Thursday, May 16, 2013

बल्झिरहने बेमेल सम्बन्ध

गणतन्त्र नेपालका मुख्य प्रतिनिधि राजनीतिक दलहरू र तिनका नेताहरूमा आएको नैतिक स्खलन, आफ्ना निजी कर्मका फलहरूप्रतिको भय, आफ्नै कार्यकर्ता र जनताप्रतिको अविश्वास तथा केही बिचौलियाको सुतिखेतीलाई शक्तिका रूपमा ग्रहण गर्ने पानीमरुवा मतिको मिसमास थियो- लोकमानसिंह प्रकरण । सत्ता सञ्चालकहरूले यो बदनाम दृश्य मञ्चन गरिरहँदा एउटा पक्ष भने यसलाई जोडतोडले राष्ट्रियताको संकटका रूपमा स्थापित गर्न लागिपर्‍यो र आफ्नो दिवालियापन अर्कोपटक सतहमा ल्याइरह्यो । यसको असलियत भने सतहमा देखिएभन्दा भिन्न छ । केही वर्षपहिले 'नेपाल' साप्ताहिकका लागि अन्तर्वार्ता गर्न सम्पादक सुधीर शर्मासँगै म कमलराज रेग्मीकहाँ पुगेको थिएँ । २०१५ साले सांसद तथा कम्युनिष्ट पार्टीका तत्कालीन केन्द्रीय सदस्य रेग्मी ०१७ साल काण्डलगत्तै पक्राउ परेर पाँच वर्ष जेल बसेपछि छुटेका थिए । रेग्मीको नाम मैले गाउँर्फक राष्ट्रिय अभियानका अध्यक्षका रूपमा रेडियोमा खुब सुन्ने गरेको थिएँ । मैले नोटिसमा राखेकोचाहिं ०३६ को विद्यार्थी आन्दोलन भारतले गराएको भन्दै उनले गर्ने भाषणसम्बन्धी समाचारले पनि हो । कम्युनिष्ट पार्टीको विद्यालयमा हुर्केको हुनाले मलाई सधैं चासो रहन्थ्योः डीपी अधिकारी र कमलराज रेग्मीहरू राजाको अधिनायकवादी व्यवस्थामा किन प्रवेश गरे होलान् ? यो प्रश्न उनलाई गरियो । उनको भनाइ थियोः हामीलाई २००७ सालदेखि नै भारतको भूमिका राम्रो लागेको थिएन । संसद विघटनपछिको अवस्थामा नेपालको स्वतन्त्र अस्तित्व रक्षाका लागि राजालाई सबैभन्दा भरपर्दो शक्ति मानेर पञ्चायतमा लागियो । धेरै पछि थाहा भो, यो कदम गलत थियो ।
नेपालको सन्दर्भमा 'राष्ट्रवाद', जुन सामान्यतया भारतको विरोधको पर्यायका रूपमा बुझिने गरेको छ, तीनवटा आधारभूत पक्षसँग गाँसिएर आएको छ । पहिलो, सुगौली सन्धिको सेरोफेरोमा नेपालले बि्रटिस इन्डिया कम्पनीसँग गुमाउनुपरेको भूभाग या उससँगको युद्धमा भएको पराजय । दोस्रो, सन् १९५० मा भएको नेपाल-भारत सन्धिमा नेपाललाई भारतको सुरक्षा छातामा राखिएको स्विकारोक्ति । तेस्रोचाहिं, बलियो छिमेकीका रूपमा भारतले नेपाललाई सहयोग र सद्भावको साटो देखाउने गरेको ठूलदाइ प्रवृत्ति र नेपालको दैनिक राजनीतिमा गर्ने गरेको नग्न हस्तक्षेप । यी कुराले सर्वसाधारण नेपालीहरूबीच भारतप्रति शंका, भय र विरोधको मनोविज्ञानको लामो परम्परा रहिआएको छ । यसको नेतृत्व केही काल र समय-सन्दर्भलाई छाडेर सत्तारुढ शक्ति र बौद्धिकहरू तथा प्रतिपक्षीहरू सबैले गरिआएका छन् । शासन हत्याउन र टिकाउन राजा महेन्द्र र उनका सन्तानले यही नारालाई मुख्य हतियार बनाएका थिए । महेन्द्रभन्दा अगाडि नै, २००७ सालको क्रान्तिको बैठानका सन्दर्भमा दिल्लीमा भएको सहमतिलाई आधार बनाएर कम्युनिष्ट पार्टीले यो नारा उठाएको थियो । यसले नेपाली जनतालाई कम्युनिष्ट पार्टीको वरपर ल्याउन