अहा त्यो जिन्दगी...

कोसेली»

अहा त्यो जिन्दगी...

     उति बेला म जवान थिएँ । आँखाभरि सपनाको तोरीबारी फुलेको । अहिले जीवनको कोल्टो फेराइमा छु । काठमाडौंका चिसा गल्लीमा गम खाँदै हिँड्नका लागि सम्झनाका तोरीबारीहरू छन् । यस्तो नहुँदो हो त जीवन कति निरश, उराठ र अर्थहीन हुँदो हो ? 
    पुस १ -
    चैत महिनाको दोस्रोे साता भए पनि आकाशमा तुँवालो थिएन । फेवातालको पानी निलो निलो र सफा थियो । पारि रानीवन मनै लोभ्याउने हरियाली र पालुवाले ढाकिएको थियो । जिल्ला अदालत रहेको भवनको एकतला माथि दक्षिणपट्टकिो सानो कोठामा न्यायाधीश आफ्नो अग्लो पारिएको आशनमा बिराजमान थिए । सरकारी वकिलले बहस गर्दै आफ्ना तर्कहरू पेस गर्‍यो र सजायको माग दाबी गर्दै भन्यो, 'अपराधको प्रकृति र प्राप्त प्रमाणहरूको आधारमा अभियुक्तहरू... लाई मुलुकी ऐनको धारा... अनुसार मृत्युदण्डको सजाय दिइयोस् श्रीमान् ।'

    उसले पहिले 'हदैसम्मको सजाय' भन्ने शब्द प्रयोग गरेको थियो । यो शब्द प्रयोग गरुञ्जेल मलाई कुनै प्रभाव परेको थिएन । ०४२ सालको बमकाण्डपछि जन्मकैदलाई २० वर्षबाट बढाएर ३३ वर्ष पुर्‍याइएको थियो तथा केही विध्वंसात्मक कार्य नियन्त्रण ऐन मार्फत सत्ताका विरोधीलाई दण्ड दिने पुरानो ऐनलाई कडा बनाइएको थियो । सेप्टेम्बर ११ पछिको अमेरिकामा जस्तै । तर 'मृत्युदण्ड' भन्ने शब्दचैं मेरो भेजामा घुस्न मानिरहेको थिएन । मलाई त्यो सरकारी वकिलको अनुहार हेर्न मनलाग्यो । ऊ एकदम उदासीन, निराश र फुस्रो अनुहारको देखियो । उसले जोड दिएर भनेको 'मृत्युदण्ड' शब्द दोहोर्‍याएर सम्झे र त्यो शब्द हामीतिर नै लक्षित हो भन्ने मनमा गुन्दा उत्पन्न भावनाले म फिस्स हाँसें । मसँगै बसिरहेका रवीन्द्र अधिकारीतिर हेरें । उनी पनि निस्पिक्री देखिए । भर्खर २० वर्ष पुग्दै गरेको यो केटोको जीवनप्रतिको यो बेपरबाह अनुभूति मलाई रमाइलो लाग्यो । इजलासमा दौरा सुरुवाल कोट र कालो टोपीमा सजिएर बसेका न्यायाधीश -नरेन्द्रमान श्रेष्ठ हुन् क्यारे) को अनुहार पनि निस्पृह नै देखिन्थ्यो ।

    lll



    ०४६ सालको जनआन्दोलन थालिएको १ महिनापछिको समयको कुरा हो । आन्दोलन सुरुमा ह्वात्तै उठेर बिस्तारै सेलाउन थालेको थियो । जेलमा आउने खबरहरू त्यति उत्साह बढाउने खालका थिएनन् । बीबीसी, अल इन्डिया रेडियो र भ्वाइस अफ अमेरिकाका लागि रेडियोका कान निमोठ्दै हामी आफ्ना दिनहरू बिताइरहेका थियौं । दुई-चार दिनमा कोही न कोही नयाँ साथी जेलमा आइपुग्थ्यो र बाहिरका खबर सुनाउँथ्यो । चैत ७ गते कीर्तिपुरको अडिटोरियम हलमा बुद्धिजीवीहरूले गरेको कार्यक्रमस्थलमा भएको प्रशासनिक हस्तक्षेपले आन्दोलनमा अलिकति ऊर्जा थपेको थियो । आन्दोलनको ज्वार उठ्छ कि भन्ने आशा पलाएको भए पनि यसको सफलताका बारेमा कुनै भर गर्न सकिने सूचकहरू थिएनन् । अर्थात् राजाको हात माथि पर्न सक्ने या हामीले केही वर्ष उसको दमन बेहोरेर बस्नुपर्ने सम्भावना अझै बलशाली थिए ।

