खेर गएको एउटा लेख
आलोचनात्मक चिन्तन र आलोचना
(यो लेख पुरै एक महिना अगाडि लेखिएको थियो । त्यतिबेला नेकपा एमाले विधान महाधिवेशनको तयारीमा थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओली आफ्नो शेषपछि पनि देश र पार्टीको सत्ता नियन्त्रण गर्ने अहंकारबाट निर्देशित हुनुहुन्थ्यो । संयोगवस यो लेख त्यतिबेला मिडियामा पठाएर पनि छाप्ने र पाठकसम्म पुग्ने अनुकुलता भएन । यसबीचमा भदौ २३ र २४ का घटनाहरु घटे, कमरेड ओली सडकको विद्रोह र प्रश्नहरुबाट खेदिनुभयो र अहिले गुण्डुमा पूर्व प्रधानमन्त्रीका रुपमा अनिस्चित भविष्यसँग संघर्षरत हुनुहुन्छ । आब ओलीको आलोचना र विरोध गर्ने विषय र सन्दर्भका सिमा खिचिदै गएका छन् । तैपनि लेखकीय मोह कस्तो भने लेख डिलिट गर्न पनि मन लागेन ।यसमा केही शब्द र वाक्य यता उता पारेर मुल लेखलाई जस्ताको तस्तै राखिएको छ । यसैले सिमित पाठकहरुसम्म पुगे पुगोस् नपुगे पनि आफ्नो रेकर्डमा रहिरहोस् भनेर यहाँ प्रकाशित गरेको छु ।)
क्रिटिकल डिष्कोर्ष स्टडिजको माक्र्स र डिस्कोर्ष सम्बन्धी विशेषांकको परिचय खण्डमा जोहन्नेस बीत्ज, बेन्नो हर्जोग र जेन्स मएस्सेले भनेका छन् ः अल्थुसर, फुको र ह्यावरमाससम्मका फ्रान्सेली डिष्कोर्ष विश्लेषक परम्परासँग जोडिएकाहरु देखि एस्सेक्स स्कुलका डिष्कोर्ष सिद्धान्तहरुसम्म, साँस्कृतिक अर्थ–राजनीतिक दृष्टिकोणसम्मका आलोचनात्मक डिष्कोर्ष सम्बन्धी अध्ययनका सबै शाखाहरु, विभन्न प्रकारले, माक्र्सवाद र यसका अवधारणाबाट प्रेरित छन् ।
यसको अर्थहून्छ आलोचनात्मक बहस विश्लेषण र टिप्पणीहरुले माक्र्सका समाजशास्त्रीय ज्ञानहरुसँग सिधा सम्बन्ध राख्छन् । तर हामीकहाँ आलोचनात्मक चेत र आलोचनात्मक बहसलाई निषेध गर्नुपर्छ भन्ने अफिसियल आदेशहरु कम्युष्टि पार्टीका नेता तथा कम्युनिष्ट सरकारका प्रमुखहरु बाटै निरन्तर जारी हुन थालेका छन् जो आफुलाई माक्र्सका आधिकारीक चेला मान्छन् ।
गएको वैशाख १४ गते मदन भण्डारी फाउण्डेशनको अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष तथा त्यतिबेलाका प्रधानमन्त्री केपी ओली मुख्य अतिथि हुनुहुन्थ्यो । आफ्नो उद्घाटन मन्तव्यका क्रममा वहाँले व्यक्त गर्नुभएका धारणा मध्ये मलाई आलोचनात्मक चेत र आलोचना सम्बन्धी दुइटा कुरा चैं अर्थपूर्ण लागेको थियो । यहाँ कमरेड ओलीले उक्त कार्यक्रममा व्यक्त गरेका भनाइहरुलाई रिफ्रेन्समा राखेर हाम्रो आम वृत्तमा हराउँदै र पराजित हुँदै गएको आलोचनात्मक चेतका सन्दर्भमा विमर्स गर्ने प्रयास गरिने छ ।
आलोचना र समर्थन