निकै हदसम्म सहयोग पुर्‍याएको पनि देखिन्छ । उत्तरी नाकाहरूमा भारतीय सैनिक चेकपोष्टको स्थापना, सिक्किम काण्ड, गण्डक, कोशी र टनकपुर सम्झौताका बेला यो नारा बलशाली भएर स्थापित पनि भएको हो । रेग्मीका कुराले नेपालमा वामपन्थीहरू र दरबारियाहरूको राष्ट्रियतासम्बन्धी बुझाइमा निकै हदसम्म समानता रहेकोतर्फ संकेत गर्छ । दुवै पक्षले सत्तामा नरहँदा सत्ता प्राप्तिका लागि र सत्तामा पुगेपछि त्यसमा टिकिरहन यसलाई बोक्ने गरेका छन् । तर समय क्रममा सत्ताकै लागि त्यसलाई परित्याग गरेर व्यवहारवादी बनेका या केही हदसम्म भारतीय हितहरूसँग सम्झौतासमेत गरेका देखिन्छन् ।
स्वतन्त्रता आन्दोलनकालमा भारतीय नेताहरूसँगको सम्बन्ध र सम्पर्क, संसदवादप्रतिको प्रतिबद्धता तथा बीपीको उचाइका कारणसमेत नेपाली कांग्रेसको भने भारतसँग लामो समय निकट सम्बन्ध रहेको देखिन्छ । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल र्फकने क्रममा बीपी कोइरालाले शीतयुद्धकालीन भयका कारण राजासँग राष्ट्रियताका सन्दर्भमा आफ्नो घाँटी जोडिएको भनेर उनले पनि भारतसँगको सम्बन्धमा नेपालमा व्याप्त मनोविज्ञानमा खेल्न खोजेका थिए भन्ने देखाउँछ । कांग्रेस र
भारतको निकटता गिरिजाप्रसादका पछिल्ला दिनहरूमा निकै खल्बलियो, अहिले त कांग्रेसमा भारतसँगको राजनीतिक सम्बन्ध बिचौलियाको स्तरबाट मापन गरिन्छ । तत्कालीन नेकपा मालेमा शान्ति क्षेत्रको प्रस्तावको सन्दर्भमा लामो बहस भएको थियो, राष्ट्रियतालाई हेर्ने दृष्टिकोणलाई लिएर । मालेले ०४६ सालको सुरुतिर भारतले नाकाबन्दी लगाएको समयमा प्रगतिशील (समृद्ध) राष्ट्रवाद र टाट राष्ट्रवादको परिभाषा गर्दै सानो पुस्तिका नै निकालेको थियो र पहिलोपटक आफूलाई प्रस्टसँग दरबारिया राष्ट्रवादबाट अलग्याएको थियो । मालेको समृद्ध राष्ट्रवाद महाकाली सन्धिमा पुगेर पतन भयो । महेन्द्र र दरबारको राष्ट्रवाद उनीहरूको समयमा दिनदिनै परनिर्भर हुँदै गएको नेपालको अर्थतन्त्र तथा कालापानी, सन् १९६५ को सन्धिजस्ता घटनामा पोखिएको थियो । महाकाली सन्धिपछि यो नारालाई नेकपा माओवादीले समात्यो । सुरुङ युद्धदेखि कट्वाल काण्ड तथा मालिकसँग वार्ता गर्ने प्रचण्डको भाषणसम्म आइपुग्दा यो उत्कर्षमा पुग्यो र ओह्रालो लाग्यो । यति त भन्नैपर्छ- अहिले प्रचण्डहरू ठीक ठाउँमा पुगेका छन् । तर उनीहरूलाई उही मालेले अगाडि सारेको 'समृद्ध राष्ट्रवाद'को परिभाषामा पुग्न हजार हन्डर-ठक्कर खानुपर्‍यो । हालै चीन र भारत भ्रमणका बेला आएका प्रचण्डका भनाइहरू तथा उनीहरूको महाधिवेशनमा प्रस्तुत दस्तावेजमा भारतबारे प्रयोग भएको भाषाले नेपालको राष्ट्रियता बलियो बनाउन पहिलो प्राथमिकता देशको समृद्धिलाई दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न खोजेको देखिन्छ । २०६३ को आन्दोलनका आखिरी दिनतिर भारतीय नेता करण सिंहले नेपाली जनतालाई होच्याउन खोजेको सन्दर्भ, संविधानसभाको असफलता, संघीयताको