Sunday, April 3, 2022

अलविदा लिलाधर दाई



यो वर्ष हाम्रो गाउँले आफ्ना महत्वपूर्ण अभिभावकहरु गुमायो । यस वर्षको आरम्भमा हाम्रो परिवारका अभिभावक खिमलाल सुवेदी दाई वित्नु भयो । पोखराको नारायणस्थानमा आएर संस्कृत अध्ययन आरम्भ गरेपनि पारिवारिक कारणले पढाइ पुरा गर्न नपाउनु भएका खिमलाल दाई शिक्षाप्रेमी हुनुुहुन्थ्यो । आरम्भिक वर्षमा शिक्षकका रुपमा सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका खिमलाल दाईले पछिल्ले उमेर लेखापढी पेशामा रहेर विताउनु भएको थियो । रोगले च्याप्दै लगेर गाउँ आउन जान नसक्ने अवस्था नआउञ्जेल गाउँको अगुवाइ गर्नुभयो । विशेषगरी जनकल्याण मावी मकैखोलाको स्थापना र प्रगतिमा वहाँको योगदान सम्मानयोग्य छ । संस्कृत काव्य र पूर्विया दर्शनका मामिलामा गाउँमा कसैलाई ज्ञान थियो भने त्यो खिमलाल दाइलाई मात्र थियो । सबैको भलो चाहने, आफ्नो संस्कृती र कुल मर्यादाको निरन्तरता चाहने खिमलाल दाई लामो समय देखि विभिन्न रोगहरुसंग जुध्दै आउनु भएको थियो । ८४ पुजा गरेको ६ महिनामै वित्नु भयो । कोरोनाका कारण पुजामा पनि र मृत्यु संस्कारमा पनि आउन सकिएन, सँधै थकथक लागिरहनेछ । मैले कुल परम्परा विपरित क्षेत्री परिवारमा वैवाहिक सम्बन्ध राखेकोमा सुरुमा असन्तुष्ट भएपनि वहाँले परिवारका विच सहज र हार्दिकतापूर्ण सम्बन्ध रहोस भनेर संधै सकारात्मक भूमिका खेल्नुभएको थियो । 

जनकल्याण मावीमा २० वर्षसम्म प्रअका रुपमा काम गरेर हामीलाई शिक्षाको उज्यालोतिर डोर्याउन र मकैखोलाको मावीलाई त्यसवरपरको केन्द्रका रुपमा विकास गर्न स्थानीय समाजसेवीहरुसंग काँध मिलाएर हिँडने हेडमाष्टरका रुपमा परिचित राखीका रामचन्द्र ढुंगाना अर्का अभिभावक हुनुहुन्थ्यो ।संयोगले नै भनौं भाई उपेन्द्रको योजनामा मृत्युभन्दा २ साता अघि मात्र घरमा पुगेर भेटेको थिएँ । हामीलाई भेटेर वहाँको अनुहारमा एउटा चमक आएको थियो । खुशी हुनुभयो र पहिलेका कुराहरु गर्नुभयो । शिथिल र थकित देखिनुहुन्थ्यो, सर पनि गत महिना वित्नु भयो । टाढैबाट हाम्रो उन्नती र प्रगतिको कामना गरिरहेका यी अभिभावकहरुको अभाव हामीलाई खट्कीरहने छ ।

यही चैत महिनाको १३ गते हाम्रा अर्का अभिभावक लिलाधर सुवेदी संधैका लागि विदा हुनुभयो । ८५ वर्षका लिलाधर सुवेदी केही महिना देखि विस्तारै कमजोर बन्दै जानु भएको थियो । पछिल्लो समय दुइपटक भेट्न जाँदा वहाँ यति छिटै वित्नुहोलाजस्तो चैं लागेको थिएन । म वहाँसंग गाउँका कतिपय परम्परा, नाता सम्बन्ध, पुर्खाहरुका सम्बन्धमा केही नोट गर्ने सोच्दै थिएँ । आफैले समय व्यवस्थापन नगर्दा पछुताउनु बाहेक मसंग केही रहेन ।