    यस्तो बेला जस्तोसुकै सजाय भयो भने पनि केही वर्ष जेलको हावा खानुपर्ने निस्चित नै हुन्थ्यो । सार्वजनिक अपराध या राजकाज अपराध अन्तर्गत जेलमा लगिएकाहरू नै वषौर्ं बसिरहेका थिए । हामीलाई त यो राजाको गाथगाधी ताकेको या आतङ्कवादीजस्तै कुनै गम्भीर अपराध गरेको अभियोग लगाइएको थियो । हामी गिरफ्तार भएको कैयन दिनपछि पोखरामा बस जलाउन लागेको बेला ग्यालेनमा मट्टतिेल र सलाईसमेत पक्राउ परेकाहरूसँग मिलाएर हाम्राविरुद्ध अभियोग तयार पारिएकोे थियो । त्यही मुद्दामा यो मृत्युदण्डको माग गर्दै बहस भएको थियो ।

    मुद्दामा हाम्रो तर्फबाट, जसमा तत्कालीन नेकपा मालेकी एक जना मजदुर कार्यकर्ता तालकुमारी श्रेष्ठ, यो लेखक र रवीन्द्र अधिकारी लगायतलाई अभियुक्त बनाइएको थियो, गोविन्द शर्मा पौडेल र रजितभक्त प्रधानांग लगायतका -सबैको नाम त सम्भिनँ) परिचित अधिवक्ताहरू बहस गर्दै थिए । उनीहरूले सरकारी वकिलका प्रमाण र मागदाबी आधारहीन रहेको र अभियुक्तहरू निर्दोष रहेको तर्क गरे र बहस नोट इजलासमा रहेका न्यायाधीशलाई बुझाएर गए ।

    lll



    त्यसको केही बेर अगाडि मात्रै इजलासभन्दा उत्तरपट्ट िरहेको एउटा कोठामा मेरो बयान एक जना सुब्बाले लिएका थिए । कलेजतिर चिनजान भएका ती मित्रले बयानमा केही औपचारिक कुराहरूपछि मुद्दाका सम्बन्धमा प्रश्नहरू सोधे । जब उनले राजतन्त्रका बारेमा हाम्रा विचार सोध्न थाले अनि मलाई आफ्नो राजनीतिक नैतिकता सम्बन्धी प्रश्नको सामना गर्नुपर्ने भयो । उनी हाम्रा शुभचिन्तक थिए र मुद्दालाई कमजोर बनाउन चाहन्थे । राजतन्त्रका बारेमा सहज या विरोध नजनिने प्रकारको उत्तर दिनुस् न भनेर मलाई सुुझाइरहेका थिए । मैले आफैंलाई सोधें, 'भाइ यता राजाका बारेमा द्विअर्थी या विरोध नदेखिने जस्तो जवाफ दिएर जाने हो भने बाहिर गएपछि त्यही राजाका विरोधमा लड्ने नैतिक बल तँसँग कसरी बाँकी रहन्छ ? 'अहँ हुँदैन । म राजा मान्दिनँ । गणतन्त्रवादी नै हुँ । यो देशमा राजाको शासन समाप्त हुनैपर्छ भन्ने मेरो मान्यताबाट म पछि हट्न सक्दिनँ । होस् त जेल सजाय । अरू पनि त जेलमा बसेकै छन् ।' मैले आफूलाई सोधिएका प्रश्नहरूको सीधा र प्रस्ट जवाफ दिएँ । हामी त्यो बस जलाउने कार्य या योजनामा कतै सामेल छैनौं । शान्तिपूर्ण आन्दोलनमा छौं । तर राजतन्त्रका विरोधमा भएका जस्तासुकै आन्दोलनप्रति पनि हाम्रो समर्थन रहन्छ । यस्तै अर्थ त्यो बयानमा आउँथ्यो । एउटा माक्र्सवादी विचारको मान्छे राजतन्त्रका बारेमा गोलमटोल जवाफ कसरी दिनसक्छ ?

