Saturday, May 2, 2020

बा

बर्षा लाग्यो को आउन पाउँच र ?

भान्सा भयो हजुर
दालको तिहुन सिन्की अचार...। 

कसैले बालाई भान्सा भयो बा ? भनेर सोध्यो भने यो गीत गाईदिनुुहुन्छ ।
गीत अरुपनि गाउनु हुन्छ । केहि म बुझ्छु केही बुझ्दिन । केही गुनगुनाउनु हुन्छ केहि बुझ्ने गरि नै गाउनुहुन्छ । 
पानी पर्यो बलेसी चुहेन, दाइलाई अंश बहिनिलाई पुगेन...। यो गीत पनि नीयमित नै गाइनेमा पर्छ । 
विहान कहिले दुइ बजे कहिले एक बजे नै उठ्नुहुन्छ । पहिले बाथरुम गएर नुहाउनुहुन्छ अर्थात हात मुख धुनुहुन्छ । कोठाको बत्ति साँझ बालेपछि भोली विहान उज्यालो नहोउञ्जेल निभाउन हुँदैन । डराउनुहुन्छ । यस्तो डराउने समस्या पुरानै हो । नुहाएपछि कहिले मसंग सोध्नुहुन्छ “हैन ह्यैं बस्नी हो कि जानी हो ? भोली विहान कतिबजे जानीओ ?”
हैन बा ह्यैं बस्नी हो कतै जानी होइन ।
यो घर कसको हो ? कहाँ आइयो कहाँ आइयो ? हैन घरजान कति दिन लाउच ? म त आएको बाटो पनि विर्सें । मलाई लै दिनोस है । कताकताबाट आइयो, अब तपाईहरुकै भर परें म त ।
बा यो घर तपाईकै हो नी । छोरा बुहारीको घर तपाइको आफ्नै भएन त ? कैं जानी होइन । गएर सुत्नोस अहिले ।
त्यसो भए त ढुक्क भएँ नी । अब सुत्चु ।
जानु हुन्छ । म निदाउने तरखरमा लाग्दै हुन्छु । कहिले गीता पाठ गर्नुहुन्छ कहिले पुजा विधि पढ्नुुहुन्छ । कहिले त दराजमा रहेको आफ्नो झोलाबाट कपडा झिक्दै राख्दै गरेर एकाध घण्टा विताउनु हुन्छ ।
बालाई आफ्नो अस्तित्वको ज्ञान एकदम कम छ । आफु कहाँ बसेको छु भन्ने स्थान विशेषको ज्ञान र कोसंग छु भन्ने पारिवारीक अवस्थाको जानकारी दुवै छैन । 
म निदाउँदै हुन्छु । आएर कोट्याउनु हुन्छ । 
त्यस अघि नै दिउसोका औपचारिक लुगा लगाइसक्नुहुन्छ ।
अचम्म के छ भने बाहिर जाँदा चिटिक्क परेर दौरा सुरवाल लगाएर हिँड्नु हुन्छ । दौरा सुरवालको सेट मिलेको हुनुपर्छ । कोट या ज्वारीकोट चाहिन्छ ।
साँझ नपर्दै जव घाम डाँडामा वस्न थाल्छन बा घुमेर आउनुहुन्छ र सुत्नेवेलाका कपडा भनेर लगाएर बस्नुहुन्छ । 
म त तमासै आत्तिएं किन होला । हैन यो घर कसको हो । भोली विहान कतिवेला हिन्नी हो ?
बा अहिले सुत्नुस, विहान खाना खाएपछि सल्लाह गरेर जाउँला ।
कति टाढा छ घर ह्याँबाट ? एकदिनमा पुगिन्चै पुगिन्न ? 