रडाको, मिर्जा दिलसाद वेगदेखि मुस्लिम लक्षित आक्रमण र हत्यामा भारतको प्रत्यक्ष संलग्नता, विमानस्थलमा मार्शल राख्न गरिने माग, बेलाबखतका सीमा अतिक्रमण तथा नेपाली जमिन डुब्नेगरी हुने बाँधहरूको निर्माण, भारतीय कम्पनीबाट नेपाली पत्रिकालाई दिइने विज्ञापनमा दूतावासको हस्तक्षेपजस्ता कुराले नेपाली मनोविज्ञानमा भारतप्रति एउटा बलशाली आशंका छ । यसमा ठूलो छिमेक भएका साना देशका जनताको मनोविज्ञान पनि थपिएर एउटा स्थायी दृष्टिकोण निर्माण भएको छ । अहिले एक पूर्वप्रशासकको अख्तियार प्रमुखमा नियुक्ति भारतको दबाबमा भएको भनेर आएको आलोचना तथा एमाले अध्यक्ष खनालको वक्तव्यपछि भारतको भूमिका चर्चामा छ । एमालेले त आगामी निर्वाचनका लागि मुख्य नाराका रूपमा भारतीय हस्तक्षेपलाई अगाडि सार्ने बताइसकेको छ (सम्भवतः कमरेड केपी ओलीको बोली नआएसम्म यसमा पार्टी सक्रिय रहनेछ) । कांग्रेस सभापति सुशील कोइराला पनि यो विरोधमा सामेल भएर अचानक राष्ट्रियता कमजोर भएकोमा चिन्ता व्यक्त गर्न थालेका छन् ।
यस कुराको एउटै महत्त्वपूर्ण पक्ष देखिन्छः राष्ट्रियता बारेका नारा र स्वार्थ उही छन्, बोक्ने पात्रहरू बद्लिएका छन् । कट्वाल प्रकरणमा भारतको हस्तक्षेप पटक्कै नदेख्ने तर लोकमान मामिलामा भारतलाई तानिरहेका नवअभियन्ताहरूको विरोधलाई नेपाली राजनीतिका पछिल्ला निर्णयहरू ऋफू अनुकूल नभएकाले आएको स्वाभाविक विरोधका रूपमा लिन सकिन्छ । तर एउटा प्रश्न भने उठ्छः यो मौसमी विरोध नेपालको दीर्घकालीन हित र रणनीतिक रक्षासँग पनि गाँसिएको छ ? यदि नेपालको दीर्घकालीन हित चाहेरै वर्तमान विरोध आएको हो भने यो स्वागतयोग्य नै हो । किनभने मेरो बुझाइमा नेपालले कुनै न कुनै विन्दुमा भारतसँग इतिहासदेखि थाँतिरहेका मुद्दाहरूको समाधान नगरी लगाउने समृद्ध राष्ट्रवादको नारा खोक्रो सावित हुनेछ । भारतसँग असमान सम्बन्ध रहुन्जेल नेपालको समृद्धितिरको यात्रा सफल हुने छैन । भारतसँग नेपालको वर्तमान सम्बन्धको सबभन्दा ठूलो बाधक सन् १९५० को नेपाल-भारत सन्धि हो । यो सन्धि झन्डै भुटान, सिक्किम र जम्मु-कस्मिरसँग त्यतिबेलाका भारतीय शासकहरूले थोपरेका सन्धिहरू समान नेपालको अहितमा छ । हिमालय पर्वतलाई आफ्नो सुरक्षा पर्खाल मान्ने भारतीय रणनीतिक दृष्टिमा आधारित यो सन्धिले नेपालको सार्वभौमिकता खुम्च्याउँछ । अहिले पनि भारतको यो दृष्टिमा कत्ति फेरबदल आएको छैन । यसलाई खारेज या परिमार्जन गरेर नयाँ सन्धि नगरेसम्म नेपालमाथि भारतको दबाब र खेल जारी रहनेछ । यसलाई सडकको नारा बनाउने या कूटनीतिक माध्यमबाट हल गर्ने, तत्कालको मुद्दा बनाउने या विस्तारै हल गर्ने भन्ने कुरा राजनीतिज्ञहरूको क्षमता र राष्ट्रिय एकतामा भरपर्ने कुरा हो । यो आधारभूत कुरामा प्रवेश नगरी गरिने भारतको विरोध मौसमी हो । माथिको कुरालाई लेखकको पूर्वाग्रहजस्तो कसैलाई लाग्छ भने बैसाख दोस्रो साता कान्तिपुरका सम्वाददाता देवेन्द्र