Saturday, January 11, 2014

समाज झल्किएको उपन्यास



शिखर घिमिरे, नयाँ पत्रीका 

नेपाली समाजको वर्ग संघर्ष, तल्लो वर्गका मानिसका दु:ख, पिछडिएको समाज, समाजलाई विभिन्न हिसाबमा आफ्नो काबुमा राख्न सफल एकथरी मान्छे, कम्युनिस्टका आधार, द्वन्द्व, नयाँ धार, विसर्जन आदि नेपाली राजनीतिमा बारम्बार प्रयोग हुने विषय हुन् ।

तल्लो तहका कम्युनिस्ट कार्यकर्ताका रुमानी सपना र नेतृत्व वर्गमा हुने जीवनको फरक लोभ–लालसाका कारण पनि बारम्बार कम्युनिस्ट दल आन्तरिक पार्टीमा कमजोर देखिन्छन् । यस्तै विषयवरिपरि घुमेको छ, झलक सुवेदीको पहिलो उपन्यास आधा जून ।
कास्कीको गाउँ मकैखोलालाई पृष्ठभूमिमा राखेर लेखिएको आधा जूनमा पञ्चायती व्यवस्था उत्कर्षमा पुगेका वेला क्याम्पसे विद्यार्थीले कसरी आफूमा कम्युनिस्ट पार्टीका गुण देखे, कसरी समाजलाई परिवर्तन गर्न लागि परे र कसरी त्यही अभियानमा लागेको एउटा वर्ग राजनीतिबाट अलग भयो भन्ने लेखिएको छ । राजनीतिमा लागेर कहिले सक्रिय तथा कहिले पर्दापछाडि रहेर राजनीति र समाज परिवर्तनमा सहयोग गरिरहेको एउटा क्याम्पसे युवा सञ्जयको डायरीजस्तो लाग्छ उपन्यास ।

सुवेदीको उपन्यासमा एउटा सफल तथा बिकाउ उपन्यासमा हुनुपर्ने गुण पर्याप्त छन् । उनको कथ्यशैली राम्रो छ, उपन्यासमा मुख्य पात्रमा आन्तरिक द्वन्द्व, विषयप्रतिको गाम्भीर्य, प्रेम, विछोड सबै आएका छन् । कथाको सुरुदेखि नै सुवेदी पाठकमा अब के होला भन्ने जिज्ञासा उठाउन सफल भएका छन् । मूल कथामा जोडिएका उपकथाहरू उपन्यासको मेरुदण्डलाई छाडेर टाढा भागेका छैनन् । उपन्यासमा प्रेम छ, रोमान्स छ, रहस्य छ र छ एउटा पूर्ण कथा । सुवेदीले उपन्यासलाई अझ शक्तिशाली बनाउन केही ठाउँमा दर्शनलाई छिराएका छन् । उनी उपन्यासमा सामान्य चरित्रका चित्रणमा धेरै चुकेका छैनन् ।

आधा जून नेपाली राजनीतिक इतिहासप्रति पनि इमानदार छ । उपन्यासमा सुवेदीले पोखरावरपरको भाषालाई चयन गरेका छन् । यसले उपन्यासलाई इमानदार लेखन बनाएको छ, विशेषगरी चरित्र चित्रणमा । उपन्यासको सुरुदेखि नै प्रेम, रोमान्स तथा गम्भीर विषयलाई मिलाएर लेखिएकाले उपन्यास पढ्दा पाठकलाई झ्याउरो लाग्दैन । कम्युनिस्ट वा कम्युनिज्मको आँखामा नेपाली समाजमा के भइरहेको छ भन्ने बुझ्न पढ्नै पर्ने उपन्यास हो, आधा जून ।

आधा जूनमा प्रयोग भएका पात्र पनि हाम्रै वरिपरिका पात्रजस्ता लाग्छन् । राजनीतिमा लागेका विद्यार्थी तथा उनीहरूमा आउने विभिन्न परिवर्तनको चित्रण उपन्यासमा सबल रूपमा आएको छ । सञ्जय पात्र उपन्यासमा कहिले फ्ल्यासब्याकमा पुगेर नोस्टाल्जिक बन्छ त कहिले सपनालाई एकै ठाउँमा छाडेर सिद्धान्तको होइन, वास्तविक जीवनको अभ्यासमा लाग्छ ।

आधा जूनमा उल्लेख गर्नैपर्ने केही कमजोरी पनि छन् । केही ठाउँमा प्राविधिक हो या लेखककै कमजोरी हो, अनुच्छेद तथा प्रसंग फेरिएका विषयमा ध्यान पुग्न सकेको छैन । यसले पाठकलाई द्विविधामा पार्छ । त्यस्ता उपकथा जोडिएका प्रसंगमा पाठकलाई ब्रेक दिन कि समन्वयका लागि कुनै वाक्यको आवश्यकता पथ्र्यो कि कुनै चिह्नले त्यसलाई छुट्याइदिनुपथ्र्यो । उपन्यासको अर्को उल्लेख गर्नैपर्ने कमजोरी उपन्यासको पृष्ठभूमि तथा स्थानहरूलाई स्थापित गर्न नसक्नु हो । उपन्यासमा प्रयोग भएका स्थानले एकअर्कालाई म्यापिङ गर्न सकेको भए उपन्यास अझ सशक्त हुने थियो ।

गैरआख्यान तथा राजनीतिक विश्लेषणमा राम्रो स्थान बनाइसकेका सुवेदीको आख्यानमा पनि राम्रो स्थान बन्ने आधा जूनले प्रस्ट्याएको छ । तर, त्यसका लागि सुवेदीले ‘कम्युनिज्म’को चर्को ह्याङ्ओभर छाडेर आख्यानमा साहित्यिक फ्लेभर दिन केही मिहिनेत गर्नुपर्छ ।

No comments:

Post a Comment