Tuesday, March 13, 2018

धिरेन्द्र शर्माका अनुत्तरित प्रश्नहरु


लेनीनको शालीक 
त्रिपुरामा २५ बर्षदेखि सरकार चलाईरहेको कम्युनिष्ट गठबन्धनले यसपाली नराम्रोसित हार्यो । साद्गीपूर्ण जिवन विताउने सरल र जनतासंग हेलमेल भएका, भारतका सबै सरकारप्रमुखहरु भन्दा गरिव (उनको सम्पत्ती जम्मा २६ लाख भारु बराबर रहेछ) मनिक सरकारको नेतृत्वले विजेपीको आक्रामक प्रचार र गरिएको खर्चको सामना गर्न सकेन । जनताकै लागि काम गरिरहँदा र भ्रष्टाचार तथा बुर्जुवावर्गसंगको साँठगाँठ दुवैसंग टाढा हुँदा पनि मनिक सरकार असफल भए । 
निर्वाचन जितेको विजेपी कार्यकर्ताको समुहले मंगलवार क्रेन लगाएर त्रिपुराको दक्षिणमा पर्ने वेलोनीया बजारमा रहेको लेनीनको शालीक ढाल्यो । यो दुई दिनमा ढालिएको लेनीनको दोस्रो सालिक थियो ।
भारतमा वामपन्थ लगातार ओरालो झरिरहेको छ । प्रकाश कारत र सिताराम यचुरीहरु एक अर्कालाई आरोप लगाईरहेका छन । 
सन् १९६७ बाट सुरु भएको नक्सलवादी ससस्त्र विद्रोह अहिले माओवादी विद्रोहका रुपमा भारतको आन्ध्रप्रदेश, छत्तिसगढ, उडिसा, महाराष्ट्र, झारखण्ड र विहारका केहि आदीवासी बहुल ईलाकामा सक्रिय छ । पचासबर्षसम्म चलेको गृहयुद्धको महान ईतिहास बनाउन बाहेक यसले के कति उपलब्धी हासील गर्ला त्यो विल्कुल अनिस्चित छ ।
नेपालमा एमालेको नेतृत्वमा माओवादी केन्द्र समेत सम्मिलित गठबन्धन संसदमा सहज बहुमतमा छ र सरकार बनाएर सम्वृद्धि ल्याउने नारा दिईरहेको छ । एमालेको ईतिहास २०२७ मा नक्सलवाडी विद्रोहको प्रभावसम्म विस्तारीत छ । २०४७ सम्म अझ जनताको बहुदलीय जनवादका नाममा संसदीय प्रजातन्त्रलाई स्विकार नगरुञ्जेल एमाले पनि क्रान्तीकारी मानिन्थ्यो । अझै पनि उसको व्यानर माक्र्सवाद लेनीनवादको छ र झण्डा हंसीया हथौडाको । 
माओवादी विद्रोहहरुको सबैभन्दा पछिल्लो शक्तिशाली प्रयोग नेपाली माओवादीहरुले गरेका थिए । उनै माओवादीहरु शान्ती सम्झौता हुँदै अहिले सुधारीएको उदारवादी प्रजातन्त्रको हिस्सा बन्न आईपुगका छन । दश बर्ष चलेको विद्रोहले के पायो के पाएन, के गर्न हुन्थ्यो के हुन्थेन भन्ने प्रश्न उठिरहेका छन । यी प्रश्नको जवाफ प्रचण्डले बाँचुञ्जेल मात्र होईन मृत्युपछि पनि ईतिहासका कठघरामा उभिएर दिईरहनु पर्नेछ । 
दुवै समुह (एमाले–माओवादी) एक समय क्रान्तीकारी कम्युनिष्ट समुह थिए, समाजमा रहेका विभेद र वर्गिय शोषणका विकल्पमा समानताका पक्षधर शक्तिका रुपमा चिनिन्थे । त्यसकालागि दुवै समुहका नेता तथा कार्यकर्ताले वलिदान गरेका थिए, त्याग गरेका थिए । आज तिनीहरु सत्तासिन छन र आफ्ना विगतका अभिव्यक्ति र व्यबहार तथा आजको अवस्थाका विच उत्पन्न अन्तरविरोधको सामना गरिरहेका छन । दुवैले आफुले आर्जन गरेको शक्तिलाई प्रयोग गरेर संसदीय प्रतिस्पर्धामा अरुलाई पछार्ने र आफ्नो औचित्य सावित गर्ने कोशीस गरिरहेका छन । हरेक क्रान्तीकारीहरुको अन्तिम गन्तव्य चैं सत्ता नै हो । सत्ताको प्रगतिशिलता सत्ताले नै कमजोर बनाउँछ ।
भारतका भाकपा, भाकपा माक्र्सवादी, र भाकपा माओवादीहरुले लिएको बाटो र आर्जन गरेको गुमाएको हैसीयतसंग नेपालका कम्युनिष्टहरुले आर्जन गरेको शक्ति र गुमाएको परिचयका विच तुलना गर्नु निकै अप्ठेरो र जरुरी पनि छ ।
एउटा प्रश्न उठाउन सकिन्छ ः भारतीय कम्युनिष्टहरु झै सकिने या खिईने कि यता नेपालको झैं शक्ति आर्जन गर्ने ? यस्तो शक्ति आर्जन गर्दा आफ्ना सिद्धान्त, विचारधारा, कार्यशैली, जिवनशैली या वर्गप्रतिनिधित्वमा के कति सम्झौता गरुञ्जेल वामपन्थी या कम्युनिष्ट रहिरहन पाईने हो ? त्यसको कुनै मापदण्ड पनि छ कि ? आम वृत्तमा अनेक कोणबाट प्रश्न उठिरहेका छन ।
