Monday, April 11, 2022

स्मृति


सात दिनमा ३६ छाक


२०४१ सालको कुरा हो । स्नातक अध्ययन गर्दैं थिएँ । वगरस्थित गणेशबहादुर गुरुङको घरमा डेरा गरिवस्थें । अखिलको जिल्ला कमिटि अध्यक्ष थिएँ । नगर वाइएलको अध्यक्ष पनि । रुम पार्टनर थिए शिव पौडेल, पृथ्वी नारायण क्याम्पस प्रारम्भिक कमिटिका अध्यक्ष र स्ववियु उपसचिव थिए । दुवै अघोषित पूर्णकालिन कार्यकर्ता । घरबाट आउने खर्चले दालभात, डेराभाडा र क्याम्पस फि तिर्नु ठिक्कै हुन्थ्यो । घर पुगेको बेला एकाध पाथी चामल र दाल गुन्द्रुक ल्याइन्थ्यो । तर घर जाने फुर्सद पनि कम हुन्थ्यो । यता पार्टीको सम्पर्क थलो थियो कोठा । कमरेड वामदेव गौतम पछि यस क्षेत्रको नेतृत्व गर्न आउनु भएका जीवराज आश्रीत कहिलेकहिँ आउनुुहुन्थ्यो । धेरैजसो चाहिँ कास्कीको नेतृत्व गर्ने कमरेड राजन उर्फ त्रिलोचन ढकाल र कमरेड विनय उर्फ शारदा सुवेदी आइरहनुहुन्थ्यो । हामी दुइ जना बाहेक पनि हरेक छाक खाना खाने थप दुइ चार जना भैहल्नुहुन्थ्यो । दुइजना मात्र हुनु त विरलै हुने संयोगको कुरा थियो । खर्चको अत्यधिक चाप परेपछि कमरेड राजनले एकदिन हामीलाई अब तपाईहरुले आफु दुइजनामा थप एकजनामात्र पाल्ने गरी व्यवस्थापन गर्नुप¥यो । म मिलाउँछु । तर त्यस्तो सम्भव थिएन । हामीले यसो नगरौं भनेर रोक्न खोज्यौं । वहाँले यो त पार्टीको निर्णय हो भन्नु भयो ।

कोठाको एउटा कर्नरलाई खाना बनाउने ठाउँ बनाइएको थियो । त्यसको भित्तो प्लाइको थियो । एउटा कागजमा हामीले कुन छाकमा कति जनाले खाना खाइयो भनेर रेकर्ड राख्ने गरि कागज टाँस्यौं । हामीलाई महिना भरमा ६० छाक मात्र अरुलाई खुवाउनु पर्ने भनिएको थियो । तर पहिलो हप्तामा पुग्यो ३६ छाक । महिना मर्न अझै २२ दिन बाँकी थियो । यही रितले त कम्तीमा डेढसय छाक खुवाउनु पथ्र्यो । अनि कमरेड राजनलाई देखाइयो र हाँस्दै त्यो भित्ताको रेकर्ड कागज हटाइयो । हाम्रो दैनिकी उस्तै थियो । कहिले दुइजना कामले थाकेर लोत पर्दै फर्किन्थ्यौंै । दश ११ बजेतिर आउँदा कोठामा चामल मात्र हुन्थ्यो । देक्चीमा पकायो, थालमा राख्यो, जगले बाल्टीको पानी हाल्यो र नुन छर्केर सल्लवल्ल पार्दै खायो सुत्यो । वगरबाट टुँडिखेल जाने चोक नजिक एउटा अलि ढिलोसम्म खुला हुने मम पसल थियो । हामी ढिलो आउँदा पनि खुलै रहन्थ्यो । भोक र थकाइले हत्तु भएर आउँदा हामी खल्तीमा ५ रुपैंया सम्म भए त्यही मम पसलमा पस्थ्यौं । कहिले पाँच मोहर प्लेटको मम एक एक प्लेट या खल्तीको अवस्था अनुसार आधा आधा प्लेट खायो अनि आएर सुत्यो । हाम्रो क्याम्पस लाइफ यस्तै दुःख सुख र रमाइलोमा वितेको थियो । 


१ रुपैंयाका लागि 


०४३ माघको कुरा हो । काठमाण्डौको चिसो उत्कर्षमा थियो । विहान एघार बजेसम्म त हुुस्सुलागिरहन्थ्यो । म अली दिन काठमाण्डौ बस्न आइपुगेको थिएँ । शिक्षक संगठनको केन्द्रीय समितिको विस्तारित बैठक थियो । कास्कीबाट संगठनका जिल्ला अध्यक्ष तथा महेन्द्र मावी भलामका प्रअ विश्वराज पौडेल र सदस्य रहेको म प्रतिनिधि भएर आएका थियौं । रामचन्द्र अधिकारी सायद केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । केन्द्रीय समितिका महासचिव देवि ओझा चौतारा जेलमा हुनुहुन्थ्यो । विस्तारित बैठक संगठनको केन्द्रीय कार्यालय रहेको पुरानोवसपार्क छेउको एउटा घरमा हुन्थ्यो । हाम्रो बसाइ चैं सिताराम मास्केको नरदेवीस्थित विद्यालय जलजला शिशु सदनमा मिलाइएको थियो । हाम्रो भन्नाले माले पक्षका शिक्षकहरुको । बद्रीप्रसाद खतिवडा, सुसिलचन्द्र अमात्य, गोरेबहादुर खपांगी, शुसील प्याकुरेल, रामचन्द्र अधिकारी, परासीबाट आएका नविन अधिकारी, म, धादिङ्का राजेन्द्र पाण्डे लगायतका साथिहरु मास्केको जलजला शिसु सदनको होष्टलमा बस्ने गरेको थियांै । स्कुल विदा थियो ।