    lll



    एक महिनाभन्दा पहिलेबाटै राजा वीरेन्द्र आफ्ना नन्दीभृङ्गीसहित पोखरा भ्रमणमा थिए । जनआन्दोलन सुरु नहुँदै पोखरामा व्यापक दमन धरपकड सुरु भयो । फागुन १ गते प्रशासनले पृथ्वीनारायण क्याम्पसमा नाङ्गो हस्तक्षेप गरेर विद्यार्थी नेता तथा स्ववियुकी सचिव सुश्री लक्ष्मी कार्की लगायत २०० जनाभन्दा बढीलाई गिरफ्तार गरेको थियो । पचासौं जना घाइते भएका थिए । यही दमनका विरोधमा आन्दोलन संगठित गर्दै रहेका बेला ०४६ साल फागुन ४ गते हामी गिरफ्तार भएका थियौं । प्रहरीले हामीलाई गिरफ्तार गर्न क्यम्पसको चारैतिरबाट घेरा हालेको थियो । जो भेट्यो त्यसैलाई समात्दै क्याम्पस गेटनिर ल्याएर जम्मा पार्दै थिए । त्यहीँ पुर्‍याएपछि मलाई यो नै 'स्ववियु सभापति झलक सुवेदी' हो कि होइन भनेर पक्का गराउन गुप्तचर विभागको इन्सपेक्टर -कोही रञ्जित थरको थियो) नआउञ्जेल कुराइएको थियो ।

    सशस्त्र प्रहरी गण लगेर खक्र्याएपछि तत्कालीन डीआईजी द्वारिका श्रेष्ठ आएर मलाई हप्कीदप्की गर्‍यो, कपडा खोल्न लगायो र आफ्नो हातको छडीले मेरो नाडीमा हान्यो । उसको आदेशमा मलाई एउटा साङ्लोसहितको लामो गहु्रंगो हथकडी पहिर्‍याइयो । म, स्ववियु सदस्यहरू रवीन्द्र अधिकारी, विष्णु शर्मा -दुवैलाई हथकडी लगाइएको थियो) समेत अखिलका बाबुराम पन्त र भीमबहादुर सोमैलाई एउटा सानो कोठामा राखियो । हामीसँग गिरफ्तार भएका अरू ४८ जनालाई भिन्दै कोठामा राखिएको थियो । फागुनको साँझ । सिमेन्टको चिसो भुइँ । म त यसै पातलो थिएँ । ४७ केजीको । २६ वर्षे युवाको ४७ केजीको ज्यान ! रक्तचापचैं ९० का मुनि ५८ । हामी रातभर एकअर्काका फिलालाई सिरानी बनाएर सुत्ने जमर्को गर्दै थियौं । कोही पनि आत्तिएको या निराश थिएन । यसै उज्यालो भयो । भोलपल्ट राति १० बजे । हामीलाई एउटा भ्यानमा हालेर निकालियो । कता लाने हो केही भन्दैनन् । अब रवीन्द्र अधिकारी र मलाई एउटै हथकडी भिराइएको थियो जुन १० दिनसम्म त्यसरी नै रह्यो । अँध्यारोमा नै लगेर जिप्रकाको खोरमा हुलेपछि भने मनमा उठेका आशंका समाप्त भएका थिए । म पहिलोपटक यो खोरको हावा खाँदै थिएंँ ।

