Monday, August 11, 2014

संक्रमणकालिन छट्पटी



बुधबार विहानै भारतीय पत्रकार सिद्धार्थ बर्धराजनले समाचार संस्था एपीले अंकाराबाट पठाएको एउटा समाचारलाई ट्विटेका रहेछन् जसमा जनाइए अनुसार टर्कीका उपप्रधानमन्त्री बुलेन्त अरिन्कले गत साता भनेछन् ः ‘महिलाहरुले सार्वजनिक ठाउँमा चर्कोसंग हास्नु हुन्न । ईज्जतदार माहिलाहरु सार्वजनिक स्थानमा त्यसरी हाँस्दैनन् ।’ त्यसका विरुद्ध महिला अधिकारकर्मि तथा टर्किस ससदका सदस्य ऐलिन नजलियकाले त्यहाँको अदालतमा मुद्धा दायर गरेकी छिन । केहि टर्किस महिलाहरुले आफु मज्जाले हाँसीरहेको फोटो सामाजीक सञ्जाल फेसबुकमा छ्याप्छ्याप्ती राखेर उपप्रधानमन्त्रीको भनाईमाथि व्यंग्य गर्दै खिल्ली उडाएका छन् । समाचारलाई केलाउँदा देखिने सत्य के हो भने उपप्रधानमन्त्रीको सार्वजनिक स्थानमा आएको अभिव्यक्तिःकुनै एकलकाटे मनोरोगीको अभिव्यक्ति होईन बरु यो त टर्कीस समाजको पुरुष मनोविज्ञानको अभिव्यक्ति हो । तिव्ररुपमा पुँजीवादको विकास भएको र युरोपेली संस्कृतीको चर्को निशानामा रहेको टर्कीका पुरातनपन्थी राजनीतिज्ञहरु भने यो परिवर्तनले खोजेको साँस्कृतीक रुपान्तरणलाई स्विकार गर्न मानिरहेको छैन । उदारवादी मुश्लिम समाजमा पनि महिलाप्रति पुरुष मनमा रहेको दमित शासनाकाँक्षा जीवीत छ ।
यो समाचार पढ्दै गर्दा मलाई केहि समय अगाडी नेपाली भाषाका आदिकवि भानुभक्तको जन्म जयन्ती मनाईएको बेला छापामा आएका अनेकवली अभिव्यक्तिहरुको सम्झना भयो । भानुभक्त आचार्यले आफ्नो मातृभाषा रहेको खस नेपालीलाई लेख्य  भाषाको रुपमा विकास गर्न गरेको योगदान अतुलनीय छ, प्रशंसनीय छ । उनको भाषाले अन्य गैरखस नेपाली भाषीहरुमाथि नकारात्मक असर परेको भएपनि त्यो उनको भन्दा शासकहरुको दोषले भएको हो । अहिलेको नेपाली जातीको सामुहिक पहिचान बनाउने शासकीय अभिलाषामा उनको लेखनले महत्वपुर्ण योगदान पनि पुर्यायो होला । तर मेरो विचारमा एकजना कविका रुपमा उनको योगदान र उनको विचारलाई अलग्याएर हेर्न मिल्दैन । उनले बधुशिक्षा मार्फत महिलाहरुलाई जे जस्तो भुमिका तोकेका छन् त्यो आलोच्य छ जसले उनको व्यक्तित्वलाई मज्जासंग खण्डित गरेको छ । केहिले भने खस नेपाली भाषाको क्षेत्रमा उनको योगदानको चर्चा गर्दा उनका पुरातन विचारको बचाउ गरेको पनि देखियो । सबैभन्दा खतरनाक पक्ष के थियो भने यसपाली भनुभक्तको जन्म जयन्ती कार्यक्रमलाई पछिल्लो समयमा उठेको पहिचानवादी राजनीति (जसमा गैर खस नेपाली भाषिहरुको राजनीतिक पहिचान या स्पेश विस्तारको मुद्धा पनि प्रमुख छ) को प्रतिक्रियामा भानुभक्तलाई उजील्याउने प्रयासका रुपमा लिएको पनि देखियो ।
यो आफैमा उदेकलाग्दो मानसिकताले हाम्रो विश्वविद्यालदेखि प्रज्ञाप्रतिष्ठान र संरकारको संरचनालाई गाँजीरहेको छ । मलाई अहिले भने उनको बधुशिक्षा जस्तै नेपालीमा प्रचलित कविताको पंक्ति याद आयो टर्कीका उपप्रधानमन्त्रीको भनाई सुनेर ‘हाँस्नु हुन्न कदापी नारीहरुले वेश्या हुने हाँस्दछन् ।’ सामन्ती चिन्तनधाराको यो भयानक अभिव्यक्ति सामन्तवादबाट विश्व अर्थतन्त्र, राजनीति र समाजले पुँजीवादमा फड्को मार्दा पनि यतिको वलशाली ढंगले अनेक ठाउँ र सन्दर्भमा पुर्नउक्ति भैरहनु एशियाली मानसिकता र हिन्दु तथा मुश्लिम दण्ड (आचार) संहिताको जरो कति जर्वजस्त गढेको छ भन्ने कुराको अभिव्यक्ति पनि हो ।
