Tuesday, October 9, 2018

सामाकोसी, बगरमल, ढुंगेघट्टा !

आइतबारको साँझतिर सामाखुसी चोकबाट कलंकी जान म चढेको महानगर यातायातको बस सितापाइला चोकभन्दा केही तल गएपछि रोकियो । जाम कलंकीसम्म तन्केको थियो । धुलोले भरिएको सडकमा गाडीबाट निस्कने तातो र कालो धुँवासमेत मिसिँदा हिँड्न मुस्किल पर्ने नै भयो ।
घरबाट निस्कने वेला खोज्दा–खोज्दा मास्क नभेटिएपछि आफ्नो अनुहारमा कोर्को लगाउन पनि पाएको थिइनँ । तैपनि, लामो जाममा पर्खिरहनुभन्दा कलंकीचोकबाट बस बदल्नैपर्ने भएकाले म बसबाट झरेर पैदल तन्किएँ ।

सडकको देब्रे किनारमा सयौँ यात्रु बस कुरेर बसिरहेका थिए । तिनीहरू धरैजसो काठमाडाैंबाट बाहिरिने बसको पर्खाइमा थिए । तिनका अनुहारमा दसैँ आगमनको एउटा संकेत देखिन्थ्यो । र, त्यहाँ सिंगो नेपालको एउटा चित्र देखिन्थ्यो अनुहारमा, बोलिचालीमा र भिन्न–भिन्न गन्तव्यको पर्खाइमा ।
कतार, सउदी र मलेसियाबाट आउनेहरू आफ्ना कसेर बाँधिएका सुटकेसमा नाम र ठेगाना लेखिएका कागज टाँसेरै समातेर उभिएका र अलमलिएका । तिनलाई लक्षित गरेर सडकमा मकै पोल्ने, चिया पकाउने, पकौडा या मःम या घडी, पेटी, मोबाइलको खोल, पानी, कपडा, यौनजन्य सामग्री भएका पत्रपत्रिका या राशिफल भएका पुस्तक र काँक्रा बेच्नेहरू सक्रिय थिए ।
बसका सहचालक र कन्डक्टरका भद्दा अश्लील संवाद चालू थिए । म लस्किँदै कलंकी चोकमा पुग्दा साँझ पर्न लागेको थियो । गाईका खुरले उडाउने धुलो भए गोधुली साँझ भन्न मिल्थ्यो, गाडीको टायरले उडाउनेलाई गाडीधुली भन्ने कि के भन्नुपर्ने
हो कुन्नि ? नैकाप, सतुंगल, मच्छेगाउँ…! ओ नैकाप… सतुंगल…! कलंकी मन्दिरबाट नागढुंगातिर थुतुनो फर्काएर बसेको बसको ढोकामा सहचालक चिच्याइरहेको थियो । बस यात्रुले ठसाठस भरिएको थियो। झुन्डिएरै भए पनि जानैपर्‍यो भन्दै म अलि बल गरेर बस चढेँ । बाहिरबाट यात्रु थपिँदै थिए । ओ दिदी अलि पछि जानु न… ।
ओ अंकल थोरै उता फर्किनु त । तपार्इंको गोडा अलि पछि सार्नुस् त… ! सहचालक कम कन्डक्टर एकोहोरो कराइरहेको थियो । भित्र पस्न पाउँदा युद्ध जितेजस्तो लाग्ने बसमा प्रवेश गरिसकेपछि यात्रु पनि आफूलाई सुविधा खोज्दै सहचालकलाई गाली गरिरहेका हुन्थे । केही बेरमा बस चल्यो र ढुंगेअड्डाको उकालोतिर लाग्यो । ओइ, ढुंगेघट्टा छ…? ढुंगेघट्टा तिनथाना
छ… ? सहचालकले ढोकामा झुन्डिएरै बसभित्र टाउको घुसारेर भन्यो । ढुंगेघट्टा होइन, यता ढुंगेअड्डा मात्र छ । तर, सहचालक चिच्याई–चिच्याई सुनाइरहेको थियो… ढुंगेघट्टा, तिनथाना … । एकजना अधबैंसे यात्रुले हाँस्दै उसलाई सम्झायो, ढुंगेघट्टा होइन भाइ, ढुंगेअड्डा भन न । तर, सहचालकले नसुनेझैँ फेरि उहि कुरा दोहोर्‍यायो… ढुंगेघट्टा छ ?
त्यसै दिन बिहान एनएसी अगाडिबाट टोखा जाने माइक्रोमा चढेपछि सहचालकले लगातार चिच्याएको सुनेको थिएँ– ओई ठमेल…, सामाकोसी… गिरान्डी हस्पताल । रानीबारी…, सामाकोसी…, हाउजिङ, टोखा… ! सामाखुसीलाई सामाकोसी भनेर बस, माइक्रोबसका चालक या कन्डक्टरले मात्र भनिरहने होइनन्, कतिपय बसमा या घरमा टाँगिएका बोर्डमा पनि सामाखुसी होइन, सामाकोसी नै लेखेको पाइन्छ ।
केही वर्षपहिले म बबरमहल बस्थेँ । रत्नपार्कबाट कहिलेकाहीँ बसमा यात्रा गर्नुपर्‍यो भने कन्डक्टरले ओ बगरमल…, बानेश्वर…, यारपोट । बगरमल बानेश्वर यारपोट… ! भनेर चिच्याएको सुनिरहन्थेँ ।
दश वर्षपहिले, अहिले म बसेको बस्तीबाट उत्तरतिर हेर्दा गुर्जुधारा र सतुंगलजस्ता केही ठाउँबाहेक बस्ती पातलो थियो । अहिले साँझ निस्केर बत्तीको झिलिमिली हेर्‍यो भने आफैँलाई आश्चर्य लाग्छ, यहाँ भएको बस्ती विस्तारको गतिशीलता देखेर । यो अवस्था काठमाडाैं उपत्यकाका सबै काँठमा छ ।
यी बस्तीको विस्तार दाजुभाइ छुट्टिएर बन्ने परम्परागत बस्तीको जस्तो आधारमा भएको होइन । देशभरबाट ओइरिएका नेपालीको एउटा मेल्टिङ पट जस्तो बन्दै गएर विस्तार भएको हो । आर्थिक नियमहरू यसमा पनि लागू हुन्छन् । पहिले–पहिले आउनेले रिंगरोडभित्र घडेरी किने, घर बनाए । त्यता महँगिँदै गएपछि बिस्तारै रिंगरोडबाहिरका नजिक–नजिकका ठाउँ ओगटे । अब रिंगरोडबाट पाँच–सात किमिसम्म बस्ती बाक्लिँदै गएको छ ।
विस्तारित हुँदै गएको छ । यसरी विस्तार हुँदा काठमाडाैंवासीको फरक तर समरुपी संस्कृतिको निर्माण हुने क्रम पनि बढेको छ । परम्परागत काठमाडौंवासीले बाहिरबाट आएर हुलका हुल बसोवास गर्ने यी नयाँ बासिन्दासँग अन्तक्रिया गरेर नयाँ सस्कृतिसँग एकाकार हुँदै छन् ।
बाहिरबाट आउनेले भने नेवारी खाना र खाजा खाने कुरामा बाहेक स्थानीय नेवारी संस्कृति र भाषासँग कमै एकाकार गरेका छन् । परम्परागत काँठका मानिसको सहरसँगको तीव्र अन्तक्र्रिया भएको छ ।

