Tuesday, February 12, 2019

सञ्चित समस्याका परिणामहरु

आउने साता केपी ओली नेतृत्वको सरकार गठन भएको एकबर्ष पुग्दै छ । संगै देशभर प्रदेश सरकारहरु सक्रिय भएको पनि एकबर्ष पुग्ने छ । यसक्रममा सरकारको बर्षदिनको कार्याकालको मुल्याँकन हुने नै छ । यसमा मुख्य गरि दुईवटा विषयका आधारमा सरकारको परख हुने छ । पहिलो हो लामो समयको एकात्मक केन्द्रीय सत्ताको अभ्यास पछि संघीयतामा प्रवेश गरेको देशले यस मामिलामा के कस्ता चुनौतीहरु सामना गर्यो तथा कस्ता सकारात्मक परिणामहरु निस्के भन्ने विषय । दोस्रो भने झण्डै दुई दशक देशले राजनीतिक संघर्ष र अनिस्चतता व्यहोरेपछि स्थिर सरकार बनेको छ । सम्वृद्धि र विकासको नारामा आम मतदातालाई आकर्षित गरेर सत्तारुढ भएको कम्युनिष्टहरुको पहिलो वहुमत प्राप्त सरकारले आर्थिक विकासतिर के कस्ता उपलब्धीहरु हासील गर्यो भन्ने विषयले प्राथमिकता पाउने छ । 
यसै सेरोफेरोमा यो साता नयाँ पत्रिकाले देशको आर्थिक अवस्थाका बारेमा श्रृंखलावद्ध समाचारहरु दिएको छ । यसरी आएका समाचारहरु प्रायस निराशाजनक छन जसले देशको अर्थतन्त्रमा तत्काल ठुलो समस्या नदेखिएपनि अहिलेको अवस्थाको निरन्तरता लामो समय रह्यो भने अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने हो कि भन्ने शंकाका लागि ठाउँ दिन्छ ।
यसैसंग जोडेर नेकपाको एकबर्षे कार्यकालमा नेपालको अर्थतन्त्रले अपेक्षा गरेजस्तो नयाँ गति लिन नसकेको बारेमा चर्चा र बहस आरम्भ भएको छ । राजनीतिक बहसका अनेक अर्थ र अनर्थका श्रृंखला पछि अर्थतन्त्रका वारेमा बहस आरम्भ हुनु र यसका बारेमा सत्तापक्ष र प्रतिपक्षका तर्फबाट आलोचना र बचाउका प्रयासहरु हुनु एकप्रकारले हाम्रो बहसले सकारात्मक मोड लिन थालेको संकेत हो । यस्तो बहसले नेपाली अर्थतन्त्रमा रहेका संरचनागत समस्याको उजागर गरे र तिनको समाधानका लागि के कस्ता हस्तक्षप गर्न सकिन्छ भन्ने विषयमा सरकार, निजी क्षेत्र र नागरिक समाजका विच बुझाईमा एकहदसम्म समान धारणाहरु निर्माण गर्न सके भने यसले देशलाई अघि बढाउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।
ओली सरकारको कार्यकालको आरम्भमा आम मानिसहरुमा सरकारले राम्रो सुरुवात गर्ला भन्ने स्वभाविक अपेक्षा थियो । यसैगरि नेपालको नवउदारवादी खेमामा कम्युनिष्ट पार्टिको सरकारले नवउदारवादी नीतिहरुमाथि धावा वोल्ने हो कि भन्ने भय र चिन्ता थियो । यो पंक्ति सरकार कुनैपनि हालतमा सफल नहोस भन्ने चाहना पनि खुला रुपमा व्यक्त गरिरहेको थियो । कम्युनिष्ट सरकारले समाजवादी नीति अवलम्वन गर्ने पो हो कि भन्ने भय समेत पुँजीजीवी वर्गमा कता कति देखिन्थ्यो । सरकारले सधारण मानिसहरुले आसा गरे अनुरुप सुधारका काम पनि गर्नु पर्नेथियो र संगसंगै नेपालको उद्योगी व्यबसायी मात्र होईन नेपालमा लगानीका लागि अनुकुल वातावरण पर्खि बसेको विदेशी पुँजीपति वर्गलाई पनि विश्वासमा लिनु जरुरी थियो । त्यस भन्दा पहिले सरकारले संघीय प्रणाली अनुरुप राज्यको पुनसंरचनाका बाँकी कामलाई तदारुकताका साथ सम्पन्न गर्नुपथ्र्यो ।
