, वैचारिक रूपमा कुन वर्गको पक्षमा काम गरियो र कसको पक्षमा गर्नुपथ्र्यो भन्ने विषय पनि उठाएका होइनन्, विकासको अवधारणामा कहाँनेर समस्या रह्यो र के गर्नुपथ्र्यो पनि उनले बताएनन् ।
उनले सनातन रूपमा लगाइने भ्रष्टाचार र ढिलासुस्तीको कुरा, कर्मचारीको असहयोगको कुरा उठाए र आफ्नो आलोचनालाई भुत्ते बनाए । दलभित्र सत्तारुढ गुटको दमनमा परेको अनुभूति गरेकाहरूलाई र प्रतिपक्षलाई त उनको आलोचनाले काम ग-यो, बाँकी हस्तक्षेप भने गर्न सकेन ।
उनको दोस्रो चिन्ता पार्टीभित्र पद्धति र विधिविधानको पालनालाई लिएर उत्पन्न भएको देखिन्छ । सदाझैँ गुटगत प्रभावमा रहेर गरिएका निर्णयका कारण आफ्नो गुटमा आबद्ध कार्यकर्तामाथि अन्याय परेको चिन्ता माधव नेपालले गर्नु स्वाभाविक पनि हो । नेकपाभित्र यस्तो परम्परा नै छ । कुनै समय थियो, माधव नेपाल या झलनाथ खनालले पेलेको भन्दै ओली समूह समानान्तर कमिटी बनाउँथ्यो ।
खासगरी तत्कालीन माले–एमालेको हकमा पार्टीभित्र अल्पमतमा पर्नेले बहुमतको पेलान खानुपरेको नयाँ र नौलो होइन । त्यसैले पनि यस मामिलामा माधव नेपालले चिन्ता गर्नु बिल्कुल जायज छ । तर, उनले यस्ता विषयलाई पार्टीको सञ्चालनलाई विधिसम्मत बनाएरै छाड्न भनेर उठाए या खास समयमा आफ्नो सीमित हित पूरा हुँदा छाड्छन् भन्ने प्रश्न माधव समूहमा नै उठ्नुले यो चर्चालाई कमजोर बनाएको छ । सम्भवतः आगामी स्थायी समितिको बैठकसम्ममा यसले लिने आकारको छिनोफानो हुनेछ ।
नेकपा स्थापनाको लामो सयम बित्दा पनि समग्र पार्टी–कार्यकर्तालाई एकीकरणको प्रक्रियामा सामेल गर्न नेतृत्व अनिच्छुक देखिएकोझैँ लाग्छ । त्यही भएर हजारमा होइन, लाखको संख्यामा कार्यकर्ता, नेताहरू बेरोजगार छन् ।
जिम्मेवारीमा नभएकाले तिनलाई सडकमा कुरा काट्न सजिलो पनि भएको छ । निर्वाचित पदमा गएकाहरूलाई त आफ्नो काम छ, बाँकीलाई त त्यस्तो काम पनि छैन । अर्कातिर माधव नेपालले आलोचना नगर्दा पनि देखिएको कुरा के हो भने अध्यक्ष ओलीलाई राजनीतिक जीवनको यतिको उचाइमा पुगेपछि पनि गुटलाई संवर्धन र संरक्षण गर्नमा मजा आउन छाडेको छैन । यसरी सबैले साझा रूपमा आर्जन गरेको शक्तिबाट प्राप्त हुने फाइदाचाहिँ एउटा गुटले अँठ्याउन थालेपछि दलमा असन्तुष्टि उत्पन्न हुने नै भयो । यसको विकल्प केवल अवसरहरूको समानुपातिक वितरण (प्रस्टीकरण: यस्तो वितरण पूर्ण समानुपातिक होस् भन्ने मूर्खतापूर्ण सिफारिस पनि गर्न सकिन्न) हो । तर, कमरेड ओलीलाई यसतर्फ खासै रुचि भएको देखिन्न ।