    सात गतेबाट गिरफ्तार भएर आउनेहरूको भीड बढ्न थाल्यो । त्यही भीडभित्रबाट सोमनाथ प्यासी, खेमनारायण ढुङ्गाना र टेकनाथ बरालहरूले चर्को विरोध गरेपछि हाम्रो हथकडी झिकिएको थियो । हथकडीका अरू कथा अर्को सन्दर्भलाई छाडौंं । हामी गिरफ्तार भएर आएपछि अनेक मुद्दा लागाउने तयारी गरिएछ । जिप्रकामा मुद्दा फाँट हेर्ने नरम बोली भएका हवल्दार प्रेम थापा मुद्दाको मिसिल हो कि के हो तयार पार्थे । एक दिन रवीन्द्र र मलाई तिनले बोलाएर एउटा कागजमा सही गर्न भने । यसो पढी हेरेको त कस्टडीमै रहेका बेला 'अभियुक्तहरूको उपस्थितिमा क्याम्पस गेटमा सर्जमिन मुचुल्का गरिएको' व्यहोरासमेत भएको सार्वजनिक अपराधको मुद्दा तयार पारेको रहेछ । हामीले सल्लाह गरेका थियौं र उसलाई सुनायौं, 'राजा र पञ्चायतको विरोधमा जे जे अपराध गरेको लेखेर ल्याए पनि हामी सही धस्काइदिन्छौं प्रेमजी ।'

    उता अधिवक्ता भूपनिधि पन्त हामीलाई सम्झाउँदै भन्थे, 'हेर है यी फटाहाहरूले सार्वजनिक मुद्दा लगाउलान् सही नगर्नु नि । राजनीति गर्ने मान्छे पछि उम्मेदवार हुनबाट यस्तै कुराले पनि रोक्न सक्छ ।' हामीलाई यस्ता कुराको बाल मतलब थिएन ।

    हामी दुईलाई त विशेष प्रकारले हेरिएको थियो । राससको पोखरा कार्यालयलाई हाम्रो गिरफ्तारीको समाचार चारपटक ड्रापट गरेर पठाउनुपरेको रहेछ । गोरखापत्रमा फागुन ५ गते प्रकाशित समाचारमा त पोखराको पञ्चायतविरोधी गतिविधिको नेतृत्व गरेको, मजदुर र सुकुम्बासीलाई संगठित गरेर भड्काएको ठूलै नेताको रूपमा चित्रित गर्ने गरी मेरोबारेमा समाचार बनाइएको थियो । केही दिनपछि पार्टीको योजना अनुसार कास्कीकोटका प्रधानपञ्चमाथि एक्सन गर्न एउटा टोली गएछ । टोलीले उसलाई नभेटेको झोंकमा सचिवलाई नै कारबाही गरेछ । थुप्रै साथीहरू गिरफ्तार भएर कुटाइ खाँदै आए । त्यसमध्यका काशीराम अधिकारीले सधैंका लागि मानसिक सन्तुलन गुमाए । अहिले पनि दुःखपूर्ण जीवन जिइरहेका छन् । कलिलो अनुहारका वन क्याम्पसका रामप्रसाद अहिले काठमाडौंमा कहिलेकाहीँ भेट हुन्छन् । भयानक यातना पाएका कास्कीकोटे शिक्षक मेघनाथ सुवेदी र इन्स्पेक्टर पदमबहादुर मोक्तानले सिमेन्टमा हात राखेर बुटले किचिमिची पारेका टीकाराम पज्ञानी राजनीतिमा सक्रिय छन् ।

    घटनाबाट तिलमिलाएको प्रशासनले हामीलाई भने कस्टडीमै यातना दिन थाल्योे । एउटा कुनै बतौर्ैला थर भएको इन्स्पेक्टर थियो । मलाई बोलायो केरकार कोठामा । खाली बेन्च देखेर म बस्न खोजें सातो लिन खोज्यो । अपशब्द प्रयोग गर्दै गाली गर्‍यो र दाहिने हातको नाडीमा लठ्ठी बजार्‍यो । बिस्तारै आफ्नो भद्दा गाली गर्ने थुतुनाको भोल्युम बढायो र पेस्तोल निकाल्यो । अनि मेरो छातीमा पेस्तोलको नोक राखेर भन्यो, 'सिध्याइदिउँ साले ?'