पार्टी अध्यक्ष र नेताका रुपमा कमरेड ओलीको एउटा भनाई साह्रै रमाइलो र वहाँको जीवन दृष्टि व्यक्त गर्ने खालको थियो । वहाँले भन्नु भो मिलेसम्म (मलाई मेरो कामलाई) समर्थन गर्नुस्, समर्थन गर्न मिल्ने, प्रशंसा गर्न मिल्ने के के कुरा छन् खोज्नुस् । त्यस्तो कुरा खोजेर बोल्ने लेख्ने हो । यदि समर्थन गर्न प्रशंसा गर्न कुरा पाइएन भने नबोल्ने नलेख्ने हो । अब तपाई विरोधमा लेख्नुहुन्छ बोल्नुहुन्छ भने त त्यसरी आलोचित हुने मान्छे तपाईको कसरी मित्र भइरहन्छ र ? एकपटक विरोध र आलोचना गरेको देखे सुनेपछि उ त तपाईँको कहिल्यै मित्र हुँदैन । त्यसैले आलोचना गरेर नलेख्नुस् (यहाँ यो कुरा किनपनि लेख्न खोजेको भने हलबाट बाहिरिदै गर्दा केही साथिहरुले उपरोक्त भनाई तँप्रति लक्षित थियो भनेर मलाई हेर्दै आँखा सन्काएका थिए) । यसको अर्थ हुन्थ्यो जसले वहाँको आलोचना गरेर लेखेको छ उसले वहाँसंग सहकार्य गर्ने, एउटै बेञ्चमा बस्ने कल्पना नगरे हुन्छ । कि मलाई मान कि थुतुनो सम्हालेर बस !
प्रधानमन्त्री पदमा रहुञ्जेल कमरेड ओलीका कुरा सुन्दा लाग्थ्यो सारा दुनिया उल्टेर संसद भित्र र बाहिर, पार्टी भित्र र बाहिर, पत्रपत्रिका देखि सञ्जालसम्म वहाँको विरोध मात्र गरिरहेको छ । सामाजिक सञ्जाललाई छाड्ने हो भने वहाँको भनाई अर्धसत्य मात्र हो । संसद र पार्टीका फोरमहरुमा, तथ्य र सिद्धान्तका आधारमा वहाँको आलोचना जेजति हुनपर्ने हो, त्यो भए जस्तो लाग्दैन । संसदमा वहाँ अत्यधिक बहुमतमा हुनुहुन्न्थ्यो र काँग्रेसका पदाधिकारी र बौद्धिकहरु समेत रातदिन वहाँको प्रशंसामा गीत गाइरहेका थिए । पार्टीमा त वहाँले अरुलाई खासै बोल्न पनि दिनुहुन्न र बोलीहाल्यो भने वहाँकै भाषामा त्यस्तो बोल्ने व्यक्ति वहाँको मित्र रहँदैन । जब शक्तिशाली अध्यक्षले आफ्नो बारे प्रश्न उठाउनेको भविष्य छैन भन्ने सन्देश दिन थाल्छन् अनि बोल्नेहरु स्वतः कम हुन्छन् । दर्जनौं वर्ष राजनीतिमा जीवन विताएर उत्तरार्धमा केही पाउने आस गरेका नेता कार्यकर्ताले अध्यक्षको आलोचना गरेर आफ्नो सम्भावित अवसर गुमाउने जोखिम मोल्न चाहन्नन् भने तिनलाई के दोष दिनु र ? जहाँसम्म सञ्जाल र मिडियाको कुरा छ त्यो त आम मानिसले विगत ३५ वर्ष यता सरकार र देशको नेतृत्व गर्नेहरुबाट प्राप्त निराशा ओकलेका मात्र हुन् ।
फेरी समर्थन मात्र गर्न त एमालेका पक्षधर पत्रकारहरु संगठित छन्, प्रचार विभागै छ, सिंगो पार्टी संरचना छ, सरकारी प्रचार संयन्त्र क्रियशिल छ । तिनिहरुको कामै विना प्रश्न समर्थन गर्ने हो गरिरहेका छन् । र त्यसो गरेर दिर्घकालसम्म तपाईँहरुको वर्चश्व र व्यक्तित्व खियाउन तिनले भरपुर सहयोग गरिरहेका थिए भन्नेमा म पुरापुर विश्वस्त छु ।