अर्को कुरा स्थायी समितिको वैठक बस्न लागेको नेकपाले वर्तमान सरकारले गरेका कामको समीक्षा गर्दै कमजोरी भए सच्याउन सुझाब दिने आश गर्न पाइन्छ । सरकारलाई सुुझाब दिने भनेको आफ्ना गुटका अहंतुष्टिका लागि भन्दा पनि वर्तमान सरकारले लिनुपर्ने नीतिगत दिशा तिरेको निर्देशन हो । विचारधारात्मक रूपले सरकारले कसरी काम गर्ने भन्नेमा उठेका प्रश्नको निरूपण हो । मानिसहरू असन्तुष्ट किन छन् भन्ने प्रश्नको आग्रहरहित मूल्यांकन हो । मन्त्रिमण्डलको पुनर्गठनमा भने प्रधानमन्त्रीलाई स्वतन्त्र छाड्नुपर्छ । किनभने सरकारको सफलता–असफलताको जिम्मेवारी पनि प्रधानमन्त्री हुनेले नै लिने हो ।
यति वेला नेकपा नयाँ–पुराना घाउ बल्झेर बिरामी भएकोजस्तो अवस्थामा देखिन्छ । मान्छेको जीवनमाझैं पार्टीलाई पनि सञ्चो–विसञ्चो त भइ नै रहन्छ । उपचारमा वेलैमा ध्यान पुगेन भने यसले क्रोनिक रूप धारण गर्न सक्छ । माधव कमरेडको असन्तोषले यो चेत सबै नेतामा पस्न सहयोग गरे ठूलै उपलब्धि हुनेछ ।
08 kaartik, 2075, Nayapatrika

Thursday, October 11, 2018

ठिहीले खाएको रोल्पाली सुइना

नेपालमा १ फागुन ०५२ मा आरम्भ भएर ०६३ वैशाखसम्म नेकपा माओवादीले आह्वान र नेतृत्व गरेको सशस्त्र विद्रोहका प्रभाव जताततै छताछुल्ल भएर पोखिएकै छन् । त्यसले घरबार उजाड बनाएका पूर्वमाओवादी कार्यकर्ताका परिवार, माओवादीसँगको भिडन्तमा मारिएका नेपाली सेना र प्रहरी तथा अरू साधारण घरपरिवारका दुःखका कथा कति छन् कति !
राष्ट्रिय राजनीतिमा त्यसले ल्याएका अजंगका परिवर्तन, १९ दिने जनआन्दोलनमा जनताले ऐतिहासिक रूपमा सडकमा उत्रेर देखाएको सहभागिता, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना, अधकल्चो खालको भए पनि संघीय शासन प्रणाली, बलियो स्थानीय सरकारको व्यवस्था, मधेस आन्दोलन, जागेका जनजाति र महिला तथा दलितका आन्दोलनका उत्थान र बिसौनीका अनेक घुम्ती पनि हाम्रा सामुन्ने छन् ।
संविधानसभाका दुई–दुईवटा निर्वाचनमा जनताले देखाएको सहभागिता, पुरानो सत्तारुढ वर्ग र विचारले गरेको प्रतिरोध र जनयुद्धका प्रभावको शिथिलीकरण, दुईथरी सेना, क्यान्टोनमेन्ट, अनमिनको आगमन र जबर्जस्ती बिदाइ, संविधानको घोषणा, टीकापुर घटना र लामो मधेस आन्दोलन र हाम्रो नयाँ पुस्ताले समेत व्यहोरेकोे नाकाबन्दीका कहरहरू– त्यसका मुख्य घटना हुन्, सत्र हजार नेपालीको ज्यान गएपछि, सयौँ बेपत्ता र हजारौँ घाइते भएपछि ।
