Monday, November 12, 2012

ँसकस’ पढ्दा ऐंठन भएपछि


झलक सुवेदीआश्विन १९ - आजको उपन्यासमा, आजको साहित्यमा जनसाधारणले बाँच्ने सङ्घर्षमा बगाएको पसिना गन्हाउनुपर्छ र युद्धको रगत कट्कटिएको हुनुपर्छ र त्यसको स्वागत गरिनुपर्छ ।' -जगदीश घिमिरे, 'उपन्यास र युगबोध', २०६६ ।

नेपाली आख्यानमा अलग परिचय र स्थान निर्माण गरिसकेका 'लिलाम' र 'साबिती' उपन्यास लेखिएको लामो अन्तरालपछि हाम्रो समयका एकजना प्रभावशाली लेखक जगदीश घिमिरे तेस्रो उपन्यास 'सकस' लिएर पाठकसामु आएका छन् । यससँगै लेखकका रूपमा जगदीश घिमिरेको परख पनि फेरि एकपटक यसै पुस्तकका माध्यमबाट भइरहेको छ ।

२०२० र ३० को दशकमा सक्रिय लेखक रहेर हराएका घिमिरे २०६४ मा प्रकाशित 'अन्तर्मनको यात्रा' नामक संस्मरणात्मक कृति मार्फत फेरि सक्रिय भएका हुन् । उपन्यासलाई स्त्रीका तिघ्राका कथा र सस्तो मनोरञ्जनको विषय बनाउने कुराको सख्त विरोध गर्दै समाज र जनसाधारणका प्रति जिम्मेवारीबोधका साथ लेखिनुपर्ने विषयका रूपमा ग्रहण गरेका घिमिरेका 'साबिती' र 'लिलाम' आफ्नै कसीमा खरो उत्रेका रचना हुन् । उनको जीवन दृष्टि माक्र्सवाद हुँदै अराज्यवादतिर -स्थापित आर्थिक, राजनीतिक र सांस्कृतिक सत्ताको विरोध या स्थापित मूल्यहरूका प्रति अस्वीकृति) गएको हो । यो अराज्यवाद उनका पछिल्ल्ाा राजनीतिक टिप्पणीहरू र निबन्धहरूमा पनि अभिव्यक्त थियो ।

पुँजीवादको महाकाव्य मानिने उपन्यास तेस्रोे विश्वमा साम्राज्यवादबाट मुक्तिको गीत गाउन र निरंकुश सत्ताहरूको विरोधमा जागृति भर्न मुख्य हतियार बनेर प्रवेश गर्‍यो । व्यक्तिले आफ्नो अस्तित्वका लागि गरेको संघर्ष र पूरा गर्न नसकेका आकांक्षा या अतृप्तिहरूलाई लिएर पनि उपन्यास लेखिने गरेको भए पनि त्यो उपन्यासको मूल पक्ष होइन । मूल पक्ष यसको सामाजिकता हो, यसले निर्वाह गर्ने राजनीतिक भूमिका हो र त्यस्तो भूमिका भनेको समाजका अन्यायपूर्ण शक्ति सम्बन्धहरूलाई निर्धा र हेपिएकाहरूका पक्षमा, स्वतन्त्रता, समानता र आत्मसम्मानपूर्ण जीवनका पक्षमा बदल्न व्यक्तिने सार नै हो । अहिले पनि तत् तत् देशका शासकहरूले थोपरेका आर्थिक, सांस्कृतिक शोषण र विभेदको विरोध, विश्वकीकरण र उत्तर औपनिवेशिक अर्थ राजनीतिले श्रमजीवी जनता या आदिवासी, महिला, सीमान्तकृत समुदायमाथि थोपरेको चरम थिचोमिचोको विरोध तथा सर्वसाधारण मान्छेहरूले स्वतन्त्रता र आत्मसम्मानपूर्ण जीवन प्राप्तिका लागि गरेको सङ्घर्ष र प्रतिरोधको वैचारिक हतियारका रूपमा उपन्यासले भूमिका खेलिरहेको छ । मार्खेज, अचिवे, चिमामान्दा, अलेन्दे, लोसा सबैको औपन्यासिक तागत यसैमा अन्तर्निहित छ ।

