Friday, August 15, 2014

निराश चिकित्सक र विरामी प्रधानमन्त्री

मंगलवार एकजना अधेडावस्थाका डाक्टर भेट भए उमेरले मेरा समकालीन । उनको एकजना छोराले पनि चिकित्सा शास्त्र अध्ययन सकेर नेपालकै नीजी क्षेत्रको एउटा नामी अस्पतालमा प्राक्टीस थालिसकेका छन् । यी पिता डाक्टरसंग पहिले देखि पनि समकालीन राजनीतिका विषयमा कुरा भैरहन्थ्यो । उनले कुरा थाल्ने मेलो गदै भने ‘आजकल धेरै भो नी तपाईको लेख पढ्न नपाएको ?’ मैले आफुले कान्तिपुरमा लेख्न छाडेको र नयाँ पत्रिकामा नियमीत स्तम्भकारका रुपमा लेख्दै गरेको जवाफ दिएपछि उनले भने “हेर्नुस तपाईलाई किन ढाँट्ने ? आजकल मलाई पत्रपत्रिका पढ्न, टिभिमा आउने समाचार र सम्वादहरु हेर्न मन लाग्दैन । पढ्न छाडें भन्दा हुन्छ । केहि पत्रिकाका ओपएडहरु कहिले कहिले हेर्छु त्यो पनि अंग्रेजी पत्रिकामा छापिएका । जव लेख्ने वोल्नेहरुका भन्ने कुरा र गर्ने कुरा फरक फरक हुन्छन् तव त्यस्ताको सम्वाद सुनेर म किन समय वरवाद गर्ने ? मलाई एकजना नेताप्रति पनि विश्वास छैन । गुण्डा र राजनीतिको सम्वन्ध, प्रहरीले गर्ने गैर न्यायीक हत्या, हर क्षेत्रमा राज्यको नीकम्मा पन देख्दा देख्दा मलाई देश देखेर विरक्त लाग्न थालेको छ । म अहिलेको नेतृत्व मात्रै होईन पछिल्लो पुस्ताको नेतृत्वसंग समेत आशावादी छैन ।, उनले आफु बसिरहेको कुर्सीबाट जुरुक्क उठ्दै भने, झलक जी, तपाईसंग किन धेरै कुरा गर्ने,  निष्कर्षमा भन्छु यो देश बस्न लायक रहेन ।’
गाउँको मध्यम किसान परिवारमा जन्मेर आफ्नै मेहनतले डाक्टरी अध्ययन गरेर कम्तीमा २८ बर्ष पेशा गरिसकेका यी विशेषज्ञ चिकित्सकको देशप्रतिको बुझाई सुनेपछि म झसंग भएं । मैले उनका धेरै कुरामा सहमती जनाएको थिएँ । मलाई पनि मानिसहरुले अखवार र टेलीभजनका पर्दामा लेख्ने या बोल्ने कुरा तटस्थ विश्लेषणका साटो वनावटीजस्ता लाग्छन् । यसमा नेताहरुका त कुरा के गर्नु, उनीहरु आम उपभोगका लागि वोल्छन् । मैले उनको पछिल्लो भनाईको पनि कुनै प्रतिवाद गरिन । प्रतिवाद गर्ने नैतिक सहास पनि मैले देखाउन सकिन । उनलाई लाउन खानको दुःख छैन । परिवार पाल्नको पनि र पछि बुढसकालमा के गरौंला भन्ने पनि समस्या भएका होईनन् उनी । कार राम्रै चढ्छन् । सन्तानको शिक्षा पुरा गरिसकेका छन् । काठमाण्डौमा राम्रो घर छ र महिनावारी कमाई सन्तोषजनक छ । तर भन्छन् यो देश बस्न लायक रहेन । उनलाई पनि वस्न लायक नरहेको देश मेरा लागि वस्न लायक हो कि होईन ? मेरा सन्तानका लागि ? मेरा