Sunday, December 30, 2018

प्रश्नले ढलेको गान्धीको सालिक

दुनियाँमा मानिसले प्रश्न नगर्दा हुन् त स्थापित ‘न्यारेटिभ’हरूको विपठन हुने नै थिएन । जे भनिएको छ, जे मानिआइएको छ, त्यसैका पछि मानिस कुदिरहन्थ्यो, ठीक–बेठीकको खोजी हुन्नथ्यो । सत्य पनि स्वघोषित रहन्थ्यो, पुष्टि गर्ने लेठो गरिरहनुपर्दैनथ्यो । प्रश्न गरिएकैले हामी पुराना वैचारिक सांस्कृतिक मूल्य विघटन गर्दै नयाँ मूल्य प्रणाली अँगाल्छौँ । स्थापित सत्तारुढ विचारधारा ढल्छन् र  नयाँ ठडिन्छन् । 
हरेक नयाँ विचार सत्तारुढ हुनासाथ त्यसले संरचनामार्फत आफ्नो नित्यता स्थापित गर्ने प्रयास गर्छ । समयक्रममा यो आफैँ प्रतिगामी बन्छ र प्रश्नहरूको कठघरामा उभिएर इतिहासको कोर्रा खान्छ र ढल्छ । परिवर्तन मात्र निरन्तर हुन्छ । बाँकी सब अनित्य । यो नियम व्यक्ति, इतिहास, संस्कृति र संस्कार अनि राजनीतिका अनेक विचारमा उत्तिकै लागू हुन्छ । 
यतिवेला चर्चा भने मोहनदास करमचन्द (महात्मा) गान्धीको गर्न लागिएको हो । घानाको विश्वविद्यालयबाट गान्धीको सालिक भर्खरै ढालिएको छ, जसलाई पूर्वभारतीय राष्ट्रपति प्रणव मुखर्जीले दुई वर्षअघि मात्र अनावरण गरेका थिए । बीसौँ शताब्दीका विलक्षण प्रतिभा, भारतीय स्वतन्त्रता संग्रामका शिखर नेता र शान्तिवादी गान्धीलाई यतिवेला आएर घोर जातिवादी रहेको आरोप मज्जाले लागेको छ । उनको जुन बिम्ब निर्माण गरेर, उनको नाम र विचारको प्रयोग गरेर, जेजस्ता वैचारिक सत्ता स्थापित गर्ने प्रयास गरिएको थियो, त्यो खण्डित भएको छ । त्यो पनि उनको मृत्युको ७० वर्षपछि र उनको १५०औँ जन्मजयन्ती मनाउने तयारी चलिरहेका वेला । 
मोहनदासबाट महात्मा भएका गान्धीलाई स्वयं नेल्सन मन्डेला आफ्ना आदर्श मान्थे । उनलाई उपनिवेशवादविरोधी आन्दोलनको बिम्ब मानिन्थ्यो । जसको जयगानमा सयौँ पुस्तक लेखिएका छन् । हजारौँ दस्ताबेज बनेका छन् । उनलाई उज्यालो देखाउन र शान्तिका सम्बन्धमा गौतम बुद्धको समानान्तर बीसौँ शताब्दीका पुरुष बनाउन उनका कमजोरी छोप्ने र राम्रा कुराको बढाइचढाइ प्रचार गर्ने विशाल भारतीय राज्य संयन्त्रको प्रयास हालै दक्षिण अफ्रिकाका अनुसन्धाताले गरेको प्रतिवादपछि नराम्रोसँग पछारिएको छ । 
यसबाट गान्धीले आफ्नो मृत्युको ७० वर्षपछि आफ्नाबारे उठेका प्रश्नको जवाफ दिँदै हिँड्नुपरेको छ । एक समय सम्मानसाथ अफ्रिकाभरि लिइने उनको नाम अब घृणा मिसाएर लिन थालिएको छ । यसको एउटा मात्र कारण हो, उनी ४० वर्षको उमेरसम्म पनि, अर्थात् भारत आएर स्वतन्त्रताको संघर्षको नेता बन्न थाल्नुपहिलेसम्म पनि आफूसहित भारतीयलाई ब्रिटिस गोरा शासकभन्दा तल्लोस्तरको स्वीकार गर्न तयार थिए । तर, अफ्रिकी जातिका काला मानिसभन्दा चाहिँ आफ्नो हिन्दू आर्य पहिचानलाई विशिष्ट मान्ने गर्थे । काला जातिका अफ्रिकीमाथि उनले गरेको विभेदका प्रसंग छोपेर बनाइएको इतिहास यतिवेला उनको सालिकसँगै ढलेको छ । 
