Tuesday, January 31, 2017

रामप्रसाद राईको दुःखान्त

यो साता केही सांकेतिक महत्वका घटना प्रकाशित भए । भारतको तमिलनाडुमा जल्लीकट्टु अर्थात् साँढे समाउने प्रतियोगितामाथि लगाइएको रोकका विरुद्ध हिंसात्मक प्रदर्शन भयो । त्यो प्रदर्शनका क्रममा श्रीलंकाली तमिल नेता स्व. भेलुपेल्लाई प्रभाकरणलाई हिरोको रूपमा व्यक्त गर्ने पोस्टरहरू प्रदर्शित भए, तमिल स्वतन्त्रताको माग गरियो र हिन्दूवादी वर्चस्व लाद्न खोजिएको भन्दै आक्रोश व्यक्त गरियो । आर्य हिन्दू र अनार्य द्रविडबीच हजारौँ वर्षदेखि जारी संघर्षको एउटा झिल्को त्यहाँ देखियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पचासौँ लाख महिलाले अमेरिकामा र विश्वभर प्रदर्शन आयोजना गरे । यो महिला पहिचानको लडाइँ थियो ।
बहुमतमा रहेका र सत्तासिन शक्तिहरू समेत आफ्नो पहिचानको पक्षमा लागेपछि विश्वकीकरण र शक्तिशालीहरूको चेपुवामा परेका देश र जातिहरूले पहिचानको माग गर्नु र संघर्ष गर्नु अस्वाभाविक हुँदैन । यसमा जोडिन सक्छन्, बर्माको बुद्धिस्ट बहुल सत्ताबाट लखेटिँदै गरेका तर आफ्नो कुनै पुख्र्याैली थातथलोको टुंगो नभएका राखिने क्षेत्रका रोहिँगा (मुस्लिम) हरू, मेघालयमा दुई महिनादेखि आपूर्ति व्यवस्था रोकिने गरी राजमार्ग कब्जा गरेका नागा विद्रोहीहरू पनि ।
गतसाता नै लहानमा स्वतन्त्र मधेसको नारा लगाइयो र त्यसमा सम्बोधन गर्ने सिके राउतले स्वतन्त्र मधेस आन्दोलनमार्फत मधेसमा आफ्नो नेतृत्वको दाबी प्रस्तुत गरे । यी घटना सामान्य रूपमा नाकवरपर भन्कन आउने झिंगा होइनन्, जसलाई यसो हात हल्लाएर धपाउन सकियोस् । यसका ऐतिहासिक कार्यकारण सम्बन्ध छन् र त्यसलाई इतिहासका सन्दर्भ सूचीको मानकमा सम्बोधन गरिनु आवश्यक छ ।
०००
र यसै साता रामप्रसाद राईको स्मृति गर्ने तिथिमिति पर्दो रहेछ । मैले विद्यालयमा सानै कक्षादेखि नेपालको इतिहास पढेको हो, सात सालको क्रान्तिको इतिहास, सन्तान्नब्बे सालका चार सहिद, केआई सिंहको विद्रोह पढेको हो । आइएमा पनि र बिएमा पनि इतिहास पढेको हो पाठ्यक्रममा । इतिहासको विद्यार्थी भए पनि इतिहासका यी जल्दाबल्दा पात्रबारे निकै कम थाहा राख्दो रहेछु । सा“च्चै भन्ने हो भने मलाई सातसाले पात्रहरूको कुरो गर्दा कोइराला परिवारका सदस्यहरू, सुवर्णशमशेर, गणेशमान, भट्टराई, त्रिभुवन र मोहनशमशेरहरू मात्र थाहा रहेछ । अलिअलि टंकप्रसाद आचार्य र डिल्लीरमण रेग्मी, अलिअलि पुष्पलाल र मनमोहन अधिकारी, अलिअलि जीबी याक्थुम्वा र नारदमणि थुलुङ, श्रीभद्र शर्मा र जयतु संस्कृतम् । विद्यालय र कलेजमा पढेको पाठ्यक्रममा थपमा जवाहरलाल नेहरू थाहा रहेछ । अहँ रामप्रसाद राईबारे थाहा रहेनछ ।
