Sunday, August 28, 2022

राजनीतिमा पुस्ताका कुरा


पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न तप्काका नेपालीहरुले अहिले देशको नेतृत्व गरिरहेका नेताहरुलाई लक्षित गरेर तिनलाई आगामी निर्वाचनबाट विदा दिनुपर्ने कुरा जोडतोडले उठाउँदै आएका छन् । उनीहरुको माग अब ७० कटेका या आसपासका नेताहरुले देशलाई नेतृत्व गर्न नसक्ने भएकाले नयाँ पुस्ताका युवाहरुले देश हाँकुन भन्ने रहेको छ । वर्तमान नेतृत्वमा रहेका सबैभन्दा बृद्ध शेरबहादुर देउवा र रामचन्द्र पौडेल, झलनाथ खनाल, केपी शर्मा ओली र ७० पनि नपुगेका माधव नेपाल, प्रचण्ड र बाबुराम विदा हुनुपर्ने माग यो पंक्तिको छ । यसमा उमेर लक्षित आक्रोस भन्दा पनि लामो सयम देशको नेतृत्व गरेर पनि समाजलाई गतिशिलता तिर लान नसकेका पुराना अनुहार तारोमा परेको देखिन्छ । यद्यपी बहस भने बुढाहरुलाई विदा गर भन्ने आवाजले निम्त्याएको छ । यहाँ असी पुग्न लागेका देउवा र ७० आसपासका नेताहरु सामेल छन् ।

नेपाली राजनीतिका लागि यो नयाँ नौलो विषय भने होइन । नेकपा एमालेले आफ्नो विधानमा नै ७० वर्ष पछि नेताहरुलाई दलभित्र कार्यकारी भूमिका नदिने व्यवस्था गरेको छ । 

युवा को हो र कसलाई मान्ने भन्ने विषय राजनीतिमा लामो सयम देखि चलिरहेको एउटा नसुल्झिएको मुद्धा हो । युवा हुनुका जैविक र सामाजिक दुवै अर्थहरु हुन्छन् । स्वास्थ्य विज्ञानले कुनै पनि मानिस ३० वर्षको होउञ्जेल उसको सम्पूर्ण शाररिक तथा मानसिक विकास भइसक्ने र त्यसपछिको उमेरमा नयाँ विकास नहुने बरु क्रमशः सेलहरु बुढो हुन्छ भनेको छ । बुद्धी बंगारो आउने समयलाई यस्तो अवस्था मान्ने हो भने पनि त्यो ३० वर्ष भित्रै आउँछ । एउटा अध्ययनले २५ वर्षमा मात्र मानिसको दिमाग पुर्ण विकसित हुन्छ भनेर मानेको छ ।  यता आर्य वैदिक परम्परामा २५ वर्ष सम्म अध्ययन, बाँकी वर्ष सम्म घर गृहस्थी र ६० पछि तिर्थ व्रत र दान धर्म सहित वानप्रस्थको व्यवस्था थियो । अर्थात २५ वर्षमा मात्र मानिस पारिवारिक जिम्मेवारी पुरा गर्न सक्ने हुन्छ भनेर मानिन्थ्यो । महिलाहरुको प्रजनन क्षमता ४५ वर्ष वरपर पुगेपछि रोकिन्छ । यसले उनको प्रकृतिले निर्धारण गरेको युवापन ५० वर्ष पुग्दा नपुग्दा सकिन्छ भन्ने संकेत गर्छ ।  

यी जैविक तथा सामाजिक अवस्थालाई ध्यान दियो भने कोही पनि मानिस ३० वर्षको हुँदा उ पूर्ण रुपमा परिपक्व हुन्छ भन्ने मान्नुपर्छ । सामाजिक रुपमा युवाको परिभाषा वंश वृद्धि या पुनरुत्पादनको काम गर्न आवस्यक पारिवारिक जीम्मेवारी निर्वाह गर्न सक्ने अवस्थाको, सामाजिक क्षेत्रमा नेतृत्व गर्ने क्षमता भएको भनेर मानिन्छ । पछिल्लो समय धेरैजसो विद्यार्थीहरु ३० वर्षको नहुँदै पिएचडि सकेर आफ्नो कार्यक्षेत्रमा लागेका हुन्छन् । करियर थालेका हुन्छन् । 

विश्वमा धेरै देशहरुले चैं १८ वर्ष पुगेकाले मतदाता बन्न सक्ने, १६ वर्षमा नै नागरिकता लिन  सक्ने, १८ वर्षमा सावारी साधन चलाउने अनुमती पत्र पाउन सक्ने, १८ वर्षमा विहे गर्न र सन्तान उत्पादनको कामका लागि योग्य हुने, १८ वर्ष पुगेपछि सेना र प्रहरीमा भर्ना हुन पाउने, विभिन्न सार्वजनिक सेवामा प्रवेश पाउने जस्ता प्रावधान ऐनमा समेटेका हुन्छन् । यसरी सामाजिक र जैविक रुपमा युवा हुनु एउटा प्रक्रिया हुन्छ । अर्कोतिर नेपालले ६० वर्ष पुगेकालाई ज्येष्ठ नागरिक मानेको छ । सार्वजनिक सेवामा ५८, ६०, ६३ र ६५ वर्षको उमेरसम्म काम गर्न पाउने गरि विभिन्न सेवामा उमेर हद तोकिएको छ । हालै ६८ वर्ष पुगेकाले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरिएको छ । यो अवकास उमेरका सम्बन्धमा पनि विश्वमा नयाँ नयाँ बहस आरम्भ भएका छन् । सरदर आयुमा भएको बृद्धि र घट्दो जन्मदरका कारण काम गर्ने उमेर समुहको जनसंख्या घट्न थालेपछि खासगरि युरोपमा ६५ देखि ६७ वर्षसम्म मानिसले काम गर्न सक्ने नयाँ प्रावधान राख्न बहस थालिएको छ । यसरी युवा हुनु या वयस्क र बृद्ध हुनु आफैमा प्रकृति र समाजबाट निर्धारित मानकबाट निर्देशित हुन्छ । 

राजनीति एकल कर्म होइन । यो सामुहिकतामा आधारित हुन्छ । कुनै नेताले निर्वाचिन जित्ने कुरा उसको लहडले होइन बरु उसले नेतृत्व गरिरहेको दलको ठुलो पंक्तिले उसलाई विश्वास गरेर, मतदाताको बहुमतले जिताएर मात्र उ चयन हुन्छ र राज्य सञ्चालन गर्ने ठाउँमा पुग्छ । राज्य सञ्चालन आफैमा एकल नेतृत्वको विषय होइन । कुनैपनि नेताले राज्यको स्रोत र सामथ्र्य केलाएर त्यसका आधारमा समाजलाई अघि बढाउन निर्णय गर्छ भने त्यसको कार्यान्वयन गर्ने एउटा राज्य संयन्त्र हुन्छ । यस्तो संयन्त्रमा टेक्नोक्र्याटहरु, कर्मचारीहरु र तिनको तह हुन्छ जस मार्फत नेताले गरेको निर्णय कार्यान्वयनमा जान्छ । यसरी नेताको काम सहि नीति बनाउने र यस्तो संयन्त्रको सही परिचालन मार्फत त्यसलाई कार्यान्वयनमा लाने हो । यसका लागि नेताको उमेर कतिसम्म हुनु योग्य हो भन्ने विषय उसको स्वास्थ्यको अवस्था, उसले आफ्नो दलको र मतदाताको विश्वास जित्न सक्ने आधार र जनताको विश्वास नै हो । शक्तिको अभ्यास मार्फत प्राप्त गरेको शक्ति सम्भ्रान्तको सुविधा, त्यस मार्फत दल र समाजमा स्थापित गरिने विचार सत्ता, अनुभव र ज्ञान त्यस्ता तत्व हुन जसले कसैलाई बृद्ध होउञ्जेल समाजको नेतृत्वकर्ता बनाउने सामथ्र्य दिन्छ ।

अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिञ्जरले आफ्नो ९९ वर्षको आयुमा पछिल्लो पुस्तक प्रकाशित गरेका छन् । यी उमेरले बृद्ध भएपनि सम्पूर्ण चेतना सहित कुनै पनि युवासंग वर्तमान विश्व मामिलामा प्रभावशाली र प्रामाणिक विचार दिन सक्षम छन् । एकप्रकारले उनी विश्व कुटनीतिक स्कुलका प्राधिकार जस्ता देखिन्छन् ।

कुनै मानिस सक्षम छ कि छैन भन्ने बारे कसरी निर्णय गर्ने ? एकजना रसियाली प्रधानमन्त्री थिए अलेक्सेइ कोसिगिन । उनी ७० वर्षका आसपासमा रहेकै समयमा एकपटक उत्तर भियतनामको भ्रमणमा आएका थिए । त्यहाँबाट उनी भारतीय आकासको प्रयोग गरेर मस्को फर्कदै थिए । तर भारतीय आकास आउनु अघि उनलाई तत्काल पेकिङ भ्रमण नजाँदा भियतनामी युद्धमा आफ्नो देशको कुटनीति असफल होला जस्तो लागेछ । उनी आकासबाटै जहाज मोड्न लगाएर पेकिङतिर लागेछन् । भियतनाम युद्धमा अमेरिकी योजना असफल बनाउन यो भ्रमणको अर्थपूर्ण भूमिका रहेको मानिन्छ । यसैले को कुन उमेरमा बुढो हुन्छ र को कुन उमेरमा तन्नेरी रहन्छ भन्ने विषय उसको निर्णय क्षमतामा भर पर्ने कुरा हो । यसको सामाजिक राजनीतिक परिवेश र मापदण्डहरुबाट पनि निर्णय हुन्छ । बाराक ओबामा ५५ नपुग्दै राजनीतिक भूमिकाबाट पछि हटे तर उनकै दलबाट जो वाइडेन ७९ वर्षमा राष्ट्रपति भए । महाथिर मोहमदले ९२ वर्षमा निर्वाचन लडेर जिते र मलेसीयाको प्रधानमन्त्री बने । दुवै जनताको विश्वासमा आधारित छन् । 

अब हाम्रो सन्दर्भमा जाउँ । हाम्रो आधुनिक राजनीतिको इतिहास त युवाहरुले अघि बढाएका आन्दोलनबाटै बनेको हो । विपि कोइराला र पुष्पालाल श्रेष्ठ, सिपी मैनाली र केपी ओली, मदन भण्डारी या मोदनाथ प्रश्रीत, प्रचण्ड या बाबुराम जसलाई हेरे पनि हाम्रो आधुनिक कालको सम्पूर्ण राजनीतिको थालनी र नेतृत्व युवाहरुले नै गरेका छन् । यता ०४६ को आन्दोलनको नेतृत्व गर्दै गर्दा गणेशमान सिंह, ०४७ को संविधान निर्माणको कालखण्डको नेता कृष्णप्रसाद भट्टराई, ०५१ मा प्रधानमन्त्री बनेका मनमोहन अधिकारी, ०६३ मा शान्ती प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्वकर्ता गिरीजाप्रसाद कोइराला आफ्नो जीवनको उत्तरार्धमा नै थिए । यसैले हाम्रो निकट विगतको इतिहासले राजनीतिक नेतृत्वका लागि उमेर होइन उसको शाररिक मानसिक स्वास्थ्य महत्वपूर्ण हो भन्नेतिर संकेत गर्छ । 

अहिलेको हाम्रो देशको राजनीतिक नेतृत्व उमेरका कारणले असक्षम भएको या नेतृत्व गर्न नसक्ने भएको कत्तिपनि होइन । यो नेतृत्व पंक्तिको दोष चैं २०७२ पछि देशको नेतृत्व गर्दा राज्यबाट गरिने निर्णयहरुमा रहेको अपरिपक्वता, दल या व्यक्तिगत हितहरुलाई प्राथमिकतामा राख्ने तिनको नीयत र सेवा प्रवाहमा राज्य संयन्त्रलाई परिचालन गर्न नसक्दा बढेको भ्रष्टाचार हो । यहि पंक्तिबाट नेपाली जनताले आसा गरेको जस्तो विकास र सुधारको सम्भावना क्षिण हुँदै गएको साँचो हो । सबै एउटै क्षमताका, सबै उस्तै असक्षम र असफल पनि होइनन् । यता हाम्रो युवा मानिएको ६० मुनिको पुस्ता अहिलेको वेथिती र अविकासका लागि कम जिम्मेवार छैन । राजनीतिक नेतृत्वको एउटा सिंढीमा यो पनि बसेको छ । मुख्यमन्त्री र मन्त्री भएको छ, साँसद भएको छ, पार्टीको नीति निर्णय गर्ने तहका विभिन्न  आसनमा विराजमान छ, उच्च तहको प्रशासक भएको छ, ठुलो व्यापारिक घरानाको छ, विकासे परामर्शदाता छ तर उसले काम गरिरहेको ठाउँमा पनि नतिजा सन्तोषजनक छैन । औंलामा गन्न सकिने सिमित युवाहरुका सकारात्मक प्रयासलाई छाड्ने हो भने युवाबाटै पनि आसा गर्न सकिने कमै ठाउँ छ । यसरी हेर्दा उमेर भन्दा पनि उसको नीयत र क्षमता हेरेर हरेकका अलग अलग मुल्याँकन प्रोफाइल बनाएर कसलाई राख्ने र कसलाई विदा गर्ने भन्ने निर्णयमा पुग्न सके मात्र समयलाई न्याय गर्न सकिन्छ ।

Published in Dhorpatan daaily pokhara

Saturday, August 6, 2022

मेरी उनीलाई .......!




