Wednesday, March 6, 2019

विचैमा छाडी जानेको सम्झनामा

१)
गतबर्ष पर्यटन मन्त्री वन्नु अघि पनि हाम्रो भेट पातलै हुनेगथ्र्यो । उसको कामका क्षेत्रहरु र मेरा कामका विच कमै सम्वन्ध थियो । हाम्रो बसाई पनि काठमाण्डौको दुई विपरित ध्रुवतिर थियो । भेटमा सामयिक विषयमा गफगाफ र राजनीतिका अन्तरंग कुरा हुन्थे, व्यक्तिगत विषय पनि राजनीतिकै घेराभन्दा बाहिर कमै प्रवेश गर्थे । मन्त्री भएपछि त झन उसको व्यस्तता ह्वात्तै बढेको म समाचार हेरेरै थाह पाउँथे । भेट्ने काम पनि पर्दैनथ्यो । मेरो एउटै चाहना थियो उ सफल होस, वाँकी कुरा पछि हुँदै गर्छन, डिष्टर्व किन गरिरहनु ? शुभेच्छा वाहेक यस्ता कार्यकारी पदमा हुनेलाई सल्लाह दिने कुरामा म आफुलाई योग्य पनि ठान्दिन । 
मन्त्री भएकोमा बधाई दिएर फर्केपछि हाम्रा विच अलि लामो र अनौपचारिक कुराकानी तिहार अघि मात्र भएको थियो । जसरी उ जर्मन जाने अघिल्लो दिन दुर्घटनामा परेर उक्त यात्रा रोकिएको थियो त्यस्तै भिसा प्रोसेस मिलाउने कम्पनीको लापर्वाहीका कारण तिहार अघि वेलायत जाने कार्यक्रम रद्ध भएको थियो । त्यहि मौका मिलाएर म उसकहाँ गएको थिएँ । आँगनमा घाम तापेर हामीले दुई घण्टा विभिन्न विषयमा गरेका थियौं । त्यतै खाना खाएर फर्केको थिएँ ।
दशैंमा पोखरा गएको बेला नेकपा कार्यकर्ताहरुको ठुलो पंक्तीले वाईडवडिका विषयलाई लिएर रविन्द्रलाई आरोपित गरिरहेको या कुरा काटिरहेको भेटेपछि म दिक्क भएर उसलाई भेट्न पुगेको थिएँ । विरोधको संस्कृती हाम्रा राजनीतिक दलमा यसैपनि घृणाको तहसम्म विस्तारित छ । त्यसमाथि उसको हकमा पार्टी संस्थापन पक्षको स्थानीय उपगुट र संस्थापन वाहिरका पक्ष दुवै विरोधमा थिए । त्यसको प्रभाव साधारण मतदाता र समर्थकसम्म विस्तार भएको वारे हाम्रा विच चर्चा भएको थियो । 
यसवाहेक उसले बोलाउँछु बस्नु छ भन्न पनि छाडेको थिएन, मैले हुन्छ भन्न पनि । लामो समय देखि उसले प्राय सुनाउने गरेको थियो, एमालेको नेतृत्वमा रहेका एकाधजना मसंगको उसको सम्वन्ध र हाम्रो भेटघाटलाई लिएर उसको नम्वर काट्न खुकुरी चलाउँथे । तर न हाम्रो भेट नै रोकियो न त्यो त्यति झ्याँगिएकै थियो । भेट ढिलो छिटो हुनुले हाम्रो भावनात्मक सम्वन्धमा असर परेको थिएन । न एक अर्काको कुरा काट्न न आपसमा यथा सम्मान गर्न नै यसले रोक्थ्यो ।
दुर्घटनाको एक साता अघि मात्र सोल्टी होटलमा एउटा कार्यक्रममा भेट भएको थियो । त्यतिवेला पनि उसले ल है यो शनिवार फुर्सद भयो भने म खवर गर्छु बसौंला भन्न विर्सेको थिएन । मैले हुन्छ भन्न पनि विर्सिन । तर त्यहि भेट अन्तिम हुन पुग्यो । न शनिवार उसले वोलायो न मैले नै त्यसको खै गरें । दुर्घटनाको दुई दिन अघि मात्र फोन गरेको थिएँ । उठेन । उठेको भए यसै जिस्केर भन्ने विचार थियो ः पर्यटन मन्त्री, हामीलाई पनि कहिले कहिँ आफुसंगै घुमाउने लैजाउ, आन्तरिक पर्यटनको प्रवद्र्धन गर । त्यसपछि त दुर्घटनाको खबर नै उसका बारेको सुचना लिएर मेरो मोवाईलको घण्टी बजाउन आईपुग्यो । न अब उसले बसौं भनेर उधारो कुरा गर्ने छ न मैले हुन्छ भन्न नै पाउने छु । उ त्यता छ, केहि गर्दै छ भनेर गरिने आसा र भरोसा अब सधैंका लागि सकिएको छ । जीवन भरीका लागि एउटा मित्रको ठाउँ खाली रहने छ जसलाई अरुकसैले पनि पूर्ति गर्न सक्दैन । त्यसका कारणहरु छन ।