तिनसाता अघि मात्रै नारायण ढकालको उपन्यस हजार माईलको बाटो यी प्रश्नहरुको एउटा पोकोका रुपमा आएको छ । भाष्कर गौतम, राजेन्द्र महर्जन, सुरेश ढकाल (सोह्रसाँझको भूमिका) हरि रोका, आहुती, उज्वल प्रसाई, युग पाठक र खगेन्द्र संग्रौलाहरु नेपालको वामपन्थी आन्दोलनका नसुल्झिएका प्रश्नले रन्थनिएर लेखिरहेका छन । घनश्याम भुषाल आफै प्रश्न र आफै उत्तर लेखिरहेका छन । गठबन्धनको बचाउमा प्रदिप ज्ञवाली लगायतले केहि लेखेका थिए । प्रचण्ड,ओली र नेत्रविक्रम चन्दका पनि आफ्ना उत्तरहरु छन । 
यसपालीको मेरो आलेखको विषय भने हजारमाईलको बाटो उपन्यासका मुख्य पात्र धिरेन्द्र शर्माका प्रश्नहरुमै सिमित रहनेछ । म कसैका प्रश्नको उत्तर दिने हैसीयत र क्षमता पनि त राख्दिन । 
धिरेन्द्र शर्माले प्रश्न उठाएको मसंग पनि होईन, यो त स्वयं त्यसका लेखक नारायण ढकाल सहित हाम्रो र हामी भन्दा अघिल्लो पुस्तासंग पनि हो, नेतृत्वसंग हो ।  उनले मदन भण्डारी या प्रचण्डहरुसंग उठाएका प्रश्नको उत्तर दिने म को हुँर ? बरु म आफ्ना प्रश्नहरुबाटै धिरेन्द्र शर्मासंग सम्वाद मात्र गर्न चाहन्छु ।
हजार माईलको बाटो
उपन्यासमा भन्दा कथा र निवन्धमा बलशाली देखिने नारायण ढकाल यसपाली आफुलाई उपन्यासमा अब्बल देखाएका छन । यो उपन्यासको क्राफ्ट, कथा भन्ने शैली, कथामा निर्माण गरिएको नरेन्द्रनाथ र धिरेन्द्र (बाबुछोरा) विचको द्वन्दको उठान र वैठान, भाटभटेनी मन्दीरमा झुण्डिने पुत्लालाई प्रयोग गरेर बुनिएको म्याजिकल रियालिजमको प्रयोग, एउटा काल्पनीक साम्यवादी समाज अर्थात भूत–गणतन्त्रका रुपमा उभ्याईएको विराज निकुञ्ज जंगल र पुष्पलाल लगायतका असल नेता र शहिदहरुको उक्त जंगलमा भैरहेका सम्वादले यो उपन्यासलाई विशेष बनाएका छन । उनले पूर्विया दर्शनका प्रेत योनीका कुरा र भिन्न भिन्न योनीमा जन्मलिने मिथकीय मान्यताहरुलाई मिसामास गरेका छन । यसले उनको उपन्यासलाई अलग र सबल बनाएको छ ।
यो उपन्यासमा पनि उनले आफु हुर्केको मुलपानी गाउँ र त्यसको सेरोफेरोलाई विम्वित गरेका छन । आनन्दपुर नाम दिईएको उक्त गाउँको २०१७ साल यता २०७२ सालसम्मको कथा यसमा सामेल छ । ढकाललाई नजिकबाट चिन्ने र उनलाई पढिरहेकाहरुका लागि उपन्यासको एकतिहाई खण्ड ध्रुवचन्द्रका उपन्यासमा जस्तो रिपिटेशन लाग्नसक्छ । कथामा दुई विपरित दिशामा हिँडिरहेका नरेन्द्रनाथ र उनको टुहुरो छोरो धिरेन्द्र दुवैमा नारायण ढकालका विपरित व्यक्तित्वको मिसमास देख्न सकिन्छ । कथामा दिलबहादुर नामक पात्रको प्रवेश पछि नै यसले नयाँपन दिन्छ जुन कथा नसकिउञ्जेल तन्किन्छ । उपन्यासमा अरु सहायक पात्र मात्रै हुन । मुख्य पात्र भने आनन्दपुरका प्रधानपञ्च नरेन्द्रनाथ, उनको जेठो छोरो धिरेन्द्र र नरेन्द्रनाथले आफ्नो आँगनमा पर्वत देखि भागेर वासवस्न आएकी दलित युवतीसंग गरेको अवैध सहवासबाट जन्मेको दिलबहादुर नै हुन । 
कथाले झापा आन्दोलन, तत्कालीन मालेको गठन र विस्तार, २०४७ पछि क्रमस त्यसले विसाएको क्रान्तीको झण्डा, र विगारेका विचारका मानकहरु, माओवादी जनयुद्ध र त्यसको विसर्जनसम्मको झण्डै ५० बर्ष भन्दा बढिको समय जोड्छ । संसदीय प्रजातन्त्रमा प्रवेश र दलाल पुँजीवादसंगको साँठगाठबाट एमालेको पतनवारे उपन्यास धेरै नवोली त्यसलाई दुत्कारेर जनयुद्धमा प्रवेश गरेको छ । जनयुद्ध भित्रका विसंगतीहरु र त्यसका त्याग वलिदानलाई संगै भन्दैगएको कथाले त्यतिवेला नाटकीय मोड लिन्छ जतिवेला जिवनभर आमाको हत्यारा मानेर नरेन्द्रनाथसंग बदला लिन हिँडेको धिरेन्द्रनाथ बाबुको बयानबाट आफ्नो आक्रोस भ्रममा आधारित थियो भन्ने थाहपाउँछ र आफै सेनाको पक्राउमा पर्न जानाजान मेलम्ची बजार पुगेपछि पक्राउ पर्छ र मारिन्छ । दिलबहादुरलाई सेनाले जिउँदै पुर्छ । त्यसपछि यता जनयुद्ध विसाईन्छ । माओवादी सत्तामा पुग्छ । मुखिया (प्रचण्ड) सम्पूर्ण रुपमा आफ्ना जनयुद्धकालिन मुल्य र नैतिक मापदण्ड विपरित दलाल पुँजीवादसंग साँठगाँठ गर्न पुगेको र जनयुद्धमाथि धोका दिएको निष्कर्षमा उपन्यास सकिएको छ ।
