Monday, May 4, 2020

स्थानीय सरकार र समाजवाद

(लकडाउनका समयमा पोखराका केही बुद्धिजिवीहरुले धेरै विषयमा भर्चुअल वैठक र बहसहरु आयोजना गरेका थिए । ती मध्ये केहीमा म पनि सामेल भएको थिएँ । गेहेन्द्रेश्वर कोइराला, कृष्ण अधिकारी, कपिल अधिकारी, कृष्ण केसी, भरत पहारी, हरी त्रिपाठी, राधाकृष्ण लामिछाने, आरसी लामिछाने, विश्वकल्याण पराजुली, लेखनाथ भट्टराइ, गिरीधारी दाहाल, त्रिभुवन पौडेल, सन्तोष अधिकारी, सरोज कोइराला समेतले यसमा विचार आदान प्रदान गर्नुभएको थियो । त्यहि क्रममा मलाई बहुसंख्यक स्थानीय तहमा सरकार बनाएको नेकपाका प्रतिनिधिहरुले कस्तो प्रयास गरे भने समाजवादको आधार बनाउन सक्लान भन्ने विषयमा आफ्नो विचार प्रस्तुत गर्न दिइएको थियो । बहसमा सहभागिहरु या नेकपासंग आवद्ध थिए या त्यसका मतदाता । त्यसैले बहसमा नेकपाका घोषणपत्रहरु आधारमा समाजवादको परिकल्पनाको विषयलाई केन्द्रमा राखिएको छ ।
सहभागिहरुका विचार रेकर्डमा उपलब्ध हुन बाँकी रहेकोले यहाँ समावेश गरिएको छैन । आएपछि थपिने नै छ । अहिलेलाई एकप्रकारको बुद्धिविलास मान्न सकिने यो विषयमा मैले पेश गरेको विचार यहाँ पेश गरिएको छ ।)

स्थानीय सरकारले समाजवादका आधार तयार गर्न सक्छन ?

परिकल्पना ः स्थानीय तहका सरकारले समाजवादका आधार तयार पार्न सक्छन 

शर्तहरु ः
  • नेकपा नेपालमा समाजवादका आधार तयार पार्न प्रतिवद्ध छ, समाजवाद स्थापना गर्ने कार्यको नीतिगत नेतृत्व गरिरहेको छ 
  • नेकपाले लामो समय सरकार चलाउने गरि बहुमत प्राप्त गर्नेछ, कमसेकम प्रतिपक्षमा बसेर पनि सरकारलाई जनताले पाएका अधिकार नखोस्न दवाव दिने हैसीयतमा रहनेछ, संघीय या कुनै प्रदेश सरकारमा पराजित भएको अवस्थमा पनि धेरै स्थानीय तहमा नेकपाको सरकार बनिरहनेछन
  • स्थानीय तहमा निर्वाचित नेकपाका प्रतिनिधिहरु पार्टीको लाइन अनुसार आफ्ना आफ्ना इकाइमा समाजवादका आधार तयार पार्न प्रतिवद्ध छन् 
  • स्थानीय तहमा निर्वाचित नेकपाका प्रतिनिधिहरु के समाजवाद हो र के होइन भन्ने बुझ्छन, माक्र्सवादका आधारभूत ज्ञान र अर्थराजनीतिका विषयमा प्रशिक्षित छन, पार्टीका सिद्धान्तहरु लागु गर्न निर्वाचित भएका हुन
  • स्थानीय पार्टी कमिटिहरु र स्थानीय सरकारका विच नीति तथा निर्णय कार्यान्वयनमा समान धारणा छन, पार्टी कमिटिहरु स्थानीय सरकारलाई निर्णय गर्न सहयोग गर्छन, निर्णय कार्यान्वयन गराउन सक्रिय रहन्छन
  • समुदाय आधारित आर्थिक सामाजिक कार्यकलापहरु मार्फत साधारण नागरिकलाई नीति निर्माण प्रक्रियामा सामेल गर्ने तथा पालिकाका कामहरुलाई पारदर्शी बनाउने, लोकतान्त्रीकीकरण गर्ने विषयमा उनीहरु लागेका छन
  • स्थानीय स्रोतको परिचालन, गरिव, विपन्न र सिमान्त समुदाय लक्षित विशेष कार्यक्रम सञ्चालन गर्न पाउने अधिकार पालिकाहरुलाई छ 