आरम्भमा सरकार आफ्नो प्राथमिकता निर्धारणमा अलमलीएको प्रष्टै अनुभव हुन्थ्यो । प्रदेश र संघका विच, कामहरुको बाँडफाँडमा लामो समय अल्झनु र वित्त आयोग समेत गठन नहुनुले प्रदेश सरकारहरुले कामको प्राथमिकता निर्धारण गर्न र प्राप्त बजेटलाई कार्यान्वयन गर्न समेत नसक्ने अवस्था सिर्जना भयो । स्वभाविक रुपमा केन्द्रीकृत प्रणालीबाट संघीय प्रणालीका तिन तहका सरकार तिर फर्केको राज्य पुनसंरचना सजिलो काम थिएन । परम्परागत शक्तिले त्यसका विरुद्ध मोर्चावन्दी गरिवसेको थियो । सरकार लामो समयसम्म कर्मचारी समेत समायोजन गर्न नसकेर फस्यो । कर्मचारी समायोजन, संघ प्रदेश र स्थानीय तहका विच स्रोत र जिम्मेवारीको वितरण तथा पूर्वाधारका क्षेत्रमा गरिने कामको उचित बाँडफाँड हुने कुरा केवल प्रशासनीक राजनीतिक काम मात्र थिएन यो बरु प्रत्यक्ष रुपमा सरकारको आर्थिक नीतिहरुको प्रभावकारि नतिजाका लागि मुख्य रुपमा गाँसीएको विषय थियो । सरकार यस मामिमालामा सुरुमै सक्रिय हुन नसक्दा समस्याहरु बल्झेर बसे जसको परिणाम अहिले विकास बजेट खर्च हुन नसक्दा समग्र अर्थतन्त्रमा देखा परेको छ । 
ओली सरकारले आरम्भमा बर्र्षौं देखि देखिएका वेथितीमाथि सामान्य धावा वोल्ने प्रयास गर्यो । राज्यलाई कमजोर बनाएर आफ्ना आफ्ना स्वार्थहरु पुरा गर्ने अनेक स्वार्थ समुहहरुले सरकारले यातायात क्षेत्रको सिण्डिकेटमाथि गरेको हस्तक्षेप, उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योगीहरुमाथि कार्वाही र जिम्मेवारी पुरा नगर्ने या ठगि गर्ने निर्माण व्यबसायीहरुमाथि कडारुपमा प्रस्तुत हुनासाथ े यसलाई कम्युनिष्ट सरकारको नीजि क्षेत्रमाथिको हस्तक्षेपका रुपमा अथ्र्याए । यसैगरि सरकारले केहि महिना पहिले कार्यान्वयनमा ल्याएको सामाजीक सुरक्षा सम्वन्धी कार्यक्रमका सम्वन्धमा पनि बहस र विवादहरु सिर्जना गरिए । यहिबाट एकहदसम्म व्यबसायी र सरकारका विच द्वन्दको अवस्था सिर्जना भयो जसले नकारात्मक मनोविज्ञान उठाउन मद्धत गर्यो ।
प्रादेशिक संरचनाहरुको निर्माणसंगै प्रदेश भित्रका भौतीक पूर्वाधारका कामको जीम्मेवारी प्रदेश सरकारलाई दिने र संघीय सरकारले ठुला पूर्वाधारका आयोजनाहरु सञ्चालन गरेर पुँजीगत खर्च बढाउने र पुँजी निर्माणको क्रमसंगै अर्थतन्त्रलाई चलायमान बनाउने तिर लाग्नु पथ्र्यो । तर पहिले नै तय भएर कार्यान्वयनमा गएका योजना बाहेक अहिलेको सरकारले कुनै उल्लेख्य नयाँ योजना आरम्भ गर्न सकेन । यसका लागि विसौं बर्ष देखि योजनावद्ध विकासलाई भन्दा बजारलाई प्राथमिकतामा राखेका अघिल्ला सरकारहरुले विगारेको हाम्रो सस्थागत क्षमता पनि जिम्मेवार थियो । संस्थागत क्षमताका अभावमा योजना तर्जुमा, बजेट निर्माण, योजनाको कार्यान्वयन र अनुगमनका सबै कामहरु समयमा पुरा हुन नसक्ने र बर्र्षाैं देखि विकास बजेट पुरा खर्च गर्न नसक्ने अवस्था हामीकहाँ विद्यामान थियो र छ । सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने कामहरु मध्य यस्तो संस्थागत ढाँचा र सयन्त्रहरुलाई प्रभावकारी बनाउनु पनि हुनुपथ्र्यो । अर्थतन्त्रमा अनुत्पादक खर्च नियन्त्रण गर्ने र अर्थतन्त्रका समष्टिगत सुचकहरुलाई सकारात्मका सिमामा राख्ने प्रयासमा अहिलेका अर्थमन्त्री सफल देखिए पनि उनले अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन आवस्यक विस्तारकारी बजेट तथा वित्तिय नीति ल्याउन सकेनन । 
