Saturday, May 23, 2020

कोरोनापछिको शहरी गरिबी


राजकपुर देखि जोया अख्तरसम्म
लकडाउनका समयमा घर बस्दा यसपटक केही नयाँ पुराना हिन्दी सिनेमा हेरियो । सन् १९५५ मा बनेका पुराना देखि २०२० मा रिलिज भएको इरफान खानको पछिल्लो सिनेमा अंग्रेजी मेडियमसम्म । १९५५ मा बनेको राजकपुरको सिनेमा श्री ४२० गाउँबाट बम्बै पुगेर संघर्ष गरिरहेको युवाका रुपमा राजकपुरका दिनहरुको वरपर घुमेको छ । सिनेमाको गित मेरा जुता है जापानी ... फिर भि दिल है हिन्दुस्तानी निकै लोकप्रिय थियो । कथामा बम्बैमा आफ्नो घर नभएका, अरुका घरमा डेरा लिएर या वेघर भएर सडक छेउ बसोवास गर्दै संघर्ष गरिरहेका अनेक मानिसहरु छन । उनीहरुलाई घर दिने सपना देखाएर करोडौं कमाउने धन्दामा रहेका ठगहरुको खेल छ । तर झुपडपट्टीका विस्तारित चित्र छैनन । अर्थात बम्वैमा गरिबी त छ तर सुकुम्वासीहरुका ठुला सिमान्त वस्तीहरु बसिसकेका छैनन ।
स्लमडग मिलियनियर २००८ मा बनेको र एकेडेमी अवार्ड जितेको सिनेमा दोहोर्याएर हेरियो । यहाँसम्म आईपुग्दा अर्थात श्री ४२० बनेको ५५ बर्ष पछि बम्बैको जुहु या धरावी जस्ता झुपडपट्टीहरु बनेका छन जहाँ अत्यन्त साँघुरो इलाकामा लाखौं मानिसहरु बसोवास गर्छन जो भारतका कुनाकुनाबाट यहाँ जीविकाको खोजीमा आएर बसेका हुन । यीनै लाखौं झुपडीहरुले बनेको वस्तीको कथा भन्छ सिनेमाले । चर्चित टिभी सो कौन बनेगा करोडपतीमाथि व्यंग्य गर्दै उनिएको यसको कथाले बम्बैमा समानान्तर रुपमा चलिरहेको वैभव र विपन्नताको कठोर अन्तरविरोध देखाएको छ । 
सन् २००४ मा प्रकाशित सुकेतु मेहताको पुस्तक ‘बम्बै दि मेक्सिमम सिटी’मा दुइवटा बम्वैको चित्र सजिव ढंगले उतारिएको छ । 
सन् २०१९ मा आएको गल्ली व्याय रणवीर सिंह र आलिया भट्ट अभिनित जोया अख्तरको सिनेमा हो । यहाँ धरावीका साँघुरा गल्ली र झन साँघुरा घरहरुमा जिविका गरिरहेका भारतीयहरुको कथा छ । धरावीको चित्रले आफ्नो गाउँ सँधैका लागि छाडेर महानगर प्रवेश गरेका लाखौं भारतीयहरुको सिमान्तीकरणको कथा देखाउँछ । सन्तानहरुको जीवन सुखी बनाउने र यो दुःखको सागरबाट मुक्तीको मार्ग पहिल्याउने प्रयासमा जीवन गुजारेकाहरुका कथा भन्छ । धनाढ्य परिवारको निजी सवारी चलाउने बाबु विरामी परेपछि बाबुको ठाउँमा कुनै धनाढ्य महिलाको चालक बनेको रणवीर र गाडी धनि  महिलाको एउटा लेट नाइट घरफिर्तिको चित्रहरुले दुइवटा बम्बैको चरित्र राम्रोसंग उतारेको छ ।
रजनीकान्त र नाना पाटेकरको अभिनय रहेको सन् २०१८ मा बनेको सिनेमा कालामा पनि धरावीकै कथा छ । कसरी ग्याङ्स्टरहरु राजनीतिको सिंढी चढ्छन र शहरी गरिवमाथि शक्ति लादेर शोषण गर्छन भन्ने कथा यसमा छ । संगै एउटा मेल्टिङ पटका रुपमा रहेको धरावीमा भारतको एकता र विविधताका चित्रहरु रंग्याइएका छन । 