“ग्लोबल आइएमई बैंकको मेरी उनीलाई मुद्धती खातामा आफ्नी श्रीमतिका नाममा रकम जम्मा गरिदिनुस र उनको अनुहारमा कहिल्यै नदेखिएको खुशी अनुभव गर्नुहोस् ।” ग्लोबल आइएमई बैंकको बचत खातामा डिपोजिट जम्मा गर्न महिलाहरुलाई आकर्षित गर्ने योजनाबारेको विज्ञापनको मोटो सन्देश यस्तै छ । त्यसका लागि बनाइएको विज्ञापन टेलिभिजन, एफएम र रेडियोहरु, अनलाइनहरु, युट्युव फेसबुक जताततै बज्छ, देखिन्छ । विज्ञापनमा एउटा युवा लोग्ने घरमा प्रवेश गर्छ, पत्नी यसै ठुस्सिएको जस्ती देखिन्छे, (मलाई यी दुवै मोडल या कलाकारको नाम चैं थाहा भएन)  । पुरुष गीत गाउँदै प्रेमप्रस्ताव गर्ने सिनेम्याटिक शैलीमा घुँडा मार्छ, आशिकले आफुले मन पाराएकी तरुनीको हातमा चुम्बन गरेर प्रेमप्रस्तावका रुपमा गुलावको फुल टक्र्याएको जस्तो गरेर रु पाँच लाखको बचत जम्मा गरिदिएको प्रमाणपत्र दिन्छ । भरखर ठुस्सिएकी पत्नी बेहद खुशी देखिन्छे र पतिको छातीमा टाँसिन पुग्छे । विज्ञापनमा त्यसपछि पत्नीहरुलाई आर्थिक रुपले समृद्ध बनाउन सबैका लोग्नेहरुले यस्तो खाता खोलीदेउन भन्ने सन्देश दिने प्रयास गरिएको छ । यता हिमालयन टेलिभिजनमा कालकार पवित्रा सुब्बाले चलाउने जीवन साथी कार्यक्रमलाई पनि बैंकको उक्त खाताका नाममा प्रायोजन गरिएको छ । जीवन साथी कस्तो ? बैंकको विज्ञापनमा आउने पुरुष जस्तो कमाउने र स्त्रि जस्तो पैसा पाएपछि रमाउने जीवन साथी । 

बैंकका लागि यस्तो विज्ञापनका माध्यमबाट आफुप्रति ग्राहकलाई आकर्षित गर्नु, मानिसहरुमा बचत गर्ने बानी बसाल्नु राम्रै हो, व्यवसायीक दृष्टिले । यस्सो हेर्दा कुरा त राम्रो हो, पति पत्नी खुशी हुनु, आर्थिक भविष्य पनि सुरक्षित पार्दै जानु । तर यो विज्ञापन हेर्दा मेरो मनमा भने केही जिज्ञासाहरु उब्जीरहन्छन् । विज्ञापनमा पुरुषले कमाउने, महिला घरमा बस्ने, महिलाका लागि पनि पुरुषले बचत गरिदने र यसो गर्दा परिवार खुशी हुने सन्देश दिइएको छ । हाम्रो समाजको मनोविज्ञान निर्माण गर्ने यस्ता विज्ञापनहरुले कस्तो पुरुष र नारीलाई आदर्श मान्छ भन्ने देखाउने एउटा उदाहरण हो यो । 

यो विज्ञापनले महिलालाई पराश्रीत मानिसका रुपमा देखाउँछ । उसको स्वतन्त्र व्यक्तित्व या अस्तित्व अस्विकार गर्छ । पुरुष घर बाहिर जान्छ र कमाउँछ, महिला घर बस्छे र लोग्नेको कमाइले घर चलाउँछे । पैसा कमाउन र श्रीमतीका नाममा जम्मा गरिदिन सक्ने पुरुष आदर्श पुरुष हो । घर पुरुषको, पैसा कमाई पुरुषको, उ आफ्नो आयस्ताबाट अलिकति रकम पत्नीलाई दिन्छ र उसको अनुहारको हाँसो मुस्कान या खुशी किन्छ । पत्नी पैसा पाएकोमा दंग पर्छे र आफुलाई पतीको काखमा समर्पित गर्छे ।  यसरी जम्मा गरिदिन नसक्ने पुरुषले पत्नीलाई खुशी पार्न सक्दैन । जब पत्नी खुशी हुन्न परिवार पनि खुशी रहँदैन । समाजका पुरुष र महिला दुवैमा यसले एउटा मनोविज्ञान निर्माण गर्छ, जसलाई हाम्रो पितृसत्तात्मक समाजले पहिले देखिनै संस्कारका रुपमा लालन पालन गरेको छ कि घर र पत्नी पतिका परिश्रमबाट चल्ने, पतिको नियन्त्रणका वस्तु हुन । पति पहिलो दर्जाका हुन्छन् पत्नी दोस्रो । 

जबकी नेपालमा केही बैंकका प्रमुख कार्यकारी पदमा महिलाहरु कार्यरत छन् । उदाहरणका लागि लागि मेघा बैंकमा सिइओ महिला (श्रीमती खुँजेली) भएको बेला उनले यस्तो विज्ञापनलाई कसरी हेर्दी हुन ? हुनसक्छ बैंकको सिइओका रुपमा उनको कमाई उनको पतिको भन्दा बढी होस् । उनले पतिका नाममा बैंक खाता खोलेर पतिको प्रेम र आलिंगन खरिद गर्ने पनि योजना बनाएर विज्ञापन गर्ने भनिन भने पुरुषहरु के सोच्दा हुन ? 

विज्ञापनको यो सन्देशले महिलाहरुलाई घरबाट सार्वजनिक जीवनमा निस्केर आफ्नै योग्यताबाट कमाइ गर्ने, घर परिवार चलाउने, समाज र संस्थाहरु हाँक्ने ल्याकत सहितका अलग व्यक्तित्वका रुपमा स्विकार गर्दैन । स्वयं उक्त विज्ञापनमा मोडलिङ गर्ने महिला आफै मोडल र कलाकारका रुपमा अलग पहिचान र आफ्नो जीवन आफै चलाउन सक्ने गरि कमाइधमाई गर्ने व्यक्तित्व हुनसक्छिन् । महिलाहरु को भन्दा को कम भन्दै सार्वजनिक जीवनमा प्रतिस्पर्धामा उत्रेर पुरुषको अधिनस्थ बस्ने होइन पुरुष सरह बन्ने, घर भित्र र बाहिर आफ्ना लागि पुरुष समानको स्थान र सम्मान खोज्ने हकदारहरु हुन, अहिले सर्वत्र त्यसका लागि संघर्षरत महिलाहरु उपस्थित छन् । पुँजीवादी विकासले सामाजिक उत्पादन शक्तिलाई विस्तार गर्न महिलाहरुलाई घरबाहिर तानेर ल्याउने गरेको छ । पुरुषको कमाइले मात्र या महिलाको कमाइले मात्र सामुहिक परिवार चलाउन नसक्ने मध्यम वर्ग अहिले सामाजिक वर्गमा सबैभन्दा ठुलो संख्यामा छ । तर विज्ञापनमा यसलाई पुरै वेवास्ता गरिएको छ । 

सरासर महिलालाई अधिनस्थ राख्ने गरि ल्याइएको यो विज्ञापन अहिले सम्झनामा आएको भने नेपालको नागरिकता सम्बन्धी कानूनमा हालै गरिएको संसोधन र त्यसमा महिलालाई विभेद हुनेगरि थोपरिएको व्यवस्थाका कारणले हो । जसरी घर भित्र पत्नी माथि पतिको नियन्त्रण हुन्छ त्यसरी नै देशका समग्र नारीहरुमाथि पुरुषहरुको नियन्त्रण हुनुपर्छ भन्ने मान्यता अहिलेको नागरिकता सम्बन्धी कानूनले गर्छ । देश पुरुषको हो । पुरुषको खटनपटनमा महिलाले चलेसम्म तिनीहरु यहाँ बस्न योग्य हुन्छन् अन्यथा तिनले देश दावी गर्न पाउन्नन । पुरुषले विदेशी महिलासंग वैवाहिक सम्बन्ध राख्न र उसंग जन्मेका सन्तानलाई नेपाली नागरिकता दिन सहजै पाउँछ तर महिलाले विदेशी पुरुषसंग विहे गरेपछि सकियो, उसको लोग्ने यता आएर नागरिकता पनि पाउँदैन, उसंगबाट जन्मेका सन्तानले बाउको बारेमा था छैन भनेपछि मात्र नेपालमा नागरिकता पाउँछन् त्यो पनि जन्मेदेखि नै नेपालमा बसेको हुनुपर्छ । आमाका नाममा वंशजको आधारमा नेपाली नागरिकता छ तर विदेशीसंग विहे गरेकोले उसका सन्तानले वंशजको नागरिकता पाउन सक्दैनन् । तर पुरुषका हकमा यो लागु हुँदैन, उसले विदेशबाट कुनै महिलाबाट सन्तान प्राप्त गरी नेपाल ल्यायो भनेपनि सहजै वंशजका आधारमा आफ्ना सन्तानलाई नागरिकता दिन सक्छ ।

महिलालाई अधिनस्थ राख्ने यो अपमानजनक नागकिरता सम्बन्धी कानुन हाम्रो संसदले पास गरेको हो । झिनो मसिनो रुपमा यसका विपक्षमा स्वर उठाइएको भएपनि त्यसलाई सरकार र संसदले सुनेन । यस्तो कानुन बनाउन संसदमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतका सबै दलका महिला पुरुष जिम्मेवार छन् । वामपन्थी र उदारवादी सबै सहमत छन् । राजनीतिक वृत्तभित्र यसमा विमती देखिएको चैं नेपाली पुरुषसंग विहे गर्ने महिलाले विहेको लगत्तै उताको नागरिकता त्यागेपछि यताको नागरिकता पाउने छन् भन्ने प्रावधानमा हो । यस्तो विरोध संविधानले महिला र पुरुषलाई समान मानेकोले नेपाली नागरिकसंग विहे गर्ने विदेशी महिला या पुरुष दुवैको हकमा समान व्यवहार गरियोस भन्ने मनसायले आएको छैन । बरु नेपालका धेरै पुरुषले भारतीय महिलासंग विहे गर्छन् र त्यसरी आउने भारतीय महिला र तिनका सन्तानले नेपाल ढाकेर नेपाललाई सिक्किम या फिजी बनाउँछन् भन्ने काल्पनिकिमा आधारित छ । जबकी नेपालमा नागरिकता वितरण हुन थालेको ७० वर्ष यताको इतिहासले यसलाई स्वतः खण्डन गर्छ ।

यता नागरिकता सम्बन्धी यो व्यवस्थाले नेपालमै जन्मे हुर्केकी कुनै महिलाले नेपाली पुरुषसंग जन्माएको सन्तान बाबुको पहिचान विना नेपाली नागरिक बन्न लोग्ने या बाबु पत्ता नलागेको घोषणा गर्नुपर्ने भनेको छ । अर्थात कुनै महिलाले आफ्नो गर्भासयमा हुर्केको सन्तानको बाबु को हो भन्ने जानकारी छैन भन्ने वकपत्र जिल्ला प्रशासनमा दर्ज गरेपछि मात्र उनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउँछन् । पुरुषका हकमा यो व्यवस्था छैन । यसरी पनि कानूनले महिलालाई पुरुष अधिनस्थ बनाएको छ । जसरी घर पुरुषको हो, पत्नी पुरुषको अधिनस्थ हो भन्ने आम पितृसत्तात्मक व्यवस्था छ त्यसरी नै नेपालको नागरिकता सम्बन्धी कानुनले देश पुरुषको हो, नेपाली पुरुषको अधिनस्थता स्विकार नगर्ने महिला, नेपाली पुरुषसंग विहे नगर्ने नेपालकै छोरी र उसका सन्तान नेपाली हुन सक्दैनन् भन्ने भाष्य स्थापित गरेको छ । पुरुषको लिंग र विर्यलाई देश या राष्ट्रको जिनेटिक आधार मान्ने यो राष्ट्रवाद नेपालको कन्जर्भेटिभ, लिवरल र लेफ्ट भनिने तिनैथरी राजनीतिक शक्तिको वैचारिक स्रोत बनेको छ । विभेदलाई निरन्तरता दिने संविधान तिनै थरी शक्तिको साझा दस्तावेज हो र अहिलेको कानुन पनि सबैको साझा प्रतिवद्धता हो । पञ्चायतकालबाट स्थापित पहाडे राष्ट्रवादको भद्धा नक्कल गरिएको यो कानुन आफैमा विभेदकारी सिद्धान्तमा आधारित छ । 

महिलाहरु घरभित्र पनि र बाहिर पनि स्वतन्त्र हुन सक्दैनन् भन्ने वैचारिकता मेरी उनीलाई .... भन्ने विज्ञापनमा स्थापित गर्न खोजिए जस्तै वर्तमान नागरिकता सम्बन्धी कानुनले त्यसलाई थप जटिल बनाएर व्यवस्थापन गरेको छ । महिला शरिर र यौनिकता, तथा उसको स्वतन्त्र व्यक्तित्वमाथिको यो बन्देज ढिलो चाँडो भत्किने छ, तर त्यस अघि हामीकहाँको राजनीतिक नेतृत्वको दिमागमा लागेको पितृसत्ताको खिया घोटेर फाल्नुपर्ने छ ।

Saturday, June 18, 2022

Wang Huning, “The Structure of China’s Changing Political Culture”

Wang Huning, “The Structure of China’s Changing Political Culture”: Wang Huning, “The Structure of China’s Changing Political Culture”[1]   Introduction by Matthew D. Johnson Introduction Wang Huning (b. 1955) is widely viewed as China’s most powerful...