भट्टराईले नयाँदिल्लीबाट सम्प्रेषण गरेको समाचार एकपटक फेरि हेर्न म अनुरोध गर्छु, जसमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीलाई उद्धृत गर्दै 'भारत र भुटान बीचको सम्बन्धलाई नै भारत र नेपाल बीचको आदर्श सम्बन्धको नमुनाका रूपमा भारतले लिएको' प्रस्ट पारिएको छ । भुटान भारतबाट कति स्वतन्त्र छ भन्नेबारे नेपालमा सबै जानकार छन् । अर्थात् भारतीय संस्थापन पक्ष प्रचण्डले प्रस्ताव गरेजस्तो नेपालमा चीनसँग सहकार्य गर्न तयार नभएको मात्र होइन, ऊ नेपाललाई आफ्नो छाताभित्र मात्रै रहेको देख्न चाहन्छ ।
राष्ट्रिय सुरक्षाबारे भइरहेका पछिल्ला बहसले बेवास्ता गर्ने गरेको अर्को पक्ष भारतीय सेनामा नेपालीहरूको संलग्नताले नेपालको राष्ट्रियतामा पुर्‍याउने अप्ठेरो हो । अहिले पनि भारतीय सेनामा झन्डै ४८ हजार गोर्खा सैनिकहरू छन् । झन्डै १ लाख २५ हजार भारतीय सेनाका पेन्सनरहरू छन् । तिनीहरूमार्फत नेपालको आन्तरिक अवस्थाको सूचना लगातार भारतले पाइरहन्छ । केही हदसम्म उनीहरूको 'लोयल्टी' पनि विभाजित भइरहन्छ । यसलाई नरोकेसम्म नेपालको आन्तरिक राष्ट्रिय सुरक्षाको कुरा बकवासबाहेक केही बन्दैन । यी पक्षलाई दरीमुनि घुसारेर भारतीय हस्तक्षेपको कुरा उठाउनु मौसमी फेसनबाहेक केही हुँदैन ।
नेपालको भारतसँग निर्भरताको स्तर डरलाग्दो छ । अहिले नै नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीको झन्डै ५० प्रतिशत भारतको छ । वैदेशिक व्यापारको ७० प्रतिशतजति भारतले ओगट्छ । भारतसँग मात्रै नेपालको व्यापार घाटा झन्डै ३ खर्ब छ । नेपालले अबौैर्ं डलर तिरेर भारतीय मुद्रा खरिद गर्छ । नेपालीले भित्र्याउने रेमिट्यान्समा भारतमा कमाउन जानेको उल्लेख्य हिस्सा छ । नेपालीहरूले भारतमा सस्तो श्रमिक आपूर्ति गरिरहेका छन् । भारतसँगको यो निर्भरता हटाउन नसकेसम्म नेपाली राष्ट्रियता एक प्रकारले कमजोर भने अवश्य रहन्छ ।
तर सँगसँगै यो पनि भुल्नुहुन्न कि नेपालको राष्ट्रियता सन् १९५० कोभन्दा कैयन गुणा बलियो भएको छ । यसका अन्तर्राष्ट्रिय सम्बन्धको पाटो, जनताको संगठन र एकता, आन्तरिक विकास पूर्वाधारको सञ्जाल, श्रम गर्ने मानिसहरू बीचको अन्तरक्रिया, विभिन्न क्षेत्र र जातिका नागरिकहरूको आन्तरिक अन्तरसम्बन्ध र अन्तरक्रिया यतिबेला इतिहासमै सबभन्दा बलियो छ । खाँचो छ त केवल बहकाव या क्षणिक सत्ता स्वार्थका आधारमा होइन, नेपालका दीर्घकालीन हितहरूको आधारमा भारतसँग कूटनैतिक तथा राजनीतिक सम्वादहरू गर्नु तथा भारतका रणनीतिक चासोहरूलाई सम्बोधन गरिदिनु, भारतका गुप्तचर एजेन्सीका हस्तक्षेपकारी गतिविधि तथा अपराधीहरूलाई कडाइसाथ नियन्त्रण गर्नु, राजनीतिक नेताहरूले राजनीतिक तहमै सम्वाद सम्बन्ध बनाउनु तथा नेपालको आर्थिक विकासका लागि भारत र चीन दुवैसँग मिलेर काम गर्नु । मौसमी राष्ट्रवादबाट जोगिँदै रणनीतिक सोचसाथ नेपाललाई बलियो नबनाउने हो भनेचाहिं बिचौलियाहरूले सक्छन् ।


