Wednesday, June 24, 2015

यी कविता, कथा र उपन्यास

भुइचालोले हल्लाएको देशको मानचित्रमा भविष्यको नक्सा कोर्न तम्सीरहेकाहरुको पंक्तिमा यो पंक्तिकार चैं पर्दैन । उसको जीम्मामा शुभकामना दिनु र भैरहेका कामको समिक्षा र आलोचना गर्नुृ नै परेको छ । यसैले यो भुईचालोको धक्काले हल्लाएर असमञ्जसमा परेको अवधीमा पनि हातपरेका केहि पुस्तक पढ्ने काम जारिरह्यो । अझ मज्जाले पो । भुईचालोले हल्लाएको मनबाट ध्यान अन्यत्र मोड्न र केहि हदसम्म आफ्नो व्यसनका कारणले । भुईचालो अगाडी नै बजारमा आएका थिए उपेन्द्र सुव्वाको कथासंग्रह ‘लाटो पहाड’ र भुपाल राईको कविता सङ्ग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’ । भुईचालो पछि भने आख्यानकार नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ बध’ बजारमा आयो । यी पुस्तकले पढ्नासाथ मनमा एकप्रकारको लेखकीय दवाव सिर्जना गरेका थिए । अहिले निकै लामो समय पछि लेख्नबस्दा उक्त उत्साह र भित्रका कतिपय सुचना सन्दर्भले चिमोट्न छाडेका छन् । तर पनि यी तिनवटै किर्तिहरु समकालीन नेपाली समाज, यसका पृष्ठभुमिहरु तथा त्यसमा आधारित भएर समाजमा उत्पन्न विमर्सहरुमा सार्थक हस्तक्षेपको प्रयास गरिरहेका सर्जकहको जीवन दृष्टि समेटीएका राजनीतिक धरातलमा लेखिएका हुनाले यीनको बारेमा चर्चा गर्नु पनि सामयीक विषय नै बन्न गएको छ ।
‘वृषभ बध’ मा ढकाल
दुर्भिक्ष उपन्यसमाथिको चर्चा गर्ने क्रममा उठेका तर्कहरुसंग सम्वाद गर्दै नारायण ढकालले भनेका थिए ः म उपन्यासलाई राजनीतिक विषय मान्छु, त्यसैले नयाँ उपन्यास लेखें भने पनि राजनीतिक विषयमा नै लेख्छु । त्यस यताको दोस्रो र समग्रमा आफ्नो चौथो उपन्यासको विषय पनि ढकालले राजनीतिलाई नै बनाएका छन् । उनको पहिलो उपन्यास २०४७ पछिको तत्कालीन माले एमालेको राजनीति र त्यसका नेता कार्यकर्तामा हुर्कदो पाखण्डपन तथा बुर्जुवा भ्रष्टिकरणको उछित्तो काढ्ने गरि लेखिएको छ । यद्यपी त्यो उपन्यास प्रस्तुतीका दृष्टिले त्यति वलशाली थिएन । उनको दोस्रो उपन्यास दुर्भिक्षले २०४७ पछिको संसदीय राजनीतिमा पहिलेका त्याग बलिदान गरेका नेताहरुले भित्र्याएको चरम विक्रिती र जनआन्दोलनका सपनाहरु माथि गरेको विश्वासघातलाई विषय बनाएका छन् । माओवादी जनयुद्ध थालनी भैसके पछि लेखिएको उक्त उपन्यासले तत्काल अभ्यास गरिएको संसदीय व्यबस्थाको धज्जी उडाएको र वामपन्थी आन्दोलनमा नयाँ बहसको आवस्यकता