Monday, April 11, 2022

स्मृति


सात दिनमा ३६ छाक


२०४१ सालको कुरा हो । स्नातक अध्ययन गर्दैं थिएँ । वगरस्थित गणेशबहादुर गुरुङको घरमा डेरा गरिवस्थें । अखिलको जिल्ला कमिटि अध्यक्ष थिएँ । नगर वाइएलको अध्यक्ष पनि । रुम पार्टनर थिए शिव पौडेल, पृथ्वी नारायण क्याम्पस प्रारम्भिक कमिटिका अध्यक्ष र स्ववियु उपसचिव थिए । दुवै अघोषित पूर्णकालिन कार्यकर्ता । घरबाट आउने खर्चले दालभात, डेराभाडा र क्याम्पस फि तिर्नु ठिक्कै हुन्थ्यो । घर पुगेको बेला एकाध पाथी चामल र दाल गुन्द्रुक ल्याइन्थ्यो । तर घर जाने फुर्सद पनि कम हुन्थ्यो । यता पार्टीको सम्पर्क थलो थियो कोठा । कमरेड वामदेव गौतम पछि यस क्षेत्रको नेतृत्व गर्न आउनु भएका जीवराज आश्रीत कहिलेकहिँ आउनुुहुन्थ्यो । धेरैजसो चाहिँ कास्कीको नेतृत्व गर्ने कमरेड राजन उर्फ त्रिलोचन ढकाल र कमरेड विनय उर्फ शारदा सुवेदी आइरहनुहुन्थ्यो । हामी दुइ जना बाहेक पनि हरेक छाक खाना खाने थप दुइ चार जना भैहल्नुहुन्थ्यो । दुइजना मात्र हुनु त विरलै हुने संयोगको कुरा थियो । खर्चको अत्यधिक चाप परेपछि कमरेड राजनले एकदिन हामीलाई अब तपाईहरुले आफु दुइजनामा थप एकजनामात्र पाल्ने गरी व्यवस्थापन गर्नुप¥यो । म मिलाउँछु । तर त्यस्तो सम्भव थिएन । हामीले यसो नगरौं भनेर रोक्न खोज्यौं । वहाँले यो त पार्टीको निर्णय हो भन्नु भयो ।

कोठाको एउटा कर्नरलाई खाना बनाउने ठाउँ बनाइएको थियो । त्यसको भित्तो प्लाइको थियो । एउटा कागजमा हामीले कुन छाकमा कति जनाले खाना खाइयो भनेर रेकर्ड राख्ने गरि कागज टाँस्यौं । हामीलाई महिना भरमा ६० छाक मात्र अरुलाई खुवाउनु पर्ने भनिएको थियो । तर पहिलो हप्तामा पुग्यो ३६ छाक । महिना मर्न अझै २२ दिन बाँकी थियो । यही रितले त कम्तीमा डेढसय छाक खुवाउनु पथ्र्यो । अनि कमरेड राजनलाई देखाइयो र हाँस्दै त्यो भित्ताको रेकर्ड कागज हटाइयो । हाम्रो दैनिकी उस्तै थियो । कहिले दुइजना कामले थाकेर लोत पर्दै फर्किन्थ्यौंै । दश ११ बजेतिर आउँदा कोठामा चामल मात्र हुन्थ्यो । देक्चीमा पकायो, थालमा राख्यो, जगले बाल्टीको पानी हाल्यो र नुन छर्केर सल्लवल्ल पार्दै खायो सुत्यो । वगरबाट टुँडिखेल जाने चोक नजिक एउटा अलि ढिलोसम्म खुला हुने मम पसल थियो । हामी ढिलो आउँदा पनि खुलै रहन्थ्यो । भोक र थकाइले हत्तु भएर आउँदा हामी खल्तीमा ५ रुपैंया सम्म भए त्यही मम पसलमा पस्थ्यौं । कहिले पाँच मोहर प्लेटको मम एक एक प्लेट या खल्तीको अवस्था अनुसार आधा आधा प्लेट खायो अनि आएर सुत्यो । हाम्रो क्याम्पस लाइफ यस्तै दुःख सुख र रमाइलोमा वितेको थियो । 


१ रुपैंयाका लागि 


०४३ माघको कुरा हो । काठमाण्डौको चिसो उत्कर्षमा थियो । विहान एघार बजेसम्म त हुुस्सुलागिरहन्थ्यो । म अली दिन काठमाण्डौ बस्न आइपुगेको थिएँ । शिक्षक संगठनको केन्द्रीय समितिको विस्तारित बैठक थियो । कास्कीबाट संगठनका जिल्ला अध्यक्ष तथा महेन्द्र मावी भलामका प्रअ विश्वराज पौडेल र सदस्य रहेको म प्रतिनिधि भएर आएका थियौं । रामचन्द्र अधिकारी सायद केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । केन्द्रीय समितिका महासचिव देवि ओझा चौतारा जेलमा हुनुहुन्थ्यो । विस्तारित बैठक संगठनको केन्द्रीय कार्यालय रहेको पुरानोवसपार्क छेउको एउटा घरमा हुन्थ्यो । हाम्रो बसाइ चैं सिताराम मास्केको नरदेवीस्थित विद्यालय जलजला शिशु सदनमा मिलाइएको थियो । हाम्रो भन्नाले माले पक्षका शिक्षकहरुको । बद्रीप्रसाद खतिवडा, सुसिलचन्द्र अमात्य, गोरेबहादुर खपांगी, शुसील प्याकुरेल, रामचन्द्र अधिकारी, परासीबाट आएका नविन अधिकारी, म, धादिङ्का राजेन्द्र पाण्डे लगायतका साथिहरु मास्केको जलजला शिसु सदनको होष्टलमा बस्ने गरेको थियांै । स्कुल विदा थियो ।

विस्तारित वैठक बस्ने क्रममा नै शिक्षक संगठन विभाजित भयो । नेपाली काँग्रेस निकट सबै र वामपन्थी मानिएका गोर्खाका मुक्तिनारायण लगायतको समुह पनि संघ तिर गयो । अब नेपाल राष्ट्रिय शिक्षक संगठन मुख्यतया मालेपक्षधर र मशाल पक्षधर शिक्षकहरुको मात्र संगठन रहन गयो । सम्झेसम्म जेलमा रहेका देवि ओझालाई अध्यक्ष र रामचन्द्र अधिकारीलाई नै महासचिव बनाएर संगठन पुनर्गठन गरिएको जस्तो लाग्छ । माले र मशालवालाहरुको एकदिन स्वयंम्भुमा भेटभाट भएको थियो । सिन्धुपाल्चोकका अग्नी सापकोटा पनि उक्त भेटघाटमा आउने मध्येका थिए । त्यस मध्येका अमात्य सर पछि संविधान सभा सदस्य र श्रीलंकाका लागि राजदुत हुनुभयो, प्याकुरेल मानवअधिकावादी बन्नु भयो, राजेन्द्र पाण्डे अहिले बागमतीका मुख्यमन्त्री छन्, अग्नी सापकोटा सभामुख । मास्के ०४४ मा काठमाण्डौको प्रधानपञ्चमा उठ्नु भयो जनपक्षीय उमेद्वारका रुपमा । खपांगी सर जनमुक्ती पार्टी खोलीवरी पछि राजाको क्याविनेटमा मन्त्री हुन पुग्नुभयो । देवि ओझा एमालेको नेता हुँदै राजाको मन्त्री बन्नु भयो । रामचन्द्र अधिकारी हुन जो कतै सार्वजनिक जिम्मेवारीमा देखिएनन् 

कुरा रामचन्द्र र मेरो पोखरा यात्राको थियो । वैठक सकिएको भोलिपल्ट हामी पोखरा फर्कने भएका थियौं । पोखरासम्मको भाडा १५ देखि २० रुपैंया जति हुँदो हो । म संग भएको पैसाले मैले पहिला गएर दुवैजनालाई रात्रीवसको टिकट काटें । भोटाहिटि तिर गएर निरन्जन गोविन्द वैद्यको पसलबाट केही पुस्तकहरु किनें । मसंग अब १५ रुपैंया बाँकी रहन गयो ।

हामीले रत्नपार्कमा अञ्चलाधिश कार्यालय अगाडी अहिलेको शान्ती बाटिकामा रहेको रिमझिम भोजनालयमा गएर दाल रोटी र भात गरेर १३ रुपंैयामा खाना खायौं । अब मसंग बाँकी बच्यो रु २ । हामी बस चढेर पोखरा तिर लाग्यौं । 

मलाई त्यतिवेलासम्म चिसो हुँदा पाइण्ट भित्र टउजर लगाइन्छ भन्ने पनि थाहा थिएन, थर्मकोटको बारे सुनेको पनि थिइन, जलजलामा बस्दा अमात्य सरले लगाएको देखेर अनौठो मानेको थिएँ । दाइले भरखर लगाएको एउटा एलटि जकेट थियो । त्यही लगाएर आएको थिएँ । रात्रीबस चढेपछि मलाई चिसोले अठ्याँउदै लग्यो । चिसो सिरेटो बस भित्र पस्थ्यो । मेरो मुखबाट ह्वालह्वाली पानी आउने, कान चौपटसंग दुख्ने भयो । निकै सास्तीले मुग्लिन पुगियो । त्यहाँ पुगेपछि चिया खाएर जिउ तताउन खोजियो । मोहर कप चिया पिउँदा थप एक रुपैंया सकियो । विहान ५ बजेतिर पोखरा बसपार्क ओर्लेपछि मैले चिसो भगाउन चिया पिउँ भनेर रामचन्द्रसरलाई भनें । वहाँले हुन्न हुन्न भन्दै मलाई हिँडेर गेहेन्द्र सरकाहाँ जाउँ र चिया पिउ भन्नु भयो । हामी चिसोमा हिँडेरै गैह्रा पाटनस्थित गेहेन्द्र कोइराला सरको घरमा पुग्यौं । प्रहरी कार्यालय सामून्ने रहेको यो घर पार्टीको शेल्टर पनि थियो । हामी पुग्दा घरमा मान्छेहरु उठ्ने तरखरमा मात्र हुनुहुन्थ्यो । एकछिन बस्यौं । कोठामा बस्दा चिसोको आक्रमण कम भयो । चिया पिएपछि थोरै स्फुर्ति पनि आयो । अनी हामी बगरसम्म हिँडेर पुग्यौं । मसंग घरसम्म जाने खर्चका रुपमा १ रुपैंया पनि बच्यो । 

 


Thursday, April 7, 2022

अग्नी शिखा सम्मान ग्रहण गर्दा

 




(गत फागुन २७ गते प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गरिएको थियो । उक्त महाधिवेशनका समयमा हामी केही लेखक तथा पत्रकारलाई चौतारीले विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय पहिले नै गरेको थियो । प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले हामीलाइ सम्मान (सम्मान हो या पुरस्कार भन्ने चैं मैेले विर्सें) प्रदान गर्नुभएको थियो । 

