Tuesday, January 14, 2014

‘आधा जून’ ले चियाएको आकाश

डम्बर खतिवडा

भर्खरै बजारमा एउटा उपन्यास आएको छ, झलक सुवेदीको ‘आधा जून’ । मुख्यत: ०३६ देखि ०५४ सालसम्मको नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई घटनाक्रम, भावुकता र स्वैरकल्पनाको त्रिवेणीबाट नियाल्ने काम गर्छ यसले । पश्चिम नेपालको गण्डकी अञ्चल, त्यसमा पनि कास्की जिल्ला र पोखरा नगरको आञ्चलिकतामा बुनिएको उपन्यासको मुख्य पक्ष राजनीति नै हो । तसर्थ यस उपन्यासलाई शुद्ध साहित्यिक सौन्दर्यचेतको विषयका रूपमा सीमित गर्न सकिन्न । बरु नेपालको कम्युनिस्ट आन्दोलनलाई खेपेका वा नियालिरहेका पुस्ताको अन्तव्र्यथा यसमा उद्घाटित भएर आउँछ । उपन्यासका रूपमा यसलाई राजनीतिक टिप्पणीभित्र तान्न आवश्यक हुन्न थियो होला । तर, यो उपन्यास मात्र होइन, औपन्यासिक स्वरूपमा व्यक्त भएको राजनीति हो । यसले कम्युनिस्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यबारे कैयौँ प्रश्न उठाउँछ ।

उपन्यासको मुख्य पात्र कमरेड सञ्जय हो । तर, नायक उपन्यास लेखन हेतु टिपिएको चरित्रजस्तो लाग्दैन । उपन्यासमा लेखक आफैँ बोलेजस्तो लाग्छ । लेखकले आफ्नै अनुभव र जीवनी बोलेजस्तो लाग्छ । यद्यपि, कमरेड सञ्जयका सबै मनोदशा लेखकका निजी मनोदशा नहुन सक्छन् । त्यसो त त्यहाँ एक पुस्ता मानिस, उनीहरूको सामूहिकता र निजत्वको एकीकरण भएको छ । सञ्जयमा झलक सुवेदीझैँ कैयौँ मानिस अरोपित छन् । म आफैँलाई करिब ९० प्रतिशत कथा आफ्नैजस्तो लाग्यो । फरक कति हो भने इतिहासको त्यो कालखण्डलाई उपन्यासमा पोखराको आँखाबाट हेरिएको छ । मैले हेर्नुपरेको भए यसलाई धरान वा सुनसरीको आँखाबाट हेर्थें । भाषा र शैली फरक हुन सक्थ्यो । तर, कथामा उभ्रिएर आउने प्रवृत्ति खासै फरक हुने थिएन । यसले के पुष्टि गर्छ भने एउटा राजनीतिक एकाइभित्र एउटा खास परिस्थितिमा तयार हुने मनोबनोट उस्तैउस्तै हुने रहेछ ।

नेपाली राजनीतिमा चिनियाँ सांस्कृतिक क्रान्ति, भारतीय नक्सलवादी आन्दोलन र झापा विद्रोहले सिर्जना गरेको राष्ट्रव्यापी तरंगका असीमित आयाम छन् । आज पनि यो धारबाट मानिस मुक्त छैनन् । कम्युनिस्ट आन्दोलनमा बारम्बार देखिने विभाजनको मुख्य कारण यही नै हो । ती जो सिद्धान्तमा वर्णित आदर्श र फरक व्यवहारबाट आजित हुन्छन्, नेतृत्वले गद्दारी गरेको निष्कर्षसहित पार्टी बारम्बार पुनर्गठन गर्ने प्रयास गरिरहन्छन् । तथापि आजसम्म नयाँ जनवादी क्रान्तिको व्यावहारिक पुष्टि भएको छैन नेपालमा । तर, लोकतन्त्रको आन्दोलन आफ्नै ढंगले निरन्तर अगाडि बढिरहेको छ । चीनमा नयाँ जनवादी क्रान्ति भयो भन्दैमा त्यो नेपालमा पनि हुन्छ वा हुनैपर्छ भन्ने छैन । जनवादलाई ‘नयाँ जनवाद’ र ‘पुरानो जनवाद’ भनेर भिन्नता गर्ने विश्लेषण पद्धति नै पो गलत हो कि ? यस दिशामा प्रवेश नै नगरी उपन्यासकारले नयाँ जनवादलाई आदर्श सिद्धान्तका रूपमा स्थापित गर्ने प्रयास गरेका छन् ।