रहेको तर्फ संकेत गरेको थियो । उनको तेस्रो उपन्यास प्रेतकल्पले चन्द्रशंसेरकालको नेपाली राजनीति र भरखर उदाउँदै गरेको असहमतीको राजनीतिलाई काठमाण्डौको काँठमा रहेको एउटा गाउँमा बनारसबाट आर्यसमाजी प्रभाव बोकेर फर्केका पण्डितको संघर्षको कथाबाट व्यक्त गरिएको छ । यता यो चौथो उपन्यास ‘वृषभ बध’ पनि उनले राजनीतिलाई नै केन्द्रमा राखेर लेखेका छन् ।
‘वृषभ बध’ उपन्यासको मुल विषयमा राजा महेन्द्रले २०१७ सालमा शैनीक कु मार्फत सत्ता हातमा लिएर आफ्नो शक्ति विस्तार गर्ने र त्यसलाई राजनीतिक लेपन लगाउने उद्देश्यले स्थापना गरेको पञ्चायती व्यबस्था, त्यसले हुर्काएका कार्यकर्ता र तीनले निर्माण गरेको राजनीतिक अपसंस्कृती तथा त्यसको विरोधमा आन्दोलनरत  असहमत पक्षको द्धन्द रहेको छ । पञ्चायती व्यबस्थाको प्रारम्भीक बर्षहरुमा देशमा असहमत पक्षका नेता कार्यकर्ताहरु अधिकाँस जेलमा थिए र केहि निर्वासनमा थिए । राजाको शासनलाई अजर अमर बनाउन राजनीतिक दमन चरममा थियो । राजाको शक्तिका ग्रामिण आधारहरुका रुपमा गाउँका परम्परागत सामन्त र मध्यमवर्गका टाठाबाठाहरुका विच पञ्चायतले आफ्नो प्रभाव विस्तार गरिरहेको थियो । त्यहि मध्यम वर्गमा सत्तासंग विभिन्न ढंगले सिंगौरी खेल्ने नयाँ पुस्ता पनि हुर्किरहेको थियो । त्यसलाई व्यक्त गर्न उपन्यासकारले लगभग उनी जन्मेको मुलपानी गाउँको झल्को आउने हरिहरतिर्थ गाउँ पञ्चायत, त्यसका प्रधानपञ्च हरिभक्त खड्का, स्कुले विद्यार्थी देवेन्द्र शर्मा, काँठको सनातन चरित्र झल्काउने गृह विभागको खरीदार देवेन्द्रको पिता लवप्रसाद, देवेन्द्रकी प्रेमिका अञ्जु, जेलमा भेटिएका कमरेड दुर्गाप्रसाद दहाल उपन्यासका मुल पात्रहरु हुन । सहायक पात्रहरुको संख्या अनगिन्ती रहेको उपन्यासको केन्द्रीय पात्रका रुपमा भने एउटा भयानक साँढे छ जसलाई नाम दिईएको छ ‘डढे साँढे’ । डढेलाई अलि उछिल्याहा खालको किशोर देवेन्द र उसका साथिहरुले प्रधानपञ्च हरिभक्तको सेखि झार्ने काममा प्रयोग गर्छन ।
डढेले आफ्नो अपमान गरेको ठानी हरिभक्तले डढेको हत्या गराउँछ । गाउँमा आफ्नो वर्चस्वमा देवेन्द्र शर्माको गतिविधिले चुनौती दिएको ठानेर हरिभक्तले देवेन्द्रलाई पक्राउ गराउँछ । उसलाई राजनीतिक रुपमा पञ्चायत विरोधी शक्तिलाई साथ दिएको आरोप लाग्छ र जेल पठाईन्छ । जेलमा नै देवेन्द्रको संगत दुर्गाप्रसाद दाहाल जस्ता कम्युनिष्ट र कृष्ण शेरचन जस्ता काँग्रेसी नेताहरुसंग