यसको अर्थ गान्धीले भारतीय स्वतन्त्रता संघर्षमा खेलको भूमिका र पछि हिन्दू–मुस्लिम दंगा नहोस् भनेर गरेका अनेक प्रयास पनि गलत थिए भन्नेचाहिँ लाग्दैन । यत्ति अर्थ लाग्छ, उनी कुनै महात्मा पनि थिएनन्, इतिहासमा साबित गर्न खोजिएजस्तो विवादरहित ज्ञानी पनि थिएनन् । इतिहासमा उनले अघि सारेको विकाससम्बन्धी मोडल त कसैले नपछ्याएकाले यसै पनि असफल भयो । अहिले आएर उनका अभिव्यक्तिलाई नै आधार बनाएर अफ्रिकी जातिले जेजस्तो प्रतिक्रिया देखाइरहेका छन् त्यसले उनको ‘लार्जर देन लाइफ’ साइजको इतिहासलाई ठिक्क आकारमा झार्ने र उनलाई उनको भूमिकाका आधारमा मूल्यांकन गर्ने प्रयास भएको छ । 
यहीँनेर सत्ताले स्थापित गर्ने या इतिहासमा सत्तारुढ हुन नपाए पनि विभिन्न विचार समूह या शक्तिले स्थापित गर्ने व्यक्ति र संस्थाको व्यक्तित्वको परख जे–जे स्थापित छ, त्यसैलाई स्वीकार गरेर पूर्ण हुँदैन भन्ने शिक्षा प्राप्त हुन्छ । केही महिनाअघि मात्र अमेरिकी स्वतन्त्रता संघर्षका एक विशिष्ट नेता तथा विश्वभर उदारवादी राजनीतिक कार्यक्रमका आदर्श मानिने अमेरिकी स्वतन्त्रताको घोषणापत्र तथा संविधानका एकजना लेखक थोमस जेफर्सनको भर्जिनिया विश्वविद्यालयमा रहेको सालिकमा कालो पोतिएको थियो ।
 उनले एकातिर मानिसलाई सम्पूर्ण रूपमा समान मानिनेछ भन्ने आदर्शलाई अघि सारेका थिए र सबै प्रकारका दासत्वका विरोधी थिए, अर्कातिर उनैले सयौँ काला जातिका अफ्रिकीलाई दासका रूपमा काममा लगाइरहेका थिए । भनिन्छ, उनको जीवनकालमा उनले ६ सयजनालाई दास बनाएर कजाएका थिए । दुई सय पचास वर्षअघिदेखि निर्विवाद छविका आदर्श मानिएका जेफर्सनको सालिकमाथि अहिले आएर कालो पोतिनु पनि इतिहासका स्थापित बिम्बको विपठन, सत्ताले स्थापित गरेका आदर्शका मानक र बिम्बमाथिको प्रश्न र इतिहासले दिन खोजेको जवाफ दिनु हो । मलाई यी दुवै घटनामा विश्वविद्यालयका विद्यार्थी र प्रोफेसर सामेल भएको देखेरचाहिँ खुसी लागेको छ । इतिहासले स्थापित गरेका सत्य र वर्तमानले जबर्जस्त रूपमा थोपरिरहेका सत्यमाथि प्रश्न उठाउनुपर्ने पहिलो जिम्मेवारी पनि त तिनैको हो ।
यता नेपालमा लामो सयमदेखि स्थापित वैचारिकतामाथि प्रश्न उठिरहेका छन् । नयाँ वैचारिक मूल्य स्थापना र विकास गर्नुपर्ने ठाउँमा पुगेपछि नवस्थापित सत्ताका प्रतिनिधिसमेत नयाँ सांस्कृतिक र वैचारिक मूल्य स्थापना गर्नमा भन्दा परम्परागत मूल्य र विचार तथा त्यसलाई स्थापित गर्न इतिहासमा जबर्जस्ती घुसेका पात्रको बाटो पछ्याउनमा गर्व गर्न थालेजस्ता देखिन्छन् । हालै यस्तै एउटा प्रवृत्तिमाथि असहमति जनाउँदै चिन्तक तथा अभियन्ता डा. देवेन्द्रराज पाण्डेले नयाँ पत्रिकासँगको कुराकानीमा केही तथ्यसहित प्रश्न उठाएका छन् । महेन्द्रले स्थापित गरेको निरंकुश सत्ताको राजनीतिक मूल्य उजिल्याउन भइरहेका प्रयासमाथि उनको प्रभावकारी हस्तक्षेप पनि थियो यसमा । 