१९९४ मा जन्मेका लिलाधर दाइका बा त्रिलोचन वहाँ १६ वर्ष पुग्दा नपुग्दै वित्नु भएको थियो । त्यसपछि आफ्ना दुइवटा बहिनि र पिताको मृत्युपछि जन्मेका एकजना भाइसहितको अभिभावक भएर किसानका रुपमा जीवन अघि बढाउनु भएको थियो । केही नेपाली साहित्य शिखरनाथ भाष्य, संस्कृतको देविभागवत, लेखनाथ पौडेल (वहाँका आमापट्टिका ठुलाबा, मेरा हजुरबा) का केही साहित्यीक रचनाको पनि अध्ययन गर्नुभएको थियो । एकपटक पढेका कुरा सम्झने र कण्ठस्थ भन्न सक्ने खुबी थियो । थरगोत्र प्रवरावली कण्ठस्थ थियो । आफ्नो बारेमा बनाएको श्लोक सुनाउनुुुहुन्थ्यो ः मेरो नाउँ त खास रुद्रमणी हो भन्छन लिलाधर सबै । विहेमा दुलाहा पट्टी या दुलही पट्टीबाट श्लोकमा सम्वाद गर्न अघि सर्नु हुन्थ्यो । मैले दुइपटक त्यस्तो श्लोक सम्बाद सुन्ने अवसर पाएको थिएँ । 

वहाँको विहे मेरी आमाका आफ्नै माइलाबाकी छोरी बहिनि अर्थात हाम्री सानिमासंग भएको थियो । हामीले जान्ने भएपछि हाम्रो परेली गोकर्ण स्यानाबा देवघाट झरेपछि लिलाधर दाइसंग मात्रै भयो । लामो समय परेली र आउजाउ हुँदा हामीलाई सबैभन्दा निकटका दाजुजस्तो लाग्थ्यो । पछि मात्र थाह भयो हामी चारपुस्ते रहेछौं हाम्रा हजुरबाका बाउहरु दाजुभाइ रहेछन् । कृषिकर्ममा लिप्त हुनुहुन्थ्यो । भैंसी मोटाघाटा हुन्थे । दुहुनु संधै भइरहन्थ्यो । भैंसी र खेतीपातीका कारण घुम्न फिर्न नपाएको गुनासो संधै हुन्थ्यो । अरुको भन्दा छिटो खेती लागाउन, गोडमेल गर्न, खनजोत गर्न संधै हतार गर्नुहुन्थ्यो । मौका पाउँदा यता उता घुम्न निस्किहाल्ने बानी थियो । परिवारका प्रतिको जीम्मेवारी जहिले पनि अरु काम भन्दा प्राथमिकतामा राख्नुहुन्थ्यो ।

देश दुनियाको खैखबर राख्ने, रेडियोमा सुनेका समाचार बुझ्ने र त्यसबारे धारणा बनाउने, अरुलाई सुनाउँदै हिँड्ने । कुनै कुरामा विश्वास गरेपछि एकोहोरो लाग्ने बानी थियो । मैले मेरो उपन्यास आधा जुन मा रहेको लाउरे पात्रको मुख्य चरित्र लिलाधार दाईबाटै लिएको हो । वहाँलाई राम्ररी चिन्ने र उपन्यास पढ्नेले लाउरे पात्रमा लिलाधार दाईको छाप पाउँछ । 

वहाँका चार भाई छोरा र एउटी छोरी जन्मेका थिए । भाई आनन्द र बहिनी चन्द्रकला मात्र अहिले बाँकी छन् । देवी भाइलाई ७ वर्षको भएपछि २०३३ सालमा स्कुलबाट फर्कदा साथिहरुसंग पौडि खेल्न पसेको बेला बुम्ले खोलाले बगायो । खुब राम्रो र चञ्चले थियो । त्यसपछि जन्मेका दुइ भाइ पनि सानो उमेरमा विते । परिवारमा निरन्तर शोक र सन्तापको स्थिती बनिरहे ।