९ बर्ष ९ महिना र ६ दिनपछि चिहानबाट व्युझेको दिलबहादुर क्रान्तीको हिसाव खोज्न मुखियाकहाँ जाने सोचमा छ । बाटोमा भेटिएको धिरेन्द्र शर्माको प्रेतले उसलाई रौक्दै भन्छ ‘अहिले मुखिया धेरैबदलिईसकेका छन । उनको बर्ग बदलिया छ ।  ..मुख्यरुपमा क्रान्तीप्रति विश्वासघात । हजारौं मानिसको रगतमा टेकेर उनको वर्गोन्नती भईसक्याछ । अब उनको मित्रपंक्तिमा तिमी हैन राष्ट्रिय र अन्तरराष्ट्रिय दलाल र युद्धसरदारहरु छन । ’ उपन्यासको अन्तमा पुष्पलालले देखाएको बाटोमा फेरि क्रान्तीको लागि हजारमाईलको नयाँ यात्रामा दिलबहादुरहरु निस्केका छन । यात्रा गरिरहु अवस्य सपनाहरु पुरा हुनेछन भन्ने सन्देश दिएर सकिन्छ ।
जिज्ञासा
क्रान्ती या सामाजीक आन्दोलन स्थायी रुपमा क्रान्ती र आन्दोलन हुँदैनन । कुनै पनि आन्दोलन या क्रान्तीका विसौनीहरु हुन्छन । विसाउँदै अघि बढ्ने, तत्कालका लक्ष हासील गर्ने, विसाउने, शक्ति आर्जन गर्ने, अघि बढ्ने र बढिरहेने एउटा चक्रका रुपमा कम्युनिष्ट या वामपन्थीहरुले क्रान्तीलाई बुझ्छन । कुनै खास युग र समयका मुख्य अन्तरविरोध हल गरे पछि सहायक अन्तरविरोधहरु हल हुन्छन । र नयाँ अन्तरविरोध निस्कन्छन । क्रान्तीमा धोका, गद्धारी र हार मात्र हुँदैन, सम्झौता कार्यनीतिक रणनीतिक परिवर्तन, थकाई र उतारचढाव हुन्छन । यो बुझिएको कुरा ।
मदन भण्डारी र प्रचण्डले गद्धारी गरेका हुन कि होईनन ? एमालेले जुन बाटो हिँडको छ त्यसविपरित बाटोमा लागेको भए जाने ठाउँ त जनयुद्ध नै हुँदो हो । मदन भण्डारीले गद्धारी गरेको मान्दा त्यसको जवाफ प्रचण्डले खोजेको मान्न सकिएला । प्रचण्डले क्रान्ती या ससस्त्र विद्रोहलाई त्यहि निर नविसाएको भए के हुन्थ्यो ? नक्सलवारीको अर्को संस्करण ? फार्क विद्रोहीहरुको नयाँ नियती ? फिलिपिनो कम्युनिष्टहरुको या थाई मलयन कम्युनिष्ट विद्रोहको बाटो ? परिवर्तीत नभएको एमाले भाकपा या भाकपा माक्र्सवादी हुने सम्भावना कति थियो ? प्रचण्डले गरेको सम्झौता र जनयुद्धको अवतरण खराव हो भने विप्लवको बाटो ठिक हुने भो । प्राणभन्दा प्यारो एसएलआर वान ए वान ७.६२ एमएम । 
विपरित तर्कहरु ः समस्या क्रान्ती या हतियार विसाउनुमा होईन । माओवादी जनयुद्ध जितेर बिसाएको होईन हारेर सकिएको पनि । जित्ने भन्दा सकिने सम्भावना भएपछि गरेको सम्झौता हो त्यसपछिको राजनीति । त्यो त विसाउनु पथ्र्यो । जे पाईएको छ त्यसलाई बचाउन पनि । त्यसपछि बदलीएको नेतृत्वको जिवनशैली, सरसंगत र जनतासंग काटिएको सम्वन्ध मात्र अहिलेको समस्या हो । फेरि पनि भाकपा माओवादीको बाटो भन्दा, भाकपा माक्र्सवादी र भाकपाको बाटो भन्दा तुलनात्मक रुपमा अहिलेको गठबन्धन सहि हो ।
भनिन्छ ईतिहासको खास समयप्रतिको मोह डिप्रेसनको मनोदशामा बढि हुन्छ । त्यहि युद्ध, त्यहि सहादत, त्यहि बलिदानतिर फर्केर र त्यसका पात्रहरुको दुःखमा रोएर वामपन्थी बनिने होईन ।
तर यो वामपन्थ हो कि होईन, कम्युनिष्ट बाटोमा छ कि छैन भन्ने प्रश्नको उत्तर होईन ।
नारायण ढकालको प्रस्तुती जनयुद्धको जयगान हो । तर त्यसले दुईटा महत्वपूर्ण कमजोरी बोकेको छ । पहिलो जनयुद्धमा सहभागितालाई राजनीतिक औचित्यका आधारमा भन्दा व्यक्तिका अहँ व्यबस्थापन र स्वार्थहरुका लागि बनाईनु । जनयुद्धको उत्कर्षका समयमा धिरेन्द्र जिवनभर व्यभिचारी र अवसरवादी देखिएको नरेन्द्रनाथलाई सहि ठहर्याउँदै आफ्नो क्रान्तीकारी नैतिक धरातलको विसर्जन गर्न पुग्छ । अर्थात वैयक्तिक अहँको शमन या हत्या भएपछि क्रान्ती फगत वच्चाको खेल । दोस्रो भने उनले जनयुद्धको वैठानलाई अनुचित ठहर्याएर अनुत्तरित छाडेका अनेक प्रश्नहरु । ईतिहासप्रतिको यो भत्र्सना भावनात्मक बढि भएन ? चरैवती चरैवती त ठिक हो तर ईतिहासबाट शिक्षा लिने हो भत्र्सना गरेर कहिँ पुगिन्न । 
आफ्ना अरु सबै उपन्यास भन्दा हाजार माईलको यात्रामा ढकाल उत्कृष्ट लाग्छन ।..........