अघिल्लो दशकमा नेपालमा भएका उथलपुथल स्थापित राजनीतिक वैचारिकतामाथिको प्रश्नका जगमा उठेका लहरका उत्पादन थिए । एकातिर नेपालले सामन्ती शासकले स्थापित गरेको वैचारिक सत्तामाथि धाबा बोलेर आधुनिक र प्रगतिशील वैचारिकतासहितको राज्य निर्माणको प्रयास गरेको थियो भने अर्कातिर स्थापित वैचरिकीले निर्माण गरेको राष्ट्रको परिभाषा, राष्ट्रियताको अर्थको विनिर्माण गर्दै राष्ट्र र राष्ट्रियता भनेको देशभित्र बसोवास गर्ने भिन्न सांस्कृतिक तथा जातीय समुदायको सामूहिक स्वामित्व अनुभूत हुने समानतामा आधारित राज्य र समाज निर्माणको प्रक्रिया हो भन्ने नयाँ वैचारिक मूल्यलाई स्थापित गर्ने प्रयासस्वरूप नै देशमा आन्दोलन उठेका हुन् । आन्दोलनले पूर्ण रूपमा नयाँ वैचारिक सत्ता स्थापित गर्न नसकेको सत्य हो । यसैले प्रश्नहरू उठिरहनुपर्छ र निरन्तर वैचारिक प्रतिरोध गरिरहनु आवश्यक हुन्छ । इतिहासका बिम्बहरूको अनुहारमा दलिएको पोतो पखाल्ने प्रयास भइरहेको देखिनु यतिवेलाको दुःखद वास्तविकता हो । यस्तो प्रयास अरूलाई होच्याएर आफू अग्लो देखिन खोज्ने राजनीतिक नेतृत्वबाट जनताको प्रश्नको उत्तर दिनबाट भाग्ने प्रपञ्चका तहत आएको अनुमान गर्न सकिन्छ ।  यस्तो लाग्छ, यो पंक्तिलाई आफ्नो शक्ति र सत्यापनको प्रमाण आफैँ र आफ्ना व्यवहारबाट सावित गर्न नसकेर रछ्यानमा फालिएका बिम्बहरूको मुखुन्डो झिकेर लगाउनुपरिरहेको छ । महेन्द्रको समग्र राजनीतिक परियोजनाले पु-याएको क्षतिको कुरा नगरी खस पहाडे राष्ट्रवादका हितअनुकूल उनको पूजा गरिने काम यस्तै मुखुन्डो लगाउने प्रयासका रूपमा लिनुपर्ने हुन्छ ।
जसरी मृत्युको एक सय ९२ वर्षपछि थोमस जेफर्सन इतिहासका प्रश्नको जवाफ दिँदै आफ्नो कालो पोतिएको अनुहारसहित कठघरामा उभिएका छन्, जसरी मृत्युको ७० वर्षपछि गान्धीका सालिकहरू उनको वैचारिकीमाथि उठेका प्रश्नका कारण ढालिँदै छन्, त्यसरी नै अहिले सत्तासीन हुनेहरूले पनि इतिहासमा जवाफ दिनुपर्ने तथ्य बिर्सिनु हुन्न । निरन्तर प्रश्नहरू उठ्न दिनु, उठेका प्रश्नको जवाफ दिनु र आफ्ना वचन र व्यवहारलाई आउने इतिहासले उठाउन सक्ने प्रश्नको उत्तर दिन सक्ने गरी परिमार्जन गर्दै जानु आवश्यक छ । 
अन्यथा हामीले अहिले हाम्रो इतिहास र वर्तमानमाथि उठाइरहेका प्रश्नले जसरी विगतको नेतृत्वको बिम्ब र विचारको विपठन गर्दै इतिहासलाई गतिशीलता प्रदान गरेका छन्, त्यस्तो स्थितिको सामना अहिलेको सत्तारुढ समूहले, अहिलेको वैचारिकी निर्माणमा प्रयासरत पक्षहरूले दिइरहनुपर्नेछ । अहिलेको नेकपा र कांग्रेसको नेतृत्व यसका सम्बन्धमा जति सचेत हुनेछ, त्यति नै इतिहासको गति बांगोटिंगो मोड लिनबाट बच्नेछ । किनभने, प्रश्न हाम्रो पुस्ताले मात्र गर्ने होइन । नयाँ पुस्ता थप रहस्य खोतल्दै नयाँ प्रश्नको उत्पादन गर्दै सक्रिय हुनेछ । 
Nayapatrika, paush 12, 2075

No comments:

Post a Comment