फेवाताल बचाउन भइरहेका प्रयास (protecting Fewa Lake)




(यो फोटो पोखरा महानगरका मेयर धनराज आचार्यको फेसबुक पेजमा जुलाई १०, २०२५ मा अपलोड गरिएको थियो, त्यहीँबाट साभार गरिएको हो । अहिले १०५५ वटै पिलर गाडिएका छन् ।)


पोखराका मेयर धनराज आचार्यले पछिल्लो समय फेवाले ओगटेको भनेर तोकिएको सिमानामा पिलरहरु गाड्ने कामको प्रगति विवरण सामाजिक सञ्जालमा शेयर गर्दै आएका छन् । वर्षौंपछि फेवाले आफ्नो चारकिल्ला खुल्ने गरी गाडिएका पिल्लरको सुरक्षा घेरा पाएको जस्तो देखिएको छ । धनराज आचार्यले आफ्नो फेसबुक पेजमा शेयर गरे अनुसार फेवाको भनेर तोकिएको ६.३४३ वर्ग किमि क्षेत्रफललाई भित्र पारेर १०५५ वटा सिमास्तम्भ गाडिएका छन् । 


यसैबीच फेवातालको सरसफाइको जिम्मेवारी सम्हाल्न नेपालकै महत्वपूर्ण मध्येको एउटा व्यवासयीक घराना बन्न पुगेको पोखरेली समुह लक्ष्मी ग्रुपले महानगरसंग सम्झौता गरेको जानकारी पनि मेयरले दिएका छन् । महानगर र लक्ष्मी ग्रुपको बीचको यो सहकार्य सफल भयो भने फेवातालको सरसफाइ र सौन्दर्यकरणमा सुधार त हुने नै छ संगै सार्वजनिक वस्तु तथा सेवाको क्षेत्रमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिताको उदाहरण बन्न सक्ने देखिन्छ । यसका लागि लक्ष्मी ग्रुपलाई विशेष धन्यवाद दिनुपर्छ । 


अवस्य पनि यो मात्रै फेवातालको निरन्तरतामा देखिएको चुनौतीको उपचार होइन । जलाधार संरक्षण र अतिक्रमित भागबाट यसको उद्धारका काम बाँकी छन् । अहिले तालवरपरको जमिनसंग जोडिएको आवादी र त्यसको आर्थिक राजनीतिक शक्तिलाई हेर्दा ताल संरक्षणका सबै काम सहज रुपमा हुनेछन् भन्ने आसा गर्न पनि गाह्रो छ । तर पिल्लर गाड्ने योजनाको सफल कार्यान्वयनले पचासौं वर्ष अगाडी हुनुपर्ने एउटा कामलाई अघि बढाएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ र बाँकी कामलाई गति दिन नेपाल सरकार, गण्डकी प्रदेश सरकार र महानगरलाई सहयोग गर्नुपर्छ । 

यसरी फिल्डमा पनि र नक्सामा पनि पिलर गाडिनुले त्यसभित्र थप अतिक्रमण रोक्न र पछि आवस्यक क्षतिपूर्तिको व्यवस्था सहित तालको जग्गा ताललाई नै फिर्ता गर्न पर्याप्त आधार तयार हुनेछ । 

आफुसँग जे छ त्यसैलाई जोगाउने हो । हामीले नेपालमा भएका मुख्य ताल तलैया र सिमसारहरुको रक्षा गर्न सक्यौं भने मात्र पनि त्यो जलवायु परिवर्तनका थप भयानक हुँदै आइरहेका जोखिम घटाउन मद्धत पुग्ने हो । पोखरामा जे जति ताल तलैया र पोखरी छन् तिनको संरक्षण गर्न सकिएन भने यसको सौन्दर्य त सकिने छ नै त्यसले यहाँको पारिस्थितिक प्रणालीलाई ठुलो क्षति पुग्ने छ । अहिलेको पोखराको आन्तरिक तथा वाह्य पर्यटन टिकाएका यी तालहरुको संरक्षण आर्थिक साँस्कृतिक विकासका दृष्टिले पनि उत्तिकै अर्थपूर्ण छन् । बाँध बाँधेर नियन्त्रण गरेपछि वेगनास ताल अपेक्षाकृत रुपमा सुरक्षित भएको छ भने रुपामा पनि त्यस्तो प्रयास भइरहेको छ ।

राजनीतिक दलहरु, स्थानीय समुदाय समेतले तालको संरक्षणको कामलाई भन्दा स्थानिय आर्थिक गतिविधिलाई प्राथमिकता दिएर अतिक्रमण गर्नेहरुसंग सम्झौता गर्दा फेवाको अस्तित्व मेटिने जोखिम बढेर गएको र संरक्षण गर्न नसक्ने हो भने आगमी ५० देखि १०० वर्षमा यसको अस्तित्व लोप हुने चेतावनीहरु आइरहेको समयमा सर्वोच्च अदालतले अर्थपूर्ण फैसला गरेर सरकारलाई फेवा बचाउन सहयोग गरेको थियो । अहिले जे भइरहेको छ त्यसका लागि न्यायालयको उक्त फैसलाले दिएको दवावले काम गरेको छ ।

पछिल्लो समय पोखरामा केही उल्लेख्य पूर्वाधरका काम भइरहेका छन् । क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनेको छ, अहिले वाह्य उडानहरु नभएपनि ढिलो चाँडो हुनेछन् र त्यसको लाभ पोखराको पर्यटन क्षेत्रले लिनेछ । पृथ्वी राजमार्गको विस्तारको कामले कोत्रेदेखि पृथ्वीचोकसम्म महानागर क्षेत्रको यातायात सुविधालाई ह्वात्तै सहज बनाउने छ । वेगानास ताल जोड्ने तालचोक खुदीको मुहान क्षेत्रको सडक विस्तारले त्यस क्षेत्रको शहरीकरण र फेवा तथा रुपा तालको पर्यटकीय उपयोग विस्तार गर्दै आर्थिक गतिविधि बढाउने छन् ।

एउटा सभ्य र सुन्दर शहरका रुपमा पोखराको विकासका चुनौती धेरै छन् । खासगरी सार्वजनिक यातायात र सार्वजनिक स्वास्थ्य सेवाका क्षेत्रमा गर्नुपर्ने अनेक काम छन् । त्यसका बावजुद त्यहाँ भइरहेका सुधारका प्रयासहरु देख्दा सुन्दा पोखराको भविष्यप्रति आसावादी हुन मन लाग्छ । 

भोला थापाको समयमा सुरु भएको पोखराको आधुनिकिकरण प्रक्रियाले  अहिले धनराज आचार्यको समयमा आइपुग्दासम्म केही सकारात्मक परिणाम दिएको देख्न सकिन्छ ।

 


Comments

Popular posts from this blog

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.

these Photos were taken in Qinghai lake China last year.