Wednesday, November 28, 2012

प्याक्स इन्डिका को समिक्स्या


किताब

  • बदलिँदो मनोविज्ञान
  • झलक सुबेदी 
मंसिर ८ - 
शशी थरुर राष्ट्रसंघीय महासचिवका उमेदवार बनेर पराजित हुने क्रममा अन्तर्राष्ट्रिय विरादरीमा परिचित भएका भारतीय राजनीतिज्ञ र लेखक हुन् । लामो समय यूएन शान्ति मिसनहरूमा काम गरेका यिनी केरलाबाट लोकसभा सदस्यमा निर्वाचित भएका छन् तथा केही समय भारतको विदेश राज्यमन्त्री भएका थिए । भारतीय क्रिकेट लिगको एउटा टिम आपmनी प्रेमिका -अहिले श्रीमती) लाई दिलाउन पदको दुरुपयोग गरेको भनेर विवाद भएपछि राजीनामा दिएका उनी साहित्यिक क्षेत्रमा समेत परिचित छन् । 

दुई साताअगाडि मात्रै पुनर्गठन भएको मन्त्रिपरिषद्मा शशी थरुर मानव संसाधन राज्यमन्त्री -स्वतन्त्र कार्यभार) का रूपमा फेरि मन्त्रिपरिषद्मा भित्रिए । यसैगरी ज्योतिरादित्य सिन्धिया -४०) र सचिन पाइलट -३५) जस्ता युवा 'राजकुमारहरू' लाई मन्त्रिपरिषद्मा स्वतन्त्र कार्यभार सुम्पिइएको छ । राजनीतिक घरानामा जन्मे हुर्केका, अमेरिका लगायतका देशमा पुगेर उच्च शिक्षा हासिल गरेका, कर्पोरेट दुनियाँसँग परिचित यी युवाहरू आउने दिनमा भारतको राजनीति, अर्थतन्त्र र विदेश नीतिलाई प्रभावित गर्ने गरी हुर्कंदै गरेका राजकुमारहरू हुन् । सोनिया गान्धी, उनका पुत्र राहुल लगायतको सानो समूह बिस्तारै भारतीय राजनीतिमा राहुलको सहयोगी युवा समूहलाई स्थापित गर्ने र आगामी २०१४ मा हुने निर्वाचनपछि यही पुस्तालाई नेतृत्व सुम्पने अभ्यासमा लागेको प्रस्ट भएको छ । 

यसरी यस शताब्दीको मध्यदेखि विश्वलाई नेतृत्व गर्ने तयारी गरिरहेको छिमेकी मुलुकमा भइरहेको परिवर्तनले आगामी लामो समयसम्म हामीलाई पनि एक या अर्को ढंगले प्रभावित गर्नेछ । नेपाल परिवर्तनलाई संस्थागत गर्ने अभ्यासमा लागिरहेको छ । यता पनि युवा पुस्ताले नेतृत्व गर्नुपर्ने चर्चा बेलाबेलामा हुने गर्छ । यसबेला भारतमा भइरहेको परिवर्तनले हामीलाई कस्तो प्रभाव पार्ला, त्यताको युवा पुस्ता भारतको आगामी भूमिकालाई कसरी हेरिरहेको छ भनेर थाहा पाउनु जरुरी छ । आफ्नो करियरमा बदलिँदो विश्व शक्ति सन्तुलन र त्यसको प्रभावलाई नजिकबाट नियालेका थरुरको पुस्तक 'प्याक्स इन्डिका' यसबारेमा जानकारी दिने गतिलो आँखीझ्याल हुनसक्छ ।

'प्याक्स इन्डिका- इन्डिया एन्ड दी वल्र्ड अफ दी ट्वान्टी फस्ट सेन्च्युरी' नामक पुस्तकमा थरुरले आफ्ना अध्ययन र अनुभवका आधारमा विश्व रंगमञ्चमा भारतको भूमिकाका सम्भावित चित्रहरू कोरेका छन् । सम्भवतः भारतीय विदेश नीतिका सवलता र दुर्वलता, यसको आर्थिक तथा रणनीतिक सामथ्र्य, विश्वमा बदलिँदो शक्ति सन्तुलनबाट उत्पन्न भएका चुनौती र अवसर, इतिहासले भारतका सामु छाडेका पाकिस्तान -कश्मीर) र चीनसँगका विवाद, आन्तरिक रूपमा उत्तरपूर्वी क्षेत्रमा रहेका पृथकतावादी समस्या, माओवादी विद्रोह र सबैभन्दा बढी त गरिबी र पछौटेपनबाट पिल्सिएको विशाल जनसंख्या भएको भारतको सापेक्षतामा भारतीय विदेश नीतिको मुख्य उद्देश्य के हो भन्नेबारे थरुरले यस पुस्तक मार्फत एउटा अवलोकनकर्ताको रूपमा विशद् चर्चा गरेका छन् । 