(नेकपा भित्र विकसित राजनीतिक घटनाक्रमसंग यो बहसको कुनै साइनो छैन)

कन्टेक्स्ट
  • संघीय सरकार सुविधाजनक बहुमत सहित नेकपाको नेतृत्वमा बनेको छ
  • सात मध्ये ६ प्रदेशमा नेकपा नेतृत्वको प्रदेश सरकार छन् 
  • ६० (?) प्रतिशत जति स्थानीय तहमा नेकपाको नेतृत्वमा सरकारहरु बनेका छन्
  • नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख समाज निर्माण गर्ने मार्गदर्शक सिद्धान्त अप्नाएको छ
  • यस्तो सिद्धान्त उदारवादी लोकतन्त्रका केही आधारभूत विचारधाराहरु स्विकार गरेर अप्नाइएको छ । प्रतिस्पर्धामा आधारित बहुदलीय व्यबस्था, आवधिक निर्वाचन, मानव अधिकार, विधिको शासन, अभिव्यक्ती तथा प्रेस र संगठनको स्वतन्त्रता यसका विशेषता हुन
  • उत्पादनका साधनमा निजी स्वामित्व, पेशा रोज्ने अधिकार, आम्दानी गर्ने र करतिरेपछि नाफा बढाउन पाउने अधिकार, बसाइ सराइको अधिकार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको प्रवेश र व्यबसाय गर्ने अधिकार सुनिस्चित गरिएको छ 
  • सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रका तिन खम्वाका रुपमा स्विकार गरिएको छ ।
  • हामीकहाँ सामुदायिक बनको अभ्यास सफल मानिन्छ (यद्यपी त्यसमा नियन्त्रण गाउँका सम्भ्रान्तहरुको छ जसको सिधा सम्पर्क राजनीतिक नेतृत्व र प्रशासनसंग समेत हुन्छ)
  • समुदायले सञ्चालन गर्ने कुलो, धारो, कुवा, मन्दीर, धार्मिक साँस्कृतीक पर्वहरुको परम्परा छ ।
  • सहकारीहरु धेरै गाउँसम्म पुगेका छन, सामुहिक बचत र ऋणको संस्थागत अभ्यास छन
  • झारा या श्रमदानका माध्यमबाट गाउँलेहरुले आफ्ना कतिपय काम गर्ने गरेका छन 
  • लेकका चरन र खोला नाला साझा रुपमा प्रयोग गरिदै छन
  • भेडीगोठहरु साझा रहने परम्परा जीवित छ
  • पर्म, परेली प्रथा जिवित छ