पुगिन्च बा, बसले लान्छ । 
व्यर्थै घर छाडेर आईएच, अब घर जान पाए कंइपनि जाने थिइन । गाउँघरमा जान पाए दाजुभाई इष्टमित्रसंग भेट हुन्थ्यो । कति रमाइलो हुन्थ्यो । 
बा विहान जाउँला अहिले सुत्नुस । बल्ल दुइ बज्यो ।
ए हो, अब कति घण्टामा उजेलो हुन्च ?
चार घण्टामा हुन्च बा, सुत्नुस । 
ल अब सुत्चु ।
दिनमा पचासौं पटक घडी हेरेर समयको जोड घटाउ गरिरहने बा राती परेपछि त्यहि घडीबाट केही पनि हिसाव लगाउनुहुन्न ।
हैन यो घरका मान्छे कता गए । घाम लाइसक्यो बाहिर । बैठक कोठाको पर्दा खोल्नुहुन्छ र बाहिर हेरेर एक्लै गुनगुनाउनुहुन्छ । ढोका खोल्योरैन्च, बाहिर जान हुन्त्यो ।
हैन ह्यैं बस्नी हो कि जानी हो आज ? आमालाई सोध्नुहुन्छ ।
म उठ्छु । चिया पिएर जानुहोला बा बाहिर । भन्छु र भान्सातिर पस्छु ।
म चिया पकाउँदै गर्दा किचन छेउमा उभिन आइपुग्नुहुन्छ ।
हैन आगो बाल्ने ह्याँ हो ? कसरी बनाएका हुन गाँठे यस्तो । दाउरा नि नचाइने । यसो छोइदियो बलिआल्नी ।
इन्डक्सन चुल्हो र ग्यास चुलो सुमसुम्याउनुहुन्छ ।
भान्सामा आउँदा केही खानेकुरा दियो भने खुब खुसी हुँदै खानुहुन्छ ।
म सानोमा मझेरीको मैनखाँबोमा दही मथिरहेका र नौनी निकाल्दै गरेका बालाई सम्झन्छु । 
नौनीको डल्लो पारीसकेर अलिकति अग्नीलाई चढाएपछि एउटा डल्लो दिनुहुन्थ्यो । हामी त्यहि डल्लो सिंगै मुखमा हालेर छिटो नसकिए हुन्थ्यो झैं गरि खान्थ्यौं । बा अहिले ठिक त्यस्तै बालक झैं बन्नु भएको छ ।
८८ बर्षमा हिँड्दै गरेका मेरा बा अल्जाइमर्सले कम्तीमा पाँच बर्ष यता अर्ध चेतनाको अचम्मको जीवन विताइरहनु भएको छ ।
चिया दिन्छु र म पनि छेउमा मोबाइल लिएर विहानको समाचार अपडेट हुन बस्छु । बा स्टिलको गिलाँसमा चिया फुक्दै पिउन थाल्नुहुन्छ । निकै हतारमा । छिटै सक्ने प्रयास गर्नुहुन्छ ।
चिया विस्तारै नफुकि खानी हो नि बा ।
तात्तातै खान मन लाउच क्या ।
त्यसो भए झन फुक्न भएन नि त । 
हे हे .......।
चियाको गिलास लिएर पखाल्न जानुहुन्छ । यसरी जाँदा आमाको चिया गिलास पनि लान विर्सनुहुन्न ।
अचम्म छ । आमाले कान सुन्न छाड्नु भयो । एकासी बर्षमा हिँड्दै हुनुहुन्छ । हामीले बोलेको ओठको चालले मात्र बुझ्ने आमा । बाले बोल्दा भने तत्काल बुझ्नुहुन्छ । आमाको र बाको विच गजव सम्वाद भैरहन्छ । केही खानेकुरा पाए आमालाई दिएर मात्र खान खोज्ने बानी छ बाको । 
आमा को त के कुरा । खानेकुरा दियो भने घरका सबैले भाग पाए की पाएनन भन्ने सोधी खोजी गर्नुहुन्छ । खाना खानेबेला कोही उपस्थित भएन भने सोधीहाल्नुहुन्छ । 
चिया पिएपछि म त यसो बाहिर डुलेर आउँछु एकपटक भन्दै निस्कनुहुन्छ बा । पानी आएको भए पानीलाई नै गाली गर्नुुहुन्छ । बादल भए बादललाई । 