धरावीमा प्रति स्क्वायर माइल ८ लाख पाचासहजार भन्दा बढी मानिस बसोवास गर्छन ।
र यी सिनेमा हेरिरहेको समयमा धरावी मुम्बैमा कोरोना संक्रमणको एउटा इपिसेन्टरका रुपमा विकास भएको छ । घनावस्ती, साँघुरो गल्ली, सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने वाध्यता र एक अर्कालाई नछोइ हिँड्न र घरमै बसेर जिवन चलाउन असम्भव त्यहाँको वस्तीमा सल्केको कोरोना नियन्त्रण गर्न कति कठिन छ भन्ने विषयमा भारतीय सञ्चारमाध्यमले रिपोर्ट लेखिरहेका छन ।
हाम्रो समयका शहरहरु यो या त्यो रुपमा मुम्बैका प्रतिरुपहरु नै हुन । हरेक वैभवभित्र लुकिबसेका विपन्नता र वाध्यता सहितका नरनारीहरु यो शहरी जीवनका अनिवार्य हिस्साहरु हुन ।
यी सिनेमाहरु मिहिन ढंगले हेर्दा नेहरुकालिन समाजवादले कसरी भारतीय अर्थतन्त्रलाई संरचनागत अविकासमा जकडेको थियो भन्ने छनक पनि पाइन्छ । संगै यस क्षेत्रका देशहरुले सन् १९९० को वरपरबाट अप्नाएका नवउदारवादी आर्थिक नीतिहरुले कसरी श्रमजिवी गरिवहरुको विशाल फौज खडा गरेर सिमित मानिसहरुलाई वैभवशाली जीवन उपलब्ध गराए भन्ने संकेत पनि मिल्छ । बम्वै विम्व मात्र हो । यो कथा चिन, इण्डोनेशिया, नाइजेरिया र ब्राजिलसम्म फैलिएको विकासोन्मुख विश्वको साझा कथा हो ।
शास्त्रीय अर्थशास्त्रको पुँजीवादी आर्थिक विकासका नियमहरु यता लागु भएको देख्न पाइन्छ । यीनले विकासको युरोपेली मोडललाई पिछागरेका छन जहाँ गाउँबाट लखेटिएका अनिकालग्रस्त लाखौं सर्वहाराको पंक्तिका भरमा उद्योगहरुको विकास भएको थियो । सन् १८४० तिरको युरोपेली मजदुरको अवस्थाबारे ऐंगेल्सको पुस्तक कण्डिशन आफ वर्किङ क्लास अफ लण्डनमा तथ्याँकहरु सहित विस्तारमा चर्चा गरिएको छ ।
लकडाउन ः समाजका दुइ किनारा
कोरोनाको रोकथाम गर्ने सजिलो उपायका रुपमा सरकारहरुले लकडाउन रोजे । यसो हेर्दा औषधीको अत्तोपत्तो नभएको र मान्छेबाट मान्छेमा सर्ने यो रोगका लागि सकेसम्म मान्छे मान्छे विचको दुरी बढाउने गरि उनीहरुका जमघट हुने सम्भावित ठाउँमा जान रोक लगाइयो । जस्तो कार्यालयहरु, व्यापारीक थलोहरु, मल र होटल रेष्टुरेण्ट, कारखाना र सिनेमा घर, विद्यालयहरु र सार्वजनिक यातायातका क्षेत्रहरु । यसपछि नै भारत र नेपाल लगायत एशियाली, अफ्रिकी तथा ल्याटिन अमेरिकी शहरमा दुइथरी शहरहरु देखापर्न थाले । एउटा शहर घर भएकाहरुको । आयस्ता भएकाहरुको । एकाध महिना काममा जान नपाउँदा पनि कुनै फरक नपर्नेहरुको । लकडाउनलाई परिवारसंग विताउने अवसरका रुपमा लिनेहरुको । सरकारको आह्रवानमा वत्ती वाल्नेहरुको । सामाजिक सञ्जालमा आफ्नो घरबसाईको मज्जा पस्कनेहरुको । खाना बनाउन सिक्नेहरु, फलफुल र बगैंचा गोड्नेहरु । सिनेमा हेरेर आनन्द लिनेहरु र पुस्तक पढ्नेहरु । सन्तानलाई अनलाइन शिक्षाको आवस्यक प्रवन्ध गर्न सक्नेहरु । घरै बसेर काम गर्नेहरु ।