यसैपनि अवसरमा बदल्न नसकिएको भुकम्प पछिको पुननिर्माण, कृषि क्षेत्रबाट निरन्तर पलायन हुँदो जनशक्ती, तालिम र दक्षताका अभावमा सस्तो ज्यालामा काम गर्न विदेशिएको युवा श्रम, प्रभावकारी र सहज पूर्वाधारहरुको अभाव जस्ता कुराले लामो समय नेपाली अर्थतन्त्रलाई उन्नतीतिर जानबाट रोकिरहेको छ । यी समग्र समस्या ओली सरकारको कारण उत्पन्न भएका अवस्य होईनन, नवउदारवादले जबर्जस्त घचेटेर हामीलाई यो अवस्थामा धकेलेको हो । ओली सरकारले यो दुष्चक्रलाई चिर्न पर्याप्त हस्तक्षेप गर्ने आसा गरिएको थियो । एकबर्षको सरकारको कामको प्रदर्शन यसका सम्वन्धमा उत्साहजनक देखिएको छैन ।
आर्थिक अनुशासनहिनताको शिकार भएको नेपाली व्यबसायीक क्षेत्रलाई नियमनको सिमाभित्र बाँधेर नै अर्थतन्त्रमा गतिशिलता ल्याउनु पर्ने चुनौती यो सरकार सामु पहिले पनि थियो र अहिले पनि छ । आर्थिक रुपले लगानीको उचित वातावरण बनाउन नदिन नेपालका निजी क्षेत्रका बाणिज्य बैंकहरु निकैहदसम्म जिम्मेवार छन । एकातिर उनीहरुको मुख्य ध्यान तत्काल नाफा हुने क्षेत्रहरु घरजग्गा, गाडी र मोटरसाईकल जस्ता वस्तुको खरिदमा लगानी बढाउनमा छ अर्कोतिर उद्योग व्यबसाय या घरजग्गामा समेत लगानीका समयमा तोकिएको ९ प्रतिशत व्याज जर्वजस्त बढाउँदै १५ प्रतिशतसम्म पुर्याएर व्यबसायीलाई हतोत्साही पार्ने, उपभोक्तालाई मर्का पार्ने र आफु नाफा कमाउने वैंकहरु सिण्डिकेट गरेर केन्द्रीय बैंकको निर्देशनलाई उल्लँघन गर्न सक्ने गरि बलिया छन । यस्तो अराजकता उद्योगमा थप लगानीका लागि अवरोधका रुपमा रहेको छ । 
यद्यपी अहिले चर्चामा आएका समस्याहरु अस्थायी प्रकृतिका हुन । आउने दुई महिना भित्रै विकास बजेट धमाधम खर्च हुने र चैतको आधाआधीबाट बजारमा तरलताको अभाव अन्त हुने विश्वास गर्न सकिन्छ । यससंगै यस बर्ष ७ प्रतिशतको हाराहारीमा कुल गार्हस्थ उत्पादनमा वृद्धि हुने प्रक्षेपणप्रति योजना आयोग र अर्थमन्त्रालयका अधिकारीहरु विश्वस्त देखिन्छन । यसको अर्थ बैंकमा अहिले तरलता कम भएपनि जे जति पैसा लगानी भएको छ त्यसले कतै न कतै उत्पादनका क्षेत्रमा योगदान गरिरहेको मान्नु पर्ने हुन्छ । सात प्रतिशतको हाराहारीमा जिडिपी बढ्दा त्यसले वेरोजगारीको दरलाई तल झार्छ, मुनाफा र ज्यालादरमा वृद्धि ल्याउँछ समग्र अर्थतन्त्रमा गतिशिलता थप्छ भन्ने विश्वास गरिन्छ । नेपालले आगामी बर्षहरुमा लगातार ७ प्रतिशत या माथिको वृद्धि दर हासील गर्न सम्भव छ, केहि बर्ष पछि नै यसलाई दोहोरो अंकको वृद्धिमा बदल्न पनि सम्भव छ । अर्ध दक्ष र दक्ष जनशक्तिको उत्पादन दर, पुँजी निर्माणको प्रक्रिया, पूर्वाधारहरुको विस्तार, छिमेकी देशहरुको आर्थिक विकासको प्रभाव र बढ्दो कनेक्टीभिटीका सञ्जालहरुले हामीलाई टेकअफ स्टेजको पूर्वतयारीको अवस्थमा पुग्न मद्धत गरेका छन । यसको मुख्य जग भने सम्पूर्ण स्थानीय सरकार र प्रदेश सरकार सहित संघीय सरकारका एकिकृत प्रयास, आम जनताको सार्थकतापूर्ण सहभागितामा निहित छ । 