हुन्छ । त्यहिँबाट उसले राजनीति सिक्छ, उ मुख्यत वामपन्थी राजनीतिप्रति आकर्षित हुन्छ । दमनको प्रतिरोध गर्ने काममा अरु राजनीतिक बन्दीसंगै देवेन्द्रले पनि जेलको संघर्षमा भाग लिएको देखिन्छ । अन्तमा जेल सार्न लगिएका राजनीतिक वन्दीहरु भागेको देखाएर कथा सकिएको छ । कथाकी नायीका लाग्ने अञ्जुलाई पनि उपन्यासले विद्रोही बनाएर कम्युनिष्ट कार्यकता बनाएको छ । तर उ कथाको सहायक भुमिकामा मात्र छ । स्थान, भाषा, शहरसंगको सम्वन्ध, काठमाण्डौको बारेमा यसको संस्कृती देखि सत्ता र सर्वसाधारण विचको सम्वन्धको वारेमा उपन्यासले विस्तारमा चर्चा गरेको छ । गाउँका दुईवटा परिवार विचको शक्ती संघर्षको कथालाई केन्द्रीय राजनीतिसंग गाँसेर देशको अर्थ राजनीतिक ईतिहास केलाउने काममा ढकालको निपुर्णता यसमा पनि झल्कीन्छ । यसमा नेपालको जातीय विषेशतालाई उतार्न खोजीएको भएपनि मुलतः यो पहाडे बाउन क्षेत्री समुदायका मानिसहरुको कथा हो । यसमा आधुनिकता र परम्पराका विचमा काँठमा हुर्केको ढकालको पुस्ताले व्यहोरको संघर्षको कथाका प्रारम्भीक रुपहरु पनि समावेश छन् ।
१६ बर्ष नपुग्दैको देवेन्द्रलाई राजनीतिको जुनस्तरको झण्डा बोकाईएको छ त्यसबारे प्रश्न उठ्न सक्छ । लेखक नारायण ढकालको भाषा र चेतना त्यतिवेलाका सामान्य पात्रहरुमा आरोपित गर्दा कतै कतै नमिलेजस्तो पनि लाग्छ । देवेन्द्रलाई जेल विद्रोहमा सामेल गर्दा माक्र्सवादीहरुले भन्ने गरेको समाजवादी यथार्थवादको अलि अमिल्दो प्रभावबाट बढि नै निर्देशित भएको जस्तो देखिन्छ, त्यसका लागि उसमा विद्रोह राजनीतिक जागरणका लागि पर्याप्त समय र घटनाक्रम दिइएको छैन १६ बर्ष नपुग्दै उसलाई विद्रोही बनाउन हतार गरिएको देखिन्छ । यो उपन्यास ढकालको यस अगाडीको आफ्नै उपन्यास प्रेतकल्प भन्दा अलि कमजोर जस्तो लागेपनि नेपाली समाजको एउटा कालखण्डको जीवन्त चित्रण यसले बोकेको छ । समकालिन आख्यानकारका रुपमा ढकालको सक्रियताको अपेक्षा यसले पनि बढाईदिएको छ ।
आगो बोकेका भुपाल राई
तिनीहरुले फेरि भन्नेछन्—
“तैंले भिरेको आँखा तेरो हुनेछ
तर आँखाले देखेको सपना तेरो हुनेछैन
तैंले टेकेको खुट्टा तेरो हुनेछ
तर खुट्टाले टेकेको जमिन तेरो हुनेछैन
राष्ट्रगानमा जसरी तैंले आपूmलाई खोजीरहिस
सयौं थुङ्गा फुलको एउटै मालामा
तँ एउटा अवस्य उनिनेछस्
तर, उनिने छैन आफ्नै माला तेरो
तँ एउटा अतिरेक थुङ्गा फेरि थुङ्गाहरुको भीडमा
मालामै हराउनेछस्..”