अर्को शहर एकसाता चुपलागेको देखियो । लकडाउन के हो र कहिलेसम्म कसरी चल्ने हो भन्ने सुचना नभएको । शहरमा घर नभएको र डेरामा साँघुरोगरि जीवन विताइरहेको । सामाजिक भौतिक दुरी कायम गर्न नसक्नेहरुको । दुइचार छाक पछि नै के खाने भन्ने टुङ्गो नभएकाहरुको । यहि समुह हो एकसाता पछि फाट्टफुट्ट र दुइसाता पछि लस्करका रुपमा सडकमा निस्क्यो । 
त्यस अघि पनि यी नरनारीहरु शहरमा थिए । मध्यम र उच्चवर्गको दैनिकी यिनको सेवा विना चल्दैनथ्यो । तर शहरको कोलाहल र चकाचौंधका विच यीनको अनुहार वेपत्ता थियो । कता थिए यी ? न शहरका गोष्ठिहरुमा थिए । न सभा र सेमिनारमा थिए । न पार्टी र क्लबहरुमा थिए । न मिडियामा थिए । न नगरपालिकाको ढड्डामा यीनको नाम ठेगाना थियो न सामुदायीक प्रहरीको । न स्वास्थ्य विमामा यीनको नाम थियो न बैंक खातामा । अलिअलिको थियो भने बचत तथा ऋण सहकारी र वित्तीय संस्थाहरुमा छ । यीनैले बनाएको शहरको धन दौलत र सत्ताको लुटाखसोट र मोजमजापूर्ण जीवनमा यीनीहरु भने कतै उपस्थित थिएनन ।
एकाएक यी देखिए सडकमा । साना बच्चा बोकेका आमाहरु । गर्भमा, काखमा र पिठ्युँमा बच्चा र एउटा पोको बोकेर चैत बैशाखको घाममा राजमार्गमा लम्किरहेका पाईताला यीनैका थिए । सुन्निएका गोडाले साता दशदिन हिँडेर घरपुग्ने प्रयास गरिरहेका । आँसु र पसिनाले पिच भिजाइरहेका । 
राहतको लागि लाम लाग्ने र योग्यता नपुगेर भोकै बस्नुपर्नेहरु यीनै हुन । मतदाता भएरै पनि सत्ता र शक्तिमा पहुँच हुन नसक्नेहरु यीनै हुन । घण्टौं हिँडेपछि प्रहरीबाट बाटो छेकाइमा पर्ने यीनै हुन । भोक र अनिस्चितताको शिकार भएर अन्तिम आश्रयतिर लम्कँदा पनि सत्ताबाट अस्तित्व स्विकार नगरिएका र ललकारीएका पनि यीनै हुन । कोरोना सार्न हिँडेको आरोप खेप्ने यीनै हुन । 
बम्वै देखि नेपालका सिमासम्म कहिले पैदलै कहिले कुनै साधनमा, कहिले खाएर र कहिले भोक झेल्दै आइपुगेपछि आफ्नै देशको सरकारले लाठी हानेर पारी हुत्याइएका पनि यीनै हुन । 
भारत र नेपालका सञ्चार माध्यममा आएका आप्रवासी मजदुर सम्वन्धी यी समाचारहरुले हाम्रा सरकारहरु कसरी जनताको दैनिक जीवनसंग खेलवाड गरेर आफ्नो शासकीय सफलता प्रमाणित गर्नकै दमनकारी बन्दै गएका छन, हाम्रा राज्यसंयन्त्रहरु कति कमजोर र निकम्मा छन भन्ने संकेत पनि गर्छन ।