आफन्तहरु, मेरा छिमेकिहरु, मेरा गाउँका दाजुभाईहरु, मेरो जत्तिको पनि हैसियत नभएका या मेरो भन्दा राम्रो गरिखाएकाहरु, पुरानो पुस्ताकाहरु, नयाँ पुस्ताकाहरु कसका लागि यो वस्न लायक छ ? वस्न लायक छैन भने कसका कारणले छैन ? कसले बनाउने हो ? बनाउनेहरु आकासबाट अवतरित हुने पनि अवस्य होईनन् । यी प्रश्नका उत्तरहरु दाविका साथ दिन सक्ने सामथ्र्य पनि मसंग छैन । मलाई अहिले पनि उनको भनाईले पोलीरहेको छ ः ‘निष्कर्षमा भन्छु यो देश बस्न लायक रहेन ।’
उनको निष्कर्षका पछाडी धेरै कारणहरु होलान । मानिसहरु सामान्यतया पहिले आफ्नो आर्थिक सामाजीक सुरक्षा चाहन्छ । मध्यमवर्गिय परिवारको एउटा पंक्तिले मेहनत गर्दा सामाज सापेक्ष त्यस्तो सुरक्षाको वन्दोवस्त आफै पनि गर्न सक्छन् । सरकारले त्यसका लागि केहि पुर्वाधारहरु बनाईदिए मात्रै पनि हुन्छ । राम्रो शिक्षा, स्वास्थ्य उपचार, कानुनको शासन, मानव अधिाकार, शान्ती सुरक्षा, र भौतीक पुर्वाधारहरुको । एकपटक आर्थिक सामाजीक हैसियत बनाईसके पछि मानिसलाई आत्मसम्मान र पहिचानको बढि खोजी हुन्छ । त्यस्तो आत्मसम्मानका लागि सामाजीक वातावरणको अनुकुलता आवस्यक पर्छ । कमसेकम विश्वका अरु देशको सापेक्षतामा आफ्नो गाउँ टोल, शहर या देश विकासका दृष्टिले, वातावरणका दृष्टिले, शान्ती सुरक्षाका दृष्टिले बस्नका लागि उपयुक्त बनोस् । सामाजीक अशान्ती या प्राकृतिक संकटका वेला राज्यले मानिसहरुको जीवनको रक्षा गर्छ भन्ने विश्वास होस् । त्यति भए मानिसहरु आफ्नोे थात थलो छाडेर हत्त पत्त वाहिर जान्नन । तर हामी अहिले जे जस्तो अवस्थाबाट गुज्रिरहेका छौं त्यसले मानिसहरुलाई वर्तमान मात्रै होईन निकट भविष्यमा पनि यो देश बन्ला जस्तो लाग्न छाडेको छ । यसरी ति डाक्टर र उनीहरु जस्तै धेरैको मनमा देशमा केहि हुँदैन भन्ने लाग्नु हाम्रो सबैभन्दा ठुलो त्रासदी हो ।
आन्तरिक राजनीतिक अवस्थाका कारण देशले जोखिमको सामना गरिरहेको छ । यस्तो जोखिम राजनीतिक स्थिरता, संविधान निर्माण, आर्थिक विकास, सामाजीक स्थायीत्व सहित आन्तरिक सुरक्षाका मामिलामा पनि देखा परेको छ । लामो समयदेखि निरन्तर समाजलाई गाँजीरहेको गरिवी हाम्रो सामाजीक स्थायीत्वको सबैभन्दा ठुलो जाखिमको कारण हो । तर त्यसको अर्थराजनीतिक प्रभावलाई वेवास्ता गर्दै हाम्रो राजनीतिक नेतृत्वले जस्तो उदेक लाग्दो व्यवहारको प्रदर्शन गरिरहेको छ त्यो अहिले गरिवी भन्दा ठुलो जोखिम बनेर उभिएको छ । संक्रमणकालीन राज्य ब्यवस्थाका कारण तलको वर्गले