मेरी उनीलाई .......!




“ग्लोबल आइएमई बैंकको मेरी उनीलाई मुद्धती खातामा आफ्नी श्रीमतिका नाममा रकम जम्मा गरिदिनुस र उनको अनुहारमा कहिल्यै नदेखिएको खुशी अनुभव गर्नुहोस् ।” ग्लोबल आइएमई बैंकको बचत खातामा डिपोजिट जम्मा गर्न महिलाहरुलाई आकर्षित गर्ने योजनाबारेको विज्ञापनको मोटो सन्देश यस्तै छ । त्यसका लागि बनाइएको विज्ञापन टेलिभिजन, एफएम र रेडियोहरु, अनलाइनहरु, युट्युव फेसबुक जताततै बज्छ, देखिन्छ । विज्ञापनमा एउटा युवा लोग्ने घरमा प्रवेश गर्छ, पत्नी यसै ठुस्सिएको जस्ती देखिन्छे, (मलाई यी दुवै मोडल या कलाकारको नाम चैं थाहा भएन)  । पुरुष गीत गाउँदै प्रेमप्रस्ताव गर्ने सिनेम्याटिक शैलीमा घुँडा मार्छ, आशिकले आफुले मन पाराएकी तरुनीको हातमा चुम्बन गरेर प्रेमप्रस्तावका रुपमा गुलावको फुल टक्र्याएको जस्तो गरेर रु पाँच लाखको बचत जम्मा गरिदिएको प्रमाणपत्र दिन्छ । भरखर ठुस्सिएकी पत्नी बेहद खुशी देखिन्छे र पतिको छातीमा टाँसिन पुग्छे । विज्ञापनमा त्यसपछि पत्नीहरुलाई आर्थिक रुपले समृद्ध बनाउन सबैका लोग्नेहरुले यस्तो खाता खोलीदेउन भन्ने सन्देश दिने प्रयास गरिएको छ । यता हिमालयन टेलिभिजनमा कालकार माल्विका  सुब्बाले चलाउने जीवन साथी कार्यक्रमलाई पनि बैंकको उक्त खाताका नाममा प्रायोजन गरिएको छ । जीवन साथी कस्तो ? बैंकको विज्ञापनमा आउने पुरुष जस्तो कमाउने र स्त्रि जस्तो पैसा पाएपछि रमाउने जीवन साथी । 

बैंकका लागि यस्तो विज्ञापनका माध्यमबाट आफुप्रति ग्राहकलाई आकर्षित गर्नु, मानिसहरुमा बचत गर्ने बानी बसाल्नु राम्रै हो, व्यवसायीक दृष्टिले । यस्सो हेर्दा कुरा त राम्रो हो, पति पत्नी खुशी हुनु, आर्थिक भविष्य पनि सुरक्षित पार्दै जानु । तर यो विज्ञापन हेर्दा मेरो मनमा भने केही जिज्ञासाहरु उब्जीरहन्छन् । विज्ञापनमा पुरुषले कमाउने, महिला घरमा बस्ने, महिलाका लागि पनि पुरुषले बचत गरिदने र यसो गर्दा परिवार खुशी हुने सन्देश दिइएको छ । हाम्रो समाजको मनोविज्ञान निर्माण गर्ने यस्ता विज्ञापनहरुले कस्तो पुरुष र नारीलाई आदर्श मान्छ भन्ने देखाउने एउटा उदाहरण हो यो । 

यो विज्ञापनले महिलालाई पराश्रीत मानिसका रुपमा देखाउँछ । उसको स्वतन्त्र व्यक्तित्व या अस्तित्व अस्विकार गर्छ । पुरुष घर बाहिर जान्छ र कमाउँछ, महिला घर बस्छे र लोग्नेको कमाइले घर चलाउँछे । पैसा कमाउन र श्रीमतीका नाममा जम्मा गरिदिन सक्ने पुरुष आदर्श पुरुष हो । घर पुरुषको, पैसा कमाई पुरुषको, उ आफ्नो आयस्ताबाट अलिकति रकम पत्नीलाई दिन्छ र उसको अनुहारको हाँसो मुस्कान या खुशी किन्छ । पत्नी पैसा पाएकोमा दंग पर्छे र आफुलाई पतीको काखमा समर्पित गर्छे ।  यसरी जम्मा गरिदिन नसक्ने पुरुषले पत्नीलाई खुशी पार्न सक्दैन । जब पत्नी खुशी हुन्न परिवार पनि खुशी रहँदैन । समाजका पुरुष र महिला दुवैमा यसले एउटा मनोविज्ञान निर्माण गर्छ, जसलाई हाम्रो पितृसत्तात्मक समाजले पहिले देखिनै संस्कारका रुपमा लालन पालन गरेको छ कि घर र पत्नी पतिका परिश्रमबाट चल्ने, पतिको नियन्त्रणका वस्तु हुन । पति पहिलो दर्जाका हुन्छन् पत्नी दोस्रो । 

