Wednesday, January 8, 2014

विनोदले जिउँनै छाडेपछि



भर्खरै पानी परेको छ
भर्खरै घाम लागेको छ
मौसम पनि किन झल्ला हुन्छ यो सहरमा
पिउन त सबैले पिउँछन्
मर्ने गरी पिउँछन्
मैले अलिकति पिउँदा 
किन हल्ला हुन्छ यो सहरमा ?
–विनोद गौचनको, कविता संग्रह ढुङ्गेसाँघुको मेलामा, बाट ।

कवि विनोद गौचन रहेनन् । ५८ वर्षकै उमेरमा गतसाता उनको देहान्तको खबरले दु:खी बनायो । उनका ढुङ्गे साँघुको मेलामा र पोखरामा फूल फुल्दैन गरी दुईवटा कविता संग्रह निस्केका छन् । तर, उनलाई केही लोकप्रिय गीतले चिनाए– जति माया लाए पनि..., तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले..., कस्तो ठाउँमा फुल्यौ तिमी...।’

विनोद गौचनसँग पछिल्लो संवाद झन्डै दुई वर्षअघि फोनमा भएको थियो, निकै लामो । म आफ्नो (भर्खर प्रकाशित) उपन्यास आधा जूनको पुनर्लेखनको खाका बनाउन भनेर केही दिनदेखि भोटेओडारस्थित मध्यमस्र्याङ्दी परियोजनाको पाहुनाघरमा बसेको थिएँ । त्यसको केही समयअघि कवि मनु मञ्जिलको कविता सङ्ग्रह ‘ल्याम्प पोस्टमुनिको जून’माथि मेरो समीक्षा नागरिक दैनिकमा छापिएको थियो । त्यसमा मैले नबुझिने कविता होइन, सरल र सहज बोधगम्य कविता नै राम्रा भनेर केही लेखेको थिएँ । गौचनले त्यही भनाइलाई मन पराएर मलाई फोन गरेका रहेछन् । हामीबीच सरल कविताका कुरा भए, उनका कविताका कुरा भए । उनले आफ्नो दोस्रो कविता सङ्ग्रह निकालेको कुरा सुनाए । मैले उक्त संग्रह पहिले नै पढिसकेको थिएँ । अनि उनलाई एकपटक काठमाडांैमा कविता वाचनमा आउन र आफ्ना कविताहरूको एउटा संग्रह काठमाडांैबाट निकाल्नसमेत सुझाव दिएँ । हामीले एकपटक भेटेरै बात मार्ने बाचा गर्‍यौँ । तर, त्यो बाचा मैले नै पूरा गर्न सकिनँ । अहिले थक्कथक्क लागिरहेछ ।

मलाई कवि गौचनको झल्को र सम्झना सधैँ आइरहनेछ, जब म पृथ्वीनारायण कलेजका प्रारम्भिक दिन सम्झन्छु । म कलेज पढ्दाका सुरुका वर्षमा नै अहिलेका चर्चित कवि र साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, विनोद गौचन र गायिका हरिदेवी कोइरालाको पोखरामा नाम बनिसकेको थियो । मेरो सम्झनामा त्यतिवेलाको त्यो वातावरण यसरी कुँदिएको छ ।

पोखरा त्यतिवेला अहिलेको जस्तो फैलिएको थिएन । सहरका टोलटोलका घरहरू कसका हुन् भनेर सामान्य मानिसलाई थाहा भैहाल्थ्यो । यो नरेश शंकरको, दिनेश शंकर पालिखेको, यो द्वाको, यो आनन्द मुल्मीको, यो बागलुङ्े वैद्यको, यो अमृतप्रसादको, यो साइँला वैद्यको, राघवलालको, यो मनाङ्गेको, यो खोपलाङ्गेको आदि । यो थकालीको, यो नेवारको, यो अधिकारीहरूको, यो हमालहरूको, बरालको, पराजुलीको, रेग्मीको, गुरुङको, मगरको, बाँस्तोलाको आदि । सहरका शिक्षकहरू सबैजसो चिनिन्थे । हाकिमको त कुरै भएन । पोखराको एउटा टोल त साहित्य र कलाका दृष्टिले उर्वर नै थियो भन्दा हुन्छ ।

