Tuesday, March 26, 2019

जसबहादुर दाइको ‘फेसबुक पोस्ट’

नेकपा एकता यति ढिलो हुनुसँग यसको कुनै सम्बन्ध नहुन सक्छ र हुन पनि । सत्तामा नेकपा हुनुसँग पनि यसको साइनो नहुन सक्छ र हुन पनि । राजनीतिक दल निर्माणका अनेक आयाम हुन्छन् । नेकपा निर्माणका पनि अनेक आयाम छन् । हजारौँ कार्यकर्ता, लाखौँ समर्थक र मतदाताका अनेक समयका अनेकानेक योगदानले पार्टी बनेको हो । कोही भूमिगत भएर काम गरे, कोही जेल बसे, कोही गाउँमा शिक्षक भएर, कोही विद्यार्थी कार्यकर्ता भएर पार्टी निर्माणमा जुटे ।
कसैले सेल्टर दिए, कसैले हतियार बोकेर लडे, कति सहिद भए, कति घाइते र अपांग । कतिले गाँस काटेर नेता पाले, कतिले घर बिगारेर दलमा योगदान गरे । ती सबैको इतिहासको योग पनि हो, यो पार्टी । कुनै नेताले बढी भूमिका खेले होलान्, कसैले कम । तर, एकजनाको मात्र योगदान झिक्दा पनि यो इतिहास पूरा हुँदैन । यसको हिसाब राख्ने फुर्सद अहिलेसम्म कसैले निकालेको छैन । सबैको समान योगदान भएको पनि होइन । 
म अलिकति स्थायी खालको अराजकतावादी र अलिकति निरन्तरको विद्रोही या असन्तुष्ट प्रकृतिको हुँ कि जस्तो लाग्छ । आफ्ना खुसीले हिँडेको बाटोले के नाफा, नोक्सान ग¥यो भनेर हिसाब गर्नु मूर्खता हो । मलाई त्यसको झन्झट कहिल्यै उठाउन मन लागेन । कसैले हिसाब राखेको छ भने त्यो उसको कुरा हो, उनीहरूको समस्या हो । मलाई च्वःच्वः गर्ने र दया देखाउनेहरूको कमी छैन, त्यतिको राजनीति गरेको मान्छे अहिले हरायो, बिग्रियो या कसैले बिगा-यो भन्नेको कमी पनि छैन । मलाई जे भएको होस्, मेरो संगतमा रहेका कतिपयलाई भने अवश्य घाटा पुगेको हुनुपर्छ ।
कमसेकम कास्कीका केही साथीको गुनासो र आक्रोश सुनेपछि म त्यही ठान्छु । राजनीतिमा हुँदा पनि र निकै बाहिरिएर बहकिँदा पनि गुटगत राजनीतिको एउटा हिस्साका रूपमा मेरो उपस्थिति जहिले पनि रह्यो । पार्टीमा म रहिनँ, तर विगतमा मसँग जोडिएकै कारण कतिपयले संरक्षण नपाएर या खेदाइ र गोदाइ खाएर हैरान भइरहनुपरेको गुनासो आइरहन्छ ।
०३९ को आरम्भमा गाउँ पञ्चायत निर्वाचनको तयारी हुँदै थियो । म बार्चाेकको अन्नपूर्ण प्राविमा पढाउँथेँ । पञ्चायतको निर्वाचन बहिष्कार गर्ने पार्टीको नीति थियो । म आफ्नो ठाउँमा त्यसलाई लागू गर्नुपर्ने दबाबमा थिएँ । स्कुलमा रहेको अखिलको प्रारम्भिक कमिटीबाहेक एउटा पनि संगठन थिएन । गाउँमा पार्टी सदस्य पनि कोही थिएन । मलाई पार्टी सदस्यताप्रति कहिल्यै रुचि पलाएन । त्यस्तोमा गाउँ पञ्चायतको निर्वाचन बहिष्कार कार्यक्रम कसरी लागू गर्नु ? 