Nayapatrika, faguna, 2018

Tuesday, March 6, 2018

अलाउद्दिन, लुकास, मिथ र इतिहास





सभ्यताका हरेक कालखण्डमा केही शासक यस्ता आउँछन्, जसलाई इतिहासप्रति घृणा हुन्छ । उनीहरू इतिहासलाई आफ्नो अनुकूल भाँचकुच पारेर नयाँ पुस्तालाई यसरी पढाउन चाहन्छन्, जसले आफूलाई महान् बनाओस् र अन्यको खलनायकीकरण गरोस् । यस्तो होस कि इतिहास र वर्तमानका सबै ज्ञान शाखाहरूले शासकको स्वार्थको रक्षा गरून् । मानिसको सोच्ने तरिका शासकको अनुकूल बदलियोस् । कोही विरोधी र असहमत नरहोस् ।
अधिनायकवादीहरू, जातिवादीहरू, साम्राज्यवादीहरू र अन्धराष्ट्रवादलाई आधार बनाएर विचारका अरू सबै शाखालाई निषेध गरेर आफूलाई नायक बनाउन खोज्नेहरूको हरेक युगले सामना गरेको छ । नवउदारवादले थिल्थिलो बनाएको मानवीय मूल्य र सामाजिक न्यायको चिहानमाथि अहिले एउटा दक्षिणपन्थी हुरी जबर्जस्त स्थापित हुँदै छ । इतिहासलाई इतिहास रहन नदिने र त्यसलाई बंग्याउने, फरक विचारलाई निषेध गर्ने, कमजोरमाथि प्रहार गर्ने, मानव सभ्यताको समग्र प्रगतिको होइन, आफ्नो जाति, धर्म र राष्ट्रको महान्ताको गीत गाएर अरूहरूलाई निषेध गर्ने यो भयानक कुचक्र यतिवेला बलशाली भएको छ । बेन्यामिन नेतन्याहु, रिसेप एड्रोगान, डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, नरेन्द्र मोदी … ।
भारतको पछिल्लो राजनीतिमा फरक विचारलाई निषेध गर्ने, बहुलतालाई निषेध गर्ने र इतिहासलाई आफूअनुकूल बनाएर नयाँ पुस्तालाई इतिहासको फरक ज्ञान दिने जबर्जस्त प्रयास हुँदै छ । हालै एकजना सत्ताधारी दलका सांसदले ताजमहलको इतिहास मेट्न गरेको आह्वान, प्रधानमन्त्री नरेन्द्र मोदीले नेहरूमाथि गरेको आक्रमण र मुगल शासकको खलनायकीकरणका लागि भइरहेको प्रयास त्यसको पछिल्लो उदाहरण हो ।
चर्चित सिने निर्देशक सञ्जयलिला भन्सालीको पछिल्लो विवादास्पद सिनेमा पद्मावतमा एउटा दृश्य छ । दिल्लीको शासक अलाउद्दिन खिल्जी आफ्नो दरबारको एउटा खण्डमा दुईतिर मकल बालेर बसिरहेको छ । ऊ टेबलबाट ठूला कागजहरू यसो उठाउँछ, पढ्छ र च्यात्दै मकलमा हालेर बालिरहेको हुन्छ । त्यस्तैमा उसको मन्त्री आएर सोध्छ के गर्दै छौ ? अलाउद्दिन भन्छ– केही इतिहासका अभिलेख पढ्दै गरेको बेकारका रहेछन्, त्यसैले पोल्दै छु । मन्त्रीले उसलाई त्यसो नगर्न सुझाउँछ । तर अलाउद्दिन भन्छ– यी अभिलेखमा अलाउद्दिन कतै छैन । त्यस्तो इतिहास अब रहनेछैन, जहाँ अलाउद्दिन नभएको होस् । अब इतिहास अलाउद्दिनबाट मात्र आरम्भ हुन्छ ।
इतिहासमा थुप्रैपटक एउटा विचार र सभ्यतामाथि यस्तै आक्रमण भएको छ । तेह्रौँ शताब्दीकै मंगोल आक्रमणकारीले बग्दादमा त्यतिवेला रहेको कला, विज्ञान र इतिहासको संसारकै ठूलो अभिलेखालय ध्वस्त पारेका थिए । हिन्दूहरूका आदिगुरु शंकराचार्यले बौद्ध धर्मको अस्तित्व नष्ट गर्न नालन्दाका अभिलेखागारहरू नष्ट पारेका थिए । पछि इस्लामिक शासकले पनि त्यसरी नै बौद्ध र हिन्दू अभिलेख नष्ट गरेका थिए । काठमाडांै उपत्यका आक्रमण गर्न आएको तुगलकको फौजले पनि यहाँका धार्मिक सांस्कृतिक धरोहर नष्ट गर्न केही ठाउँ बाँकी राखेको थिएन । केही वर्षपहिले तालिवानले अफगानिस्तानमा बामियान बुद्धका मूर्ति नष्ट गरेर आफ्नो कायरता प्रदर्शन गरेका थिए ।
इतिहासले मानिसको ज्ञान र विचारधारामा पारेका प्रभाव नष्ट पारेपछि खाली रहने ठाउँमा आफूलाई स्थापित गर्ने मूर्खतामा शासकले यस्तो उपध्रो मच्चाउने गरेका छन् । सोभियत संघमा अक्टोबर क्रान्तिको इतिहासमाथि विवाद निम्तिने गरी स्तालिनले क्रेमलिनमा नै आफ्ना विश्वासपात्रलाई राखेर इतिहास लेखाएका थिए भनिन्छ । यस्तो इतिहास उनको शासनकालपछि पुनर्लेखन गराइएको थियो ।