नेपालमा अर्थतन्त्रको सञ्चालन र आर्थिक विकासका मोडलहरुबारे सत्तारुढ दलहरु सितिमित बहस गर्दैनन । तिनले यस्तो कामका लागि सिमित संख्याका आफुप्रति प्रतिवद्ध टेक्नोक्र्याटहरुलाई जिम्मा दिन्छन । आर्थिक विकासको मुख्य पक्ष राजनीति नै हो र अहिलेको राजनीतिको मुख्य पक्ष पनि आर्थिक विकास सहित त्यसका परिणामहरुको सामाजीक न्यायका सिद्धान्त अनुकुलको वितरण हो । (नव)उदारवादीहरु अहिलेको सरकारलाई घेराउ गर्ने आधारका रुपमा यसले अर्थतन्त्रलाई गति दिएन भन्न थालेका छन र कतिपयले भेनेजुएलाको वामपन्थी सरकारसंग यसको तुलना गर्ने अनर्थको प्रायस पनि गरेका छन । नेकपाको शिर्ष नेतृत्वका विच देशको अर्थतन्त्र कस्तो बनाउने, अर्थतन्त्रमा देखिएका समस्याहरु कसरी चिर्ने, त्यसका लागि निजी क्षेत्रसंग कसरी सम्वाद गर्ने, वैदेशिक लगानी भित्र्याउन र संरचनागत तथा संस्थागत चुनौतीहरुको सामना कसरी गर्ने भन्ने विषयमा गम्भिर बहस भएको कमसेकम यो पंक्तिकारलाई थाह छैन । देशभित्रको वातावरण, संस्थागत अवस्था, ऐन र कानूनहरुको व्यबस्थापन प्रमुख कुरा हुन र राजनीतिक रुपले कमसेकम सत्तारुढ दलभित्रको विश्वसनीय एकता अर्को महत्वपूर्ण पक्ष हो । यसको उचित व्यबस्थापन विना डेभोस देखि कुटनीतिक विरादरीसम्म अनुकुल बनाउन प्रधानमन्त्रीले गरिरहेका प्रयासहरुले यथोचित परिणाम दिदैनन ।  अहिलेको सरकार समस्याको चाङमा होईन सम्भावनाको उज्यालोमा छ । यो एकबर्षमा सरकारले गरेका प्रयासहरु सम्भावनातिर होईन समस्या तिर झुकेर थाक्न खोजेको जस्तो देखिदैछ । समय बाँकी त छ तर मानिसहरुको धैर्यता छिटोछिटो थाक्छ भन्ने हेक्का सत्ता चलाउनेहरुले राख्नु पर्छ ।

Wednesday, February 6, 2019

भेनेजुएलामा सिआइए अप्रेसन

अमेरिका विश्वका सबै देशलाई उपनिवेश बनाउन चाहन्छ, तिनको स्रोत लुट्न चाहन्छ, साधारण अमेरिकीसहित अरू देशका जनतालाई दासका रूपमा शोषण गर्न चाहन्छ । युद्ध या सैन्य विप्लवका माध्यमबाट जहाँकतैका सार्वभौम र स्वतन्त्र सरकारलाई ढाल्ने प्रयास गर्छ । साम्राज्यवाद भनेकै यस्तै हो । ...मानवीय आधारमा हस्तक्षेप, सुरक्षाप्रतिको जिम्मेवारी र प्रजातन्त्र स्थापना... अमेरिकाका दक्षिणपन्थीका कोड भाषा हुन्... ९/११ पछि मात्रै अमेरिकाले हैटी, होन्डुरस, पाराग्वे, युक्रेन, ब्राजिल, इजिप्टलगायत मध्यपूर्वका धेरै देशमा सैन्य विप्लव गराएको छ ।’ स्टेफन लेन्डम्यानले रसियाली सत्ताधारीको विचार बोक्ने पत्रिका प्राभ्दामा प्रकाशित गरेको यो टिप्पणी आजको अमेरिकाको साम्राज्यवादी चरित्रको सटिक झलक हो ।

