Sunday, January 1, 2017

मादी र मेलम्ची किनारका यी वस्तीहरु

गएको मसिंर महिनाको पहिलो साता म कास्की जिल्लाको नामार्जुङ गाविसमा पर्ने गुरुङ्हरुको वस्ती ताङतिङ पुगेको थिएँ । पस्चिम मोहडा परेको पुरानो र ठुलो यो गाउँ यस अगाडी पटक पटक गएको ठाउँ हो । पहिलो पटक सायद २०३७ सालतिर म त्यहाँ गएको थिएँ । अहिले २०७३ मा जाँदा देखिएका परिवर्तनहरुको अवलोकन गर्दा मन भरङ्ग पार्ने चित्र आउँछ । परम्परागत दुईपाखे घर, ढुंगाका छाना, पिंिढमा या त फलेकले या त गिद्राले बारेका । गिद्राले नै बारेका करेसावारीहरु । गण्डकी क्षेत्रका लेकाली गुरुङ गाउँको टिपिकल नमुना भन्दा हुन्छ यसलाई । उत्तर पस्चिममा झलमल देखिने अन्नपूर्ण श्रृंखलाले यहाँको सुन्दरता झन खुलाउँछ ।
गाउँको छेउसम्मै मोटरबाटो पुगेपछि पहिले पोखराबाट दिनभर हिँडेर पुगिने गाउँ दुईघण्टामै पुग्न सकिने भएको छ । मेरा मित्र तथा स्थानीय शिक्षक जसबहादुर गुरुङ लगायतको सक्रियतामा बनेको नेपालमै पुरानो मध्यको माईक्रो हाईड्रोले गाउँ उज्यालो बनाएको छ, यता केन्द्रिय प्रशारण लाईनसंग गाउँलाई जोड्न पोल गाडिदै र तार तानिदै गरेका दृष्यहरुले गाउँको विकास पूर्वाधारको झल्को दिन्छ । गाउँका केहि विदेशी मित्रहरुको सहयोग र एक्यापको व्यबस्थापनमा ईन्टरनेट जोडिएको छ, गाउँका युवाहरु ईन्टरनेट रहेको घरको वरपर झुम्मीएर च्याटमा व्यस्त भेटिन्छन् । करेसावारीमा सागमुला, वन्दा काउली र कतिपयले टनेलमा गोलभेंडा फलाएका छन् । हरेक घरका आँगनमा सयपत्री भुजुरी फुल ढकमक्क फुलेको छ । बाटो सफा छ । होमस्टे भरखर अभ्यास हुँदै छ ।
गाउँ प्रवेश गर्नु अगाडी मादी खोलामा भरखरै २५ मेघावाटको अपर मादी परियोजना सम्पन्न भएको छ । त्यसको केहि सय मिटर माथि मात्रै १२ मेवाको मादी नामार्जुङ् हाईड्रपावरको निर्माण कार्य भैरहेको छ । त्यस भन्दा माथि ४४ मेघावाटको सुपरमादी बन्ने तरखरमा छ । सुपर मादीको टनेल गाउँ मुनिबाटै भएर जाने छ । परियोजनाले ताङतिङलाई प्रसिद्ध गाउँ सिकलेससंग जोड्ने छ । यसपछि त्यस भेगका नामार्जुङ, पार्चे, सिल्दजुरे र थुमाकोडाँडा गाविस चक्रपथले झै जाेिडने छन, सम्भवतः एउटै गाउँपालिका बन्ने तरखरमा रहेका यी गाउँको विकास पुर्वाधार तयार हुनेछ । गाउँमा राम्रो गुणस्तरको शिक्षा प्रदान गर्ने हिमालय मिलन मावि सञ्चालित छ । गाउँ अझै पनि आफ्ना परम्परागत संस्कृतीहरु धानेर बस्ने बल गरिरहेको देखिन्छ । कुनै समय ३०० जति गुरुङ परिवार र ५० जति दलित परिवारले बसोवास गर्ने ताङतिङको उज्यालो चित्र हो यो । तर यसका भित्रि कथा भने अलि फरक छन् ।
