Tuesday, January 21, 2014

वामपन्थी भुक्तभोगीको आत्मपरक आख्यान




झलक सुवेदीको उपन्यास 'आधा जून' लाई मार्क्सवादी साहित्यकार नारायण ढकालले 'नेपाली कम्युनिस्ट आन्दोलनको एउटा धारको विसर्जनबारे राम्रो दस्तावेज हो' भनेका छन्। मेरो विचारमा यस भनाइमै टेकेर यसमा थपथाप गर्दा उपन्यासलाई अझ राम्रोसँग बुझ्न सकिन्छ।
'आधा जून' ले कम्युनिस्ट पार्टी सञ्चालन विधि र प्रक्रियामा प्राय: हावी हुने पाखण्डलाई उधिनेको छ। कम्युनिस्ट संगठनका अगोचर सञ्चालकहरूले कसरी कार्यकर्तालाई लगातार भ्रममा अल्झाइरहन्छन्, कसरी कार्यकर्ता बनेको व्यक्तिको सोच्ने र कुनै पनि विषयमाथि अलोचनात्मक फरक मत प्रकट गर्ने क्षमतालाई भुत्ते बनाउँदै उसको निजी जीवन र चिन्तन प्रक्रियामाथि हस्तक्षेप गर्छन्, कसरी यान्त्रिक अनुशासनका बलमा कार्यकर्तालाई मानसिक दास बनाएर उसलाई सम्पूर्ण राजनीतिक मूल्य, मान्यता र आदर्शबाट विचलित हुन बाध्य बनाउँछन् र पार्टीमा कसरी दोहोरो मापदण्डको समानान्तर धारा कायम हुँदै आएको हुन्छ भन्ने कुराको यो, आख्यानीकृत आत्मकथा एउटा मार्मिक अभिलेखन बन्न पुगेको छ।
लेखक झलक सुवेदीले पछि एमाले बनेको नेकपा मालेको समर्पित कार्यकर्ताका रूपमा पूरा छात्र जीवन र यौवनकालका अनेकौं वर्ष बिताएका हुन् उपन्यासको नायक सञ्जयले झैं। 'आधा जून' को नायक सञ्जय र लेखक झलक सुवेदीको जीवनमा अनेकौं समानता छन्।
राजनीतिक जीवनमा आइपरेका केही अप्रिय घटना/दुर्घटना र पारिवारिक जीवनका उत्तरदायित्वको दबाबका कारण झलक सुवेदी एमाले पार्टीको राजनीतिबाट किनारीकृत भई वामपन्थी चिन्तक लेखकको अवतारमा प्रकट भएका छन् र राजधानीको बौद्धिक वृत्तमा सक्रिय अवदान गरिरहेका छन्। उपन्यासको नायक सञ्जय पनि आख्यानको अन्त्यतिर, उसकै भाषामा भन्ने हो भने, पूरै भ्रष्टीकृत भएको नेकपा एमालेको जिल्ला राजनीतिको धापबाट बाहिर निस्केर राजधानी जाने र नयाँ छोरबाट राजनीतिक यात्रा सुरु गर्ने कुरा गर्छ।
उपन्यासको पृष्ठभूमि, कथातत्त्व र कथ्य, पात्र-पात्रा, घटना-उपघटना आदिले समग्रमा अखिल नेता झलक सुवेदी र गण्डक क्षेत्रमा सक्रिय भएका माले-एमालेका साना ठूला नेता कार्यकर्ताको संघर्षको कथा भन्ने हुनाले यसलाई लेखकको आख्यानीकृत आत्मकथाभन्दा फरक पर्दैन।
कम्युनिस्ट पार्टीहरूको फुट, जुट र फेरि फुटको अनवरत प्रकरणलाई लिएर उपन्यासको नायक सञ्जय अन्तिम पृष्ठमा यसो भन्छ, 'यस्तै हो दाइ मान्छेको जस्तै पार्टीको पनि जन्मने मर्ने हुन्च क्या।' यो पार्टी पनि अर्कोबाट फुटेरै बनेको हो। अब पनि अर्को बन्च र यी दुवैलाई उछिन्च। पार्टीभन्दा विचार ठूलो हो क्या दाइ। विचार भनेको दूबो हो, जहिल्यै पनि हरियो रैरन्च।'
उपन्यासको नायक सञ्जयको मुखबाट यसो भनाएर महाकाली सन्धि प्रकरण र पार्टीभित्र झ्याङ्गिएको भ्रष्ट प्रवृत्तिबाट हतास भएका एमालेका मध्यम कोटीका नेता झलक सुवेदीले त्यस पार्टीको सडान्ध लासबाट अर्को सुन्दर र सच्चा जनमुखी पार्टीको उदय हुनेछ भन्ने सत्कामना गरेको देखिन्छ।
'आधा जून' मा एउटा सफल आञ्चलिक उपन्यासमा हुनुपर्ने तत्त्वहरू छन्। यसमा गण्डकी अञ्चलको सुन्दर प्रकृति छ। गण्डकी क्षेत्रको समाज, सभ्यता, संस्कृति, त्यहाँका मानिसहरू, तिनका जीवनका सुखदु:ख, संघर्ष र हारजित आदिलाई सकभर विश्वसनीय बनाएर प्रस्तुत गर्न खोजेका छन् उपन्यासकारले। यसमा प्रयुक्त संवादहरू सबैजसो त्यसै भेगको बोलीचालीको नेपाली भाषामा दिइएको छ। केही ठाउँमा त्यस्ता संवाद मिसफिट लाग्ने भए पनि समग्रमा तिनको प्रभाव राम्रै बन्न पुगेको छ।