२)
शान्ती उदयमा अखिलको काम गर्दै गरेको रविन्द्रसंग २०४० बाटै भेट भएको भएपनि हाम्रो निकटता र सहकार्य भने २०४४ बाट भएको हो । म २०४४ सालमा एमए पढ्न आउँदा उ विकम पढ्दै थियो । स्ववियुका सभापति तुलवहादुर गुरुङ, सचिव रामनाथ ढकाल र विद्यार्थि नेता विजय गुरुङ अपहरणमा परे पछि पार्टिले खटाएकाले म क्याम्पसमा पास्र्वभागमा बसेर नेतृत्व गर्न पुगेको थिएँ । तर पछि पार्र्टीले निर्णय गर्यो र म अखिलको केन्द्रीय सदस्यका रुपमा खुला काम गर्न थालें । त्यतिवेलासम्म उ जुझारु कार्यकर्ताहरुको अघिल्लो लाममा आईसकेको थियो । अपहरणकाण्ड विरोधी आन्दोलनमा उ अग्रभागमा थियो । स्ववियु निर्वाचनमा व्यबस्थापन संकायको नेताका रुपमा कार्यकर्ताहरुले एकमतले उसलाई अघि बढाए । नागढुङ्गाको कुनै वोर्डिङ स्कुलमा पढाईरहेको भएपनि उ स्ववियु सदस्यमा निर्वाचित भयो र काम गर्न थाल्यो । 
उ सायद त्यतिवेलासम्म आफ्ना मामा रमेश पौडेलको अर्चलवोटमा रहेको घरमा बस्ने गथ्र्यो । मामा पञ्चायतका नेता थिए । स्ववियुमा निर्वाचित भएसंगै उसको क्लासमेट रहेको मेरो भाई दिपक र कान्छो भाई गान्धीसंगै वगरमा रहेको हाम्रो पुरानो डेरामा वस्न थालेको थियो । साँझको खाना खान म प्राय त्यहिँ पुग्थें । प्रहरीसंग लुकामारी चलिरहने भएकोले म दिउसो वाहिर निस्कदैनथें । त्यसक्रममा हो मैले उसलाई थप नजिकबाट चिन्न थालेको । 
३)
यता क्याम्पस स्ववियुमा सक्रियतापूर्वक काम गर्ने कार्यकर्ताको खाँचो थियो र अखिलमा पनि नयाँ कार्यकर्ता हुर्काउनु परेको थियो । स्ववियु उपसभापति छैठौंका जगतप्रसाद कहिलेकहिँ मात्र देखा पर्थे । सचिव लक्ष्मी कार्कीको जीम्मेवारी अखिलको केन्द्रीय महिला विभागका अध्यक्ष र गण्डकी धौलागिरी ईन्चार्जका रुपमा वाहिरफेर धेरै थियो । सहसचिव रहेका कास्की हंसपुरका राजेन्द्र न्यौपाने पारिवारिक जिम्मेवारीका कारण पूर्णकालिन राजनीतिमा आउने सम्भावना थिएन । (उनको चार बर्ष अघि कालिकोटमा भएको बस दुर्घटनामा परि मृत्यु भैसकेको छ) । कोषाध्यक्ष निल वहादुर पुन प्राविधिक र व्यबस्थापकीय काममा दक्ष भएपनि राजनीति सिक्दै थिए । एकाध महिनाको मेरो अध्ययनमा रविन्द्र नै भरोसायोग्य विकल्प देखिए । एक दिन साँझ पख क्याम्पस गेटबाट उ साईकलमा र म पैदल हिँड्दै गर्दा मैले उसलाई प्रस्ताव राखेको थिएँ, अव टिचिङ छाड्ने र राजनीतिमा सक्रिय हुने बेला आयो । संगठनमा तिम्रो आवस्यकता छ । उ एक मिनेट पनि त्यसमा घोत्लिएन, सिधै स्विकार गर्यो । मैले यो कुरा पार्टि इन्चार्ज रहेका कमरेड दर्शन उर्फ धर्मदत्त देवकोटालाई सुनाएँ । पार्टीले त्यसलाई अनुमोदन गरेको थियो । त्यस दिनबाट रविन्द्रले कहिल्यै पछि फर्केर हेरेन, एउटा पूर्णकालीन राजनीतिक कार्यकर्ताका रुपमा ठ्याक्कै ३० बर्ष काम गरेर उसले अन्तिम विश्राम लियो । यो उसको राजनीतिक जीवनमा आएको गम्भिर मोड थियो ।