हिमालय मिलन माविका प्रअ ओमप्रकाश गुरुङ् गाउँको आत्मनिर्भर अर्थतन्त्र परनिर्भर बन्दै गएकोमा चिन्तित छन् । झण्डै दुई सय परिवार पोखरा, काठमाण्डौ, हंगकङ र वेलायततिर बसाई सरेका छन् (यद्यपी धेरैजसोले आफ्नो पैतृक थलो छाडेका छैनन, तिनका घर अझै छन्) ।
तिस चालिस बर्ष अगाडी लेकमा गाई, भैंसी र भेडी गोठ थिए । गाउँ भन्दा उत्तर तर्फको पाखोमा प्रसस्त आलु खेती हुन्थ्यो । आलु, चोयाका सामान र राडी पाखी निर्यात गरिन्थ्यो । बाहिरबाट नुन मटितेल र केहि लत्ता कपडा आयात हुन्थ्यो । यतिवेला भने गाउँ वरपरका नजिकै रहेका खेतबारी बाहेक सबै जमिन बाँझिएको छ । भेडी गोठ मासिएको धेरै भैसक्यो । आलु खेती बन्दै भयो । अझै पनि गाउँमा रहेका दुई सय परिवार मध्य धेरैजसो परिवारको मुख्य आम्दानीको स्रोत वैदेशिक रोजगारबाट प्राप्त हुन्छ । त्यहि पैसाले शहरबाट खरिद गरिएको खाध्यान्नले यताका मानिसहरुको पेट भरिन्छ । विद्यालयमा विद्यार्थी संख्या हरेक बर्ष कम हुँदै गएको छ । स्थानीय अर्थतन्त्रका तन्तुहरु कमजोर भएका छन् । शहर झरेर जिविका गर्न नसक्नेहरु मात्र गाउँमा छन् ।
ताङतिङको ठिक्क पारिपट्टि पूर्व फर्केको पाटोमा सिकलिस गाउँ बसेको छ । उहिले छ सय धुरी सिकलिस भनिने यो गाउँको अर्थतन्त्रमा पनि ताङतिङमा जस्तै परिवर्तन आएको छ । यहाँका दर्जन बढिको संख्यामा रहेका भेडीगोठ घटेर दुईटा बाँकी छन् । केहि होटल र लजहरु खुलेका छन् जसले आठ दश परिवारलाई रोजागरि दिएको छ । ती होटलले विक्रि गर्ने खाद्यान्न मुख्यत शहरबाट आउँछ । एक्यापको सहयोगले बनेको माईक्रो हाईड्रोका कारण रात दिन सहज विद्युत आपूर्ति हुन्छ । तर खेतीपाती घट्दो छ । अत्यधिक मानव श्रममा आधारित खेतीप्रणाली र प्रति ईकाई उत्पादकत्व कम भएकोले खेती गर्न सजिलो छैन ।
तन्नेरीहरु विदेशीएका छन् । सक्नेहरु अधिकाँस पोखरा झरेर बसेका छन् या काठमाण्डौ र बेलायत । परिवार र व्यक्तिहरुको राजनीतिक दलसंगको आवद्धता फेरिएको छ तर सत्ताको नियन्त्रणको चरित्र खासै बदलीएको छैन । ताङतिङ र सिकलिस दुवै तिरका दलितहरुको सिमान्तीकरण निरन्तर जारि रहेको अनुभव गर्न सकिन्थ्यो ।
म गाउँमा पुग्दा लेकबाट भेडीगोठ गाउतिर झरेका थिए । गाउँमा कतै कतै उन कातिरहेका र राडी बुनीरहेका तिन पुस्ताले संगै काम गरेको पनि भेटियो । गाउँको विद्यालयका पुर्व शिक्षक सुरज गुरुङ्ले पुख्र्यौली पेशाका रुपमा रहेको व्यापार आफ्ना छोराहरुलाई पनि सारेका छन् । उनीपनि गाउँको अर्थतन्त्रको भावि सम्भावनावारे त्यति प्रष्ट चित्र देख्दैनन । गाउँको अर्थतन्त्रका भावि सम्भावना के हुन भन्नेमा कोहि पनि प्रष्ट छैन । पर्यटकीय क्षेत्रको विकास र परम्परागत स्थानीय उत्पादन वृद्धि गर्न सके आर्थिक आधार तयार हुन्थ्यो कि भन्ने वारेमा पूर्व गाविस अध्यक्ष मनवहादुर गुरुङमा झिनो आसा छ । यीनले भेडी गोठ विस्तार गरेर, होटल चलाएर आम्दानीको जोहो मात्र गरेका छैनन अरुलाई पनि प्रेरित गरिरहेका छन् ।