उक्त कार्यक्रममा मैले पनि केही बोल्ने समय पाउँला कि भनेर कार्यक्रमको दुइदिन  पहिले नै चौतारीका अध्यक्ष गणेश जिलाई सोधेको थिएँ । वहाँले तपाईलाई सम्मानित हुनेहरुका तर्फबाट पाँच मिनट बोल्ने समय मिल्छ भन्नु भयो । मैले पनि उतै बोल्न भन्दा केही लेखेर लानु र पढ्नु ठिक होला भन्ने ठानेर सोही दिन विहान एउटा छोटो मन्तव्य जस्तो लेखेर लगेको थिएँ । मलाई मादी गाउँपालिकाको कार्यक्रममा पुग्नु पर्ने भएकोले हतारमा थिएँ । सम्मानित भइसके पछि मैले उद््घोषक राजेश राइलाई मैले बोल्ने समय छ कि भनेर सोधेको थिएँ । वहाँले नेताहरु नै धेरै हुनुहुन्छ, तपाईलाई समय मिलाउन सकिएला जस्तो छैन भन्नु भयो । यति भएपछि कमरेड ओलीले बोल्दै गर्दा म पछाडीबाटै निस्केर याङ्जाकोटतिर हिँडे । पछि मलाई बोल्न भनेर खबर त गयोे तर ढिलो भइसकेको थियो । सो दिन पढ्न लगेको यो आलेख पाठकहरुसम्म पुगेकै राम्रो भन्ने लागेर ब्लगमा राखिएको छ ।)

गत पुष महिनाको आखिरीतिर घरमा यसै अलमलमा परेर बसिरहेको कुनै दिउसो प्रेस चौतारी नेपालका अध्यक्ष गणेसजिले अग्नीशिखा सम्मानका लागि मेरो स्विकृति माग्न फोन गर्नुभयो । प्रस्ताव अप्रत्यासित थियो । मलाई त अग्निशिखाका नाममा कुनै सम्मान या पुरस्कार छ भन्ने पनि सम्झना थिएन । एकाध मिनेट जति गणेश जि संग कुरा भए तर मेरो मनमा त्यही विचमा अनेक कुरा खेल्न थाले । लिनु नलिनु भन्ने दोधार पनि उत्पन्न भयो । म अलिकति पार्टी गतिविधिमा सामेल हुन थलेपछि मात्र यस्तो पुरस्कारको लागि योग्य देखिएको होला भनेर आफै हासेँ पनि । गणेशले पुरष्कृत गर्ने प्रस्ताव राख्दा मेरो मनमा ’पार्टी राजनीतिमा हैन तेरो स्थान लेखन र पत्रकारिता मै हो’ भनेर थान्को लाउन खोज्या पो हो कि भन्ने षडयन्त्रको सिद्धान्त प्रवेश गरेको थियो एकछिन । 

अनि सम्झें अग्नीजिको नाम । अग्नीलाई पढ्न थालेदेखि वहाँप्रति मनमा एकप्रकारको श्रद्धा थियो । मृत्युभन्दा केही घण्टा अघिसम्म कमलपोखरीस्थित हामीेले काम गर्ने कारखानाको छतमा उस्तै शान्त, गम्भिर र तर्कशिल रुपमा हामीसंग कुरा गरिरहेका थिए । माझी र चोर औंलाको विचमा सुर्य चुरोट च्यापेर फुसफुस धुवाँ उडाउँदै उनले आफ्नो लेखनका विषयमा कुरा गरेका थिए । सज्जन र भलाद्मी तिनले पार्टीका लागि भनेर पेन्सन पाक्नु केही महिना अघि मात्र स्थायी जागिर छाडेका थिए । एकप्रकारले अघोषित पुर्णकालिन कार्यकर्ता थिए पार्टीका । एकजना क्रान्तीकारी थिए, सच्चा कम्युनिष्ट थिए । विश्वभरका क्रान्तीकारी युवा युवतीका जीवनी र आनदोलनका अनेक पाटाबारे खोजी खोजी लेख्थे र हामी पाठकहरुलाई परिचित गराउँथे । अचानक उनको मृत्युको खबर सुनेर स्तब्ध हुनेमा म पनि थिएँ । भोलीपल्ट आर्यघाटमा वहाँको छोराले मेरो बाबुको शवमाथि पार्टीको झण्डा नराख्नु भन्दै रोक्न बल गरेको सम्झें । त्यसले पार्टीमा योगदानहरुको मुल्य हुदैन भन्ने मान्यतालाई बल पुग्ने एकप्रकारको विद्रोह र असन्तुष्टिको विम्व देखाएको थियो । वहाँको नाममा राखिएको पुरस्कार, सम्झेर सम्मान गर्न खोज्ने नयाँ पुस्ताको प्रस्ताव । सम्मान अस्विकार गर्नु अग्नीजिका प्रति पनि अपमान जस्तो हुन्थ्यो । दिनेको पनि र आफ्नै पनि अपमान होला भन्ने लाग्यो । 

यस अर्थमा पनि अग्नि शिखा पुरस्कार (सम्मान !) का लागि योग्य सम्झेकोमा प्रेस चौतारिलाई म धन्यवाद दिन चाहन्छु ।

पुरस्कार सत्ता हुनेले या धन हुनेले दिन्छन् । एमाले एकप्रकारको सत्ता हो । पुरस्कारको अर्थ हुन्छ् पाउने मान्छे आफ्नो हो भन्ने स्थापित गर्नु या उसलाई पुरस्कार दिनेका पक्षमा नैतिक बन्धनमा राख्नु । म आफ्नो चेतनाले अर्थराजनीतिमा विद्यमान विभेदहरु महशुस गर्न थाले देखि सत्ताको विरुद्ध छु । आफैले मत दिएर, प्रचार गरेर जीताउन सघाएको सरकार भएपनि आलोचना गर्छु । सत्तासंग एकप्रकारको दुरी राख्न आवस्यक जस्तो ठान्छु । केही वर्ष पहिले मेरो पुस्तक ब्रिटिश साम्राज्यका नेपाली महोरका लागि दिइएको किराँत एकेडेमी पुरस्कार प्रदान गर्न आउनु भएका नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डलाई मैले भनेको थिएँ तपाई सरकारमा हुँदा मट्याङ्राले हानुहानु झैं लाग्छ, प्रतिपक्षमा हुँदा सहयोग गरुँ गरुँ लाग्छ । यता कमरेड केपी ओली पनि अहिले प्रतिपक्षमा हुनुहुन्छ । एमाले प्रतिपक्षमा छ । म त प्रतिपक्षकै भइहालें । यस्तोमा पुरस्कार लिनु त्यति नराम्रो हुदैन भन्ने लाग्यो । वहाँ प्रधानमन्त्री हुनुभएकै समयमा गणेशले प्रस्ताव गरेको भए सम्भवतः मलाई यो पुरस्कार स्विकार गर्न मुश्किल पर्ने थियो । यस अघि सरकारले दिएको जनसेवाश्री पदक अस्विकार गरेकै हो । ठिक बेठिक जे जस्तो भएपनि म यस्तै छु । हामी यस्तै त छौं ब्रो ! 

प्रेस चौतारीका साथीहरु, 

राजनीतिक नेताहरुलाई त एउटा निर्वाचन देखि अर्को निर्वाचनसम्म केही नारा र केही वाचा कसमले टिकाइरहन सक्छ । चाहिए माक्र्सको नाम लिन्छन, गान्धी या बुद्धको नाम लिन्छन्,  कहिले रहिम भनेर राजनीति बचाउँछन् कहिले राम भनेर शक्ति आर्जन गर्छन । कहिले सिंगापुर बनाउन भन्छन कहिले स्विजरल्याण्ड बनाउँला भनेर पनि तिनको जीवन चल्छ । कहिले पार्टी एकता गरेर राजनीति टिकाउँछन् कहिले विभाजन गरेर शक्ति आर्जन गर्छन । केही नभए देशी विदेशी प्रतिक्रियावादीले यसो गरे उसो गरे भन्दा पनि हुन्छ । तर पत्रकारका रुपमा तपाईको व्यक्तित्व निर्माण गर्न भने मेहनत चाहिन्छ । भ्रम छरेर हुँदैन । म चौतारीमा आवद्ध पत्रकारका पत्रिका के निस्कन्छन् भन्नेमा कम जानकारी राख्छु । गणेस जिको अनलाईन पोर्टल छ भन्ने थाहा छ तर नाम विर्सें । अरु अरु नेताका पनि होलान । मुश्किल के छ भने तपाई पहिले पत्रकार भएर नेता भएको हो या नेता पत्रकार हो भन्ने द्धिविधामा म जहिले पनि पर्छु । 


यो लेखिरहँदा बाहिर फेवातालको पानी र त्यस माथिको आकास दुवै घुर्मैैलो घुर्मैलो देखिएको छ । अगाडी चौरमा काग र मान्छे आफ्ना आफना धुनमा यता उता गरिरहेका छन् । चाँपका केही अग्ला रुख विना उत्साह उभिइरहेका छन् । पर आरुवखडामा नयाँ पालुवा पलाएर वसन्तको स्वागत गरिरहेको छ । माथी आकासमा केही मानिसहरु चिलले कावा खाएझैं प्याराग्लाइडिङको आनन्द लिइरहेका छन् । र म हाम्रो विगत सम्झिरहेको छु । हामीले विगारेको संस्कृति र हामीलाई विगार्दै लगेको संस्कृतिका कुरा मनमा खेलिरहेका छन् । 

अस्ती मात्र एकजना स्थानीय युवासंग अर्को एउटा साथिले कृष्णराज वर्माका बारेमा थाहा छ कि भनेर सोधेका थिए । थाहा पाउनु पर्ने हैसीयत बनाइसकेका जनसंगठनको केन्द्रीय नेतृत्वमा पुगेका ती युवाले नाम त सुनेको हो उनका बारेमा भन्न चाँही सक्दिन भन्ने जावाफ दिएका थिए । (कृष्णराज वर्मा नेपालका पुराना कम्युनिष्ट नेता हुनुहुन्थ्यो । वहाँको निधनसंगै एउटा समय र विचारले पनि विसौनी भेटेको छ । वहाँप्रति म हार्दिक श्रद्धान्जली दिन्छु ।)

उक्त सवाल जवाफले हाम्रो आन्दोलनमा हुर्कदै गरेको नेतृत्वका सिमाहरु बताउँछ । कुनै पनि घटनाको ऐतिहासिकता हुन्छ । आजको एमाले बनेको अहिलेको पुस्ताको सक्रियताले मात्र होइन । यसको पनि ऐतिहासिकता छ । कुनै दिन यो इतिहासको कडि टुट्यो भने एमाले पनि रहँदैन । त्यसैले पनि चौतारीका साथिहरुलाई आत्मचिन्तन र अध्ययन तिर लाग्न म आग्रह गर्छु ।

एउटा कुरा, चौतारीमा सक्रिय पत्रकारहरुको पत्रकारिता कमजोर रहेको पक्का हो । पत्रकारितामा फेक या काल्पनीक समाचार र सुचनाको खेती गरेर शक्ति आर्जन हुन्न । अस्थायी रुपमा तपाईले सहयोग गरेको पार्टीलाई सहयोग होला दिर्घकालिन हुँदैन ।  मुल कुरा तथ्यमा आधारित सामाचार विचार लेख्छ कि लेख्दैन, विरोधीको आलोचनाका लागि पनि र आफ्नो पक्षको समर्थनका लागि पनि षडयन्त्रका सिद्धान्तको पछि लाग्छ कि तथ्य, ऐतिहासिकता, विचारको पक्षधरताका आधारमा आफ्ना करा राख्छ भन्ने हेरिन्छ । चौतारीका पत्रकारले जति सत्य र तथ्यका आधारमा आफ्नो अलग पहिचान बनाउँछन्, जति उनीहरु समाजमा सुनिने र पढिने बन्छन्, विरोधीहरुलाई जति तर्कले जित्न खोज्छन् त्यती तपाई संलग्न दलको प्रचार बलियो हुन्छ । तपाई एमाले हो र एमालेको पक्षमा जनमत बनाउन चाहनुहुन्छ भने एमालेको जस्तो सुकै निर्णयको पनि बचाउ गरिरहन पर्दैन । आलोचना गर्न डराउन पनि पर्दैन । आलोचना र विरोध भनेका फरक कुरा हुन भन्ने कुरा पार्टीले पनि बुझ्नुपर्छ पत्रकारले पनि । तपाईहरुको अलग पहिचान सहितको सामाजिक व्यक्तित्व बन्यो भने र त्यस्तो व्यक्तित्व सहित चौतारीमा लाग्नु भयो भने मात्रै चौतारीको प्रतिष्ठा बढ्छ । हल्ला गरेर, चर्को बोलेर, धेरै जना जम्मा गरेर मात्र संगठन बलियो बन्दैन । एउटा चुनाव जित्दैमा जीवन सकिदैन । लगातार मानिसहरुको विचार निर्माणमा काम गर्ने सामाजिक इञ्जिनीयरिंगको कार्य पनि हो लेखन या पत्रकारिता । सुचना उही भएपनि, तथ्य उही भएपनि त्यसका अर्थहरु फरक हुन्छन् राजनीतिमा । त्यहि फरक केलाउने हो र आफ्नो पक्षमा तर्क निर्माण गर्ने हो । 