यो समाचार पढिरहेकै बेला यता कान्तीपुर अनलाईनले एउटा सानो समाचार सार्वजनिक गरेको थियो । सामाजीक सञ्जालमा प्रचार भैरहेको उक्त समाचार अनुसार काठमाण्डौमा यस अगाडी नाम नसुनिएको चौकठ नामक समुहका केहि महिलाहरु मंगलवारको साँझपख रत्नपार्कको बाटिकामा जम्मा भएर केहि खानेकुराहरु खादै नेपालीे माहिलाहरुका बारेमा छलफल चलाईरहेका थिए । उनीहरु बसेकै ठाउँमा कुनै हिन्दुवादी संगठनका युवाहरु आएर कार्यक्रम विथोलेछन् । ‘वैदीक सनातन हिन्दुराष्ट्र नेपाल’ नाम गरेको कथित समुहका युवाहरुले महिलाहरुलाई भनेका रहेछन् ‘तिमीहरु नेपाली महिला होईनौ अन्य धर्मको प्रचार गर्न आएका हौ’ । प्रहरीले हस्तक्षेप गरेपछि कुनै क्षति नभएको भएपनि कार्यक्रम विथोलिएको थियो । सायद, कार्यक्रमको आयोजना गर्नेहरु चैं महिलाहरुको अस्तित्वलाई महिलाकै आँखाले हेर्नेहरु थिए, उनीहरु पुरुषको विस्तारित वर्चस्व रहेको समाजमा आफ्ना लागि आफ्नो स्थान आफै निर्माण गर्ने प्रयासमा थिए क्यारे । साँझ सात बजे रत्नपार्कमा पाल टाँगेर छलफल कार्यक्रम विना उद्देश्य पक्कै आयोजना भएन । उनीहरुलाई विथोल्न आउनेहरु भने पुरुष प्रधान मानसिकता बोकेका र परिवर्तनका सबै पक्षहरुलाई आफ्नो नियन्त्रण र आदेशमा चलाउन खोज्ने सनातन हिन्दुवादीहरु थिए । महिलाहरुले खुला स्थानमा पुरुषको आदेश विना यस्तो छलफल गर्नु सामाजीक मर्यादा विपरित भयो भन्ने पुरुषहरुको मनसाय त्यहाँ अभिव्यक्त भएको बुझ्न सकिन्छ । किनभने हिन्दुधर्म बचाउन यतिसारो दमनकारी भैरहन आवस्यक देखिन्न । यस्तै कुनै समुहले एकबर्ष अगाडी बबरमहल स्थित आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएको चित्रकलाले हिन्दु धर्मको अपमान गरेको भन्दै विथोलेको थियो । त्यतिवेला सरकारका तर्फबाट काठमाण्डौका प्रजीअले कार्यक्रम आयोजकलाई नै अप्ठेरोमा पारेका थिए अर्थात राज्यले कलाकारलाई होईन विथोल्नेहरुलाई संरक्षण गरेको थियो । सिर्जनात्मक अभिव्यक्ति स्वतन्त्रतामाथिको उक्त आक्रमणको पर्याप्त विरोध हुन नसक्दा उल्टो पुरातनपन्थी कट्टरतावादीहरुको मनोवल बढेको थियो ।
‘वैदीक सनातन हिन्दुराष्ट्र नेपाल’ नामको संगठन भएको कुरा यस अगाडी मेरो जानकारीमा थिएन । हुँदो हो कतै । तर यो समाचारले त्यो संस्थालाई अव सार्वजनीक चासो र चर्चामा ल्याईदिने छ । त्यसका पक्ष र विपक्षमा तर्कहरु हुनेछन समाजमा । त्यहि रत्नपाकर्कको गणेशमानसिंह बाटिकामा हिन्दु राज्यको घोषणा गरिनुपर्ने माग गर्दै अनशन भएको थियो, सम्भवतः अहिले पनि त्यो जारि छ । अनसन बस्नु र आफ्ना मतहरु राख्नु विल्कुल जायज र लोकतान्त्रीक पद्धती हो । यसमा कुनै आपत्ती हुने कुरा भएन । शंका लाग्छ के भने चौकठका हिलाहरुको कार्यक्रम विथोल्ने जमात अनशानकारीहरुबाटै संगठित भएको होस् ।