सार्वजनिक वृत्तमा लेख्ने बोल्ने भएकाले मेरा दुःख के छन् भने मलाई दल, दलका नेतृत्वका सरकारहरु र तिनको नेतृत्वमा राज्यले गरिरहेका काममा यो पुगेन, त्यो पुगेन, यसो गर्न सकिन्थ्यो गरिएन भन्ने कुरा लेख्नु आफ्नो दायित्व हो भन्ने लाग्छ । समाजको शक्ति सम्बन्धको पिँधमा परेका, राज्यको नीतिका कारण सिमान्तमा धकेलीएकाहरुको पक्षमा आबाज उठाउनु कर्तव्य हो जस्तो लाग्छ । प्रधानमन्त्रीका रुपमा वहाँ (हरु)ले गर्न नहुने, नपर्ने र नगरेपनि हुने अनेक काम चैं गरिरहेको र गर्नै पर्ने र गर्न सकिने काम नगरेको जस्तो जहाँ जहाँ लाग्छ त्यहाँ प्रश्न उठाउन मन लाग्छ ।
२०६३ साल पछिको नेपाली राजनीति र आम जनताले व्यहोरेका दुःख र समस्या, आम निराशा र आक्रोस मुलतः राजनीतिक दलहरुले हुर्काएको आसेपासे पुँजीवादको संकटका अभिव्यक्ति हुन् । त्यसको विष्फोट भदौ २३ र २४ मा भएको मात्र हो । राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र क्रोनीहरुका बीचको यो सम्बन्धले औद्योगिक पुँजीवादको विकासलाई रोकेको छ । आम कामदार वर्ग सहित निम्नपुँजीपतिवर्गको ठुलो हिस्सा र साना तथा मझौला किसानको जीवन कष्टकर हुँदै गएको छ । दुर्भाग्यवस यो समयको मुख्य नेतृत्वकर्ता कम्युनिष्ट पार्टीहरु नै रहेका थिए र अहिले उनीहरु आफ्नो सिद्धान्तहिनताले उब्जाएका गल्तीका कारण आफै संकटग्रस्त बन्दै गएका छन् ।
तपाईँहरुका दुःख र हाम्रा दुःख बीचको यो अन्तरविरोध, हाम्रा कर्तव्य बीचका यी विरोधाभाष ले त हो हाम्रो समाजलाई गतिशिलता प्रदान गर्ने । हामीले प्रश्न उठाउन छाड्यौं भने, हामीले तपाईँहरुका गल्तीबारे आलोचना गर्न छाड्यौं भने थप झन कति गल्ती गर्नुहुन्थ्यो भन्ने हामीलाई डर लाग्छ । नत्र त्यत्रो बलिदानको इतिहास भएका र देशको नेतृत्व गरिरहेका तपाईँहरुलाई आलोचना गरेर चिढाउन हामीलाई मन छ र ?
अर्को कुरा, यस्तो आलोचना गरेको एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्रीलाई हो तपाई केपी ओलीलाई होइन । पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा तपाईँले गर्ने अनुचित निर्णय र व्यक्त भ्रान्त धारणाबाहेक तपाईको आलोचना गर्नुपर्ने कुनै खाँचो पर्थेन ।