जबकी नेपालमा केही बैंकका प्रमुख कार्यकारी पदमा महिलाहरु कार्यरत छन् । उदाहरणका लागि लागि मेघा बैंकमा सिइओ महिला (श्रीमती खुँजेली) भएको बेला उनले यस्तो विज्ञापनलाई कसरी हेर्दी हुन ? हुनसक्छ बैंकको सिइओका रुपमा उनको कमाई उनको पतिको भन्दा बढी होस् । उनले पतिका नाममा बैंक खाता खोलेर पतिको प्रेम र आलिंगन खरिद गर्ने पनि योजना बनाएर विज्ञापन गर्ने भनिन भने पुरुषहरु के सोच्दा हुन ? 

विज्ञापनको यो सन्देशले महिलाहरुलाई घरबाट सार्वजनिक जीवनमा निस्केर आफ्नै योग्यताबाट कमाइ गर्ने, घर परिवार चलाउने, समाज र संस्थाहरु हाँक्ने ल्याकत सहितका अलग व्यक्तित्वका रुपमा स्विकार गर्दैन । स्वयं उक्त विज्ञापनमा मोडलिङ गर्ने महिला आफै मोडल र कलाकारका रुपमा अलग पहिचान र आफ्नो जीवन आफै चलाउन सक्ने गरि कमाइधमाई गर्ने व्यक्तित्व हुनसक्छिन् । महिलाहरु को भन्दा को कम भन्दै सार्वजनिक जीवनमा प्रतिस्पर्धामा उत्रेर पुरुषको अधिनस्थ बस्ने होइन पुरुष सरह बन्ने, घर भित्र र बाहिर आफ्ना लागि पुरुष समानको स्थान र सम्मान खोज्ने हकदारहरु हुन, अहिले सर्वत्र त्यसका लागि संघर्षरत महिलाहरु उपस्थित छन् । पुँजीवादी विकासले सामाजिक उत्पादन शक्तिलाई विस्तार गर्न महिलाहरुलाई घरबाहिर तानेर ल्याउने गरेको छ । पुरुषको कमाइले मात्र या महिलाको कमाइले मात्र सामुहिक परिवार चलाउन नसक्ने मध्यम वर्ग अहिले सामाजिक वर्गमा सबैभन्दा ठुलो संख्यामा छ । तर विज्ञापनमा यसलाई पुरै वेवास्ता गरिएको छ । 

सरासर महिलालाई अधिनस्थ राख्ने गरि ल्याइएको यो विज्ञापन अहिले सम्झनामा आएको भने नेपालको नागरिकता सम्बन्धी कानूनमा हालै गरिएको संसोधन र त्यसमा महिलालाई विभेद हुनेगरि थोपरिएको व्यवस्थाका कारणले हो । जसरी घर भित्र पत्नी माथि पतिको नियन्त्रण हुन्छ त्यसरी नै देशका समग्र नारीहरुमाथि पुरुषहरुको नियन्त्रण हुनुपर्छ भन्ने मान्यता अहिलेको नागरिकता सम्बन्धी कानूनले गर्छ । देश पुरुषको हो । पुरुषको खटनपटनमा महिलाले चलेसम्म तिनीहरु यहाँ बस्न योग्य हुन्छन् अन्यथा तिनले देश दावी गर्न पाउन्नन । पुरुषले विदेशी महिलासंग वैवाहिक सम्बन्ध राख्न र उसंग जन्मेका सन्तानलाई नेपाली नागरिकता दिन सहजै पाउँछ तर महिलाले विदेशी पुरुषसंग विहे गरेपछि सकियो, उसको लोग्ने यता आएर नागरिकता पनि पाउँदैन, उसंगबाट जन्मेका सन्तानले बाउको बारेमा था छैन भनेपछि मात्र नेपालमा नागरिकता पाउँछन् त्यो पनि जन्मेदेखि नै नेपालमा बसेको हुनुपर्छ । आमाका नाममा वंशजको आधारमा नेपाली नागरिकता छ तर विदेशीसंग विहे गरेकोले उसका सन्तानले वंशजको नागरिकता पाउन सक्दैनन् । तर पुरुषका हकमा यो लागु हुँदैन, उसले विदेशबाट कुनै महिलाबाट सन्तान प्राप्त गरी नेपाल ल्यायो भनेपनि सहजै वंशजका आधारमा आफ्ना सन्तानलाई नागरिकता दिन सक्छ ।