Saturday, May 4, 2013

मे दिवसको सेरोफेरो

वैशाख १८ - 
यस पटकको मे दिवसको अघिल्लो दिन नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू निर्वाचन आयोगमा कसले एक नम्बरमा दल दर्ता गर्ने भनेर जगहँसाइ गरिरहेका थिए ।  -मानौं, एक नम्बरमा दल दर्ता गरेपछि निर्वाचनमा मत नल्याए पनि सबैभन्दा ठूलो दल बनिहालिन्छ) । उता सहरका भित्ताहरू मजदुर एकताको नारा दिँदै टाँसिएका पोष्टरले रातै भएका थिए । भित्तामा टाँसिएका पोष्टरमा ठूलो हथौडा चलाउँदै गरेको मजदुरले अबको तागत यही वर्गमा छ भनेर सन्देश दिन खोजेको बुझिन्थ्यो । उन्नाइसौं शताव्दीमा युरोप र अमेरिकाको स्वच्छन्द पुँजीवादले थोपरेको अमानवीय शोषणको विरोधमा आफ्ना अधिकारका लागि लड्दा पुँजीपतिहरूको राज्यद्वारा हत्या गरिएका श्रमिकहरूको सम्झनामा मनाइने यो दिवसमा नेपालका सबैजसो ठूला दलका मजदुर संगठनले जुलुस र सभा गरे । मजदुर संगठनका केही पेसेवर नेताहरू, जसले त्यही पेसाबाट आफ्नो वर्गोत्थान गरेका छन्, अनि  तिनीहरू आबद्ध राजनीतिक दलका नेताहरूले चाहिं आफ्नो-आफ्नो पार्टीलाई मत माग्दै मजदुरका पक्षमा मीठा र गुलिया कुराहरू गरे । अड्डा-अदालत, स्कुल-कलेज, उद्योग-कारखानामा एकदिन विदा भयो । 

पुँजी र श्रम बीचको सङ्घर्षका बेला श्रमको पक्षपोषण गर्ने आन्दोलनको यो सम्झनालाई  कर्मकाण्डीय रूपमा मनाइएको त्यही साता लोकपि्रय टेलिभिजन कार्यक्रम साझा सवालका सञ्चालक नारायण श्रेष्ठले कतारमा रहेका नेपाली श्रमिकहरू कसरी विश्वकीकृत पँुजीवादको ज्यानमारा शोषणको साङ्लोमा परेर छट्पटिएका छन् भनेर देखिनेगरी रिपोर्टिङ गरेको धेरै नेपालीले हेरेका थिए । यसै साता प्रसारित एउटा रिपोर्टमा सीएनएनका जेम्स मोन्टेगले विश्व ट्रेड युनियन महासंघका महासचिव शरन व्युरोवको टिप्पणी उद्धृत गरेका छन् । भारत, बङ्ग्लादेश लगायतका देशबाट काम गर्न लगिएका श्रमिकको अवस्थाबारे टिप्पणी गर्दै उनी भन्छन्, 'उनीहरूको अवस्था वास्तवमै दासको जस्तै छ ।' केही समय अगाडि साझा सवालमै दक्षिण कोेरियामा पुगेका वैधानिक नेपाली श्रमिकहरूको टिठलाग्दो याचना पनि देखाइएको थियो, जहाँका श्रमिकको शोषणबारे एकजना नेपालीले बनाएको वृत्तचित्र हालै पुरस्कृतसमेत भएको छ । गत सातामात्रै बङ्ग्लादेशको राजधानी ढाका नजिकैको एउटा तयारी कपडा उद्योगमा भएको आगजनीमा परेर ३ सय ५० जनाभन्दा बढी मजदुर मारिएका थिए । त्यो समाचारले खासगरी युरोप र अमेरिकामा पनि, जहाँका उपभोक्ता यी कपडा प्रयोग गर्छन्, अनि जहाँका पुँजीपतिहरू सस्तो श्रम र लागतका लागि तेस्रो विश्वका गरिबको ढाड सेकाउन यस्तो उद्योगमा लगानी गरिरहेका छन्, यस्तो उत्पादन प्रयोग गर्नु कति नैतिक काम हो भनेर प्रश्न उठेको थियो । 