आफुले पाउने अधिकारका लागि शक्तिशाली आवाज उठाउने संरचना र मनोविज्ञान दुवै गुमाएको छ । ०६३ को जनआन्दोलनका बाछिटा र प्रभावले त्यो वर्गलाई अझैपनि अल्झाईरहेको छ । त्यसैले अहिले जेजस्तो जोखिम नेपाली समाजेले व्यहोरेको छ त्यसका लागि राजनीतिक नेतृत्व मुख्य रुपमा जीम्मेवार छ । अघिल्लो संविधान सभाको कार्यकाल माओवादीका तर्फबाट देखाएको राजनीतिक नीर्णय क्षमता र जोखिम मोल्ने क्षमताको अभाव तथा जसरी पनि माओवादीलाई कमजोर र असफल पार्ने एकशुत्रीय अभियानमा लागेको काँग्रेस, एमाले सहितको शहरीया घरानीयाहरुको निरन्तरको अवरोधका विच राष्ट्रका सामु स्विकार गरिएका कार्यसुचिहरुलाई वेवास्ता गर्दै सकियो । त्यसपछि पनि लोकतान्त्रीक संस्थाहरुलाई संवैधानिक लिकमा ल्याउन धेरै समय खर्च भयोे । पछिल्लो संविधान सभाको नीर्वाचन भएको ९ महिन पुग्न लाग्दा समेत देशले कुनै विश्वसनीय यात्रा तय गर्न सकेको छैन । यतिवेला राजनीतिक नेतृत्व गरिरहेका कथित लोकतान्त्रीक शक्तिहरुका नितान्त वैयक्तिक राजनीतिक स्वार्थहरुको खेलेमा समग्र देशलाई अनिर्णय र दिशाहिनताको वन्दी बनाईएको छ  । यसले अर्थतन्त्रलाई तस्करहरुको कब्जामा, शान्तीसुरक्षा गुण्डाहरुको कब्जामा, राजनीति विचौलीयाहरुको कब्जामा लैजाने प्रक्रियालाई गति दिएको छ । सामान्य सिण्डकेटले राज्यलाई घुँडा टेकाउने हैसियत बनाउन थालेको छ । राज्य चारैतर्फबाट नीरिह देखिएको छ । दिन पहिले १५६ जनाको ज्यान जाने र कोदारी राजमार्ग सहित केहि संरचनाहरुलाई प्रभावित गर्ने गरि सिन्धुपाल्चोकमा गएको पहिरोले पुर्याएको क्षतीको सामना गर्न राज्यले देखाएको असक्षमता नै पछिल्लो यस्तो उदाहरण हो । यो अहिलेको सबैभन्दा ठुलो जीखिम हो । जोखिमबाट छिटै उम्कने प्रयास नगर्ने हो भने यस्ता जोखिमहरुले थप संकटका लागि बाटो खोल्छन् । रोग प्रतिरोधक क्षमता नभएको मानिसलाई संक्रमणको खतरा बढि भएको जस्तो आन्तरिक सुरक्षा जोखिम बढि भएको देश या समाजले थप संक्रामक सामाजीक अवस्थाहरुको सामना गर्नुपर्ने हुन्छ । जव मानिसहरुमा यस्तो जोखिम सहन गर्ने मनोवल पनि खस्कन्छ तव उसले वैकल्पीक उपायहरुको खोजी गर्छ । एउटा वर्गले विद्रोह रोज्छ अर्को वर्गले सामान्य सुरक्षित भविष्यका लागि बसाई सराई या आफ्नो घरकोे किलावन्दी ।