नेपालमा यो परम्परामा शक्तिशाली उपन्यासहरू एकदमै कम छन् या कमजोर प्रयासका रूपमा छन् । स्वयं जगदीश घिमिरेले नेपालमा 'फल' साहित्य कम र 'मल' साहित्य बढी लेखिएको भनेर 'अनुराधा', 'शिरीषको फूल', 'तीन घुम्ती' र 'पल्लो घरको झ्याल'को समीक्षा गर्दै टिप्पणी गरेका छन् । उनी भन्छन्, '...तर जुनसुकै दृष्टिले जीवन केलाए पनि वा जीवनको जुनसुकै आयाम लेख्न खोजे पनि...जीवनको गम्भीर र वास्तविक सादृश्य छैन भने त्यो आजको उपन्यास हुँदैन र त्यो आजको साहित्य पनि हुँदैन ।' 'सकस'लाई त्यही परिभाषामा राखेर केलाउने प्रयास यहाँ गरिएको हो ।

'सकस' नाम दिइएको यो उपन्यास मुख्यतया तीनजना पात्रको कथाका माध्यमबाट भनिएको छ । आफ्नै बाबुबाट बलात्कृत भएर देवीजीको आश्रममा पुगेकी र त्यहीँ हुर्केर नर्सको काम गर्ने कुमारी छ । जँड्याहा र स्वास्नी फेर्दै हिँड्ने बाबु र एउटी सीमान्त महिलाका बीच भएको छोटो घरजमबाट जन्मेको र आमाले आत्महत्या गरेपछि एकजना पूर्वमन्त्री रहेका भलाद्मीको आश्रयमा हुर्केको शरद नामको युवक छ । पहिले शरदकी आमालाई र पछि शरदलाई आश्रय दिने तिनै भलाद्मी हरिवंश अधिकारी अर्थात् जीवा अर्का पात्र हुन् ।

उनी जयतु संस्कृतम आन्दोलनका माध्यमबाट राजनीतिक आन्दोलनमा पुग्छन्, सात सालको क्रान्तिमा सशस्त्र कमान्डर हुन्छन्, ०१८ सालमा कांग्रेसले थालेको सशस्त्र विद्रोहका बेला रामेछाप इलाकामा सक्रिय रहन्छन्, पक्राउ खान्छन्, राजासमक्ष समर्पण गर्छन् र मन्त्री हुन्छन् । मन्त्री हुँदा कमाएकोे पैसाले मात्तिएका सन्तानले छाड्दै जान्छन्, पहिली श्रीमती मरेपछि एकजना पशुपतिमा फूल बेच्ने महिलालाई भित्र्याउँछन्, तिनी पनि मरेपछि शरद र कुमारीको सहयोगमा बाँच्छन् या मर्छन् । नर्स कुमारी र पत्रकार बनेको युवक शरद आपसमा प्रेम गर्छन् र बिहे पनि । शरद आफूलाई आश्रय दिने जीवालाई उनका अन्तिम दिनको सहारा बन्छ जसलाई कुमारीले साथ दिन्छे, जीवाले भनेका कथा र आफूले भोगका यथार्थ समेटेर शरद नोट लेख्छ डायरीजस्तो । काठमाडांैबाट जीवीका खोज्न मन्थली पुग्छ र माओवादी तथा सेनाको दोहोरो चेपाइमा पर्छ, त्यहाँबाट भागेर जनकपुर जान्छ र मधेस आन्दोलनको पिल्साइमा परेर शरद बैरागिन्छ र घर छोड्छ ।

कुमारीसँग दूध चुस्दै गरेकी सन्तान हुन्छे शान्ति । उसैलाईर् मधेस आन्दोलनको एउटा अगुवाले बलात्कार गरेपछि कुमारीलाई पनि बलात्कार गर्ने प्रयास गर्छ, कुमारीले प्रतिरोध गरेर उसको हत्या गरेपछि आफ्नी सन्तानलाई त्यही देवीजीको आश्रममा ल्याएर बुझाउँछे र कथा सकिन्छ । तर कथाको मुख्य पक्ष्य भने पात्रहरूको जीवन समेट्दै अगाडि बढेको शरदको नोटले भन्छ, जसमा जीवाले इतिहासका कुरा भन्छ, पुराणका प्रसंग ल्याउँछ शरद वर्तमानका कथा भन्छ या नोट गर्छ ।