विस्तारित वैठक बस्ने क्रममा नै शिक्षक संगठन विभाजित भयो । नेपाली काँग्रेस निकट सबै र वामपन्थी मानिएका गोर्खाका मुक्तिनारायण लगायतको समुह पनि संघ तिर गयो । अब नेपाल राष्ट्रिय शिक्षक संगठन मुख्यतया मालेपक्षधर र मशाल पक्षधर शिक्षकहरुको मात्र संगठन रहन गयो । सम्झेसम्म जेलमा रहेका देवि ओझालाई अध्यक्ष र रामचन्द्र अधिकारीलाई नै महासचिव बनाएर संगठन पुनर्गठन गरिएको जस्तो लाग्छ । माले र मशालवालाहरुको एकदिन स्वयंम्भुमा भेटभाट भएको थियो । सिन्धुपाल्चोकका अग्नी सापकोटा पनि उक्त भेटघाटमा आउने मध्येका थिए । त्यस मध्येका अमात्य सर पछि संविधान सभा सदस्य र श्रीलंकाका लागि राजदुत हुनुभयो, प्याकुरेल मानवअधिकावादी बन्नु भयो, राजेन्द्र पाण्डे अहिले बागमतीका मुख्यमन्त्री छन्, अग्नी सापकोटा सभामुख । मास्के ०४४ मा काठमाण्डौको प्रधानपञ्चमा उठ्नु भयो जनपक्षीय उमेद्वारका रुपमा । खपांगी सर जनमुक्ती पार्टी खोलीवरी पछि राजाको क्याविनेटमा मन्त्री हुन पुग्नुभयो । देवि ओझा एमालेको नेता हुँदै राजाको मन्त्री बन्नु भयो । रामचन्द्र अधिकारी हुन जो कतै सार्वजनिक जिम्मेवारीमा देखिएनन् 

कुरा रामचन्द्र र मेरो पोखरा यात्राको थियो । वैठक सकिएको भोलिपल्ट हामी पोखरा फर्कने भएका थियौं । पोखरासम्मको भाडा १५ देखि २० रुपैंया जति हुँदो हो । म संग भएको पैसाले मैले पहिला गएर दुवैजनालाई रात्रीवसको टिकट काटें । भोटाहिटि तिर गएर निरन्जन गोविन्द वैद्यको पसलबाट केही पुस्तकहरु किनें । मसंग अब १५ रुपैंया बाँकी रहन गयो ।

हामीले रत्नपार्कमा अञ्चलाधिश कार्यालय अगाडी अहिलेको शान्ती बाटिकामा रहेको रिमझिम भोजनालयमा गएर दाल रोटी र भात गरेर १३ रुपंैयामा खाना खायौं । अब मसंग बाँकी बच्यो रु २ । हामी बस चढेर पोखरा तिर लाग्यौं । 

मलाई त्यतिवेलासम्म चिसो हुँदा पाइण्ट भित्र टउजर लगाइन्छ भन्ने पनि थाहा थिएन, थर्मकोटको बारे सुनेको पनि थिइन, जलजलामा बस्दा अमात्य सरले लगाएको देखेर अनौठो मानेको थिएँ । दाइले भरखर लगाएको एउटा एलटि जकेट थियो । त्यही लगाएर आएको थिएँ । रात्रीबस चढेपछि मलाई चिसोले अठ्याँउदै लग्यो । चिसो सिरेटो बस भित्र पस्थ्यो । मेरो मुखबाट ह्वालह्वाली पानी आउने, कान चौपटसंग दुख्ने भयो । निकै सास्तीले मुग्लिन पुगियो । त्यहाँ पुगेपछि चिया खाएर जिउ तताउन खोजियो । मोहर कप चिया पिउँदा थप एक रुपैंया सकियो । विहान ५ बजेतिर पोखरा बसपार्क ओर्लेपछि मैले चिसो भगाउन चिया पिउँ भनेर रामचन्द्रसरलाई भनें । वहाँले हुन्न हुन्न भन्दै मलाई हिँडेर गेहेन्द्र सरकाहाँ जाउँ र चिया पिउ भन्नु भयो । हामी चिसोमा हिँडेरै गैह्रा पाटनस्थित गेहेन्द्र कोइराला सरको घरमा पुग्यौं । प्रहरी कार्यालय सामून्ने रहेको यो घर पार्टीको शेल्टर पनि थियो । हामी पुग्दा घरमा मान्छेहरु उठ्ने तरखरमा मात्र हुनुहुन्थ्यो । एकछिन बस्यौं । कोठामा बस्दा चिसोको आक्रमण कम भयो । चिया पिएपछि थोरै स्फुर्ति पनि आयो । अनी हामी बगरसम्म हिँडेर पुग्यौं । मसंग घरसम्म जाने खर्चका रुपमा १ रुपैंया पनि बच्यो । 

 


Thursday, April 7, 2022

अग्नी शिखा सम्मान ग्रहण गर्दा

 




