Wednesday, April 11, 2018

यी आशालाग्दा सपनाहरू





रेलैमा नचढेसम्म, छोडेन यो आँसी, नाम्लाले ।
अहिलेको विकासे बहसमा सामेल हुँदै गर्दा गाउँमा सानैमा सुन्ने गरेको उपर्युक्त झ्याउरे गीत घरीघरी मनमा आइरहन्छ । गीतमा दुईवटा प्रस्ट सन्देश छन् । हाम्रो गाउँघरको त्यतिवेलाको समयमा मानिसको जीविकाको स्रोत खेतीपाती मात्र थियो । तर, हरेक किसान युवाका मनमा निरन्तरको यो आँसी नाम्लो, गाउँबेसी, हलो, कोदालो र गोठाले धन्दाप्रति वितृष्णा थियो । ऊ त्यसबाट मुक्त हुन चाहन्थ्यो, कमसेकम मैलोधैलोबाट सुकिलो जीवनसम्म जान चाहन्थ्यो । गाउँमा भारतीय सेनाबाट छुट्टीमा आएका या भारतका विभिन्न सहरमा अनेक दुःख गरेर फर्केका तर कपालमा नरिवलको तेल हालेर लरक्क पारेको तथा इस्त्री लगाएको कमिज, पाइन्ट लगाएका लाहुरेले बाँड्ने मसला र चुरोटले मानिसलाई हुरुक्क बनाएको देखिन्थ्यो । यसमा दोस्रो सन्देश छ– त्यतिवेलाको नेपालमा कृषि पेसाको विकल्प थिएन । आँसी, नाम्लो छाड्ने हो भने एक मात्र विकल्प रेल चढ्नु या भारततिर कामको खोजीमा जानुपथ्र्यो । यतिवेला नयाँ गन्तव्य आएका छन्, जहाँ रेल होइन, हवाईजहाज चढेर पुगिन्छ । अनि नयाँ गीत पनि लोकप्रिय छ– चालीस कटेसी रमाउँला ।
पहिलो गीत सुनेको ५० वर्ष हुन लाग्दा पनि हाम्रो अर्थ व्यवस्थामा ठूलो परिवर्तन आएको रहेनछ । यत्ति हो, धेरैले रेलको साटो जहाज चढ्ने सपना देख्छन् । यसपालि कास्कीको मादी गाउँपालिकाले आयोजना गरेको योजनासम्बन्धी एउटा गोष्ठी र सिक्लिससम्मको यात्रामा मैले यही गीत सम्झिरहेको थिएँ । के आँसी, नाम्लाको विकल्प रेल या जहाज चढ्नुभन्दा भिन्न हुँदैन होला ? मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ र प्रदेश सभाका सदस्य मनबहादुर गुरुङका धेरै योजना र तिनले देखेको सपनाले मलाई त्यसका केही उत्तर मिलेजस्तो भयो । अब आँसी, नाम्लो छाड्न रेल या जहाज नचढे पनि हुन्छ । केबलकार या पर्यटन व्यवसायले त्यसलाई विस्थापित गर्न सकिने तिनका आशलाग्दा सपनाले त्यसै भनेका छन् । यो आलेख उनीहरूका आशालाग्दा सपनावरपर केन्द्रित हुनेछ ।
विकासका आफ्नै परिभाषा
यसपालि मादी गाउँपालिकाले आफ्नो अल्पकालीन र दीर्घकालीन योजना तर्जुमाका लागि सुझाब लिन एउटा छलफल कार्यक्रम आयोजना गरेको थियो पोखरामा । प्राध्यापक पीताम्बर शर्मालाई निम्त्याइएको थियो । आफ्नै गाउँपालिकाको कार्यक्रम भएकाले म पनि बोलाइएको थिएँ, सो गाउँपालिकाका तर अहिले बाहिर विभिन्न पेसामा लागेकाहरू जस्तै । गाउँपालिका गाउँको सम्पूर्ण डेटाबेस तयार पारेर विज्ञहरूको सहयोगमा आर्थिक सामाजिक परिवर्तन र त्यसका लागि पूर्वाधार तयार पार्ने सोचाइमा सक्रिय रहेको देखियो । गाउँपालिकाका अध्यक्ष गुरुङका कुरा सुन्दा पूर्वाधार विकासमा मात्र केन्द्रित हुने या अगाडिका काम मात्र गर्ने धेरै स्थानीय निकायका प्रमुखमा भन्दा भिन्न गाउँलाई सम्पन्न बनाउने र नमुना गाउँ बनाउने तीव्र आकांक्षा र त्यसअनुरूप योजना र सक्रियता रहेको छनक पाइयो र खुसी पनि लाग्यो ।
