Thursday, October 8, 2015

एउटा डरलाग्दो मौनता

नेपालको सिमानामा भारतीयले लगाएको नाकाबन्दी जारी छ । र, जारी छ तराई मधेसको झन्डै आठ साता लामो आन्दोलन पनि । नाकाबन्दीले पहाडी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । त्यसरी नै अस्तव्यस्त छ, मधेसका सर्वसाधारणको जीवन पनि । अर्थात् सिंगो नेपाल नै अस्तव्यस्त छ । यो अस्तव्यस्तताका तीन पक्ष छन्, आन्दोलनरत मधेसी मोर्चाका दल र नेताहरू, जो भारतसँग मिलेर काठमाडौंसँग दुश्मनी साँध्न हिँडेका जुवाडेझैँ आन्दोलनमा छन् । दोस्रो पक्षमा मधेस आन्दोलनको नाम सुन्दा पनि एलर्जी भएझैँ गर्ने काठमाडौंको सत्ताधारी वर्ग छ, जसको नेतृत्व सुशील कोइराला र केपी शर्मा ओलीले गरेका छन् । तिनीहरूको दम्भले देशले निकै ठूलो मूल्य चुकाइरहेको छ । र, तेस्रो पक्ष हो भारत, जसले नेपालमाथि यसरी व्यवहार गर्दै छ, मानौँ नेपाल भारतको ३०औँ प्रान्त हो र यसमा दिल्लीको सीधा शासन चल्छ । भारतले काठमाडौंलाई दबाब दिन कूटनीतिक लगौँटी खोलेर फाल्दै नांगै भएर नाकाबन्दी लगाएको छ र त्यसलाई नेपालमा रहेका ‘भारतीय मूलका नागरिकहरू’को हितरक्षाको जामा पहिर्‍याएको छ । भारतीय प्रधानमन्त्री मोदी र उनको दल भाजपाका स्वार्थ र त्यसको दर्शन कसरी एउटा भयानक दु:खान्त बनेर नेपालमा थोपरिएको छ भन्नेचाहिँ बिस्तारै खुल्दै जानेछ । यसपालिको आलेखको विषय नेपालसँग भारतको सम्बन्ध होइन, बरु भारतमै कसरी भाजपाई हिन्दू अतिवादी दर्शनले बिस्तारै फासीवादी बाटो लिएको छ र त्यो किन नेपालका लागि खतराजनक छ भन्ने सन्दर्भलाई केलाउनु हो । मंगलबार सामाजिक सञ्जालबाट थाहा भएको एउटा समाचारले मलाई निकैबेर निराश बनायो । भारतीय साहित्य एकेडेमी पुरस्कार प्राप्त चर्चित लेखक नयनतारा सहगलले उक्त पुरस्कार र सम्मान फिर्ता गरेको घोषणा गरेकी रहिछिन् । ६ अक्टोबरको मितिमा देहरादुनबाट जारी गरिएको ८८ वर्षे लेखकको उक्त वक्तव्यले भारतमा बिस्तारै बढ्दै गएको हिन्दू संस्करणको फासीवादको झस्को दिन्छ । सहगल प्रथम भारतीय प्रधानमन्त्री पण्डित नेहरूकी बहिनी विजयलक्ष्मीकी छोरी हुन् । त्यति मात्र होइन, भारतमा अंग्रेजी साहित्यकी जानेमाने हस्ती पनि हुन् उनी । आफ्ना मामाकी छोरी इन्दिरा गान्धीको संकटकाल लगाउने निर्णयविरुद्ध बोल्ने साहस गरेर दृढतापूर्वक उभिएकी यी लेखिका लोकतन्त्रप्रतिको निष्ठामा कति बलशाली ढंगले उभिएकी रहिछन् भन्ने उनको यो सम्मान फिर्ता गर्ने निर्णयले पनि देखाउँछ । उनले आफ्नो वक्तव्यमा भनेकी छिन्, ‘अन्धविश्वासमाथि प्रश्न उठाउनेहरू, हिन्दुत्व भनिने हिन्दू धर्मको भ्रष्टीकरणमाथि– चाहे त्यो बौद्धिक रूपले