पछिल्लो समय देशको नेतृत्व प्रधानमन्त्री तथा पार्टी सभापति सुशिल कोईराला मार्फत नेपाली काँग्रेसले गरिरहेको छ । निर्वाचनमा उसले अनपेक्षित रुपमा जनताको नकारात्मक समर्थन समेत हासील गरेर पहिलो पार्टी बन्ने मौका पाएको थियो । एमाओवादीबाट गरिएको आसालाई माओवादीले पुरा गर्न नसकेपछि उत्पन्न प्रतिक्रियास्वरुप काँग्रेस र एमालेले संसदमा पहिलो र दोस्रो शक्तिको हैसीयत कमाएका थिए । तर यी आठ महिना उनीहरुको नेतृत्वले देखाएको गैर जीम्मेवार र भ्रष्ट प्रवृतीले संसद सहितका सबै संवैधानिक तथा राज्य संरचनाहरु मतिभ्रष्ट र कमजोर बन्दै गएका छन् । प्रहरी, न्यायालय, सार्वजनिक प्रशासन, गृह प्रशासन समेत अनेक संरचनाहरु विस्तारै विवादित भएका छन्, विश्वास गुमाउँदै गएका छन् । आर्थिक विकासमा तेस्रो फेजको उदारीकरणको वतासे नारा दिएको अर्थमन्त्रालयको नेतृत्व दिन दिनै दिशाहिन बन्दै गएको छ । वैंकहरु अधिक तरलताको समस्यामा छन् र उद्योग तथा व्यबसायमा लगानी गर्ने आत्मविश्वास उद्योगपतिहरुले आर्जन गरिसकेका छैनन् । जे जति लगानी छ त्यो अनुत्पादक क्षेत्रमा छ जसले अर्थतन्त्रलाई झन ठुलो जोखिममा धकेलीदिन्छ । अर्थात यत्ति भन्न सकिन्छ देश जोखिममा छ ।
यस्तो जोखिम पुर्ण संक्रमणकालका वेला प्रमुख कार्यकारीको कुर्सिमा विराजमान छन् श्री सुशिल कोईराला । उनी एकपटक मल्टिपल स्वास्थ्य समस्याबाट थकित गलित छन् । उनले केहि साता पहिले ५ साता विदेशमा उपचारका लागि वितएका छन् । फेरी त्यसै उद्देश्यका लागि विदेश जाने मिति तय भैसकेको छ । उनले निर्णय नलिएर आफ्नो कार्यकालको रेकर्ड बनाउने कसम खाएको जस्तो गरिरहेका छन् । सरकारले गर्नुपर्ने निर्णयहरु निरन्तर पछि धकेलीएका छन् र प्रधानमन्त्री भने आफ्नो सयन कक्षमा यो गर्मि याममा पञ्चाग्नीले सेकिएर जीवन धानिरहेका छन् । प्रधानमन्त्री विरामी परेपछि मन्त्रीपरिषद स्वतः पक्षघातग्रस्त भएको छ । नियुक्तीहरुको अभावमा अन्य संरचनाहरु थलापरेका छन् । सबैभन्दा बढि राजनीतिक नेतृत्व चाहिने संविधान सभामा प्रधानमन्त्री तथा सबैभन्दा ठुलो दलका सभापतिका नाताले कोईराला उपस्थित नै भएका छैनन् भन्दा हुन्छ । अहिलेसम्म सामान्य प्राविधिक या कम विवादास्पद विषयका वरपर मात्र संविधान सभा अल्झिरहेको छ । मुख्य विवादका र सैद्धान्तीक प्रश्नहरुमा अहिलेसम्म संविधान सभाले प्रवेश नै गरेको छैन । यो अवस्थामा यति सारो स्वास्थ्यका कारणले लाचार र नेतृत्व क्षमताका दृष्टिले निकम्मा नेतालाई माझी बनाएर संकटको नदी तर्न  असम्भव छ । प्रधानमन्त्री कोईरालाले या त आफैले राजीनामा दिएर या त संसदले उनलाई हटाएर अहिलेको समस्याको निदान खोज्ने वेला भयो ।

No comments:

Post a Comment