Tuesday, January 19, 2016

घरघरका यी कथाहरु



नेपाली समाजको यो एउटा असजीलो पाटोबारे कुरा गर्ने जमर्को गर्दा पनि म उती विश्वस्त भएको छैन कि मैले विषयलाई ठिक ढंगले राख्न सक्नेछु । तर म घरघरमा र गाउँगाउँम जे देख्दै छु त्यसबारे नलेखि पनि मेरो मन मानेको छैन । गएको २५ बर्षमा नेपालकोे आर्थिक अवस्थामा तिव्र परिवर्तन आएको छ । हामी विश्वका गरिव देशहरुमा पनि तन्नम भएको त साँचो हो तर यसको अर्थ समाज परिवर्तन नै भएको छैन भन्ने होईन । सुदुर हिमालदेखि मधेशसम्म र शहर देखि गाउँसम्म घरघरको अर्थतन्त्रमा परम्परागत आधारहरु खस्केका छन् । नयाँ आधारहरु तय भएका छन् । मानिसहरुको पेशामा आएको परिवर्तन, लाउने खाने र उपभोग गर्ने कुरामा आएको परिवर्तनसंगै पहिलेका सामाजीक पारिवारिक मुल्यप्रणालीमा पनि परिवर्तन आएको छ । सामन्तवादी या अर्ध सामन्ती उत्पादनसम्वन्ध भत्केको छ र समाज पुँजीवादी उप्तदान सम्वन्धतिर धकेलीएको छ । निर्वाहमुखि खेतीबाट निसासिएका युवायुवतीहरु मैका पाउनासाथ पुँजावादी उत्पादनतरि गाँसीन वेतोडसंग कुदिरहेका छन् । त्यसले परिवारहरुको परम्पारगत संरचना पनि भत्कीन थालेको छ । तर आर्थिक सामाजीक संरचनामा आईरहेको परिवर्तनलाई ब्यबस्थापन गर्न हामीसंग जे जस्ता संरचना र पद्धतिहरु विकास हुनुपर्ने हो त्यसतर्फ भने राज्य र समाजले पर्याप्त हस्तक्षेप गर्न सकेको छैन । यसमध्यको एउटा हो बृद्धबृद्धाको स्याहारको कुरा पनि ।
पहिले कृषि आधारित परिवारहरु थिए । लाहुर जाने या शहर झरेर कमाउने चलन भएपनि घरको खेतीवाली विगारेर होईन त्यसलाई भरथेग गर्न बाहिरको कमाईले सहयोग गथ्र्यो । बाबुको कमाईमा छोराले कमाएर थपथाप गथ्र्यो । फेरि परिवार भिन्न हुन्थे र प्रक्रिया दोहोरिन्थ्यो । तर कृषि आधारित परिवारमा वृद्धवृद्धाहरु कुनै न कुनै छोराबुहारीसंग रहन्थे । बुढेसकालमा सबैले सम्मान पाएरै जीवन विताउन पाउने निस्चितता त थिएन तर सामान्यतया रेखदेखबाट बञ्चित पनि हुँदैनथे । ठाउँ र सम्पत्तीको सापेक्षतामा अरु सरहको जीवन जीउन सक्थे । मर्दा पनि सन्तानकै काखमा मर्थे । सामुदायीक भावना बलियो थियो । एक कुल या गोत्रका मानिसहरुले नै टोल र गाउँ बन्ने हुँदा एकअर्काको डर, या भरोसा दुवै थियो । कृषि परिवारमा रहने हुँदा तथा छरछिमेक दाजुभाईखलकमा बस्ने हुँदा तीनले भर अभरमा सहयोग पनि पाईरहन्थे ।
अहिले जमाना बदलिएको छ भने सबैभन्दा बढि यीनै वृद्धवृद्धाहरुको बदलिएको छ । खासगरि ग्रामिण क्षेत्रमा कृषिकर्म गरेर जीवीका गरेका र सन्तानहरुले गाउँ छाडेपछि उनीहरुको पछि लाग्न या घरमा एक्लै जीवन विताउन वाध्य भएका वृद्धवृद्धाको कहानी कहालीलाग्दो छ । यो कथाको एउटा पाटो भयो । यसको अर्को पाटो पनि छ । मध्यम वर्गिय परिवारबाट हुर्केर ईजी मनि मा पहुँच बनाउन नसकेका सामान्य कामकाजी परिवारमा बुढाबुढी भएका आमाबाबुको स्याहार र आफ्ना सन्तानको लालन पालन भयानक समस्या र चुनौती बनेर खडा भएको छ । महँगो स्वास्थ्योपचार  र झन महँगीदै गएको शिक्षा, सामान्य, थेग्न सकिने र भरपर्दो हाउस मेड सिस्टमको विल्कुल अभाव सुत्केरी विदाको व्यबस्थामा सरकारी तथा नीजी क्षेत्रको वेवास्ता र परम्परागत सोचका कारण यो समस्याले परिवारहरुमा ठुलो समस्या खडा गरिदिएको छ ।
