कोरोनापछिको शहरी गरिबी
राजकपुर देखि जोया अख्तरसम्म लकडाउनका समयमा घर बस्दा यसपटक केही नयाँ पुराना हिन्दी सिनेमा हेरियो । सन् १९५५ मा बनेका पुराना देखि २०२० मा रिलिज भएको इरफान खानको पछिल्लो सिनेमा अंग्रेजी मेडियमसम्म । १९५५ मा बनेको राजकपुरको सिनेमा श्री ४२० गाउँबाट बम्बै पुगेर संघर्ष गरिरहेको युवाका रुपमा राजकपुरका दिनहरुको वरपर घुमेको छ । सिनेमाको गित मेरा जुता है जापानी ... फिर भि दिल है हिन्दुस्तानी निकै लोकप्रिय थियो । कथामा बम्बैमा आफ्नो घर नभएका, अरुका घरमा डेरा लिएर या वेघर भएर सडक छेउ बसोवास गर्दै संघर्ष गरिरहेका अनेक मानिसहरु छन । उनीहरुलाई घर दिने सपना देखाएर करोडौं कमाउने धन्दामा रहेका ठगहरुको खेल छ । तर झुपडपट्टीका विस्तारित चित्र छैनन । अर्थात बम्वैमा गरिबी त छ तर सुकुम्वासीहरुका ठुला सिमान्त वस्तीहरु बसिसकेका छैनन । स्लमडग मिलियनियर २००८ मा बनेको र एकेडेमी अवार्ड जितेको सिनेमा दोहोर्याएर हेरियो । यहाँसम्म आईपुग्दा अर्थात श्री ४२० बनेको ५५ बर्ष पछि बम्बैको जुहु या धरावी जस्ता झुपडपट्टीहरु बनेका छन जहाँ अत्यन्त साँघुरो इलाकामा लाखौं मानिसहरु बसोवास गर्छन जो भारतका कुनाकुनाबाट यहाँ जीविका...