    निरंकुश सत्ताको त्यो पेस्तोलको नोक अहिले पनि मेरो भावनामा खतझैं बसेको छ । एकछिन त म ट्वाल्ल परें उत्तर खोज्दै । 'साले म पनि बीएसम्म पढेको छु । बहुदल आए म पनि एउटा पार्टीमा लागेर नेता हुनसक्छु । तँलाई मारेपछि पञ्चायत रह्यो भने प्रमोसन खाउँला । मेरो के जान्छ भन्ने ठान्याछस् । तँ मरिस् भने दुई चार दिन तेरा साथीहरू सहिद भयो भनेर कराउँछन् र बिर्सन्छन् । तैंले पाउने त्यत्ति त हो साले ।' उसले झन् आफ्नो पारो बढायो ।

    सुरुमा त मलाई उसको धम्कीले भन्दा अपमानले खिन्न बनायो । पछि त्यो पनि केही रहेन । न डर या भय न कुनै सुर्ता या चिन्ता । मैले भनें, 'अरे यार इन्स्पेक्टर तिमीहरू आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनौ र आफ्नो कब्जामा रहेका हामीलाई थर्काउँछौ ? लाज लाग्दैन ? तिमी को हौ मलाई गोलीको धम्की दिने ? हिम्मत भए हान । मर्न डराउने भए म यो आन्दोलनमा लागेर यतिका वर्ष किन बिताउँथें ? एमए पढ्दै छु । तिम्रो पेसामा पनि अधिकृत हुनसक्थें र अरू पेसामा पनि । लौ त हान गोली ।' अहिले सम्झँदा त आफैंलाई विश्वास हुन्न । एउटा लिखुरे ज्यानको म उसको आँखामा आँखा जुधाएर चुनौती दिँदै थिएँ ।

    कहाँ राजतन्त्रको विरोधमा संघर्षमा होमिएको मान्छे एउटा नाथे पुलिस अधिकिारीसँग व्यक्तिगत भनाभनमा परियो । मलाई हीनतावोध भयो । उसले मार्ने र सेतीको खोंचमा फाल्दिने धम्की दोहोर्‍यायो । मैले भनें, 'म त यो व्यवस्था र राजतन्त्रका विरोधमा लडेको हो । तिमी किन बित्थामा व्यक्तिगत बनाउँदै छौ यो कुरालाई ?'

    उसले पेस्तोल छातीबाट झिक्यो, टि्रगरमा चोर औंलो घुसार्‍यो र पछि हट्नु अगाडि दुई चारपटक मेरो नाकै नेर घुमायो । अनि दुई चार बात आफ्ना बाध्यताका बारेमा बक्यो । मैले उसलाई प्रहरी प्रशासन र तिनको गुप्तचर संयन्त्र कति कमजोर छ भनेर उडाएँ । म झरेपछि उसैले रवीन्द्र अधिकारीलाई बोलायो । उनी २० मिनेट जतिमा फर्केे । मैले सोधें के गर्‍यो ? सुटुक्क उनले भने ५०० पटक कान समातेर उठबस गर्न भन्यो यार, मैले पनि सालेलाई गरेर देखाइदिएँ । हामी एकछिन हाँस्यौं । कठै दिउँसोबाट त उनी उठ्न बस्न, दिशा पिसाब गर्न पनि नसक्ने भएर ढले । आपत् के थियो भने उनी ट्वाइलेट जाँदासमेत कतिपय बखत हामी साझा हथकडीमा हुन्थ्यौं । उनी कम्तीमा सात दिन डल्लिएका थिए ।  

    हामीलाई १ महिना कस्टडीमा राखेपछि जेल लगिएको थियो सार्वजनिक अपराधको मुद्दा लगाएर । हाम्रो प्रहरी प्रशासनमा सूचनाको अभाव कति थियो भने कतिपय प्रहरी अधिकृतहरू मैलाई मालेका पुर्वमहासचिव झलनाथ खनाल पो हो कि भनेर सोध्थे । यो पनि एकप्रकारको रमाइलो अनुुभव थियो । पछि राजाका विरुद्ध अपराध गरेको या यस्तै मुद्दामा बल्झाउन हामीलाई जेलबाट जिप्रका र अदालततिर लाने ल्याउने गरिन्थ्यो ।

