कमरेडले ‘लिइसेको’ पछ्यौरी

 एक समय थियो, पोखरा जाँदा पृथ्वीनारायण क्याम्पसको गेटमा चिया पिउन पुगिएन भने केही छुटेझैँ लागिरहन्थ्यो । पहिले लतका रूपमा रहेको यो बानी अब बिस्तारै हट्न थाले पनि टुटिसकेको भने छैन । पहिले यस्तो चियासँग मिसिने क्यापम्पसका सर या साथीहरू अब बिस्तारै रिटायर्ड हुँदै छन् । पहिले भेट हुने गरेका चिनजानका विद्यार्थी नेता पनि अब रहेनन् । तैपनि किन हो, क्याम्पस गेट जान मन लाग्छ । गत साता पोखरामा भएको वेला यस्तै लोभले क्याम्पससम्म पुगियो । साथमा पहिलेका विद्यार्थी नेता कमल श्रेष्ठ थिए । अन्नपूर्ण म्युजियममा रहेका भाइ आनन्द सुवेदीलाई भेट्न भित्र पस्दा विज्ञान भवनमा रहेको मञ्चमा राता ब्यानर र अखिलको झन्डा देखिए । कार्यक्रम भर्खर सकिएजस्तो दृश्य थियो । यही दृश्यले आफ्ना पुराना दिन सम्झना आए । 

२ वैशाख, २०३६ मा विद्यार्थी आन्दोलन र हडतालको आह्वानका लागि हामी यहीँ जम्मा भएका थियौँ । विद्याविमल बराल, ध्रुव वाग्लेहरूले यही मञ्चबाट मागपत्र सुनाएका थिए । ०३६ असारमा यहीँ नाच्दै गाउँदै हामीले विद्यार्थी युनियनको निर्वाचन परिणाम सुनेका थियौँ । जित्नेहरू थिए– सोमनाथ अधिकारी प्यासी, अमरिस हमाल, हरि पथिक, रामप्रसाद शर्मा, वसन्ती लालचन, नारायणसिंह गुरुङ, शेखरनाथ अधिकारी, गंगा गुरुङ... अहिले पनि नाम सम्झनामा छन् । ०३९ माघ अन्तिम सातातिर स्ववियुले आयोजना गरेको स्वागत कार्यक्रममा अलिअलि काम्दै पहिलोपटक प्रत्युत्तर भाषण गरेको सम्झन्छु । कैयौँ आन्दोलनको उद््घोष गरेको यही मञ्च थियो । स्ववियु सभापति निर्वाचनका क्रममा प्रतिस्पर्धा गरेको यतै त हो । यतै त हो काले गोपालले २०४० को मे दिवसमा गणतन्त्रको नारा घन्काएको र हामीले राजतन्त्रविरुद्ध गगनभेदी नारा लगाउँदै क्याम्पस गेटमा प्रहरीसँग भिडन्त गरेको । आफ्नो तरुण वयका दिन केही सपना सजाउँदै क्रान्तिका लागि तयार पार्दै यतै त बिताइएको थियो । 

यतै हो, ०३६ सालमा मण्डलेले छात्रावासमा आक्रमण गरेको । ०३६ मा प्यासीले कुटाइ खाएको र ०४४ मा विद्यार्थी नेताहरू तुलबहादुर गुरुङ, रामनाथ ढकाल र विजय गुरुङ अपहरणमा परेको पनि यतै हो । ०४६ फागुन १ मा लक्ष्मी कार्की, शेरबहादुर गुरुङ र कृष्ण शर्मालगायत सयौँ साथीले यातना पाएको पनि त यतै हो । अनि, आफैँ गिरफ्तारीमा परेको पनि यतै छेउछाउबाटै हो । जब यो आँगनमा पुगिन्छ अनि ती रमाइला संघर्षका दिन सम्झनामा आउँछन् । त्यसैले यो आँगन अझै प्यारो लाग्छ । 

आनन्द भन्दै थिए– ‘कुनै समय मैले नै यस्तो कार्यक्रमको प्रमुख अतिथिको भूमिका निर्वाह गर्थेँ, अहिले पार्टीकै उपमहासचिव आउन थालेछन् ।’ उनको भनाइमा एउटा लक्षणा थियो राजनीतिप्रतिको । हामीले चिया पियौँ र हिँडिहाल्यौँ । कोही पुराना ‘चिया पार्टनर’हरू भेट भएनन् र नयाँ चिनारु पनि ।

