Friday, May 1, 2020

नामधारी बिद्यार्थी

राष्ट्रिय समाचार
बिहानको सेवा
१५ फेव्रुअरी, १९९०, फागुन ४, २०४६ बिहिवार, (छपाइमा ४ माघ लेखिएको) राससको समाचार (पेज नम्बर ४०) 
सुप्रभात

३६– नामधारी बिद्यार्थी 

पोखरा, ४ फागुन । स्थानीय पृथ्वी नारायण बहुमुखि क्याम्पसमा भएको धरपकडको सम्बन्धमा स्थानीय प्रशासनले त्यहाँ बर्षौंै देखि उच्छृङ्खल तत्वले पढन चाहने बिध्यार्थीहरुलाई भाँड्ने र उनीहरुलाई अराष्ट्रिय काममा प्रयोग गरी उनीहरुको जीवन माथि नै खेलवाड गर्र्द आएको कुरा जनाएको छ ।
बिद्यार्थी र शिक्षकहरु एक अर्काका पुरकका रुपमा काम गर्ने गरेको सो क्याम्पस हालसालै अराष्ट्रिय र असम्बैधानिक गतिविधिको किल्लाको रुपमा रहेको उल्लेख गर्दै क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको सभापति झलकप्रसाद सुबेदी, निजका मतियार रबिन्द्र अधिकारी र निजका डफ्फाले तथाकथित आन्दोलनका लागि पैसा समेत पाएको कुरा भनिएको छ ।
विगत २०४४ सालदेखि अखिल पाँचौ भनिने अवैध संगठनको केन्द्रीय सदस्य र २०४५ सालदेखि पृथ्वी नारायण क्याम्पस स्वतन्त्र युनियनका सभापति रहेका झलकप्रसाद सुबेदी र निजका मतियार सो संगठनको प्रारम्भिक समिति र जिल्ला समितिका अध्यक्ष भै काम गर्ने रबिन्द्र अधिकारी  र निजका डफ्फाले बिद्यार्थीका नाउँमा गाउँको स्कुलमा गई कलिला बिद्यार्थी, शहरका ड्राइभर, साना दोकानदार, मजदुर र महिलाहरुलाई समेत भड्काउने गरिआएका थिए भनिएको छ ।
बिद्यार्थी र शिक्षकहरु एक अर्काका पूरकका रुपमा काम गर्ने गरेको पृथ्वी नारायण बहुमुखी क्याम्पस हालसालै  अराष्ट्रिय र असम्बैधानिक गविविधिको किल्लाको रपमा रहेको उल्लेख गर्दै प्राप्त जानकारीमा भनिएको छ – त्यहाँ बर्षौं देखि उच्छि«ङ्खल तत्वले पढ्न चाहने बिद्यार्थीलाई भाँड्ने, उनीहरुलाई अराष्ट्रिय काममा प्रयोग गरी जीवन माथि नै खेलवाड गर्दै आएका थिए । 
त्यहाँको छात्रावास त्यस्ता उच्छि«ङ्खल तत्वको अड्डा बनेको चर्चा गर्दै क्याम्पसको हाता भित्र समेत पढ्न चाहने बिद्यार्थी र पढाउन चाहने शिक्षकहरु संधै त्रस्त रहने गरेको कुरा बताइएको छ ।
हालै अराष्ट्रिय क्रियाकलापमा लागि क्याम्पसको शैक्षिक वातावरण खलबल्याई कुटपीट र गैह्र कानूनी काम गरेको सिलसिलामा पक्राउ परेका नामधारी बिद्यार्थीहरुको बिवरणबाट उनीहरुको कारवाही स्पष्ट भएको कुरा बताइएको छ ।
बताइए अनुसार भूमिगत माले गिरोहले झलकप्रसाद सुबेदीलाई बिद्यार्थीका रुपमा रही क्याम्पसका बिद्यार्थी भाँड्ने र गैर कानूनी क्रियाकलाप गर्ने जिम्मा दिएको थियो । 
निज सुबेदी गत १० बर्ष देखि पढ्ने निहुँमा सो क्याम्पसमा संगठन गर्न लागिरहेका र यस असम्बैधानिक उच्छृङ्खल गिरोहको निर्देशन अनुसार कार्यरत थिए ।
अर्का असम्बैधानिक गिरोहसंग सम्बन्धित बिष्णुप्रसाद शर्मा अखिल छौठौंका कायकर्ता बिद्यार्थी युनियनको सदस्य रहेको र झलकप्रसाद सुबेदीका अर्का कार्यकर्ता बाबुराम पन्तको गत २०४० सालदेखि नै अखिल पाँचौ भनिने अबैध संगठनसित संबन्ध भएको कुरा जनाइएको छ ।
आफुलाई प्रजातन्त्रवादी भिनने अर्को गिरोहसंग साँठगाँठ गरी आफुलाई देशमा हिँसा मच्चाउने योजनामा लागेका यिनीहरुको साँठगाँठ पृथ्वी नारायण क्याम्पसका केही शिक्षकसंग समेत भएको बुझिएको छ । रासस