इतिहासलाई बंग्याउने क्रम कहिले शासकहरूले जानाजान शक्तिका आधारमा गर्छन् । कहिले त्यस समयका बौद्धिकले शासकहरूको गीता बनाउने र आफ्नो जीविका गर्ने माध्यमका रूपमा गर्छन् । कतिपयले सिर्जनाका अनेक विधामार्फत रचना गरिने मिथकीय कथाका आधारमा गर्छन् । पछिल्लो समय नेपालको इतिहासको पनि अनेक धाराबाट व्याख्या भइरहेको छ । शाह राजाहरूको महिमामण्डन गर्दै तिनका अपराध छोप्ने, थापाहरूलाई महान् बनाउने र पछिल्लो कालखण्डमा राणाहरूलाई देशभक्त राष्ट्रवादी बनाएर अहिलेको राजनीतिक शक्तिको उछितो काढ्नेहरूको संख्या पनि बढिरहेको छ । उनीहरूको खलनायकीकरणको प्रयास पनि छ । इतिहासलाई इतिहास रहन नदिने प्रपञ्च । नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक देशका रूपमा होइन, खास जाति विशेषको आर्जनका रूपमा व्याख्या गरेर एकल जाति, धर्म, भाषा र संस्कृतिको वर्चस्व स्थापित गराउन प्रपञ्च गर्ने विद्वान्, इतिहासकार, विचारकहरूको कमी छैन । इतिहासको कन्स्ट्रक्सन, डिकन्स्ट्रक्सन, डिस्ट्रक्सन र रिकन्स्ट्रक्सनको भयानक द्वन्द्व नेपालको यतिवेलाको बौद्धिक बहसको मूल प्रवृत्तिमध्ये पर्छ ।
१८ फेब्रुअरी २०१८ मा अमेरिकी वामपन्थी अनलाइन पत्रिका ज्याकोविनमा रबर्ट नराईको एउटा आलेख छापिएको छ, ‘दि डिस्ट्रक्सन अफ हिस्ट्री’ शीर्षकमा । उनका अनुसार हंगेरिका दक्षिणपन्थी शासक यतिवेला विख्यात माक्र्सवादी चिन्तक तथा लेखक जर्ज लुकासको नाममा रहेको अभिलेखागार र उनको लिगेसी नष्ट गर्न लागिपरेको छ । जर्ज लुकास आफ्नो समयका महान् माक्र्सवादी दार्शनिक अभियन्ता र क्रान्तिकारी थिए । पहिले स्टालिनको प्रभावमा रहेका उनले पछि सोभियत संघले गरेको माक्र्सवादको अभ्यासप्रति असहमति जनाउँदै माक्र्सवादको फरक अभ्यासको वकालत गरेका थिए । उनी सोभियत संघले १९५६ मा हंगेरीमा गरेको हस्तक्षेपका विरुद्ध उभिएका थिए । राजनीतिक उतारचढावबीच उनी एकजना शक्तिशाली माक्र्सवादी विचारक र लेखक रहेका थिए । अर्थोडक्स माक्र्सवादीहरूभन्दा भिन्न उनका चिन्तनले समकालीन माक्र्सवादमा रहेका बहसलाई प्रेरणा दिन्छन् । उनैको इतिहास मेट्न र उनका अप्रकाशित आलेखसहित सम्पूर्ण अभिलेख नष्ट गर्न हंगेरीयन सरकार लागिपरेको छ । हंगेरियाली शासक इतिहास भइसकेको एउटा चिन्तक र विचारकका पदचिह्न र कामबाट अहिले पनि त्रसित छ । शासकहरूको मतिभ्रमको योभन्दा ठूलो उदाहरण के खोज्न सकिन्छ र ?
मिथ, समाज र ध्रुवसत्य
इतिहासमा आफ्नो वैचारिक प्रस्थापना र शासकीय स्वार्थलाई भरथेग गर्न आफूअघिको इतिहासको अनुकूलन गर्ने र आफूअनुकूलका मिथहरू स्थापित गर्ने गजब परिपाटी छ । जस्तो पशुपतिको मृगस्थलीमा शिवपार्वतीको लीलाका मिथ होऊन् या तनहुँको दमौलीनजिक बनाइएको व्यास गुफा । जंगबहादुरले आफ्नो खस क्षेत्रीय वंशलाई राजपुत घरानाको शासकीय आकार दिन पण्डितहरूलाई लगाएका थिए र राणा कहलिएका थिए । हजारौँ मिथहरू पहिले पनि बनेका थिए, अहिले पनि बन्दै छन् ।
कसरी मिथहरूले आममानिसको मनोविज्ञान, चालचलन, व्यवहार र संस्कृतिलाई प्रभावित गर्छन् भन्ने कुरा पद्मावतका बारेमा भएको विवादमा राजपुतहरूले उठाएको तर्कले प्रस्ट पार्छ । एउटा काल्पनिक र मिथकीय पात्रलाई आधार बनाएर मच्चाइएको वितण्डा सामान्य थिएन । पद्मावत राजस्थानमा पुजिन्छिन् । तर, उनका बारेमा इतिहासमा तथ्यमा आधारित कुनै सामग्री छैन । मिथकीय पात्र नै शक्तिशाली बिम्ब बनेर रहेको छ ।
केही दिनअघि ध्रुवसत्य परियार आफ्नो कथासङ्ग्रह कैरन लिएर मलाई भेट्न आइपुगे । तिनलाई मैले अनामनगरको मण्डला थिएटरवरपरका चिया पसलमा आफ्ना साथीहरूसँग अनेक विषयमा बौद्धिक बहस गरिरहेको देख्थेँ । त्यतै यीसँग मेरो चिनजान भएको थियो । स्याङ्जातिर जन्मे हुर्केर काठमाडाैँमा आफ्नो पहिचानका लागि संघर्षरत धु्रवसत्य आफू दलित हुनाका कारण यो समाजले गरेको थिचोमिचो र हेलाहोचोका अनेक सम्झनाका पोका संगालेर बसेका छन् । बाहुन र बाहुनवादको सिकार भएर संवेदना रेटिएका अनेक सम्झना छन् उनीसँग । उनी आफ्नो जीवनले व्यहोरेको अनेक हेपाइका चोटहरूसँग हारेर भागेका छैनन् । बरु तिनै चोट संगालेर तिनैको बिटो बनाएर आगो सल्काउने प्रयासमा छन् । उनको अनुहारमा एउटा गम्भीर प्रकारको आक्रोश देख्छु म । दलितहरूको पक्षमा उभिएर उचनीचको यो परम्परा, यो धार्मिक सांस्कृतिक पाखण्डमाथि प्रहार गरिरहेका यी ध्रुवसत्य परियारका कथामा समकालीन नेपाली समाजमा दलितहरूले व्यहोरेका घोर अपमानका कथा र त्यसको प्रतिरोधका झिल्का पाइन्छन् ।