बादल लागे 
जाडो भयो जडेनी, आगो ताप्न देउन थपेनी भन्दै गाउनुहुन्छ । 
तामसै जाडो भयो, आगो भए आगो ताप्नहुन्त्यो । घाम ताप्न पर्यो नी । बाटोमा पनि एक्लै बोलीरहनुहुन्छ ।
घाम लागे
घाम लाग्यो पसिना आयो, छाता छुट्यो भङेरी खेतैमा । गाइहाल्नु हुन्छ । यो गीतमा म संगती देख्दिन । थकाई लागेर सुस्केरा आएपछि गाउनु हुन्छ ः 
ए आमा सानिमा, फुलको थुँङ्गो खस्यो पानीमा ।
पुराना श्लोकहरु गाइरहनुहुन्छ । 
यी श्लोक र गित मनको तनाव विर्साउने उपायका रुपमा गाएको जस्तो मलाई लाग्छ ।
र यस अघि बाले गित गाएको कहिल्यै सुनिएको थिएन । श्लोकहरु भने सुनाउनुहुन्थ्यो । अहिले पनि विर्सनु भएको रहेनछ ः 
न कहिल्यै भक्तिले गुरु चरणमा ध्यान गरियो 
न ठाकुरको पुजा गरि तुलसीको पत्र धरियो
दया भो ख्वामितको भनिकन भने पार तरियो
अवस्य साँचै हो नतर यमका पास परियो ...।

बेला छँदै टिकटको गरिएन याद
लागिन्छ पार कसरी अब भो फसाद ।।
आलु काटी तरकारी तामालाई
भर्ति भयो भन्देउ है आमालाई ।।
रात पर्यो झमक्कै अँधेरो
कर्रि सासु टाढाको पँधेरो ।।

विहेमा जन्त जाँदा सिलोक हालेर जितेर आउँतेम, ऐले त सबै भुलियो । बालाई थप श्लोक गाउन अनुरोध गर्दा यस्तै जवाफ दिनुुहुन्छ । 
बा बाटोमा कसैको पनि फुल टिपेर नल्याउनुस है । गाली गर्छन । 
अँ अँ ल्याउन्न ।
फर्कदा मुठी भरी फुल हुन्छ । कहिले कलिलो गुलाबको कोपिला नै हुन्छ । कहिले मौसम अनुसार कसैको घर अगाडी फुलेका फुलको थुँगो । 
किन ल्याउनु भयो त बा । घरमै थियो नि फुल । 
कसैले पनि नलैजा भनेनन क्यारे मलाई । 
हामीलाई भन्छन, गाली गर्छन, नल्याउनु है भोली देखि
पाठ गर्ने बेला कितावलाई चढाउन ल्याएको हो, कसैले क्यै भन्दैनन ।
कहिल्यै सम्झाएर सकिन्न ।
घरमा तुलसीको मठ नभएको गुनासो छ । आमाको झन धेरै छ ।  
एकजना नेकपा आवद्ध वामपन्थी साथी आएका थिए । तिनले ‘कम्युनिष्ट भएकोले मठ नबनाएको हो क्याहो ? एउटा तुलसीको मठ त चाहिन्छ नि नेपालीको घरमा’ भनेर निकै खप्की नै गरे ।
समय कस्तो आएछ भने कम्युनिष्ट भएर मठ नराखेको भन्न नहुने हुन थालेछ । तिनलाई एकछिन हेरें र नेकपाको वर्तमान राजनीतिमा धर्मको स्थानबारे घोत्लीएं । तर मठ बनाउने कुरो आफ्नै आस्थाका विरुद्धको ढाेंग भन्दा केहि लागेन ।  
खाना खान समयमै चाहिन्छ नत्र भान्सामा हेर्दै मनमा गुनेजस्तो बोल्नुहुन्छ । भात खान नदिने रहेचन क्याहो आज । यसबेलासम्म पनि खाना नपकाउने ए.....। 
कहिलेकहिँ खाना खाएको या खाजा खाएको पनि विर्सनुहुन्छ । हैन आज भात नखाने हो ? आज खान खान दिदैनन क्याओ ? 