उपन्यासमा ०३६ देखि ०४६ सालको अवस्थामा नेकपा (माले) को विकासलाई सकारात्मक घटनाका रूपमा चित्रण गरिएको छ, ०४६ यताको अवधिलाई नकारात्मक रूपमा । उपन्यासकार सुवेदीले महाकाली सन्धीको सेरोफेरोमा एमालेको पतनलाई चित्रण गर्दै उपन्यास सकाएका छन् । उपन्यासको नायक सञ्जय भन्छ, ‘मान्छेको जस्तै पार्टीको पनि जन्मने, मर्ने हुन्छ । ...‘अब पनि अर्को बन्छ, पार्टीभन्दा विचार ठूलो हो, विचार भनेको दुबो हो जहिल्यै पनि हरियो रहन्छ ।’ सञ्जयमार्फत यो वाक्य बोलेर उपन्यासकारले माओवादी आन्दोलनको उदयलाई संकेत गरेका छन् । तर, माओवादी आन्दोलन पनि त अन्तत: संसदीय धारमै आइपुग्यो । यदि उपन्यासकारको तर्कलाई मान्ने हो भने एमाओवादीको विभाजन र नेकपा–माओवादीको जन्म पुनश्च त्यही वैचारिक विरासतको निरन्तरताका लागि हो भनेर मान्नुपर्ने हुन्छ । मानौँ कि नेकपा–माओवादी पनि कुनै बिन्दुमा पुगेर शान्तिपूर्ण, संसदीय राजनीतिमा आयो, के त्यसपछि फेरि सशस्त्र क्रान्तिको चिन्तन निरन्तर राख्ने शक्ति अनिवार्य छ ? यसरी हामी के देख्छौँ भने वैचारिक विषयमा पसेर पनि उपन्यासले कुनै वैचारिक निष्कर्ष दिँदैन । बरु यसले वैचारिक जञ्जालबीच हिँडिरहेको नेपालको कम्युनिस्ट आन्दोलनको एउटा कालखण्डलाई सपाट चित्रण मात्र गर्छ ।