बस्, सबै कुरा सिद्धिनेछ
मात्र केहि बँचेछ भने
आफैभित्रको आगो बँच्नेछ
हौ यावा ! आगो त अब पो बल्नेछ । (एकथान खेस्रा र राष्ट्रगानका पूmलहरु)
‘आगोले जन्मोत्सव मनाउँदैन’ कविता लिएर आएका भुपाल राई पहिचानवादी साहित्यका जानेमाने हस्ति हुन । कवि तथा गितकारका रुपमा समानान्तर परिचय बनाएका भएपनि यीनी पछिल्लो समय नेपालका आदिवासी जनजातीले अगाडी सारेको पहिचानको राजनीतिका मुखर अभिव्यक्ति दिने कविका रुपमा बलशाली देखिदै छन् । माथि उदधृत कविताँश पनि उनको त्यहि आन्दोलनकारि कविता हो जुन आजको राजनीतिक सन्दर्भमा अझ शक्तिशाली देखिएको छ । आगोले जन्मोत्सव मनाउँदैन संग्रहलाई उनले आन्दोलन कविताको नाम दिएका छन् । कविता हेर्दा यसमा भएका शब्द र भावहरु आन्दोलन भन्दापनि आँधीमय छन् ।
प्रस्तुत संग्रहमा तीनले नेपालका शासकवर्गले बनाएको ईतिहास र त्यसले निर्माण गरेका विम्वहरुको विनिर्माण गर्ने प्रयास गरेका छन्, कविका भाषामा तीनका कविताले हाका हाकी आफुलाई दुष्मनहरुको दुष्मन घोषण गरेका छन् । क्षत्री ‘क्ष’ जस्तो शक्तिशाली विम्व भएको कविता पनि यहिँ छ र रामप्रासद राईको कथा पनि । तीनले पहिचानको गित गाएका छन्, काँधको खाला फालेर शासकहरुका लागि कार बोकेर काठमाण्डौ ल्याउने पिपा पल्टनका सिपाहि र तामाङहरुको अस्तित्वको खोज, २००७ को क्रान्ती पछि निषेध गरिएका रामप्रसाद राईका अतृप्त सपनाहरुको पुनर्जिवन, आफ्नो जन्म भएको माटोको विपक्षमा शाहहरुको शासन विस्तारमा सहयोग गर्ने खार्पाका पोख्रेलहरुको विश्वासघात, चेपाङका मेटिदा अस्तित्व र हतुवागढीको पराजीत राजकुमारका अनेक विम्वहरु यसमा समेटीएका छन् । अर्थात उनका सबै कविता आगो ओकल्छन् र दुईसय बर्ष अगाडी देखि गुमेको आफ्नो माटोको हक पुनस्र्थापित गर्ने जनजातीहरुको आन्दोलनको झण्डा बोकेर सिंहदारवार या गणतन्त्र पहिलाको नारायणहिटितिर लम्कन्छन् । समयसंग सम्वाद गर्ने उनको आफ्नै भाषा छ, मौलीक भाका र लय छ ः
सुनकोशीमा
पहिले पानी बग्थ्यो
 अहिले आँसु बग्छ
तर, बजारलाई
फरक पर्नेवाला केहि छैन
किनभने पुँजीवादमा
आँसुको तस्विर पनि बिक्रि हुन्छ (आँसु र पुँजीवाद)
समग्रमा भुपाल राईका कविता नेपाली राजनीतिका पछिल्ला द्धन्दहरुको मुखर अभिव्यक्ति हो, यो कुनै जातिवादी या अस्तित्ववादी कविता होईन बरु यो नेपाली साहित्यमा भानुभक्तीय या लेखनाथ पुस्ताले स्थापना गरेका संस्कृत या हिन्दु मिथकीय प्रभावका विपक्षमा उभिएको, सामन्ती केन्द्रीकृत शासन सत्ताका विपक्षमा, जनजातीहरुका गुमेको आर्थिक, साँस्कृतीक अधिकार तथा राज्यसत्ता माथिको अधिकारको हकको पुर्नस्थापना खोज्ने नेपाली साहित्यमा हुर्कदो नयाँ भाव बोकेको कविता हो । समकालिन नेपालमा अझै टुँगोमा पुग्न बाँकी जनआन्दोलनहरुको लागि यो एउटा शक्तिशाली हतियार पनि हो ।
लाटो पहाडका सुब्बा
