Thursday, August 28, 2014

ऋतुराजका छेडखानी



jhalak subedi

‘नागरिक समाजका एकजना ठूला नेताको घरमा फोन गर्ने काम पर्‍यो । उनी प्रगतिशील सोच र अग्रगामी विचारका लागि चिनिन्छन् । सामाजिक न्याय र समानताका भाषण गर्छन् । फोन कसैले उठायो । सायद घरमा काम गर्ने हुनुपर्छ । जवाफ आयो : ‘घरमा होइसिन्न ।’
‘कहिले आउनुहुन्छ ?’
‘राति मात्रै आइसिन्छ ।’
अर्का वामपन्थी नेतालाई पनि फोनबाट सम्पर्क गर्नुपर्ने खण्ड आयो । फोन उनकी धर्मपत्नीले उठाएको हुनुपर्छ । जवाफ आयो ‘भुजा ज्युनार गरिसिँदै छ ।’ …एकजना जनजाति नेता छन्– बोल्दा आगो ओकल्ने, भाषण गर्दा सामन्तवादको जरै उखेल्नुपर्छ भन्ने, नेपाली भाषालाई नेपाली भाषा नभनेर खस भाषा भन्ने । उनको घरमा फोन गर्दा पनि ‘काजीसाहेब र ‘दुलहीसा’ब सँगै डिनरमा सवारी भा’छ’ भन्ने उत्तर पाइयो । …अब त लोकतन्त्र आयो । गणतन्त्रमा जाने कुरा गरिरहेछन् सबै । बोलीमा समेत लोकतन्त्र ल्याउन नसक्नेहरू गणतन्त्रमा जालान् भनी आशा गर्न सकिएला र ?’ (ऋतुविचार, पेज १९८) ।
छोटा र चिटक्क परेका वाक्य । झर्रो नेपालीको रैथाने बास्ना आउने शब्द । आफ्नो समयको समाज, राजनीति, संगीत, कला, संस्कृति तथा विकासलगायत अनेक विषयमा देखा पर्ने असंगतिमाथि ट्वाक्क–ट्वाक्क हिर्काउँदै जिस्काउने, गिज्याएर लाजमर्दो पार्ने र त्यस्ता प्रवृत्तिका प्रतिनिधिलाई चोरऔंलो कुप्रो पारेर कुरीकुरी गर्दै पाठकलाई हँसाउने गजबको क्षमता भएका व्यंग्यकार हुन् ऋतुराज । उनको हास्यचेत उनले सम्बोधन गर्ने हरेका सभा या साथीभाइका महफिलमा पनि प्रस्फुटित भइरहन्छ । ऋतुराज अर्थात् वसन्त थापा अर्थात् वसन्त दाइ । एउटा सदाबहार वासन्ती अनुहार र चिरपरिचत मुस्कानसँग आफ्नो सम्पर्कमा आएकाहरूलाई लठ्ठ पार्ने खुबी भएका वसन्त थापा ।
धनकुटा डाँडाखर्कतिरका उनको भाषामा मकैबारीमा जन्मेका र अहिले काठमाडौंमा जमेका मोफसले, हिमाल खबर पत्रिकाका पहिलेका सम्पादक । अहिले हिमाल किताबका हर्ताकर्ता, हाकिम, नेता, सम्पादक, अगुवा आदि । किम्फ नामको काठमाडौं अन्तर्राष्ट्रिय सिनेमा महोत्सवका मूल आयोजक जस्ता अनेक विशेषण झुन्ड्याएका छन् उनको नामका अगाडि । एउटा व्यंग्य लेखकका रूपमा पनि उनको नाम स्थापित छ । हिमाल खबर पत्रिकामा लामो समयसम्म ऋतुराजका नाममा आउने उनको स्तम्भ पढ्नेहरू उनको चोटिलो लेखन कलाबाट पनि उत्तिकै प्रभावित छन् । त्यही स्तम्भमा प्रकाशित कृतिहरूको सँगालोका रूपमा आएको ऋतुविचार नै उनको प्रकाशित पहिलो पुस्तकाकार कृति हो । केही पहिले नै प्रकाशित भएको भए पनि व्यंग्यकारका सामयिक व्यंग्यले हाम्रो देशको एउटा कालखण्डका सामाजिक, सांस्कृतिक र राजनीतिक विसंगतिको अभिलेख उतारेका छन् । कतिले भने आफ्नो समयको सीमा नाघेर अहिले र धेरै पछिसम्मलाई पनि मानिसका संस्कार विचार र व्यवहारमाथि छेप्पन हान्ने क्षमता राख्छन् र ती कहिल्यै बासी हुँदैनन् । मलाई नेपाली व्यंग्यकारमा विमल निभापछि मनपर्ने यिनै ऋतुराज हुन् ।
