Saturday, June 29, 2013

हलेसीतिर हल्लँदा | कोसेली | :: कान्तिपुर ::

हलेसीतिर हल्लँदा

    काठमाडौ, असार १४ -
    'खै त बुट जुत्ता कतिन्जेल धाउँछौ दाइ धरान धनुकुटा ?'

    पहाडे नेपाली किसानको सदाबहार 'ब्लुज'जस्ता शब्द लय र स्वरको यो निकै लोकपि्रय गीतका गीतकार भुपाल राई आफ्ना कुम अलि उठाउँदै र छाती अलि फुलाउँदै आएर हामीसँग मिसिएका थिए । खोकु छिन्ताङ्तिरका किसानहरूका सुन्तला भारी खेपेर जीविका गर्नुपर्ने दुःखलाई विम्ब बनाएर रचना गरिएको यो गीत नेपाली भावनाको विम्ब पनि बन्यो । उनै राईलाई यसपटक अरू केही गीतबाट पनि परख गर्ने अवसर मिल्यो ः 'सुनैजस्तो केश धोएँ सुनकोसीमा, दूधजस्तो मुहार धोएँ दुधकोसीमा, तर दुई किनारझैं धित खोलेर भित्री मन धुने हो कुन कोशीमा ?'

    सललल बगेको सानो खोल्सीको आवाजजस्तो यो गीतमा उनले पहाडी वालाको मनभित्र खै के-के देखेर सुनकोसी र दूधकोसीका गीत रचना गरे उनै जानुन् । गत जेठ महिनाको पहिलोे साता सुनकोसी किनारको यात्रामा निस्केका हामीलाई भने नेपालका अपार सम्भावना र वर्तमानमा मानिसहरूले बेहोरेका अत्यासलाग्दा दुःख देख्दा सुनकोसीले केश र दूधकोसीले मुहार पखाल्नुको साटो हाम्रा सुख पखालेर दुःख मात्र छाडेर गएजस्तो लाग्यो ।

    नेेपालथोकबाट सुनकोसीको दाहिने किनारै किनारै बनेको बनेपा-सिन्धुली सडक पच्छ्याउँदै अगाडि बढेर मध्यपहाडी लोकमार्ग हुँदै खोटाङको हलेसी पुग्दा लाग्छ नेपाल सिंगै निर्माण अभियानमा छ । मुहानमा वषर्ा लागेर धमिलिँदै गएको कोसीको पारिपट्ट िदेखिने काभ्रे, रामेछाप र ओखलढुङ्गाका खडेरीले उराठलाग्दा पाखा-भित्ताका बस्तीहरू नियाल्दा, आफ्ना काखहरूमा कुनै ठूला टार या फाँटहरूका लागि ठाउँ नछाडेको कोसी र त्यसको उपयोगहीन जलप्रवाह हेर्दा उदास उदास हुने मन । त्यो उदास मन पनि पाखा चिर्दै कुना-काप्चा ताकेर अगाडि बढेका सडकहरू देखेर भने आशावादी बन्छ । भर्खर विस्तार हुँदै गरेको सडक, त्यसमा काम गरिरहेका जापानीदेखि नेपाली टोलीका श्रमिकहरू, मेसिन या औजारहरू, कच्ची बाटोमा सानाठूला सवारी साधन चलाउँदै मानिस र सामान ओसारपसार गरिरहेका यातायातका साधनहरू देख्दा लाग्छ यो भेग पनि एकान्तिकताबाट मुक्त हुँदै विश्वग्राममा जोडिन हतार गरिरहेको छ । अब खोटाङ मध्यपहाडी लोकमार्गले मध्यभागमै चिरिएको मात्र छैन बरु देशका अन्य भागसँग निर्बाध जोडिने उपक्रममा छ । यहाँका डाँडापाखाहरू भर्खर खनिएका नागबेली बाटाहरूले बेरिएका देखिन्छन् ।

    मूल्याङ्कन मासिकका कार्यकारी सम्पादक भोगीराज चाम्लिङका अतिथि बनेर हामी दुर्छिम गाविसमा रहेको उनको घर पुगेका थियौं । रूखोजस्तो पाखो । पातलो राई गाउँ । तल तल सुनकोसीसम्म फैलिएको बस्ती र खेत पाखो । यसैमा विकासका उदात्त सपना सँगालेर बसेका मेहनती किसानहरू । यसैलाई विकास गरेर केही गरौं भन्ने सपना पालेर सक्रिय रहेका युवाहरू । गाउँप्रतिको जिम्मेवारीबोधले थिचिएर होला आफ्नै १० लाख रुपैयाँ खर्चेर १३ किमि सडक विस्तारमा नेतृत्व गरेका, पूर्व बि्रटिस गोर्खा काठमाडौंवासी जनक राईको जोश । यी सबैले नेपालको फेरिँदो काँचुलीको प्रतिनिधित्व गरेझैं लाग्थ्यो ।