सहरमा अहिलेजस्तो तीव्र वर्गभेद पनि अनुभूति हुँदैनथ्यो । सबैले पढ्ने विद्यालय सरकारी नै थिए । अञ्चलाधीशका सन्तानदेखि सर्वसाधारणका सन्तानसम्म एउटै विद्यालयमा पढ्थे । साहुका सन्तानदेखि सामान्यजनका सन्तानसम्म एउटै कलेजमा पढ्थे । फाट्टफुट्ट मात्र कार थिए र मोटरसाइकल पनि निकै कम । मेरो कक्षामा मसँग पढ्नेहरू सहरका भए पनि हाम्रो राम्रै संगत र बसउठ थियो । अनेक साथी थिए– साहू महाजन परिवारका, लाहुरे परिवारका, एकजना थियो अञ्चलाधीश परिवारको (उसले काठमाडांैबाट माओको रेडबुक किनेर लगिदिएको थियो, मलाई जो पछि जनमतसंग्रह कालमा पहेंलेको प्रचारमा खुलेरै हिँड्यो ) । ०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्रहको घोषणासँगै राजनीतिले भने हाम्रो मित्रतालाई ह्वात्तै विभाजित गरिदियो । केही समय त यस्तो आयो हामी अखिलेहरू महेन्द्रपुल र मुख्य सहरमा आउनै डराउनुपर्ने । केही नेविसंघका साथीले त पृथ्वीनारायण कलेजबाट काठमाडौं नाम सारेर पढाइ पूरा गरे ।

विन्धेबासिनी मन्दिरको गेटबाट अलिकति पूर्व–दक्षिण हिँडेपछि मोहरिया टोलमा मूल सहरसँग अलिकति अलग भएर बसेको दरबारजस्तो घर थियो कवि भुपी शेरचनको । उहिलेका बडाहाकिम धनशमशेरबाट किनेको भन्ने चर्चा मैले सुनेको थिएँ । सडक कविता क्रान्तिमा आएका हरिभक्त कटवाल र भवानी घिमिरेहरूको टोलीसँगै म पनि एकपटक भुपी शेरचनकहाँ पुगेको थिएँ । शेरचनलाई मैले पहिलो र अन्तिमपटक त्यहीँ देखेको हो । विन्धेबासिनी मन्दिरको गेटबाट उत्तर लाग्दा अलिकति ओरालो झरेपछि वागबजार पुगिन्छ । सडकको दायाँबायाँ नेवारहरूका पुराना घर छन् । त्यही टोलमा थियो पोखराको कुनै वेलाको चर्चित सांस्कृतिक घर डाँफेकला मन्दिर । मीनबहादुर गुरुङले चलाएको उक्त मन्दिरमा मैले केही नाटक र सांस्कृतिक कार्यक्रम हेरेको थिएँ । त्यही मन्दिरसँग झन्डै जोडिएको छ सरुभक्तको घर । अलि दक्षिणमा छ कवि तीर्थ श्रेष्ठको घर । सम्भवत: गायन र संगीतमा नाम कमाइसकेका सरोज गोपालको घर पनि त्यही टोलमा छ । डाँफेकला मन्दिरबाट पचासै मिटरको दुरीमा हुँदो हो कवि तथा गीतकार विनोद गौचनको घर । मैले आइएको दोस्रो सिमेस्टर पढ्न नभ्याउँदै उनको गीत ‘जति माया लाए पनि...’ को लोकप्रियता शिखरमा पुग्यो । हाम्रो पनि अल्लारे जवानीको समय थियो, उक्त गीतले यसै मन बरालिदिने । यो गीतसँग गाँसेर कहिले अरुण थापाको प्रेम जीवन र कहिले कवि गौचनको पारिवारिक जीवनबारे समेत अनेक काल्पनिक या वास्तविक चर्चा या हल्ला चल्थे सहरमा ।