बाहिरबाट अनेक भाषा, संस्कृति, संस्कार, भूगोल र समाजसँग साक्षात्कार गरी हुर्केर आउनेहरूले तामाकोसी सहजै बुझे तर सामाखुसी बुझेनन् । तिनले सामाखुसीलाई सामाकोसी बनाए । कुनै पहाडी गाउँबाट आउने केटो यता सहचालक त भयो तर ढुंगो बुझ्यो अड्डा बुझेन । उसले ढुंगो र अड्डाको तालमेल केही बुझेन, ढुंगो र घट्टको सम्बन्ध भने गज्जबले उसको दिमागमा प्रतिबिम्बित भयो र भन्यो— ढुंगेघट्टा ।
त्यस्तै ठाउँबाट सहर झरेर सबैभन्दा हेपिनेमध्येको एउटा पेसामा लागेको अर्को ठिटोले बगर बुझ्यो । मल बुझ्यो । बबर पनि बुझेन । महल झन् बुझेन । उसले आफँैसँग संवाद गर्‍यो र निष्कर्ष निकाल्यो । बगर त खोला किनार हो, सहजै बुझिने ।
हाम्रा पहाडी खोला किनारका बस्तीहरूमा खोलाखेत या बगरका नाममा खेतहरू हुन्छन् । अनि त्यो बगरको खेतमा मल पनि हालिन्छ । बगर र मलको सम्बन्ध त यसरी उसको दिमागमा सहजै घुस्यो । न बबर कहिल्यै सुनेको न महल । अनि बन्यो– बगरमल ।
काठमाडाैं समरुपी हुने प्रयासमा छ । केही वर्ष बसेपछि पूर्व र पश्चिमबाट आउने नेपालीबीच, खस नेपाली र डोट्याल बोल्नेबीच, कर्णालीको खस भाषा र झापाको खस भाषा बोल्नेबीच एउटा साझा मापदण्डको, स्कुले मापदण्डको, साहित्यले निर्माण गर्ने साझा मापदण्डको भाषामा संवाद हुन्छ ।
यही मापदण्डमा तामाङ, शेर्पा, नेवार, मधेसी, थारू, राई, लिम्बू, मगर सबैसबै मिसिँदै गएका छन् । तिनले एउटा राष्ट्रिय भाषिक मापदण्ड तयार गरिरहेका छन् । पूर्वतिरकाले ल्याएको हाउ ! यता आएर साझा भएको छ । डोट्यालबाट डेउडा हुँदै यता पसेको झ्याम्मझ्याम्म पनि साझा भएको छ । तर, सुदूरपश्चिमेली दुईजनाबीच मात्र हुने संवाद डोट्यालमै हुन्छ । हुँदै छ ।

