Thursday, February 2, 2017

अर्धसत्य र उत्तरसत्यको दाइँ

केही दिनअघि पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीका वक्तव्य संग्रहित एउटा पुस्तक विमोचन कार्यक्रममा पत्रकार तथा लेखम विजयकुमार पाण्डे पनि बोलेका रहेछन् । बडो तौलिएर बोलिएको र विषयलाई गम्भीरतापूर्वक व्यक्त गरिएको उनको मन्तव्यको भाषा सपाट र सीधाचाहिँ थिएन । मन्तव्यमा व्यक्त विचारले सञ्चारमाध्यममा बहस र विवाद निम्त्याएपछि उनले आफ्नो मन्तव्य जस्ताको तस्तै युट्युबमार्फत आइरहेको उनको नयाँ माध्यममा पोस्ट गरे । मैले ध्यान दिएर सुनेँ र अनलाइनमा प्रकाशित उनको मन्तव्यको सम्पादित अंश पनि पढेँ । उनका भनाइ प्रस्ट थिए । उनले भनेका रहेछन्, ‘ओलीले इतिहासमा खेल्नुभएको भूमिकाका लागि सधैँ सम्मान गर्नुपर्छ । ओलीसँग वर्तमान राजनीतिलाई प्रभावित गर्ने हैसियत र दायित्व दुवै छ । त्यसका लागि उनले आफ्नो छाती फराकिलो बनाऊन् । देशलाई एकताबद्ध पार्ने अर्थात् अहिलेको राजनीतिक गतिरोधको कारणका रूपमा रहेको मधेसको असन्तुष्ट पक्षलाई समेटून् ।’
विजयकुमारको भनाइले ओलीका योगदानको सम्मान गर्थे । साथै अहिले जसरी ओली प्रस्तुत भइरहेका छन्, त्यो उनको हैसियत र जिम्मेवारीविपरीत भयो भन्ने अर्थ राख्थे । उनलाई इतिहासले दिएको जिम्मेवारी बुझ र निर्णय लेऊ भन्ने सुझाब थियो । तर, समाजमा त्यसको व्याख्या गर्नेले दुईथरी कुरा बुझे– पहिलोले विजयकुमार पाण्डेले ओलीलाई महान् बनाए भन्ने प्रचार गरे । दोस्रो पक्षले ओलीको आलोचना गरे भनेर पनि बुझे । वास्तवमा यी दुवैमा केही सत्यता थियो । ओलीको प्रशंसा पनि भएको थियो । उनलाई जिम्मेवारीबोध गराउन पनि खोजिएको थियो । पहिलो पक्ष मात्र लिनेले पनि अर्धसत्य बोकेको थियो । दोस्रो पक्ष मात्र बोक्नेले पनि अर्धसत्यलाई नै सत्यका रूपमा पेस गर्न खोजेको थियो ।
आजको नेपालमा संघीयता, आरक्षण, पहिचान, धर्मनिरपेक्षताजस्ता शब्दलाई तोडमरोड गरेर ‘नेपाल’ विरोधी बनाउने र इतिहासले दुत्कारेका निरंकुश शासकलाई राष्ट्रवादको कस्मेटिक सर्जरी गरिदिएर तिनका अपराधलाई ढाकछोप गर्ने जुन पपुलिजम हुर्कंदै छ, त्यसले भने अर्धसत्यबाट पनि पर हटेर उत्तरसत्यतिर संकेत गर्छ ।
त्यसअघि मैले सामाजिक सञ्जाल ट्विटरमा ओली र सिके राउत उस्तै लाग्छन् । दुवैले प्रकारान्तरले दिल्लीको सेवा गर्नेछन् भनेर लेखेको थिएँ । एकथरी ओलीभक्तले मलाई आपत्तिजनक शब्द र उद्देश्यसहित ओलचना, अपमान र गाली गरे । गाली गर्नेहरू यसरी एकोहोरिएर लागेका थिए, लखेटेका थिए कि तिनीहरू संगठित भएझैँ लाग्थे । अर्काथरीले त्यसलाई लाइक र रिट्विट गरे । मेरो भनाइ जति खस्रो र रुखो भए पनि प्रस्ट थियो– सिके राउत मधेसलाई नेपालबाट अलग गर्ने अभियान चलाइरहेका छन् । उनले न मधेसलाई नेपालबाट टुक्र्याउन र अलग मधेस देश बनाउन सक्नेछन्, न नेपाललाई बलियो हुन दिनेछन् । यसले प्रकारान्तरले दिल्लीलाई नेपालमाथि दबाब दिने हतियारको काम मात्र गर्ने निश्चित छ ।