साँझ सामाजिक सञ्जालमा सो कार्यक्रमको एउटा सानो भिडियो क्लिप चर्चामा देखियो । भिडियोमा अखिलको कार्यक्रमस्थलमा एउटा लोकगीत गाइँदै थियो र नाचमा सामेल थिए एमाले उपमहासचिव प्रदीप ज्ञवाली । गीत थियो ः हजुरलाई जाडो भा होला, मेरो पछ्यौरी लिस्यो ... । हजुरलाई जाडो भा होला, मेरो गलबन्दी लिस्यो ... । गीतको यो बोलले प्रेमी या प्रेमिकाको खोजीमा रहेका या प्रेममा परेका वयस्क स्त्री–पुरुषबीच लाक्षणिक रूपमा प्रेम प्रस्ताव गरेको अर्थ दिन्छ । मलाई गीत सुनेर बुझ्न निकै प्रयास गर्नुपर्ने भएकाले त्यसका अन्तरा र शीर्षमा रहेका शब्दबारेचाहिँ जानकारी छैन ।

घटना सामान्य हो, युवावयमा रहेका क्याम्पसका विद्यार्थीबीच प्रेमभाव झल्कने गीत रुचिका विषय हुन सक्छन् । यो उमेरमा प्रेम गर्नु या त्यस्तो भाव लिनु स्वाभाविक हो । पार्टीले कार्यकर्ताबीचको प्रेमलाई सामन्तवादी हेराइ राखेर नियन्त्रण गर्न खोजिने समय भए पनि हामीले काम गर्ने त्यस समयका युवायुवतीबीच पनि प्रेम हुन्थ्यो । भूमिगत नेता कार्यकर्ताबीच ‘एडल्टरेसन’ र कारबाहीका प्रसंग पनि दोहोरिरहन्थे । त्यसैले अखिलको कार्यक्रममा यो प्रेमगीत गाइनु र त्यसमा अधेडावस्थाका ज्ञवाली नाच्नुलाई चर्चाको विषय बनाउन आवश्यक पनि होइन । तर, मलाई भने दुईवटा कुराले खसखस लाग्यो र यहाँ चर्चा गर्न मन लागेको हो । 

पहिलो त अहिलेको अखिल या विद्यार्थी राजनीतिले आफ्ना कार्यक्रममार्फत कस्तो राजनीतिक लक्ष्य सम्प्रेषण गर्छन्, आपूmलाई कसरी चिनाउँछन् भन्ने हो । जस्तो हामी पञ्चायतविरोधी आन्दोलनका समयमा यता काम गर्ने भएकाले हाम्रा गीतसंगीत र कलाले पञ्चायतविरुद्ध आन्दोलित हुन प्रेरित गर्थे । देशमा व्याप्त गरिबी, शोषण र थिचोमिचो, वैदेशिक हस्तक्षेप, बसाइँ सराइका पीडा, काम गरिखाने वर्गका व्यथाका लागि हामी राजाको पञ्चायती निरंकुश व्यवस्थालाई जिम्मेवार ठहर्‍याउँथ्यौँ र गीतमा व्यक्त गथ्र्यौँ ।

महिलामाथिका विभेदलाई विरोध गर्ने र उनीहरूलाई जगाउन प्रेरित गर्ने ‘आमा, दिदी, बहिनी हो...’ जस्ता गीत होऊन् या बसाइँ हिँड्नेको ताँतीले गाउने ‘कोइ त भने जहाजमा हरर’ भन्ने गीत होस् या श्याम तमोटको ‘गाउँगाउँबाट उठ’ बोलको गीत । यिनले त्यतिवेलाका राजनीतिक उद्देश्यलाई विम्बित गर्थे । एउटा क्रान्तिकारी चेतनाको प्रवाह, संघर्षप्रतिको आकर्षण र समर्पणका लागि कार्यकर्तालाई उत्प्रेरित गर्थे ।

यो जरुरी छैन कि, ती गीत नै आज पनि गाइयून् । तर, ज्ञवालीले अवश्य पनि देशको आर्थिक, सामाजिक र राजनीतिक समस्या हल भएको भनेनन् होला । अब देशमा गर्नुपर्ने आन्दोलन छैन, लगाउनुपर्ने नारा छैन, समृद्धि छ र वर्गीय, जातीय या लैंगिक विभेद छैनन् भन्ने पनि अखिललाई लाग्नुनपर्ने हो । कलेजको मुखै देख्न आइनपुग्ने ५० प्रतिशत युवा या किशोर–किशोरीका कुरा, खाडीमा श्रम गर्न बाध्य अर्धदक्ष या अदक्ष कामदारका रूपमा नेपालीले व्यहोर्दै गरेका दुःखका कुरा, खेत या निर्माणस्थलमा पानीजसरी पसिना बगाउँदा पनि एक मानो खान, एकधरो लाउन र केटाकेटीलाई शिक्षा दिन नसक्ने परिवारका अभिभावक र सन्तानका बलिदान भएका सपनाका अर्थराजनीतिका कुरा पनि त ज्ञवालीका भाषणका विषय बने होलान् ।