हिजोअस्ति जितिया पर्व काठमाडौंमा पनि मनाइयो । देशभरका विभिन्न जातिका जातीय संस्कृति झल्किने कार्यक्रम भइरहन्छन् । यताकाले यसलाई विजातीय संस्कृति भनेर हेला गरेका छैनन्, बरु त्यसमा कतै न कतै सामेल हुने प्रयास गरिरहेका छन् । अर्थात् काठमाडौं धनसम्पत्ति, सत्ता र कलाको मात्र केन्द्र बनिरहेको होइन, यसले एउटा नयाँ नेपाल निर्माण पनि गरिरहेको छ ।एउटा सार्वजनिक स्थलमा एउटा मात्र भाषा प्रायः सुनिन्न । त्यहाँ कोही न कोही मैथली, भोजपुरी, अवधी, कर्णालीको खस, नेवारी, तामाङ, लिम्बू, राईका अनेकथरी, गुरुङ, शेर्पा, हिन्दी या खस नेपाली भाषामा बोलिरहेको हुन सक्छ । कुनै पनि बसमा एउटा मात्र भाषामा संवाद भएको भेट्न मुस्किलै पर्छ। कोही न कोही फरक भषामा मज्जाले संवाद गरिरहेको हुन्छ । यस्तो संवाद कहिलेकाहीँ चालक र अपरिचित यात्रुबीच पनि हुन्छ ।
यस्तो नेपाल, जहाँ सबै जाति र क्षेत्रका मानिस समान ढंगले सोच्छन् र एक–आपसमा अन्तत्र्रिmया गर्छन् । यसअघि गोर्खा भर्ती र भारतीय सहरमा काम गर्न जाने नेपालीले विस्तारमा सम्बन्ध स्थापित गरेका थिए । अहिले खाडी मुलुक र मलेसियालगायत देशमा काम गर्न जाने श्रमिक वर्गले पनि यही स्तरको अन्तरघुलन गरिरहेको छ । त्यसले एउटा नयाँ तर समरुपी नेपालको निर्माण गर्दै गएको छ ।
अल्पसंख्यकले बनेको नेपालको बहुसंस्कृतियुक्त विशेषता धान्न पछिल्लो समय बजारले साथ दिन थालेको छ । बजारले सबैका लागि दसैँ ल्याउँछ, तिहार र छठ, ल्होसार, माघे संक्रान्ति, होली, शिवरात्रि र तिज अनिवार्य बनाएको छ । इदलाई सहज र आफ्नो बनाउन सहयोग गरेको छ ।
राज्य र सत्ताका कतिपय अर्थराजनीतिक स्वार्थले पनि समरुपीकरण र परम्पराको अस्तित्वलाई समानान्तर रूपमा लैजान सहयोग गरेका छन् । काठमाडौंमा भइरहेको यो परिवर्तन सार्वजनिक बस, माइक्रो या टेम्पोमा चढ्दा सहज रूपम अनुभव गर्न सकिन्छ ।
यो त सब राम्रो हो, तर यसमा एउटै समस्या देखिन्छ– समरुपीकरणले अन्ततोगत्वा बजारसत्ता र राज्यसत्ताले चाहेको सांस्कृतिक भाष्य निर्माण हुन्छ । र, ससाना समूह या वृत्तमा निर्मित सांस्कृतिक परम्परा, भाषा, र संस्कृति सीमान्तीकरणमा पर्छन् । विलीन हुने जोखिममा पर्छन् ।
सामाखुसीहरू सामाकोसी बन्दै जान्छन्, लगिन्छन् । नयाँ नेपाली ‘आइडेन्टिटी’ बन्दै गर्दा सयौँ अरू ‘नेपाली’ आइडेन्टिटी बिलाउँदै जान्छन् । मान्ने हो भने यो एउटा जोखिम हो ।
18 Asoj, 2075, Nayapatrika

No comments:

Post a Comment