    उत्तराधिकारविहीन पेसामा

    दुर्छिम गाविसकै छापडाँडा बरभञ्ज्याङ । केही होटल लजहरू र साना ठूला पसलहरू मिलेर थपक्क बसेझैं । परपर दक्षिणतिर सुनकोसी र यता उत्तर ओखलढुङ्गालाई चियाउँदै ओर्लेका आँखालाई शीतल दिने दूधकोसी । पश्चिमबाट पूर्वतिर फैलिएको सानो बजारको एउटा घरमा भेटिए रामबहादुर परियार । चस्मा लगाएका आँखाले डाँडीमाथिबाट बाटोमा चियाउँदै लुगा सिउने कल खटखटटटटट गर्दै पुराना शैलीका कमेज-सुरुवाल सिउँदै गरेका । 'अब यतातिर यस्तो कपडा सिउने मै मात्र त छु । बूढो भयो मरिहाल्छ कि भनेर मेरो हातबाट एकैपटक चार जोर सिलाएर राख्ने पनि छन् । उता विदेश जानेले समेत सिलाई मगाउँछन् ।' हम्म-धम्मको ज्यानका यी ५७ वर्षेको मनमा आफ्नो पेसाप्रति गर्व र समाजमा आउँदो परिवर्तनका प्रतिको सचेत अवलोकन दुवै यात्रारत छन् । मलाई उनको विगत र निजात्मकतातिर प्रवेश गर्न मन लाग्यो ।

    'उनन्तीस सालमा एउटीसँग मागी बिहे भएको थियो । ऊसँग रासोवासो भएन । बत्तीस सालमा अर्को बिहे गरें । उसले पाँचवटी छोरी छोरी पाई । छोरा नभएपछि ०४५ सालमा उसैले आफ्नी भदै मागेर ल्याइदिई । अहिले चारवटा छोरा छन् जसमध्येको साइँलोचैं जेठीपट्टकिो हो ।' उनका पाँचैवटा ज्वाइँहरू विदेशमा काम गर्छन् । दुईवटा छोरा पनि बिदेसिएका छन् । घरमा अहिले दस कक्षा पढ्दै गरेको सबैभन्दा कान्छो मात्रै छ । तीनवटै छोराको बिहे पनि भइसक्यो । 'दुईटीलाई अहिलेसम्म मिलाएरै राख्याछु हजुर,' तिनले हाँसेरै भने । एउटा अनौठो के भने यिनलाई आफ्नो बिहेदेखि छोराछारीको जन्मसम्मका तिथिमिति र बार सबै कण्ठस्थ रहेछ । यिनलाई अलिअलि राजनीतिमा पनि चासो छ । पञ्चायतको आखिरी चुनावमा एकजना पुरानो र अलि दमनकारी पञ्चका विरोधमा तत्कालीन मालेको उम्मेदवार बनेर वडा सदस्य जितेको अनुभव पनि यिनले सँगालेर बसेका छन् ।

    'मेरा बाजे पनि कपडा सिउनुहुन्थ्यो । बा पनि । उति बेला हातले सिउने चलन । बालीघरे प्रथा । बा छँदै हातेकल किनियो । मैले केही समय कटारीतिर गएर कपडा सिलाउन सिकेर फर्कें र ४० वर्षभन्दा बढी भयो यही कपडा सिएर बसेको छु । अब अहिले सबै लाखापाखा लागे । मलाई पनि अब सिउन छोेड्नोस् भनिरहन्छन् । मलाई अहिलेसम्म यही पेसाले पाल्यो । सकिन्जेल नछोड्ने विचारमा छु सर ! पहिले पहिले बालीघरे प्रथा थियो । अहिले ज्यालामा सिउँछु । अब म मरेपछि भने मेरो घरमा कसैले यो पेसा धान्लाजस्तो छैन ।' यी रामबहादुर नेपालमा सामन्तवादी समाजको पतन र पुँजीवादी विकास प्रक्रियाको तीव्र आक्रमणका एकजना साक्षीजस्ता लाग्छन् ।