काँग्रेस, एमाले, माओवादी, समाजवादी कसैको आलोचना गर्नका लागि गलत या फेक कुरा नै चाहिँदैन । ती पार्टीहरुको जीवन र इतिहासमा वग्रेल्ती कमजोरीहरु छन् त्यसैलाई समाते पुग्छ । एमालेको समर्थन गर्न या त्यसको पक्षमा जनमत निर्माण गर्नका लागि पनि कुनै काल्पनीक कुराको हल्ला गर्नुपर्दैन । यसले गरेका राम्रा काम मात्र खोजेर व्यवस्थित प्रचार गर्दा पनि पुग्छ । मलाई चैं चौतारीको पहिलो काम नै आफु आवद्ध सदस्यहरुलाई देशको राजनीति, इतिहास, यसको भू–राजनीतिक चुनौती, अर्थराजनीतिक अवस्था, ऐतिहासिक भौतिकवाद पढाउनु हो भन्ने लाग्छ । 

आजकल एमालेका पत्रकारको रिपोर्ट र काँग्रेसका पत्रकारको रिपोर्टमा कुनै भिन्नता देखिन्न । काँग्रेसलाई समाज बदल्नु छैन भनेर मान्ने हो भने एमालेवाला पत्रकारले पनि काँग्रेसकै जस्तो विचार पस्कंदा उसलाई लाई फाइदा पुग्छ । जबज या माक्र्सवादलाई स्विकार गर्नेहरुको कुनै घटना या सन्दर्भमा आउने रिपोर्ट या टिप्पणी र उदारवादलाई आधार मान्नेको रिपोर्ट या विचार उस्तै आउँदा उदारवादी पक्षलाई सहयोग पुग्छ । किन भने हाम्रो समाज र अर्थव्यबस्था विस्व अर्थतन्त्रकै एउटा हिस्सा हो, विस्व समाजकै एउटा हिस्सा हो । अहिलेको विश्व व्यबस्था उदारवादका नाममा, लोकतन्त्रका नाममा अमेरिकी दृष्टिकोण थोपरिएको व्यबस्था हो । विश्वभर हुने लडाई, विश्वभरका देशहरुमा लागु गरिने नवउदारवादी आर्थिक कार्यक्रम, त्यस्तो कार्यक्रमका कारण बढ्दै गएको धनि र गरिव विचको खाडल, वृत्तमा पर्ने देशहरुको दुर्दशा सबैमा यही विश्व व्यवस्था जिम्मेवार छ । या तपाई यस्तो विश्व व्यबस्थाको पक्षमा लाग्न सक्नुहुन्छ या विरुद्धमा । मलाई माक्र्सवादले पनि र जबजले पनि यस्तो विश्व व्यबस्था ठिक होइन बदल्नु पर्छ भनेको छ भन्नेमा विश्वास छ । तपाईहरु आफुलाइ जबजवादी भन्नुहुन्छ, माक्र्सवादी भन्नुहुन्छ भने त वर्तमान विश्व व्यवस्थाको विरोधमा उभिनु पर्ने हुन्छ । भारतमा संसदीय लोकतन्त्र छ, तर त्यो क्रमशः फासिवादतिर जाँदै गरेको छ । अमेरिका अहिले भारतीय लोकतन्त्रको लक्षिणपन्थीकरणलाई भरथेग गर्ने सबैभन्दा ठुलो शक्ति हो । तपाईले संसदीय लोकतन्त्र र भारतमा पन्पदो फासिवादका विच फरक छुट्याउनु भएन भने प्रकारान्तरले नेपालमा पनि दक्षिणपन्थी राजनीतिलाई प्रोत्साहित गर्ने पंक्तिमा पर्नुहुनेछ । अर्थात तपाई माक्र्सवादी पनि भन्ने र भारतीय सत्तारुढ दलको दक्षिणपन्थी बाटोलाई पनि ठिक मान्ने एकैपटक हुनसक्नु हुन्न ।

काँग्रेसहरु वर्तमान विश्व प्रणालीलाई जोगाउन चाहन्छन् । यसबारेमा म तपाईहरुलाई गत मंसिरमा सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनका समयमा महामन्त्रीका उमेद्वार गगन थापाजिले पेश गर्नुभएको राजनीतिक प्रस्ताव हेर्न अनुरोध गर्छु । त्यो प्रस्ताव नेपाली काँग्रेसले विपिको समय पछि अघि सारेको सबैभन्दा प्रष्ट बैचारिक अवधारणा हो । र त्यो सबैखाले समाजवादी बाटोको विपक्षमा उभिएको उदारवादी विचार हो ।  तपाईले यदि आफुलाई उदारवादी हैन भनिरहनु भएको हो, आफुलाई जबजबादी भन्नु भएको हो भने उक्त विचार बोक्नेसंग समान धारणा बनाएर पत्रकारिता गर्न सक्नु हुन्न । मैले चुनावमा गरिने होहल्लाको कुरा गरेको होइन, वैचारिक संघर्षको कुरा गरेको हो । हैन भने विश्व वैंक या अन्तराष्ट्रिय श्रम सम्बन्धका विषयमा कलम चलाउँदा, नेपालका किसान र श्रमिकका बारेमा समाचार बनाउँदा प्रेस युनीयनवाला पत्रकार र चौतारीका सदस्यहरुको एउटै अर्थ बोकेको रिपोर्ट आउँछ भने त्यसमा गडबड हुन्छ नै । 

यति चैं पत्रकारले बुझे भने चौतारिको एउटा पहिचान बन्न सक्छ । चौतारिका पत्रकारलाई एमाले या उसको समर्थकले मात्र पत्रकार मानेर हुन्न । समाजले चौतारीका पत्रकारका कुरा सुन्न थाल्यो भने, उनीहरुको व्यक्तित्वबाट प्रभावित भयो भने, पार्टी वृत्त बाहिरबाट चौतारीका पत्रकारलाई विश्वासका आँखाले हेर्न थालियो भने चौतारीको सदस्य संख्या घटेर पनि केही हुन्न । 

लौ त साथिहरु, अर्ति धेरै भयो । यो सम्मानका लागि प्रेस चौतारीप्रति आभार प्रकट गर्छु । सम्मान प्रदान गर्नुभएकोमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आदरणीय केपी ओलीजिलाई धन्यवाद ।  साथी अग्नी शिखाप्रति हार्दिक श्रद्धान्जली ।

फागुन २७, २०७८


Sunday, April 3, 2022

अलविदा लिलाधर दाई



यो वर्ष हाम्रो गाउँले आफ्ना महत्वपूर्ण अभिभावकहरु गुमायो । यस वर्षको आरम्भमा हाम्रो परिवारका अभिभावक खिमलाल सुवेदी दाई वित्नु भयो । पोखराको नारायणस्थानमा आएर संस्कृत अध्ययन आरम्भ गरेपनि पारिवारिक कारणले पढाइ पुरा गर्न नपाउनु भएका खिमलाल दाई शिक्षाप्रेमी हुनुुहुन्थ्यो । आरम्भिक वर्षमा शिक्षकका रुपमा सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका खिमलाल दाईले पछिल्ले उमेर लेखापढी पेशामा रहेर विताउनु भएको थियो । रोगले च्याप्दै लगेर गाउँ आउन जान नसक्ने अवस्था नआउञ्जेल गाउँको अगुवाइ गर्नुभयो । विशेषगरी जनकल्याण मावी मकैखोलाको स्थापना र प्रगतिमा वहाँको योगदान सम्मानयोग्य छ । संस्कृत काव्य र पूर्विया दर्शनका मामिलामा गाउँमा कसैलाई ज्ञान थियो भने त्यो खिमलाल दाइलाई मात्र थियो । सबैको भलो चाहने, आफ्नो संस्कृती र कुल मर्यादाको निरन्तरता चाहने खिमलाल दाई लामो समय देखि विभिन्न रोगहरुसंग जुध्दै आउनु भएको थियो । ८४ पुजा गरेको ६ महिनामै वित्नु भयो । कोरोनाका कारण पुजामा पनि र मृत्यु संस्कारमा पनि आउन सकिएन, सँधै थकथक लागिरहनेछ । मैले कुल परम्परा विपरित क्षेत्री परिवारमा वैवाहिक सम्बन्ध राखेकोमा सुरुमा असन्तुष्ट भएपनि वहाँले परिवारका विच सहज र हार्दिकतापूर्ण सम्बन्ध रहोस भनेर संधै सकारात्मक भूमिका खेल्नुभएको थियो । 

जनकल्याण मावीमा २० वर्षसम्म प्रअका रुपमा काम गरेर हामीलाई शिक्षाको उज्यालोतिर डोर्याउन र मकैखोलाको मावीलाई त्यसवरपरको केन्द्रका रुपमा विकास गर्न स्थानीय समाजसेवीहरुसंग काँध मिलाएर हिँडने हेडमाष्टरका रुपमा परिचित राखीका रामचन्द्र ढुंगाना अर्का अभिभावक हुनुहुन्थ्यो ।संयोगले नै भनौं भाई उपेन्द्रको योजनामा मृत्युभन्दा २ साता अघि मात्र घरमा पुगेर भेटेको थिएँ । हामीलाई भेटेर वहाँको अनुहारमा एउटा चमक आएको थियो । खुशी हुनुभयो र पहिलेका कुराहरु गर्नुभयो । शिथिल र थकित देखिनुहुन्थ्यो, सर पनि गत महिना वित्नु भयो । टाढैबाट हाम्रो उन्नती र प्रगतिको कामना गरिरहेका यी अभिभावकहरुको अभाव हामीलाई खट्कीरहने छ ।

यही चैत महिनाको १३ गते हाम्रा अर्का अभिभावक लिलाधर सुवेदी संधैका लागि विदा हुनुभयो । ८५ वर्षका लिलाधर सुवेदी केही महिना देखि विस्तारै कमजोर बन्दै जानु भएको थियो । पछिल्लो समय दुइपटक भेट्न जाँदा वहाँ यति छिटै वित्नुहोलाजस्तो चैं लागेको थिएन । म वहाँसंग गाउँका कतिपय परम्परा, नाता सम्बन्ध, पुर्खाहरुका सम्बन्धमा केही नोट गर्ने सोच्दै थिएँ । आफैले समय व्यवस्थापन नगर्दा पछुताउनु बाहेक मसंग केही रहेन ।

१९९४ मा जन्मेका लिलाधर दाइका बा त्रिलोचन वहाँ १६ वर्ष पुग्दा नपुग्दै वित्नु भएको थियो । त्यसपछि आफ्ना दुइवटा बहिनि र पिताको मृत्युपछि जन्मेका एकजना भाइसहितको अभिभावक भएर किसानका रुपमा जीवन अघि बढाउनु भएको थियो । केही नेपाली साहित्य शिखरनाथ भाष्य, संस्कृतको देविभागवत, लेखनाथ पौडेल (वहाँका आमापट्टिका ठुलाबा, मेरा हजुरबा) का केही साहित्यीक रचनाको पनि अध्ययन गर्नुभएको थियो । एकपटक पढेका कुरा सम्झने र कण्ठस्थ भन्न सक्ने खुबी थियो । थरगोत्र प्रवरावली कण्ठस्थ थियो । आफ्नो बारेमा बनाएको श्लोक सुनाउनुुुहुन्थ्यो ः मेरो नाउँ त खास रुद्रमणी हो भन्छन लिलाधर सबै । विहेमा दुलाहा पट्टी या दुलही पट्टीबाट श्लोकमा सम्वाद गर्न अघि सर्नु हुन्थ्यो । मैले दुइपटक त्यस्तो श्लोक सम्बाद सुन्ने अवसर पाएको थिएँ । 

वहाँको विहे मेरी आमाका आफ्नै माइलाबाकी छोरी बहिनि अर्थात हाम्री सानिमासंग भएको थियो । हामीले जान्ने भएपछि हाम्रो परेली गोकर्ण स्यानाबा देवघाट झरेपछि लिलाधर दाइसंग मात्रै भयो । लामो समय परेली र आउजाउ हुँदा हामीलाई सबैभन्दा निकटका दाजुजस्तो लाग्थ्यो । पछि मात्र थाह भयो हामी चारपुस्ते रहेछौं हाम्रा हजुरबाका बाउहरु दाजुभाइ रहेछन् । कृषिकर्ममा लिप्त हुनुहुन्थ्यो । भैंसी मोटाघाटा हुन्थे । दुहुनु संधै भइरहन्थ्यो । भैंसी र खेतीपातीका कारण घुम्न फिर्न नपाएको गुनासो संधै हुन्थ्यो । अरुको भन्दा छिटो खेती लागाउन, गोडमेल गर्न, खनजोत गर्न संधै हतार गर्नुहुन्थ्यो । मौका पाउँदा यता उता घुम्न निस्किहाल्ने बानी थियो । परिवारका प्रतिको जीम्मेवारी जहिले पनि अरु काम भन्दा प्राथमिकतामा राख्नुहुन्थ्यो ।