हतियार आफैँसित राखेर वार्ता र शान्तिपूर्ण प्रतिस्पर्धाबाटै सकेसम्म र नसके सहरी विद्रोहमार्फत काठमाडौं कब्जा गर्ने भन्दै कार्यकर्तालाई डोर्‍याएर काठमाडौं प्रवेश गरेको माओवादी नेतृत्वको बिस्तारबिस्तारै परम्परागत सत्तासँगको सहवास र एकले अर्कालाई गरेको परिवर्तन भने जनयुद्धमा सामेल साधारण मानिसका निर्दोष सपनामाथि तुसारो हालिदिने परिघटना थिए ।
आफ्नै शक्तिले आर्जेका आँधीबेहरीलाई व्यवस्थापन गर्न नसकेपछि माओवादी पार्टी विभाजन र विखण्डनतिर लाग्यो । क्यान्टोनमेन्ट गएर नेपाली सेनामा सामेल हुने सपना लिएका कतिपय लडाकु अयोग्य घोषित भए र चहरिएका घाउ सुमसुम्याउँदै समाजतिर फर्के । पार्टी नेतृत्वको नयाँ राजनीतिक दिशासँग एकाकार हुन नसकेका र आफ्ना आदर्श र विभ्रमको मिसमासजस्तो मनोदशाका सिकार भएका कैयन् नेता–कार्यकर्ता फेरि नयाँ युद्धको बाटो लिने भन्दै बाटोबाटै फर्किए, कोही बाटामै अलमलिए ।
यस क्रममा जसको भर र आशामा बलिदानको लाइनमा सामेल भएर हिँडियो र जो पछि आफ्नो पहुँचभन्दा परपर हुँदै गए, तिनका अवस्थासँग आफ्ना जीवनका फाटेका बिम्ब तुलना गर्दै कतिपयले भत्केको घर पुनः जोडजाड गरे । कतिपय विदेश भासिए । कतिले आफैँलाई धिक्कारे ।
यीबाहेक अर्को पक्ष पनि थियो– माओवादीले देखाएका सपनामा आफ्ना सपना साटेर कलिला नानीलाई छाडी हिँडेका जोडी, असक्त बाबुआमालाई निस्सासिने भय ओढ्न दिएर निस्केका तर रित्तो हात घाइते शरीर र मन लिएर फर्केका तन्नेरी र अधबैंसेहरू । अनेक–अनेक अवस्थाका यी कथा पछिल्लो दशकमा लेखिएका छन्, नेपाली साहित्यमा । माओवादी वृत्तबाट आफ्नो बलिदानको गाथा गाउँदै लेखिएका संस्मरणात्मक कथा, उपन्यास र गीत, कविता जति पनि छन् ।
गैरमाओवादी वृत्तबाट माओवादी सशस्त्र संघर्षको गैरमाओवादी क्षेत्रले व्यहोेरेका दुःख र प्रभावमाथि पनि लेखिएकै छ । यी यावत् घटनाका आँधी हुन्डरीमा सबैभन्दा बढी सामेल भएका थिए, मध्यपश्चिम पहाडका रोल्पा, रुकुम, जाजरकोट, कालिकोटका पहाडे बस्ती र तराईको बर्दिया तथा कैलाली जिल्लाका थारू बस्ती ।
अहिले तत्कालीन माओवादीको नेतृत्वमा रहेका दोस्रो र तेस्रो तहका नेताहरूको अनुहार छाम्यो भने देखिने चित्र हो रोल्पा र रुकुमका खाम मगर बस्तीहरू उर्लेरै यो अभियानमा सामेल भएका थिए । थवाङ, लिवाङ, जेलवाङ, गाम, अनेक गाउँहरू बिम्बका रूपमा आए । त्यहीँबाट दुई–दुईजना सभामुख र उपराष्ट्रपति पनि बने, पछिल्लो नेपालमा ।
जनयुद्धको गाथा र त्यसको रूपान्तरणपछि साधारण जनले कसरी त्यसलाई हेर्दै छन् भन्ने विषयमा साधारण मान्छेका कथा कमै लेखिएका छन् । अनि माओवादी नेतृत्वले लिएको राजनीतिक बाटोले आममानिसका सपनामा विश्वासघात गर्‍यो भन्ने सन्देश दिने गरी यति गहिराइमा गएर कमै लेखिएको छ, ‘रोल्पा सुइना’मा नवीन विभाषले लेखेको जस्तो ।