विश्व जनमतलाई प्रभावित गर्न अमेरिका र उसका गुटका देशले फैलाएको प्रोपोगान्डामा जेसुकै भनिएको भए पनि भेनेजुएलामा अहिले गरिएको राजनीतिक हस्तक्षेपको भित्री कारण ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाका साम्राज्यवादी हस्तक्षेपविरुद्ध हुने सबैखाले प्रतिरोधलाई ध्वस्त पार्नु हो । नवउदारवादी विश्व व्यवस्थाका दलाललाई सत्ता सुम्पेर त्यहाँको स्रोतमा लुटखसोट मच्चाउनु हो । वर्किङ क्लासका मानिससम्म पुगेको राज्यको स्रोत फेरि खोसेर ओलिगार्कहरू र अमेरिकी बहुराष्ट्रिय निगमहरूलाई पोस्नु हो । 

१० जनवरीमा मात्रै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो दोस्रो कार्यकालका लागि शपथ खाएका थिए । १९९८ यता बोलीभारान क्रान्तिका नेता ह्युगो चाभेज र उनी पछि मदुरोले भेनेजुएलामा आफ्नै खालको समाजवादी सत्ता चलाउँदै आएका छन् । यसले राज्यको मुख्य आर्थिक स्रोतका रूपमा रहेको खनिज तेल र ग्यास भण्डारमा नियन्त्रण गरिआएको राजनीतिक–व्यावसायिक साँठगाँठको ओलिगार्कीबाट खोसेर आयलाई आमगरिबको पहुँचमा पु-याउने कार्यक्रम लागू गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि यो वितरणमुखी कार्यक्रममा संकट आएको छ । तर, आमवर्किङ क्लास मदुरोकै पक्षमा छ र उच्चवर्ग र व्यावसायिक घराना मदुरोविरुद्ध सक्रिय छ । चाभेजको सत्तारोहणदेखि नै उनलाई उखेलेर फ्याँक्न र आफ्नो पक्षधर सत्ता स्थापित गर्न अमेरिकाले गरिरहेको प्रयत्न असफल हुँदै आएको छ । 
तर, अमेरिकी रणनीतिका दुई मोर्चा भने निरन्तर मदुरो सरकार असफल बनाउन प्रयत्नरत छन् । एउटा अमेरिकी गुप्तचर संस्था सिआइए र अर्को रंग क्रान्तिहरूको सर्जक ‘नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसी’मातहतको कोष । नागरिक समाज, प्रेस र प्रोपोगान्डामा यो फन्डको प्रयोग र लगानी हुने गरेको छ, जसले एक समय पूर्वी युरोपका देशमा रंग क्रान्तिहरू जन्माएको थियो ।
यसका लागि आफूले हटाउनुपर्ने सरकारविरुद्ध भ्रष्टाचार गरेको या अटोक्रेटिक भएको भनेर सञ्चारका मुख्य माध्यमबाट विश्वस्तरमा प्रचारप्रसार गर्न लगानी जुटाइन्छ, नागरिक समाजको लुज नेटवर्क बनाइन्छ र ससाना प्रदर्शनलाई एकीकृत गरिन्छ । शान्तिपूर्ण आन्दोलन असफल भएका ठाउँमा अस्तव्यस्त अवस्था सिर्जना भएपछि सिआइएले सशस्त्र समूहलाई तालिम र हतियार दिएर सहयोग गर्छ । एउटा लामो नटुंगिने प्रोट्र्याक्टेड वार सुरु गराइन्छ र अन्त्यमा प्रजातन्त्र बचाउन या साधारण नागरिकको ज्यान जोखिममा परेकाले भन्दै अमेरिकी सेना सिधै प्रवेश गरेर युद्ध गर्छ । भेनेजुएला यस्तै हस्तक्षेपको अन्तिम कडी बन्ने सम्भावना छ ।
यसै साता भेनेजुएलाको नेसनल एसेम्ब्लीका प्रमुख तथा विपक्षी दलका एकजना नेता हुवाँ गुएइदोले एउटा जनप्रदर्शनका क्रममा आफूलाई भेनेजुएलाका राष्ट्रपति घोषणा गरेका छन् । उनको घोषणालाई तत्काल अमेरिका र उससँग सम्बद्ध राष्ट्रहरू क्यानडालगायतले समर्थन गरेका छन् । अमेरिकाले त आफ्नो देशमा भएको भेनेजुएली सरकारको कोष र खाता सञ्चालनको अधिकारसमेत गुएइदोलाई दिएको छ । साथै विश्वलाई आफ्नो कदमको समर्थन गर्न आह्वान गरेको छ ।