उपन्यासले अनेक उपशीर्षकमा बाँडिएर मूलतः चारवटा कथा भनेको छ- गोर्खालीहरूको राज्यविस्तार अभियान, सिंहप्रताप शाहका बौलठ्ठीपूर्ण हरकतहरू, दरबारमा चल्ने षड्यन्त्र र हत्याका शृंखलाहरू, रणबहादुरले गरेको मनपरिमा सताइएका जनसाधारणका अतिशय पीडा र अपमानका कथा एउटा पाटोमा पर्छन् । दोस्रोमा नेपालमा राणाविरोधी आन्दोलन र पछि महेन्द्रीय शासनका विरोधमा आन्दोलन गर्ने कांग्रेसका दुःखका कथा, २०४६ को आन्दोलनको कथा र त्यसपछिको शासन सत्ताका अलोकतान्त्रिक जनविरोधी गतिविधि । तेस्रोमा माओवादीले गरेको सशस्त्र युद्धका क्रममा जनसाधारणले भोगेका अकल्पनीय पीडा पर्छ । चौथोमा मधेस आन्दोलन, जनजातिहरूको आन्दोलन तथा संविधानसभाको अकाल मृत्युसम्मको नेपालको राजनीति छ । यही कालमा परेका छन् नेपालमा जनजाति र अरूहरूले आफ्नो पहिचान र अधिकारका लागि गरेका सङ्घर्षका सन्दर्भहरू ।

यो उपन्यास मार्फत लेखकले पृथ्वीनारायण शाहको महानताको गीत गाएका छन् । उनका भारदार र सेनापतिहरूको देशभक्तिको महिमा गाएका छन् र नेपाली इतिहासमा शासकहरूले जनतालाई दिएको दुःखका कथा भनेका छन् । कांग्रेसको नेतृत्वमा नेपालमा प्रजातन्त्रका लागि संघर्ष गर्ने हरिवंशहरूका कथा भनेका छन् जुन मार्मिक छन् तथा इतिहास नपढेका पाठकहरूका लागि नेपालको इतिहासको यो कालखण्डका बारेमा राम्रो जानकारी दिएका छन् । उपन्यासले समकालीन नेपालमा नेता या शासकहरूको मनपरिबाट दुःख पाएका, क्रान्तिका चपेटामा परेर हन्डर पाएका, सरकार र प्रतिपक्षको दोहोरो मारमा परेर सताइएका नेपालीको कथा राम्रोसँग भनेको छ ।

उपन्यास समाकालीन नेपालको इतिहासका रूपमा आएको छ । साथै यो नेपालको वर्तमान पनि हो र केही हदसम्म भविष्यप्रतिको संकेत पनि । उपन्यासको भाषा र कथ्य शैली राम्रो छ । उपेन्द्र यादवलाई गिरिजाप्रसादको उपप्रधानमन्त्री बनाउने गल्तीबाहेक इतिहासका तथ्यहरू राम्रोसँग मिलाइएका छन् । तर कथाको अन्तर्य अलि फरक छ ।

जगदीश घिमिरे पृथ्वीनारायण शाह र उनका भारदार तथा सेनापतिलाई महान् र त्यसयताका नेपाली शासकलाई रणबहादुर शाहको आत्माले चलाएका अपराधी साबित गर्न रघुवंश महाकाव्यको सहारा लिन्छन् । कालीदासकृत रघुवंश महाकाव्यमा बताइए अनुसार रामकै वंशमा तेईसौं पुस्ताको अग्निवर्ण लम्पट शासक थियो जो स्त्रीहरूसँग हरपल सहवासरत हुन्थ्यो । जनताले उसको दर्शन गर्न चाहे भने ऊ समागमरत अवस्थामा नै झ्यालबाट एउटा पाइतालो बाहिर निकालिदिन्थ्यो । त्यसको दर्शन गर्न पाउँदा जनता आफूलाई धन्य महसुस गर्थे भन्ने कुरा उल्लेख छ भनेर लेखकको परिभाषाबाट बुझ्न सकिन्छ । उनले नेपालका वर्तमान नेतृत्व वर्गलाई अग्निवर्ण साबित गर्न यस्तो लेखेका छन् ः

मैले सोधें, 'जीवा के हाम्रा महान् त्यागी र गौरवशाली नेताहरू त्यस्तै छन् त ?'