आलोचना नगर्नुस् भन्दैगर्दा तपाईँको भयग्रस्त मानसिकता मात्र उजागर भएको थियो । कसैले आलोचना गरेर तपाईँका राम्रा काम नराम्रा भएका हैनन् । नगरेका र गर्न नहुने काम गरेर लगाएका फाइँफुट्टीबाट मानिस आजित भएपछि आलोचना गरेका हुन् । तपाईँले राम्रोे गर्दा गर्दै आलोचना गरिएको हो या गर्न नसकेको नगरेको या विगारेकोले नराम्रो भनिएको हो भन्ने छुट्याएर हेर्न सकिने भिजिवल तथ्यहरु छन् । अनुसन्धान र विश्लेषण पद्धती छन् । समाजशास्त्रीय सिद्धान्तहरु छन् । सहि र गलत छुट्याउने मानक, तथ्य विश्लेषण र निष्कर्ष निकाल्ने विधिहरु छन् । उदाहरणका रुपमा तपाईँले लगभग डेढ अर्ब खर्चेर बनाएको दमक भ्यु टावर अरुले आलोचना गरेकोले अनावस्यक ठहरिएको होइन, अनावस्यक ठहरिएकोले आलोचना भएको हो ।
अर्थशास्त्रमा अपरच्युनिटि कष्ट भन्ने एउटा अवधारणा छ । त्यस अनुसार भ्यु टावरमा खर्चेको डेढ अर्बलाई अन्य उत्पादनमुलक क्षेत्रमा लगानी गरेको भए हासिल हुने लाभ र यो टावरमा गरिएको लगानीको प्रतिफलका बीच तुलना गरेर हेरिन्छ र टावर बनाउने निर्णय सहि हो या गलत भनेर छुट्याइन्छ ।
जस्तो कि सन् २०२१ को तथ्याँक अनुसार झापामा २१.८० प्रतिशत जनसंख्या गरिब छ । उक्त एक अर्बले झापाको गरीबि घटाउन उनीहरुलाई रोजगारी दिने उद्योग खोल्न पनि सकिन्थ्यो । गरीब परिवारका सबै बालबालिकालाई उच्च गुणस्तरको शिक्षा दिने गरी आवासीय विद्यालय चलाउन पनि सकिन्थ्यो जसले गर्दा अर्को पुस्ता सक्षम बन्थ्यो । अथवा मध्य तराईका धेरै जिल्लाका चुरेफेदीमा विशाल पोखरीहरु बनाउन सकिन्थ्यो जसले त्यहाँको जलसंकट समाधान गथ्र्यो । भ्यु टावरले दिने लाभ र माथि भनिएका वैकल्पीक क्षेत्रमा गरिने लगानीबाट प्राप्त हुने लाभको हिसाब गर्दा भ्यु टावरले दिने लाभ बढि देखिए मात्र राज्यको स्रोतको सहि उपयोग भएको मान्न सकिन्छ । त्यस्तो अवस्थामा तपाईँलाई भ्यु टावर बनाएकोमा कसैले आलोचना गर्छ भने त्यो गलत नै हुन्थ्यो ।
टावरवाला विकास मोडलले भरपुर रिटर्न दियो भने पनि त्यसको लाभ सम्पत्तीशाली वर्गमा पुग्छ र गरिवहरुले केही लाभ पाए भने त्यो धारोबाट उछिट्टिएको थोपाजति हुन्छ । यसरी हुने लाभलाई ट्रिकल डाउन पद्धती भनिन्छ । यो विकासको गैह्र माक्र्सवादी बाटो हो । गरिब जनसख्यालाई गरिबीबाट उकास्न श्रमको उत्पादकत्व बढाउने, उनीहरुको क्रयशक्ति बढाउने र त्यस मार्फत बजारमा माग बढाउने अनि बजारलाई चलायमान बनाएर समग्र अर्थतन्त्रको उत्थानमा ध्यान केन्द्रीत गर्दा बल्ल दिगो आर्थिक विकास हुन्छ । आम मानिसको जीवनस्तर उकासिदै जाँदा खास ठाउँमा जनघनत्व बढ्दै गयो भने बाजारले स्वतः यस्ता अग्ला भवनहरुको माग गर्छ । तपाइ विकासको आम अवधारणका विरुद्ध जानुभयो, अप्राकिृतक निर्णय लिनु भयो र लहडमा भ्युटावर बनाउनु भयो भनेर कसैले आलोचना गर्न र प्रश्न गर्न आउँछ भने उसलाई बोल्न निषेध गर्ने कि भ्यु टावरबाट हुने लाभ अन्य क्षेत्रमा गरिने त्यही लगानीको तुलनामा बढी हो भनेर चित्त बुझाउन शास्त्रसम्मत प्रयास गर्ने ?