विभिन्न माध्यमबाट नेपालको स्वतन्त्र राष्ट्रिय उद्योग तथा पुँजीको विकासमा बाधा हालिरहेको भारतीय शासक वर्ग या विश्व पँुँजीवादका केन्द्रको विषय पनि त अहिलेका समस्या होलान् । राज्य र राजनीतिक नेतृत्वलाई धमिराले झैँ खाँदैगरेको आसेपासे पुँजीवादविरुद्ध पनि त अहिलेको अखिलले बोल्नुपर्ने होला ? तिनीहरूप्रति अहिले विद्यार्थी राजनीतिमा सक्रिय रहेकाहरूको दायित्व र खेल्नुपर्ने भूमिकाका कुरा अवश्य पनि प्रशिक्षणको सन्दर्भ भएको हुुनुपर्छ । २०४७ यता लामो समय सत्तामा रहेको दलका रूपमा यस अवधिमा एमालेले गरिखाने वर्गको पक्षमा के गर्न सक्यो, के गर्न सकेन र अब के गर्छ भन्ने विषय पनि त बहसमा होलान् । 

वयस्क उमेर समूहमा गाइने प्रेमभावयुक्त गीत र लिइने मनोरञ्जनको पक्षलाई निषेध नगरे पनि राजनीतिक रूपले अरूलाई आकर्षित गनुपर्र्ने त अहिलेको नेपाली समाजको मुद्दा जोडिएकै गीतबाट होला । आफ्ना भेला या मेलामा ‘युँजे पोत्तर’को ‘कम्युनिस्ट अन्तर्राष्ट्रिय’ गाउन छाडे पनि एमालेले सामाजिक न्यायका मुद्दाकै वरपर नयाँ पुस्तालाई पार्टीवरपर गोलबन्द गर्ने काम त्यागेको स्विकारेको पनि छैन । यसैले, ज्ञवालीलाई आफ्ना कार्यकर्ताले पछ्यौरी ‘लिस्यो’ भनेर अनुरोध गरेको गीतमा नाच्न कर थियोजस्तो लाग्दैन (मलाई व्यक्ति ज्ञवालीका भावनाबारे कुनै गुनासो र प्रश्न छैन । म उनको वैयक्तिक स्वतन्त्रतालाई सम्मान गर्छु, यहाँ एमाले उपमहासचिवको विषय मात्र उठाइएको हो, उनले थाहा पाउनुपहिल्यै आयोजकले यस्तो गीत गाउन लगाएको पनि होला भनेर मानौँ) ।

खसखस लागेको अर्को पाटो भने यस गीतमा प्रयोग भएको भाषा नै हो । मलाई गीत लेख्ने र गाउनेप्रति केही भन्नु छैन । तर, कम्युनिस्ट पार्टीको कार्यक्रममा पहिलेको सत्तारुढ वर्गको भाषा प्रयोग भएका गीत मन पराइनु र त्यसमा छमछमी नेता कार्यकर्ता नाचेर अरूलाई आफ्नो दलप्रति आकर्षित गर्न प्रयोग गर्नु सामान्य कुराचाहिँ होइन । स्योस, बक्स भयो, बाहुली, ज्युनारजस्ता शब्द अवश्य पनि काम गरिखानेका परिवारका भाषा होइनन् । भाषा र शब्दको वर्ग हुन्छ । त्यसले वर्गहरूबीचको भिन्नता अथ्र्याउँछ । कसैका लागि यही गीतमा प्रेमासक्त लक्षणा या व्यञ्जनाका रूपमा यस्ता शब्द प्रयोग हुनु स्वाभाविक मानिएला । राजनीतिक जिम्मेवारी दाबी नगरिरहेको, जनतालाई उन्नत जीवन दिने सपना नदेखाउने कसैले यस्तो गीत गायो र नाच्यो भने कसले प्रश्न उठाउला र ? 