भोलिपल्ट मलाई पनि मनबहादुर र वेदबहादुर गुरुङसँगै सिक्लिस जान लाग्नुभएका प्राध्यापक शर्मासँग यात्रामा सामेल हुने अवसर जुर्‍यो । गएको निर्वाचनका समयमा त्यता केही समय बिताएको मलाई अहिले स्थानीय तहको सक्रियतामा केही न केही काम हुन थालेको आभास भयो । सडक विस्तार र मर्मतमा ध्यान दिइएको, सडकको काममा दैनिक ज्यालादारीमा स्थानीय बासिन्दाले काम गरिरहेका अर्थात् रोजगारी सिर्जना भएको, पाखापाखा तन्केका लम्बिँदा सडक र तिनलाई उछिन्दै अघि बढेका विकासे सपनाहरू । दुई भाइ गुरुङ आफ्ना योजना सुनाउँदै थिए । प्राध्यापक शर्मा तिनका जिज्ञासाका जवाफ दिइरहेका थिए ।
हामी थाक गाउँमाथि रहेको चौतारीमा ओल्र्यौं र गाउँपालिकाको आधा भेगको भूसतहका दृश्य हे¥यौँ । चैत महिना भए पनि केही दिनदेखि परेको पानीले अन्नपूर्ण शृंखलाको काखमा तल–तलसम्म सेतो हिउँ चाँदीझैँ टल्किरहेको थियो । हिमालमुनिका खर्क हिउँले छोपिएका, अझ तल हरियो वन र त्यस तल झुरुप्प गुरुङबस्ती । तल मादी नदी हाइड्रो उत्पादनको हब बन्ने तयारीमा थियो । अन्नपूर्णका दुईवटा शिखर, लमजुङ हिमाल, दुधपोखरी, मनाङ–कास्की जोड्ने पुरानो साल्टरुट र मनाङ ओर्लने भञ्ज्याङ, मानवबस्तीबाट नजिकमध्येको कफुचे ग्लेसियर, जडीबुटी र उब्जाउ फाँटहरू । लमजुङ, मनाङ र पोखरासँग जोडिएको यो गाउँपालिका आफ्नो गर्भमा असीम सम्भावना बोकेर बसेको छ । अहिलेसम्म परम्परागत उपयोगबाहेक यसको व्यावसायिक उपायोग हुन सकेको छैन । यहाँबाट गाउँपालिकाको आधा भाग मात्र देखिन्छ । मिजुरे, भाचोक, सैमराङ देखिन्नन् तर यी सबै गाउँको लेकाली भूभाग भने त्यही ताङतिङको लेकमा पुगेर जोडिन्छ, जहाँ लमजुङले कास्कीलाई बिदा गरेको छ ।
वाइल्डलाइफ पार्क
हामी तप्राङमा चिया पिएर अघि बढ्यौँ । पहिरोको चेपमा परेको तप्राङमा बस्ती बिस्तारै पातलिँदै छ । त्यसभन्दा माथि हजारौँ रोपनी पाटने पाखो जंगलले ढाकिएको छ । अनेकथरीका वन्यजन्तुको वासस्थान रहेको यही जंगल देखाउँदै अध्यक्ष गुरुङले यसलाई वाइल्डलाइफ पार्क बनाउने योजना सुनाए । एकप्रकारले प्राकृतिक चिडियाखानाका रूपमा रहने यो पार्कमा चराहरू, बाघ–भालु, थारल, घोरल मृगलगायत जन्तुलाई पार्कमा डुल्दै हेर्न पाइने बनाउने उनीहरूको सोच रहेछ । यसका लागि विज्ञहरू बोलाएर विस्तारमा अध्ययन गर्ने र आफ्नै कार्यकालमा योजना कार्यान्वयनमा ल्याउन उनी उत्साहित देखिन्थे । यस्तो पार्कले पोखराको पर्यटन क्षेत्रलाई विस्तार गर्न सहयोग पुग्ने र पर्यटकले यस क्षेत्रमा गर्ने प्रतिव्यक्ति खर्च बढेर रोजगारी सिर्जनामा सहयोग पुग्ने मनबहादुर बताउँदै थिए ।
मनबहादुरको अर्को सोचाइचाहिँ यस भेगमा चारवटा ठूला रिसोर्ट खोल्न लगाउन आवश्यक छ भन्ने रहेछ । यसो गर्न सके कमसेकम आठ सयले प्रत्यक्ष रोजगारी पाउने थिए । मानिसले गाउँ छाडेर हिँड्नुपर्ने थिएन । यसरी स्थानीय तहमा रोजगारी सिर्जना गर्न सके मात्र गाउँलाई रित्तो हुनबाट बचाउन सकिने उनको भनाइ थियो । मानिसहरू गाउँबेसीमा भारी बोकेर परम्परागत पेसा गर्दै गाउँमा टिक्ने कल्पना पनि गर्न सकिन्न । ‘कहिले पनि टुटेन मलाई ठुटे भोटो फुटेको खुर्पेटो’ भन्दै को बस्ला र गाउँमा ?