केपी ओली जे गरिरहेका छन्, त्यसले पनि मधेस र पहाडलाई विभाजन गर्छ । मधेसका जनताले उठाइरहेका अधिकारका आन्दोलन र आवाजलाई दमन गर्ने र त्यसमा विखण्डन मात्र देख्नेले राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अहिले समावेशी राज्य प्रणाली र पहिचानसहितको संघीय प्रणालीको पक्षमा काठमाडांैसँग संघर्ष गरिरहेको मधेसको असन्तुष्ट हिस्साले ओली प्रवृत्तिबाट आजित भएपछि काठमाडौंसँग संघर्षमा साथ दिन भारतलाई हारगुहार गर्नेछ । शक्ति जत्रो होला तर त्यो असन्तुष्ट पक्षसँग सहमत हुने जनमत र राजनीति रहुन्जेल त्यसलाई मटियामेट गर्न सम्भव छैन ।
अहिले जसले मधेसलाई अधिकार दिँदा देश टुक्रिन्छ भन्दै विरोध गरिरहेका छन्, तिनले देशलाई कमजोर बनाउँछन् र प्रकारान्तरले दिल्लीको सेवा गर्छन् । केपी ओलीका विचार अर्धसत्य चाहिँ हुन् । सिके राउतका विचारहरूचाहिँ प्रतिसत्य स्थापना गर्ने प्रयास । दुवै खतरनाक किन छन् भने यिनीहरू सत्यलाई स्वीकार गर्दैनन् । अर्धसत्यले तथ्यमा आधारित तार्किक निष्कर्ष निकाल्नबाट प्रयोगकर्तालाई रोक्छ, स्वार्थले पनि र विवेक गुम्ने भएकाले पनि । समाजको एउटा समूह नै अर्धसत्यमा विश्वास गर्ने भयो भने अर्धसत्य नै एउटा शक्तिमा बदलिन्छ ।
श्राप हालेर या गाली गरेर चाहिँ अर्धसत्यलाई कहिल्यै असत्यमा फेर्न सक्दैन । यसैगरी अर्धसत्यलाई जतिसुकै मलजल गरे पनि त्यो सत्यका रूपमा हुर्कंदैन, फल्दैन । चेकोस्लोभाकियामा साम्यवादविरोधी क्रान्तिका नेता तथा पछि चेक गणतन्त्रमा राष्ट्रपति बनेका भाक्लाव हाभेलले संसदीय राजनीति, दलहरू र नेताहरूको काम र अभिव्यक्ति धेरै हदसम्म अर्धसत्यमा आधारित हुने बताएका रहेछन्, ‘…जसमा हरेक पार्टी सत्यको अंशलाई नै पूर्ण सत्य हो भनेर सावित गर्ने प्रयास गरिरहेका हुन्छन् ।’ मलाई अहिले नेपाली समाजमा आइरहेको ध्रुवीकरण यही अर्धसत्यलाई पूर्ण सत्य बनाउन भइरहेको पाखण्डपूर्ण प्रयासको उपजजस्तो लाग्छ । आजको नेपालमा संघीयता, आरक्षण, पहिचान, धर्मनिरपेक्षताजस्ता शब्दलाई तोडमरोड गरेर ‘नेपाल’ विरोधी बनाउने र इतिहासले दुत्कारेका निरंकुश शासकलाई राष्ट्रवादको कस्मेटिक सर्जरी गरिदिएर तिनका अपराधलाई ढाकछोप गर्ने जुन पपुलिजम हुर्कंदै छ, त्यसले अर्धसत्यबाट पनि पर हटेर उत्तर सत्यतिर संकेत गर्छ । उत्तरसत्य अर्थात् ‘पोस्ट टु«थ’ ले सन् २०१६ को शब्द बनेर अक्सफोर्ड शब्दकोशमा प्रवेश पाएको छ । उक्त शब्दकोशमा पोस्ट टु«थलाई यसरी अथ्र्याइएको छ– त्यस्तो परिस्थितिसँग सम्बन्धित या त्यसतर्फ संकेत गर्ने शब्द, जहाँ सार्वजनिक मत निर्माणका लागि वस्तुगत तथ्य व्यक्तिगत विश्वास र आवेगभन्दा कम आकर्षक बन्छन् ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन र बेलायतमा भएको जनमतसंग्रहका परिणाम नै शब्दकोशमा यो नयाँ शब्द प्रवेशको