कोरोनाले सबै वर्गलाई लखेटिरहेको छ । ब्रिटिश प्रधानमन्त्री जोन्सन, इरानी उपराष्ट्रपति, हलिउडे अभिनेता, रसियाली प्रधानमन्त्री मिस्चिन्को, जो कोहीलाई समात्न सक्ने कोरानाले सबैभन्दा बढी त गरिवहरु र असहाय भैसकेका वृद्धवृद्धाहरुलाई नै बढी अँचेट्दो रहेछ । यसको चित्र हेर्न विदेश गैरहनु पर्दैन । नेपालमा कोरोना सल्केका पहिलो दुइसयको प्रोफाइल हेर्नुभयो भने देख्नुहुन्छ सानो संख्याबाहेक सबैजसो सिमान्तीकरणमा परेकाहरु छन । भारतका विभिन्न महानगरबाट अत्तालिदै फर्केकाहरु छन । श्रमको गन्तव्यबाट फर्कदा देशकै एउटा कुनाबाट अर्को कुनासम्म हिँडेर पुग्नेहरु छन । खाडीमा श्रम गरेर फर्कनेहरु छन ।
शहर, गाउँ र गरिबको साइनो
यसपटकको महामारीले देखाएको अर्को चित्र हो शहरमा बसेर श्रम गर्नेहरुको ठुलो हिस्सा गाउँमा जरा भएकाहरुको छ । भारतमा मात्र कामको खोजीमा गाउँबाट शहर जानेहरुको संख्या १२ करोड भन्दा बढी रहेछ । लकडाउनको केही साता पछि नै भारतका बस अड्डाहरु, रेलवे स्टेशनहरु, राजमार्गहरुमा हृदयविदारक चित्कार लिएर निस्केका भारतीयहरु तिनकै प्रतिनिधि हुन ।
चिनमा गत ४० बर्षमा झण्डै २७ करोड मानिसहरु गाउँबाट शहर प्रवेश गरे कामको खोजीमा । केहीबर्ष पहिलेसम्म जो जहाँ जन्मेको हो त्यहि मात्रै सामाजिक सुरक्षा पाउने चिनको नीति थियो । ति २७ करोड मध्ये एउटा हिस्साले शहरमा तरक्की गर्यो र घर जोड्यो । अर्को हिस्सा अहिले पनि गाउँ र शहर ओहोरदोहोर गरिरहेको छ । जो न्युन आय भएको श्रमिक छ अहिलेका चिनीया शहरको गरिवीका मुख्य हिस्सा तिनीहरु नै छन । शहरको निर्माण त तिनले गरेका छन तर शहर तिनको छैन । सन् २०१३ को एडिविको एउटा प्रतिवेदनले चिनका शहरमा झण्डै १८ करोड गरिवहरु असुविधायुक्त वस्तीहरुमा बस्छन । अहिले शहरी गरिवको ठुलो संख्या भारत, ब्राजील, चिन, दक्षिण अफ्रिका र नाइजेरिया, इण्डोनेशिया लगायतका एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुमा छ । 
नेपालमा शहरी गरिवको संख्या ग्रामिण गरिवीको तुलनामा कम छ भनिन्छ आय उपभोग मापदण्डलाई मात्र गणना गर्दा ८.७ प्रतिशत शहरी जनसख्ंया गरिव छ । काठमाण्डौको ११ प्रतिशत यस्तो तहमा पर्छ । देशभर स्लममा बस्नेहरुको संख्या झण्डै २८ लाख भएको अनुमान छ । जोसंग अर्को जाने ठाउँ छैन र शहरमा उपलब्ध सुविधामा पहुँच पनि छैन तिनलाई शहरी गरिब मानेर अध्ययन गर्दा दुइथरी मानिसहरु भेटिनेछन । एकथरी छन जो काठमाण्डौमा नै पुस्तौं गालेका परिवारका सदस्य हुन । आफ्नो जग्गा जमिन छैन । या त सगोल परिवारका नाममा अत्यन्त सिमित जमिन छ र घर बनाएर कोठा अंश लगाएर बस्नु पर्छ । गरिब भएकैले शिक्षामा पहुँच कम छ । त्यसैले राम्रो नोकरीमा लाग्न सक्दैनन । गरिब भएकैले स्वास्थ्य उपचार सेवामा कम पहुँच छ । कुपोषणको शिकार हुन्छन, साना तिना रोग पनि