(गत फागुन २७ गते प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गरिएको थियो । उक्त महाधिवेशनका समयमा हामी केही लेखक तथा पत्रकारलाई चौतारीले विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय पहिले नै गरेको थियो । प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले हामीलाइ सम्मान (सम्मान हो या पुरस्कार भन्ने चैं मैेले विर्सें) प्रदान गर्नुभएको थियो । 

उक्त कार्यक्रममा मैले पनि केही बोल्ने समय पाउँला कि भनेर कार्यक्रमको दुइदिन  पहिले नै चौतारीका अध्यक्ष गणेश जिलाई सोधेको थिएँ । वहाँले तपाईलाई सम्मानित हुनेहरुका तर्फबाट पाँच मिनट बोल्ने समय मिल्छ भन्नु भयो । मैले पनि उतै बोल्न भन्दा केही लेखेर लानु र पढ्नु ठिक होला भन्ने ठानेर सोही दिन विहान एउटा छोटो मन्तव्य जस्तो लेखेर लगेको थिएँ । मलाई मादी गाउँपालिकाको कार्यक्रममा पुग्नु पर्ने भएकोले हतारमा थिएँ । सम्मानित भइसके पछि मैले उद््घोषक राजेश राइलाई मैले बोल्ने समय छ कि भनेर सोधेको थिएँ । वहाँले नेताहरु नै धेरै हुनुहुन्छ, तपाईलाई समय मिलाउन सकिएला जस्तो छैन भन्नु भयो । यति भएपछि कमरेड ओलीले बोल्दै गर्दा म पछाडीबाटै निस्केर याङ्जाकोटतिर हिँडे । पछि मलाई बोल्न भनेर खबर त गयोे तर ढिलो भइसकेको थियो । सो दिन पढ्न लगेको यो आलेख पाठकहरुसम्म पुगेकै राम्रो भन्ने लागेर ब्लगमा राखिएको छ ।)

गत पुष महिनाको आखिरीतिर घरमा यसै अलमलमा परेर बसिरहेको कुनै दिउसो प्रेस चौतारी नेपालका अध्यक्ष गणेसजिले अग्नीशिखा सम्मानका लागि मेरो स्विकृति माग्न फोन गर्नुभयो । प्रस्ताव अप्रत्यासित थियो । मलाई त अग्निशिखाका नाममा कुनै सम्मान या पुरस्कार छ भन्ने पनि सम्झना थिएन । एकाध मिनेट जति गणेश जि संग कुरा भए तर मेरो मनमा त्यही विचमा अनेक कुरा खेल्न थाले । लिनु नलिनु भन्ने दोधार पनि उत्पन्न भयो । म अलिकति पार्टी गतिविधिमा सामेल हुन थलेपछि मात्र यस्तो पुरस्कारको लागि योग्य देखिएको होला भनेर आफै हासेँ पनि । गणेशले पुरष्कृत गर्ने प्रस्ताव राख्दा मेरो मनमा ’पार्टी राजनीतिमा हैन तेरो स्थान लेखन र पत्रकारिता मै हो’ भनेर थान्को लाउन खोज्या पो हो कि भन्ने षडयन्त्रको सिद्धान्त प्रवेश गरेको थियो एकछिन । 

अनि सम्झें अग्नीजिको नाम । अग्नीलाई पढ्न थालेदेखि वहाँप्रति मनमा एकप्रकारको श्रद्धा थियो । मृत्युभन्दा केही घण्टा अघिसम्म कमलपोखरीस्थित हामीेले काम गर्ने कारखानाको छतमा उस्तै शान्त, गम्भिर र तर्कशिल रुपमा हामीसंग कुरा गरिरहेका थिए । माझी र चोर औंलाको विचमा सुर्य चुरोट च्यापेर फुसफुस धुवाँ उडाउँदै उनले आफ्नो लेखनका विषयमा कुरा गरेका थिए । सज्जन र भलाद्मी तिनले पार्टीका लागि भनेर पेन्सन पाक्नु केही महिना अघि मात्र स्थायी जागिर छाडेका थिए । एकप्रकारले अघोषित पुर्णकालिन कार्यकर्ता थिए पार्टीका । एकजना क्रान्तीकारी थिए, सच्चा कम्युनिष्ट थिए । विश्वभरका क्रान्तीकारी युवा युवतीका जीवनी र आनदोलनका अनेक पाटाबारे खोजी खोजी लेख्थे र हामी पाठकहरुलाई परिचित गराउँथे । अचानक उनको मृत्युको खबर सुनेर स्तब्ध हुनेमा म पनि थिएँ । भोलीपल्ट आर्यघाटमा वहाँको छोराले मेरो बाबुको शवमाथि पार्टीको झण्डा नराख्नु भन्दै रोक्न बल गरेको सम्झें । त्यसले पार्टीमा योगदानहरुको मुल्य हुदैन भन्ने मान्यतालाई बल पुग्ने एकप्रकारको विद्रोह र असन्तुष्टिको विम्व देखाएको थियो । वहाँको नाममा राखिएको पुरस्कार, सम्झेर सम्मान गर्न खोज्ने नयाँ पुस्ताको प्रस्ताव । सम्मान अस्विकार गर्नु अग्नीजिका प्रति पनि अपमान जस्तो हुन्थ्यो । दिनेको पनि र आफ्नै पनि अपमान होला भन्ने लाग्यो । 