    lll



    यसरी इन्स्पेक्टरले ज्यान लिने धम्की दिँदा, राजतन्त्रका विरोधमा बयान दिइरहँदा र मृत्युदण्डको माग गरेर सरकारी वकिलले बहस गर्दा एउटा ठिटाका मनमा के के खेल्यो होला ? म जवान थिएँ २६ वर्षको । एउटी सुन्दर युवतीको प्रेममा थिएँ । ऊ पनि जेलमा थिई । हो एउटै जेलमा । ऊ जुन ब्लकमा बस्थी त्यसको उत्तरपट्ट िठूलो पर्खालभित्र विभिन्न अपराधमा बन्दीजीवन बिताइरहेका कैदीबन्दीहरूसँगै हामीलाई राखिएको थियो । जेलको पल्लो पर्खालभित्र आफूले प्रेम गरेकी केटी हुनु अनौठो अनुभूति पनि हुँदो हो मनमा । म झस्किन्थें कहिलेकाहीँ ऊ छुटी र म चाहिँ लामो समय जेल परें भने के गर्ने होला ? उसलाई पर्खाउनु कि अर्कै घरजमका लागि प्रोत्साहित गर्दै बाटो खुला गरिदिनु ? मनमा भने मलाई एउटी प्रेमिकाले मात्र पुगेको थिएन । श्रीमती र एक दुई थान सन्तानको चाह पनि मेरो मनमा बलियो गरी बसेको थियो । 'साले १० वर्ष अरू जेल बस्नुपर्‍यो भने त घरजमको पनि के अर्थ रहला र ?' मनमा यस्ता कुराले कहिलेकाहीं बतास फुक्थे पनि अनि आफैं बिलाएर जान्थे । राजनीतिक रूपमा उसको र मेरो हैसियत समान थियो र हामी दुवैले दुई चार वर्ष जेलमा बिताउनुुपर्ने सम्भावना पनि उत्तिकै थियो ।

    हामी बसेको ब्लकको आँगन फराकिलो थियो । त्यसको दक्षिणपट्ट िपर्खालको बीचमा एउटा ठूलो ढोका थियो जुन बाहिरबाट साँचो लगाएर बन्द गरिएको हुन्थ्यो । त्यसको बीचबीचमा न्युटनको प्रयोगशालाको ढोकामा ठूलो बिरालो पस्नेजस्तो एउटा ठूलो प्वाल थियो । कहिलेकाहीँ बन्दीहरू त्यसबाट टाउको छिराएर बाहिर गेटतिर हेर्थे । केही माग गर्थे या न्यास्रो मेटाउँथे । म भने हरेक बिहान निकै चाँडै भ्वाइस अफ अमेरिका सुन्दै पस्चिमपट्टकिो लङको अगाडि रहेका सिँढीमा आएर बस्थें । यसको एक मात्र उद्देस्य भने त्यो ढोकाको ठूलो प्वालबाट कहिलेकाहीँ मात्र संयोगले देखिने त्यो केटीले लगाउने लंुगीको एक छेउ या त्यसले नछोप्ने गोली गाँठामाथिको सानो भागको एक झल्को देख्नु हुन्थ्यो । प्रेममा परेका सबैलाई थाहा छ प्रेमिकाको झल्को कति प्यारो हुन्छ । म उसको काख, उसको साथ, उसको शरीरबाट आउने तरुणाईको गन्ध कति मनपराउँथे त्यसको के बयान हुन्छ र ? त्यही प्रेम थियो मलाई ऊर्जा दिने । त्यही प्रेम थियो मेरो केही भाग सपना । हो केही भाग सपना किनभने बाँकी सपना त राजतन्त्रको अन्त्य र एउटा जनवादी नेपालसँग गाँसिएको थियो ।

    यसरी म आधा घन्टा सधैंजसो त्यहाँ बस्थें । कहिलेकाहीँ त्यो ढोकाको प्वालनिरबाट बाहिर चियाउँथे । तर मैले त्यो प्वालबाट मुन्टो बाहिर छिराइनँ । मलाई त्यसबाट बाहिर छिरेको मुन्टो भित्र ल्याउन सकिएन भने के होला भन्ने सधैं डर लागिरहन्थ्यो । केटीसँग भने त्यही अदालततिर लैजाने ल्याउने बेलामा देखादेख र कहिलेकाहीँ छोटो बोलचाल हुन्थ्यो । अचम्म थियो जेलमा बन्दी जीवन बिताएर एकआपसमा प्रेम गरिरहेका आत्मा त्यति एकाध झल्कोमा या नजिकै भएको अनुभूतिमा कति सन्तुष्ट हुन्थे ।