२०४६ फागुन ४ गते म समेत रबिन्द्र अधिकारी, बिष्णुप्रसाद शर्मा, बाबुराम पन्त र भिम सोमै समेत ५२ जनालाई पृथ्वीनारायण क्याम्पसबाट गिरफ्तार गरियो । हामी आन्दोलनको तयारीमा एउटा भेलाको आयोजना गर्ने तरखरमा थियौं । त्यहिबेला क्याम्पसमा प्रहरी प्रवेश गर्यो । म तै पनि छल्न सकिन्छ कि भनेर पुस्तकालयमा प्रवेश गरेको थिएँ । त्यहिँबाट मलाई पक्राउ गरे । मेरो हुलिया सभापति हुने लायकको देखेनछन कि गेटमा लगेपछि एउटा रञ्जितकार भन्ने गुप्तचरको इन्स्पेक्टरलाई बोलाए र पक्का पक्की गराए ।
हामीलाई ससस्त्र प्रहरी गुल्म पार्दी (त्यतिवेलाको अञ्चलाधिश कार्यालय पछाडी) लगे । मलाई झण्डै एक किलोको साङलो सहितको हतकडी भिराए । 
हामी पाँच जनालाई अरुसंग छुट्याएर अलगै एउटा कोठामा राखियो । चिसो सिमेण्टको भुँइमा गुँडुल्किएर हामीले रात बितायौं । भोलीपल्ट रविन्द्र र मलाई एउटै हतकडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगियो । त्यो हतकडी एक साता पछि अरु नेताहरुको समेत दवाव आएपछि मात्र खोलिएको थियो ।
यो समाचार लेख्न त्यतिवेला राससमा कार्यरत साथिहरु रामप्रसाद कोइराला र नारायण कार्कीलाइ दवाव दिइएको रहेछ । त्यहाँ तयार पारेको समाचार राजाको सवारी शिविर रत्नमन्दीरमा पुगेर सेन्सर्ड हुँदो रहेछ । तेस्रो पटकको समाचार मात्र स्विकृत भएको र भोलीपल्ट गोर्खापत्रमा समेत छापिएको रहेछ ।
वैशाख २२ गते रबिन्द्र अधिकारी नवितेको भए ५१ औं जन्मदिन मनाइरहेका हुन्थे । तिनका बारेमा धेरै कुरा भएका छन र लेखिएका छन ।
मलाई भने यो समाचार चासो लाग्यो र यता साभार गरें । 
राज्यले हामीलाई कसरी हेथ्र्यो भन्ने सानो संकेत गर्ने यो चिर्कटो समाचार इतिहासतिर फर्कनेहरुका लागि काम लाग्ला । नलागे पनि केहि हुँने होइन । तर आफ्नो विगततिर फर्केर उग्राउन त पाइने भयो । म त्यसै गरिरहेको छु लकडाउनमा ।
के हामी इतिहासबाट आफ्नै ऐना हेर्न सक्छौं ? 
मलाई अलिअलि आसा लाग्छ । सुख विर्सन सकिन्न, दुःख सजिलै भुलिन्छ भन्छन पाकाहरु ।
तर मेक्सीम गोर्कीको एउटा भनाइ छ, घाउ र वर्ग एकै चरित्रका हुन्छन । घाउ निको हुन्छ तर खत बाँकी रहिरन्छ । 
नामधारी बिद्यार्थी भैएछ, अराष्ट्रिय र उच्छि«ङ्खल तत्व बनिएछ, भँडुवा काम गरिएछ, १० बर्ष पढ्ने निहुँमा क्याम्पसमा गतिविधि गरिएछ, आज आएर थाहा भो ।
हैट जीन्दगी !

No comments:

Post a Comment