यस अर्थमा पनि अग्नि शिखा पुरस्कार (सम्मान !) का लागि योग्य सम्झेकोमा प्रेस चौतारिलाई म धन्यवाद दिन चाहन्छु ।

पुरस्कार सत्ता हुनेले या धन हुनेले दिन्छन् । एमाले एकप्रकारको सत्ता हो । पुरस्कारको अर्थ हुन्छ् पाउने मान्छे आफ्नो हो भन्ने स्थापित गर्नु या उसलाई पुरस्कार दिनेका पक्षमा नैतिक बन्धनमा राख्नु । म आफ्नो चेतनाले अर्थराजनीतिमा विद्यमान विभेदहरु महशुस गर्न थाले देखि सत्ताको विरुद्ध छु । आफैले मत दिएर, प्रचार गरेर जीताउन सघाएको सरकार भएपनि आलोचना गर्छु । सत्तासंग एकप्रकारको दुरी राख्न आवस्यक जस्तो ठान्छु । केही वर्ष पहिले मेरो पुस्तक ब्रिटिश साम्राज्यका नेपाली महोरका लागि दिइएको किराँत एकेडेमी पुरस्कार प्रदान गर्न आउनु भएका नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डलाई मैले भनेको थिएँ तपाई सरकारमा हुँदा मट्याङ्राले हानुहानु झैं लाग्छ, प्रतिपक्षमा हुँदा सहयोग गरुँ गरुँ लाग्छ । यता कमरेड केपी ओली पनि अहिले प्रतिपक्षमा हुनुहुन्छ । एमाले प्रतिपक्षमा छ । म त प्रतिपक्षकै भइहालें । यस्तोमा पुरस्कार लिनु त्यति नराम्रो हुदैन भन्ने लाग्यो । वहाँ प्रधानमन्त्री हुनुभएकै समयमा गणेशले प्रस्ताव गरेको भए सम्भवतः मलाई यो पुरस्कार स्विकार गर्न मुश्किल पर्ने थियो । यस अघि सरकारले दिएको जनसेवाश्री पदक अस्विकार गरेकै हो । ठिक बेठिक जे जस्तो भएपनि म यस्तै छु । हामी यस्तै त छौं ब्रो ! 

प्रेस चौतारीका साथीहरु, 

राजनीतिक नेताहरुलाई त एउटा निर्वाचन देखि अर्को निर्वाचनसम्म केही नारा र केही वाचा कसमले टिकाइरहन सक्छ । चाहिए माक्र्सको नाम लिन्छन, गान्धी या बुद्धको नाम लिन्छन्,  कहिले रहिम भनेर राजनीति बचाउँछन् कहिले राम भनेर शक्ति आर्जन गर्छन । कहिले सिंगापुर बनाउन भन्छन कहिले स्विजरल्याण्ड बनाउँला भनेर पनि तिनको जीवन चल्छ । कहिले पार्टी एकता गरेर राजनीति टिकाउँछन् कहिले विभाजन गरेर शक्ति आर्जन गर्छन । केही नभए देशी विदेशी प्रतिक्रियावादीले यसो गरे उसो गरे भन्दा पनि हुन्छ । तर पत्रकारका रुपमा तपाईको व्यक्तित्व निर्माण गर्न भने मेहनत चाहिन्छ । भ्रम छरेर हुँदैन । म चौतारीमा आवद्ध पत्रकारका पत्रिका के निस्कन्छन् भन्नेमा कम जानकारी राख्छु । गणेस जिको अनलाईन पोर्टल छ भन्ने थाहा छ तर नाम विर्सें । अरु अरु नेताका पनि होलान । मुश्किल के छ भने तपाई पहिले पत्रकार भएर नेता भएको हो या नेता पत्रकार हो भन्ने द्धिविधामा म जहिले पनि पर्छु । 


यो लेखिरहँदा बाहिर फेवातालको पानी र त्यस माथिको आकास दुवै घुर्मैैलो घुर्मैलो देखिएको छ । अगाडी चौरमा काग र मान्छे आफ्ना आफना धुनमा यता उता गरिरहेका छन् । चाँपका केही अग्ला रुख विना उत्साह उभिइरहेका छन् । पर आरुवखडामा नयाँ पालुवा पलाएर वसन्तको स्वागत गरिरहेको छ । माथी आकासमा केही मानिसहरु चिलले कावा खाएझैं प्याराग्लाइडिङको आनन्द लिइरहेका छन् । र म हाम्रो विगत सम्झिरहेको छु । हामीले विगारेको संस्कृति र हामीलाई विगार्दै लगेको संस्कृतिका कुरा मनमा खेलिरहेका छन् । 

अस्ती मात्र एकजना स्थानीय युवासंग अर्को एउटा साथिले कृष्णराज वर्माका बारेमा थाहा छ कि भनेर सोधेका थिए । थाहा पाउनु पर्ने हैसीयत बनाइसकेका जनसंगठनको केन्द्रीय नेतृत्वमा पुगेका ती युवाले नाम त सुनेको हो उनका बारेमा भन्न चाँही सक्दिन भन्ने जावाफ दिएका थिए । (कृष्णराज वर्मा नेपालका पुराना कम्युनिष्ट नेता हुनुहुन्थ्यो । वहाँको निधनसंगै एउटा समय र विचारले पनि विसौनी भेटेको छ । वहाँप्रति म हार्दिक श्रद्धान्जली दिन्छु ।)