क्रान्तिकारी आन्दोलनमा लागेर व्यक्तिगत जीवन प्रत्यासा र भविष्य गुमाएका युवाको अनिश्चित र दु:खपूर्ण जीवनलाई चित्रण गर्नु उपन्यासको अर्को महत्त्वपूर्ण पक्ष हो । नेकपा (माले) को संगठन र आन्दोलनमा लागेर सञ्जय, तृष्णा महत, पुष्पजस्ता थुप्रै पात्रले जीवन बाँच्ने आधार र भविष्य गुमाउँछन् । सञ्जयको पढाइ बिग्रन्छ । बुबाआमाले छोराबाट कुनै सुख पाउँदैनन् । ऊसँग धनसम्पत्ति, आम्दानी र भरपर्दो राजनीतिक क्यारिअर नहुँदा तृष्णा सञ्जयलाई प्रेम गरेर पनि विवाह गर्न अस्वीकार गर्छे । अन्तत: ऊ दुर्घटनापूर्ण ढंगले विवाहित भइसकेकी परित्यक्ता, आफ्नै स्कुल जीवनकी सहपाठी रितासँग विवाह गर्छ । भट्टीवालको जीवन बिताउन तयार हुन्छ । विचारमा असहमत हुँदाहुँदै पनि पार्टी संस्थापन पक्षमा लागेर आर्थिक सुरक्षाको खोजी गर्छ । यी सबै नियति र दुर्भाग्यलाई कमरेड सञ्जयले आफ्नो पतन मानेको छ । पतनको पीडाबाट जोगिन ऊ मादीमा हाम्फालेर आत्महत्या गर्ने कुरा सोच्छ । तर, आत्महत्या गर्ने साहस गर्दैन । तसर्थ ऊ नियमित रक्सी पिएर पीडा भुल्न खोज्छ । 
अन्तत: यो द्विविधा र पीडाबाट उम्किन उसले प्राप्त गरेको आत्मबोध वा मुक्ति यस्तो हुन्छ । ‘मैले अर्को निर्णय गरेँ यार, पुष्प । म पोखरा हैन, परिवार लिएर काठमाडौं जान्छु । पार्टी उपसचिवको पदबाट पनि राजीनामा दिन्छु । म आफ्नो पतनबाट मुक्त हुन चाहन्छु । मलाई फेरि एकपटक दुनियाँको प्रगतिशील आन्दोलन...त्यसका कार्यक्रम र संगठन...अध्ययन गर्न मन लागेको छ । ...म आजभोलि दक्षिण अमेरिकाका कम्युनिस्टहरूको पपुलर मास पोलिटिक्स र र्‍याडिकलिज्मबारे अध्ययन गर्न थालेको छु ।’ यी अभिव्यक्तिले प्रस्ट हुन्छ कि सञ्जयमा नौलो जनवादप्रति मोहभंग भइसकेको छ । एकातिर नयाँ जनवादी कार्यक्रम छाडेको पार्टीलाई पतनका रूपमा चित्रण गर्नु, अर्कोतिर उपन्यासको नायकले नववामपन्थी आन्दोलनको अध्ययनमा आफ्नो पतनमुक्तिको उपाय देख्नु उपन्यासको विसंगत पक्ष हो । नेपालको कम्युनिस्ट आन्दोलन र यसको वैचारिक भविष्यबारे लेखक आफैँ निकै ठूलो द्विविधामा छन् भन्ने यसले पुष्टि गर्छ ।

माक्र्सवादी दृष्टिकोणबाट मात्र होइन, सामान्य सामाजिक नियमबाट हेर्दा पनि क्रान्ति अनिवार्य कुरा हो । क्रान्तिविना सामाजिक परिवर्तनको नियम र गति मुखरित हुन सक्दैन । क्रान्तिका लागि क्रान्तिकारी आन्दोलन अपरिहार्य हुन्छ । क्रान्तिकारी आन्दोलनमा युवाको सहभागिता उत्तिकै ठूलो विश्वव्यापी सत्य हो । क्रान्तिकारी युवाको जीवन कष्टपूर्ण हुनु पनि अस्वाभाविक होइन । बरु ध्यान दिन पर्ने मुख्य पक्ष कहाँनेर छ भने हरेक क्रान्तिपछि कसरी नयाँ वर्ग जन्मिन्छ ? क्रान्ति नेतृत्व वर्गका लागि कसरी निकै ठूलो सहजता र अवसरको विषय बन्छ र बाँकी क्रान्तिकारीका लागि किन बर्बादीको विषय बन्छ ? यो प्रश्नको उत्तर माक्र्सवादी सिद्धान्तका थोपा र आजसम्मको माक्र्सवादी आन्दोलनभित्र छैन । माक्र्सले त भनेकै थिए ‘क्रान्तिपछि वर्गविहीनता, राज्यविहीनता र शोषणविहीनताको सुरुवात हुन्छ ।’ माक्र्सले भनेको यो नियम आजका मितिसम्म कहीँ पनि लागू भएको छैन । नेपालको माले, माओवादी आन्दोलनबाट पनि त्यो भएन । किन ? यसको उत्तर खोज्ने प्रयास उपन्यासकारले गरेका छैनन् । एमाले नेतालाई पतनको स्थितिमा देखाउने सतही चित्रणले मात्र माक्र्सवादी आन्दोलनको वास्तविक समस्यालाई खोतलेको मान्न सकिन्न ।