देश दुनियाको खैखबर राख्ने, रेडियोमा सुनेका समाचार बुझ्ने र त्यसबारे धारणा बनाउने, अरुलाई सुनाउँदै हिँड्ने । कुनै कुरामा विश्वास गरेपछि एकोहोरो लाग्ने बानी थियो । मैले मेरो उपन्यास आधा जुन मा रहेको लाउरे पात्रको मुख्य चरित्र लिलाधार दाईबाटै लिएको हो । वहाँलाई राम्ररी चिन्ने र उपन्यास पढ्नेले लाउरे पात्रमा लिलाधार दाईको छाप पाउँछ । 

वहाँका चार भाई छोरा र एउटी छोरी जन्मेका थिए । भाई आनन्द र बहिनी चन्द्रकला मात्र अहिले बाँकी छन् । देवी भाइलाई ७ वर्षको भएपछि २०३३ सालमा स्कुलबाट फर्कदा साथिहरुसंग पौडि खेल्न पसेको बेला बुम्ले खोलाले बगायो । खुब राम्रो र चञ्चले थियो । त्यसपछि जन्मेका दुइ भाइ पनि सानो उमेरमा विते । परिवारमा निरन्तर शोक र सन्तापको स्थिती बनिरहे ।

२०४२ मा आनन्द आइए पढ्न पृथ्वी नारायण क्याम्पसमा भर्ना भए । छिटै स्ववियु सदस्य बनाइए र पक्राउ खाइहाले । २ वर्ष जति कलिलै उमेरमा जेल बसे । तिनभाई छोरा गुमाएर रहेको एउटा छोरो कलिलैमा जेल परेपछि राजनीतिक रुपमा कम सचेत परिवारका अभिभावकलाई पर्ने पिर र चिन्ताको के हिसाब हुनु ? त्यसमाथि जोरीपारीका बचन अनेक हुने नै भए । तैपनि वहाँहरुले त्यसलाई सहन गर्नुभयो ।

२०४३ को आखिरिमा भएको गाउँ पञ्चायको चुनावमा मैले नै प्रेरित गरेर लिलाधर दाइलाई नेकपा मालेको योजनामा जनपक्षीय उमेद्वारका रुपमा उपप्रधानपञ्चमा खडा हुन मनाएँ । स्थानीय निर्वाचनका दाउपेचमा म पोख्त भइसकेकै थिइन । थोरै मतले वहाँ पराजित हुनुभयो । त्यसपछि वहाँ सँधै नेकपा माले र एमालेको पक्षमा मतदाता र शुभचिन्तकका रुपमा सक्रिय रहनु भयो । एमालेले वहाँलाई पार्टी सदस्यता दिएको रहेनछ अहिलेसम्म । मलाई मेरै आमाको बारेमा पनि एउटा अलिनो महशुस हुन्छ कि वहाँले पार्टीका नेता कार्यकर्तालाई शेल्टर दिएर, खाना दिएर, भाँडा माझैर, सम्मान र माया दिएर सहयोग गर्दा, पार्टीका पक्षमा, आन्दोलनका पक्षमा श्लोक सुनाएर प्रचार गर्दा पनि कम्युनिष्ट पार्टीको सदस्यता दिइएको रहेनछ । 

०५४ सालको गविस निर्वाचनमा भाइ आनन्द (यहाँ लिलाधरलाई दाई भन्ने मेरो बा तिरको पुस्ताको नाता, आनन्दलाई भाइ भन्ने चैं आमाहरुतिरको नाताले) गाविस अध्यक्षमा अत्यधिक मत ल्याएर विजयी भए । सम्भवतः लिलाधर दाई र भगवती सानिमाको जीवनमा सबैभन्दा खुशीको दिन त्यही थियो । त्यस अघी र पछि पनि त्यस्तो दिन सायदै वहाँहरुको जीवनमा आयो ।

बृद्धावस्थामा भने गाउँ र आफुले बनाएको थात थलो छाडेर छोराबुहारीसंगै बस्न खुदीतिर बसाई आउनु भयो । यहीँ रोगहरुसंग जुध्दै वहाँको जीवनलिला समाप्त भयो । वहाँको निधनले मलाई एउटा अभिभावक गुमाएको महशुस भएको छ । वितिसकेका यीनै खिमलाल दाई, पद्मध्वज दाई, लिलाधर दाई, लेखनाथ पौडेल (भलाम) रामचन्द्र ढुंगाना मेरो चेतनाका आरम्भिक दिनका झिल्काहरु हुन । वहाँहरुबाट मैले जीवनका पाइला चाल्न केही सिकेको छु, प्रेरित भएको छु । पद्मध्वज दाइलाई मैले उपन्यास आधा जुन मा रोहित काकाका रुपमा धेरैहदसम्म चित्रित गरेको छु । अब रोहित काका पछि अहिले लाउरे (लिलाधर) पनि विते । मलाई वहाँहरुको मृत्युसंगै आफ्नो पनि अलिकति मृत्यु भएको जस्तो लागेको छ ।

लिलाधर दाईलाई हार्दिक श्रद्धाञ्जली ! 

भगवती सानिमा, आनन्द, मिना, चन्द्रकला, राधिका दिदि र पितृ दाइसहित परिवारका सम्पूर्ण सदस्यमा हार्दीक समवेदना !


Friday, January 28, 2022

पूर्वी पहाडबाट एउटा कोसेली

 


आफ्नो समय नै सबैका लागि सबैभन्दा बलशाली मार्गदर्शक हो । आफ्नै समयसँग अन्तक्र्रिया गर्दै हुर्किनु, पौँठेजोरी खेल्दै आजीविका र करियरको बाटो समात्नु, आन्दोलन, बहस, क्रान्ति र प्रतिक्रान्तिमा सहभागी हुनु, रंगरस, माया पिरती, परिवारको सांसारिक मायाजालमा मगनमस्त बन्नु या रागी–बैरागी कर्म गर्नु समाज र समयसँगै मान्छेले गर्ने अन्तक्र्रियाका परिणाम हुन् । माक्र्सेली अवधारणाले मान्छेको विचार जे–जस्तो बन्छ, त्यो उसको चेतनाभन्दा बढी भौतिक परिस्थितिको उपज, उत्पादन प्रक्रियामा सहभागिताको उपज, समाजसँगको अन्तक्र्रियाको परिणामलाई मान्छ । अर्थात् समय भन्नु नै आफ्नो वरपरको भौतिक सामाजिक परिस्थितिको समग्र नाम हो ।


 समकालीन नेपाल अनेकवली परिवर्तनका सुनामी व्यहोर्दै अघि बढेको छ । आर्थिक क्षेत्रमा खासगरी जमिनी तहमा आइरहेका परिवर्तनले परिवार, समाज र व्यक्तिको संगठन भत्काइरहेको छ । के गरौँ कसो गरौँ बनाइदिएको छ । यसबीचमा भएका राजनीतिक आन्दोलन र विद्रोह या क्रान्ति तथा अर्थतन्त्रमा आइरहेका परिवर्तनले सन्तानलाई बाबुबाजेको या आमा–हजुरआमाको जस्तो जीवनको निरन्तरता दिन असम्भव बनाइदिएको छ । एकथरीलाई उत्साह र अवसर छ, समात्न थाप्न जानेकाहरू छन् । अर्काथरीलाई निराशा छ, असन्तोष र विद्रोहको खोजी छ । यी सबै कुरा व्यक्तिको स्वतन्त्र छनोटका मात्र विषय होइनन् ।


सम्पन्नताले जन्मिँदै साथ दिएका या शक्तिको खेल खेल्न जान्नेहरूका लागि जहिले पनि समय अनुकूल छ । जीवनका केही उतारचढावबाहेक दैनिक कार्यव्यापारमा उनीहरूलाई अभावको पीडा, विभेदको पीडा र भविष्यको पीडाबोधले सताउँदैन । तर, जो अभावमै जीवन आरम्भ गर्छ, अभावसँगै जुध्दै अघि बढ्न खोज्छ र विभेदलाई आत्मानुभूत गरेर दुवैबाट स्वतन्त्रता खोज्न तम्सिन्छ, त्यसका लागि विद्रोह अनिवार्य बन्छ । अवश्य पनि बीचमा एउटा खैरो घेराको पंक्ति हुन्छ, जसलाई विद्रोह अनिवार्य बन्दैन, विभेद थेग्न सकिने तहमा मात्र बुझ्दा पनि फरक पर्दैन । समाज यी तीनैथरीको संघर्ष र एकताले बनेको छ । कहिले संघर्ष प्रधान बन्छ, कहिले एकता । 


यस्तो समाजको आममान्छेका सपना र सम्भावनाको सिमाना यही संघर्ष र एकताको जन्जालले तोकिदिएको हुन्छ । नेपाली साहित्यमा पछिल्लो समय यी अवस्थाले सिर्जना गरेका मनोसामाजिक प्रभावहरू मज्जाले प्रतिबिम्बित भएका छन् ।समकालीन नेपाल, पछिल्लो चौथाइ शताब्दीको सेरोफेरोको नेपाल हो । माओवादी विद्रोह, दरबार हत्याकाण्ड, संकटकाल, ज्ञानेन्द्रको अधिनायकवादी शासन, जनआन्दोलन, पहिचानको आन्दोलन, गणतन्त्र र संविधान । यसैका वरपर नेपालले अनेक भित्री–बाहिरी खेलहरू व्यहोरेको थियो । आन्तरिक रूपमा माओवादी र राज्यसत्ता, सात दल र दरबार, सात दल–माओवादी गठबन्धन र दरबार, मधेस या सीमान्त क्षेत्रहरू र काठमाडाँै तथा परम्परागत सत्तासीन सम्भ्रान्तहरू र व्यापक रूपमा अभाव र गरिबीमा परेको आमनागरिक जस्ता प्रतिध्रुवहरूबीच विभिन्न कोणका संघर्ष थिए । त्यसभित्र कतिपय ठाउँमा स्थानीय जनता र माओवादीबीच संघर्ष, जनताकै भिन्न–भिन्न हिस्साबीच संघर्ष (पहाड र मधेस, थारू र पहाडी, कतिपय समयमा जनजाति र खसआर्य, हिन्दूवादी र धर्मनिरपेक्षतावादी) जस्ता आमसंघर्षका साइडइफेक्ट देखिएका थिए । 


वसन्त बस्नेतले ‘महाभारा’मा यी सबै पक्षलाई उधिनेका छन् । आफ्नो राय दिन पनि पाठकलाई स्वतन्त्र छाडेका छन् । सेक्मुरी चाहेर लारुम्बा पसिन । डुक्पा जन्मकै कारणले पढाइ अघि बढाउन नसक्ने भएको होइन । कटकहरूले विद्रोहको बाटो यत्तिकै समातेका होइनन् । मेरिनाले बन्दुक रहरले समातेकी होइन । तान्छोहाङ बाबुको कारणले यो झञ्झावातमा मिसिन पुगेको छ । डुक्पा, मेरिना, सेक्मुरी र तान्छोहाङ सबै सामान्य जीवनमा फर्किन चाहन्छन् । सबै कतै न कतै आफ्नो वरपरको परिवेशले बेरिएका छन् ।


‘महाभारा’ पूर्वी पहाडमा लमतन्न परेको केही सीमा कोरेको, मान्छेको जीवनलाई या समाज अथवा गाउँलाई वल्लो–पल्लो भेकमा बाँडेर पसारिएको एउटा डाँडो हो प्रकृतिका दृष्टिले । सँगै यो उपन्यासका सन्दर्भमा एउटा पहाडे जीवनको बिम्ब पनि हो आफूभित्र अटाइ–नअटाइ गुराँस, चाँप, उत्तिस, कटुसका बोटसँगै सेक्मरी र मिक्चिरी फूलका घारी पालेर बसेको । अर्थात्, जीवन र मृत्यु, सुख र दुःख, गरिबी र सम्पन्नता, सन्तोक र सन्ताप, उकाली र ओरालीजस्ता जीवनका सनातन मूल्य या सीमाभित्र मान्छेलाई कैद गरिबस्ने परिस्थितिको बिम्ब । यो उपन्यास मुख्यतः इलाम र पाँचथरका साँधवरपर छरिएर बसेका लिम्बूहरूको समाज, संस्कृति र तिनका स्थाननाम विशेषबाट पहिचानसमेत बोकेका र त्यसमा मिसिन आइपुगेको गैरलिम्बूहरूले पनि अपनाएको लिम्बूपाराको कथा हो । मुख्यपात्र डुक्पा बौद्धधर्म परम्परा भएको परिवारको सदस्य हो । कटक र साक्सोहाङ लिम्बू किराँतहरू हुन्, माओवादी विद्रोहमा लागेका । लारुम्बा धार्मिक राजनीतिको एउटा विद्रूप बिम्ब हो ।