'स्त्रीलम्पटभन्दा पनि सत्तालम्पट छन्,' जीवाले भने, 'उः त्यता हेर् । के देख्छस् ?' मैले देखें सिंहदरबारको झ्यालबाट धेरै चरणहरू बाहिर झुन्डिरहेका थिए । मैले सोधें, 'यतिका चरणहरू कसका हुन्, जीबा ?'

जीवाले भने, 'तँ त लाटाको लाटै छस् । यी चरणहरू बहुदलकालदेखि आजसम्म भएका नौरंगी प्रधानमन्त्रीका हुन्...।' यी शरद र जीवाका बीचका संवादहरू हुन् ।

'नेपालमा जे हुन्छ भारतको इच्छा अनुसार हुन्छ । नेपालका ठूलाठूला नेता र मन्त्री कि भारतीय नागरिक हुन् कि भारतका उपज हुन् अथवा भारतीय एजेन्ट हुन् । त्यो बुझिराख....' -पेज ३०२) उनले नेपाली राजनीतिमा भारतको भूमिकाको आलोचना गर्ने नाममा गरेको यो आलोचना अशोभनीय देखिन्छ ।

'एक जाति एक देश- लिन्छौं लिन्छौं', 'खण्ड खण्ड नेपाल- लिन्छौं लिन्छौं', 'अखण्ड नेपाल लिन्छौं लिन्छौं' उनको उपन्यासले यी वाक्यहरू मार्फत् नेपालमा जाग्दै गरेको स्वतन्त्रताको मोह, शासकीय संरचनाले थोपरेका हजार अन्यायका विरोधमा हेपिएका, किनारामा धकेलिएका, विश्व पुँजीवादको शोषणको माखेसाङ्लोमा परेर उम्कनै नसक्ने भएका मान्छेहरूले गरेका विद्रोह, आन्दोलन, अधिकारको खोजीजस्ता कुराको उछित्तो काढेको छ । तिनको अपमान गरेको छ दुत्कारेको छ । उनको उपन्यासले नेतालाई आलोचना गर्ने नाममा कांग्रेसलाई, एमालेलाई, माओवादीलाई, मधेस आन्दोलनकारीहरूलाई हत्यारा, जनविरोधी, भारतका एजेन्टसम्मको आरोप लगाएको छ ।

यसले ०४६ सालको आन्दोलन खाते, सडक बालबालिका, बलात्कारी र डनहरूले सञ्चालन गरेको भनेर नेपालमा राजतन्त्रको अन्त गरेर लोकतन्त्र स्थापना गर्न आफ्नो जवानीका सुन्दर दिनहरू जेलमा बिताएका, आन्दोलनमा लगाएका, लाठी र बुट खाएका, मारिएर सहिद भएका सबका सबलाई दुत्कारेको छ । हजारौं युवायुवतीले आन्दोलनमा लाग्दा देखेका सपनाको अपमान गरेको छ । उनले संरचना र व्यक्ति या नेतालाई घोलघाल गरेर केवल नेता र पार्टीलाई निषेध गर्ने र संरचनालाई जोगाउने अनौठो बाटो समातेका छन् ।

पछिल्लो समय नेपालमा चलेको माओवादी आन्दोलन, १९ दिने जनआन्दोलन, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र पहिचानको मागलाई निषेध गर्ने र परम्पराबाट चलेको शासनलाई स्वर्गजस्तो भनेर बयान गर्नेहरू काठमाडांैमा र देशैभरि सक्रिय छन् । यसरी सक्रिय हुनेहरूमा खासगरि कुलीनहरू, पुरानो शासनसत्ताबाट आशीर्वाद पाएर देशको स्रोतले मोटाएकाहरू सत्तारुढ वर्ग, जाति विशेषका पुरातनपन्थीहरू र नवउदारवादले जन्माएको क्रोनी पुँजीवादबाट फाइदा लिएकाहरू छन् । घिमिरेको यो उपन्यास पनि प्रकारान्तरले त्यही स्वार्थ समूहको सेवामा उपस्थित छ ।

यो पुस्तकसँग उनको आफ्नै परिभाषाको कतै पनि भेट हुँदैन ।

प्रकाशित मिति: २०६९ आश्विन २० १०:०४

No comments:

Post a Comment