यस अगाडीसम्म कविको परिचय बनाएका उपेन्द्र सुव्वा आफ्नो कथाकृती लाटो पहाडसंगै आख्यानकारका रुपमा पाठक सामु आएका छन् । जम्माजम्मी १३ वटा लामा छोटा कथा समेटिएको उनको कथा सङ्ग्रहको सबैभन्दा लामो र प्रतिनिधि कथा चैं शिर्ष कथा लाटो पहाड नै हो । पहिलो संग्रहबाटै उनले आफुलाई अव्बल दर्जाको कथाकारका रुपमा उभ्याएका छन् । उनका कथाहरुको विषय र विम्व पनि नेपालमा पछिल्लो समय जागेको पहिचानको राजनीतिक आन्दोलनको साहित्यीक अभिव्यक्ति नै हुन । उनले यस अगाडी कमै पढ्न पाईएको लिम्वुहरुको जीवन, लिम्वु मिथकहरु र तिनको जीवनका अनेक आयामलाई कथामा उनेर नेपाली कथा साहित्यमा नौलो रस प्रदान गरेका छन् । भुपाल राई कवितामा अलि ठाडो भाकामा हाका हाकी बोल्छन र चुनौती खडा गर्छन । सुब्बा आफ्ना कथामा अलि भाका मिलाएर, कथाबाटै या पात्रबाटै धेरैकुरा बकाउँछन् । उनको लाटो पहाड कथाले लिम्वु भाष, संस्कृती र अर्थतन्त्रमाथि कसरी पछि गएका शासक जातिहरुले हस्तक्षप गरे भन्ने कुरालाई उधिनेका छन् । र सानो लिम्वु केटोलाई अन्तिमतिर स्कुल पठाएर अब चैं संघर्ष गरिन्छ भन्ने सन्देश दिन खोजेका छन् । प्रभु माईला कथा किरातीहरुको प्राकृतीक धर्म र संस्कृती परम्परामाथि पछिल्लो समय हस्तक्षेप गर्दै गएको क्रिस्चियन धर्मको प्रचारका प्रतिको असन्तुष्टि छ ।
उनका कथामा पात्रहरु विल्कुल सामान्य र हाम्रो गाउँघरका आफ्नै दाजुभाई जस्ता दिदि बहिनी जस्ता लाग्छन् । तीनको जीवन संघर्षका अनेक पाटा उनले सरल र पान्थरे लिम्वुहरुको गाउँघरको झल्को दिने गरि उनेका छन् । यी सुब्बाको कथा आफैमा एउटा विद्रोह किन हो भने यसले स्थापित नेपाली साहित्यका मिथक, विम्व रचना र कथित स्तरिय भाषाको मापदण्डलाई अस्विकार गरेको छ । यो गतिलो नेपाली लिम्वु साहित्यका रुपमा दरिनेमा शंका छैन । कवितामा पनि पहिचानको मुद्धा बोकेर हिँड्ने यी जटाधारी आख्यनकारका रुपमा पनि सफल लेखकका रुपमा दरिएका छन् ।

Wednesday, June 3, 2015

पुनर्निर्माण र संरचनागत परिवर्तन

भुइँचालोले मानव निर्मित भौतिक संरचनालाई दिएको धक्का र निम्त्याएको विनाश अहिले पनि चर्चाको शिखरमा छ । अब उद्धार र राहतको काम सकिएको र अस्थायी आवासका लागि टहरा, छाप्रा या पालका घरको एक प्रकारको जोहो भइसकेको छ । बस्ने परिवारका लागि यो व्यवस्थापन छोटो कात्रो जस्तो कतै नमिल्ने र नपुग्ने खालको छ, तैपनि राज्यका निकाय अब बिस्तारै तत्कालीन राहतका लागि १५ हजार रुपैयाँ मानिसका हातमा थमाएर विश्राम लिने तयारीमा छन् । यता पत्रपत्रिकामा पहाडका उच्च भागतिर खेत खलिहान र पाखो बारीबाट समेत विस्थापित भएर राहतको खाद्यान्नमा जिउ धानेर पालमा बसिरहेका र अनिश्चित भविष्य बोकेका मानिसका खण्डित सपनाबारे तस्बिरसहितका समाचार आउन छाडेका छैनन् । काठमाडांैका सार्वजनिक र निजी खाली ठाउँमा पाल टाँगेर बसेका हजारौँ परिवार अझै पनि सर्ने ठाउँ नपाएर बसिरहेका छन् । भूकम्पले गरेको क्षति अझै