कथाकार नवीन विभाष रोल्पाले जनयुद्धका नाममा देखेका सपना र तिनका खण्डहर बन्दै गएका विपनाका एकजना द्रष्टा हुन् । कथा, कविता, निबन्ध र रिपोर्ताजका माध्यमबाट सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा बहसमा ल्याउन निरन्तर प्रयत्न गरिरहने विभाषका ३७ कथाको संगालो रोल्पा सुइनाले जनयुद्धको पृष्ठभूमि, त्यसको उत्कर्ष र अवतरणका अनेक प्रभावहरूको कथा भन्छ ।
रोल्पा र रोल्पाली जोडिएका अनेक कथा सँगालिएको यो संग्रह नेपालको ०५० देखि ०७० सम्मको राजनीतिक उतारचढावको गज्जबको दस्ताबेज हो, त्यो पनि सीमान्तकृत तप्काका सुस्केराहरूको अभिलेखका रूपमा । रोल्पा सुइनाले पाठकलाई जनयुद्धका भयानक दर्द भरिएका कहानीसँगको साक्षात्कार गराउँछ, त्यो कथाको एउटा पक्ष हो ।
अर्को पक्ष भने त्यसले पहिलोपटक नेपाली साहित्यमा रोल्पाली खाम मगर समुदायको भाषा, तिनका संस्कृति, तिनका जीवनका कठिनाइ, कालापहाड धाउनुपर्ने जीवनका अनेक बाध्यता, दुःखले पिल्सिएका जीवनका सुस्केरासँग गराएको साक्षात्कार हो ।
‘बाँस चिर्दा बन्चरोमा लागेको हिलो पखाल्न ती मलामीले पानी मागेका थिए । आँगनमा थिए, दाह–संस्कारका लागि आवश्यक सरसामान । छिट् गरम्, ऐली कर्फु लाइजान्छ । लास पाए एक झल्को हेरोर चित्त बुझाउँथे होला । हाम्ता डरैडरको घर भइम । तम्रो सेतेको ता भरु सनिस आयो तर मेरो लालेको ? धमिनीको नातिनीसित बिहेको कुरा चलाया थे.. । मरो बाँचो था छैन । आन्च कि भनी बाटो हेर्चु । चिजो सोर पाए मन्ता हुँकानाहम । दुर्गे सौलाई चुक्ता गर्छु भन्थ्यो । कालापार पुगिन् गरे । बरु घर्जानलाई पनि गुली हाने एकसासे जानाहम् ।’ (सबकुस)
यी पंक्तिले रोल्पाली साधारण जनले व्यहोरेका जनयुद्धकालीन अवस्थाका चित्र, मानिसलाई कोक्याइबस्ने पिर र भय, उराठिँदै गएको जीवनका अनेक कथा एकैसाथ भन्छन् । र, यसमा प्रयोग भएको स्थानीय संवादले रोल्पाली खाम मगरबीच खस कुरा कसरी बोलिन्छ भन्ने एउटा चित्र पेस गर्छन्। न पैसा मागेँ न तेरो रहर न तेरो बैंस ।
भन्थिस् म त गरिबका दिन ल्याउन हिँडेँ करान्तीमा । छलाङ भन्थिस् । न देशको छलाङ भयो, न जनताको । तेरा नेता पर्चन्न र बाउराम परधानमन्तरी भए भन्चन् । यही हो करान्तिकारी छलाङ ? (सङिनी) माओवादी नेतृत्वले हिँडेको सम्झौताको बाटोलाई अस्वीकार गर्ने अनेक शक्तिशाली सन्दर्भ लेखकले रोल्पाबाट टिपेर सिंहदरबार र पेरिसडाँडासम्म पुर्‍याएका छन् ।