होस् या कलाको क्षेत्रबाट, अथवा चाहे खाद्य संस्कृतिको कुरो होस् या जीवनशैली– प्रश्न उठाउनेहरू सीमान्तीकरणमा धकेलिएका छन्, दण्डित गरिएका छन् अथवा मारिएका छन् । साहित्य अकादमी पुरस्कारबाट सम्मानित प्रसिद्ध कन्नड लेखक एमएम कलबुर्गी र दुईजना महाराष्ट्रि्रयन नरेन्द्र धबोल्कर र गोविन्द पानसरे दुवै अन्धविश्वासविरुद्ध सक्रिय थिए । ती दुवै मोटरसाइकल चढेर आउने बन्दुकधारीबाट मारिएका छन् । भिन्न मत राख्ने अरूहरूलाई पनि अब तेरो पालो भन्दै धम्क्याइएको छ । हालै मात्र मोहम्मद अखलक नाम गरेका एकजना गाउँले, उनको घरमा गाईको मासु पकाइएको छ भन्ने शंकाको भरमा दिल्लीनजिकैको बिसरा गाउँको आफ्नै घरबाट घिसारेर बाहिर ल्याइए र निर्ममतापूर्वक मारिए ।… यी सबै मामिलामा न्यायाधीशले खुट्टा तान्ने गरेका छन्, आतंकको यो राज्यबारे प्रधानमन्त्री मौन बस्छन् । अझ दु:खको कुरो त यो छ कि साहित्य अकादमी पनि यसमा मौन बसेको छ । …अकादमीको मौनताविरुद्ध लेखक उदय प्रकाशले आफ्नो अकादमी सम्मान फिर्ता गरेका छन् । त्यस्तै ६ जना कन्नड लेखकले कन्नड साहित्य परिषद्लाई आफ्नो सम्मान फिर्ता गरेका छन् । ‘…मारिएका भारतीयहरूको सम्झनामा, असहमत हुन पाउने सबै भारतीय र भय र अनिश्चयमा जिउन बाध्य अरू असहमतहरूको समर्थनमा म मेरो साहित्य अकादमी पुरस्कार फिर्ता गर्छु ।’ उदय प्रकाशको भनाइले भारतीय समाजमा कसरी हिन्दुत्वको रक्षाका नाममा एउटा खतरनाक राजनीतिक शक्ति बलशाली हुँदै गएको छ, कसरी लोकतान्त्रिक संस्था र शक्तिहरू निशब्द बनाइँदै छन् । असहमत मानिसको जीवन कति दुरुह हुँदै गएको छ भन्नेतर्फ संकेत गर्छ । नेपालमा जे–जसरी नाकाबन्दी लगाएर भारतले मानवीय संकट सिर्जना गराइरहेको छ, त्यो मोदीको रिस या सनक मात्र होइन, समग्र दक्षिण एसियामा भारतीय जनता पार्टी र उसको माउ संगठन आरएसएसको रणनीतिअनुरूप नै भएको हो भनेर कैयन घटनाले प्रमाणित गरेका छन् । कन्नड विश्वविद्यालय हम्पीका उपकुलपति रहेका एकजना जानेमाने प्राज्ञ प्रोफेसर एमएम कलबुर्गी मूर्तिपूजाका आलोचक थिए । कन्नड भाषामा उनले पुर्‍याएको सेवाका लागि उनलाई साहित्य अकादमी पुरस्कारले सम्मान गरिएको थियो । उनलाई घरमै बसिरहेका वेला आएका अपिरिचित व्यक्तिले गोली हानेर हत्या गरेका थिए । मोटरसाइकलमा आएका दुईजनामध्ये एउटाले घरको ढोकाको घन्टी बजायो, श्रीमती कलबुर्गीले ढोका खोलिन् । अपरिचित युवाले आफू प्रोफेसरलाई भेट्न आएको बताएपछि उनले प्रोफेसर भएको ठाउँमा तिनलाई पुर्‍याइदिइन् । उसले गोली हानेर प्रोफेसरको हत्या गर्‍यो र बाहिर निस्केर मोटरसाइकलको पछाडि बसेर भाग्यो । यो यही अगस्ट अन्तिम