साँझ घाम डाँडामा बसेदेखि नै भात पकाउने होइन अव भन्दै खानाकै कुरा गर्नुहुन्छ । पाँचबजे पनि घरका सबै मान्छे बाहिरबाट फर्केनन भने गनगन गर्नुहुन्छ । यसबेलासम्मनी नआउनी ए गाँठे । कति ढिलो अरेका हुन ? 
खाना जस्तो दिएपनि खुब मिठो मानेर खानुहुन्छ । दालभात, तरकारी अचार र दुध सबै एकैपटक मुछ्नुहुन्छ । खाना खाँदाको हतार देख्दा भोक बढी लागेको हो कि जस्तो पनि लाग्छ । 
हरेक चार पाँच मिनेटमा घडी हेर्नुहुन्छ । 
............
बेलुकाको आठ बजे यो लेख्दै छु । छोरो टिभी हेर्दै छ । बा सुत्न जानु भएको बिस मिनट जति पछि निस्कनु भयो । 
के भो हजुरबा ? छोराले सोध्यो ।
आँसी ल्याथें कहाँ राखेचु काँ राखेचु । 
भोली खर काट्नु छ क्या हो बा ? म जिस्कन्छु
हैन विहान उठेर घास काट्न जान परेन ?
भैंसी कति पाल्नु भछ र बा ?
एउडा छ । 
काँहा छ र ? 
ह्यैं छ नी ?
आमा उठ्नुहुन्छ । क्यार्न चाहिएको हो आँसी ?
कहाँ राखें कहाँ राखें 
बा भोली विहान म खोजी दिउँला अहिले सुत्नुस ।
कहाँ राखें हुला ? हत्तेरी । दराजमा आसी खोज्दै हुनुहुन्छ । यतिवेला साँझको ८ बजेर ५८ मिनट गएको छ ।
कहिले यसरी नै जुत्ता खोज्न र कहिले लाइट खोज्न निस्कनुहुन्छ । कहिले मोजा कता राखें भन्दै आउनुहुन्छ ।
अघिल्तिर भएको कपडा नदेखेर फनफन घुम्नुहुन्छ र सबै लुगा कैयन पटक वल्टाइपल्टाइ गर्नुहुन्छ । दाह्री बढे भने पत्ती र मिसिन ल्याथें कता राखेछु कता भन्दै खोज्दै हिँड्नुहुन्छ । मसंग छ भनेर पनि हुँदैन । दाह्री नकाटीदिएसम्म खोजिरहनुहुन्छ । एकदुइदिन त्यसरी खोजेपछि म दाह्री काटिदिन्छु । 
बा सिरानीमा आँसी खोज्दै हुनुहुन्छ । आमा हाँस्दै बाहिर निस्कनु भयो । 
आमा टिभि हेर्नुहुन्छ । कति उफ्रने हुन यी मुन्छे, थकै नि नलाउनी, भोक पनि नलाउनी । आमालाई टिभीमा कसरी कार्यक्रम प्रशारण हुन्छन भनेर बुझाउन सकेको छैन मैले ।
आमालाई अर्को अचम्म चैं पत्रिकामा त्यतिका धेरै कुरा हरेक दिन कसरी छापेर ल्याउँछन भन्ने लाग्छ । ल्यापटपमा लेखेको कुरो पत्रिकामा छापिएर कसरी आउँछ भन्ने गुत्थी नखुलेर आमा हैरान । 
पत्रिकाका शिर्षक पढ्नुहुन्छ । बुझ्नुहुन्छ । बाँकी समाचार अक्षर साना भए आँखाले देख्दैन भन्दै पढ्नुहुन्न । बा भने पत्रिकामा समवेदना सन्देश हेर्दै आज यति मरेछन भनेर गन्नुहुन्छ । पहिले पुरै पढ्नुहुन्थ्यो अहिले पढ्न पटक्कै रुची राख्नुहुन्न ।
बेलुकाको ९ बज्यो, यता  बा दराजमा आसी खोजीरहनु भएको छ । 

.......