आरम्भमै उपचार गर्न नसकेर छिप्पिन्छ । रोगलागेपछि काम गरेर अर्थोपार्जन गर्न सक्दैनन र परिवारलाई बोझ बन्छन । अर्कोतिर तिनको उपचारमा थप खर्च हुन्छ र परिवारै ऋणमा डुब्छ । क्रमसः पहिलेको वासबाट बाहिरन्छ र सडकमा पुग्छ । काठमाण्डौका पाटी सत्तल, धर्मशाला र घाटतिर अथवा सस्तो र साँघुरा अँध्यारा कोठातिर यिनको बास हुन्छ । कोही भने शहरमा बनेका सुकुम्वासी बस्तीका सदस्य बन्न पुग्छन, मध्य शहर र काँठका गाउँबाट खोलाकिनारका दुर्गन्धित बस्तीहरुमा पुग्छन । 
दोस्रो पंक्ति छ जीविकाको खोजीमा गाउँबाट आएकाहरुको । शहर र बजारले चुसेर छोक्रा बनाएको गाउँबाट उत्पादनको साधनमाथि स्वामित्व नभएका या खेतपाखो अत्यन्त कम भएका,आफ्नो उप्जनीले खान नपुग्नेहरु कामकै खोजीमा शहर पस्छन । पछि परिवार पनि शहरमा ल्याउँछन । कोठाभाडा नियमीत तिर्न नसक्ने, तिर्न सकेपनि ओसिला अँध्यारा कोठामा साँघुरोसंग एउटै कोठामा परिवारै बस्नुपर्ने वाध्यता भएका  यीनिहरु शहरको देनिक जीवनका अभिन्न अंग हुँदै जान्छन । 
घर घरमा भाँडा माभm्न र सरसफाइ गर्न पुग्नेहरु, नदि किनारबाट बालुवा छानेर विक्रि गर्नेहरु, इटाभट्टा र निर्माण उद्योगमा काम गर्नेहरु, सवारी चालकहरु, पसलका सहयोगीहरु, रेष्टुरेण्टका कम ज्यालामा काम गर्नेहरु र कथित उपल्लोवर्गले घृणा गर्ने अरु काम गर्ने अर्थात समाजको आर्थिक जीवनको पिँधमा परेकाहरु यस्तोमा पर्छन । भारी बोक्छन, ठेला या रिक्सा घचेट्छन ।  एउटा हिस्सा चैं आफ्नो थात थलोको ठेगना नै नभएकाहरुको पनि यतै आइपुग्छ । यिनीहरु विस्तारै गाउँ छाडेर अस्थायी वासस्थानमा तर स्थायी रुपमा शहरमै बसोवास गर्न थाल्छन । आफ्नो उपन्यास दुर्भिक्षमा नारायण ढकालले धोविखोला किनारमा एउटा यस्तै वस्तीको चित्रण गरेका छन । 
यस्ताहरुको अधिकाँसको आफ्नो स्थायी ठेगाना हुँदैन । आफ्ना बालबालिकालाई जता डेरा सर्यो त्यतैको पायक पर्ने सरकारी विद्यालयमा दुइ चार कक्षासम्म पढाउँछन । स्थानीय वडा या नगरपालिकाको मतदाता नामावलीमा थोरैको मात्र नाम समावेश हुन्छ । नगरले दिने स्वास्थ्य सुविधाका लागि पनि यिनीहरुको अभिलेखले सहयोग गर्दैन । कसैकसैको नागरिकता समेत हुँदैन । असंगठित र अनौपचारिक क्षेत्रमा ज्यालादरीमा काम गर्ने लाम नै हो शहरी गरिबहरुको । 
शहरी गरिबी सम्वन्धी अध्ययन गर्नेहरुले आयस्तर कम भएर आफ्ना लागि आति आवस्यक वस्तु तथा सेवा खरिद गर्न नसक्नेहहरु, वास्न योग्य वासस्थानमा पहुँच नभएकाहरु र राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षाको दायरामा समेटिन नसकेकाहरु भनेर सुचकहरु बनाउँछन । डेढ दशक पहिले काठमाण्डौको शहरी गरिवीको चरित्रबारे मार्टिन चौतारीका लागि एउटा अध्ययन गर्ने क्रममा मैले यी तिनै पक्षबाट काठमाण्डौको केही केस स्टडी गरेको थिएँ । यसपाटोबाट हेर्दा नेपालको शहरी गरिवी बहु आयामिक छ । आय–उपभोग मापदण्डका आधारमा मात्र यसलाई हेर्यो भने त्यसले सहि चित्र देखिउँदैन ।