पुस्तक ११ उपशीर्षकमा विभाजित छ । अहिलेसम्मको भारतीय विदेश नीति र विश्व सम्बन्धमा आइरहेको परिवर्तनलाई पहिलो शीर्षकमा चर्चा गरिएको छ । दोस्रो अध्यायमा पाकिस्तानसँगका सम्बन्धहरू केलाइएको छ । खासगरी मुुम्बईको ताज होटलमा भएको आतंकवादी आक्रमणको सेरोफेरोमा रहेर पाकिस्तानका नीतिहरू र भारतका चासोहरूलाई मुखर रूपमा यस शीर्षकमा उठाइएको छ । 

तेस्रो अध्यायमा चीनसँगको सम्बन्ध, त्यसको आर्थिक तथा सामरिक पक्षहरूलाई केलाइएको छ । यस पुस्तक पढ्दा सायद सबैजसो पाठकको मुख्य ध्यान यही अध्यायमा केन्दि्रत हुन्छ । अहिले नै चीन र भारतको रणनीतिक आर्थिक सामथ्र्य तुलना गर्न नमिल्ने खालको धुरीबलेंसी भए पनि केही वर्षमा नै भारतले चीनलाई भेट्टाउने र ऊसँग विश्व मञ्चहरूमा -आर्थिक तथा रणनीतिक स्वार्थहरूमा) प्रतिस्पर्धा गर्ने निश्चित छ । 

यसैगरी दक्षिण एसिया, पूर्वी एसिया, मध्यपूर्व र अरब मुलुक, युरोप, मध्यएसिया, संयुक्त राज्य अमेरिका, दक्षिण अमेरिका, अपि|mकाका देशहरूसँगको सम्बन्धलाई अलग-अलग भागमा केलाइएको छ । यस्तै भारतको नरम शक्ति -सपmट पावर) र सार्वजनिक कूटनीतिका पक्षहरू, भारतीय विदेश नीतिलाई प्रभावित गर्ने आन्तरिक संगठन र संरचना, विश्व मञ्चलाई प्रभावित गर्ने बहुपक्षीय संस्थाहरूमा भारतको उपस्थिति र भूमिका तथा यस शताब्दीमा भारतको सम्भावित रणनीतिका बारेमा अलग अलग अध्यायमा चर्चा गरिएको छ । 

अहिले लोकपि्रय हँुदै गएको अखबारी लेखन शैली पछ्याइएको प्रस्तुत पुस्तकमा लेखकले आफ्ना निजी अनुभव र अध्ययन तथा सूचनाहरूको मिसमास गरेर सरल बनाएका छन् ।

शशी थरुरले सबैभन्दा बढी पाकिस्तान र भारतबीचका सम्बन्धको चर्चा गरेका छन् । उनका विचारहरू तुलनात्मक रूपले तर्कपूर्ण रहेका छन् । दुवै देशले मिलेर जान सक्दा निकै धेरै उपलब्धि हुनसक्ने भए पनि उनको विचारमा, पाकिस्तान बन्नुसँगै उसले पछ्याएको भारतलाई चुनौती दिने र आफ्नो वर्चस्व कायम राख्ने विचार र व्यवहार, पाकिस्तानमा लोकतन्त्र र जननिर्वाचित सरकारको साटो सेनाको वर्चस्व रहनु, कश्मीरको विभाजन र बङ्गलादेशलाई पाकिस्तानबाट अलग पार्न भारतले खेलेकोे भूमिका, यसबीचमा दुई देशबीच भएका युद्धहरू तथा शक्ति सन्तुलन कायम राख्ने हतियारका रूपमा पाकिस्तानले अपनाएको आतङ्कवादीहरूलाई पालनपोषण गर्ने नीतिसमेतले पारेको अप्ठेरोबारे भारतीय स्वार्थहरूमा आधारित रहेर यसमा चर्चा गरिएको छ । 

लेखकले नेपालका बारेमा पनि झन्डै साढे दुई पेज खर्च गरेका छन् । नेपालका बारेमा उनको बुझाइ परम्परागत धारणाबाट निर्देशित तथा हालै एसडी मुनी र श्यामशरणले व्यक्त गरेका धारणाबाट पैंचो लिइएका छन् । सन् १९५० का वरपर भारतले धमाधम रजवाडाहरू समाप्त गर्दैर् लगेको र कश्मीर, सिक्किम, भुटान लगायतका देशहरूसँग सन्धिहरू गर्दै गएको बेला नेपालका महाराजले पनि भारत अधीनस्थ हुन कहाँनिर हस्ताक्षर गर्नुपर्ने हो म गरिदिन्छु भनेर नेहरूलाई खबर पठाएको तर चीन र भारतका बीचमा एउटा मध्यभूमि चाहिन्छ भन्ने सोचसमेतले प्रभावित भएर नेहरूले नेपाललाई स्वतन्त्र रहन कृपा गरेको जस्तो अर्थ लाग्ने भनाइ उनले पुस्तकमा उल्लेख गरेका छन् । हालै एसडी मुनीले यही कुरा सार्वजनिक गर्दा नेपालमा निकै आलोचनासमेत भएको थियो । नेपालले तथ्यहरूका आधारमा यसबारे जनतालाई प्रस्ट कुरा राख्नुपर्ने बेला भएजस्तो छ । 