केहि दिन अगाडी काठमाण्डौको बसमा यात्रा गर्दै गर्दा एकजना गाउँतिरका युवासंग भेट भयो । सञ्चोविसञ्चो भलाकुसारी पछि उनको पेशवारे कुरो चल्यो । एउटा ठाउँमा आफ्नै कन्सल्टेन्सी गरेर बसेका उनी समाजशास्त्रमा माष्टर्स गरेका छन् राम्रै माक्र्स ल्याएर । काठमाण्डौमा टिक्न र खुट्टा जमाउन संघर्षरत छन् । पत्नीपनि एउटा जागिर गर्छिन । आठ महिनाको सन्तान छ । कन्सल्टेन्सी छाड्दा टेक्ने समाउने सकिन्छ । पत्नीलाई जागिर छाड्न भनौं फेरि त्यस्तै जागि भेटाउन मुश्किल छ । यहि विच उनकी आमा विमार भएर गाउँबाट शहर आईन । उनको अवस्था नाजुक छ । चारमहिना देखि काठमाण्डौमा छोराबुहारी संग बस्छीन । तर आफैले उठेर आफ्नो स्याहार समेत गर्न सक्दिनन् । डेराको जीवन । काम गर्ने मान्छे पनि भनेजस्तो पाईदैन ।
उता घरमा एक्लै थिए बाबु चैं । अलिअलि खेती र एउटा दुहुनो भैंसी पालेर बसेका । केहि साता अगाडी तिसफिट जति अग्लो रुखमा घाँस काट्दै गर्दा रुखबाट हाँगै सहित खसे । उनको मेरुदण्डको हड्डी चिरियो । गाउँलेले उद्धार गरेर पोखरासम्म झारिदिए । उनी पनि उपचारका लागि काठमाण्डौ आईपुगे । तिनमाहिना टोटल्ली बेडरेष्ट र औषधी । उनीपनी उहि छोरासंग बस्न वाध्य छन् । बाबु आमा स्वास्थ्यका कारणले वाध्यतामा छन् । दिनको ठ्यक्कै १८ प्रकारको औषधी सेवन गर्नुपर्छ दुईजनाले गरेर । किन्नै पर्यो । ग्याँसको अभाव छ । लोडसेडिंग छ । भरखर आफ्नो करियरमा लागेको यो ३० बर्षे युवा र उसकी पत्नीको दिन रात यो घनचक्करमा वितेको छ । उनीहरु आफ्नो कतव्र्य पुरा गरिरहेका त छन् तर आफ्नो करियर के हुने हो भन्नेवारे अन्यमनस्क छन् ।
उक्त युवकका माता पितालाई नै म चिन्छु । गाउँमा सानो खेतीवाली छ । निकै कडा परिश्रम र मेहनत गरेर पसिनासंग पैसा साटेर तीनीहरुले सन्तानको शिक्षाको व्यबस्था गरे । छोराहरुले पनि सरकारी विद्यालयबाट पढेर नै राम्रो उन्नती गरे । दुई भाई छोरा त अमेरिकामा पिएचडि गर्दै छन् । आफ्ना पत्नी र सन्तान उतै लगेका त छन् तर कमाई राम्रो गर्ने बेलामा पुगेका छैनन । अर्को छोरो पनि राम्रै पढेको छ र भरखर जीवीकाको तानावानामा छ । अब जोसंग ती बुढाबुढी बसेका छन् उसको नियमित आम्दानीले उपचार खर्च धान्न सहज अवस्य छैन । मातापिताप्रतिको कर्तव्य र सन्तानको माया तथा आफ्नो भविष्यका प्रतिको चिन्ताको पेलाईमा यीनीहरु काठमाण्डौका आम मानिसहरुको भिडमा संघर्षरत छन् ।
अर्को परिवार हेरौं । यो पनि मेरो परिचित परिवार हो । चालिस बर्ष पुग्न लागेको यो साथि शिक्षक छ । पोखरामा आफ्नै कमाईले उभिने प्रयासमा । विहान पार्ट टाईम । दिनमा दरवन्दीको शिक्षक । साँझ ट्युसन । पत्नी पनि सानो तिनो जागिरे । दुईवटा सन्तान छन् । भरखर हुर्कदै गरेका । एउटा काखमा एउटा नर्सरीमा । हेर्दा सामान्य र सहज जीन्दगी ।
काखवालालाई दिनमा स्याहार गर्ने मानिसको खाँचो । यतिले पुगेन वृद्ध भएका मातापिता उसैसंगै बस्न आएका छन् । दुवै रोगी अशक्त । पिता छन् दिर्घ रोगी । दम र निमोनीया । चिसो झरी पर्नै हुन्न अस्पताल लगिहाल्नुपर्छ । हालै फोन गरेको थिएँ । बाबु अस्पतालको आईसियुमा । आमा घरमा विरामी । बर्ष दिनको छोरो विरामी छ स्याहार गर्न र औषधी गर्न पनि भ्याएको छैन । समय त बाँड्न पुगेको छैन पैसाले पुर्याउन सजिलो हुने कुरा भएन । तैपनि उसले हरेस खाएको छैन । भन्दैथ्यो यस्तै हो चलेकै छ, नचलेर पो के गर्नु ? उ र उसकी पत्नी यो समस्यासंग जुध्दै आफ्ना पारिवारिक र सामाजीक दायीत्व निर्वाह गरिरहेका छन् ।
ती वृद्धवृद्धाको पनि विवशता छन् । जीवनभर खेतीपाती र केहि पेशागत मेहनत गरेर सन्तानको लालनपालन गर्दागर्दै बुढेसकाल लागिहाल्यो । पर्याप्त बचत गर्ने सम्भावन थिएन । त्यसमाथि स्वास्थ्यले साथ नदिएपछि कसै न कसैको आडलिन परिहाल्यो । न मनमा पूर्ण सन्तुष्टि न सहज विकल्पहरु । सन्तानलाई लाग्छ हत्तेरी यो कर्तव्यबाट म च्युत हुन हुँदैन । वृद्धवृद्धालाई लाग्छ यो बुढेसकाल साँच्चै असजीलो पो हुँदो रहेछ । सन्तानका लागि बोझ पो भैयो गाँठे !