के गर्न सकिन्छ ?
माथिको कन्टेक्स्टमा गर्न सकिने कामका सिमाहरु छन । तर ति सिमा भित्र बसेर समाजवादका भ्रुणहरु रोप्न सकिन्छ ।
  • पालिका भित्र उपलब्ध प्राकृतिक स्रोतको उपयोग समुदायलाई सामुहिक लाभ निस्चित गरेर मात्र गर्न दिने ।
  • सामुदायलाई सामुहिक उत्पादन इकाइ या उत्पादन सहकारीमा संगठित गरेर बाँझो खेतवारी या बनपाखामा अन्न, फलफुल तरकारी या अलैंची लगायतका खेतीमा संलग्न गराउने
  • सहकारीलाई अहिलेको जस्तो चर्को व्याजवाला नभै ऐंचोपौंचोको विकसित रुपका रुपमा लाने, यिनलाई पालिकास्तरका संस्थाका रुपमा विकास गर्ने, कृषि सामाग्रीको आपूर्ति तथा कृषि उत्पादनको बजारीकरणमा मुख्य भूमिका खेल्न लगाउने
  • सार्वजनिक स्वामित्व भएको पब्लिक लिमिटेड कम्पनी मार्फत सबैको समान शेयर भएका उद्योग तथा व्यबसायहरु स्थापना गर्ने, स्वामित्व जनतामा पुग्ने बनाउने
  • कृषि तथा स्थानीय स्रोतमा आधारित प्रोसेसिङ उद्योग यस्ता कम्पनी मार्फत सञ्चालन गर्ने र भ्यालु चेनमा स्थानीय सदस्यहरुको हिस्सेदारी बढाउने
  • टोल समितिहरु मार्फत समुदायलाई विभिन्न काममा परिचालन गर्न सामुहिक भावनाको विकास गर्न, समुहका स्वार्थले मेरो हित गर्छ भन्ने मुल्य स्थापित गर्न अभियान चलाउने, यस्तो काम स्थानीय सरकार र पार्टी मिलेर गर्ने
  • विद्यालय र स्वास्थ्य संस्थाहरु समुदायले सञ्चालन गर्ने, 
  • प्रत्येक परिवारका बालवालिका विद्यालय पुगेको सुनिस्चित गर्ने काम समुदायले गर्ने
  • प्रत्येक विरामीले उपचार पाउने कुरामा समुदायले स्वास्थ्यसंस्थासंग मिलेर सुनिस्चित गर्ने
  • सबैप्रकारका रोगको उपचार र सबै तहको शिक्षामा पहुँच स्थापित गर्न आवस्यक व्यवस्था पालिकाले गर्ने । 
  • यसका लागि आवस्यक कोषको व्यबस्था, उच्च शिक्षामा सरकारी विश्वविद्यालयमा अध्ययन गर्न चाहने र मेरिट वेसमा नाम निकालेकाहरुलाई आवस्यक छात्रवृर्ती र ऋणको समेत व्यबस्था मिलाउने
  • स्वास्थ्य विमा कार्यक्रम र सहकारी तथा सार्वजनिक स्वामित्वका संस्थाहरुबाट सहयोग उपलब्ध गराउने गरी उपचारमा सम्पूर्ण लागत पालिकाले व्यहोर्न आवस्यक बन्दोवस्त गर्ने । 
  • गरिवहरुलाई पहिचान गरि उनीहरुको श्रमको उत्पादकत्व बढाउन र उत्पादनमुलक काममा लाग्न आवस्यक वातावरण मिलाउने काम वडाहरु मार्फत स्थानीय तहले गर्ने । यस्तो गरिवीको रेखाँकन र पहिचानको काममा पार्टीले सहयोग गर्ने
  • परम्परागत चाडपर्व, साँस्कृतीक कार्यहरु, सामुदायीक संस्थाहरु मठमन्दीर, हाट र घाट व्यबस्थापन समेतका काम पुरै समुदाय आधारित भएर चलाउने, भएका परम्पराको जगेर्ना गर्दै व्यबस्थापनका आधुनिक ज्ञानहरु प्रयोग गर्ने
  • हरेक बर्ष समुदायका लागि योगदान गर्न सबैले श्रम गरेर या आम्दानीको निस्चित प्रतिशत दान योगदान गरेर सहभागि हुने परम्पराको विकास गर्ने
  • आफ्नो पालिका भित्र कसैलाई पनि आवासविहिन हुनु नपर्नेगरि आवस्यक बन्दोवस्त पालिकाले मिलाउने
  • अन्तरपार्टी तथा अन्तरसमुदाय सम्वादका विविध उपाय अवलम्बन गर्ने