भ्युटावर बनाउन र पशुपतिमा अर्बौंं खर्चेर जलाहारी थप्न तपाईँले अघि सारेका तर्कले सामन्तवादी युगका शासकहरुले झैं आफ्नो किर्ति राख्ने लहडको झल्को दिन्छन् । कुनैपनि खाले आधुनिक राज्य व्यवस्थाले नागरिकले तिरेको करको सहि प्रयोग भए नभएको राष्ट्रको सम्पत्ती या स्रोतको प्रयोग सहि ढंगले भए नभएको हिसाब खोज्छ । भिमसेन थापाले धरहरा बनाएको जस्तो या प्रताप मल्लले रानिपोखरी अथवा रुद्र शमसेरले रानीमहल बनाएको जस्तो निजी तजविजमा राज्यको सम्पत्ती खर्च गर्न पाइन्न भन्छ ।
मान्छेका मुख थुनेर सहि हो भन्दैमा सहि हुदैन, मान्छेले रिसले या डाहले या वायस भएर तपाईँको आलोचना र विरोध गर्दैमा तपाईँ गलत सावित हुने होइन । हरेक घटना र निर्णयहरुको एउटा ऐतिहासिकता हुन्छ, घटनाहरु कुनै कार्यकारण सम्बन्ध नभइ टपक्क निस्केका हुँदैनन् । नेता या दल अथवा राष्ट्रहरुकै पनि उदय र पतनका ऐतिहासिकता हुन्छन् । कसैको पनि मुल्याँकन गर्दा समाजशस्त्रीय सिद्धान्तका आधारमा गरिनुपर्छ । तथ्य र सुचना प्रयोग गर्नुपर्छ र भेदरहित निष्कर्ष निकालेर गर्नुपर्छ । विरोध या समर्थन पनि त्यसैका आधारमा गर्ने हो ।
तर कसैले तपाईँको समर्थन नगर्दैमा या विरोध र आलोचना गर्दैमा उ तपाईँको मित्र लायक नरहने, तपाईले उसलाई आफ्नो विरोधी करार गर्ने हो भने त्यो तपाईँको दृष्टिदोष हो, तपाईँको समस्या हो । यसबाट प्रकारान्तरले तपार्इँ अधिनायकवादी मनोविज्ञानबाट निर्देशित हुनुहुन्छ भन्ने मात्र प्रमाणित हुन्छ ।
आलोचना र आलोचनात्मक चेतना
अब मुल प्रश्नतिर प्रवेश गरौं । फाउण्डेशनको कार्यक्रममा बोलेकोे भाषा जस्ताको तस्तै त म सम्झन नसकुँला तर ठ्याक्कै उस्तै अर्थ र आसय सहित वहाँले गत असार २७ गते एउटा कार्यक्रममा बोल्नु भएको भनेर निम्न भनाई अनलाइन खबरडटकममा छापिएको छ ।
आलोचनात्मक चेत होइन विश्लेष्णात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना, जेमा पनि आलोचना, जेमा पनि आलोचना होइन । रचनात्मक सुझाव जरुरी छ, रचनात्मक टिप्पणी जरुरी छ ।
तत्कालिन प्रधानमन्त्री र एमाले अध्यक्ष मात्र हैन एकजना प्रौढ नेताका रुपमा ओली कमरेडका यी भनाइ आपत्तीजनक र उदेकलाग्दा छन् । वहाँको विचार सुनेर ताली लगाउनेहरु देखेपछि म हाम्रो वौद्धिक विमर्समा रहेको रिक्तता देखेर खिन्न भएको थिएँ ।
कुनैपनि वस्तु तथा घटनालाई त्यसको ऐतिहासिकता, कार्यकारण सम्बन्धहरु सहित समाजका अन्य यावत अवयवहरुसँगको अन्तरक्र्रियासँग जोडेर हेर्नु, तथ्यका आधारमा सत्य पत्ता लगाउनु र वस्तु तथा घटनाका द्वन्दात्मक सम्बन्धहरु केलाएर निष्कर्षमा पुग्नु । वर्गयुक्त समाजको उत्पत्ती र अन्त्यका कारण र अवस्थाहरु तथा त्यसमा सचेत मानवीय प्रयत्नका भूमिकालाई स्विकार गर्नु । सिद्धान्तहरुलाई समाजका दैनिक जीवनसंग तालमेल मिलाएर परिक्षण गर्नु र हरेक वस्तु तथा घटनालाई गतिशिलतामा बुझ्नु । कुनै निष्कर्षमा पुग्नका लागि रिजनिङ गर्नु । विज्ञानले प्रमाणित गरेका कुरालाई विश्वास गर्नु । ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा समाज, व्यक्ति र यस सन्दर्भमा सरकार तथा पार्टीका निती र निर्णयको परख गर्नु । आलोचनात्मक चेत भनेको यही हो । आलोचनात्मक चेतले सबैप्रकारका फतुर कुराहरु, अप्रमाणित र असत्य कुराहरुलाई अस्विकार गर्छ । कुनै कुरा पत्याउनु अगाडी फ्याक्ट चेक गर्नु । कसैको विरोध र आलोचना पनि प्रमाणित सत्यहरुका आधारमा मात्र गर्नु, कसैको समर्थन पनि वस्तुगत सत्यले समर्थन गर्न मिल्नेसम्म मात्र गर्नु । आलोचनात्मक चेत सबै खाले कुराकटुवा, भँडुवा र षडयन्त्रका सिद्धान्तहरुको विरुद्ध हुन्छ ।
बेलाबखत उतार चढाव, निराशा र अन्योल मेरै चिन्तन र अभिव्यक्तिमा पनि देखिएला तर समाजलाई बुझ्ने मेरो आधारभूत पद्धति उहि छ । म कसैलाई खुशी पार्न मात्रै लेख्न सक्दिन त्यसरी नै कुनै गलत तथ्य या काल्पनीक फतुर लगाएर कुनै नेतालाई दुःखी बनाउन मात्र पनि लेख्न सक्दिन । व्यवहारिक जीवनमा खासै काम नलागेको आफ्नै आदर्शका कारणपनि म यसमा प्रतिवद्ध छु ।
आलोचनात्मक चेत नभएको मानिसले समाज भरियो भने त्यस्तो समाज या त लठैतहरुको भिड बन्छ या त मौनता साँधेर मौका पर्खिबसेका डिप्रेस्ड मानिसको समुहमा परिवर्तन हुन्छ ।
आलोचना र प्रश्न नगर्नु भनेको समाज समरुपी छ, सबैका स्वार्थ समान छन्, सबै स्त्रिपुरुष या लैंगिक विभेद मेटिएका छन्, समाजमा वर्गहरु छैनन्, वर्ग संघर्ष पनि छैन, भिन्न भिन्न समुहका बीच विभेद पनि छैन, धर्म सम्प्रदाय र भिन्न क्षेत्र या जाती संस्कृतिका बीच अन्तरविरोध पनि छैन, साम्राज्यवाद पनि छैन, युद्धहरु पनि छैनन, त्यसका बाछिटाले हाम्रो स्वाधिनतामाथि हस्तक्षेप गरेको पनि छैन सबैले समान रुपले सोच्न सक्छन् या सोच्नुपर्छ भन्ने आग्रह मात्र हो ।
वर्गिय समाजमा सर्वे भवन्तुः सुखिन सर्वेसन्तु निरामया लागु हुँदैन । यहाँ कोही सुखी हुन्छन् कोही दुःखी । सुखीहरुका बीचमा पनि कोही अलि बढी सुखी हुन्छन् र कोही कम । समाजको यो विषमताका कारण छन् । त्यसैले जो जो दुखी छन्, शोषित उत्पिडित छन् तिनले आफ्ना आवस्थामा परिवर्तनको माग गर्दै संघर्ष गर्छन् । तपाईहरुले सरकारको नेतृत्व गर्दा लिएका निर्णयहरुले उनीहरुको दुःख झन बढेको छ भन्ने लाग्यो भने तिनले प्रश्न उठाउँछन् । यही हो क्रिटिकल हुनु । आलोचनात्मक हुनु । आलोचनात्मक हुनु भनेको विरोध गर्नुमात्र होइन समर्थन गर्नुपनि हो । खाली केलाई विरोध गर्ने र केलाई समर्थन गर्ने भन्ने प्रश्नमा आलोचनात्मक चेत हुने र नहुनेका बीच भिन्नता हुन्छ ।
क्रिटिकल थिंकिगलाई निषेध गरेर तपाइँले समाजमा फल्स कन्ससनेस र एल्गोरिदम गाइडेड र्युमोरर्सहरुलाइ प्रोत्सहित गरिरहनुभएकोछ । यसले तपाईँलाई अल्पकालिन लाभ हासिल भएछ नै भनेपनि नेपाली समाजको स्वस्थ्य विकासका दृष्टिले नकारात्मक प्रभाव पार्छ ।