२०४२ मा आनन्द आइए पढ्न पृथ्वी नारायण क्याम्पसमा भर्ना भए । छिटै स्ववियु सदस्य बनाइए र पक्राउ खाइहाले । २ वर्ष जति कलिलै उमेरमा जेल बसे । तिनभाई छोरा गुमाएर रहेको एउटा छोरो कलिलैमा जेल परेपछि राजनीतिक रुपमा कम सचेत परिवारका अभिभावकलाई पर्ने पिर र चिन्ताको के हिसाब हुनु ? त्यसमाथि जोरीपारीका बचन अनेक हुने नै भए । तैपनि वहाँहरुले त्यसलाई सहन गर्नुभयो ।

२०४३ को आखिरिमा भएको गाउँ पञ्चायको चुनावमा मैले नै प्रेरित गरेर लिलाधर दाइलाई नेकपा मालेको योजनामा जनपक्षीय उमेद्वारका रुपमा उपप्रधानपञ्चमा खडा हुन मनाएँ । स्थानीय निर्वाचनका दाउपेचमा म पोख्त भइसकेकै थिइन । थोरै मतले वहाँ पराजित हुनुभयो । त्यसपछि वहाँ सँधै नेकपा माले र एमालेको पक्षमा मतदाता र शुभचिन्तकका रुपमा सक्रिय रहनु भयो । एमालेले वहाँलाई पार्टी सदस्यता दिएको रहेनछ अहिलेसम्म । मलाई मेरै आमाको बारेमा पनि एउटा अलिनो महशुस हुन्छ कि वहाँले पार्टीका नेता कार्यकर्तालाई शेल्टर दिएर, खाना दिएर, भाँडा माझैर, सम्मान र माया दिएर सहयोग गर्दा, पार्टीका पक्षमा, आन्दोलनका पक्षमा श्लोक सुनाएर प्रचार गर्दा पनि कम्युनिष्ट पार्टीको सदस्यता दिइएको रहेनछ । 

०५४ सालको गविस निर्वाचनमा भाइ आनन्द (यहाँ लिलाधरलाई दाई भन्ने मेरो बा तिरको पुस्ताको नाता, आनन्दलाई भाइ भन्ने चैं आमाहरुतिरको नाताले) गाविस अध्यक्षमा अत्यधिक मत ल्याएर विजयी भए । सम्भवतः लिलाधर दाई र भगवती सानिमाको जीवनमा सबैभन्दा खुशीको दिन त्यही थियो । त्यस अघी र पछि पनि त्यस्तो दिन सायदै वहाँहरुको जीवनमा आयो ।

बृद्धावस्थामा भने गाउँ र आफुले बनाएको थात थलो छाडेर छोराबुहारीसंगै बस्न खुदीतिर बसाई आउनु भयो । यहीँ रोगहरुसंग जुध्दै वहाँको जीवनलिला समाप्त भयो । वहाँको निधनले मलाई एउटा अभिभावक गुमाएको महशुस भएको छ । वितिसकेका यीनै खिमलाल दाई, पद्मध्वज दाई, लिलाधर दाई, लेखनाथ पौडेल (भलाम) रामचन्द्र ढुंगाना मेरो चेतनाका आरम्भिक दिनका झिल्काहरु हुन । वहाँहरुबाट मैले जीवनका पाइला चाल्न केही सिकेको छु, प्रेरित भएको छु । पद्मध्वज दाइलाई मैले उपन्यास आधा जुन मा रोहित काकाका रुपमा धेरैहदसम्म चित्रित गरेको छु । अब रोहित काका पछि अहिले लाउरे (लिलाधर) पनि विते । मलाई वहाँहरुको मृत्युसंगै आफ्नो पनि अलिकति मृत्यु भएको जस्तो लागेको छ ।

लिलाधर दाईलाई हार्दिक श्रद्धाञ्जली ! 

भगवती सानिमा, आनन्द, मिना, चन्द्रकला, राधिका दिदि र पितृ दाइसहित परिवारका सम्पूर्ण सदस्यमा हार्दीक समवेदना !


No comments:

Post a Comment