यस गीतमा प्रयोग भएको सम्मान सूचक शब्दले समाजको ‘हाइरार्की’लाई सम्मान गर्छ । परम्परागत शासकीय मूल्य प्रणालीलाई उचित ठहर्‍याउँछ । प्रकारान्तरले महिला र पुरुषबीचको सम्बन्धमा रहेको उचनिचको शक्ति सम्बन्धलाई निरन्तरता दिन खोज्छ, (मैले संगत गरेका परम्परागत रूपमा स्योस् भन्ने परिवारका पतिले पत्नीलाई स्योस् लगाएको थाहा छैन, पत्नीहरूले पतिलाई स्योस् नलगाई बोलेको पनि थाहा पाइएन), श्रम गर्ने र गराउने, शासक र शासित, सम्पन्न र विपन्नबीच भाषाका माध्यमबाट विभेद खडा गर्छ । आफैँले मत दिएको भए पनि सत्ता या शक्तिमा हुने र हाइरार्कीको तल्लो खुड्किलोमा बस्ने कार्यकर्ताबीच भिन्नभिन्न स्थानको परिकल्पना गर्छ, त्यसलाई भाग्यको खेल मान्छ । 

तर, काम गरिखाने सामान्य मानिसबीच आपसमा अभिधामा बोलचाल हुन्छ । लप्पनछप्पन हुन्न, सम्मानार्थी शब्दका आधारमा विभेद पनि देखिन्न । केही पहिले एमाले अध्यक्ष ओलीले पत्रकारले प्रयोग गर्ने भाषामा सम्मान सूचक शब्द प्रयोग गर्न कन्जुस्याइँ गरेको भन्दै दुखेसो पनि गरेका थिए । नेपाली समाजको परम्परागत ‘हाइरार्कियल’ सम्बोधनलाई निरन्तरता दिन उनले किन जोडबल गरेका होलान् भन्ने प्रश्न अहिले पनि जीवितै छ । ज्ञवालीलाईचाहिँ यस्तो ‘स्योस्’वाला शब्दको प्रयोग गर्दा सहज भयो होला कि नाइँ ? भिडियोमा उनको मनोभाव राम्ररी खुल्दैन । 

एमालेको दैनिक राजनीति र संस्कृतिमा आइरहेका परिवर्तनसँग खासै परिचित नभएर पनि होला, मलाई यो स्योस्वाला भाकामा बग्दै रमाइलोमा सामेल हुने अहिलेका अखिल र नेताहरूले हाम्रै इतिहासलाई गिज्याएजस्तो लाग्यो । कास्की एमालेमा लामो समयदेखि कब्जा जमाइरहेको नेतृत्वपंक्ति यही क्याम्पसको आन्दोलनबाट हुर्केकाहरूको छ । के उनीहरू नयाँ पुस्तालाई आफ्नै इतिहास मेट्दै अघि बढ्न र सांस्कृतिक रूपले परम्परावादी बनाउन प्रशिक्षित गरिरहेका छन् ? आफ्नो समयलाई क्रान्तिकारी हस्तक्षेप गर्दै क्याम्पसमा प्रगतिशील गीत–संगीतको टोली बनाएर युवावय बिताएका हितकाजी गुरुङ यसबारे के भन्दा हुन् ?

एमालेले समृद्धिको नारा दिएको छ, विभेदको वर्तमान अवस्था कायमै राखेर समृद्धि कस्तो आउला भन्न सजिलो छैन, यसले समृद्धिलाई राजनीतिक विषय मानेजस्तो पनि देखिन्न । अहिलेकै अर्थ राजनीतिक संरचनामा आउने समृद्धिले नेपाली समाजमा विद्यमान अनेक विभेद समाप्त पार्ने होइन । विद्यमान महिलाविरोधी, दलित र सीमान्त समुदायविरोधी विभेदकारी मूल्य प्रणालीलाई ध्वस्त नपारी, शोषणका सबै छिद्रहरू ध्वंश नगरी स्वतन्त्र नागरिकका रूपमा सबैले समान सम्मान पाउने अवस्था पनि आउँदैन । राजनीतिक दलहरूले, अझ जल्दोबल्दो क्रान्तिकारी रोमान्ससहितको विद्यार्थी नेतृत्वले हस्तक्षेप नगरी यस्तो अवस्था आउला भनेर पनि विश्वास गरिन्न ।

आफ्नै नेतृत्वलाई प्रश्न नगरी यो बाटो पत्ता लाग्दैन । जब त्यही तप्का यो भाषा र भाकामा रमाउन थाल्छ अनि यति त भन्न सकिन्छ, हाम्रो निकट भविष्य पनि त्यति उज्यालो छैन । नाच्न पनि नाच, गाउन पनि गाऊ, धक फुकाएर प्रेम पनि गर साथी हो, तर सार्वजनिक रूपमा संगठनले आयोजना गर्ने कार्यक्रमको गीत र नाचले राजनीतिक सन्देश के दिएको छ भन्ने पनि हेक्का राखेको राम्रो । लौ त कमरेडहरू यता ध्यान ‘दिस्यो’ !

Comments

Popular posts from this blog

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.

these Photos were taken in Qinghai lake China last year.