एक दिन म पार्टीका तत्कालीन महासचिव सिपी मैनालीको अन्तर्वार्ताको सँगालो समेटेर निस्केको पहेँलो गाता भएको र कभरका अक्षर राता भएको सानो पुस्तक लिएर हाईस्कुलतिर झरेँ । मेरो दाइसँगै पढेका र मभन्दा सिनियर दाइ जसबहादुर गुरुङसँग भेट भयो । हामीबीच कहिलेकाहीँ राजनीतिक संवाद पनि हुन्थे, तर संगठित जीवन दुवैको थिएन ।
केही पुस्तक आदान–प्रदान पनि हुन्थे । चेङ्गिज आइतमातभको विश्व चर्चित उपन्यास ‘बुढो र घोडा’ मैले उनैसँग लिएर पढेको थिएँ । उनै दाइ प्रधानपञ्चमा उम्मेदवार बन्ने तरखरमा रहेछन् । म बीस वर्ष पुगेको थिइनँ, उनी पच्चीस वर्ष पुग्दै थिए । मैले सिपी कमरेडले निर्वाचन बहिष्कारबारे दिएको अन्तर्वार्ता पढ्न दिँदै पार्टीको नीति सम्झाएँ । उनले आफू प्रधानपञ्च भएर समाजमा सकारात्मक काम गर्दै यता पार्टीलाई पनि सहयोग गर्न सक्ने कुरा गरे । हामी आआफ्ना मान्यता कायम राख्दै आपसमा सहयोग र सहकार्य गर्ने भन्दै छुट्टियौँ ।
संगठन नबनाई मास पोलिटिक्स गर्ने मेरो कमजोरीको परिणाम पनि थियो त्यो र रैथाने पुस्तैनी राजनीतिको जसबहादुर दाइमा रहेको प्रभाव पनि । उनी सामाजिक काममा सक्रिय भए । त्यसअघि उनको अघिल्लो पुस्ताका दुईजना प्रधानपञ्च भएका थिए । आइएसम्म पढेको र घरमा आर्थिक रूपले सम्पन्न यस्तो युवा राजनीतिमा प्रवेश गरेको थिएन । उनले परम्परा पनि धाने र नयाँ पुस्तासँग पनि राजनीतिलाई जोडे ।
०४३ को आखिरीमा फेरि गाउँ पञ्चायतको निर्वाचन भयो र ०४४ को आरम्भमा जिल्ला पञ्चायतको । यसपटक पनि उनै दाइ प्रधानपञ्चमा निर्वाचित भए । यसपालि भने पार्टीले उनलाई उम्मेदवारका रूपमा समर्थन गरेको थियो । म अर्को स्कुलमा शिक्षक थिएँ । गाउँमै बस्थेँ । ०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा पञ्चहरूका अनेक दबाब थेग्न जसबहादुर दाइले बलियोसँग उभिएर सहयोग गरे । अब उनको राजनीतिक परीक्षण सुरु भयो ।
पञ्चायती दमनको बिगबिगी थियो । जनपक्षीय उम्मेदवारका रूपमा कास्कीमा सोमनाथ प्यासी निर्वाचित भएदेखि नै शासकहरू उनलाई कमजोर बनाउन लागिपरेका थिए । एक समय प्यासीलाई निलम्बन गर्ने भन्दै पञ्चहरू सक्रिय भए । त्यही वेला केही निर्वाचित व्यक्तित्वलाई वक्तव्य दिएर प्यासीको बचाउका लागि दबाब दिन लगाउने पार्टीले निर्णय ग-यो । तिलक बाँस्तोला, जयप्रकाश बाँस्तोलालगायत पार्टीपक्षीय प्रधानपञ्च त छँदै थिए, जो पार्टीकै कार्यकर्ता थिए । तर, पार्टी सदस्य नरहेर पनि वक्तव्यमा हस्ताक्षर गरी जसबहादुर आफ्नो जनपक्षीय पहिचानसहित अघि आए । राजनीतिक रूपले उनले उठाएको एउटा जोखिम थियो त्यो । 
०४६ को परिवर्तनपछि त ह्वात्तै संगठन विस्तार भयो । पुरानै जगमा अब पार्टीका गाउँ कमिटी बने, नयाँ–नयाँ पार्टी सदस्य थपिए । भाचोक, सैमराङलगायत अहिलेको मादी गाउँपालिकाका ८, ९, १० र ११ वडामा पार्टीको प्रभाव विस्तारमा जसबहादुर दाइको उपस्थितिले महŒवपूर्ण सहयोग गरेको थियो । ०५४ को स्थानीय तहको निर्वाचनमा जिल्ला विकास समितिका सदस्यमा निर्विरोध निर्वाचित भएका जसबहादुरको काम गर्ने शैली भने नेकपाको सांगठनिक शैलीसँग मेल खाँदैनथ्यो । जातीय राजनीतिमा पटक्कै विश्वास नगर्ने भए पनि केही जनजाति परम्पराका प्रभाव थिए, सायद उनको काम गर्ने शैलीमा ।
हितकाजी गुरुङमा पनि यस्तो शैली छ । कम बोल्ने, काम गरिरहने ।त्यसबीच उनी विद्यालय सञ्चालक समितिका अध्यक्ष, बाटो समितिका अध्यक्ष, स्वास्थ्य केन्द्र, खानेपानी, कुलो, वन, पर्यटन विकासलगायत गाउँमा गर्नुपर्ने जे–जे काम हुन्छन्, ती खोज्दै, नेतृत्व गर्दै हिँडे । अरूको व्यक्तिगत काम गर्न जाँदा उसलाई समेत ट्याक्सीमा चढाएर लान्थे । गुरुङ समाजमा प्रशासनसँग जोडिएका अधिकांश काम यस्ता अगुवाले नै गर्नुपथ्र्यो ।