    lll



    मभन्दा पहिले नै गिरफ्तारीमा परेकी उसले चर्को यातना खेपेकी थिई, आफ्नो समयका सीमाभित्र निकै चर्चामा पनि थिई । एक महिनादेखि हाम्रो भेट भएको थिएन । म पहिलोपटक जेलमा पुग्दा स्वागत गर्नेमा ऊ पनि थिई, बेसरी अँगालेर जुरुक्क उचालेर हावामा खेलाउँदै उसलाई सान्त्वना दिन र सम्मान गर्न मन लागेको थियो । कतै बढी भावुक भइएला भन्ने डरले म दुई चार शब्द मात्रै बोलेर भित्रिएको थिएँ । एकपटक भने जेल प्रशासनसँग वार्ता गर्न तीनवटा ब्लकबाट एकेक जना पुगेका थियौं । म थिएँ, ऊ थिई र तेस्रोमा थिए नेपाली कांग्रेसका नेता स्याङ्जाका गोपालमान श्रेष्ठ । हाम्रो जोडीले नजानिँदो ढंगले एकअर्कालाई छोएर माया साटेको थियो ।

    यसरी एउटी प्रेमिकाको प्रेममा चुर्लुम्म डुबेको एउटा तन्नेरीका मनमा यसरी मृत्यु या चर्को जेल सजायका धम्कीका अर्थहरू के के हुन्छन् ? अरूको मलाई थाहा भएन मेरो मन बिल्कुल निस्पृह थियो । घरीघरी जिस्काउन आउने त्यो केटीको माया र बा आमालाई सम्झँदा केही खिन्नता महसुस हुन्थ्यो । आफ्नो जीवन त अरू थुप्रै कमरेडका जस्तै राजाका विरोधमा समर्पित थियो । के हुनु व्यक्तिगत चाहना ? मलाई त्यति बेला थाहा भएको थियो 'बा आमा'लाई भन्नका लागि जति धेरै तर्कहरू मसँग थिए त्यति नहुने रहेछन् आफुले प्रेम गरेकी केटीसँग भन्नका लागि । यद्यपि ऊ पनि राजनीतिमा थिई र राजाको विरोधमा लाग्नुका अर्थहरूबारे दुवै जानकार थियौं ।

    मैले ती तुफानी दिनहरूमा आफ्नो अगाडि आउने चुनौती र नैतिक मूल्यमाथि सङ्कट परेका बेला प्रेमिकालाई र कसैलाई पनि कहिल्यै भावुक बनेर सम्भिइनँ । उनीहरूलाई आपना कर्तव्यहरूका अगाडि मनको ढोकामा उभिनै दिइनँ । र पनि त वकिलले अर्थहीन नै सही, मृत्युदण्डको माग दाबी गरेपछि मेरो मनमा पहिलो झल्को बनेर त्यही केटीको अनुहार आएको थियो हाँस्दै र मायाले आँखा लोलाउँदै ।

    lll



    हामीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भयो र हामी हथकडी लगाइएरै फेरि जेलतिर पुग्यौं । अहँ त्यस्ता मुद्दा र सरकारी वकिलका माग दाबीले न हामीलाई कुनै फरक पाथ्र्यो न त कहिल्यै निराश बनाउँथ्यो । बरु यही मुद्दाको निहूँमा केहीबेर जेलबाहिरको खुला हावा खान पाउँदा स्वतन्त्रताको बलशाली आध्यात्मिक सुखको र खुसीको अनुभूति हुन्थ्यो । मानव जीवनमा समयको जुन क्षणभङ्गुरता छ त्यसको सापेक्षतामा बन्दी समय कत्ति पनि राम्रो होइन । तर सयौं मानिसहरूले त्यसरी आफ्नो जवानी या समय नफालेको भए, जेलमा, हथकडी र नेलमा, सङ्घर्षका मैदानमा आहुती नदिएको भए आज केको लोकतन्त्रको कुरा आउँदो हो र ?

    ती दिन थिए र ऐले पनि म उत्तेजित भइरहन्छु ।

    प्रकाशित मिति: २०६८ पुस २ ११:०८

    Comments

    Popular posts from this blog

    खेर गएको एउटा लेख

    ‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’