    गढीको पीडा र युवाहरूको उत्साह

    रामबहादुरको कलको खट्खट्लाई छाडेर हामी केही पूर्वको थुम्कोतिर गयौं जुन नेपालमा किराँत राष्ट्रियताको जिउँदो इतिहासका रूपमा एउटा किल्ला या गढीको भग्नावशेष बनेर बसेको छ । भुपाल राईले त पुर्खाको रगत बगेको पवित्रस्थल भनेर ढोगी पनि हाले । हामीले पनि नेपालको इतिहासका केही छोपिन लागेका पाटा पलेटाहरू उघारेर हेर्ने चेष्टा गर्‍यौं । साथमा रैथाने युवाहरू भोगीराज, कैलाश र तामनहरू थिए, उपन्यासकार युग पाठक र उज्ज्वल प्रसाई पनि । निकट विगतको इतिहास या नेपाल निर्माणको सन्दर्भलाई नयाँ परिभाषा दिन आनाकानी गर्ने या लामो समयसम्म सत्ताले स्थापित गरेको विचारको प्रभुत्वबाट स्वतन्त्र हुन नचाहनेहरूले एकपटक यसै गढीमा पुगेर हेरे अहिलेको राज्य पुनर्संरचनाको मुद्दालाई सहज निकास दिन सहयोग हुँदो हो जस्तो लाग्यो । हामीले यही चर्चा गर्ने अवसर बनायौं यसलाई ।

    यताका युवा र समाजसेवीहरूको जोश केवल सडक निर्माणमा मात्र पनि छैन । तिनीहरू त यता काठमाडौंलाई दपेटिरहेको नश्ल चेतका आवेगलाई पनि बोकेका वर्गीय उत्पीडनका विपक्षमा पनि सक्रिय बनेका जोदाहाहरू पनि लाग्थे । चाम्लिङभाषी राईको थलो भएर पनि बिस्तारै भाषा हराउला, यताउताबाट थिच्दै आएको आगन्तुक धर्म -फैलँदा चर्चहरूको उपस्थितिसमेत) ले चुनौती देला भनेर सचेत रहेका । आफ्ना रैथाने संस्कृति जोगाउँदै, पुर्खाले नङ्ग्रा खियाएर खनेका खोरियामा तिनका पसिना खोज्दै, किराँत राईहरूका पुख्र्यौली होलेसुङ राजा र उनका सन्तानले एउटा पहाडको टुप्पामा निर्माण गरेका दुर्गहरू, त्यहाँ बगेका रगतका टाटा र पराजयपश्चात् हराउन लागेको आफ्नै इतिहासको उत्खनन र बचाउमा पनि लागेका रहेछन् । यसरी नै तिनलाई क्रमशः गाउँ रित्याउँदै सहर या महानगरतिर ओइरिएका आफ्ना दौंतरीलाई पनि फर्काउने गरी गाउँको मुहार फेर्ने धोको पनि रहेछ । हलेसीलाई एउटा धार्मिक पर्यटकीय स्थल बनाउन ती लागिपरेका । मलाई यताका युवा देख्दा नेपालको भविष्यप्रति निराश हुनेहरूलाई हलेसीसम्म गएर युवाको ढुक्ढुकी एकपटक छामिहेर्ने सल्लाह पो दिन मन लाग्यो । तीन किमिको दूरीमा दुईवटा मावि, एउट उच्च मावि हुँदै बीएडसम्मको पढाइ हुने कलेज र तिनमा मनग्गे विद्यार्थी । फैलँदै गरेको धार्मिक पर्यटनको आर्थिक प्रभाव । नेपालको भविष्यको एउटा चित्रजस्तो लाग्यो ।