महिलालाई अधिनस्थ राख्ने यो अपमानजनक नागकिरता सम्बन्धी कानुन हाम्रो संसदले पास गरेको हो । झिनो मसिनो रुपमा यसका विपक्षमा स्वर उठाइएको भएपनि त्यसलाई सरकार र संसदले सुनेन । यस्तो कानुन बनाउन संसदमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतका सबै दलका महिला पुरुष जिम्मेवार छन् । वामपन्थी र उदारवादी सबै सहमत छन् । राजनीतिक वृत्तभित्र यसमा विमती देखिएको चैं नेपाली पुरुषसंग विहे गर्ने महिलाले विहेको लगत्तै उताको नागरिकता त्यागेपछि यताको नागरिकता पाउने छन् भन्ने प्रावधानमा हो । यस्तो विरोध संविधानले महिला र पुरुषलाई समान मानेकोले नेपाली नागरिकसंग विहे गर्ने विदेशी महिला या पुरुष दुवैको हकमा समान व्यवहार गरियोस भन्ने मनसायले आएको छैन । बरु नेपालका धेरै पुरुषले भारतीय महिलासंग विहे गर्छन् र त्यसरी आउने भारतीय महिला र तिनका सन्तानले नेपाल ढाकेर नेपाललाई सिक्किम या फिजी बनाउँछन् भन्ने काल्पनिकिमा आधारित छ । जबकी नेपालमा नागरिकता वितरण हुन थालेको ७० वर्ष यताको इतिहासले यसलाई स्वतः खण्डन गर्छ ।

यता नागरिकता सम्बन्धी यो व्यवस्थाले नेपालमै जन्मे हुर्केकी कुनै महिलाले नेपाली पुरुषसंग जन्माएको सन्तान बाबुको पहिचान विना नेपाली नागरिक बन्न लोग्ने या बाबु पत्ता नलागेको घोषणा गर्नुपर्ने भनेको छ । अर्थात कुनै महिलाले आफ्नो गर्भासयमा हुर्केको सन्तानको बाबु को हो भन्ने जानकारी छैन भन्ने वकपत्र जिल्ला प्रशासनमा दर्ज गरेपछि मात्र उनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउँछन् । पुरुषका हकमा यो व्यवस्था छैन । यसरी पनि कानूनले महिलालाई पुरुष अधिनस्थ बनाएको छ । जसरी घर पुरुषको हो, पत्नी पुरुषको अधिनस्थ हो भन्ने आम पितृसत्तात्मक व्यवस्था छ त्यसरी नै नेपालको नागरिकता सम्बन्धी कानुनले देश पुरुषको हो, नेपाली पुरुषको अधिनस्थता स्विकार नगर्ने महिला, नेपाली पुरुषसंग विहे नगर्ने नेपालकै छोरी र उसका सन्तान नेपाली हुन सक्दैनन् भन्ने भाष्य स्थापित गरेको छ । पुरुषको लिंग र विर्यलाई देश या राष्ट्रको जिनेटिक आधार मान्ने यो राष्ट्रवाद नेपालको कन्जर्भेटिभ, लिवरल र लेफ्ट भनिने तिनैथरी राजनीतिक शक्तिको वैचारिक स्रोत बनेको छ । विभेदलाई निरन्तरता दिने संविधान तिनै थरी शक्तिको साझा दस्तावेज हो र अहिलेको कानुन पनि सबैको साझा प्रतिवद्धता हो । पञ्चायतकालबाट स्थापित पहाडे राष्ट्रवादको भद्धा नक्कल गरिएको यो कानुन आफैमा विभेदकारी सिद्धान्तमा आधारित छ । 

महिलाहरु घरभित्र पनि र बाहिर पनि स्वतन्त्र हुन सक्दैनन् भन्ने वैचारिकता मेरी उनीलाई .... भन्ने विज्ञापनमा स्थापित गर्न खोजिए जस्तै वर्तमान नागरिकता सम्बन्धी कानुनले त्यसलाई थप जटिल बनाएर व्यवस्थापन गरेको छ । महिला शरिर र यौनिकता, तथा उसको स्वतन्त्र व्यक्तित्वमाथिको यो बन्देज ढिलो चाँडो भत्किने छ, तर त्यस अघि हामीकहाँको राजनीतिक नेतृत्वको दिमागमा लागेको पितृसत्ताको खिया घोटेर फाल्नुपर्ने छ ।

Comments

Popular posts from this blog

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.

these Photos were taken in Qinghai lake China last year.