अहिले नेपाली जनताले जे–जति पाएका छन्, जनयुद्ध र त्यसभन्दा अघिपछिका अनेक आन्दोलनका बलमा राजनीतिक परिवर्तन मात्र पाएका छन्, त्यो पनि कतिपय सीमान्तकृत र महिलाका मामिलामा अपूरो छ । घुमाई–फिराई सत्तामा फेरि पुरानो वर्ग ढसमस्स बसेको छ । आन्दोलन या जनयुद्धको आर्थिक, सांस्कृतिक र सामाजिक परिणाम हात लागेको छैन ।
यही व्यवस्थाले त्यस्तो परिणाम जनतासम्म जान्छ कि जान्न, अहिले ठोकुवा गर्न सकिन्न । गए पनि छिद्रहरूबाट चुहेर निकै ढिलो पुग्छ साधारण मानिससम्म । तर, यो व्यवस्थाको विकल्प अर्को व्यवस्था छ र ल्याउनुपर्छ भन्ने चाहिँ देखिन्न । अहिलेको सरकारले अनेक सपना देखेर जनयुद्धमा लामबद्ध हुनेका सपना पूरा गर्छ भन्ने दाबी पनि म गर्न सक्दिनँ । एउटा अधकल्चो अवस्था र समयको हामी सबैले सामना गरिरहेका छौँ ।
विद्रोह गर्ने जनताको अधिकार अविच्छिन्न रहन्छ । विद्रोहको लक्ष्य, त्यसको स्वरूप र त्यसले प्रतिनिधित्व गर्ने वर्गको अवस्थाको निक्र्योलअनुसार यस्ता विद्रोह क्रान्तिकारिता हो कि होइन भन्ने ठम्याउन सकिन्छ । माओवादी विद्रोहको अर्थराजनीतिक आधारभूमि सही थियो भन्ने म मान्छु । यसको बैठान योभन्दा राम्रो परिणाम आउने गरी हुन सक्थ्यो भन्नु अब काल्पनिक कुरा मात्र हो ।
फेरि यही प्रकारको विद्रोह नेपालमा हुनु हुन्न र सम्भव पनि छैन भन्नेमा अहिले पनि म विश्वस्त छु । शान्तिपूर्ण रूपमा सीमान्तकृत जनता र श्रमजीवी वर्गको पक्षमा हुने आन्दोलन र संघर्षको खाँचो अहिले पनि छ, त्यो स्पेस नेपाली राजनीतिमा खाली नै छ । अन्यथा, विद्रोहका रापताप सेलाउँदै जाँदा सत्तारुढ वर्गले अरूले पाइसकेका अधिकार पनि क्रमशः खोस्न सक्छ ।
पछिल्लो समय उपेन्द्र सुब्बाले लाटो पहाडमा लिम्बू जातिको, अब्बामा श्याम शाहले मधेसको, सरस्वती प्रतीक्षाले नथियामा बादी समुदायको, फुलमान बलले कतिपय रचनामा तामाङका पहिचान खुल्ने जेजस्ता रचना नेपाली साहित्यलाई दिएका छन्, त्यस्तै खामभाषी क्षेत्रका भाषिक सांस्कृतिक पहिचानसहितको यो अब्बल कृति होे ।
लेकबेसी गर्दै तिनले गाउने गीत र हाल्ने दन्त्यकथा, बुढाबुढीले रुंगेका उजाड बस्ती, पेन्सने लाहुरेका अनेक स्मृति र जनयुद्धले खण्डहरमा बदलेका अनेक मनका उकल्चिँदा घाउहरू रोल्पा सुइनाले नेपाली साहित्यमा पस्केको छ । जनयुद्धका कथा र रोल्पाली आञ्चलिकताका दुवै पक्ष उन्ने नवीनको प्रयास नेपाली साहित्यका लागि गज्जबको योगदान हो ।
25 Asoj, 2075, Nayapatrika

Tuesday, October 9, 2018

सामाकोसी, बगरमल, ढुंगेघट्टा !