गत साता मात्रै मलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालीका हुँदै महाँकाल, किउल र हेलम्वु जाने अवसर मिलेको थियो । मेलम्ची नदि किनारका वेसीहरु धान थन्क्याए पछि लगाईएको गहुँ, तोरी र आलुले हरिया देखिन्छन् । काठमाण्डौसंग सहज पहुँच भएकाले बजारसंग यो ठाउँ प्रत्यक्ष रुपमा जोडिएको छ । विहानमा साना साना कृषि सहकारीहरुले चलाएका दुध संकलन केन्द्रमा दुध पुर्याउने किसानहरुको लाईन देखिन्छ । हरेक जसो परिवारका गोठमा राम्रा राम्रा फाँचो भएका भैंसी देखिन्छन् । तरकारी उत्पादन र विक्री गर्ने प्रचलन बढेको छ । साना होटल र पसलहरु ठाउँ ठाउँमा रोजगारि सिर्जना गरिरहेका छन् । अलि माथि पुगेपछि ट्राउट माछाको उत्पादन गर्ने र त्यसलाई वेच्न रिसोर्ट चलाउने क्रम बढेको देखिन्छ ।
आर्थिक सम्पन्नता र मध्यम किसान अर्थतन्त्रसंगै राजनीतिक शक्तिकेन्द्रमा पहुँच भएका नेता कार्यकर्ता भेटिन्छन । सबैजसो गाउँ भुईचालोको तिव्र प्रभावबाट तंग्रिदै सामान्य लयमा फर्केको देखिन्छ । मेलम्ची किनारको जस्तो हरियाली मादीको माथिल्लो भेगमा देख्न पाईदैन । मादीले एउटा पनि खेतमा सिचाई सुविधा दिएको छैन ।
यता हेलम्वुतिरका गाउँमा भने चित्र अलि फरक छ । भिरालो र कम उप्जाउ हुने पाखोमा ९० प्रतिशत जति ह्योल्मो जातिको बसोवास रहेको हेलम्वुको विशाल क्षेत्रफलमा छरिएको गाउँको अर्थतन्त्र त्यति उत्साहजनक देखिन्न । पहिले लामा धर्म गुरुहरुले स्थापना गरेका देवस्थल –(गुम्वा या घ्याङ) वरपर वसेका वस्तीहरुको नाम धेरैजसो घ्याङबाट बनेका छन् । तार्केघ्याङ, मेलम्चीघ्याङ आदि । लाङ्टाङ् निकुञ्ज क्षेत्रमा पर्ने तार्केघ्याङ र मेलम्चीघ्याङमा जाँदा केहि समय मनमा आनन्द र शान्ती अवस्य छाउँछ । परम्परागत रुपमा लामाहरुको शासन रहेका यी वस्तीहरु क्रमशः जाग्दै गरेका छन् ।
स्थानीय उत्पादन भने अत्यन्त न्युन छ । तार्के घ्याङमा एउटा सानो लज चलाएर बसेका पासाङ शेर्पा भन्दै थिए यहाँ हुने आलु र मुला हो त्यो पनि दिउसो बाँदरले खान्छ राती बँदेलले मास्छ । त्यै भएर खेती गर्न छाडियो । गरिव वस्तीहरुमा घरवरपर खेती गरिरहेको देखिन्थ्यो । उता मेलम्चीघ्याङमा होटल चलाएर बसेका कामी लामा भन्दै थिए ः यहाँ के खेतीपाती हुने । पहिलेजस्तो चौंरी गोठ पनि छैन । धेरैजसो परिवारहरु नै भारततिर जान्छन् मजदुरी गर्न । कोहि ठेक्का पट्टा गर्छन कोहि कुल्लीकाम गर्छन । उतै बस्छन । बर्षको एकपटक गाउँ आउँछन् । मेलम्चीघ्याङको स्थानीय मावि भने जिल्लामा नै चर्चित रहेछ गुणस्तरीय शिक्षाका दृष्टिले । एकजना काभे्रतिरबाट गएका शिक्षक (पूर्ण नाम हो क्यारे सायद) ले उदाहरणीय प्रयास गरेका रहेछन् ।
