Wednesday, July 31, 2019

आधाजून पढिसकेपछि भन्न मनलागेका कुराहरु




“आधाजूनमा पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपाली युवाले गरेको उत्सर्ग राम्ररी केलाइएको छ । २०३६ सालको विद्यार्थी आन्दोलन र ततकालीन नेकपा मालेको राजनीतिमा संलग्न एउटा निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिंधमा परेका सर्वसाधारण जनताले राज्यबाट भोगेका तिरस्कार र अपमान तथा ग्रामीण समाजमा रहेको शक्तिसम्बन्ध राम्ररी केलाइएको छ । इतिहास र स्वैरकल्पनाको दोसांध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन अभिलेख हो । ” यी कुराहरु यस ‘आधाजून’ पुस्तकको भूमिकामा पनि उल्लेख गरिएका छन् ।

कम्युनिष्ट तथा प्रगतिशील लेखमा सिद्धहस्त, प्रखर तथा माहिर झलक सुवेदीद्वारा लिखित यस उपन्यासमा सञ्जेका तीन जीवनसाथीहरुका बारेमा भएका यौनका कुराहरु पनि खुलेरै प्रस्तुत भएका छन् । एकचौथाइको सुरुको भागमा साहित्यका शब्दको जादू पनि देख्न सकिन्छ तर त्यसपछि भने ऐतिहासिक दस्तावेज जसरी घटनाक्रम मात्र छन् । विशेष गरी यस उपन्यासमा मुख्य पात्र सञ्जेको वरिपरि कथावस्तु घुमेको छ र “कसरी नेपालको जुनसुकै कम्युनिष्ट आन्दोलन एकजुट नभएर टुक्रिरहेको छ ?” भनेर छर्लङ्ग उदिङ्गयाउन सफल छन् उपन्यासकार । उपन्यासमा ०३६ सालदेखि ०४६÷४७ सालसम्मको नेपालको राजनीतिक आन्दोलनलाई इङ्गित गर्न खोजिएको छ । त्यस्तै ०५४ सालसम्मको राजनीति पनि अलिअलि प्रस्तुत भएर उपन्यास टुङ्गिएको छ । कथावस्तुमा पात्रको नाम मात्र फरक गरिए झैं लाग्छ र उनीहरुको जीवन कथा यथार्थ नै छन् ।

सुरुको एक चौथाई अंश जति पोखराको आञ्चलिक परिवेश तथा सञ्जेको पृष्ठभूमि बारे वर्णन छ  यो पढ्न अलि धित मार्नुपर्ने हुन्छ तर त्यसपछि उपन्यासले कालक्रमको र घटनाक्रमको द्रुतगति लिन्छ अनि पाठकलाई अन्त्यसम्मै एकै बसाइंमा नै उपन्यास पढौं पढौं लाग्ने कुतकुती भइरहन्छ । 

समग्रमा सिद्धहस्त लेखक झलक सुवेदीको यस उपन्यासले बजारमा त्यत्ति हङ्गामा गर्न नसके तापनि कम्युजिष्ट राजनीतिमा लागेकाहरुले एकपटक जसरी भएपनि पढ्नै पर्ने पुस्तक बनेको छ । यो एउटा ऐतिहासिक दस्तावेजको रुपमा प्रस्तुत भएको छ विशेषगरी यसमा माले पार्टीको प्रारम्भ, गठन , उत्सर्ग र माले भन्ने पार्टी भएर पनि केही न केही भएको सम्मको एउटा कम्युनिष्ट धारको विसर्जन सबै छर्लङ्ग प्रस्तुत भएको छ । 

जुनसुकै पार्टीमा पनि अवसरवादीको हालिमुहाली हुने र त्यागीहरु पाखामा पुग्ने परम्परा छर्लङ्गसँग देखाउन सफल छन् उपन्यासकार झलक सुवेदी । यस्तै छ सबै राम्रा गोरेटोहरु बनाउने राजनीतिक कार्यकर्ताहरुको हालसम्मको हालत ! यसरी सबै एक से एक राजनीतिक पार्टीको पतनको शृङ्खला चलिरहेको छ भने सर्बसाधारणहरु सधै मारमा परिरहेका छन् । यस्तो हालत देखेर मैले यस  निम्नलिखित खुसिराम पाख्रिनको गीतबाट अझ छर्लङ्गाउने प्रयास गरेको छु ।

गैंटी बेल्चा उचालेर पहरालाई छिचोलेर
डाँडा काँडा बाटो बनायौ
के खायो नि कुल्ली दाइले के पायो नि कुल्ली भाइले
अर्कैले ट्याक्सी गुडायो–२

हामीले टेक्ने ढुङ्गे गेगर खस्न तयार थियो
टाउको माथी पहराहरु झर्न तयार थियो
तल हेर्दा खोला बगर टाउको रिङ्गाइदिन्थ्यो
छिनो माथी घनले हानी झिल्को निकालिन्थ्यो
आफ्नो आँट छिनाएर प्राणको बाजी लगाएर 
भीर पाखा बाटो बनायौ
के खायो नि कुल्ली दाइले के पायो नि कुल्ली भाइले
ठेकेदारले पैसा कमायो ।

डबल जिउकी भाउजु पनि त्यै पहरामा बास
बाँचौला र खाउँला भत्रे छैन केही आश
त्यै पहरामा नानी जन्म्यो गैंटी ठोकी ठोकी
कति ढुङ्गा पन्छायौ नि रातो नानी बोकी
घाम पानी नभनेर भोक तीर्खा नभनेर
पूर्व पश्चिम बाटो बनायौ
के खायो नि कुल्ली दाइले के पायो नि कुल्ली भाइले
दुनीयालाई बसमा कुदायौ–२