आधार बनेको थियो । यी दुवै अवसरमा हावा समाचार (फेक न्युज) बनाएर त्यसलाई वास्तविक हो कि झैँ व्यापक प्रचार मात्र गरिएन, समाजको एउटा हिस्साले त्यसैलाई विश्वास ग¥यो । यही विश्वास जस्तो कि, बेलायतीले बसाइँ सरेर आउनेका कारण अवसर गुमाउँदै गए, इयूमा बस्दा बेलायतको सार्वभौमसत्ता कमजोर भयो । यता अमेरिकामा त उम्मेदवार नै फेक डेटाहरूका आधारमा स्टेटमेन्ट जारी गर्थे, विश्वकीकरणले खुला व्यापार नीति, आप्रवासीका कारण, चीनका कारण अमेरिका कमजोर भयो, अमेरिकीको जागिर खोसियो, चीनले आफ्नोे मुद्रा अवमूल्यन गरेर व्यापारिक नाफा लिइरहेको छ भन्ने यी उम्मेदवारका प्रचार संयन्त्रले मतदाताको एउटा हिस्सालाई खिचेर एकोहो¥यायो र उनले जिते । विश्वले पत्याई आएका संस्थाका अनुसन्धान प्रतिवेदन, तथ्यांक र सूचकहरू, दर्शन र राजनीतिक विचारधाराका स्थापित मानक एकातिर बोलिरहेका छन्, तर साधारण मानिसको मनले अर्कै कुरालाई विश्वास गर्ने परिस्थिति बनेको छ । यही हो उत्तरसत्य ।
पुँजीवादले गरेको आर्थिक तथा प्राविधिक विकास चामत्कारिक छ । अघि कहिल्यै भन्दा मानिसहरूको जीवन सरल भएको छ र सम्पन्न पनि । हामीकहाँ नै गरिबी दुनियाँको तुलनामा जति बढी भए पनि आफ्नै विगत बीस–तीस वर्षअघिको र अहिलेको तुलना गर्दा मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन आएका छन् । मानिसहरूको लाउने, खाने, पढ्ने, मनोरञ्जन गर्ने अवस्थाहरू बदलिएका छन् । यो सकारात्मक पक्ष जति सत्य हो, त्यति नै मानिस यही सुविधा र सहज जीवनयापनको खोजीमा भौंतारिँदा घर, परिवारबाट, समाजबाट, समुदायका अपनत्व पाइने भावनाबाट परपर एक्लिँदै–एक्लिँदै गएको छ । हरेकलाई आफ्नो भविष्यप्रतिको, सम्बन्धप्रतिको, सफलताप्रतिको विश्वास धरमराएर लखेटिरहेको छ ।
सम्पत्ति र स्रोतमाथि सीमित व्यक्तिको नियन्त्रण, राज्यको सम्पत्ति र स्रोतमाथि सीमित राजनीतिक, प्रशासनिक र त्यससँग साँठगाँठ गर्ने पुँजीपतिवर्गको नियन्त्रण चुलिँदो छ र असमानता, असुरक्षा आम बन्दै गएको छ । यस्तो अवस्थाले उत्पन्न गराउने भय भयानक हुन्छ । यही भयले वशीभूत भएपछि मानिसहरू भयबाट मुक्तिका स्थापित बिम्ब (संसद्, सरकार, अदालत, नागरिक समाज र बजार) भन्दा भिन्न बिम्बको खोजीमा लाग्छन् । यस्तो बिम्ब खोज्ने क्रममा नै सत्यहरूलाई पन्छाउने र भयको खेती गरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नेहरूले मानिसहरूलाई बराल्छन् । यसपछि तर्कहरूको ठाउँ विश्वासले लिन थाल्छ । यस्तो समाजमा सत्य पनि तीन थरीको बन्छ– सत्य, अर्धसत्य र उत्तर सत्य । विभाजित सत्य हाम्रो समयको सत्य बन्दै गएको छ । यो अवश्य पनि शुभ सूचक होइन । त्यसैले तपार्इंका विचार, मेरा विचार या अरूका विचार सबै मानिसले आफ्नो सुविधाअनुसार ग्रहण गर्छन् र मत बनाउँछन् । विभाजित सत्यले ल्याउने खतरा नै यही हो ।
naya patrika

No comments:

Post a Comment