उपन्यासमा हिरो भन्नलायक कटक साङपाङ छ, जो पहिले एमाले र माले हुँदै देखिएका सपना पूरा गर्न माओवादी भएर युद्धमा सामेल छ । मलाई भने कटकचाहिँ रत्नकुमार वान्तवाकै उत्तराधिकारीजस्तो लाग्यो । वान्तवा नेपालमा पहिलोपटक मैले सुनेका कम्युनिस्ट क्रान्तिकारी सहिद थिए, मैले उनलाई उनको मृत्युपछि तत्कालीन नेकपा मालेको मुखपत्र ‘वर्ग संघर्ष’को पहिलो अंकमा देखेको थिएँ । उनका विचार र खासगरी छापामार युद्धको तयारी गरिरहेको उनको लडाकु भावनाबाट प्रभावित भएको थिएँ । वसन्त पनि उनकै गाउँ छेउछाउका त हुन् ।


उपन्यासकी नायिका लेखकले सेक्मुरी फूलसँग नाम साटिदिएकी सुक्मती छे लिम्बू परिवारकी । डुक्पा डान्स र पालम हेर्दै गाउँदै स्कुले उमेरमा प्रेममा परेकी छे । उपन्यासमा नायक बनाइएको डुक्पावरपर चक्कर काटिरहन्छ । लेखकका बाल्यकालका चञ्चल दिनहरू, किशोर वयमा यसै आँखामा आइबस्ने मायालु कल्पनाहरू र पहाडको जीवनका अनेक बाध्यताहरूसँग मिसिएर लेखकले देखेको महाभाराका कठिनता यसमा उनिएका छन्, डुक्पामा समाहित भएर । लिम्बू समाजको लाहुरसँगको सम्बन्ध झल्काउने पात्रहरू छन् सहयोगीका रूपमा ।


एउटा प्रतिध्रुवमा मिङ्सो छ, जो पञ्चायती राजनीतिदेखि आफ्नो राजनीतिक महत्वाकांक्षा समन गर्न लिम्बू पहिचानको पक्षधर बन्दै जान्छ र अहिले लारुम्बाका धर्मगुरु र उनको संगठनलाई उपयोग गरिरहेको छ । माओवादी सशस्त्र संघर्ष र राज्यका बीच टक्कर बढ्दै जाँदा बीचमा जम्काभेट हुन्छ, लारुम्बाको धार्मिक पन्थ र माओवादीहरूका बीच । दुवैतिर प्रमुख भूमिकामा छन् लिम्बूहरू नै । किराँतहरू नै बाँडिएका छन्, जोसमनी सन्त परम्परा, क्रिस्चियानिटी र माओवादका अनुपालकका रूपमा । 


उपन्यासमा एकैपटक धेरै द्वन्द्व देखाइएका छन् । लारुम्बाको फल्गुनन्द मठसहितको धार्मिक समूह र माओवादीबीच प्रभावका लागि संघर्ष, राज्य र माओवादीबीच सत्ताका लागि युद्ध, विनामेसै र पूर्ण आस्था र विश्वासविना नै माओवादीमा लागेर दाजु, छिमेकी, स्कुले साथी र प्रेमिकाबाट टाढिन पुगेको डुक्पाले आफैँसँग गरिरहेको द्वन्द्व । यद्यपि सबै द्वन्द्वको निकास नदिईकनै उपन्यास सकिएको छ । 


यसमा केवल सन्देश छ कि यस्ता द्वन्द्वले महाभारा वरपरको शान्त समाज, स्वच्छन्द प्रेम र पालममा रमाइरहेका युवा–युवतीको जीवन तथा विद्यालयको शिक्षा, रनवनमा चहारी हिँड्ने गोठाला खेतालाको जीवन सबैलाई नराम्ररी भत्काइदिएको छ । यसको अन्त्य जरुरी छ । प्रेमी बेपत्ता भएको र घरमा माओवादीले लुटपाट गरेपछि बिरक्तिएर लारुम्बामा गएर भिक्षुणीको जस्तो जीवन बिताइरहेकी सुक्मती, प्रेमीका र पढाइ दुवै छाडेर ट्रक ड्राइभर बन्ने सपना लिएर एक्कासि मधेस झरी हराएको र पछि माओवादीको पछि लाग्दा परिबन्दले युद्धको दावानल व्यहोर्दै पार्टी छाडेर भागेको डुक्पालाई महाभाराको प्राकृतिक काखमा ल्याएर मिलन गराएपछि उपन्यास सकिएको छ ।


पछिल्लोपटक पढिएकोमध्ये मनपरेको र राम्रो उपन्यास हो ‘महाभारा’ । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ले किरात क्षेत्रको, श्याम शाहको ‘अब्बा’ र ‘पथेर’ले मध्य तराईको र नवीन विभासको ‘रोल्पा सुइना’ले अठार मगरातको माटोको सुगन्ध देशभर छरेझैँ वसन्तको ‘महाभारा’ले इलाम पान्थरको माटोको सुगन्ध बोकेको छ । ठेट लिम्बुवानी भाषा, संस्कार र संस्कृतिलाई मज्जाले समातेको छ । पढ्नेलाई एकपटक त्यताको पहाडमा घुमिरहेजस्तो लाग्छ, फेरि एकपटक जाऊँ–जाऊँ लाग्छ । केही संवाद र हँसीमजाकसहित उपन्यासले अन्तसम्म पाठकलाई तानिरहन्छ ।


उपन्यासले साठीको दशकको वरपर नेपालमा भएको राजनीतिक संघर्षको अर्थवत्तालाई स्विकार्न सकेको छैन । अर्थात त्यस्तो संघर्षले शान्त र प्रेमिल पहाडी समाजलाई पिडामात्र दियो भन्ने सन्देश दिन्छ । जवकी स्वयं वसन्त नेपालमा भएका आन्दोलनमा उत्पिडित जाती, भाषा, संस्कृतिका पक्षमा देखिन्छन् । तर उनले उपन्यास जता लगेर विसाएका छन् त्यहाँ भने उनी एकोहोरो शान्ती खोज्ने मध्यमवर्गिय वर्ग निरपेक्ष चिन्तनको शिकार भएका छन् । डुक्पामा जे जस्तो प्रकारको दोधार देखिन्छ त्यसमार्फत यी द्धन्दहरू हेर्दा आउने निष्कर्ष पनि यस्तै हुने हो । यसैगरी उनको उपन्यासले महिलाहरूले, दलितहरूले या पहिचान र अधिकार खोजेकाहरूले परम्परागत मुल्य र व्यबस्थासंग सम्झौता गरेर समाज व्यबस्थाको निरन्तरता ठिक मान्नु पर्छ भन्न खोजेको जस्तो लाग्छ । मेरो विचारमा उपन्यासको मुख्य कमजोरी पनि यहि हो । यो कमजोरीका वावजुद उपन्यासले नेपाली समकालिन साहित्यमा आफ्नो अलग पहिचान या छाप छाड्ने पक्का छ ।


वसन्त वस्नेत समकालिन नेपालका जल्दावल्दा सक्रिय पत्रकार हुन् । साहित्य डवलीदेखि राजनीतिक आन्दोलनहरूसम्म कहिँ वहसमा कहिँ रिपोर्टिङमा सामेल भएर उनले गरिरहेका कार्यहरू आफैमा समय सम्वादका उर्जा बनेका छन् । केही वर्ष अघि मात्र ननफिक्सनका रूपमा ‘७२ को विष्मय’ लिएर पाठक सामु उपस्थिती जनाएका वसन्त यसपटक उपन्यासकारका रूपमा डेव्यु गर्न आइपुगेका हुन् । यतिचैं ढुक्कले भन्न सकिन्छ, उनलाई पहिलो उपन्यासले नै एउटा सफल उपन्यासकार बनाइदिएको छ । ‘महाभारा’ ओक्के छ त वसन्त ! यसका लागि बधाई अरु लेखाइका लागि शुभकामना !

Thursday, January 6, 2022

कमरेडले ‘लिइसेको’ पछ्यौरी

 एक समय थियो, पोखरा जाँदा पृथ्वीनारायण क्याम्पसको गेटमा चिया पिउन पुगिएन भने केही छुटेझैँ लागिरहन्थ्यो । पहिले लतका रूपमा रहेको यो बानी अब बिस्तारै हट्न थाले पनि टुटिसकेको भने छैन । पहिले यस्तो चियासँग मिसिने क्यापम्पसका सर या साथीहरू अब बिस्तारै रिटायर्ड हुँदै छन् । पहिले भेट हुने गरेका चिनजानका विद्यार्थी नेता पनि अब रहेनन् । तैपनि किन हो, क्याम्पस गेट जान मन लाग्छ । गत साता पोखरामा भएको वेला यस्तै लोभले क्याम्पससम्म पुगियो । साथमा पहिलेका विद्यार्थी नेता कमल श्रेष्ठ थिए । अन्नपूर्ण म्युजियममा रहेका भाइ आनन्द सुवेदीलाई भेट्न भित्र पस्दा विज्ञान भवनमा रहेको मञ्चमा राता ब्यानर र अखिलको झन्डा देखिए । कार्यक्रम भर्खर सकिएजस्तो दृश्य थियो । यही दृश्यले आफ्ना पुराना दिन सम्झना आए । 

२ वैशाख, २०३६ मा विद्यार्थी आन्दोलन र हडतालको आह्वानका लागि हामी यहीँ जम्मा भएका थियौँ । विद्याविमल बराल, ध्रुव वाग्लेहरूले यही मञ्चबाट मागपत्र सुनाएका थिए । ०३६ असारमा यहीँ नाच्दै गाउँदै हामीले विद्यार्थी युनियनको निर्वाचन परिणाम सुनेका थियौँ । जित्नेहरू थिए– सोमनाथ अधिकारी प्यासी, अमरिस हमाल, हरि पथिक, रामप्रसाद शर्मा, वसन्ती लालचन, नारायणसिंह गुरुङ, शेखरनाथ अधिकारी, गंगा गुरुङ... अहिले पनि नाम सम्झनामा छन् । ०३९ माघ अन्तिम सातातिर स्ववियुले आयोजना गरेको स्वागत कार्यक्रममा अलिअलि काम्दै पहिलोपटक प्रत्युत्तर भाषण गरेको सम्झन्छु । कैयौँ आन्दोलनको उद््घोष गरेको यही मञ्च थियो । स्ववियु सभापति निर्वाचनका क्रममा प्रतिस्पर्धा गरेको यतै त हो । यतै त हो काले गोपालले २०४० को मे दिवसमा गणतन्त्रको नारा घन्काएको र हामीले राजतन्त्रविरुद्ध गगनभेदी नारा लगाउँदै क्याम्पस गेटमा प्रहरीसँग भिडन्त गरेको । आफ्नो तरुण वयका दिन केही सपना सजाउँदै क्रान्तिका लागि तयार पार्दै यतै त बिताइएको थियो । 

यतै हो, ०३६ सालमा मण्डलेले छात्रावासमा आक्रमण गरेको । ०३६ मा प्यासीले कुटाइ खाएको र ०४४ मा विद्यार्थी नेताहरू तुलबहादुर गुरुङ, रामनाथ ढकाल र विजय गुरुङ अपहरणमा परेको पनि यतै हो । ०४६ फागुन १ मा लक्ष्मी कार्की, शेरबहादुर गुरुङ र कृष्ण शर्मालगायत सयौँ साथीले यातना पाएको पनि त यतै हो । अनि, आफैँ गिरफ्तारीमा परेको पनि यतै छेउछाउबाटै हो । जब यो आँगनमा पुगिन्छ अनि ती रमाइला संघर्षका दिन सम्झनामा आउँछन् । त्यसैले यो आँगन अझै प्यारो लाग्छ । 

आनन्द भन्दै थिए– ‘कुनै समय मैले नै यस्तो कार्यक्रमको प्रमुख अतिथिको भूमिका निर्वाह गर्थेँ, अहिले पार्टीकै उपमहासचिव आउन थालेछन् ।’ उनको भनाइमा एउटा लक्षणा थियो राजनीतिप्रतिको । हामीले चिया पियौँ र हिँडिहाल्यौँ । कोही पुराना ‘चिया पार्टनर’हरू भेट भएनन् र नयाँ चिनारु पनि ।

साँझ सामाजिक सञ्जालमा सो कार्यक्रमको एउटा सानो भिडियो क्लिप चर्चामा देखियो । भिडियोमा अखिलको कार्यक्रमस्थलमा एउटा लोकगीत गाइँदै थियो र नाचमा सामेल थिए एमाले उपमहासचिव प्रदीप ज्ञवाली । गीत थियो ः हजुरलाई जाडो भा होला, मेरो पछ्यौरी लिस्यो ... । हजुरलाई जाडो भा होला, मेरो गलबन्दी लिस्यो ... । गीतको यो बोलले प्रेमी या प्रेमिकाको खोजीमा रहेका या प्रेममा परेका वयस्क स्त्री–पुरुषबीच लाक्षणिक रूपमा प्रेम प्रस्ताव गरेको अर्थ दिन्छ । मलाई गीत सुनेर बुझ्न निकै प्रयास गर्नुपर्ने भएकाले त्यसका अन्तरा र शीर्षमा रहेका शब्दबारेचाहिँ जानकारी छैन ।