सधैं हामी ब्लास्टिङ बोकी बाँदर लड्ने भीरमा
मर्ने काल टाढा छैन मुटु छैन थिरमा
काम सक्यो ज्याला सक्यो हाम्रो खल्ती रित्तै
सामन्तीको मोटरले चढाउँदैनन् सित्तै
कति मरे किचिएर कति मरे पुरिएर
व्यर्थै आफ्नो जीवन गुमाएर
के खायो नि कुल्ली दाइले के पायो नि कुल्ली भाइले
नानीहरु टुहुरा बनाएर–२

जुर्मुरिएर उठ्नु पर्यो सबै कुल्ली साथी
दुष्टहरुले परेड खेल्यो हाम्रो छाति माथी
हाम्रो जीवन खेर गयो चुप लागेर बस्दा
ठूला ठालु डराउँदैछन् हामीले कम्मर कस्दा
हाम्रो जीवन नचित्रेलाई हाम्लाई मान्छे नगत्रेलाई
हामीले पनि अब चिन्याछौं
भीरमा खेल्ने शाहसहरु पहरा छेड्ने ताकतहरु
संघर्षमा अब लगाइदेऊ–४

पुस्तक २७६ पृष्ठको छ । मूल्य रु. ३०० राखिएको छ । यसलाई फाइन प्रिन्ट , विशालनगरले हालसालै बजारमा ल्याएको हो । 

२०७१ असार १८ बुधवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
Thank you Bijaya ji

Tuesday, July 16, 2019

अलिकती अराजकतावादी भएर !


सार्वजनिक संस्थाहरु र कथित संगठित नागरिक समाज या आन्दोलनहरुमा सहभागी हुन मलाई आजकल यसै वितृष्णा लागेर आउँछ । यसका अनेक कारण हुनसक्छन र थकाइ या निराशा पनि । आफ्नै आन्तरिक कारण पनि ।
पछिल्लो समय एउटा अध्ययन अनुसन्धान र बहसको केन्द्र बनाउन सकिने आसा गरिएको नेपाल वैकल्पीक अध्ययन समाजमा मेरो संलग्नता निष्कृय या फुर्सदमा जानेसम्ममा सिमित गर्नुपथ्र्यो । तर एउटा परिवन्दमा म महासचिव बनें, बनाईएँ । तर त्यसपछिको एउटा पनि औपचारिक वैठकमा जान सकिन । बहसमा चैं मिलेसम्म सामेल हुने गरेको छु । केहि महिना पहिले नै राजिनामा बुझाएपनि स्विकृत नभएको सन्देश दिन खोजिरहेछन साथिहरु । म भने त्यो जिम्मेवारीमा पटक्कै फर्कने छैन ।
निष्कृय रहेको र नविकरण नभएको नेपाल साउथ एशिया सेण्टरमा वैठक हुन छाडेपनि पछिल्लो कार्यसमितिको सदस्यका रुपमा मेरा नैतिक जिम्मेवारीहरु होलान । म आफ्ना सम्पूर्ण कमजोरी र असफलता स्विकार गर्दै त्यसबाट अलग हुन्छु ।
यहि मंगलवार मित्र स्वनाम साथिको आमन्त्रणमा माक्र्सवादमाथि अध्ययन गरिरहेकाहरुको एउटा भेला भनेर कोक्यापको सभाकक्षमा पुगेको थिएँ । आफ्नो रुची मिल्यो र जिजिविषसंग पनि जोडिन सक्यो भने यस्तो विषयमा काम गर्ने मन छ । त्यसैले त्यता पुगेको थिएँ । त्यसैपनि एउटा अभिलेखिकरणको परिकल्पना माथि हाम्रा विच कुरा भएका थिए र म लोभिएको थिएँ ।
केही चिनेका र थोरै नचिनेका अनुहार सहितको भेला रहेछ । तर त्यो मलाई भनिएजस्तो नभएर नागरिक समाज या नागरिक आन्दोलनलाई संस्थागत रुप दिने प्रयास रहेछ । नागरिक आन्दोलन या समाजलाइ संस्थाका रुपमा अघि लाने प्रयाससंग मेरो पटक्कै सहमती छैन । त्यसमाथि म अहिले कुनै पनि खाले एक्टिभिजममा सामेल हुन रुची राख्दीन । दुई मिनेट बसें, दुईवटा उपस्थितीमा सहि गराईयो, अर्को चार मिनट उभिएरै कालो चिया पिएँ, तल ओर्लेर स्वनाम साथीलाई एसएसमएस गरें म यस्तो नागरिक समाजमा सामेल हुँदिन है भनेर, अनि टाप कसें । मित्र कृष्ण पौडेल पनि त्यस्तै असमञ्जसमा परेर पहिल्यै निस्केजस्तो लागेको थियो ।
एक्टिभिजम आवस्यक हुन्छन । तर मलाई अब त्यसमा रुची छैन । अरुहरुलाई शुभकामना ।
संस्थाहरु नभै हुँदैनन । अझ अध्ययन र बहस गर्ने थलोहरु त चाहिएकै छन । हाम्रै आन्दोलनका अनुभवहरुको अनुसन्धान र र अभिलेखिकरण झन खाँचो छ । मिले आफैले या साथिहरुसंग मिलेर पनि यस्तो काममा केही योगदान या सहभागिता गर्ने रुची अझै मरेको छैन ।
तर पनि अहिले चैं आफ्नै कारणले म यस्तो काममा सामेल हुने सामथ्र्य पटक्कै राख्दिन । आगे समयको जो आदेश ।