उक्त सवाल जवाफले हाम्रो आन्दोलनमा हुर्कदै गरेको नेतृत्वका सिमाहरु बताउँछ । कुनै पनि घटनाको ऐतिहासिकता हुन्छ । आजको एमाले बनेको अहिलेको पुस्ताको सक्रियताले मात्र होइन । यसको पनि ऐतिहासिकता छ । कुनै दिन यो इतिहासको कडि टुट्यो भने एमाले पनि रहँदैन । त्यसैले पनि चौतारीका साथिहरुलाई आत्मचिन्तन र अध्ययन तिर लाग्न म आग्रह गर्छु ।

एउटा कुरा, चौतारीमा सक्रिय पत्रकारहरुको पत्रकारिता कमजोर रहेको पक्का हो । पत्रकारितामा फेक या काल्पनीक समाचार र सुचनाको खेती गरेर शक्ति आर्जन हुन्न । अस्थायी रुपमा तपाईले सहयोग गरेको पार्टीलाई सहयोग होला दिर्घकालिन हुँदैन ।  मुल कुरा तथ्यमा आधारित सामाचार विचार लेख्छ कि लेख्दैन, विरोधीको आलोचनाका लागि पनि र आफ्नो पक्षको समर्थनका लागि पनि षडयन्त्रका सिद्धान्तको पछि लाग्छ कि तथ्य, ऐतिहासिकता, विचारको पक्षधरताका आधारमा आफ्ना करा राख्छ भन्ने हेरिन्छ । चौतारीका पत्रकारले जति सत्य र तथ्यका आधारमा आफ्नो अलग पहिचान बनाउँछन्, जति उनीहरु समाजमा सुनिने र पढिने बन्छन्, विरोधीहरुलाई जति तर्कले जित्न खोज्छन् त्यती तपाई संलग्न दलको प्रचार बलियो हुन्छ । तपाई एमाले हो र एमालेको पक्षमा जनमत बनाउन चाहनुहुन्छ भने एमालेको जस्तो सुकै निर्णयको पनि बचाउ गरिरहन पर्दैन । आलोचना गर्न डराउन पनि पर्दैन । आलोचना र विरोध भनेका फरक कुरा हुन भन्ने कुरा पार्टीले पनि बुझ्नुपर्छ पत्रकारले पनि । तपाईहरुको अलग पहिचान सहितको सामाजिक व्यक्तित्व बन्यो भने र त्यस्तो व्यक्तित्व सहित चौतारीमा लाग्नु भयो भने मात्रै चौतारीको प्रतिष्ठा बढ्छ । हल्ला गरेर, चर्को बोलेर, धेरै जना जम्मा गरेर मात्र संगठन बलियो बन्दैन । एउटा चुनाव जित्दैमा जीवन सकिदैन । लगातार मानिसहरुको विचार निर्माणमा काम गर्ने सामाजिक इञ्जिनीयरिंगको कार्य पनि हो लेखन या पत्रकारिता । सुचना उही भएपनि, तथ्य उही भएपनि त्यसका अर्थहरु फरक हुन्छन् राजनीतिमा । त्यहि फरक केलाउने हो र आफ्नो पक्षमा तर्क निर्माण गर्ने हो । 

काँग्रेस, एमाले, माओवादी, समाजवादी कसैको आलोचना गर्नका लागि गलत या फेक कुरा नै चाहिँदैन । ती पार्टीहरुको जीवन र इतिहासमा वग्रेल्ती कमजोरीहरु छन् त्यसैलाई समाते पुग्छ । एमालेको समर्थन गर्न या त्यसको पक्षमा जनमत निर्माण गर्नका लागि पनि कुनै काल्पनीक कुराको हल्ला गर्नुपर्दैन । यसले गरेका राम्रा काम मात्र खोजेर व्यवस्थित प्रचार गर्दा पनि पुग्छ । मलाई चैं चौतारीको पहिलो काम नै आफु आवद्ध सदस्यहरुलाई देशको राजनीति, इतिहास, यसको भू–राजनीतिक चुनौती, अर्थराजनीतिक अवस्था, ऐतिहासिक भौतिकवाद पढाउनु हो भन्ने लाग्छ । 