जुन समाजको आम मानिसको औपचारिक शिक्षाको औसत स्तर कम छ, जुन शिक्षाले आफ्ना विद्यार्थीलाई रिजनिङ गर्न सिकाउँदैन, जहाँ विज्ञान या प्रमाणलाई भन्दा परम्परागत विश्वासलाई निर्णयको आधार बनाइन्छ त्यहाँ एउटा चटकेले सोच्ने र अरुले फलो गर्ने भिड तयार हुन्छ । आलोचनात्मक चेत सबैमा भयो भने बल्ल समाजले कार्यकारण सम्बन्धहरु बुझ्ने, विश्लेषण पद्धतीहरु अनुसरण गर्ने, तथ्य र प्रमाणका आधारमा, पुष्टि गर्न सकिने लजिक र रिजनिङका आधारमा कुनै वस्तु तथा घटनाका प्रति धारणा बनाउँछ । तपाईलाई आलोचना गर्नेले पनि पर्याप्त कारणहरु र रिफ्रेन्स सहित गर्छ । विरोध गर्नेले पनि त्यही विधि अप्नाउँछ । त्यसो भयो भने मात्र तपाईले नगरेको गल्तीमा गालिखानबाट तपाई बच्नुहुन्छ ।
सबैले आफुलाई समर्थन मात्र गरुन भन्ने चाहनुहुन्छ भनेपनि त्यस्तो भक्त मात्र उत्पादन गर्ने कारखाना अहिलेसम्म बनेको छैन । थोरैको मुख टाल्यो धेरैले बोल्न थाल्छन् । पञ्चायतका विरुद्ध, राजाको निरंकुश शासनका विरुद्ध तपाईँहरुले बोल्ने आँट गरेकैले यो समाज परिवर्तन भएको हो । तपाईँहरु नबोलेको भए न झापा विद्रोह हुन्थ्यो न लोकतन्त्र या गणतन्त्र आउँथ्यो । त्यसैले आलोचना गर्नेबाट नतर्सिनुस् ।
आलोचनात्मक चेत नभएको मानिसले विश्लेषणत्मक पद्धती अप्नाउन र सकारात्मक सुझाव दिन पनि सक्दैन । कुनै योजना बनाउन पनि सक्दैन बनायो भने त्यो आदर्शवादी बन्छ र असफल हुन्छ । नेतृत्वले आलोचनात्मक चेत नभएका भक्तहरुको खोजी गर्नाले हो पपुलिष्टहरु हुर्केको । नसोच्ने, जजमेण्ट नगर्ने एकोहोरो गाली या एकोहोरो भक्तिमात्र गर्ने जमात बढ्दै गएको । आलोचनात्मक चेतलाई निषेध गर्दा जन्मने हुन् रोबोटिक मान्छेहरु । दुनियाभरका पपुृलिष्टहरु यसैका उपज हुन् । बरु हाम्रो विद्यालय विश्वविद्यालय शिक्षाले आलोचनात्मक चेत भएको नागरिक उत्पादन गरेको छैन भने त्यसमा जोड दिन लगाउनुस् । अन्ध समर्थन खोज्दा मालिकको नाकको झिँगा धपाउँदा नाकै छप्काउने भक्तहरुमत्र तयार हुन्छन् । पार्टीभित्र आलोचनात्मक चेत भएका कार्यकर्ता नेता हुर्काउन आवस्यक प्रशिक्षणको व्यवस्था गर्नुस् । तपार्इँको र हामी सबैको हित त्यसैमा छ ।
र अन्तमा, फ्यान्कफर्ट स्कुलका संस्थापकहरु लगायत आलोचनात्मक सिद्धान्तका प्रवर्तकहरु देखि ग्राम्सीसम्म (माक्र्सवादी, नवमाक्र्सवादी) सबैले मानिस (उत्पिडित वर्ग समुदाय र श्रमिक वर्ग) लाई बन्धनमा पारिरहेका भौतिक र सामाजिक परिवेशहरुबाट उसलाई मुक्त गर्ने हतियारका रुपमा यसको व्याख्या गरेका छन् । तपाईँ आफुलाई मौका अनुसार माक्र्सवादी पनि भन्ने गर्नुहुन्छ । तर मानिसहरुलाई आलोचनात्मक सिद्धान्त अनुशरण नगरुन भन्दै उनीहरुलाई अहिलेजस्तै ठुलो वुर्जुवा वर्गको शोषणको जुवामुनी नै पिल्सिइरहुन भन्न खोज्नुभएको हो ?
1st october, 2025.
Comments
Post a Comment