नागरिकता बनाउने, पारपाचुकेको कागज बनाइदिने, जग्गा पास गर्दा मालपोतसम्म पुगिदिने, पासपोर्ट बनाउने, हङकङ आइडी बनाउन सहयोग गर्ने, ऋण खोजिदिने अनेक काम यस्तै अगुवाले गर्नुपथ्र्यो । पारिवारिक आर्थिक पृष्ठभूमि राम्रै भएका यी दाइले बन्दोबस्त राम्रै गरेका होलान् भन्ने मलाई पछिसम्म लागिरहेको थियो । पछि थाहा भो, यी त भएको सम्पत्ति पनि सक्दै, पोखरातिर पहिले किनेका घडेरी पनि बेचेर घरखर्च चलाउँदै र सामाजिक काम गर्दै हिँडेका रहेछन् । उनको सामाजिक हैसियतका पोखरामा घर नहुने त्यताका गुरुङ नेता सायदै होलान् ।
०६४ पछि भाउजूको दुवै किड्नी फेल भएर उपचार गर्ने क्रमम यी समस्या अलि खुले, अलिअलि त अनुमान पनि गरियो, किनभने उनी कहिल्यै आफ्ना समस्या अरूसँग भन्दैनथे । डायलसिस गर्दै उपचारका लागि स्रोत जुटाउन प्रयास गर्दा न सरकारी सहयोग लिन सकियो, न अरू जोरजाम गर्न नै भ्याइयो । दुई वर्ष कष्टसाथ बाँचेर भाउजूको मृत्यु भयो । 
यिनलाई एउटा धक्का लाग्यो । गएको स्थानीय र संसदीय निर्वाचनमा पनि उनी रातदिन खटेका थिए । तर, निर्वाचित प्रतिनिधि र पार्टी नेतृत्वले सायद उनलाई उचित स्थान दिन र सम्मान गर्न आवश्यक ठानेन । हुन सक्छ उनको चित्त दुख्ने गरी कसैले अर्घेलो व्यवहार गरेको होस्, या अब यी पुरानाको आवश्यकता छैन भन्ने ठानेको होस् । समाजकै लागि भनेर र पार्टीको काम गरेर ३५ वर्षभन्दा बढी निरन्तर खटेका यी दाइको यो फेसबुक वालको पोस्ट पढेपछि मलाई एउटा नमिठो छटपटी भएको छ ।
नेकपा बन्ने क्रममा छ । एकता सम्बन्धमा देखिएको ढिलाइले सो दल गुटगत स्वार्थको दलदलमा रहेको यसै झल्किन्छ । केन्द्रमा बहुगुटको सिकार भएको तत्कालीन एमालेको स्थानीय तहमा झन् एमिबाजस्तो गरी गुटकै हाँगाबिँगा छन् । कोही पद र प्रतिष्ठाले भरिएका छन् । कोही उचित जिम्मेवारी पनि नपाएर उकुसमुकुस परेका छन् । जसबहादुर दाइसँग नभेटी उनको समस्या के हो या यो पार्टी निर्माणको वर्तमान अवस्थासँग कति गाँसिएको छ भन्न सकिन्न । तर, उनको पोस्टमा वर्तमान पार्टी राजनीतिमा हाबी भएको अवसरवाद र विभेदपूर्ण राजनीतिको संकेत मज्जाले पाइन्छ । पोस्टमा लेखिएको छ :
०३६ साल पनि पार गरी ०३९ सालमा झलक भाइलगायतको सल्लाहअनुसार प्रधान हुँदै समाजसेवामा निकै वर्ष गुजारेको रहेछ, पञ्चायती हुकुमी शाही शासन, ऊ वेला राष्ट्रिय पञ्चायतमा रूपचन्द्र, सोमनाथ, जागृतप्रसाद, पद्मरत्नको अतुलनीय देन, आहा ! क्या सम्मान गर्नलायक उहाँहरूलाई सलाम ! पार्टीको स्कुलिङ, संगठन आदिको काम यो वेलाको जस्तो नभई साथीहरूले खुबै इमानसाथ गर्थे । प्रभावित हुँदै सिको गरी म मेरोबाट हुने गच्छेअनुसारको सबै न्यौछार गर्दै...। विभिन्न घरायसी कारणलगायत ...ले अबउप्रान्त कुनै पार्टी संगठन वा सामाजिक सेवामा संलग्न हुन...असमर्थ ।
यो पोस्ट पढेर स्थानीय रूपमा पार्टीको नेतृत्व गरेकाहरू के सोच्दै होलान् ? यो नेकपाको समस्या हो कि जसबहादुरको ? सिजरियन गरेर एकता गर्नुपर्ने अवस्थामा पुगेको नेकपामा यसबारे कसैले चिन्ता पनि गर्दै छ कि ? उनको पीडामा नैतिक जिम्मेवारी गच्छेअनुसार मेरो पनि छ भन्ने लागिरहेको छ । पार्टीलाई जसबहादुरहरू चाहिन्छन् । तर, यतिवेला पार्टी ठूलो भएकाले जसबहादुरहरू सिमान्तमा धकेलिने खतरा छ । त्यसको मूल्य पनि पार्टीलाई नै महँगो पर्छ भन्ने बुझ्न बहुमत आएका वेला कसलाई फुर्सद होला र ? 

No comments:

Post a Comment