ल्याटिन अमेरिकाका दक्षिणपन्थी सरकारले अमेरिकाको प्रस्तावलाई समर्थन गरेका छन् । मेक्सिको, क्युबालगायत देश भने मदुरोको पक्षमा छन् । स्पेन, बेलायत र फ्रान्सलगायत देशले विद्रोहलाई समर्थन गरेका छन् भने चीन, रसिया, भारत, टर्कीलगायतले मदुुरो सरकारको समर्थन गरेका छन् । यसले विश्व जनमतलाई नै विभाजित गरिदिएको छ । 
कोलम्बियाको शान्ति–प्रक्रिया भाँड्ने, युद्धविराम भंग गराउने, भेनेजुएलासँगको सीमाक्षेत्रमा दुवैतर्फ अशान्ति मच्चाउने र त्यही निहुँमा लडाकु र हतियार भेनेजुएलाभित्र छिराएर सिआइएले ‘कभर्ट अपरेसन’ गरिरहेको छ । वित्तीय तथा व्यापारिक घरानालाई प्रयोग गरेर भेनेजुएलाको आर्थिक स्थिति डाँवाडोल बनाउन प्रयास गरिएको त सन् २००० देखि नै हो । वर्तमान अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले २०१७ को जुलाईमै सिआइएको निर्देशक रहेका वेला भनेका थिए, सिआइए भेनेजुएलामा सत्ता परिवर्तनका लागि सक्रिय रूपमा काम गरिरहेको छ । मन्थ्ली रिभ्युका अनुसार पम्पेओले त्यतिवेला भनेका थिए– भर्खरै म मेक्सिको सिटी र बोगोटा पुगेर भेनेजुएलामा सत्ता परिवर्तनका सम्भावनाबारे कुरा गरेर फर्केको छु । मैले त्यहाँ उनीहरूले यसमा केकसरी काम गर्न सक्छन् भन्ने विषयमा कुरा गरेको छु ।
चाभेजले निर्वाचन र जनमतसंग्रहका माध्यमबाट जनताको अनुमोदन लिएर भेनेजुएलामा सरकार बनाउने र संविधानलाई समेत परिवर्तन गरेर बोलिभारान क्रान्तिलाई निरन्तरता दिने काम गरेसँगै एकातिर उनको अमेरिकीसँगको सम्बन्ध भत्केको थियो । अर्कातिर त्यही वेलादेखि चीन र रसियाले भेनेजुएलामा आफ्नो लगानी बढाउँदै लगेका थिए । बितेका वर्षमा त्यहाँको अर्थतन्त्र र समाजका विभिन्न क्षेत्रमा चीनले मात्रै ७० अर्ब डलर र रसियाले झन्डै २० अर्ब डलर लगानी गरिसकेका छन् । यता क्युबाले भेनेजुएलालाई शिक्षक र चिकित्सकहरू आपूर्ति गरिरहेको छ भने भेनेजुएलाले कच्चा तेल उपलब्ध गराएर क्युबालाई भरथेग गरेको छ । यी कारणले यतिवेला चीन र रसिया तथा क्युबालगायत देश भेनेजुएलामा कुनै हालतमा अमेरिकी स्वार्थको सत्ता कु हुन नदिने पक्षमा सक्रिय भएका छन् । सिआइएको मिसन ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ लगानी रोक्नु र बजार एकलौटी नियन्त्रणमा राख्नु पनि हो ।
उता गत वर्षको निर्वाचन जितेर सत्तारुढ भएका कोलम्बिया र ब्राजिलका दक्षिणपन्थी सरकार सिआइएकै डिजाइनमा भेनेजुएलाको सत्ता परिवर्तनका लागि जेसुकै सहयोग गर्न तयार भएर बसेका छन् । कोलम्बियासँगको सीमा जोडिएका क्षेत्रमा एकातिर वामपन्थी छापामारको गतिविधि नियन्त्रण गर्ने नाममा कोलम्बियाली सैन्य गतिविधि चलिरहेको छ, अर्कातिर भेनेजुएलाको राजनीतिक संकटबाट भागिरहेका नागरिक यही बाटो कोलम्बिया प्रवेश गरिरहेका छन् । यसको अर्थ हो, कोलम्बिया र भेनेजुएलाको सिमाना त्यस्तो हटस्पट हो, जहाँबाट सिआइएले आफ्नो अपरेशन सञ्चालन गर्ने धमिलो पानी भेटेको छ । 
अमेरिकामा दक्षिणपन्थी उरन्ठेउलो राजनीतिज्ञ ट्रम्प र उनको टिम सत्तामा आएपछि उसले लगातार आन्तरिक राजनीतिक संकट झेल्दै आएको छ । यो संकटलाई आर्थिक वृद्धि, रोजगारी र सेयर बजारका राम्रा सूचकले छोपेको देखिए पनि गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा रिपब्लिकनले प्रतिनिधिसभामा बहुमत गुमाएपछि अर्को निर्वाचनमा कडा चुनौती थपिएको अनुभव गरेका ट्रम्प र उनको मण्डली आन्तरिक संकटलाई बाह्य रणनीतिक दाउपेचमार्फत छोपछाप पार्ने र ध्यान अन्यत्र मोड्ने प्रपञ्चमा लागेका छन् ।