घटना सामान्य हो, युवावयमा रहेका क्याम्पसका विद्यार्थीबीच प्रेमभाव झल्कने गीत रुचिका विषय हुन सक्छन् । यो उमेरमा प्रेम गर्नु या त्यस्तो भाव लिनु स्वाभाविक हो । पार्टीले कार्यकर्ताबीचको प्रेमलाई सामन्तवादी हेराइ राखेर नियन्त्रण गर्न खोजिने समय भए पनि हामीले काम गर्ने त्यस समयका युवायुवतीबीच पनि प्रेम हुन्थ्यो । भूमिगत नेता कार्यकर्ताबीच ‘एडल्टरेसन’ र कारबाहीका प्रसंग पनि दोहोरिरहन्थे । त्यसैले अखिलको कार्यक्रममा यो प्रेमगीत गाइनु र त्यसमा अधेडावस्थाका ज्ञवाली नाच्नुलाई चर्चाको विषय बनाउन आवश्यक पनि होइन । तर, मलाई भने दुईवटा कुराले खसखस लाग्यो र यहाँ चर्चा गर्न मन लागेको हो । 

पहिलो त अहिलेको अखिल या विद्यार्थी राजनीतिले आफ्ना कार्यक्रममार्फत कस्तो राजनीतिक लक्ष्य सम्प्रेषण गर्छन्, आपूmलाई कसरी चिनाउँछन् भन्ने हो । जस्तो हामी पञ्चायतविरोधी आन्दोलनका समयमा यता काम गर्ने भएकाले हाम्रा गीतसंगीत र कलाले पञ्चायतविरुद्ध आन्दोलित हुन प्रेरित गर्थे । देशमा व्याप्त गरिबी, शोषण र थिचोमिचो, वैदेशिक हस्तक्षेप, बसाइँ सराइका पीडा, काम गरिखाने वर्गका व्यथाका लागि हामी राजाको पञ्चायती निरंकुश व्यवस्थालाई जिम्मेवार ठहर्‍याउँथ्यौँ र गीतमा व्यक्त गथ्र्यौँ ।

महिलामाथिका विभेदलाई विरोध गर्ने र उनीहरूलाई जगाउन प्रेरित गर्ने ‘आमा, दिदी, बहिनी हो...’ जस्ता गीत होऊन् या बसाइँ हिँड्नेको ताँतीले गाउने ‘कोइ त भने जहाजमा हरर’ भन्ने गीत होस् या श्याम तमोटको ‘गाउँगाउँबाट उठ’ बोलको गीत । यिनले त्यतिवेलाका राजनीतिक उद्देश्यलाई विम्बित गर्थे । एउटा क्रान्तिकारी चेतनाको प्रवाह, संघर्षप्रतिको आकर्षण र समर्पणका लागि कार्यकर्तालाई उत्प्रेरित गर्थे ।

यो जरुरी छैन कि, ती गीत नै आज पनि गाइयून् । तर, ज्ञवालीले अवश्य पनि देशको आर्थिक, सामाजिक र राजनीतिक समस्या हल भएको भनेनन् होला । अब देशमा गर्नुपर्ने आन्दोलन छैन, लगाउनुपर्ने नारा छैन, समृद्धि छ र वर्गीय, जातीय या लैंगिक विभेद छैनन् भन्ने पनि अखिललाई लाग्नुनपर्ने हो । कलेजको मुखै देख्न आइनपुग्ने ५० प्रतिशत युवा या किशोर–किशोरीका कुरा, खाडीमा श्रम गर्न बाध्य अर्धदक्ष या अदक्ष कामदारका रूपमा नेपालीले व्यहोर्दै गरेका दुःखका कुरा, खेत या निर्माणस्थलमा पानीजसरी पसिना बगाउँदा पनि एक मानो खान, एकधरो लाउन र केटाकेटीलाई शिक्षा दिन नसक्ने परिवारका अभिभावक र सन्तानका बलिदान भएका सपनाका अर्थराजनीतिका कुरा पनि त ज्ञवालीका भाषणका विषय बने होलान् ।

विभिन्न माध्यमबाट नेपालको स्वतन्त्र राष्ट्रिय उद्योग तथा पुँजीको विकासमा बाधा हालिरहेको भारतीय शासक वर्ग या विश्व पँुँजीवादका केन्द्रको विषय पनि त अहिलेका समस्या होलान् । राज्य र राजनीतिक नेतृत्वलाई धमिराले झैँ खाँदैगरेको आसेपासे पुँजीवादविरुद्ध पनि त अहिलेको अखिलले बोल्नुपर्ने होला ? तिनीहरूप्रति अहिले विद्यार्थी राजनीतिमा सक्रिय रहेकाहरूको दायित्व र खेल्नुपर्ने भूमिकाका कुरा अवश्य पनि प्रशिक्षणको सन्दर्भ भएको हुुनुपर्छ । २०४७ यता लामो समय सत्तामा रहेको दलका रूपमा यस अवधिमा एमालेले गरिखाने वर्गको पक्षमा के गर्न सक्यो, के गर्न सकेन र अब के गर्छ भन्ने विषय पनि त बहसमा होलान् । 

वयस्क उमेर समूहमा गाइने प्रेमभावयुक्त गीत र लिइने मनोरञ्जनको पक्षलाई निषेध नगरे पनि राजनीतिक रूपले अरूलाई आकर्षित गनुपर्र्ने त अहिलेको नेपाली समाजको मुद्दा जोडिएकै गीतबाट होला । आफ्ना भेला या मेलामा ‘युँजे पोत्तर’को ‘कम्युनिस्ट अन्तर्राष्ट्रिय’ गाउन छाडे पनि एमालेले सामाजिक न्यायका मुद्दाकै वरपर नयाँ पुस्तालाई पार्टीवरपर गोलबन्द गर्ने काम त्यागेको स्विकारेको पनि छैन । यसैले, ज्ञवालीलाई आफ्ना कार्यकर्ताले पछ्यौरी ‘लिस्यो’ भनेर अनुरोध गरेको गीतमा नाच्न कर थियोजस्तो लाग्दैन (मलाई व्यक्ति ज्ञवालीका भावनाबारे कुनै गुनासो र प्रश्न छैन । म उनको वैयक्तिक स्वतन्त्रतालाई सम्मान गर्छु, यहाँ एमाले उपमहासचिवको विषय मात्र उठाइएको हो, उनले थाहा पाउनुपहिल्यै आयोजकले यस्तो गीत गाउन लगाएको पनि होला भनेर मानौँ) ।

खसखस लागेको अर्को पाटो भने यस गीतमा प्रयोग भएको भाषा नै हो । मलाई गीत लेख्ने र गाउनेप्रति केही भन्नु छैन । तर, कम्युनिस्ट पार्टीको कार्यक्रममा पहिलेको सत्तारुढ वर्गको भाषा प्रयोग भएका गीत मन पराइनु र त्यसमा छमछमी नेता कार्यकर्ता नाचेर अरूलाई आफ्नो दलप्रति आकर्षित गर्न प्रयोग गर्नु सामान्य कुराचाहिँ होइन । स्योस, बक्स भयो, बाहुली, ज्युनारजस्ता शब्द अवश्य पनि काम गरिखानेका परिवारका भाषा होइनन् । भाषा र शब्दको वर्ग हुन्छ । त्यसले वर्गहरूबीचको भिन्नता अथ्र्याउँछ । कसैका लागि यही गीतमा प्रेमासक्त लक्षणा या व्यञ्जनाका रूपमा यस्ता शब्द प्रयोग हुनु स्वाभाविक मानिएला । राजनीतिक जिम्मेवारी दाबी नगरिरहेको, जनतालाई उन्नत जीवन दिने सपना नदेखाउने कसैले यस्तो गीत गायो र नाच्यो भने कसले प्रश्न उठाउला र ? 

यस गीतमा प्रयोग भएको सम्मान सूचक शब्दले समाजको ‘हाइरार्की’लाई सम्मान गर्छ । परम्परागत शासकीय मूल्य प्रणालीलाई उचित ठहर्‍याउँछ । प्रकारान्तरले महिला र पुरुषबीचको सम्बन्धमा रहेको उचनिचको शक्ति सम्बन्धलाई निरन्तरता दिन खोज्छ, (मैले संगत गरेका परम्परागत रूपमा स्योस् भन्ने परिवारका पतिले पत्नीलाई स्योस् लगाएको थाहा छैन, पत्नीहरूले पतिलाई स्योस् नलगाई बोलेको पनि थाहा पाइएन), श्रम गर्ने र गराउने, शासक र शासित, सम्पन्न र विपन्नबीच भाषाका माध्यमबाट विभेद खडा गर्छ । आफैँले मत दिएको भए पनि सत्ता या शक्तिमा हुने र हाइरार्कीको तल्लो खुड्किलोमा बस्ने कार्यकर्ताबीच भिन्नभिन्न स्थानको परिकल्पना गर्छ, त्यसलाई भाग्यको खेल मान्छ । 

तर, काम गरिखाने सामान्य मानिसबीच आपसमा अभिधामा बोलचाल हुन्छ । लप्पनछप्पन हुन्न, सम्मानार्थी शब्दका आधारमा विभेद पनि देखिन्न । केही पहिले एमाले अध्यक्ष ओलीले पत्रकारले प्रयोग गर्ने भाषामा सम्मान सूचक शब्द प्रयोग गर्न कन्जुस्याइँ गरेको भन्दै दुखेसो पनि गरेका थिए । नेपाली समाजको परम्परागत ‘हाइरार्कियल’ सम्बोधनलाई निरन्तरता दिन उनले किन जोडबल गरेका होलान् भन्ने प्रश्न अहिले पनि जीवितै छ । ज्ञवालीलाईचाहिँ यस्तो ‘स्योस्’वाला शब्दको प्रयोग गर्दा सहज भयो होला कि नाइँ ? भिडियोमा उनको मनोभाव राम्ररी खुल्दैन । 

एमालेको दैनिक राजनीति र संस्कृतिमा आइरहेका परिवर्तनसँग खासै परिचित नभएर पनि होला, मलाई यो स्योस्वाला भाकामा बग्दै रमाइलोमा सामेल हुने अहिलेका अखिल र नेताहरूले हाम्रै इतिहासलाई गिज्याएजस्तो लाग्यो । कास्की एमालेमा लामो समयदेखि कब्जा जमाइरहेको नेतृत्वपंक्ति यही क्याम्पसको आन्दोलनबाट हुर्केकाहरूको छ । के उनीहरू नयाँ पुस्तालाई आफ्नै इतिहास मेट्दै अघि बढ्न र सांस्कृतिक रूपले परम्परावादी बनाउन प्रशिक्षित गरिरहेका छन् ? आफ्नो समयलाई क्रान्तिकारी हस्तक्षेप गर्दै क्याम्पसमा प्रगतिशील गीत–संगीतको टोली बनाएर युवावय बिताएका हितकाजी गुरुङ यसबारे के भन्दा हुन् ?

एमालेले समृद्धिको नारा दिएको छ, विभेदको वर्तमान अवस्था कायमै राखेर समृद्धि कस्तो आउला भन्न सजिलो छैन, यसले समृद्धिलाई राजनीतिक विषय मानेजस्तो पनि देखिन्न । अहिलेकै अर्थ राजनीतिक संरचनामा आउने समृद्धिले नेपाली समाजमा विद्यमान अनेक विभेद समाप्त पार्ने होइन । विद्यमान महिलाविरोधी, दलित र सीमान्त समुदायविरोधी विभेदकारी मूल्य प्रणालीलाई ध्वस्त नपारी, शोषणका सबै छिद्रहरू ध्वंश नगरी स्वतन्त्र नागरिकका रूपमा सबैले समान सम्मान पाउने अवस्था पनि आउँदैन । राजनीतिक दलहरूले, अझ जल्दोबल्दो क्रान्तिकारी रोमान्ससहितको विद्यार्थी नेतृत्वले हस्तक्षेप नगरी यस्तो अवस्था आउला भनेर पनि विश्वास गरिन्न ।

आफ्नै नेतृत्वलाई प्रश्न नगरी यो बाटो पत्ता लाग्दैन । जब त्यही तप्का यो भाषा र भाकामा रमाउन थाल्छ अनि यति त भन्न सकिन्छ, हाम्रो निकट भविष्य पनि त्यति उज्यालो छैन । नाच्न पनि नाच, गाउन पनि गाऊ, धक फुकाएर प्रेम पनि गर साथी हो, तर सार्वजनिक रूपमा संगठनले आयोजना गर्ने कार्यक्रमको गीत र नाचले राजनीतिक सन्देश के दिएको छ भन्ने पनि हेक्का राखेको राम्रो । लौ त कमरेडहरू यता ध्यान ‘दिस्यो’ !