यो सक्रियता र मोदीको भ्रमणको कुनै गोरु बेचेको साईनो पनि नहुन सक्छ तर एउटा धर्म निरपेक्ष घोषित देशको सरकारी आतिथ्यमा ‘राजकीय’ भ्रमणमा आएको अर्को देशको शक्तिशाली प्रधानमन्त्रीले जव पौने घण्टा लगाएर पशुपतिको पुजा गर्छ र संसदलाई सम्वोधन गर्दा पशुपतीको महिमामा लामै समय खर्च गर्छ तथा त्यस्तो बखान सुनेर हाम्रा लोकतन्त्रवादी या वामपन्थी क्रान्तीकारीहर ताली ठोक्छन् अनि त्यसको प्रभाव सामान्य जनमा पर्नु र त्यसले हिन्दु अतिवादीहरुलाई हौस्याउनु स्वभाविक हुन्छ । यसैपनि नेपालमा ०६३ को जनआन्दोलन, त्यस अगाडी माओवादीले गरेको ससस्त्र विद्रोह र जनजाती, मधेशी, महिला, दलित समेतले गरेको पहिचान खोजीको आन्दोलनका कारण गणतन्त्रमा जानुपरेको, संघीयतामा जानु परेको, धर्म निरपेक्षता स्विकार गर्नुपरेको, समावेशी र सहभागितामुलक लोकतन्त्रको अभ्यास र सिमान्तकृतहरुलाई अगाडी ल्याउन राज्यले थालेका विशेष लक्षित कार्यक्रमहरुबाट निकै चिढिएको एउटा वर्ग उक्त परिवर्तनलाई धमिल्याउन र पुराना दिन फर्काउन लालयीत छ । गएको संविधान सभाको नीर्वाचनले उक्त समुहलाई निकै हौस्याएको पनि हो । यसैवेला भारतीय प्रधानमन्त्री मोदीको सञ्चरजगतले स्थापित गरिदिएको छवि र व्यक्तित्वले वशिभुत भएको तथा कद होचीदै गएका नेपाली नेताहरुबाट विरक्तिएको एउटा शहरीया मध्यमवर्गिय तप्का तथा केहि हदसम्म उच्च खस जातीको हिन्दुवादी पंक्तिपनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबाट अति उत्साहि भएको थियो । मोदीले गौतम वुद्ध नेपालमै जन्मेका थिए भन्दा उल्लासले चिच्याउने र नेपाललाई सार्वभौमसत्ता सम्पन्न देश भन्दा खुशि हुने अचम्मका नेता र नयाँ पुस्ता हुर्किरहेको देशमा आफ्नो निस्चित गन्तव्य र लक्षका बारेमा अष्पष्टताहरु भएपछि सक्रमणकालीन छटपटिले निकै लखेट्ने नै भयो । यो लखेटाई कहिले काँहि प्रतिगामी हरकतमा संगठित हुने खतरा रहन्छ । वाटीकामा भएको घटना त्यसको सानो अभिव्यक्ति भने पक्कै हो ।
केहि दिन अगाडी एउटा पारिवारीक जमघटमा एकजना दाई भेट भए । भारतीय सेनाबाट सेवानिवृत उनी एउटा खसवादी पार्टीको राजनीतिमा पनि सक्रिय छन् । उनले निकै आवेगमा आएर मसंग भने ‘हेर भाई अव नेपालमा ठुलो रक्तपात हुन्च । एउटा आरक्षणका विरोधमा हुन्च । एउटा हिन्दुधर्मका पक्षमा हुन्च । कति मान्छे मर्चन हेरिराख्लास् । आरक्षण त गरिवलाई पो हुन्च जातलाई हुन्च ? मानिसहरु यस्तो कुराले खुव रिसाएका छन् । त्यसैगरि नेपालमा क्रिस्चियन धर्मको प्रचार जसरी बढेको छ त्यसले पनि मानिसहरुलाई पिरोलेको छ । तँलाई त था’छैन होला, हाम्रो गाउँका दलित जति सबै ईसाई भ’ऽचन् । हुुँदा हुँदा हाम्रो पुजापाठ गर्ने पण्डितका सन्तान पनि सबै पो ईसाई भऽचन् गाँठे । पैसाको लोभ देखाएर मन्छेलाई अर्को धर्ममा लाने कुरा रोक्न पर्च हेर । अव देशमा त्यसका लागि पनि लडाई हुन्च हुन्च ।’