जम्माजम्मी २३५ पेजमा समेटिएको यो पुस्तकमा ०५२ देखि ०६३ सम्मका छानिएका रचना संग्रहित छन् । यसमा उनको ज्ञान, विद्वण्ता, तीक्ष्णता र हास्यचेतको भरपुर परख गर्न, मजा र आनन्द लिन सकिन्छ । उनले आफ्नो व्यंग्यमा सिनेमा, कलाक्षेत्र, नगरपालिका, फोहरमैला, बाटोघाटो, बाढी पैरो, मानिस र तिनका अनेकखाले अखण्ड स्वभावदेखि देश र विश्व राजनीतिका अनेक सन्दर्भ, ल्याउँछन् । त्यस समयका सानासाना छिद्रबाट इतिहास चियाउन चाहनेहरूका लागि उनको यो पुस्तक एउटा आँखीझ्याल नै हो ।
‘महामहिम जेम्स मोरियार्टीज्यू, …हजुरको देश यस पृथ्वीलोककै सर्वशक्तिमान छ । सारा आयुध र अणुपरमाणु अस्त्रशस्त्रबाट सुसज्जित छ । सदा प्रजातन्त्र र स्वाधीनताको रक्षार्थ कृतसंकल्प छ । त्यसैका लागि हजुरको देशले कोरियामा लड्नुपरेको थियो । भियतनाममा लड्नुपर्‍यो । हाल अफगानिस्तान र इराकमा भिड्नुपरिरहेछ । धन्य हौँ हामी यस युगमा बाँच्न पाउनु जुन युगमा हजुरको महान् देशलाई जर्ज बुसको नेतृत्व मिलेको छ । जर्ज बुस साहब त यस घडी चक्रवर्ती विश्वसम्राट वा सोसरह होइबक्सन्छ । त्यस्ता पराक्रमी राष्ट्राध्यक्षको प्रतिनिधिका रूपमा हजुरलाई पाउनु हामी नेपालीको अहोभाग्य हो । हजुरको देशको वरद आशीर्वादविना संसारको कुनै भागमा पनि प्रजातन्त्र फस्टाउनै सक्दैन । …हजुरको महान् देश यस सेवकको दृष्टिमा स्कुलको हेडमास्टर जस्तो लाग्छ । हेडमास्टर भन्न पुगेछु सरी सर । अचेल त प्रिन्सिपल पो भन्नुपर्छ त । अँ, प्रिन्सिपल जस्तै लाग्छ हजुरको देश विद्यार्थीलाई ‘क्यारेक्टर सर्टिफिकेट’ दिने । त्यस्तो क्यारेक्टर सर्टिफिकेटले तानशाह पनि प्रजातन्त्रवादी बन्न पुग्छ र त्यसको अभावमा क्रान्तिकारी पनि आतंककारी कहलाउँछ ।’ (पेज २०४) ।
यसरी उनले त्यतिवेलाको नेपाली राजनीतिमा नांगै हस्तक्षेप गरी नेपाली जनताका चाहना र फैसलाका विरोधमा अनेक गतिविधि गरिआएका अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीलाई उनको औकात सम्झाउँदै लेखेको पत्रले नेपालको एक कालखण्डमा अमेरिकी हस्तक्षेपबारे मात्रै बताउँदैन विश्वशक्ति अमेरिकाका अनेक हर्कतको संकेत पनि दिन्छ । यसो त बुशमाथि पनि संग्रहमा अर्को व्यंग्य रहेको छ । खै, कसरी हो पूर्व धनकुटामा जन्मेर धराने लाहुरे वातारणमा हुर्के बढेका र पढेका यी वसन्त थापा मगरमा झर्रो नेपाली भाषामाथि यतिविधि