पनि सतही रूपमा मात्रै चित्रण गरिएको छ । वास्तवमा त्यसले पार्ने प्रत्यक्ष अप्रत्यक्ष क्षतिबारे सरकारी, गैरसरकारी दुवै स्तरमा मापन गरिएकै छैन । अब राज्यको चिन्ता अहिलेको भूकम्पबाट सरेर वर्षायाममा आउन सक्ने विपत्तितिर तन्केको छ । यही राहत उद्धारमा पनि सरकारका मन्त्री आफँै भ्रष्टाचारमा पल्केको, सामग्री र पैसाको दुरुपयोग भएको गम्भीर आरोप लागिरहेको छ । सत्ताधारी दल नेपाली कांग्रेसका उपसाभापतिले आफ्ना प्रधानमन्त्रीलाई होइन, अर्को दलबाट उपप्रधानमन्त्री बनेको गृहमन्त्रीलाई भेटेर संस्थागत भ्रष्टाचार भएको र एमालेले राहत सामग्रीमा मनपरी गरेको भन्ने गुनासो गरेपछि यसभित्रको चलखेलको बाँकी चियोचर्चो पनि गरिरहनुपरेन ।
अहिले अस्थायी टहरा निर्माणको राजनीतिक ज्वरो चरममा छ । सरकारलाई नीतिगत निर्देशन दिने र स्रोत तथा साधनको व्यवस्था गर्न आवश्यक परामर्श दिने स्थानमा रहेका सभासद् नै हँसिया र स्मार्टफोन बोकेर अस्थायी टहरा बनाउँदै हिँडेपछि सरकार झन् हाइसञ्चोमा छ । संविधानसभाको बैठक र छिटै सुरु हुने संसद्को वर्षे अधिवेशनले मात्रै यसलाई क्रमश: मत्थर पार्नेछ । यता काठमाडांैको ध्यान भने बिस्तारै भुइँचालोले ध्वस्त पारेका संरचनाको पुनर्निर्माणका नीतिगत बहसमा प्रवेश गर्दै छ । यसका लागि आवश्यक पर्ने संवैधानिक तथा राजनीतिक संरचनाको खोजी हुन थालेको छ । यसमा प्राध्यापक पीताम्बर शर्मा, लोकराज बराल, कृष्ण खनाल, चैतन्य मिश्र, विश्लेषक हरि रोका र राजनीतिक नेताका रूपमा एमाओवादी नेता बाबुराम भट्टराईहरूले अनेक विश्लेषण अगाडि सारेका छन् । यसमा अनेकथरी विद्हरू र सयौँ एक्टरहरूले विभिन्न माध्यमबाट आफ्ना भनाइ राखिरहेका छन् । तर, अझै पनि भुइँचालोले अप्रत्यक्ष रूपमा नेपालको अर्थराजनीतिक संरचनामाथि दिएको धक्का र त्यसमा परिवर्तनको खाँचो र सम्भावित चित्रमाथि पर्याप्त बहस भने भएको छैन । अहिले भुइँचालोले भत्काएको मानव निर्मित संरचना मात्र हो कि हाम्रो अर्थसामाजिक संरचना पनि हो ? मानिसका बस्ती र घर मात्र ढलेका हुन् कि त्यस वरपरको आर्थिक जीवन, मानिसका जीविकाका स्रोत पनि भत्केका, बिथोलिएका हुन् ? नवनिर्माणको अर्थ भत्केका घर, कटेरा, स्कुल या स्वास्थ्य चौकी या काठमाडांैका दरबार र धरहराको पुनर्निर्माण या पुरानाका स्थानमा नयाँ बनाउने कुरा मात्र हो कि हाम्रा आर्थिक आधार र त्यस आधारमा बनेको समाज र संस्कृतिको पनि रूपान्तरण या संरचनागत परिवर्तन हो ? के नयाँ घर बनाउँदैमा मानिस सम्पन्न बन्ने आधार तयार हुनेछ ? यदि धेरैले भनेको जस्तो यो नेपालको नवनिर्माणको अवसर हो भने त्यो के कसरी सम्भव छ ? के त्यस्तो नवनिर्माणले हाम्रो परम्परागत अर्थतन्त्रलाई बदलेर त्यसको स्थानमा उत्पादनशील पुँजीवादी अर्थसंरचना, न्यायमुखी वितरण प्रणाली र समानतामा आधारित समावेशी चरित्रको राज्यप्रणाली निर्माण गर्नुपर्ने होइन र ?