साताको घटना थियो । गोविन्द पानसरे भारतीय कम्युनिस्ट पार्टीका कार्यकर्ता र लेखक थिए । महाराष्ट्रमा बसेर सामाजिक कुरीतिका विपक्षमा निरन्तर आवाज उठाउने यी सक्रिय सामाजिक कार्यकर्तामाथि २० फेब्रुअरी २०१५ मा आफ्नी श्रीमतीसहित मर्निङवाकमा हिँडिरहेका वेला मोटरसाइकलमा आएका बन्दुकधारीले पाँच गोली प्रहार गरेका थिए । उनीमाथि आक्रमण गर्नेहरू सनातन संस्थाका भएको पछि पुष्टि भयो । दुई वर्षअघि महाराष्ट्रमै नरेन्द्र धवोल्करको हत्या गरिएको थियो, जो सामाजिक अन्धविश्वासविरुद्ध अभियानकर्ता तथा महाराष्ट्र अन्धश्रद्धा निर्मूलन समितिका संस्थापक थिए । उनलाई पनि हिन्दू कट्टरपन्थीले हत्या गरेका थिए । केही वर्षअघि वरिष्ठ कलाकार एमएफ हुसैनले मुम्बईबाट आफ्नो बसाइँ दोहातिर सारेको घटना काठमाडौंका कला–साहित्य फाँटका मानिसबीच निकै चर्चाको विषय बनेको थियो । अहिले सय वर्ष पुगेका यी वृद्ध चित्रकारको कतार पलायन हिन्दूवादीको धम्कीकै कारण भएको थियो । उनले ९० वर्ष पुगेपछि भारत छाड्न बाध्य हुनुपरेको थियो । भारतीय जनता पार्टी सत्तामा आएपछि नोबेल पुरस्कार प्राप्त अर्थशास्त्री तथा अहिलेको समयका एकजना शक्तिशाली प्राज्ञ अमत्र्य सेनलाई नालन्दा विश्वविद्यालयको प्राचार्यबाट हटाइयो । नालन्दा विश्वविद्यालय गौतम बुद्धका ज्ञानहरूको अध्ययन गर्ने शताब्दीयौँ पुरानो अध्ययन केन्द्रको पुनर्जागरण गर्दै एउटा विश्वस्तरको ज्ञानकेन्द्रका रूपमा विकास गर्न स्थापित गरिएको थियो । तर, भाजपाले त्यसलाई पनि हिन्दूकरण गर्ने नियतले सेनलाई हटाएको मानिएको छ । अमत्र्य सेनलाई हटाउनने कारणको रचना गर्न उनलाई भ्रष्टाचार गरेको अप्रत्यक्ष आरोपसमेत लगाइएको थियो । जब कि उनी विनापारिश्रमिक त्यहाँ काम गरिरहेका थिए । ३ अक्टोबरको न्युयोर्क टाइम्समा लन्डनबाट सोनिया फलेइरोले ‘स्वतन्त्र अभिव्यक्तिमाथि भारतीय आक्रमण’ शीर्षकमा एउटा लामो आलेख लेखेकी छिन् । अहिले भारतमा हिन्दुत्वसँग या भाजपाई विचारसँग असहमत हुनेहरू कति असुरक्षित छन् भन्ने उदाहरण दिँदै उनी लेख्छिन्, ‘गत डिसेम्बरमा एकजना सम्मानित लेखक पेरुमल मुरुगानले आफ्नो सन् २०१० मा प्रकाशित उपन्यासलाई लिएर हिन्दू अतिवादीले उनलाई धम्की दिएको र पुस्तक जलाएर प्रदर्शन गरेको हुनाले आफूले असुरक्षा महसुस गरेको भन्दै प्रहरीमा सुरक्षाका लागि सूचित गरे । प्रहरीले चाहिँ उनलाई सुरक्षा दिन नसकिने भएकाले निर्वासनमा जान सुझाब दियो ।’ अन्त्यमा मोदीको शासनमा ज्यानको सुरक्षाको कुनै निश्चितता नभएपछि पेरुमलले लेखकका रूपमा आफ्नो सबै रचना खारेज गरेको घोषणा गरे, आफ्नो लेखन कर्मका लागि सार्वजनिक रूपमा माफी मागे । किनकि, उनलाई आफ्नो भन्दा पनि परिवारको सुरक्षाको चिन्ता थियो । यी केही उदाहरण हुन् भारत कता जाँदै छ भन्ने सन्देश दिनका लागि । यी सब काम नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि झन् खुला रूपमा भइरहेका छन् । मोदी यसविरुद्ध एक शब्द पनि बोल्दैनन् । धेरैको अनुमान छ उनको मौनता नै यी घटनामा संलग्नहरूको संरक्षणका आधार र उक्साहटको कारण बनेको छ । डेढ वर्षअघि अत्यधिक लोकप्रियता देखाएर निर्वाचन जितेका र प्रधानमन्त्री बनेका मोदी गुजरातका मुख्यमन्त्री हुँदा मुस्लिममाथि दमन गरेको र गोधरा काण्डमा सयौँ मुस्लिमको ज्यान जाने घटनाको संरक्षण गरेको भनेर आलोचित थिए । कतिसम्म भने उनी प्रधानमन्त्री निर्वाचित हुने छनक पाउनुअघिसम्म मोदीलाई अमेरिकाले भिसासमेत दिएको थिएन । निर्वाचनमा भएको हिन्दूवादीहरूको विजयले मात्र होइन, अत्यन्त न्यून सिट जितेर कमजोर बनेको भारतीय कांग्रेस र भारतका कम्युनिस्ट पार्टीहरूको हस्तक्षेपकारी क्षमतामा आएको ह्रासका कारणले समेत भारतमा ‘सेक्युलर’ आवाज झनै बढी दमनमा परेका छन् । हिन्दुत्वको रक्षा र विस्तारलाई नै आफ्नो अस्तित्वको आधार मानेको आरएसएस र बिजेपी गठबन्धनको ध्येय नेपाल र भुटानलाई समेत आफ्नो प्रभाव क्षेत्रका रूपमा विस्तार गर्ने, यिनलाई निरन्तर नियन्त्रणमा राख्ने र पाकिस्तान तथा बंगलादेशलाई पनि दबाबमा राख्ने रहेको प्रस्टै छ । त्यति मात्र होइन, यो समूह भारत वर्षलाई आफ्नो आधार इलाका मान्छ, जसमा यी सबै भूखण्ड पर्छन् । नेपालमा लगाइएको नाकाबन्दी त्यही आकांक्षाको एउटा नग्न अभिव्यक्ति मात्र हो । जानी–नजानी केही र काठमाडौंका शासकको मतिभ्रम या खस अहंकारवादको सिकार भएका कारण लघारिएका केही नेपाली त्यही भारतीय आकांक्षाको सहयोगी बनेर दशगजाबाट नेपालतर्फ ढुंगा प्रहार गरिरहेका छन् । यस्तो लाग्छ छिटै काठमाडौंको नेतृत्वले बुद्धि पुर्‍याएन भने नेपालले अहिलेभन्दा ठूलो चुनौतीको सामना गरिरहनुपर्नेछ । जसरी भारतमा हिन्दूवादीले मानिसको बाँच्ने अधिकार हनन गर्दा मोदी चुप रहन्छन्, त्यसरी नै उनी नेपालको नाकाबन्दीबारे पनि चुप छन् । यो मौनता फासिस्टहरूको गहना हो । यससँग सतर्क रहौँ । नयनतारा सहगलको कदम र वक्तव्यले केवल भारतीय सर्जक र आलोचकका लागि मात्र सन्देश दिएको अवश्य होइन । यो लेख सक्दा नसक्दा प्रसिद्ध भारतीय कवि अशोक बाजपेयीले पनि साहित्य अकादमी सम्मान फिर्ता गरेका छन् । उनको पनि मुख्य आक्रोश प्रधानमन्त्री मोदीको मौनतामाथि र भारतमा आलोचकमाथि भइरहेको हत्या र दमनविरुद्ध परिलक्षित छ । लाग्छ, मोदीलाई अब सम्मानहरूको पहिरोले अँठ्याउनेछ ।