आइतबारको साँझतिर सामाखुसी चोकबाट कलंकी जान म चढेको महानगर यातायातको बस सितापाइला चोकभन्दा केही तल गएपछि रोकियो । जाम कलंकीसम्म तन्केको थियो । धुलोले भरिएको सडकमा गाडीबाट निस्कने तातो र कालो धुँवासमेत मिसिँदा हिँड्न मुस्किल पर्ने नै भयो ।
घरबाट निस्कने वेला खोज्दा–खोज्दा मास्क नभेटिएपछि आफ्नो अनुहारमा कोर्को लगाउन पनि पाएको थिइनँ । तैपनि, लामो जाममा पर्खिरहनुभन्दा कलंकीचोकबाट बस बदल्नैपर्ने भएकाले म बसबाट झरेर पैदल तन्किएँ ।

सडकको देब्रे किनारमा सयौँ यात्रु बस कुरेर बसिरहेका थिए । तिनीहरू धरैजसो काठमाडाैंबाट बाहिरिने बसको पर्खाइमा थिए । तिनका अनुहारमा दसैँ आगमनको एउटा संकेत देखिन्थ्यो । र, त्यहाँ सिंगो नेपालको एउटा चित्र देखिन्थ्यो अनुहारमा, बोलिचालीमा र भिन्न–भिन्न गन्तव्यको पर्खाइमा ।
कतार, सउदी र मलेसियाबाट आउनेहरू आफ्ना कसेर बाँधिएका सुटकेसमा नाम र ठेगाना लेखिएका कागज टाँसेरै समातेर उभिएका र अलमलिएका । तिनलाई लक्षित गरेर सडकमा मकै पोल्ने, चिया पकाउने, पकौडा या मःम या घडी, पेटी, मोबाइलको खोल, पानी, कपडा, यौनजन्य सामग्री भएका पत्रपत्रिका या राशिफल भएका पुस्तक र काँक्रा बेच्नेहरू सक्रिय थिए ।
बसका सहचालक र कन्डक्टरका भद्दा अश्लील संवाद चालू थिए । म लस्किँदै कलंकी चोकमा पुग्दा साँझ पर्न लागेको थियो । गाईका खुरले उडाउने धुलो भए गोधुली साँझ भन्न मिल्थ्यो, गाडीको टायरले उडाउनेलाई गाडीधुली भन्ने कि के भन्नुपर्ने
हो कुन्नि ? नैकाप, सतुंगल, मच्छेगाउँ…! ओ नैकाप… सतुंगल…! कलंकी मन्दिरबाट नागढुंगातिर थुतुनो फर्काएर बसेको बसको ढोकामा सहचालक चिच्याइरहेको थियो । बस यात्रुले ठसाठस भरिएको थियो। झुन्डिएरै भए पनि जानैपर्‍यो भन्दै म अलि बल गरेर बस चढेँ । बाहिरबाट यात्रु थपिँदै थिए । ओ दिदी अलि पछि जानु न… ।
ओ अंकल थोरै उता फर्किनु त । तपार्इंको गोडा अलि पछि सार्नुस् त… ! सहचालक कम कन्डक्टर एकोहोरो कराइरहेको थियो । भित्र पस्न पाउँदा युद्ध जितेजस्तो लाग्ने बसमा प्रवेश गरिसकेपछि यात्रु पनि आफूलाई सुविधा खोज्दै सहचालकलाई गाली गरिरहेका हुन्थे । केही बेरमा बस चल्यो र ढुंगेअड्डाको उकालोतिर लाग्यो । ओइ, ढुंगेघट्टा छ…? ढुंगेघट्टा तिनथाना
छ… ? सहचालकले ढोकामा झुन्डिएरै बसभित्र टाउको घुसारेर भन्यो । ढुंगेघट्टा होइन, यता ढुंगेअड्डा मात्र छ । तर, सहचालक चिच्याई–चिच्याई सुनाइरहेको थियो… ढुंगेघट्टा, तिनथाना … । एकजना अधबैंसे यात्रुले हाँस्दै उसलाई सम्झायो, ढुंगेघट्टा होइन भाइ, ढुंगेअड्डा भन न । तर, सहचालकले नसुनेझैँ फेरि उहि कुरा दोहोर्‍यायो… ढुंगेघट्टा छ ?