लेखक स्वयं कम्युनिस्ट कार्यकर्ता भएकाले उपन्यासमा वर्णित कम्युनिस्ट भूमिगत कार्यकर्ताको कार्यशैली, चर्या र भाषा अनि भंगिमाको वर्णन, तिनले प्रयोग गर्ने जार्गनसहित प्रामाणिक रूपमा प्रस्तुत गरेका छन्। तिनले राख्न खोजेको गोपनीयता, परस्परमा कायम गर्नुपर्ने दूरी र स्त्री-पुरुष सम्बन्धलाई लिएर बनाइएका मापदण्डहरू, सबै, तिनमा निहित सम्पूर्ण पाखण्डका साथ उभारमा आएका छन्।
'आधा जून' को संरचनागत स्वरूप भने छरितो, सुस्पष्ट र प्रभावशाली छैन। उपन्यासको नायक र कथाको न्यारेटर सञ्जयले फ्ल्यासब्याकबाट घरीघरी अतीतमा जाँदै र फेरि वर्तमानमा फर्किएर वर्णनलाई अगाडि बढाउँदै लैजाँदा धेरै ठाउँमा कथावाचनको लय भंग भएको र पाठक अलमलमा पर्ने भएको छ।
धेरै ठाउँमा वर्णन पट्यारलाग्दो गरी तन्किएको र विस्तृति आवश्यक हुने ठाउँमा त्यसै छोडिएको पनि छ, जसलाई शिल्पगत कमजोरी मान्नुपर्ने हुन्छ। झलकको आख्यानको क्षेत्रमा पहिलो प्रयास भएकाले पनि यस्तो भएको हुनसक्छ।
उपन्यासमा परेका कतिपय घटनामा कालक्रम मिलेको छैन। चरित्रहरूको विविधता ल्याउने मेसोमा झलकले पोखराजस्ता सहरी केन्द्रहरू र राजमार्ग छेउछाउमा तीव्रताका साथ विकास हुँदै गरेका मानवीय बस्तीहरूमा देखा पर्न थालेका गुण्डागर्दीका घटनालाई मौरीबजारजस्तो सानो र संगुंफित समाज भएको बजारमा विक्रमको तीसको दशकमै घटित देखाएका छन्।
एउटा अर्को रमाइलो भूल पनि लेखकबाट भएको छ, जब उनले धेरैपछि खासगरी श्री डिस्टिलरीले पाउचमा भरेर रक्सी बेच्न थालेपछि, प्रचलनमा आएको बाउनी पोका भनेर नामकरण गरिएको रक्सीलाई त्यसको उत्पादन सुरु भएको समयभन्दा धेरै पहिले नै कास्की-स्याङ्जातिरका गाउँहरूमा उपलब्ध हुने देखाएका छन्। पछि विकसित घटना र प्रसंगहरूलाई पहिलो कालखण्डमा लगेर जोड्ने गडबडी लेखकबाट भएको पाठकले सजिलै बुझ्नसक्छ।
नायक सञ्जयको प्रेम-जीवनको सन्दर्भमा पनि लेखक झलक सुवेदी प्रभावशाली ढंगमा प्रस्तुत हुन सकेका छैनन्। विभिन्न कालखण्डमा तीनजना स्त्रीको प्रेममा परेको नायकको प्रेम कहानीलाई सुवेदीले सकभर विश्वसनीय ढंगमा प्रस्तुत गर्न खोजेका भए पनि धेरैजसो घटना संयोगमा आधारित र नाटकीय बनेकाले कताकता नमिलेको अनुभव गर्छ पाठकले।
नायक सञ्जयको तीनमध्ये एक नायिका तृष्णासँगको सम्बन्धलाई लेखकले सबैभन्दा असजिलो र कताकता अमिल्दो देखिने गरी टुंग्याएका छन्। सँगै राजनीति गरेकी, नायकसँग प्रेमको उद्दाम भावनासँग जोडिएकी र विवाहपूर्व नै खुला चौरमा यौनसम्बन्ध राख्नसमेत गाह्रो नमान्ने छात्रनेत्री तृष्णा महतले अनायास भविष्यको सुरक्षाको चिन्ता देखाएर नायकबाट टाढा हुन गरेको निर्णय पाच्य बनेको छैन।
झलक सुवेदीले आफ्नो नायकलाई तृष्णासँग छुटाएर किशोर वयमा प्रेम गरेकी अर्काकी परित्याक्ता पत्नी रीतासँग कुन मनोविज्ञानबाट प्रेरित भएर विवाह गराएका हुन्, पाठकले बुझ्न सक्दैन। तृष्णामा लेखक सुवेदीकी पत्नी आफ्नो समयकी प्रखर छात्रनेत्री लक्ष्मी कार्कीको झझल्को भने पाठकले पाउन सक्छ।
'आधा जून' मा प्राय: सबैजसो पात्र र घटना ऐतिहासिक छन्। सञ्जयको तीन चौथाइ भाग स्वयं झलक हुन् भने गण्डक क्षेत्रका कतिपय माले-एमाले नेताहरूको अनुहार उपन्यासका पात्रहरूमा भेट्टाउन सकिन्छ।
झलकले आफ्नो कम्युनिस्ट पार्टीको धङधङीको वशीभूत कतिपय प्रसंगमा खलनायकको निर्माण गर्दा कांग्रेस नेता/कार्यकर्तालाई उभ्याएर एक प्रकारको दुराग्रह पोखेका छन्। समग्रमा 'आधा जून' नेपाली कम्युनिस्ट आन्दोलनको एउटा कालखण्डको अभिलेखन गर्ने भुक्तभोगीको प्रयत्नका रूपमा आएको छ र पठनीय छ।

    No comments:

    Post a Comment