आर्थिक क्षेत्रमा अहिलेको भूकम्पले प्रत्यक्ष रूपमा दुईवटा प्रभाव पार्नेछ । काठमाडांै उपत्यकाका काँठदेखि अति प्रभावित गोरखा र दोलखासम्मका उच्च पहाडी क्षेत्रका धेरै बासिन्दालाई यस भूकम्पले आर्थिक आधार भत्काएर गरिब बनाइदिएको छ । निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्रबाट हजारौँ, लाखौँ मानिस विस्थापित हुँदै छन् । अहिलेसम्म राम्रो न्यानो घरमा बसिरहेकाहरू अब छाप्रोमा पुगेका छन् । सरकारको अहिलेकै सहयोगको स्तरले तिनलाई जिन्दगीभर नयाँ घर एउटा सपना मात्र हुनेछ । भूकम्पग्रस्त क्षेत्रका जनताको जीवनस्तर, आर्थिकस्तर सबै खस्कने निश्चित छ । अर्थात् थप मानिस गरिब हुनेछन्, तिनको क्रयशक्ति घट्नेछ र त्यसले बजारमा वस्तुको मागलाई नकारात्मक प्रभाव पारी अर्थतन्त्रलाई कमजोर बनाउनेछ ।
अधिकांश विस्थापित नजिकका बजार, सहर र राजमार्ग छेउछाउ जीविकाको खोजीमा प्रवेश गर्नेछन् । तिनको व्यवस्थापन ठीक ढंगले गर्न सक्दा आद्योगिक क्षेत्रलाई सस्तो श्रमशक्ति आपूर्ति हुने र उद्योगको विकासका लागि अनुकूल पुँजी श्रम सम्बन्ध कायम हुनेछ । तिनको व्यवस्थापन गर्न नसक्दा त्यो नै एकप्रकारले सामाजिक अशान्ति र अराजकता तथा राजनीतिक परिवर्तनको बलियो आधार बन्नेछ । यस्तो राजनीतिक परिवर्तन प्रगतिशील नै हुनुपर्छ भन्ने छैन ।
यता पुनर्निर्माणको कामलाई अहिले भत्केको संरचना मात्र होइन, नयाँ पूर्वाधार विकासका कामसँग गाँसेर देशलाई कायापलट गर्ने अवसर पनि यसले दिएको छ । मस्र्याङ्दीदेखि दुधकोसीसम्मको भूभाग प्रभावित भएकाले तिनै नदीका जलाधार क्षेत्रमा नयाँ जलविद्युत्, सडक र सहर निर्माणका एकीकृत परियोजना, त्यस्ता पूर्वाधारका लागि चाहिने सिमेन्ट, रड र जस्तालगायत उद्योगको स्थापनालाई एकीकृत नीति अगाडि सारियो भने ग्रामीण निर्वाहमुखी क्षेत्रबाट विस्थापितलाई रोजगारीको अवसर सँगसँगै लैजान सकिनेछ । यसले फरवार्ड लिंकेज र ब्याकवार्ड लिंकेज भनिने कृषि, उद्योग र सेवा क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्नेछ । यसो भयो भने मात्रै अहिलेको संरचनागत अवस्थामा परिवर्तनलाई संस्थागत गर्न सम्भव हुनेछ ।
हाम्रो संस्कृति र समाज व्यवस्थाको आधार त्यही आर्थिक व्यवस्था या उत्पादन पद्धति नै हो । त्यसलाई परिवर्तन गरिसकेपछि स्वत: सांस्कृतिक संरचनामा परिवर्तनको जबर्जस्त आधार तयार हुनेछ । काठमाडांैका बस्ती या भक्तपुरका बस्तीका नेवार र सिन्धुपाल्चोकका तामाङको सोच्ने आधार, संस्कार र संस्कृतिमा परम्परा र आधुनिकताको मेल हुनेछ, तिनको सोचाइ, बुझाइ र व्यवहारमा आनका तान भिन्नता आउनेछ । यसलाई सांस्कृतिक विविधता र एकताको सूत्रका रूपमा लान सम्भव छ । नयाँ बसाइ, नयाँ पेसा या व्यवसायले सामाजिक सम्बन्धका आधार फराकिलो बनाउने छ । यही नै सामाजिक, सांस्कृतिक संरचनामा परिवर्तनको महत्त्वपूर्ण आधार बन्नेछ ।