उपन्यासकारले उपन्यास टुंग्याएको मितियता (०५४–०६४) बीचमा नेपालमा अर्को ठूलो माक्र्सवादी आन्दोलन भयो, माओवादी आन्दोलन । माले कालमा भन्दा अझ धेरै उत्षर्ग, त्याग र बलिदान भए । ध्वंस, हत्याहिंसा र विनाश पनि अझ धेरै भए । नारा उही थियो– नयाँ जनवादी क्रान्ति पूरा गर्ने । ०६४ को संविधानसभा निर्वाचनमा एमाओवादी निकै ठूलो दलको रूपमा विकसित भएर पनि आयो । जसरी पञ्चायतको अन्त्य र संसदीय संवैधानिक राजतन्त्रात्मक व्यवस्थाको स्थापनापछि माले आन्दोलनमा नैतिक तथा वैचारिक समस्या देखिन थाले, त्यसैगरी गणतन्त्रको स्थापना, संघीयता र समावेशी युगको अनुमोदनपछि माओवादी आन्दोलनमा पनि नैतिक र वैचारिक संकट देखिन थाले । माले–एमाले भएझैँ एमाओवादी–माओवादी भए । महाकालीजत्तिकै विवादास्पद बिप्पा देखियो । आरोप, प्रत्यारोप, घृणा, निन्दा र पार्टीसत्ताको छिनाझपटी फेरि पनि उस्तै रह्यो । यसको कारण के हो ?

यहाँनेर बुझ्न के जरुरी छ भने ठीक यस्तै घटना साम्यवादको आदर्श आन्दोलन मानिएका देश रुस र चीनमा पनि भएका थिए । रुसमा स्टालिन–त्रोत्स्की, कामेनेभ, जिनोवियेव विवाद र चीनमा माओ–देङ प्रवृत्तिको चाकाचुलीले अन्तत: तिनीहरूलाई पनि एकप्रकारको पतनमा नै पुर्‍यायो । यसले के देखायो भने साम्यवादको आन्दोलनमा यो समस्या वैचारिक जिनजस्तो गरी गढेर बसेको छ । वस्तुत: त्यो लोकतन्त्रको आदर्श र मानक विचार, आन्दोलन नै हैन छ, जसलाई हामी नयाँ लोकतन्त्रको आन्दोलन भन्ने गथ्र्यौ । लोकतन्त्र (जनवाद) को आन्दोलन नयाँ र पुरानो होइन, यो एउटा निरन्तर प्रक्रिया रहेछ, जो मानव समाज रहेसम्म जहिल्यै चलिरहन्छ । हरेक क्रान्ति एउटा यथास्थितिमा पुग्छ, फेरि क्रान्तिले नयाँ चरणमा फड्को मारिरहन्छ ।

साम्यवादी आन्दोलन पनि एक चरणसम्म मात्र क्रान्तिकारी हुने रहेछ । त्यो पुनश्च संस्थापनवादी र यथास्थितिवादी बन्न पुग्छ । तसर्थ, क्रान्तिको निरन्तर प्रक्रियालाई साम्यवादको वैचारिक सीमाभन्दा बाहिर पनि चियाएर मात्र देख्न सकिन्छ । साम्यवादी आन्दोलनको पतनमा चिन्तित हुनुभन्दा त्यसभन्दा पनि बाहिर चियाउने साहसको संकेत उपन्यासमा भइदिए राम्रो हुन्थ्यो । आकासको त्यो क्षितिजसम्म ‘आधा जून’ पुगेको छैन । तथापि ‘आधा जून’ एउटा रोचक सन्दर्भग्रन्थ हो, जसले हाम्रो पुस्ताले भोगेका नियति, दुर्नियतिलाई भावी पुस्तासम्म सजिलो गरी पस्कनेछ । सुवेदी नेपाली ‘पावेल कर्चार्गिन’ हरूले उत्तीर्ण गरेको ‘अग्निदीक्षा’ लाई अभिलेखित गर्ने एउटा अर्को ‘निकोलाई आस्त्रोभस्की’ भएका छन् ।

No comments:

Post a Comment