त्यसै दिन बिहान एनएसी अगाडिबाट टोखा जाने माइक्रोमा चढेपछि सहचालकले लगातार चिच्याएको सुनेको थिएँ– ओई ठमेल…, सामाकोसी… गिरान्डी हस्पताल । रानीबारी…, सामाकोसी…, हाउजिङ, टोखा… ! सामाखुसीलाई सामाकोसी भनेर बस, माइक्रोबसका चालक या कन्डक्टरले मात्र भनिरहने होइनन्, कतिपय बसमा या घरमा टाँगिएका बोर्डमा पनि सामाखुसी होइन, सामाकोसी नै लेखेको पाइन्छ ।
केही वर्षपहिले म बबरमहल बस्थेँ । रत्नपार्कबाट कहिलेकाहीँ बसमा यात्रा गर्नुपर्‍यो भने कन्डक्टरले ओ बगरमल…, बानेश्वर…, यारपोट । बगरमल बानेश्वर यारपोट… ! भनेर चिच्याएको सुनिरहन्थेँ ।
दश वर्षपहिले, अहिले म बसेको बस्तीबाट उत्तरतिर हेर्दा गुर्जुधारा र सतुंगलजस्ता केही ठाउँबाहेक बस्ती पातलो थियो । अहिले साँझ निस्केर बत्तीको झिलिमिली हेर्‍यो भने आफैँलाई आश्चर्य लाग्छ, यहाँ भएको बस्ती विस्तारको गतिशीलता देखेर । यो अवस्था काठमाडाैं उपत्यकाका सबै काँठमा छ ।
यी बस्तीको विस्तार दाजुभाइ छुट्टिएर बन्ने परम्परागत बस्तीको जस्तो आधारमा भएको होइन । देशभरबाट ओइरिएका नेपालीको एउटा मेल्टिङ पट जस्तो बन्दै गएर विस्तार भएको हो । आर्थिक नियमहरू यसमा पनि लागू हुन्छन् । पहिले–पहिले आउनेले रिंगरोडभित्र घडेरी किने, घर बनाए । त्यता महँगिँदै गएपछि बिस्तारै रिंगरोडबाहिरका नजिक–नजिकका ठाउँ ओगटे । अब रिंगरोडबाट पाँच–सात किमिसम्म बस्ती बाक्लिँदै गएको छ ।
विस्तारित हुँदै गएको छ । यसरी विस्तार हुँदा काठमाडाैंवासीको फरक तर समरुपी संस्कृतिको निर्माण हुने क्रम पनि बढेको छ । परम्परागत काठमाडौंवासीले बाहिरबाट आएर हुलका हुल बसोवास गर्ने यी नयाँ बासिन्दासँग अन्तक्रिया गरेर नयाँ सस्कृतिसँग एकाकार हुँदै छन् ।
बाहिरबाट आउनेले भने नेवारी खाना र खाजा खाने कुरामा बाहेक स्थानीय नेवारी संस्कृति र भाषासँग कमै एकाकार गरेका छन् । परम्परागत काँठका मानिसको सहरसँगको तीव्र अन्तक्र्रिया भएको छ ।

बाहिरबाट अनेक भाषा, संस्कृति, संस्कार, भूगोल र समाजसँग साक्षात्कार गरी हुर्केर आउनेहरूले तामाकोसी सहजै बुझे तर सामाखुसी बुझेनन् । तिनले सामाखुसीलाई सामाकोसी बनाए । कुनै पहाडी गाउँबाट आउने केटो यता सहचालक त भयो तर ढुंगो बुझ्यो अड्डा बुझेन । उसले ढुंगो र अड्डाको तालमेल केही बुझेन, ढुंगो र घट्टको सम्बन्ध भने गज्जबले उसको दिमागमा प्रतिबिम्बित भयो र भन्यो— ढुंगेघट्टा ।
त्यस्तै ठाउँबाट सहर झरेर सबैभन्दा हेपिनेमध्येको एउटा पेसामा लागेको अर्को ठिटोले बगर बुझ्यो । मल बुझ्यो । बबर पनि बुझेन । महल झन् बुझेन । उसले आफँैसँग संवाद गर्‍यो र निष्कर्ष निकाल्यो । बगर त खोला किनार हो, सहजै बुझिने ।
हाम्रा पहाडी खोला किनारका बस्तीहरूमा खोलाखेत या बगरका नाममा खेतहरू हुन्छन् । अनि त्यो बगरको खेतमा मल पनि हालिन्छ । बगर र मलको सम्बन्ध त यसरी उसको दिमागमा सहजै घुस्यो । न बबर कहिल्यै सुनेको न महल । अनि बन्यो– बगरमल ।