झन् नुग्यो चरीले टेकेर 
कोरोना महामारीपछि यी गरिबीमा कस्तो असर पर्ला ? नेपालमा यसको अध्ययन गरिएको भनेर कसैले कुनै तथ्याँक सार्वजनिक गरेको छैन । यसै त नुगेको डाली झन नुग्यो चरिले टेकेर भन्ने गितजस्तो गरिबहरु झन गरिब हुनेछन भन्ने अनुमान लगाउन गाह्रो छैन । उदाहरणको लागि काठमाण्डौका सडकमा मकै पोलेर या नाङ्लो पसल थापेर या शहरीया मध्यमवर्गका परिवारमा सरसफाइको काम गरेर जीविकोपार्जन गर्नेको कुरा हेरौं । लकडाउन भएको आठौं हप्ता चलिरहँदा तिनले मकै पोलेर दैनिक आयस्ता गर्ने पाँच सात सयको आम्दानी गुमाएका छन । घरघरमा काम गरेर मासिक कमाउने १५ देखि २० हजार आयस्ता पनि गुमाएका छन । यी दुवै थरी कुनै चिसो छिँडी या अँध्यारो कोठामा महिनाको ३ हजार देखि पाँचहजारसम्म भाडा तिरेर बसेका हुनसक्छन । या वागमति किनारमा रहेको सुकुम्वासी वस्तीमा टहरो हालेका हुनसक्छन । त्यहि आम्दानीले चारजना देखि ६ जनासम्मको खर्च चलिरहेको हुनसक्छ । उनीहरुसंग बचत हुँदैन, भएपनि एकाध हप्ता भन्दा बढि दैनिक आवस्यकता खरिद गर्ने क्षमता हुँदैन । केही दिन नजिकको खुद्रा पसलेले चामल, नुन, चाउचाउ, च्युरा या केही सामान उधारो दिनसक्छ । उधारो पनि प्रकारान्तरले ऋण नै हो । गरिबहरुको सामाजिक पुँजी हुँदैन । भेडाभेडासंग बाख्रा बाख्रासंग भनेजस्तो गरिबको बिहेवारी लेनदेन गरिबसंगै हुन्छ । चाहिएको बेला ऋण या ऐंचोपैंचो चलाउन सक्ने हैसीयतमा ति पनि हुन्नन । नजिकको पसलेले उधारो पत्याउन छाड्छ । घरबेटीले भाडा नदिने भए नबस भन्न सक्छ । बाहिर केही कामको खोजीमा गएपनि फर्कने बेलामा घरबेटीले शंका गरेर आउन नदिन सक्छ । यसरी गरिबहरु यो लकडाउनले झन गरिबीमा धकेलिन्छन ।
रेष्टुरेण्टहरु नखुल्दा, होटलहरु नचल्दा, मानिसहरु सडकमा नहिँड्दा, निर्माण उद्योगहरु बन्द हुँदा, टेम्पो या रिक्सा र अरु सवारी चल्न छाड्दा, वागमती विष्णुमतिको फोहोर पानीमा पसेर निकालेको बालुवा विक्रि नहुँदा, सहयोगी राख्ने कार्यालय र व्यबसाय नचल्दा बेरोजगार हुने यीनै गरिबहरु हुन । यिनीहरु गरिवीको यस्तो दुष्चक्रमा पर्छन कि उनीहरु गरिव हुनुको एउटा कारण गरिब हुनु नै बन्न जान्छ ।