पुस्तक पढ्दा अनुभूति गर्न सकिने कुरा के हो भने भारतको अहिलेको पुस्तामा उत्तर उपनिवेशकालीन मनोविज्ञान र बि्रटिस उपनिवेश रहँदा उसैले हुर्काएको कर्मचारीतन्त्रको दृष्टिकोणहरूको प्रभाव कमजोर बन्दै गएको छ । यो पुस्ता भारतलाई भविष्यमा विश्वशक्तिका रूपमा यसले खेल्न सक्ने सम्भावित भूमिकातिर नजर लगाउन थालेको छ, त्यसै अनुरूप आफ्ना घरेलु नीतिहरू, विकास रणनीतिहरू, विश्वमञ्चहरूमा आफु अनुकूलका संरचना र भइरहेका संरचनामा आफ्नो भूमिकाको विस्तारजस्ता कुराको खोजीमा छ । विश्वमा बलियो देखिन पहिले त आन्तरिक रूपमा आम भारतीयहरूलाई गरिबीबाट मुुक्त गर्नु र पूर्वाधारहरूको प्रचुर विकास गर्न सक्नुपर्छ, त्यसका लागि तुलनात्मक रूपले शान्तिपूर्ण अवस्था चाहिन्छ भन्नेबारे सचेत छ । आफ्ना सामथ्र्य र कमजोरीहरूबारे खुला रूपमा बहस गर्न सक्षम हुँदै गएको छ भन्ने देखिन्छ । यो हामीले केही वर्षअगाडिसम्म सामना गरिरहेको भारतीय संरचना होइन, गतिशील र तार्किक बन्दै छ । नेपालले आफ्ना स्वार्थहरू बुझ्ने र त्यस अनुकूलका रणनीतिहरू तयार पार्ने हो भने भारतसँग मिलेर काम गर्न या नेपालका हितमा भारतको बढ्दो आर्थिक हैसियतको उपयोग गर्न सम्भव छ भन्नेतिर पनि यसले संकेत गर्छ ।

लेखकको कमजोरी भने उनले आगामी ३० वर्ष यही दरमा विकास गर्दै जाँदा भारत र अमेरिकाबीच विश्व बजार कब्जा गर्न, प्राकृतिक स्रोतहरूमाथि नियन्त्रण गर्न हुनसक्ने प्रतिस्पर्धाबारे चुप लाग्नु हो । उनले चीनसँगको सम्भावित प्रतिस्पर्धाको चित्र त कोरेका छन् तर अमेरिका लगायतका देशहरूसँगका प्रतिस्पर्धाबारे मौन छन् । पुँजीवादी विकासको अनिवार्य परिणामका रूपमा, पुँजीवादी विकासलाई निरन्तरता दिन हरेक देेशको पुँजीपति वर्गले खोज्नेे नयाँ बजार र कच्चापदार्थको खोजीका क्रममा पहिले नै बजार कब्जा गरेर बसेको शक्तिसँग नयाँले टक्कर लिनैपर्ने हुन्छ । यसबारेमा थरुर चुप छन् । उनले जुन प्रजातान्त्रिक भारत र अमेरिका एकै ठाउँमा उभिएर अधिनायकवादी बाटोमा रहेको चिनियाँ शक्तिलाई नरम तथा गरम शक्तिका माध्यमबाट चुनौती दिने कुरा गरेका छन् त्यो पनि अवास्तविक देखिन्छ । यसरी नै उनले अमेरिका क्रमशः यूएनको सुरक्षा परिषद्को घेराबाट फुत्केर आफ्ना अलग संरचनाहरू मार्फत विश्वमा प्रभुत्व कायम राख्न कस्सिएको सन्दर्भमा -यसबारे प|mान्सिस फुकुयामाले उहिल्यै विस्तारमा चर्चा गरेका छन्) पुराना विश्व संस्थाहरूको भूमिकाको सम्भावित चित्रबारे ख्याल गरेका छैनन् ।

जे भए पनि भारतको भावी चित्रबारे बुझ्न चाहनेहरू, खासगरी विदेश नीतिबारे सरोकार राख्नेले यो पुस्तक पढ्दा सहयोग नै पुग्छ ।

प्रकाशित मिति: २०६९ मंसिर ९ १०:१५


No comments:

Post a Comment