बा १९८९ मा जन्मनु भएको । हजुरबा म सानो हुँदै वित्नु भएकोले जान्न ब्यहोर्न पाइएन । गाउँमा २०१६ सालमा खुलेको विद्यालयका पहिलो शिक्षक हजुरबा । २०१५ सालमा काँग्रेसको पक्षमा लागेका हाम्रा सबै खलक, त्यहि भएर स्कुल स्थापना गर्न काँग्रेसले सहयोग गरेको । बा गुरु कुलमा पढेर सामान्य पण्डित्याँइ सिकेर, तमसुक लेख्ने भएर पनि पछि सबै कुरा छाडेर किसान हुनु भएको । बाले पालेका भैंसी सितिमितीले किन्न डराउँथे यतिको स्याहार गर्न सकिन्न भनेर । खेतीपातीमा दत्तचित्त । आफैले हुर्काएका पाखुरी, चुलेत्रो, बेडुलो र बडहरले हिउँदभर हरियो परियो कहिल्यै नटुट्ने पउल बनाउनु भएको थियो । कुनै समय थियो सत्र अठारवटा गाई, एक हल गोरु, तिन चारवटा भैंसी र पाँच सात वटा बाख्रा हुन्थे घर । 
आँगन मुनीको ठुलो गराभरी या त काँचोपात हुन्थ्यो या आलु फल्थ्यो दश मुरी । काँचोपात विरुवा हुर्काउँदा, गोडमेल गर्दा, काटेर सुर्ती बनाउने, तमाखु पार्ने र पछि भुसाहा बनाउने काम गर्दा कम्तीमा छ महिना निहुरेर चिसोमा काम गर्नुपथ्र्यो । हाम्रो पढाइ खर्च त्यहिँबाट निस्कन्थ्यो । गाउँ बेसी थियो । पँधेरो टाढा थियो । मेला पात गर्नै पर्यो । बाको जीवन पुरै किसान भएर वितेको थियो । 
फेरी समय थियो एउटा जागरणको । विद्यालय खोल्ने, भवन र खेलमैदान गाउँलेले बनाउनु पर्ने । कहिले लमतरीबाट स्कुल छाउने ढुँगा बोक्ने, कहिले बसेरीको पाखोबाट थाम बोक्ने । कहिले मौरी खोलाबाट ढुंगा बोक्ने । महिनौ झारा जानु पथ्र्यो । एकपटक एउटै हिँउदमा सय दिन झारा गएको मलाई पनि सम्झना छ ।
बा उ जमानाको हुनुहुन्थ्यो । दुइचार खेप भोट गएर ल्याएको नुन दुइचार खेप ठोरी र नारानघाट भएर ओसारेको नुन तेल । कहिले चामल या घिउ बोकेर पोखरा पुर्याएर विक्रि गर्नु । चारचार भाई छोरा पढाउनु । अलिअलि सम्पत्ती जोड्नु । एकसरो मान्छेका दुःख अनेक । 
बा पक्का किसान चरित्रको हुनुहुन्थ्यो । मलाई बा देख्दा रसियाली साहित्यमा चित्रित किसानको झल्को आउँथ्यो । आफ्नो उपन्यास आधा जुनमा मैले दुइवटा प्रसंगमा बालाई नै सञ्जयको बाउ जस्तो बनाएर चित्रण गरेको छु । पालिखे चोकमा राजा विरेन्द्रको सावरी चल्दाको वर्णन र ०३४ मा गाउँमा नापी आउँदाको समयमा चित्रण गरिएको सञ्जयको बावुमा मेरा बालाई नै चित्रण गरेको छु मैले ।