यसरी यस पटकको मे दिवस सेरोफेरोमा विश्वमा पुँजी र श्रम बीचको द्वन्द्व र वर्गसङ्घर्षको अहिलेको स्वरुपबारे बहसहरू सतहमा आएका छन् । वर्षेनि लाखौं युवायुवतीहरू विश्वको अति जोखिमपूर्ण श्रम बजारमा जाने गरेको नेपालमा यस सम्बन्धमा जेजति चर्चा हुनुपर्ने हो, त्यो भने भएको देखिएन । कुल गार्हस्थ उत्पादनको २३ प्रतिशतजति विप्रेषण भित्र्याउनेगरी मजदुरहरू बाहिर पठाउने नेपालका सरकारी बौद्धिकहरूम्ाात्र होइन, गैरसरकारी र अझ 'माक्र्सवादी-लेनिनवादी' भनिने पार्टी आबद्ध बुद्धिजीवीहरूसमेत खालि भित्रिने रकमको हिसाब गर्नमा या बढीमा त्यस्तो रकमको राम्रो उपयोग नभएको गुनासो गर्नमा नै व्यस्त देखिन्छन् । बदलिँदो सन्दर्भमा वर्गसङ्घर्षको स्वरुपबारे तिनीहरू म्ाौन रहन रुचाउँछन् । यस आलेखमा त्यसको सामान्य चर्चा या विषय उठान गर्ने प्रयास गरिनेछ ।

भर्खरै मात्र दिवंगत भएकी पूर्व बि्रटिस प्रधानमन्त्री मार्गरेट थ्याचरको कार्यकालबाट सुरु भएर अहिले पनि विश्वमा राइँदाइँ मच्चाइरहेको नवउदारवादी पुँजीवादको मुख्य लक्ष्य नै युरोप र अमेरिकाका बैंकहरूमा थुपारिएको वित्तीय पुँजीलाई विश्वका अविकसित क्षेत्रसम्म पुर्‍याएर नाफा कुम्ल्याउने वातावरण बनाउनु थियो । त्यसैका लागि खोलिएका थिए, तेस्रो विश्वका लगानीका ढोकाहरू उदारीकरणका नाममा । आउटसोर्सिङ भनिने यस्तो वित्तीय लगानी सुरक्षाका लागि स्थानीय सरकारहरूलाई नीतिगत र संरचनागत परिवर्तन गर्न लगाएर आएका यी लगानीकर्ताहरू श्रम समस्यामुक्त अवस्था या मजदुर अधिकारविहीनताको सर्तमा आउँछन् । आफ्नो देशमा बलियो पूर्वाधार भएका कतिपय मुलुकले यसबाट फाइदा पनि लिए । तर नेपालजस्ता हरितन्नम देशहरूको भागमा भने त्यस्तो पुँजीको केेन्द्रीकरण भएका क्षेत्रमा अदक्ष श्रमशक्ति निर्यात गरेर आएको पैसाले सहरको मध्यम वर्गका लागि विदेशमा निर्मित उपभोग्य वस्तु खरिद गर्ने मुद्रा आपूर्ति गर्ने जिम्मा पर्‍यो । 

यस क्रममा अहिले लगभग ३० लाख नेपाली युवाहरू मलेसिया, कतार, दुबई, सउदी अरब लगायतका देश र क्षेत्रमा काम गर्छन् । यिनीहरूमध्ये ८० प्रतिशत सीप नभएका पाखुरे बलमा भरपर्नेर्हरू छन् । गाउँका व्याजे साहुदेखि सहरका दलाल र सरकारी अधिकरीसम्मलाई धूप-अक्षता चढाएर काममा पुग्ने यी श्रमिकहरूको कार्यथलोमा पुग्नु अगाडि पासपोर्ट खोसिन्छ । साहुले अनुमति नदिई अर्थात एक्जिट भिसा नदिई देश छोड्न प्रतिबन्ध छ । ट्रेड युनियन अधिकार छैन, वर्षौंसम्म तलब नदिने, काम पनि नदिने गर्दा पनि उजुरी गर्ने ठाउँ हुँदैन । घरमा आफ्ना आमाबाबु या जहान-परिवार मर्दा पनि छुट्टी मिल्दैन । उनीहरू बस्ने स्थानको हालतबारे सुन्दा उन्नाइसौं शताव्दीको बेलायतमा मजदुरहरूको अवस्थाबारे एंगेल्सले लेखेको पुस्तकमा उल्लिखित दुर्दशाको सम्झना आउँछ । खाडी मुलुकमा त यस्ता श्रमिकले मात्रै होइन, युरोपका चर्चित फुटबल खेेलाडीले समेत त्यहाँको क्लबमा आबद्ध भएपछि ठ्याक्कै दासको अवस्था झेल्नुपरेको सीएनएनको सोही रिपोर्टमा खुलाइएको छ । सम्पूर्ण रूपमा पुँजीपति वर्गको नियन्त्रणमा छ श्रम, उहिलेका दासजस्तो ।