म सम्झन्छु, ०४७ पछि पोखराको मुस्ताङ चोकमा नेकपा (माक्र्सवादी) समूहका साथीहरूको पहलमा चित्रबहादुर गुरुङको सालिक बनाउने काम हुँदै थियो । क्रान्तियोद्धा या सहिदहरू पनि दलगत हुने समय थियो । सात सालको क्रान्तिका योद्धा र पछि आएर कम्युनिस्ट नेता चित्रबहादुर गुरुङको सालिकको छेउ भएर दैनिक दशौँ हजार मानिस यात्रा गर्छन्, तर उनका बारेमा चासो राख्ने, यिनले गर्दा नेपालमा लोकतान्त्रिक व्यवस्था कायम भयो, गणतन्त्र आयो, यही लोकतन्त्रका कारणले समाजमा शिक्षाको विकास भयो, हाम्रो परिवर्तन भयो भनेर बुझ्ने र उनलाई सम्मान गर्ने त औँलामा गन्न सकिने पनि पुग्दैनन् होला । यस्तो अवस्था पोखराको अर्को चोकमा उभिएका योगेन्द्रमान शेरचनको पनि होला, लालध्वज गुरुङको पनि होला । एकदेव आलेका बारेमा पनि मैले विद्यालयका पुस्तकमा कहिल्यै पढ्न पाइनँ ।
रामप्रसाद राईको स्मृतिसभा भइरहेको हलमा खचाखच मानिस थिए । तर, त्यसमा कम्तीमा ८० प्रतिशत राईहरू नै थिए भन्ने मेरो अनुमान रह्यो । अरूलाई किन चासो नपरेको होला र राईहरू नै जम्मा हुनुपर्ने, राईहरूले नै कार्यक्रम आयोजना गर्नुपर्ने, प्रतिष्ठान चलाउनुपर्ने किन भयो होला भन्ने जिज्ञासा बोकेरै म फर्कें । कार्यक्रमका मुख्य अतिथि प्रधानमन्त्री र एमालेका प्रतिनिधि सुरेन्द्र पाण्डे अनि रामप्रसाद राईका सहयोद्धा दुईजना सम्मानित व्यक्तित्वचाहिँ गैरराई थिए । यसको सायद गम्भीर अर्थ छ नेपाली राजनीतिमा । अहिले भइरहेको पहिचानको आन्दोलनमा, आन्दोलनका कार्यकारण सम्बन्धमा । सभापतित्व रामप्रसादको परिवारका कुनै सदस्यले गरिरहेका, कवि भूपाल राई किराती कार्यक्रम सञ्चालन गरिरहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्नेमा अशोक राई थिए । र, रामप्रसादका बारेमा लेखिएको जुन पुस्तक विमोचन भएको थियो, त्यसको लेखक भोगीराज चामलिङ राई थिए ।
मलाई विश्वास छ कि कार्यक्रमको आयोजना गर्ने, त्यसमा सहभागिता जनाउनेहरूका मनमा अवश्य पनि आफ्नो पहिचानको खोजी थियो । गणतान्त्रिक नेपालमा किरातहरूको स्थानको खोजी थियो । किरात इतिहासको, भाषा, संस्कृतिको खोजीको प्रयास थियो । र इतिहास, भाषा, संस्कृतिको खोजी अवश्य पनि सत्ताको प्रश्नमा गएर ठोकिन्छ । किरातहरूको सत्ता अर्थात् सत्तामा सहभागिता र प्रतिनिधित्वको खोजी थियो । सम्भवतः रामप्रसाद राईको सम्झना, उनलाई गरिएको सम्मान, उनलाई राष्ट्रिय विभूति घोषणा गर्न गरिएको मागमा किरातहरूले आफ्नो पहिचानको बिम्ब खोजेका थिए । यसको राजनीतिक अर्थ अहिले खोजिएको तर दबाइएको पहिचानसहितको संघीयतामा मात्र भेटिने कुरा हो । हाम्रो संविधानले पहिचानलाई केही–केही स्विकार गरेको छ, अमूर्त भए पनि सत्तामा प्रतिनिधित्वलाई स्वीकार गरेको छ, तर यो मूर्त रूपमा छैन ।