तर, यी सब परिवर्तनलाई व्यवस्थित गर्ने भनेको राजनीतिक पुनर्संरचनाले हो । यसमा प्राध्यापक शर्माका विचार बढी प्रस्ट देखिन्छन् । उनी भन्छन्, ‘भूकम्पले संघीयताको औचित्य अझ टड्कारो पार्‍यो । काठमाडौंमुखी अति केन्द्रीकृत राजनीतिक र आर्थिक परिपाटी विपत्का वेला कति प्रत्युत्पादक हुने रहेछ भन्ने हेक्का भयो । संघीयताको मर्म पहिचानका विभिन्न आयाम (जाति, भाषा, संस्कृति, वर्ग आदि) लाई शक्ति निक्षेपणका माध्यमबाट कसरी समावेशी विकासमा रूपान्तरण गर्ने भन्ने हो । यसको उपादेयताका पक्ष भूकम्पले उजागर गर्‍यो ।’ बाबुराम भट्टराईले पनि संघीयतालाई जोड त दिएका छन् तर हालै कान्तिपुरमा प्रकाशित उनको अन्तर्वार्ता अर्थसामाजिक तथा अर्थराजनीतिक परिवर्तनलाई संस्थागत गर्नेतर्फभन्दा भत्केका संरचनाको पुनर्निर्माणको प्राविधिक सोचबाट निर्देशित देखिन्छ । उनी भन्छन्, ‘नेपालको राजनीति २००७ देखि ०६३ सम्म आइपुगिसकेपछि अब देशको आर्थिक आधार निर्माण गर्ने उत्पादन शक्तिको विकास गर्ने चरणबाट हामी जानुपर्छ । …अब विकासको राजनीतिमै लाग्नुपर्छ भन्ने हो ।’ विकासको राजनीतितर्फ लाग्ने उनको भनाइ सुन्दा मिठो लागे पनि अहिलेको संसद्को शक्ति सन्तुलन र विभिन्न दलको दृष्टिकोणलाई हेर्दा आदर्शवादी बढी देखापर्छ ।
संरचनागत परिवर्तनका आधार तय गरेपछि पनि आमनागरिकप्रति राज्यको दायित्व अझ बढेर जानेछ । प्रा. शर्माको विचार यस मामिलामा मननीय छ । उनका भनाइमा अहिलेको विकासे डिस्कोर्सलाई डोर्‍याइरहेका उदारवाद, पुँजीवाद र बजारले विपत्का वेला केही गर्न सकेनन् । बरु यस्ता वेला संवेदनशील भएर काम गर्ने भनेका त सार्वजनिक संस्था नै हुन् । अर्थात् यस्ता विपत्का पीडितको पक्षमा काम गर्ने संरचना भनेका राज्यले बनाएका सार्वजनिक संस्था नै हुन् । उनको भनाइको सार हो, बजारलाई सबै कुरा छाडेर गरिने राजनीतिक परिवर्तनले सामाजिक न्याय पनि गर्न सक्दैन, राष्ट्रिय सुरक्षाको एउटा महत्त्वपूर्ण पाटो सीमान्तीकरणमा परेकाहरूको संरक्षण पनि हुँदैन । संरचनागत परिवर्तनको संस्थागत आधार भनेको पनि बलियो राज्य नै हुनुपर्छ ।
यसरी भुइँचालोको कम्पनले धक्का दिएको अर्थसामाजिक आधारलाई त्यसको भग्नावशेषसहित पन्छाएर नयाँ आकार दिने अर्थात् पिछडिएको निर्वाहमुखी कृषिबाट औद्योगिक पुँजीवादी विकासको आधार दिने गरी हस्तक्षेपको सम्भावना यो भुइँचालोले हामीलाई दिएको छ । अब हुने पुनर्निर्माणको बहस राजनीतिक बहस नै हो । यसका प्राविधिक र प्राज्ञिक पक्ष नभएका होइनन् तर मूल कुरा त नीतिगत नै हो । यस्तो नीति राजनीतिकै एउटा हिस्सा हुने भएकाले त्यो सिद्धान्त निरपेक्ष या वर्ग निरपेक्ष पनि हुन सक्दैन । अहिले नवनिर्माणको बहसलाई सामाजिक न्याय र आर्थिक प्राणाली तथा उत्पादन पद्धतिमा परिवर्तनसँग गाँस्नु नितान्त जरुरी छ । यो नै नेपालको नवनिर्माणलाई प्रचलित भाषामा जापानी मोडलमा लाने उपाय हो ।