आजकल एमालेका पत्रकारको रिपोर्ट र काँग्रेसका पत्रकारको रिपोर्टमा कुनै भिन्नता देखिन्न । काँग्रेसलाई समाज बदल्नु छैन भनेर मान्ने हो भने एमालेवाला पत्रकारले पनि काँग्रेसकै जस्तो विचार पस्कंदा उसलाई लाई फाइदा पुग्छ । जबज या माक्र्सवादलाई स्विकार गर्नेहरुको कुनै घटना या सन्दर्भमा आउने रिपोर्ट या टिप्पणी र उदारवादलाई आधार मान्नेको रिपोर्ट या विचार उस्तै आउँदा उदारवादी पक्षलाई सहयोग पुग्छ । किन भने हाम्रो समाज र अर्थव्यबस्था विस्व अर्थतन्त्रकै एउटा हिस्सा हो, विस्व समाजकै एउटा हिस्सा हो । अहिलेको विश्व व्यबस्था उदारवादका नाममा, लोकतन्त्रका नाममा अमेरिकी दृष्टिकोण थोपरिएको व्यबस्था हो । विश्वभर हुने लडाई, विश्वभरका देशहरुमा लागु गरिने नवउदारवादी आर्थिक कार्यक्रम, त्यस्तो कार्यक्रमका कारण बढ्दै गएको धनि र गरिव विचको खाडल, वृत्तमा पर्ने देशहरुको दुर्दशा सबैमा यही विश्व व्यवस्था जिम्मेवार छ । या तपाई यस्तो विश्व व्यबस्थाको पक्षमा लाग्न सक्नुहुन्छ या विरुद्धमा । मलाई माक्र्सवादले पनि र जबजले पनि यस्तो विश्व व्यबस्था ठिक होइन बदल्नु पर्छ भनेको छ भन्नेमा विश्वास छ । तपाईहरु आफुलाइ जबजवादी भन्नुहुन्छ, माक्र्सवादी भन्नुहुन्छ भने त वर्तमान विश्व व्यवस्थाको विरोधमा उभिनु पर्ने हुन्छ । भारतमा संसदीय लोकतन्त्र छ, तर त्यो क्रमशः फासिवादतिर जाँदै गरेको छ । अमेरिका अहिले भारतीय लोकतन्त्रको लक्षिणपन्थीकरणलाई भरथेग गर्ने सबैभन्दा ठुलो शक्ति हो । तपाईले संसदीय लोकतन्त्र र भारतमा पन्पदो फासिवादका विच फरक छुट्याउनु भएन भने प्रकारान्तरले नेपालमा पनि दक्षिणपन्थी राजनीतिलाई प्रोत्साहित गर्ने पंक्तिमा पर्नुहुनेछ । अर्थात तपाई माक्र्सवादी पनि भन्ने र भारतीय सत्तारुढ दलको दक्षिणपन्थी बाटोलाई पनि ठिक मान्ने एकैपटक हुनसक्नु हुन्न ।

काँग्रेसहरु वर्तमान विश्व प्रणालीलाई जोगाउन चाहन्छन् । यसबारेमा म तपाईहरुलाई गत मंसिरमा सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनका समयमा महामन्त्रीका उमेद्वार गगन थापाजिले पेश गर्नुभएको राजनीतिक प्रस्ताव हेर्न अनुरोध गर्छु । त्यो प्रस्ताव नेपाली काँग्रेसले विपिको समय पछि अघि सारेको सबैभन्दा प्रष्ट बैचारिक अवधारणा हो । र त्यो सबैखाले समाजवादी बाटोको विपक्षमा उभिएको उदारवादी विचार हो ।  तपाईले यदि आफुलाई उदारवादी हैन भनिरहनु भएको हो, आफुलाई जबजबादी भन्नु भएको हो भने उक्त विचार बोक्नेसंग समान धारणा बनाएर पत्रकारिता गर्न सक्नु हुन्न । मैले चुनावमा गरिने होहल्लाको कुरा गरेको होइन, वैचारिक संघर्षको कुरा गरेको हो । हैन भने विश्व वैंक या अन्तराष्ट्रिय श्रम सम्बन्धका विषयमा कलम चलाउँदा, नेपालका किसान र श्रमिकका बारेमा समाचार बनाउँदा प्रेस युनीयनवाला पत्रकार र चौतारीका सदस्यहरुको एउटै अर्थ बोकेको रिपोर्ट आउँछ भने त्यसमा गडबड हुन्छ नै । 

यति चैं पत्रकारले बुझे भने चौतारिको एउटा पहिचान बन्न सक्छ । चौतारिका पत्रकारलाई एमाले या उसको समर्थकले मात्र पत्रकार मानेर हुन्न । समाजले चौतारीका पत्रकारका कुरा सुन्न थाल्यो भने, उनीहरुको व्यक्तित्वबाट प्रभावित भयो भने, पार्टी वृत्त बाहिरबाट चौतारीका पत्रकारलाई विश्वासका आँखाले हेर्न थालियो भने चौतारीको सदस्य संख्या घटेर पनि केही हुन्न । 

लौ त साथिहरु, अर्ति धेरै भयो । यो सम्मानका लागि प्रेस चौतारीप्रति आभार प्रकट गर्छु । सम्मान प्रदान गर्नुभएकोमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आदरणीय केपी ओलीजिलाई धन्यवाद ।  साथी अग्नी शिखाप्रति हार्दिक श्रद्धान्जली ।

फागुन २७, २०७८


Sunday, April 3, 2022

अलविदा लिलाधर दाई



यो वर्ष हाम्रो गाउँले आफ्ना महत्वपूर्ण अभिभावकहरु गुमायो । यस वर्षको आरम्भमा हाम्रो परिवारका अभिभावक खिमलाल सुवेदी दाई वित्नु भयो । पोखराको नारायणस्थानमा आएर संस्कृत अध्ययन आरम्भ गरेपनि पारिवारिक कारणले पढाइ पुरा गर्न नपाउनु भएका खिमलाल दाई शिक्षाप्रेमी हुनुुहुन्थ्यो । आरम्भिक वर्षमा शिक्षकका रुपमा सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका खिमलाल दाईले पछिल्ले उमेर लेखापढी पेशामा रहेर विताउनु भएको थियो । रोगले च्याप्दै लगेर गाउँ आउन जान नसक्ने अवस्था नआउञ्जेल गाउँको अगुवाइ गर्नुभयो । विशेषगरी जनकल्याण मावी मकैखोलाको स्थापना र प्रगतिमा वहाँको योगदान सम्मानयोग्य छ । संस्कृत काव्य र पूर्विया दर्शनका मामिलामा गाउँमा कसैलाई ज्ञान थियो भने त्यो खिमलाल दाइलाई मात्र थियो । सबैको भलो चाहने, आफ्नो संस्कृती र कुल मर्यादाको निरन्तरता चाहने खिमलाल दाई लामो समय देखि विभिन्न रोगहरुसंग जुध्दै आउनु भएको थियो । ८४ पुजा गरेको ६ महिनामै वित्नु भयो । कोरोनाका कारण पुजामा पनि र मृत्यु संस्कारमा पनि आउन सकिएन, सँधै थकथक लागिरहनेछ । मैले कुल परम्परा विपरित क्षेत्री परिवारमा वैवाहिक सम्बन्ध राखेकोमा सुरुमा असन्तुष्ट भएपनि वहाँले परिवारका विच सहज र हार्दिकतापूर्ण सम्बन्ध रहोस भनेर संधै सकारात्मक भूमिका खेल्नुभएको थियो । 