    ध्ाार्मिक, सांस्कृतिक एकताको संगम

    यो हलेसी पनि गजबको सांस्कृतिक संगम रहेछ । इतिहासका केही संयोगहरूले होलेसुङबाट हलेसी बनेको यो गुफालाई बौद्धमार्गीहरू, किराँतहरू र हिन्दुहरूको उत्तिकै सम्मान र आस्थाको केन्द्र बनाएको रहेछ । होलेसुङ राजा, जसका नाति पनातिलाई गोर्खाली फौजले हराएर यता आफ्नो शासन विस्तार गरेको थियो, का नाममा रहेको हलेसी महादेव चर्चित रहेछन् । बौद्ध धर्मका प्रसिद्ध गुरु पद्मसम्भव यस स्थानमा आएर केही महिनासम्म बसेको र तपस्या गरेको इतिहास रहेछ । त्यसैले महादेवको मन्दिर नजिकै एउटा पुरानो गुम्बा छ । बौद्ध धर्मका केही पवित्र स्थलहरूमा यसको पनि नाम लिनैपर्ने रहेछ । वरपर बिस्तारै बौद्ध धर्मका पवित्र मन्त्रहरूका ध्वजा र पताका फहराउँदै गरेका । किराँतहरूका आदि पुर्खा तयामा र खियामाको थलो पनि यसै नजिक पर्दोरहेछ । एउटै गुफामा किराँत, बौद्ध र हिन्दुहरूले आफ्ना आफ्ना पुर्खा र देवताका नाममा पूजाअर्चना, धुपदीप र नाचगान गर्ने गजबको सहिष्णुता रहेछ हामीले खोजिरहेको संघीय नेपालको चित्रजस्तो । यसै स्थानलाई अहिलेका नागाहरूले पनि आफ्नो पुख्र्यौली थलो मान्दा रहेछन् । नागाहरूले प्रयोग गर्ने विशेष प्रकारको माला यहाँका चिहानहरूमा पाइएकाले केही वर्षपहिले निकै चिहानहरू उधिनिएका रहेछन् ।

    वामपन्थी राजनीतिको दुःखान्त चित्र

    भेटिन त यता खम्बुवानका लागि संगठित भएर पछि माओवादी भएका, आफ्ना वर्गीय पीडाले स्कुले जीवन पूरा नहुँदै माओवादी सेनाप्रति आकषिर्त भएर युद्धमा भाग लिएका, शरीरमा गोलीका खत र छर्राका अवशेष, अनुहारमा अझै नेपाल बदल्ने सपना बोकेका लडाकुहरू पनि भेटिए । जीवन नै वाम आन्दोलनमा लगाएर पनि केही हात नलागेको अवसाद छोपेर हाँस्दै इतिहासका खिया लाग्न लागेका सपनाका लागि बिताइएका क्षण सेयर गर्न हरदम तयार गणेश राई पनि भेटिए, भेटिए नरेन्द्र राई पनि । तर हामीलाई भने रत्न राईको जीवन दृष्टिले कायल पार्‍यो । उहिले पञ्चायतकालमा वामपन्थी राजनीतिमा लागेर माले-एमालेको जिल्लास्तरीय नेता, जिल्ला विकास समितिको सदस्य बनेका यी राई माओवादीहरूको प्रभावमा आएर जनसरकार प्रमुख पनि बनेका रहेछन् खोटाङको । संविधानसभाको निर्वाचन वरपर नै यिनलाई माओवादी नेतृत्वले क्रान्तिलाई धोका दियो भन्ने विश्वास भएछ र माओवादी त्यागेछन् । लगत्तै मात्रिका यादव समूहमा सामेल भएर सशस्त्र संघर्षको तयारीका लागि हतियार संकलनतिर लागेछन् । 'प्रचण्ड-बाबुरामहरूलाई त उताबाट पहिले हतियार सहयोग गरेकै रहेछ नि ! पहिले सजिलै हतियार वारि ल्याउन दिन्थ्यो । हामीले पनि त्यही बाटो १२ ट्रक हतियार ल्याउँदै थियौं मरे ल्याउन दिएन । हाम्रा चारजना साथी हतियार संकलनकै क्रममा श्रीलंका, बंगलादेश र भारतमा मारिए । अनि थाहा भयो अब सशस्त्र संघर्ष गर्न सकिन्न । त्यसपछि हामी यता मात्रिका समूह पनि छाडेर माक्र्सवादको गहिरो अध्ययनमा लागेका छौं ।'

    उनको विचारमा अहिलेको नेपालको राजनीति भारतले चलाएको छ र केही वर्ष ढिलोचाँडो मात्र हो नेपाललाई भारतले निल्छ । माक्र्सवादी आन्दोलनमा ३५ वर्ष लागेर थाकेपछि माक्र्सवादको गहिरो अध्ययन गर्नुपर्ने अवस्थामा पुगेका यी नेताका कुरा सुन्दा नेपाली कम्युनिस्टहरूका अनन्त दुःख देखेर सुस्केरा हाल्न मन लाग्यो । सँगै नेपालमा कहीँ न कहीँ माओवादी या जे वादी भए पनि 'वामपन्थी' झुकावको राजनीतिको भविष्य रहेको अनुमान पनि यसबाट लगाउन सकिन्थ्यो ।

    हलेसीतिरको दुईदिने बसाइले मलाई नेपालका थप ठाउँ घुम्ने भोकमात्र बढाइदियो ।

    प्रकाशित मिति: २०७० असार १५ १०:०७