किन जल्लीकट्टु प्रदर्शन हिंसात्मक भयो ? किन रोहिँगाहरू लखेटिए ? किन संघीय प्रदेशहरूको अहिलेको विभाजनमा सबैभन्दा बढी पहिचान निश्चित भएको मधेसमा उपेन्द्र यादवहरू आन्दोलनमा छन् । किन उपेन्द्र—महन्थहरूको मध्यमार्गी शक्तिको अपिल कमजोर हुँदै जाने र अतिवादी शक्तिका रूपमा सिके राउतले त्यसको स्थान लिँदै गएका छन् ? उपेन्द्र असान्दर्भिक बन्दै जाने र सिके राउतको अपिल बढ्ने अवस्थाहरू भावनात्मक मात्र हुन् कि त्यसका केही ऐतिहासिक अर्थ—राजनीतिक कारण छन् ? किन रामप्रसाद राईको सम्झना र सम्मानको खोजी बढ्दै गएको होला ? आजको नेपालले यी प्रश्नको सामना गर्न र यसका उत्तरहरूको खोजी गर्नु जरुरी छ । एकथरिले यसलाई जति दबाउन खोज्दै छन्, त्यति नै माथि उठ्न खोजेको देखिँदै छ।
रामप्रसाद राईका बारेमा भूपाल किरातीको कविता र उनका भनाईबाट मैले धेरथोर थाहा पाएको थिएँ । अहिले भने भोगीराज चामलिङले लेखेको पुस्तकबाट उजागर भएको इतिहासमा एकछिन प्रवेश गरौँ । रामप्रसाद राई २००७ सालको क्रान्तिका वेला नेपाली कांग्रेसले सशस्त्र विद्रोहका लागि गरेको अपिललाई माझ किरात, वल्लो र पल्लो किरात हुँदै ताप्लेजुङसम्म कार्यान्वयन गर्ने एकजना क्रान्तिकारी थिए । उनी राजनीतिक रूपले सचेत, कुशल कमाण्डर र लडाकु थिए । उनी प्रजातन्त्रवादी थिए, जातिवादी थिएनन् । उनी क्रान्तिकारी र विद्रोही स्वभावका थिए, सम्झौतावादसँग सहमत थिएनन् । सामान्तवादविरोधी थिए, हैकमवादका विरुद्ध थिए र नेपाली राजनीतिमा भारतीय दबाबका खिलाफमा थिए ।
नारदमुनी थुलुङसँग मिलेर उनले भोजपुरलाई केन्द्र बनाई ताप्लेजुङदेखि दोलखा, रामेछाप, सिन्धुलीसम्मको सम्पूर्ण मध्य तथा पूर्वी पहाड राणाबाट स्वतन्त्र गराउने कामको नेतृत्व गरेका थिए । उनले मुख्यतः ब्रिटिस गोर्खा सैनिक, साधारण जनता र राणाहरूकै मिलिसियालाई गोलबन्द गरेर राणाहरूलाई परास्त गरेका थिए । इलामबाहेकको पूर्वी पहाडदेखि उदयपुर सप्तरीसम्म कब्जा गर्ने कामको नेता उनै थिए । उनी काठमाडाैँ नै कब्जा गर्ने गरी तयारी गर्दै थिए । सात सालको क्रान्तिका सन्दर्भमा पूर्वी पहाडका स्वतन्त्रता सेनानी, प्रजातन्त्रका नेता या नेपाली कांग्रेस सबैका उनी बिम्ब थिए । स्थानीय सामन्तहरू उनीसँग डराउँथे, सामान्य जनता उनलाई सम्मान गर्थे । किरातहरूका उनी हिरो नै थिए ।