भुईचालोले भत्केका घरका भग्नावसेस विस्तारै पन्छाईदै र नयाँ घर बन्दै गरेका । जति भिरालो दुर्गम भएपनि सडक सञ्जालले जोडिएका । कामी शेर्पाको भनाईमा केहि बर्ष अघिसम्म त्यहाँका अधिकाँस किसानहरुका नाममा आफ्नो जमिन थिएन । घ्याङको लामाको नियन्त्रणमा चल्नुपथ्र्यो । कमाएको जामिनको आम्दानीबाट निस्चितभाग उसलाई दिनु, उसको घ्याङमा गएर काम गर्नु, भारि बोकेर काठमाण्डौको बौद्धसम्म पुर्याईदिनु । उसले भनेजस्तो नभए बाँधेर पिट्ने गथ्र्यो । अहिले केहि भुमि अधिकारकर्मिहरुको सहयोगमा कामी लामा सहित ९० जना किसानले जमिन आफ्नो नाममा दर्तागरेका छन् । मानिसहरु विभिन्न दलमा विभाजित छन् अर्थात स्वतन्त्र बन्दै गएका छन् । तर यी दलहरुले अझै पनि गाउँको अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप हुनेगरि खासै काम गरेका छैनन । सडकले शहरबाट खानेकुरा ओसारेको छ । स्थानीय खानेकुरा खासै पाईदैन ।
कामी लामाका परिवारले हामीलाई रारा चाउचाउको झोल सहितको खाजा र यतैबाट लगेको चामल र दाल पकाएर खाना खुवाए, स्थानीय रुपमा पाईने हरियो साग अड्कलेर दिए । हामीसंग खाना खानेमा तिन जना अमेरिकी विद्यार्थीहरु, चौताराबाट विदा मनाउन गएका सात जना कर्मचारीहरु सहित १४ जना पाहुना थिए । अर्थात पर्यटन व्यबसाय यहाँको सम्भावना बन्दै गएको प्रष्ट देखिन्थ्यो । तैपनि यहाँको वाह्य पर्यटन भने यहिँमात्र लक्षित भएको रहेनछ । पाँच पोखरी जाने आउने या लाङटाङ जाने पदयात्रीहरुको मार्ग मात्र पर्दो रहेछ । आन्तरिक पर्यटकलाई तान्न सकेको खण्डमा यताको अर्थतन्त्रमा केहि योगदान पुग्न सक्ने देखिन्छ ।
मादी देखि मेलम्चीसम्मको यो यात्रामा देखिने एउटा चित्र के हो भने परम्परागत आर्थिक स्रोतमा मात्र भरपरेर जीवीका हुन छाडेको छ । अपेक्षाकृत सजीलोसंग खेती गर्न सकिने  खेत प्रसस्त भएका ठाउँमा सम्पन्नता छ, मानिसहरु पनि गाउँमा वस्छन । जहाँ त्यस्तो स्रोतको कमि छ या वर्गिय दृष्टिले कमजोर परिवारको संख्या बढि छ त्यहाँ बसाई सराई तिव्र छ । यतिका राजनीतिक क्रान्ती पछि पनि सत्ता अझै पनि परम्परागत सम्भ्रान्तहरु र पुरुषहरुको नियन्त्रणमा छ । जसको सत्ता छ स्रोत उसैको या जसको स्रोत छ सत्ता उसैको रहने परम्परा जीवीत छ ।
के यी गाउँहरुले अन्य गाउँको पनि प्रतिनिधित्व गर्छन ?
Nayapatrika,

No comments:

Post a Comment