चिप्ली पुग्दा आजको नेपालको एउटा तस्बिर देखियो । गाउँमुनि बारी बारीमुनि खेत भन्याजस्तो मिलेर बसेको सुन्दर चिप्लीको पुछारमा रहेको विद्यालय एकजना पनि विद्यार्थी नभएपछि खारेज भएको रहेछ । तलको फाँट सबैजसो बाँझो पल्टँदै गएको । कुनैवेला राजनीतिक काममा हुँदा दुई तीन रात यो गाउँमा बसेर गाउँलेसँग दुःखसुखका कुरा गरेको, संगठन बनाएको र साँझ आमा समूहसँग गीत गाउँदै भुलेको सम्झना भयो, जुन अहिले भुताहा बस्तीमा परिणत हुन लागेको रहेछ ।
साँझ सिक्लिस पुग्दा पारिपट्टि रहेको ताङतिङको झलमल्ल गाउँ देखियो, जहाँ नेपालकै पहिलोमध्येको माइक्रो हाइड्रोबाट उत्पादित बिजुली बालिन्छ । अहिलेका गाउँपालिका अध्यक्ष वेदबहादुर त्यही गाउँमा जन्मे–हुर्केका । ठाडो उकालो ओरोलो गर्दै चोयाको झोलुङ्गो तरेर सोंधामा रहेको दुधपोखरी मावि पढेका उनमा आफ्नो गाउँलाई परिवर्तन गर्ने चाहना मनमा गढेर बसेको देखिन्छ ।
सिक्लिस पार्क र म्युजियम
बिहान हामीलाई सात सय धुरी भएको सिक्लिसको गाउँ र गाउँको माथि रहेको एउटा फराकिलो पाटन हेर्ने मौका मिल्यो । स्थानीय मुखिया खलकका उत्तराधिकारी मनबहादुर त्यहाँका देवीदेवताको पूजा गर्ने जिम्मेवारी निर्वाह गर्दा रहेछन् । थानको वरपरको जंगल काट्न नहुने विश्वासका कारण जंगलले ढाकेको सो ठाउँनजिकको ठूलो पाटने चौरलाई घेरेर पार्क बनाउन आरम्भ गरिसकिएको रहेछ, जसलाई पछि ‘पिकनिक स्पट’ बनाउने योजना रहेछ । पोखराबाट डेढ घन्टामा आउन सकिने गरी सडक बन्नासाथ यो पोखरेलीहरूको सहज पहुँचमा पुग्ने रमाइलो स्थान बन्ने निश्चित छ । त्यसपछि भने हामीले सिक्लिसको गुरुङ सङ्ग्रहालय हे¥यौँ । एक्यापका अभियन्ता र पहिलेको सिक्लिस गाविसका अध्यक्षका रूपमा मनबहादुर गुरुङले यसको स्थापना गर्नमा उल्लेख्य योगदान गरेका छन् । सङ्ग्रहालयलाई गुरुङ जातिको इतिहास, संस्कृति, अर्थतन्त्र, परम्परा सबै झल्काउने गरी वस्तुहरू राखेर व्यवस्थित गरिएको रहेछ । त्यसमै रहेछ सिक्लेसी ठिटो चन्द्र गुरुङको स्मृतिमा बनाइएको कक्ष पनि, जसमा उनले एक्यापलाई विस्तार गर्नमा खेलेको भूमिकासहितको उनको जीवन र घुन्साको हवाई दुर्घटनासम्बन्धी अनेक तस्बिर रहेछन् ।
दुई घन्टामा हिमाल टेकाइँदै