म गाउँघरतिर जाँदा देख्छु, केहि चिनजानेकाहरुका विच कुरा गर्दा थाह पाउँछु अथवा आफ्ना अनुभवबाट बुझ्छु बृद्धबृद्धाहरु खासगरि महिलाहरुले पारिवारिक तथा अर्थसामाजीक संरचनामा आएको तिव्र परिवर्तनसंग साक्षात्कार गर्न निकै संघर्ष गर्नुपरेको छ । एउटा हिस्सामा त मनोवैज्ञानिक समस्या सिर्जना हुने गरेको छ जसले सन्तानहरुलाई थप बोझ बोक्नुपर्ने वाध्यता आएको छ । नयाँ पुस्ताका नयाँ आकाँक्षा र चुनौतीहरु तथा पाईने अवसरहरुको खोजी गर्ने लालसा जीजीविषाको अनिवार्य तत्व हो, प्रगतिका लागि नभै नहुने हुटहुटी । यस्तो हुटहुटी नहुँदो हो त मानिसहरु अवसर खोज्दै गाउँबाट शहर, शहरबाट महानगरतिर यात्रा गर्दैनथे । अहिले अनेक दुःख झेलेर सन्तान हुर्काईसकेको तर गाउँको साधारण जीवन र बृद्धावस्थाको सुरक्षा खोजेको बृद्ध पुस्ताले नयाँ पुस्तासंग तालमेल मिलाउन मुश्किल छ । यसको चपेटामा एकातिर बुढाबुढीहरु परेका छन् अर्कातिर नयाँ पुस्ता भनिने कामकाजी समुहमा आफ्ना मातापिताको पालनतालन र स्याहार गर्ने काम निकै चुनौतिपूर्ण बन्दै गएको देखिन्छ ।
यी सुचनाहरुको अर्थ हो हाम्रो कामकाजी उमेर समुहको पुस्तालाई उसको सम्पूर्ण कार्यक्षमता सहित उत्पादनमुलक काममा लगाउने हो भने पारिवारिक जीम्मेवारीको यो पक्षलाई राज्य र समाजले कतै न कतै भरथेग या हिस्सेदारी गर्नुपर्छ । विकसीत देशहरुमा खासगरि युरोपमा बुढाबुढी र असक्त भएपछि राख्ने स्याहार केन्द्रहरुको जुन व्यबस्था राज्य र समाजले मिलेर गरेका छन् त्यो अनुकरणीय छ । आफ्ना सन्तान भएका बृद्धबृद्धाले सन्तानसंग बस्न र उनीहरुको अपनत्व महशुस गर्न पाउनुपर्छ । छोराछोरी या सन्तानले पनि आफ्ना मातापिता या हजुरबा हजुर आमाको स्याहार गर्न र उनीहरुलाई आफ्नो जीवनको एउटा हिस्सा बनाउन सक्नुपर्छ । तर समाजको विकास क्रममा हामी जुन आर्थिक संक्रमणको सामना गरिरहेका छौं त्यहा सबै परिवारहरु यी कर्तव्य र दायीत्व संधै निर्वाह गर्न सक्षम हुँदैनन । त्यसैले या त नर्सिङ्ग होमहरुको ब्यबस्था गरेर या घरमा राखेर पालन तालन गर्दा लाग्ने औषधी खर्च या हाउसमेड खर्चमा समाज र राज्यले भरथेग गर्न आवस्यक देखिन्छ । यसो नगर्ने हो भने आफ्नो करियर र पारिवारिक दायीत्वका विच पेलिएको कामकाजी पुस्ताले पूर्ण क्षमतामा काम गर्न पाउँदैन । उनीहरुले समाजमा खेल्न सक्ने भूमिका पनि पूर्णरुपमा खेल्न र आफु भित्रका सम्भावनालाई पुरा उजागर गर्न समेत सक्दैनन । राजनीतिको छायाँमा परेका यी समस्यातर्फ बहस गर्ने र नीति निर्माणतहमा हस्तक्षेप गर्न ढिलो हुँदैछ ।