सायद तिनी पञ्चायत प्रशिक्षण केन्द्रमा जागिरे हुँदा हुन् । टुँडिखेलतिर जाने बाटो मोडिने चोकबाट पूर्वपट्टि दुईवटा घरका पर्खालको बीचमा यसो जिउ कोल्टो पारेर छिर्न मिल्ने एउटा गल्ली सिधै प्रशिक्षण केन्द्रको पर्खालसम्म तन्किएर जान्थ्यो । म बगरको त्यतिवेलाको कसाई टोलमा बस्न थालेपछि यी गौचनलाई त्यो गल्लीबाट फुत्त आउने, जाने गरेको धेरैपटक देखेको थिएँ । तर, मेरो दब्बु स्वभावले उनीसँग बोल्न र हिमचिम बढाउनबाट रोकिराख्थ्यो । पछि त म मालेको कार्यकर्ताका रूपमा काम गर्न थालेँ । अहो, त्यतिवेलाको माले ! यस्ता प्रेमस्रेमका गीत लेख्ने, गाउनेहरूसँग संगत गर्ने कुरा नै परको भयो । यो राजनीतिक दुरी लामो समयसम्म रह्यो । पछि म पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सभापति भएपछि हामीले यो पर्खाल भत्काउने प्रयास गरेका थियौँ । स्ववियुका सदस्य तथा अहिलेका एमालेका युवा नेता रवीन्द्र अधिकारीले यस मामिलामा निकै सहयोग गरेका थिए (हुन त त्यतिवेला पार्टीको राजनीतिक लाइनमा पनि निकै परिवर्तन आइसकेको थियो । पोखराको नगरपञ्चायत निर्वाचनमा मालेले एकजना अलि झल्ला खालको पञ्चनेता काजीमान गुरुङलाई सहयोग गरेको थियो, मालेतर्फका उम्मेदवार प्रभा बराललाई हराएर कवि तीर्थ श्रेष्ठ उपप्रधानपञ्च निर्वाचित भएका थिए) । यसपछि नै हो हामीले कवि धर्मराज थापादेखि पोखराका साहित्य फाँटका सबैजसोलाई आफ्ना कार्यक्रममा सहभागी बनाउन प्रयास गरेको । यसैवेलादेखि हो कवि विनोद गौचनसँगको मेरो परिचय झांगिएको पनि ।

उनीसँग परिचयको स्तर र मात्रा जे जस्तो भए पनि उनका कविताको भने म एकप्रकारले फ्यान नै थिएँ । उनका सबैजसो कविता मैले खोजीखोजी पढेको पनि थिएँ । उनका गीतमा जसरी गण्डकीको रैथाने भाषा र भाकाका गेडा पाइन्छन् कवितामा पनि त्यसरी नै रैथाने संस्कृति, भाषा, भेषभूषा, सामान्य मानिसका जिजीविषाका अनेक रंग मिसिएको पाइन्छ । उनको गीतको तगारोमा रुमाल राखी बाटो छेकेको सन्दर्भ गण्डकी क्षेत्रका गुरुङ–मगर युवायुवतीका प्रेम प्रसंग र संस्कृति नबुझ्नेका लागि अलग अर्थ बोकेर आउँछ होला । तर, त्यस भेगमा यसको अलग अर्थ हुन्छ । यता उनको कवितामा ढुंगे साँघुको मेलाका दृश्यहरूदेखि गाउँघरका अनेक सन्दर्भ आउँछन् । पोखरेली हुन लाहुरे त कवितामा यसै पनि रेडियो काँधमा भिरेर या ‘टेपरिकाट’ बजाउँदै आउने नै भए । पछिल्ला कवितामा उनी प्राय: सत्ता र शक्तिको विरोधमा देखिन्छन् (सायद केही हदसम्म निराश पनि) । अर्थात् सामान्यजनका आँखाबाट समाजको बृहत्तर अर्थ राजनीतिक आयामलाई केलाउनु र शक्ति र सत्ताको दमनको सूक्ष्म र कलात्मक रूपमा विरोध गर्नु उनको कवित्वको विशेषता थियो ।

उनी काठमाडौंबाट प्रकाशित कवि भएका भए सायद अहिले उनको परिचयमा उनको गीतकारको भूमिकाजत्तिकै कविको भूमिका पनि बलशाली नै देखिँदो हो । उनी आफ्नो समयसँग गम्भीर संवाद गर्न प्रयास गर्ने अत्यन्त सरल र प्रस्टवक्ता कवि थिए । तर, खै केले हो उनलाई काठमाडौं आउनबाट छेक्यो । उनको कवित्वको परिचय त्यति बलियो भएर यता छाएको देखिएन । सायद उनमा केके अहं र केहीकेही स्वाभिमान या केही कुण्ठासमेत पनि सँगै बाँचेको पो थियो कि ?

विनोद गौचन अब रहेनन् । उनको चर्चा त केही समय चलिरहला, उनी गीत र कवितामा बाँचि पनि रहलान् । तर, उनका बारेमा अब कुनै हल्ला हुनेछैन सहरमा । जब उनले पिउन मात्र होइन, जिउनै छाड्छन् असमयमै, तब उनको बारेको हल्ला मात्रै कसरी जीवित रहन सक्छ, यो चाँडोचाँडो फेसन बदलेझैँ चर्चाका पात्र पनि बदलिहिँड्ने सहरमा ?

No comments:

Post a Comment