अघिल्लै दिनदेखि दुई भाइ गुरुङ हामीलाई केबलकारको योजना सुनाइरहेका थिए । सिक्लिसको पूर्वतर्फको बेसीबाट झन्डै साढे पाँच किमि केबलकारको तार तानेर कोरीमा पु¥याउने योजना अध्ययनका लागि गतवर्ष गाउँपालिकाले बजेट पनि छुट्याइसकेको छ । झन्डै चार हजार मिटरको उचाइमा रहेको कोरीमा पुगेपछि समथर पठार छ । त्यहाँ हिँउदमा हिउँ परिरहन्छ । हामीले हेर्दा पनि हिउँ थियो । पोखराबाट गाडीमा र सिक्लिसबेसीबाट केबलकारमा यात्रा गर्दा झन्डै दुई घन्टामा हिउँ खेल्न र रमाउन पुगिन्छ । त्यहाँ एउटा रिसोर्ट बनाइनेछ, जहाँ संसारका सबैभन्दा महँगामध्येका पर्यटकलाई लोभ्याउन सकियोस् । यस्तो योजना सफल हुँदा त्यहीँबाट क्होलासोंथरसम्म पनि केबलकार विस्तार गर्न सकिन्छ, जसले एउटा पर्यटकलाई कमसेकम दुई दिन, दुई रात यो भेगमा बिताउन मिल्ने बनाउँछ । फर्कंदा ताङतिङ भएर आउने बाटो बन्यो भने पर्यटनबाट हुने आय पनि बाँडिन्छ । यही नजिक पर्छ कफुचे ग्लेसियर, जसलाई व्यवस्थापन गर्न सक्दा थप एक दिन पर्यटक भुलाउन सकिन्छ ।
यी यस्ता योजना हुन्, जुन सम्पन्न हुँदा यो गाउँपालिकाबाट कसैले पनि रोजगारी खोज्दै रेल या जहाज चढ्न पर्दैन । बरु यस्तो काम आरम्भ गर्दा त्यही भेगमा पर्यटन तालिम केन्द्र खोलेर या उच्च माविमा यसको पढाइ हुने व्यवस्था गरेर जनशक्ति उत्पादन गर्न सकिन्छ । प्रत्येक विद्यालयमा भइरहेको सरकारी लगानीको पूर्ण प्रतिफल पाउन गाउँपालिका या नगरपालिका प्रमुखले विद्यालयका प्रिन्सिपल करारमा नियुक्त गर्न पाउने व्यवस्था हुनुपर्छ भन्ने यी अध्यक्षको माग छ । शिक्षकले विद्यार्थी, अभिभावक र देशको भविष्यमाथि खेलबाड गरिरहेका छन् भन्ने निष्कर्षमा पुगेका उनको माग पूरा हुने गरी कानुन बन्नु उपयुक्त देखिन्छ ।
व्यक्तिगत रूपमा आफूले काम गरिरहेको पदको उपयोग या दुरुपयोग गरेर कमाउनुपर्ने कुनै आवश्यकता नरहेका र केही गरेर देखाऊँ, सरकारको समृद्धिको नारालाई आफ्नो ठाउँबाट सफल पारौँ, गाउँमा योगदान पनि गरौँ भन्ने भावना पालेका यिनीहरूको जस्तो जोडी सय स्थानीय निकायमा हुने हो भने वास्तवमा आउने पाँच वर्षमा देशले एउटा गतिलै परिवर्तनको अनुभव गर्ने थियो । किनभने उनीहरू सपना मात्र देखिबसेका या दिउँसै उँघिबसेका छैनन्, बरु सपनालाई विपनामा उतार्ने हरसम्भव प्रयास पनि गरिरहेका छन् । पाँच वर्षपछि यिनीहरू पास हुन्छन् या फेल, त्यसको परीक्षण भने हुनै बाँकी छ ।
२९ चैत, 2074, nayapatrika