संसारमा यसरी श्रमका लागि अस्थायी र स्थायी बसाइँ-सराइ गर्ने परम्परा पुरानै हो । अहिले दक्षिण तथा मध्यएसिया, फिलिपिन्स र इन्डोनेसिया, दक्षिण अमेरिका तथा अपि|mकन देशका यस्ता श्रमिकहरू अर्काको देशमा काम गर्न जान्छन् भने चीन, भारत र ब्राजिलजस्ता देशमा आन्तरिक बसाइँ-सराइ गरेर सहरमा काम गर्न जाने करोडौं मानिसहरू छन् । यस्ता देशमा बहुराष्ट्रिय कम्पनीहरूको लगानी भएका र्फमहरूमा त्यहाँ मजदुर संगठन खोल्ने, आन्दोलन या हड्ताल गर्ने अधिकार एकदम कम या शून्य बराबर छ । अति भएपछि हालैका वर्षहरूमा चीनका मजदुरहरू विद्रोही तवरमा नियमितजसो सडक आन्दोलनमा आउने गरेका र केही हदसम्म तिनले ज्यालामा वृद्धि र अन्य सुरक्षाका मामिलामा हक हासिल गरेका छन् । 

चीनमा यस्ता प्रदर्शन र हड्तालहरू वर्षको दस हजारभन्दा बढी दरले बढेका छन् । भारतमा जापानी लगानी रहेको मारुती मोटर उत्पादन कम्पनीमा अघिल्लो वर्ष लामो समयसम्म मजदुर आन्दोलन 

भयो । तर मजदुरले कुनै न्याय पाएनन् । गएको वर्ष दक्षिण अपि|mकाको एउटा खानीमा काम गर्ने मजदुरहरूले आन्दोलन गरे । प्रहरीले सदाझैं पुँजीको पक्षमा मजदुरमाथि गोली चलायो र एकै पटकमा दर्जनौै मजदुरहरू मारिए । बङ्ग्लादेशको हालत झन् गम्भीर छ । आफ्नै देशमा पनि त्यहाँका मजदुरहरू दास हुन मजवुर छन् । अति भएर कहिलेकाहीं सडकमा आए भने पनि तिनलाई निर्मम दमन गरिन्छ । यसरी विश्वकीकृत वित्तीय पँुजी र तिनका स्थानीय दलालका रूपमा काम गर्ने सरकारहरू या सत्तामा कब्जा गरेको दलाल पुँजीपति वर्गले श्रमिक वर्गको चरम शोषण गरेर नाफा कुम्ल्याएकोे छ । विकसित देशका उपभोक्तालाई सस्तोमा सामान उपलब्ध गराएको छ । र यो सबै नाफा र सस्तो उत्पादनको मूल्य श्रमिकहरूले भोको-नाङ्गो रहेर, जोखिम मोलेर, आफ्ना जहान-केटाकेटीबाट टाढा बसेर, दासजस्तो बेचिएर, बन्धनमा बसेर अपमान र हेपाइको आँसु पिएर चुक्ता गरिरहेको छ । 

यसरी हेर्दा मजदुर वर्गमाथि पुँजीपति वर्गले निर्मम वर्गसङ्घर्ष थोपरेको छ । त्यस्तो सङ्घर्ष पुँजीपति वर्गले राज्यका कानुनमार्फत, संसदमार्फत, राज्यका दमनकारी संयन्त्रहरूम्ाार्फत मानिसहरूको सामूहिक सौदाबाजीको अधिकार खोसेर, उनीहरूलाई आफ्नो समाज र परिवारबाट चँुडाएर थोपरिरहेको छ । अहिले युरोपको आर्थिक संकटका बेला त्यहाँका सरकारहरूले लिएका नीतिहरू हेर्दा -अष्टेरिटी योजनाहरू) पनि देखिन्छ, कसरी आर्थिक संकटको बोझ श्रमिकहरू, बेरोजगारहरू, पेन्सनमा बसेकाहरू, शिक्षक या विद्यार्थीहरूमाथि थोपरिन्छ र पुँजीपतिलाई भने कर छुट दिएर या ऋण मिनाहा गरेर पोसिन्छ । यस मामिलामा वामपन्थी या समाजवादी दल र सरकारहरूको नीति पनि पुँजीकै सेवामा बढी झुकेको देखिन्छ ।

