Tuesday, January 17, 2017

यो उलटफेर

चीनबाट गत साता छुटेको एउटा मालबाहक रेल लन्डन पुग्दै छ । अठारौँ दिनमा लन्डननजिक पुग्ने रेल यसरी स्थलमार्ग हुँदै चीनबाट बेलायत पुग्ने पहिलो मालबाहक रेल हो । यसले चिनियाँ समुद्री तटबाट सामान लिएर बेलायत पुग्ने सामुद्रिक कार्गोलाई भन्दा आधा कम समय लिनेछ । कुल सात हजार चार सय ५६ किमि लामो र कजाखस्तानपछि अनेक युरोपेली मुलुक भएर जाने यो मालबाहक रेलले जोडिएपछि लन्डनमा चिनियाँ सामानको भाउ सस्तो हुने त छ नै, यसले रणनीतिक रूपमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अगाडि सारेको वान वेल्ट वान रोडको परिकल्पनालाई साकार पार्नेछ । सन् २०१३ मा चीनका राष्ट्रपति भएपछि सीले अगाडि सारेको यो परिकल्पनाले यसअगाडि नै युरोपका धेरै देशमा कार्गो रेलहरू पठाइसकेको छ । झन्डै २२ सय वर्षअगाडि चिनियाँ व्यापारीहरूले आफ्ना सामान युरोपसम्म बेच्न प्रयोग गरेको व्यापारिक मार्ग सिल्क रुटलाई नवीकरण गर्ने यो परियोजना चिनियाँ परिकल्पनाको विश्व व्यवस्थाको एउटा अभिन्न हतियार बन्ने निश्चित छ । केहि दिनअघि मात्रै अलिबाबा समूहका प्रमुख अर्बपति ज्याक मासँग यही २० जनवरीमा अमेरिकाको ४५औँ राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्न लागेका डोनाल्ड ट्रम्पले ट्रम्प टावरमा एक घन्टा लामो वार्ता गरे । चीनले आफ्नो मुद्रा अवमूल्यन गरेर अमेरिकासँगको व्यापारमा अर्बौैं नाफा गरेको तर अमेरिकाले भनेको चाहिँ पटक्कै नमान्ने गरेकाले उसलाई दण्डित गर्ने धम्की दिँदै निर्वाचन अभियान चलाएका ट्रम्पले पदभार ग्रहण नगर्दै ज्याक मासँग भेट मात्र गरेनन्, त्यसक्रममा चीनले अमेरिकीहरूको जागिर खोसेको आरोप लागाउने गरेका नवनिर्वाचित राष्ट्रपतिलाई माले अमेरिकामा १० लाख साना तथा मझौला व्यवसायीलाई सहयोग गर्ने र लाखौँ रोजगारी सिर्जना गरिदिने प्रस्ताव गरे । सन् २०१६ मा विश्व अर्थतन्त्रको विस्तारमा चीनको योगदान ३० प्रतिशत थियो । यो अमेरिकाको भन्दा दुईगुनाले बढी हो । अर्थात्, विश्व अर्थतन्त्रको वृद्धि धेरै हदसम्म चीनको वृद्धिमा भर पर्दै गएको छ । निर्वाचन प्रचार अभियानका दौरान आफ्ना उरन्ठेउला अभिव्यक्तिले चर्चामा आउने गरेका डोनाल्ड सम्भवतः यो वास्तविकतासँग बिस्तारै परिचित हुनेछन् । मासँगको बैठकबाट निस्केका ट्रम्प उत्साहित देखिन्थे । आगामी सातादेखि अमेरिकामा ओबामा युगको अन्त्य र ट्रम्प युगको थालनी हुनेछ । यो केवल एउटा राष्ट्रपति जाने र अर्को आउने प्रक्रिया मात्र हुनेछैन । यसले अमेरिकी लोकतन्त्रका सिद्धान्त र व्यवहार, विचार र दृष्टिकोणमा भिन्न समयको रेखांकन थालनी गर्नेछ । बुधबार आफ्नो बिदाइ भाषण गरेका ओबामाले द्रवित