केही बर्ष देखि हामी छोराहरुकाहाँ आलोपालो बस्दै आउनु भएको बा लाई ४० बर्षको उमेरमा घाँसको भारीसंगै लड्दा मेरुदण्डमा लागेको चोटले निकै दुःख दियो । ०३९ असारमा एकपटक सुतेको खाट नै बोकेर पोखरा लानु परेको थियो ढाडले दुःख दिएर । ठ्याक्कै २१ बर्ष पहिले नर्भिकमा डा. उपेन्द्र देवकोटाले तत्काल अपरेशन नगरे मेरुदण्ड भाँचीन सक्ने भनेका थिए । चिनेका अर्थोपेडिक्स डक्टरसंग दोस्रो मत लिएपछि हामी अपरेशन नगर्ने निचोडमा पुगेका थियौं ।  अहिले पनि ढाड धनुष जस्तै छ । बाँकी कुनै शाररिक समस्या छैन । हट्टाकट्टा । पत्रिका पढ्न चस्मा नचाहिने ।  नियमित गिता पाठ गर्ने । 

हे बाबा म नि छोरी हुँ हजुरकै दाजु र भाई सरी
के हो पुण्य मलाइ बेची यीनका दुर्गन्धे आन्द्रा भरी
हेर्नुस हात हजुरका यी दुइटै हुन वाम काटीकन
खाई दक्षिणा आँत पुष्ट गरने कस्तो कठोरी मन ? 

भुइचालो पछि जरक मरक गरेर भित्रबाहिर गर्दा निकै ढाड दुखेपछि मोडल अस्पतालका डा. रोशनलाई देखाइएको थियो । उनले बाको ढाडको अवस्था हेर्दा एकतला माथिको ओपिडिमा पनि नल्याउनुस बरु मै तल आउँला भनेका थिए । कोरोनाको बन्दाबन्दीले घर बाहिर जान नपाएपछि दिनको कम्तीमा दर्जन पटक घरको छतमा जाउ आउ गर्नुहुन्छ । दुःखाइका बारेमा कम थाह छ ।
भन्नुहुन्छ म जति बाँचेको मुन्छे मैले अरु देखेको छैन । बा बहत्तरमा जानु भो, म अहिलेसम्म बाँचे । 
भाइहरुसग फोनमा कुरा गर्दै जाँदा सोधिदिनु हुन्छ ः बा आमा सञ्चै छन् ?
चेतनाले धोका दिएपछि कसको के लाग्छ ?
कोरोनाबारे बुझाउन सकिएको छैन । तर घरबाहिर निस्कन दिइएको छैन । झ्यालखानमै बसे जस्तो भयो ए गाँठे ! हैन हामीले के विराम ग¥याथेम र बाहिर जान नदिएको होला ? 
अनेक प्रयास गरियो । टिभीको समाचार हेर्नुभयो । हाइलाइट पढ्नु भयो । अलिअलि बुझ्नु भयो । फेरि हैन बाहिर जान पाइदैन ? कम्तीमा हरेक दश मिनेटमा त्यहि सोध्नुहुन्छ ।
बाहिर त रोग फैलिएको छ बा जान हुँदैन, १९ हजार मान्छे मरिसके यो रोगले भन्छु म । बाहिर रोग सर्छ भन्यो भने त्यसलाई लठ्ठिले हाने पछि मर्लानी भन्नुहुन्छ । घरभरी मान्छे हुँदा, हिडिरहन पाउँदा खुशी हुने । एक्लै बस्न नसक्ने भयभित हुने । एकजनाले छाड्न नहुने ।
याचना गरेजस्तो गरेर, निरिह जस्तो भएर आफ्ना कुरा राख्ने । तर्क प्रणाली सबै उल्टोपाल्टो हुने । हरेक दिन बा मकैखोला काउरे (घर) कहिले जाने भनेर दशौं पटक सोध्नुहुन्छ । भरखरै भनेको कुरो विर्सनुहुन्छ । बारम्वार उहि कुरा सोध्नुहुन्छ । कति दिन बस्ने हो ह्याँ ? 