तर, जब दिल्ली सम्झौता भयो, तब उनलाई वास्ता गरिएन । उनीहरू किनारामा धकेलिए । राणाहरू र कांग्रेसका केही टाठाबाठाले सत्ता पाए । रामप्रसादहरूको कुनै मूल्यांकन भएन । उनले आफ्नो विद्रोही तेवर जारी राखे र काठमाडाैँमा उनै मुक्तिसेना, जसको मुख्य हिस्सा किरातहरूको थियो, लाई लिएर विद्रोह गर्ने चुनौती दिन थाले । उनलाई गिरफ्तार गरियो ।
मुक्तिसेनाको विद्रोही तेवर जारी थियो । रक्षादलमा संगठित सैनिकले रामप्रसादलाई जेलबाट मुक्त गरायो । उनैको पहलमा सिंहदरबारमा बन्दी रहेका केआई सिंहलाई रिहा गरियो । सैन्य नेतृत्व गरिरहेका रामप्रसादले राजनीतिक नेतृत्वका लागि केआई सिंहलाई अघि सारे, सम्झौताको बाटो समातेको हुनाले उक्त विद्रोह सफल हुन सकेन । विद्रोह रामप्रसादले गरे, नाम रह्यो के आइसिंहको । सँगै तिब्बत भागेका रामप्रसादको रहस्यमय मृत्यु भयो । केआई सिंह फर्केर प्रधानमन्त्री भए । रामप्रसाद इतिहासको गर्तमा कतै पुरिए । उनका परिवारका सदस्य र पछिल्लो जागरणको प्रतिफल किरातहरूको प्रयासपछि सरकारले ०५५ सालमा सम्मानस्वरूप हुलाक टिकटमा उनको तस्बिर राखेर प्रकाशित गर्‍यो । तर, इतिहास भने अझै पनि कोइराला, सिंह, शाह, राणा, भट्टराई, गिरी, अधिकारीहरूको लेखियो रामप्रसाद राईको होइन । यी विद्रोहीको जीवन कहानी एउटा दुःखान्त बनेर सकियो । यिनको कथा पढ्दा लाग्छ, नेपालमा माओवादीले चलाएको जनयुद्ध र गणतन्त्रको भ्रुण त्यतिवेलै रोपिइसकेको रहेछ।
यसबारे मित्र भोगीराज चामलिङले राम्रो खोजी अध्ययन गरी पुस्तक निकालेका छन् । इतिहासको कोइलालाई खरानीमुनिबाट निकालेर फेरि भरभराउने बनाएका छन् । राणा शासनविरोधी संघर्षमा किरात क्षेत्र र किरातीहरूको भूमिकासहित रामप्रसाद राईका बारेमा एउटा विस्तारित चर्चा रहेको यो पुस्तकले नेपाली राजनीतिक संघर्षका इतिहासमा रहेको एउटा खाली ठाउँ भर्ने प्रयास गरेको छ । यसका लागि भोगीलाई बधाई र धन्यवाद दिनुपर्छ । पुस्तकको चर्चा गर्ने स्थान त यो होइन, तर एउटा अनुसन्धानमूलक पुस्तकको गठन र त्यसमा प्रयुक्त भाषा भने अलि बढी आग्रहपूर्ण वक्तव्यहरूले भरिएको छ, जसले किताबको ओज घटाउँछ ।
यही साता अर्थात् माघ ८, २००८ मा रामप्रसाद राईको नेतृत्वमा सिंहदरबार कब्जा भएको थियो । नारायणहिटीबाहेकको सत्ता विद्रोहीहरूको हातमा पुगेको थियो । यद्यपि यो व्यवस्थित र योजनाबद्ध देखिन्न । नारायणहिटी कब्जा गर्न नेपाली जनतालाई त्यसपछि ५७ वर्ष पर्खनुप¥यो । नारायणहिटीबाट सिंहदरबारमा सरेको सत्ता अझै पनि जनताको घरदैलोमा पुगेको भने छैन । विद्रोहको पर्सिपल्टै तिब्बततिर भागेका रामप्रसाद राई केही दिनपछि मरेका थिए (मारिएका पो थिए कि भन्ने शंका जीवितै छ) । ग्रिसेली दुःखान्त नाटकका नायकजस्ता नेपाली जनसंघर्षका यी धिरोदात्त नायकलाई ढिलो भए पनि श्रद्धाञ्जली।

No comments:

Post a Comment