सबैको सार समुदायलाई बलियो बनाउनु हो । समुदाय आधारित संस्थाहरु बलियो बनाएर, समुदायलाई नै लाभ हुने सामुहिक आर्थिक कार्यकलापलाई प्रोत्साहित गरेर, समुदायलाई लोकतान्त्रीक प्रक्रियामा अभ्यस्त गराउने र अधिकारका बारेमा सचेत बनाउने अभियान चलाएर तथा कसैलाई पनि गरिव या सिमान्तकृत अवस्थामा रहन नदिएर उनीहरु जति सवल बन्छन त्यति समाज बलियो हुन्छ । व्यक्ति होइन समाज बलियो बनाउने कुराले नै समाजवादको आधार तयार पार्ने हो । 
अहिले निजी स्वामित्वलाई सामुदायिक स्वामित्वमा बदल्न सकिन्न, सम्भव छैन । 
हामी पुँजीवादी विकासको चरणमा छौं, हाम्रा कामले उत्पादक शक्तिको विकास गर्ने कुनैपनि प्रक्रियालाई अवरोध गर्नु हुन्न ।
यसको अर्थ पुँजीवादी विचारधाराले भनेजस्तो हरेकलाई स्वतन्त्र प्रतिस्पर्धामा छाड्ने र कमजोरलाई बजार र राज्यसत्ता दुवैले थिचोमिचो गर्ने कुरालाई छुट दिन सक्न्नि ।
  1. यी आर्थिक नीतिहरुको अर्थ तिनथरी स्वामित्व भएको अर्थतन्त्रको निर्माण गर्नु हो । क) सामुहिक स्वामित्व भएका उत्पादन इकाइहरु ख) पव्लीक लिमिटेड कम्पनी मार्फत सबै सदस्यको समान स्वामित्व भएका नाफा गर्ने कम्पनीहरु ग) निजी स्वामित्व 
  2. माथिको क र ख ले समाजवादको आधार तयार पार्न सहयोग गर्नेछन
  3. समाजवादका आधार तयार पार्ने अर्को काम वैचारिक राजनीतिक हो । कम्युनिष्ट पार्टीका कार्यकर्ता र सदस्यहरु समाजवादप्रति प्रतिवद्ध छन र निजी लाभका लागि भन्दा सामुहिक हितका लागि काम गर्छन, निजी स्वामित्वको उद्योग व्यबसाय गरेर पनि सामुदायीक हित र स्वार्थका पक्षमा योगदान गरिरहन्छन भन्ने सन्देश दिन नसक्ने हो भने समुदायलाई सामुहिक हितमा परिचालन गर्न सम्भव हुँदैन ।

अहिलेको पार्टी संस्कृती, नेतृत्व छनौटको विधि, निर्वाचनमा टिकट पाउन भैरहेका अभ्यास, पार्टीमा रहेका आम कार्यकर्ताको चरित्र समेत हेर्दा विचारधारात्मक क्षेत्रमा पर्याप्त काम नगरी पार्टी पंक्तिलाई समाजवादका आधार निर्माण गर्ने काममा परिचालन गर्न कठिन देखिन्छ । तर नेतृत्वले चाह्यो भने यस्तो काम असम्भव नै चैं होइन । 
सन् १९९२ तिर दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीले एउटा नारा दिएको थियो ः समाजवाद भविष्य हो, अहिले नै यसको निर्माण आरम्भ गरौं ।
हामीले भन्न सकिने पनि यहि हो । हामी तयार भयौं भने नमुनाका रुपमा कतिपय स्थानीय तहलाई समजावादको भ्रुण निर्माण गर्ने काममा उत्प्रेरित गर्न सक्छौं ।
तर यसका लागि पहिलो काम भनेको स्थानीय पार्टी नेतृत्व यसका निम्ति तयार हुनु जरुरी छ ।
प्रदेश पार्टी र प्रदेश सरकार तयार भयो भने यस्तो काम अहिलेकै बजेट निर्माणदेखि आरम्भ गर्न सकिन्छ । अहिलेकै बजेटमा पार्टीको पर्याप्त प्रभाव भएका केही वडा या पार्टीको अति प्रभाव भएको पालिका छनौट गरेर समाजवादको भ्रुण निर्माण गर्ने नमुना पालिकाका लागि काम गर्न सम्भव छ ।
यो कुनै आदर्शवादी कल्पना होइन, यसलाई आदर्श परिकल्पना मान्ने हो भने हामीले कम्युनिष्ट भएको दावी गर्नुको अर्थ नै के रहन्छ र ?
हाइपोथसिस एसेप्टेड अर रिजेक्टेड ? यसको उत्तर तपाईहरुबाट ।
धन्यवाद । 

No comments:

Post a Comment