जनकल्याण मावीमा २० वर्षसम्म प्रअका रुपमा काम गरेर हामीलाई शिक्षाको उज्यालोतिर डोर्याउन र मकैखोलाको मावीलाई त्यसवरपरको केन्द्रका रुपमा विकास गर्न स्थानीय समाजसेवीहरुसंग काँध मिलाएर हिँडने हेडमाष्टरका रुपमा परिचित राखीका रामचन्द्र ढुंगाना अर्का अभिभावक हुनुहुन्थ्यो ।संयोगले नै भनौं भाई उपेन्द्रको योजनामा मृत्युभन्दा २ साता अघि मात्र घरमा पुगेर भेटेको थिएँ । हामीलाई भेटेर वहाँको अनुहारमा एउटा चमक आएको थियो । खुशी हुनुभयो र पहिलेका कुराहरु गर्नुभयो । शिथिल र थकित देखिनुहुन्थ्यो, सर पनि गत महिना वित्नु भयो । टाढैबाट हाम्रो उन्नती र प्रगतिको कामना गरिरहेका यी अभिभावकहरुको अभाव हामीलाई खट्कीरहने छ ।

यही चैत महिनाको १३ गते हाम्रा अर्का अभिभावक लिलाधर सुवेदी संधैका लागि विदा हुनुभयो । ८५ वर्षका लिलाधर सुवेदी केही महिना देखि विस्तारै कमजोर बन्दै जानु भएको थियो । पछिल्लो समय दुइपटक भेट्न जाँदा वहाँ यति छिटै वित्नुहोलाजस्तो चैं लागेको थिएन । म वहाँसंग गाउँका कतिपय परम्परा, नाता सम्बन्ध, पुर्खाहरुका सम्बन्धमा केही नोट गर्ने सोच्दै थिएँ । आफैले समय व्यवस्थापन नगर्दा पछुताउनु बाहेक मसंग केही रहेन ।

१९९४ मा जन्मेका लिलाधर दाइका बा त्रिलोचन वहाँ १६ वर्ष पुग्दा नपुग्दै वित्नु भएको थियो । त्यसपछि आफ्ना दुइवटा बहिनि र पिताको मृत्युपछि जन्मेका एकजना भाइसहितको अभिभावक भएर किसानका रुपमा जीवन अघि बढाउनु भएको थियो । केही नेपाली साहित्य शिखरनाथ भाष्य, संस्कृतको देविभागवत, लेखनाथ पौडेल (वहाँका आमापट्टिका ठुलाबा, मेरा हजुरबा) का केही साहित्यीक रचनाको पनि अध्ययन गर्नुभएको थियो । एकपटक पढेका कुरा सम्झने र कण्ठस्थ भन्न सक्ने खुबी थियो । थरगोत्र प्रवरावली कण्ठस्थ थियो । आफ्नो बारेमा बनाएको श्लोक सुनाउनुुुहुन्थ्यो ः मेरो नाउँ त खास रुद्रमणी हो भन्छन लिलाधर सबै । विहेमा दुलाहा पट्टी या दुलही पट्टीबाट श्लोकमा सम्वाद गर्न अघि सर्नु हुन्थ्यो । मैले दुइपटक त्यस्तो श्लोक सम्बाद सुन्ने अवसर पाएको थिएँ । 

वहाँको विहे मेरी आमाका आफ्नै माइलाबाकी छोरी बहिनि अर्थात हाम्री सानिमासंग भएको थियो । हामीले जान्ने भएपछि हाम्रो परेली गोकर्ण स्यानाबा देवघाट झरेपछि लिलाधर दाइसंग मात्रै भयो । लामो समय परेली र आउजाउ हुँदा हामीलाई सबैभन्दा निकटका दाजुजस्तो लाग्थ्यो । पछि मात्र थाह भयो हामी चारपुस्ते रहेछौं हाम्रा हजुरबाका बाउहरु दाजुभाइ रहेछन् । कृषिकर्ममा लिप्त हुनुहुन्थ्यो । भैंसी मोटाघाटा हुन्थे । दुहुनु संधै भइरहन्थ्यो । भैंसी र खेतीपातीका कारण घुम्न फिर्न नपाएको गुनासो संधै हुन्थ्यो । अरुको भन्दा छिटो खेती लागाउन, गोडमेल गर्न, खनजोत गर्न संधै हतार गर्नुहुन्थ्यो । मौका पाउँदा यता उता घुम्न निस्किहाल्ने बानी थियो । परिवारका प्रतिको जीम्मेवारी जहिले पनि अरु काम भन्दा प्राथमिकतामा राख्नुहुन्थ्यो ।