पकड छ कि उनको वाक्य संयोजन र शब्द चयनसँग एकप्रकारको आहारिस उत्पन्न हुन्छ । उनी अहिले पनि पुरानो बोलीचाली र प्रयोगको भाषा बिलाउन थालेकोमा, एफएमलगायत मिडियाले नेपाली भाषाको हुर्मत लिएकोमा चिन्ता गरिरहन्छन् । उनको कलमले मिहिन पाराले, कुनै नाराबाजी नगरी समावेशी नेपालको वकालत गर्छ, सर्वसाधारण र सीमान्तकृत नेपालीका इच्छालाई वाणी दिन्छ, सत्ता र शक्ति केन्द्रका ज्यादतीको रमाइलो पाराले भण्डाफोर गर्छ ।
‘के कुरा नभुलौँ भने पृथ्वीनारायण शाहले फैलँदै गएको आफ्नो साम्राज्यको राजधानी गोरखाको टाकुराबाट काठमाडौं खाल्डोमा सारेदेखि नै जे जति महत्त्व थियो, त्यो काठमाडौंले पायो । जे जति लाभ थियो, त्यो काठमाडौंले कमायो । गाउँ नै गाउँले भरिएको मुलुकमा यही एक मात्र सहर हुन गयो । अरू ठाउँमा बस्ने पाखे भए, यहाँका सदरिया कहलिए । अन्यत्र स्याउला र फुसका झुप्राहरू बन्दा यहाँ महल र दरबार ठडिए । …अरू बेघरबार हुँदा यहाँकाले मौजा र बिर्ता पाए । …अरू दुब्लाए, यो मोटायो । विपन्नताको महासागरमा यही ठाउँ समृद्धिको टापु भयो ।’ (पेज ७४) यसले नेपालको अहिलेको संघीयताको बहसलाई, अहिलेको राजनीतिक सीमान्तीकरणविरुद्ध आन्दोलनको अर्थ राजनीतिक सन्दर्भलाई यतिसारो सहित्यिक मूल्यसहित पेस गरेको छ कि उग्र राजनीतिक नारा या भाषणले भन्दा उनको लेखनको यो अंशले मानिसलाई वास्तविकता पहिल्याउन सहयोग पुर्‍याउँछ ।
उनको ज्ञानको क्षेत्र पनि फराकिलो छ । उनी एकठाउँ कुनै पिपी नामका कोही व्यक्तिबारे लेखिरहेका छन् । पिपीको व्यक्तित्वलाई व्यक्त्याउन उनी यस्तो उदाहरण प्रस्तुत गर्छन् ‘कन्फ्युसियसले भनेझैँ मानिस तलाउमा सरर तैरिरहेको हाँसलाई मात्र देख्छ, पानीभित्र उसले निरन्तर चलाइराखेको पाउलाई देख्दैन…’ (पेज २९) । यस्तै उनी नेपाली सत्ता राजनीतिको जनविरोधी भ्रष्ट मनोविज्ञान उजागर गर्न यस्तो सन्दर्भ ल्याउँछन्, ‘यो सबै गर्ने गराउने सिंहदरबारभित्र रुमल्लिरहेको चन्द्रशमशेरको प्रेतात्माले नै हो कि ?’ (पेज ३९) अथवा ‘राजा वीरेन्द्रको विवाह र पछि राज्याभिषेक हुँदाको अवसरमा काठमाडौं सिंगारिएको चाहिँ उसले आफ्नै आँखाले देखेको हो । ती अवसरमा पानीको फोहोरा लगाएर बाटाघाटा धोई पखालिएको मात्र थिएन, दुबोसहितको माटो चपरीका चपरी ओसारेर सडकछेउ हरियो चउरसमेत ठाउँठाउँमा बनाइएको थियो’ ( पेज २४) ।
उनी उखानहरूको प्रयोग पनि भरमार गरिरहन्छन् । ‘चिडिया चुग गई खेत, अब पछताये क्या होय ?’ ऋतुहरूका राजासदृश आफ्नो नामलाई नै आधार बनाएर लेखिएको स्तम्भका यी संकलनमार्फत उनले नेपाली व्यंग्य साहित्यमा आफ्नो अलग पहिचान र स्थान बनाएका छन् ।

No comments:

Post a Comment