यता श्रमजीवीहरूका भने वर्गसङ्घर्षका कुरा कमजोर पर्दै गएका छन् । पहिलो त उनीहरूलाई संगठित हुन दिइन्न । नेपालमा पनि माक्र्सवादी विद्वान बाबुराम भट्टराई प्रधानमन्त्री भएलगत्तै सरकारको मध्यस्थतामा पुँजीपतिहरूको संगठन र श्रमिक संगठनहरूका बीच ५ वर्ष हड्ताल नगर्ने सहमतिमा हस्ताक्षर गराइएको थियो । मजदुरहरूले तलब वृद्धिको माग गरेर नसताउन भन्दै औद्योगिक कार्यकलापलाई विशेष आर्थिक क्षेत्रमा सार्ने प्रयास हुनथालेको धेरै 

भयो । यता पँुजीपतिहरूका पक्षधर, खासगरी कांग्रेस र पूर्वपञ्च निकट नवउदारवादका पक्षधर बौद्धिकहरू, कथित थिंकट्याङ्कहरू र काठमाडौका सञ्चारमाध्यमहरू श्रम समस्यालाई नेपालको औद्योगिक विकासको अवरोधकका रूपमा चित्रित गर्न धम्मरधुस गरिरहन्छन् । मजदुरका समस्याले स्थान पाउँदैनन्, यात आलोचना गरिएका समाचारमात्र आउँछन् । हालै शिक्षक सेवा आयोगले १३ हजारजति पदमा गरेको विज्ञापनमा ६ लाख शिक्षित नेपाली युवायुवतीले गरेको आवेदनलाई हेर्दा श्रम बजारमा जगेडा फौजको उपस्थितिको अन्दाज लगाउन सकिन्छ । शास्त्रीय अर्थशास्त्रको मान्यताअनुसार यस्तो बेला मजदुर वर्गको मोलतोल क्षमता स्वात्तै गिर्न जान्छ र पुँजीपति वर्गको हात माथि पर्छ । जसले गर्दा वर्गसङ्घर्षमा श्रमजीवी वर्गको हात तल पर्न जान्छ । 

माक्र्सले व्याख्या गरेका दुईवटा कुरा मे दिवसको सेरोफेरोमा स्मरण गर्नु उपयुक्त हुनेछ । पहिलो कुरा- वर्गसङ्घर्ष इतिहासकोे चालक हो । अर्को हो, जति फैलिँदै गयो, उति पँुजीवादले थोरैका हातमा सम्पत्तिको केन्द्रीकरण गराउँछ र धेरैलाई भने कंगाल पार्छ । यो कुरा गतवर्ष अमेरिकामा चलेका अकुपाई वालस्टि्रट आन्दोलनका बेला चर्को चर्चामा रहेको ९९ प्रतिशतका विरुद्ध १ प्रतिशत भन्ने सन्दर्भले प्रमाणित गरेको थियो । पुँजीपति वर्गले त वर्गसङ्घर्ष थोपरेकै छ । मजदुरले के गर्ने भन्ने प्रश्नमात्र बाँकी रहन्छ । मजदुर वर्गले उत्पादकत्व वृद्धि या विकासको प्रतिफलमा उचित हिस्सेदारीको दाबी गर्नैपर्छ । यदि यस्तो दाबीलाई श्रमिक समस्या भनेर हप्काउन कोही आउँछ भने त्यसलाई पनि जमेर थप्पड हान्नुपर्छ । पँुजीवादी विकासको असमान चरित्रबारे माक्र्सका प्रस्थापनाहरूलाई अहिले पनि कसैले चुनौती दिन सक्दैन । मजदुरले मात्रै उनका शिक्षा ग्रहण गर्न आनाकानी गरेेको या श्रमजीवी वर्गका राजनीतिक दलहरूले धोका दिएको मात्रै देखिन्छ । चाहे देशभित्र होस् या देशबाहिर काम गर्न जाने होस्, वित्तीय विश्वकीकरणको सेपमा परेको श्रमिक वर्गले आन्दोलन र बलिदान नगरी आफ्नालागि कुनै गतिलो जीवन जिउने वातावरण बनाउन सक्ने छैन । ट्रेड युनियनवादको मन्दविषबाट मुक्त भएर आन्दोलन नगरे या आफ्ना-आफ्ना देशका सरकारहरूलाई दबाब नदिए अहिलेका श्रमिकहरूको काम आउने पुस्ताका पुँजीपति वर्गका लागि काम गरिदिन हात पसार्नमात्र योग्य हुने सन्तान जन्माएर हुर्काउने र बुढेसकालमा झोक्राउँदै आपmना नातिनातिनाहरूसँंग आफूले पुँजीपति वर्गको सेवा गर्दा पाएका हन्डरको कथा सुनाउँदैै काल पर्खने बाहेक केही रहने छैन ।

प्रकाशित मिति: २०७० वैशाख १९ ०९:२८
kantipur daily