तिमी लाउरे म पनि लाउरे, लाउरे लाउरे मिलेर जाम काउेर.......। दोहारिरहन्छ ।
स्याहार गर्न अप्ठेरो । मायालाग्दो । 

.......
अल्जाइमरको उपचार छैन भन्छन । जिनेटिक हो यो रोग भन्छन । बा भन्दा चारबर्ष कान्छी फुपुलाई पनि यस्तै छ । अझ माथिल्लो स्तरमा पुगेको छ ।
अल्जाइमर्स हुनु भनेको विस्मृतीको कुरा मात्र होइन । आँखाले देखेको दृष्यको फोटो दिमागमा रेकर्ड गर्न नसकिनु पनि हो । नयाँ समयका घटना विर्सने र पुराना सानो उमेरका कुरा सम्झिरहने । हेर्दा देखिएको दृष्यको विश्लेषण गर्न नसक्ने । 
आफ्नो अस्तित्वको भय भैरहने । डर लागिरहने । हठ र अटेरी पन बढ्दै जाने । अहम बढ्ने । बच्चाको जस्तो फकाउन र फुस्ल्याउन नसकिने । बालाई हेर्दाका अनुभव हुन यी । नेपालमो जिरेण्टोलोजिष्ट एक दुइ जना मात्र छन् । साइकोलोजिष्टले नै हेर्नुपर्ने अवस्था छ ।
हामीले बच्चाहुँदा गरेका चकचक, दिएका दुःख, भनेको नमान्दा र हठ गर्दाका अनेक दृष्य आउँछन स्मृतिमा । अब त्यसको पैंचो तिर्नुपर्ने बेला आएको छ सायद । 
बाउ छोराको साइनो र परिचय घरीघरीमात्र सम्झने बासंग विताउन पाएका यी क्षण अविस्मरणीय रहने छन ।
डर एउटा मात्र छ ः मेरो पनि यस्तो पालो नआओस !
हामीकहाँ सार्वजनिक स्वास्थय प्रणाली ध्वस्त छ । बृद्धबृद्धाको स्याहारमा राज्यको भूमिका एकदम कमजोर छ । पुँजीवादी विकासका कारण परम्परागत पारिवारिक संरचना र त्यसको अर्थ सामाजिक जग भत्कदै गएको छ । माईक्रो फेमिलिका कारण अघिल्लो पुस्तालाई स्याहार गर्नु कठिन हुँदै गएको छ । 
अल्जाइमर्स हुनेहरुलाई परिवारमा राखेर स्याहार गर्न थप एकजनाले अर्थोपार्जनको काम छाड्नुपर्छ । अहिलेको शहरीया जीवनमा यस्तो गर्नु भनेको जीवन झन संकटमा फस्नु हो । रोगका प्रभावहरुको वर्गचरित्र हुने नै भयो । 
एकदिन बाले घर कहिले जाने भनेर सोधिरहेपछि हामीले सोधियो किन हतार भो र बा दाउरा मार्नु छ र ? 
अब दाउरा मार्न पर्यो नि बर्षा लाग्यो , बाले भन्नु भयो र तुरन्तै गाउनु भयो
ए आमा नपठाउ सम्चार, बर्षा लाग्यो को आउन पाउँच र । 




No comments:

Post a Comment