प्रश्नले ढलेको गान्धीको सालिक
दुनियाँमा मानिसले प्रश्न नगर्दा हुन् त स्थापित ‘न्यारेटिभ’हरूको विपठन हुने नै थिएन । जे भनिएको छ, जे मानिआइएको छ, त्यसैका पछि मानिस कुदिरहन्थ्यो, ठीक–बेठीकको खोजी हुन्नथ्यो । सत्य पनि स्वघोषित रहन्थ्यो, पुष्टि गर्ने लेठो गरिरहनुपर्दैनथ्यो । प्रश्न गरिएकैले हामी पुराना वैचारिक सांस्कृतिक मूल्य विघटन गर्दै नयाँ मूल्य प्रणाली अँगाल्छौँ । स्थापित सत्तारुढ विचारधारा ढल्छन् र नयाँ ठडिन्छन् । हरेक नयाँ विचार सत्तारुढ हुनासाथ त्यसले संरचनामार्फत आफ्नो नित्यता स्थापित गर्ने प्रयास गर्छ । समयक्रममा यो आफैँ प्रतिगामी बन्छ र प्रश्नहरूको कठघरामा उभिएर इतिहासको कोर्रा खान्छ र ढल्छ । परिवर्तन मात्र निरन्तर हुन्छ । बाँकी सब अनित्य । यो नियम व्यक्ति, इतिहास, संस्कृति र संस्कार अनि राजनीतिका अनेक विचारमा उत्तिकै लागू हुन्छ । यतिवेला चर्चा भने मोहनदास करमचन्द (महात्मा) गान्धीको गर्न लागिएको हो । घानाको विश्वविद्यालयबाट गान्धीको सालिक भर्खरै ढालिएको छ, जसलाई पूर्वभारतीय राष्ट्रपति प्रणव मुखर्जीले दुई वर्षअघि मात्र अनावरण गरेका थिए । बीसौँ शताब्दीका विलक्षण प्रतिभा, भारतीय स्वतन्त्रत...