भावमा अमेरिकी डेमोक्रेसी र अमेरिकी प्रोजेक्टको बचाउ गरे पनि अमेरिकामा अनुदारवादीहरू विचारधारात्मक रूपमा माथि परेको समय छ । सन् १९८० पछि अहिलेको विश्व अर्थ व्यवस्थाका आधारभूत सैद्धान्तिक प्रस्थापनाहरू लागू गर्न अगुवाइ गरेको अमेरिकामा नै व्यापारिक संरक्षणवादलाई समर्थन गर्नेहरू लोकप्रिय मतको सहारामा सत्तारुढ भएका छन् । डोनाल्ड ट्रम्पले त आफ्नो कार्यकालको पहिलो दिन प्रशान्त माहासागर वारपारको व्यापार सम्झौता (टिपिपी) खारेज गर्ने आदेश जारी गरेर थाल्ने घोषणा गरिसकेका छन् । यसले अमेरिकाकै पहलमा थालिएको स्वतन्त्र व्यापारसम्बन्धी सिद्धान्तहरूलाई खारेज गर्नेछ । अमेरिकाका पुँजीपतिहरूलाई अरू देशमा लगानी गर्नबाट रोक लगाउने तथा व्यापारिक प्रतिबन्ध लगाउने उपाय अवलम्बन गर्ने भएको छ । ‘अमेरिका फस्ट’ भन्ने नारामा अन्तर्निहित अन्ध राष्ट्रवाद र जातिवादले विश्वलाई प्रभावित गरिरहेको छ । यता, यसै साता स्विट्जरल्यान्डको ड्याभोसमा विश्वका आर्थिक सम्भ्रान्तहरूको वार्षिक जमघट हुँदै छ । यसपालिको विशेषता भनेको चाहिँ पहिलोपटक चिनियाँ राष्ट्रपतिले त्यसमा सहभागिता जनाउनेछन् । यसको अपेक्षा विश्वमा खुला बजार र पुँजी, वस्तु तथा सेवाको खुला आवागमनले दुनियाँलाई समृद्ध बनाउँछ भन्ने वैचारिक प्रस्थापनालाई पुनर्पुष्टि गर्नु हो । यसले एउटा उलटफेरको सन्देश दिनेछ : यस्तो विश्व व्यवस्थाको भावनात्मक र वास्तविक नेतृत्व अब युरोप या संयुक्त राज्य अमेरिकाले होइन, चीनले गर्नेछ । यस्तो उलटफेरको अन्तर्य भने चीनले अपनाइरहेको राजनीतिक बाटो र नवउदारवादका बीच रहेको वैचारिक खाडलमा निहित छ । अहिले नै विश्व नम्बर दुईमा रहेको चिनियाँ अर्थतन्त्रले केही वर्षमा अमेरिकी अर्थतन्त्रलाई उछिन्ने त छ, तर अमेरिकी जनताको प्रतिव्यक्ति आयको तुलनामा चिनियाँ नागरिकको आम्दानी पुग्न भने अझै ३० वर्षभन्दा बढी लाग्न सक्छ । यसको अर्थ हो, आर्थिक सामथ्र्यका दृष्टिले अमेरिका नै लामो समयसम्म शक्तिशाली रहनेछ, जसको प्रभाव विश्वको राजनीतिक झुकावमा पनि रहिरहनेछ । अर्कोतिर चिनियाँ राजनीतिक मोडेललाई अपनाउने देशहरू भने अहिले नै पनि एकदम कम छन् र निकट भविष्यमा बढ्ने सम्भावना कमै छ । यहीँनिर विश्वव्यापीकरण र खुलापनको नेताका रूपमा आफूलाई उभ्याएर चीनले विश्व व्यवस्थाको नेतृत्व दाबी गर्ने सम्भावना देखिएको हो । ड्याभोस जम्बुरीमा हुने सी जिनपिङको सहभागितालाई यसै सेरोफेरोमा हेरिनुपर्छ । उक्त सम्मेलनमा अरू प्रतिनिधिहरूका साथ चीनका सबैभन्दा धनीमध्येका वान्डा गु्रपका प्रमुख अर्बपति वाङ जियान लिन र अलिबाबा समूहका प्रमुख ज्याक मा सामेल हुनेछन् । वान्डा समूह रियल स्टेट र मनोरञ्जनको दुनियाँको