यसै साता मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट नदिएपछि पाँच हप्तासम्म सरकारका कामै बन्द हुने अवस्थामा पुगेर पछारिएपछि ट्रम्प थप छटपटीमा परेको हुनुपर्छ । यसले गर्दा जहाँ सुँड घुसार्न सकिन्छ, त्यतै प्रवेश गर्ने उनको योजनाभित्र भेनेजुएलामाथि सैन्य हस्तक्षेप पनि पर्न सक्छ । यद्यपि भेनेजुएलाको सेना दक्षिण अमेरिकी क्षेत्रकै शक्तिशाली मानिन्छ र उसलाई चीन र रुसको साथ प्राप्त छ । यसले गर्दा यतिखेर एउटा लामो गृहयुद्धतिर भेनेजुएलालाई घचेट्ने र सिरियाको जस्तो अवस्थामा लैजाने सिआइएको योजना रहेको अनुमान गरिँदै छ ।
नेपालमा नेकपा अध्यक्ष प्रचण्डले मदुरोको समर्थनमा वक्तव्य जारी गरेपछि यो विषय चासो र चर्चामा रहेको छ । एकातिर नेपाली कांग्रेसनिकट बुद्धिजीवीहरू ओली सरकारलाई नै चाभेजवादी भएको उट्पट्याङ र अराजनीतिक आरोप लगाएर पश्चिमालाई उक्साउन खोजिरहेका छन् भने अर्कातिर सानो देश भएकाले हेपेर अमेरिकी दूतावासले भेनेजुएलाका घटनाबारे नेपाल सरकारको आधिकारिक धारणा माग्ने धृष्टता गरेको छ । यता नेपाल सरकारले पनि मदुरोको सीधा समर्थन या विरोध नगरी त्यहाँका जनतालाई आफ्नो सरकार छान्ने र आफ्नो संकटको आफैँ समाधान गर्ने अधिकार भएको धारणा सार्वजनिक गरेको छ । यसले अघोषित रूपमा अमेरिका र उसको गुटका देशसँग यस विषयमा नेपालको धारणा बाझिन पुगेको छ । 
भेनेजुएलाको वर्तमान सरकारका नीति कति दोषी छन् तथा त्यहाँ कस्तो सरकार बनाउने भन्ने जस्ता विषयमाथि निर्णय गर्ने अधिकार भेनेजुएलाका नागरिकलाई मात्र छ, अरूलाई होइन । आफूलाई मन नपर्नेबित्तिकै शक्तिशाली देशले कमजोर देशमा सरकार परिवर्तन गराउँदै हिँड्ने हो भने हाम्रो जस्तो देशले आफ्नो सार्वभौम अधिकार गुमाउँछ । स्वतन्त्र देश भन्नुको अर्थ गुम्छ । नेपाल आफैँ दुई ठुला शक्ति राष्ट्रबीच रहेकाले यसको भूराजनीतिक जोखिम सधैँ झेलिरहेको देश हो । यसैले पनि सरकारले दिएको वक्तव्य र प्रचण्डको भनाइ दुवैले नेपालका चिन्ताको प्रतिनिधित्व गर्छन् । अहिले चुप लाग्नुको अर्थ आउन सक्ने संकटबारे वेलैमा सचेत नहुनु पनि हो । 

Sunday, February 3, 2019

पश्चिमाहरुको अनावस्यक दवाव

परराष्ट्र मन्त्रीका रुपमा प्रदिप ज्ञवालीले अघिल्लो महिना गरेको संयुक्त राज्य अमेरिकाको भ्रमण, जापान भ्रमण, जापानी विदेश मन्त्रीको नेपाल भ्रमण तथा राष्ट्रसंघीय साधारण सभामा सहभागि हुने क्रममा प्रधानमन्त्री ओलीले गरेका भेटघाटले सुधार भएको ठानिएको नेपालको विदेश सम्वन्धमा द्वन्दकालिन मुद्धाका विषयमा अमेरिका सम्वद्ध देशहरुले दिएको वक्तव्य र भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डले जारि गरेको वक्तव्यका सम्वन्धमा अमेरिकाको प्रतिक्रियाले फेरि एकपटक प्रतिकुलता सिर्जना भएको संकेत