मलाई पद्मावत सिनेमा र पद्मावतीको कथाका प्रभावहरू देख्दा ध्रुवसत्यका कथाहरू सम्झना आयो । जसरी भारतीय इतिहासमा रानी पद्मावतीको कुनै स्थान त छैन तर उनी राजपुत खान्दान मात्र होइन, भारतीय हिन्दूवादीहरूका लागि ठूलो बिम्ब बनेर बसेकी छिन्, उनको पूजा हुन्छ र मिथकीय व्यक्तित्वको ग्लोरिफिकेसन यति धेरै छ कि उनका बारेमा कुरा काट्नु असम्भव बनाइएको छ । अभिनेत्री स्वरा भास्करले आधुनिक लैंगिक अवधारणाबाट भन्सालीमाथि जोहरको विषयलाई लिएर लेखेको चिठीका कारण भएको प्रहार हेर्दा पनि र स्वयं सिनेमा नहेरी राजपुतहरूले गरेको विरोध देख्दा मिथहरूको शक्ति अहिलेको समयमा पनि कति बलशाली छ भन्ने देखाउँछ ।
समस्याचाहिँ के छ भने हिन्दू कट्टरपन्थमा आधारित भारतीय जनता पार्टीको अन्धराष्ट्रवादले मिथलाई इतिहास बनाउने र इतिहासलाई मिथ बनाउने अभियानलाई विश्वविद्यालयहरू, अभिलेखालयहरू, अनुसन्धान संस्थाहरू, मेडिकल रिसर्च सोसाइटीहरू, धार्मिक सांस्कृतिक केन्द्रहरू जताततै फैलाएको छ । यो विस्तारले अदालतलाई समेत प्रभावित गरिरहेको छ । नेपालमा आर्यखस सभ्यताका बारेमा पछिल्लो समय स्थापित गर्न खोजिएका नजिर र हुँदै नभएका मिथकीय सन्दर्भका आधारमा गरिन लागेको इतिहासको व्याख्याले नयाँ पुस्तालाई वास्तविकताबाट भ्रमको दुनियाँमा लगेर डुबाउने खतरा बढ्दै गएको छ । जसले उचनीचको, विभेदको, वर्चस्व र दमनको सनातन परम्पराको यो या त्यो ढंगले बचाउ गर्न थालेको छ ।
दलितहरूलाई हेप्ने र मानिसका बीच विभेद बढाउने सांस्कृतिक मूल्यमाथि धाबा बोल्न धु्रवसत्यले मिथकीय कथाहरूको रचना गरेका छन् र तिनै कथाका माध्यमबाट स्थापित मिथकमाथि प्रहार गरेका छन् । नयाँ मिथहरूको सहरामा स्थापित मिथहरूलाई परास्त गर्ने र मानवीय समानताका पक्षमा वकालत गर्ने उनको प्रयास गज्जबको छ । कतिपय कथा छिपछिपे लागे पनि उनले मिथकीय पात्र र समकालीन नेपाली राजनीतिका सन्दर्भ तथा पात्रहरूलाई मिसमास पारेर समयचेतमाथि हस्तक्षेप गर्ने प्रयास गरेका छन् । आन्दोलन या क्रान्ति अथवा राजनीति र शक्तिमा रहेका पाखण्डहरूलाई भण्डाफोर गर्ने प्रयास गरेका छन् । नेपालका सन्दर्भमा यो नयाँखाले प्रयोग हो, जुन परियारको कथामा देखिएको छ, जुन चाखलाग्दो छ । उनले निरन्तर कथा लेख्नेछन् र आफ्नो अलग पहिचान बनाउनेछन् भन्ने आशा गर्न सकिन्छ । म ध्रुवसत्यले अहिलेको नेपाली समाजको मुख्य अन्तरविरोधमाथि गरिरहेका प्रहारबाट आशावादी बनेको छु ।
फागुन १०, २०७४

आफ्नो भाग्य आफै लेख्ने रे


सिको उदय
सन् २०१२ सेप्टेम्वरमा तत्कालीन चिनीया उपराष्ट्रपति तथा कम्युनिष्ट पार्टी स्थायी समितिका एकजना प्रभावशाली सदस्य सि चिन फिङ झण्डै दुई हप्ता सार्वजनिक स्थलमा देखा परेनन । कसैले उनलाई पौडी खेल्दा ढाड सड्केर आराम गर्दै गरेको भने, कसैले महसचिव हु जिन्ताओसंग रिसाएर हिँडेको अड्कल गरे । कसैले पार्टी महाधिवेशनमा हु जिन्ताओले पेश गर्ने प्रतिवेदन लेख्न बसेको वताए । दुई साता पछि उनी सार्वजनिक जीवनमा फर्केपछि पनि उनको गुप्तवासको रहस्य अड्कलकै मात्र विषय रह्यो । चिनको कम्युनिष्ट पार्टीको राजनीतिको वारेमा थाह पाउने शुत्रहरुले चैं ती दिनमा सि चिन फिङ महाधिवेशनमा आफु पार्टी महासचिव भै सके पछि आफु भन्दा अघि राज्य र पार्टी नेतृत्व गरेका नेताहरुले जस्तो पावर शेयरीङ गरेर म वस्दिन, मलाई कुनै किसिमको हस्तक्षेप स्विकार्य छैन भन्ने कुराको निस्चितता गर्न चाहन्थे । उनको भाषामा कोही पनि पूर्व पदाधिकारी जुङ नान हाई वरपर न भुनभुनाओस भन्ने उनको चाहना थियो । उनको माग स्विकार गरियो र महाधिवेशन पछि सैन्य आयोगको अध्यक्ष लगायतका सबै पद सि लाई धमाधम हस्तान्तरण गरियो ।