काठमाडाैं समरुपी हुने प्रयासमा छ । केही वर्ष बसेपछि पूर्व र पश्चिमबाट आउने नेपालीबीच, खस नेपाली र डोट्याल बोल्नेबीच, कर्णालीको खस भाषा र झापाको खस भाषा बोल्नेबीच एउटा साझा मापदण्डको, स्कुले मापदण्डको, साहित्यले निर्माण गर्ने साझा मापदण्डको भाषामा संवाद हुन्छ ।
यही मापदण्डमा तामाङ, शेर्पा, नेवार, मधेसी, थारू, राई, लिम्बू, मगर सबैसबै मिसिँदै गएका छन् । तिनले एउटा राष्ट्रिय भाषिक मापदण्ड तयार गरिरहेका छन् । पूर्वतिरकाले ल्याएको हाउ ! यता आएर साझा भएको छ । डोट्यालबाट डेउडा हुँदै यता पसेको झ्याम्मझ्याम्म पनि साझा भएको छ । तर, सुदूरपश्चिमेली दुईजनाबीच मात्र हुने संवाद डोट्यालमै हुन्छ । हुँदै छ ।

हिजोअस्ति जितिया पर्व काठमाडौंमा पनि मनाइयो । देशभरका विभिन्न जातिका जातीय संस्कृति झल्किने कार्यक्रम भइरहन्छन् । यताकाले यसलाई विजातीय संस्कृति भनेर हेला गरेका छैनन्, बरु त्यसमा कतै न कतै सामेल हुने प्रयास गरिरहेका छन् । अर्थात् काठमाडौं धनसम्पत्ति, सत्ता र कलाको मात्र केन्द्र बनिरहेको होइन, यसले एउटा नयाँ नेपाल निर्माण पनि गरिरहेको छ ।एउटा सार्वजनिक स्थलमा एउटा मात्र भाषा प्रायः सुनिन्न । त्यहाँ कोही न कोही मैथली, भोजपुरी, अवधी, कर्णालीको खस, नेवारी, तामाङ, लिम्बू, राईका अनेकथरी, गुरुङ, शेर्पा, हिन्दी या खस नेपाली भाषामा बोलिरहेको हुन सक्छ । कुनै पनि बसमा एउटा मात्र भाषामा संवाद भएको भेट्न मुस्किलै पर्छ। कोही न कोही फरक भषामा मज्जाले संवाद गरिरहेको हुन्छ । यस्तो संवाद कहिलेकाहीँ चालक र अपरिचित यात्रुबीच पनि हुन्छ ।
यस्तो नेपाल, जहाँ सबै जाति र क्षेत्रका मानिस समान ढंगले सोच्छन् र एक–आपसमा अन्तत्र्रिmया गर्छन् । यसअघि गोर्खा भर्ती र भारतीय सहरमा काम गर्न जाने नेपालीले विस्तारमा सम्बन्ध स्थापित गरेका थिए । अहिले खाडी मुलुक र मलेसियालगायत देशमा काम गर्न जाने श्रमिक वर्गले पनि यही स्तरको अन्तरघुलन गरिरहेको छ । त्यसले एउटा नयाँ तर समरुपी नेपालको निर्माण गर्दै गएको छ ।
अल्पसंख्यकले बनेको नेपालको बहुसंस्कृतियुक्त विशेषता धान्न पछिल्लो समय बजारले साथ दिन थालेको छ । बजारले सबैका लागि दसैँ ल्याउँछ, तिहार र छठ, ल्होसार, माघे संक्रान्ति, होली, शिवरात्रि र तिज अनिवार्य बनाएको छ । इदलाई सहज र आफ्नो बनाउन सहयोग गरेको छ ।
राज्य र सत्ताका कतिपय अर्थराजनीतिक स्वार्थले पनि समरुपीकरण र परम्पराको अस्तित्वलाई समानान्तर रूपमा लैजान सहयोग गरेका छन् । काठमाडौंमा भइरहेको यो परिवर्तन सार्वजनिक बस, माइक्रो या टेम्पोमा चढ्दा सहज रूपम अनुभव गर्न सकिन्छ ।
यो त सब राम्रो हो, तर यसमा एउटै समस्या देखिन्छ– समरुपीकरणले अन्ततोगत्वा बजारसत्ता र राज्यसत्ताले चाहेको सांस्कृतिक भाष्य निर्माण हुन्छ । र, ससाना समूह या वृत्तमा निर्मित सांस्कृतिक परम्परा, भाषा, र संस्कृति सीमान्तीकरणमा पर्छन् । विलीन हुने जोखिममा पर्छन् ।
सामाखुसीहरू सामाकोसी बन्दै जान्छन्, लगिन्छन् । नयाँ नेपाली ‘आइडेन्टिटी’ बन्दै गर्दा सयौँ अरू ‘नेपाली’ आइडेन्टिटी बिलाउँदै जान्छन् । मान्ने हो भने यो एउटा जोखिम हो ।
18 Asoj, 2075, Nayapatrika