उदाउँदो बादशाह हो, जसले हालसालै हलिउडको एउटा मनोरञ्जन समूह खरिद गरेको छ । अर्थात्, जियान लिन र ज्याक माको उपस्थिति अमेरिकाले चुनौती दिन थालेको भूमण्डलीकरणको रक्षा गर्ने र त्यसलाई विस्तार गर्ने दायित्व अब चीनतिर सरेको संकेत पनि हो । यसलाई अर्काे तथ्यले पनि पुष्टि गर्छ । विश्व व्यवस्थामा आएका यी परिवर्तनलाई तौलेर प्रयोग गरेको चीनले विगत ३० वर्षमा ७० करोड जनसंख्यालाई गरिबीबाट मुक्त गरेर अहिले मध्यम आयस्तरका देशमा फड्को मारेको छ । आफ्नो अर्थतन्त्रको विश्व अर्थतन्त्रसँग थप अन्तक्र्रियाले मात्रै चीन अघि बढ्न सक्छ भन्ने उनीहरूको ठम्याइ छ । अब उलटफेरको थप कुरा गरौँ । चीनको शासन प्रणाली एकदलीय छ । कम्युनिस्ट पार्टीले सन् १९४९ यता लगातार चीनको नेतृत्व गर्दै आएको छ । चिनियाँ नेतृत्व साम्यवादप्रतिको आफ्नो वैचारिक प्रतिबद्धतामा मज्जैले दृढ देखिन्छन् । पश्चिमा उदारवादी विचारधारालाई चीनमा निषेध गर्ने र साम्यवादी विचारलाई बढावा दिने गरी राजनीतिक, शैक्षिक, सांस्कृतिक कार्यनीतिहरू तय गरिएका छन् । अहिलेका डोनाल्डजस्तै उग्र विचारका अनुदारवादी रोनाल्ड रेगनले सोभियत संघको पतनका लागि ठूलो योगदान गरेका थिए । त्यसले विचारधारात्मक रूपमा विभाजित ठूला महशक्ति र तिनका सहयोगीबीच रहेको शीतयुद्धको अन्त गराएको थियो । सोभियत संघको आर्थिक अवस्था टिठलाग्दो गरी कमजोर थियो । अफगान युद्धले उसलाई थिलथिलो पारेको थियो । अहिले भने अवस्था फरक छ । अमेरिका आफैँ इराक, अफगानिस्तान, लिबिया र सिरियाका युद्ध मोर्चाबाट हैरान भएको अवस्थामा छ । आन्तरिक रूपमा डोनाल्डको निर्वाचन नै एकताबद्ध होइन, विभाजित अमेरिकाको प्रतिनिधित्व गर्ने घटना हो । मेरिटोक्रेसीमा आधारित चिनियाँ शासन प्रणाली र त्यसले समाजमा विद्यमान अन्तरविरोध हल गर्न अपनाएका शैलीले चिनियाँ कम्युनिस्ट पार्टीको शासन गर्ने वैधानिकतालाई धानिरहेका छन् । यस्तो वेला चीनको नेतृत्वमा विश्व अर्थतन्त्रको जारी मोडेलको विस्तार, खुलापन र वैश्वीकरणको संरक्षकका रूपमा चीनको भूमिका विस्तार हुनुले विभिन्न अर्थ राख्छन् । एक प्रकारले यो वित्तीय पुँजीवाद र नवउदारवादी वैश्वीकरणको रक्षा साम्यवादीहरूको नेतृत्वमा हुने विरोधाभासको विषय हो । यसको अर्थ हो, यो वित्तीय पुँजीवादको सिइओको परिवर्तन । यसका परिणाम भने अहिले नै अनुमान गर्न गाह्रो छ । चीनमा अपनाइने सामाजिक व्यवस्थाको व्यवहारमा यो धेरै हदसम्म भर पर्नेछ । चित्र प्रस्ट भइसकेको छैन, तर क्यानभासमा रङ दलिन थालेको छ । यो आफैँमा भयानक उलटफेर हो । - See more at: http://www.enayapatrika.com/2017/01/119189#sthash.zMzfra27.dpuf

No comments:

Post a Comment