देश दुनियाको खैखबर राख्ने, रेडियोमा सुनेका समाचार बुझ्ने र त्यसबारे धारणा बनाउने, अरुलाई सुनाउँदै हिँड्ने । कुनै कुरामा विश्वास गरेपछि एकोहोरो लाग्ने बानी थियो । मैले मेरो उपन्यास आधा जुन मा रहेको लाउरे पात्रको मुख्य चरित्र लिलाधार दाईबाटै लिएको हो । वहाँलाई राम्ररी चिन्ने र उपन्यास पढ्नेले लाउरे पात्रमा लिलाधार दाईको छाप पाउँछ । 

वहाँका चार भाई छोरा र एउटी छोरी जन्मेका थिए । भाई आनन्द र बहिनी चन्द्रकला मात्र अहिले बाँकी छन् । देवी भाइलाई ७ वर्षको भएपछि २०३३ सालमा स्कुलबाट फर्कदा साथिहरुसंग पौडि खेल्न पसेको बेला बुम्ले खोलाले बगायो । खुब राम्रो र चञ्चले थियो । त्यसपछि जन्मेका दुइ भाइ पनि सानो उमेरमा विते । परिवारमा निरन्तर शोक र सन्तापको स्थिती बनिरहे ।

२०४२ मा आनन्द आइए पढ्न पृथ्वी नारायण क्याम्पसमा भर्ना भए । छिटै स्ववियु सदस्य बनाइए र पक्राउ खाइहाले । २ वर्ष जति कलिलै उमेरमा जेल बसे । तिनभाई छोरा गुमाएर रहेको एउटा छोरो कलिलैमा जेल परेपछि राजनीतिक रुपमा कम सचेत परिवारका अभिभावकलाई पर्ने पिर र चिन्ताको के हिसाब हुनु ? त्यसमाथि जोरीपारीका बचन अनेक हुने नै भए । तैपनि वहाँहरुले त्यसलाई सहन गर्नुभयो ।

२०४३ को आखिरिमा भएको गाउँ पञ्चायको चुनावमा मैले नै प्रेरित गरेर लिलाधर दाइलाई नेकपा मालेको योजनामा जनपक्षीय उमेद्वारका रुपमा उपप्रधानपञ्चमा खडा हुन मनाएँ । स्थानीय निर्वाचनका दाउपेचमा म पोख्त भइसकेकै थिइन । थोरै मतले वहाँ पराजित हुनुभयो । त्यसपछि वहाँ सँधै नेकपा माले र एमालेको पक्षमा मतदाता र शुभचिन्तकका रुपमा सक्रिय रहनु भयो । एमालेले वहाँलाई पार्टी सदस्यता दिएको रहेनछ अहिलेसम्म । मलाई मेरै आमाको बारेमा पनि एउटा अलिनो महशुस हुन्छ कि वहाँले पार्टीका नेता कार्यकर्तालाई शेल्टर दिएर, खाना दिएर, भाँडा माझैर, सम्मान र माया दिएर सहयोग गर्दा, पार्टीका पक्षमा, आन्दोलनका पक्षमा श्लोक सुनाएर प्रचार गर्दा पनि कम्युनिष्ट पार्टीको सदस्यता दिइएको रहेनछ । 

०५४ सालको गविस निर्वाचनमा भाइ आनन्द (यहाँ लिलाधरलाई दाई भन्ने मेरो बा तिरको पुस्ताको नाता, आनन्दलाई भाइ भन्ने चैं आमाहरुतिरको नाताले) गाविस अध्यक्षमा अत्यधिक मत ल्याएर विजयी भए । सम्भवतः लिलाधर दाई र भगवती सानिमाको जीवनमा सबैभन्दा खुशीको दिन त्यही थियो । त्यस अघी र पछि पनि त्यस्तो दिन सायदै वहाँहरुको जीवनमा आयो ।

बृद्धावस्थामा भने गाउँ र आफुले बनाएको थात थलो छाडेर छोराबुहारीसंगै बस्न खुदीतिर बसाई आउनु भयो । यहीँ रोगहरुसंग जुध्दै वहाँको जीवनलिला समाप्त भयो । वहाँको निधनले मलाई एउटा अभिभावक गुमाएको महशुस भएको छ । वितिसकेका यीनै खिमलाल दाई, पद्मध्वज दाई, लिलाधर दाई, लेखनाथ पौडेल (भलाम) रामचन्द्र ढुंगाना मेरो चेतनाका आरम्भिक दिनका झिल्काहरु हुन । वहाँहरुबाट मैले जीवनका पाइला चाल्न केही सिकेको छु, प्रेरित भएको छु । पद्मध्वज दाइलाई मैले उपन्यास आधा जुन मा रोहित काकाका रुपमा धेरैहदसम्म चित्रित गरेको छु । अब रोहित काका पछि अहिले लाउरे (लिलाधर) पनि विते । मलाई वहाँहरुको मृत्युसंगै आफ्नो पनि अलिकति मृत्यु भएको जस्तो लागेको छ ।

लिलाधर दाईलाई हार्दिक श्रद्धाञ्जली ! 

भगवती सानिमा, आनन्द, मिना, चन्द्रकला, राधिका दिदि र पितृ दाइसहित परिवारका सम्पूर्ण सदस्यमा हार्दीक समवेदना !