यो अभिव्यक्ति सामान्य आक्रोस र प्रतिक्रिया अवस्य होईन । उनी त्यति उग्र विचारका मानिस पनि होईनन् । तर उनको भनाईले नेपालमा वर्तमान राजनीतिक विकासक्रमलाई कतिसम्म नकारात्मक ढंगले बुझिदैछ भन्नेवारे संकेत गर्छ । यसमा एकातिर मिशनका रुपमा फैलाईएको क्रिश्चियानिटीको राजनीतिप्रति आक्रोस छ, जुन कुनैपनि धार्मीक मानिसका लागि स्वभाविक मानिन्छ । हरेक ईशाई, बुद्धिष्ट, ईश्लाम या हिन्दु यो मनोविज्ञानबाट धेरथोर प्रभावित हुन्छ । हालै काँग्रेसका नेताहरुले हिन्दुधर्मका पक्षमा उठाएको संगठित आवाज, वर्मा र श्रीलंकामा वुद्धधर्मका अनुयायी र गेरुवस्त्रधारीहरुले मुश्लिमहरुमाथि मच्चाएको अशान्ती, एशिया, अफ्रिका र युरोपसम्म ईश्लामका अनुयायीहरुले चलाएको आतंक, धर्मलाई हतियार बनाउने सनातनी पस्चिमा राज्यहरुको नीति सबैले यहि भन्छन् । ईजरायल र प्यालेष्टाईनीहरुको विचको द्वन्दमा त यो झन नाँगो देखिन्छ । अर्कोतिर नेपालको आर्थिक विकास र राजनीतिक परिवर्तनले आम मानिसहरुलाई समेट्न नसकेकोकाले बढेको निराशा पनि यस्ता अभिव्यक्तिहरुमा भिन्न भिन्न ढंगले आईरहेको हुन्छ । खासगरि पछिल्लो जनआन्दोलन पछि त्यसको नेतृत्व गरेको एमाओवादीले अवसर पाएर पनि राज्यलाई आम जनताको पक्षमा परिचालन गर्न, स्रोतहरुको गरिवमुखि वितरण गर्न र मानिसहरुका सपनालाई जीवीत  राख्न असफल भएपछि तथा तोकिएको समयमा संविधान दिन नसकेपछि समाजमा प्रतिक्रियात्मक निराशा बढेको जस्तो मलाई लाग्छ । सामान्य जनले त्यसकोे अभिव्यक्ति गत मंसीरमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा एमाओवादीलाई पराजीत गरेर दिएको थियो । तर त्यसयता बनेको कोईराला सरकारको नीति या अनीतिले मानिसहरुमा झन निराशा बढाईदिएको छ । अहिले त स्वयं काँग्रृेस र एमाले नै सबैभन्दा बढि असन्तुष्ट हुँदैछन् । खासगरि माओवादी आन्दोलनको विसर्जनकै तहको विभाजन, अन्तरकलह, र दिशाहिनताले मानिसहरुलाई सबैभन्दा निराश बनाएको छ तथा त्यसको अभिव्यक्तिका रुपमा अनेकवली दक्षिणपन्थी मनोविज्ञानलाई कथित लोकतन्त्रवादी जनमत निर्माताहरु प्रोत्साहित गरिरहेका छन् । त्यसमाथि वेकम्मा र वद्नाम सावित भैसकेका काँग्रेस र एमालेको पछिल्लो सरकारको चालाले मानिसहरुलाई जसरी निराश बनाउँदै छ त्यसले समाजमा प्रतिक्रियात्मक रुपमा प्रतिगामी विचार र आक्रोस जन्माउन सक्ने खतरा बढेको छ । यसबारेमा नेतृत्वले मात्र होईन सम्भावित नेतृत्वको दावि गर्नेहरु र जनमत निर्माताहरुले समेत ध्यान पुर््याउनु आवस्यक छ । ध्यान दिनु भन्नुको अर्थ हो नेतृत्व र राज्यले मानिसहरुका परिवर्तनका आकाँक्षालाई छिटोछिटो गतिमा संवोधन गर्नु । काठमाण्डौको सडकमा मोदीले हात हल्लाउँदा उनको पक्षमा जीन्दावाद भन्ने मानिस कसैले तयार पारेका लठैत होईनन् । संसदमा अनर्थपुर्ण रुपमा ताली बजाउने हाम्रा प्रतिनिधिहरु र सडकमा मोदीको पक्षमा नारालगाउने सर्वसाधारणको मन बराल्न खासै केहि चाहिन्न भन्ने त मोदी भ्रमणले पनि सावित गरिसकेकै छ नि !



No comments:

Post a Comment