मिलेको छ । शुक्रवार प्रधानमन्त्रीको उपस्थितीमा परराष्ट्र मन्त्रालयले गरेको कुटनीतिक समुदायसंगको भेटघाटलाई बहिष्कार गरेर अमेरिकी राजदुतले नेपाललाई एकप्रकारको धम्की दिएका छन । भेनेजुएला प्रकरणमा सत्ताधारी दलका एकजना अध्यक्षले जारी गरेको वक्तव्यले भेनेजुएलामाथिको अमेरिकी कदमको खुलेर विरोध गरेपछि उत्पन्न तनाव अझै मत्थर नभएको यसले देखाउँछ । काठमाण्डौस्थित अमेरिकी दुतावासले अध्यक्ष प्रचण्डको वक्तव्यका सम्वन्धमा सरकारको धारणा मागेर वक्तव्य सार्वजनिक गरेपछि नेपाल सरकार चेपुवामा परेको थियो । चिन र भारत जस्ता छिमेकीले भेनेजुएला घटनामा अमेरिकाले आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नु हुन्न भन्ने आसयको प्रतिक्रिया दिईसकेपछि नेपालले न त अमेरिकी सरकारका कदमको समर्थन गर्न मिल्थ्यो, न त सक्थ्यो । यहि चेपुवाका विच नेपाल सरकारले आफ्ना भू राजनीतिक जटिलताका सन्दर्भमा समेत सन्देश जाने गरि आन्तरिक मामिलामा हस्तक्षेप गरिनु हुन्न भन्ने वक्तव्य जारि गर्यो । अमेरिका यस विषयलाई लिएर असन्तुष्ट रहेको कुरा राजदुतले प्रधानमन्त्री उपस्थित हुने कार्यक्रममा अनुपस्थिती जनाएर दिएका छन । उता ड्याभोसमा रहँदा नै प्रधानमन्त्री ओलीले नेपालको शान्ती प्रक्रियामा अनावस्यक चासो नराख्न र नेपालले निकाल्न चाहेको समाधानमा बाधा नपुर्याउन पस्चिमा दुतावासहरुलाई चेतावनी दिईसकेका थिए । यी दुवै घटना नेपालमा वर्तमान सरकारलाई असहयोग गर्ने नीति अनुरुप आएको अनुमान सरकारले गरेको छ । एकातिर आन्तरिक रुपमा केहि घटनालाई लिएर प्रतिपक्षले संसदमा होहल्ला गरिरहेको तथा सडक आन्दोलनको चेतावनी सहित भातृसंगठनहरु मार्फत आन्दोलनको अभ्यास गरेको अर्कोतिर पस्चिमा राष्ट्रहरुले नेपाललाई अप्ठेरो पर्ने गरि दवाव दिएको विषय जोडिन पुगेका छन । भेनेजुएलाको मामिलामा नेकपा अध्यक्षको वक्तव्य दुई कारणले आएको हुनसक्छ । पहिलो हो समाजवादी खेमाको एउटा कमजोर देशको सरकारलाई असफल बनाउन भैरहेका प्रयासहरुप्रति चेतावनी दिन । अर्को छिमेकी देशहरुलाई भविष्यमा पनि नेपालको आन्तरिक राजनीतिलाई धमिलो बनाउने र माछा मार्ने प्रयास नगर्न चेतावनी दिन । यस विषयमा अमेरिकाले नेपाललाई आफ्नो पक्षमा उभिन दवाव दिन मिल्ने कुरा थिए । भू राजनीतिक दृष्टिले नेपाल छिमेकीहरुका आग्रहरुका विपरित जान मुश्किल पर्ने हुन्छ, अमेरिकाले भने नेपालसंग जे माग्यो त्यो पाउन्े आसा गर्न सक्दैन । एउटा कमजोर देशको सरकारलाई वाध्य पार्ने गरि आफ्नो नीति प्रष्ट पार्न दवाव दिने अमेरिकी नीति नै आपत्तीजनक छ । यो कुटनीतिक विरादरीमा एकप्रकारले बुलिङको अभ्यास मानिन्छ । भेनेजुएलाको विषयमा नेकपाले बक्तव्य दिनु एउटा कुरा हो सरकारलाई पोजिसन प्रष्ट पार्न दवाव दिईनु अर्को विषय हो । ओली सरकारले पछिल्लो समय प्रयास गरेको दाता र लगानीकर्ता रिझाउने प्रयास र आगमी महिना गर्न लागिएको लगानी सम्मेलनलाई समेत चुनौती सिर्जना हुने यी घटनाले सरकारलाई आफ्ना वाह्य सम्वन्धलाई अनुकुल बनाईरहन थप मेहनत गर्नुपर्ने संकेत गरेको छ ।