सन् १९५३ मा जन्मेका ६४ बर्षिय सि जनवादी गणतन्त्र स्थापना पछि जन्मेर पार्टी र देशको नेतृत्वमा पुग्ने पहिलो पुस्ताका नेता हुन । उनी क्रान्तीकारी नेता सि जोङ सुनका छोरा हुन जसलाई साँस्कृतीक क्रान्तीको समयमा जेलमा हालीएको थियो र पछि देङ सत्तामा आएपनि राज्य र पार्टीका उच्च पदमा पुनस्र्थापित भएका थिए । स्वयं किशोरी सिलाई दुरवर्ति गाउँका किसानहरुसंग काम गर्न लखेटिएको थियो । त्यहि उतारचढावको बाटो सत्ता र शक्तिको सिंढी चढेका सि २०१२ मा भएको पार्टि महाधिवेशनबाट शक्तिशाली महासचिवमा चुनीएका थिए । ठिक अघि उनका मुख्य प्रतिस्पर्धि मानिएका चोङछिङका पार्टी प्रमुख बो सिलाई भ्रष्टचारको आरोपमा पक्राउ परेका थिए ।
पर्टीको महाधिवेशनबाट उनी महासचिव र त्यसको ६ महिना पछि राष्ट्रपति निर्वाचित भए । उनको शासन गर्ने शैली भने चिन जस्तो परम्परागत समाजका सबै उदाहरण भत्काउने खालका थिए । पहिलो काम उनले भ्रष्टाचार विरुद्ध सिंह र झिंगा दुवैलाई आक्रमण गरेर आरम्भ गरे । त्यसक्रममा कतिपय उनको राजनीतिक प्रतिद्धन्दीलाई शिकार बनाईएको भनिएपनि उनले चलाएको अभियानले चिनमा महंगो रक्सी देखि सुविधाजनक र राम्रा भनिने रेष्टुरेण्टको व्यापार सम्म, महँगा उपहारको व्यापार र पार्टी र सरकारका नेताहरुको शान र तडकभडक घट्न थाल्यो । उनको भाषण कामकाजी हुनथाल्यो । केही योजनाहरु बने जसले गरिवीग्रस्त गाउँलाई गरिवी मुक्त गर्ने परिणाममुखी काम भए । गाउँबाट शहरमा आएर काम गर्नेले विस्तारै शहरमा घर किन्न र केटाकेटी पढाउने अधिकार पाउन थाले । चीनको शासन व्यबस्थामा देखिने परिवर्तन उनको कार्यकालको एउटा महत्वपूर्ण पक्ष देखियो । यसले चीनको ग्रामिण र शहरी क्षेत्रको एउटा ठुलो हिस्सा सिको समर्थक भएर निस्क्यो । भ्रष्टाचारका कारण विश्वसनीयता गुमाउँदै गएको चिनीया कम्युनिष्ट पार्टिको प्रतिष्ठाको पुनस्थापना गर्न यसले महत्वपूर्ण भूमिका खेल्यो ।
त्यस भन्दा महत्वपुर्ण पक्ष भने उनले दिएको चिनको शानको पुनस्थापनाको नाराले दिएको आकर्षण थियो । यो नारा मार्फत सिले उदाउँदो विश्व शक्तिका रुपमा आफ्नो देशको भविष्यप्रति मानिसहरुलाई गर्व गर्न सिकाईयो । विश्वमा चिन नै महान हो भन्ने अन्धराष्ट्रवाद शासकहरुको हितको पक्षमा थियो । विचारधारात्मक रुपमा साम्यवाद या समाजवाद जस्ता शब्दहरुले महत्व गुमाउँदै गएको समयमा शासकहरुलाई आफ्नो औचित्य सावित गर्ने विचारधारात्मक हतियारका रुपमा राष्ट्रको गौरवले काम गर्न थाल्यो ।
आरम्भीक बर्षमा नै उनले एक पाटो एक बाटो पहल सुरु गर्दै चिनको विश्व व्यापारको सञ्जाललाई थल तथा जल मार्गबाट जोड्ने महत्वाकाँक्षी योजना अघि सारे । पुरानो शिल्क व्यापारीक मार्गको नविकरण गर्ने यो आह्वानमा चिन त केन्द्रमा थियो तर यसको रुटमा पर्ने देशहरुको विश्व व्यापारको सम्पर्कलाई पनि विस्तार गथ्र्यो । यो केवल नारा थिएन, यसलाई कार्यान्वयन गर्न आवस्यक पर्ने पुँजी र प्रविधि पनि चिनसंग थियो । यहि पुँजी, व्यापारिक श्रेष्ठता र प्रविधिका माध्यमबाट चिनीयाहरुले विश्व बजारको ठुलो हिस्साको प्रतिनिधित्व गर्ने देशहरुलाई यो परियोजनामा सामेल गराए ।
यसै विचमा विश्वमा अमेरिकाको राजनीतिक, आर्थिक तथा शैन्य श्रेष्ठता खस्कीदै गयो । यो खस्काईलाई डोनाल्ड ट्रम्पको उदयले मनोवैज्ञानिक पुष्ट्याई गर्यो । विश्वव्यापीकरणको यो दौरलाई अमेरिकाले होईन अब चिनले नेतृत्व गर्नेछ भनेर स्थापित गर्ने अवसर पनि सिले भेटाए । परिणामतः पहिलो पटक पार्र्टी महासचिवमा निर्वाचित हुँदा देखिएका महत्वाकाँक्षा दोस्रो पटक महासचिव बन्दा झन बलशाली भएर देखा परे । त्यसलाई क्यास गर्दै सि अहिले चिनको संविधानबाट राष्ट्रपतिको कार्यकाल बढिमा दुई पटक हुने प्रावधान हटाउने र आउँदो पाँच बर्ष पछि पनि आफै राष्ट्रपति हुने तयारीमा लागेका छन । चिनले सन् १९४९ को जनवादी क्रान्ती पछिका चालिस बर्ष सम्म व्यहोरेको राजनीतिक उतारचढाव र अस्थिरताको अन्त्य गर्ने उपायको रुपमा एउटै व्यक्तिालाई शक्तिशाली बन्न नदिने तथा नेतृत्वको हस्तान्तरण सहज ढंगले हुनेगरि गरिएको व्यबस्थालाई सि उल्टाउन खोज्दै छन । एकथरि पस्चिमा विश्लेषकहरुको भनाईमा सि आफ्नो भाग्य आफै लेख्दैछन र शक्तिशाली शासकका रुपमा आफ्नो निरन्तरता चाहन्छन । यसो भन्न सकिन्छ सिका लागि अर्थात एउटा व्यक्तिका लागि नै संवैधानिक व्यबस्थापनहरुमा फेरवदल गर्न खोजीदैछ । यसले चिन भित्र र बाहिर पनि अनेक प्रश्न र वहस उब्जाईदिएको छ ।