लकडाउनले गरिबहरुलाई मात्र गरिब बनाउने होइन बरु निम्न मध्यमवर्गको एउटा हिस्सालाई पनि गरिबीमा धकेल्ने छ । शहरका यस्ता न्युन आयस्ता गरेर गुजारा गर्ने ठुलो हिस्सा सानो तिनो आफ्नै लगानी गरेर चलेको व्यबसायका सञ्चालनक हुनसक्छन । गाइ पालेर दुुध बेच्नेहरु, थोरै थोरै तरकारी विक्रि गर्नेहरु, साना चिया पसलेहरु, ऋण गरेर कुनै फेन्सीपसल या खाजा पसल चलाइरहेकाहरु, भरखर ब्युटिपार्लर चलाउन प्रयासरतहरु, साहुको ट्याक्सी चलाएर आउने आयस्ता लिएकाहरु, नीयमित तलव या ज्यालादारीमा राम्रै कार्यालयमा काम गर्दै गरेका तर अहिले कामबाट निकालिएकाहरु, फेरी काममा लाग्न पाउने कुनै भरपर्दो सम्भावना नभएकाहरु सबै यस्तोमा पर्छन । एउटा सानो हिस्सा त मध्यमवर्गको पनि गरिबीमा धकेलिनेछ । 
केही दिनमा अर्थमन्त्री खतिवडाले बजेट पेश गर्दैछन । उनले बजेटका सिद्धान्तहरुमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रोग र भोकसंग जुध्न प्राथमिकता दिने कुरा गरेका थिए । अहिले नै हातमुख जोर्न नसक्ने पहिलो पंक्तिलाई राहत चाहिएको छ । संधै राहतले यो विशाल पंक्तिलाई धान्न सकिन्न । तिनले लकडाउन खुलेपछि पनि अहिलेकै जस्तो काम गरेर खान पाउने अवसर आउन समय लाग्न सक्छ । त्यसैले उनीहरुलाई नयाँ काम सिर्जना गरिनु आवस्यक हुन्छ । रोजगारी सिर्जना गर्नुपर्नेछ ।
दोस्रो पंक्ति आफ्नो स्थापित व्यबसाय पुनर्जिवित गर्न चाहन्छ भने आवस्यक ऋण सहुलीयत दरमा उपलब्ध गराउनु आवस्यक छ । कोरोनाले उद्योगहरु चल्न ढिलो हुँदा, पर्यटन व्यबसाय चल्ने तत्काल कुनै सम्भावना नदेखिदा, रेमिट्यान्स घट्दा, आयस्ता गर्ने ठाउँ गुम्दै जाँदा नयाँ थप मानिसहरु गरिबीमा धकेलिने छन । 
अर्थतन्त्रको यो चुनौती सामना गर्न अब हाम्रो अर्थतन्त्रको विकास मोडलमा पुनर्विचार गर्न जरुरी छ । शहरीकरणलाई नयाँ ढंगले संरचना गर्नुपर्छ, साना शहरहरु धेरै बनुन, सुविधाको केन्द्रीकरण नहोस, आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि, उद्योग र सेवा क्षेत्रको अन्तरनिर्भर विकासको नयाँ ढाँचा बनाइयोस ।  सबैभन्दा ठुलो कुरा त विकासको प्रतिफलमा सबैको पहुँच होस र आर्थिक वृद्धिको वितरण समतामुखी बनोस । 
भारतले हालै घोषण गरेको आर्थिक कार्यक्रमहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कर्पोरेट पुँजी र दलाल पुँजीलाई प्रोत्साहित गरेर आर्थिक असमानता चुल्याउने बाटो रोजेको छ । यस्तो बाटो असफल सावित भैसकेको बाटो हो । पराश्रीत, क्रोनी पुँजीवादी विकासको अहिलेको ढाँचा बदल्नु आवस्यक छ ।
हामीले देख्यौं राज्यको प्रभावकारी उपस्थिती भएन भने कति चौपट अवस्था झेल्नु पर्ने रहेछ । अब राज्यको भूमिका बढाउँ, सार्वजनिक क्षेत्रलाई बलियो बनाउँ । समुदायलाई बलियो बनाएर मात्र यस्ता संकटसंग सामना गर्ने हाम्रो क्षमता बढ्ने छ ।
(आज नयाँ पत्रिकामा प्रकाशित समाजका दुइ किनारा शिर्षक लेखको मुल कपि)

No comments:

Post a Comment