सम्भावना
संविधान नै परिवर्तन गरेर आफ्नो शासन लम्व्याउने उनको चाहना अवस्य पनि उनको व्यक्तिगत लहड मात्र होईन बरु उनको अहिलेको स्थायी समितिका अधिकाँस सदस्यहरु र पोलीटव्ययुरोको पनि धारणा हो । सन् १९९० देखि नै विचारधारात्मक रुपमा कसरी कुनै समाजवादी देशलाई समाजवादकै बाटोबाट निर्विघ्न अघि बढाउन सकिन्छ भन्ने चिन्तन गर्दै एउटा वैचारिक प्रस्थापना अघि सारेका स्थायी समिति सदस्य वाङ हुनईङ सि विचारधाराका मुख्य प्रस्तावक र अभियन्ता मानिन्छन । उनी सहितको समुहले नै सि विचारधारालाई कम्युनिष्ट पार्टिको मार्गदर्शक सिद्धान्तका रुपमा विधानमा सामले गरेको थियो । यहि समुह अहिले सिको कार्यकाल अरु लम्व्याउने कसरतमा छ भनिन्छ ।
सि यतिवेला सिंगो चिनमा कसैले चुनौती दिन नसक्ने नेताका रुपमा स्थापित गरिएका छन । एक त उनको व्यक्तित्व नै अरु भन्दा शिर्षस्थानमा छ अनि उनले शक्तिको अभ्यासका लागि धेरै अनेक संवैधानिक निकायको नेतृत्व आफ्नो हातमा लिएका छन । उनलाई थप कार्यकालका लागि बाटो खोल्ने कुराको चिनमा सामान्य विरोध भैरहेको भएपनि पार्टि भित्र सि विचारधाराका प्रस्तावक समर्थकहरुको रणनीतिक तर्क भने बलशाली छन । खासगरि विश्वमा नम्वर एक शक्तिका रुपमा चिनको पुनरोदयका लागि सि जस्तो शक्तिशाली नेताको खाँचो छ, यतिवेलै पर्सनालिटीका दृष्टिले सिलाई चुनौती दिने नेता विश्वमा कोही पनि बाँकी छैन । त्यसैगरि विश्वभर अन्धराष्ट्रवादको जगजगी छ । सन् १९४५ यता स्थिर जस्तो देखिएको र सन् १९९० पछि विश्वभर विकल्पहिन मानिएको उदारवादी लोकतन्त्र आफ्नै सिमाभित्र लड्खडाएको छ । त्यसको स्थान पपुलिजमले लिन थालेको छ । विश्वभर असिमिति शक्ति हातमा केन्द्रीत गरेका तर लोकतन्त्रको भर्याङ चढेर सत्तामा आएका शक्तिशाली व्यक्तित्वको बोलावाला छ । जापानको अवे, फिलिपिन्सको दुतेर्ते, भारतको मोदी, ईजिप्टको सिसि, रसीयाली राष्ट्रपति पुतिन, टर्किस राष्ट्रपति एड्रोगान र डोनाल्ड ट्रम्प । यस प्रकारको निर्वाचित व्यक्तिहरुको अधिनायकवाद जस्तो अवस्था विकास भैरहेको समयमा चिनमा पनि शक्तिशाली राष्ट्रपतिको आवस्यकता छ जसले आफैले घोषणा गरेका नीति र कार्यक्रमहरु सम्पन्न गर्न सकोस भन्ने चिनीया चाहना यो परिवर्तनमा अभिव्यक्त भएको देखिन्छ ।
यसै विच चिनले आफ्नो विदेश नीतिलाई प्रतिक्रियात्मक र शान्त कुटनीतिबाट क्रियात्मक फिल्डमा लगेको छ । भारत, हिन्द चिन, दक्षिण चिनसागर, जापान, कोरीयाली प्रायद्धिप, भियतनाम, अष्टे«लीयासम्म चिनका केही न केही तनाव छन । अमेरिकाले त हालै चिनलाई घोषित रुपमा मुख्य चुनौतीका रुपमा नीतिगत अडान सार्वजनिक गरेको छ । यस्तो अवस्थामा चीनलाई पनि बलियो नेता चाहिन्छ भन्ने सोचमा चिनीयाहरु पुगेका हुनसक्छन जसको एकमुष्ठ क्षमता सिले राख्छन । यसैगरि चिनले पछिल्लो समय समाजवाद र आफ्नो शासनलाई विश्वको वैकल्पीक व्यवस्थाका रुपमा स्थापित गर्ने राजनीतिक कदमहरु अघि सारेको छ । सन् १९७९ पछि चिनको विश्व सम्वन्धवारेको दृष्टिकोणमा आएको यो ठुलो डिपार्चर पनि हो ।
र सबैभन्दा महत्वपूर्ण कुरा चैं ताईवानको एकिकरण हो जसका लागि केहि बर्ष चिनको नेतृत्वको निरन्तरता जरुरी परेको हुनसक्छ । ताईवानसंगको एकिकरण सामान्यतया शान्तीपूर्ण रुपमा हुन नसक्ने र बल प्रयोग गर्दा त्यसले निम्त्याउने क्षेत्रीयस्तरको द्वन्दलाई सामना गर्ने नेताका रुपमा सिलाई निरन्तरता दिन खोजीएको हुनसक्छ ।
तर सिको यो कदमले चिन र विश्वभर के के प्रभाव पार्ने छ भन्ने चैं परिक्षण हुन बाँकी छ । तर आजिवन नेता हुने र पदमा बस्ने अकाँक्षाबाट बसिभुत भएर सिले यो कदम चालेका हुन भने चैं दुर्भाग्यपूर्ण हुनेछ ।
nayapatrika, falgun 2018