४) रविन्द्रले छिटै लय समातकोे थियो । कमिटिहरुको निर्माण, प्रशिक्षण, आन्दोलनहरुको व्यबस्थापन र संगठनका विभिन्न पक्षमा उनको नेतृत्व स्थापित हुँदै गयो । भुर्जुङखोला वलात्कार काण्डका समयमा भएको आन्दोलन उठाउने काममा उनको सक्रियता प्रभावकारी देखिएको थियो । क्याम्पसमा हुने निर्माणका काम, पढ्न चाहने जति सबैलाई भर्ना लिन वाध्य पार्ने, त्यसका लागि संरचनाहरु थप गर्ने विषयमा क्याम्पससंग मिलेर गरिने काममा रविन्द्रले नेतृत्व गर्न थालेको थियो । यसले उसको सामाजीक अन्तरक्रिर्या गर्ने र आफ्ना तर्कहरु स्थापित गरेर विद्यार्थिका स्वार्थहरुको प्रतिनिधित्व सहि ढंगले गर्ने खुवी विकास गर्न सहयोग गरेको थियो । 
स्ववियुको मुखपत्र माछापुच्छ्रेको प्रकाशनमा पनि उसले जिम्मा लिन थालेको थियो । यहि क्रममा उसले पृथ्वि नारायण क्याम्पस प्रारम्भीक कमिटि र कास्की जिल्ला कमिटिको नेतृत्व गरेको थियो । पृथ्वि नारायण क्याम्पसको अखिल प्रारम्भीक कमिटिको मुखपत्रका रुपमा एउटा पत्रिका निकाल्ने र पञ्चायत विरोधी आन्दोलनमा अखिलको पंक्तिलाई प्रशिक्षित गर्ने क्रममा ‘प्रजातन्त्र’ नामक मुखपत्र पहिलो पटक प्रकाशित गरिएको थियो रविन्द्रको नेतृत्वमा । उसमा संगठन बनाउने र भाषण गर्ने मात्र नभएर सिर्जनात्मक कामहरुका माध्यमबाट अघि बढ्ने हुटहुटी त्यतीवेलै देखि विकास भएको थियो ।

२०४५ चैतमा भारतले नेपालका विरुद्ध नाकावन्दीको घोषणा गर्यो । त्यतिवेला पार्टीले राजा या पञ्चायतको राष्ट्रवादको नारालाई खोक्रो राष्ट्रवाद भन्दै प्रगतिशिल राष्ट्रवादको नारा अघि सार्यो र देशव्यापी रुपमा पञ्चायत विरोधी आन्दोलनसंगै भारतीय हस्तक्षेपको विरोध गर्ने कार्यक्रमहरु गर्यो । यो आन्दोलनका क्रममा क्याम्पस अनिस्चितकालका लागि सरकारले नै वन्द गरेको थियो । त्यहि क्रममा रविन्द्रलाई पोखराका दक्षिण भेगमा पर्ने भरतपोखरी, निर्मलपोखरी, कृष्ती र पुम्दीभुम्दीका विद्यालयमा आधारित रहेर आन्दोलनको नेतृत्व गर्न खटाईएको थियो ।
५)
२०४६ सालको आन्दोलन त हाम्रा लागि लामो समयको पखाईपछि आएको एउटा महान अवसर जस्तो थियो । त्यसको तयारीमा रात दिन हामी खटिएका थियौं । यसरी खटिनेमा रविन्द्र अग्र पंक्तिमा थियो । उसको छवि पनि एउटा नेताका रुपमा बनिसकेको रहेछ भन्ने कुरा हामी गिरफ्तार भएर कष्टडीमा पुगेपछि थाह भयो । फागुन ४ गते गिरफ्तार हुने हामी ५२ जना विद्यार्थिहरु मध्ये पाँच जनालाई हत्कडी लगाएको थियो । वावुराम पन्त, विष्णु शर्मा, भिम सोमै, रविन्द्र अधिकारी र म । पछि अरुको हत्कडी खोले पनि रविन्द्रलाई र मलाई एउटै हत्कडीमा एक साता जति बाँधेको थियो । अरु जिल्ला र जिल्ला भित्रका प्रहरी चौकीबाट जिल्लाप्रहरीमा आउनेहरु हामीलाई हेर्न आउँथे । हामी दुवैलाई मुस्ताङ लान खोज्दा पनि फर्काइएको थियो । गिरफ्तार भैसके पछि भएका घटनामा पनि हामी दुवैलाई मुद्धा चलाइएको थियो । कष्टडीमा हामी दुईलाई मात्र खाना पकाउन जान दिदैनथे ।
विद्यार्थि नेताका रुपमा उसको एउटा मोड भने २०४७ जेठ एक गतेको अनेरास्ववियु स्थापना दिवसका दिन पोखरामा भएको कार्यक्रमबाट आएको हो । कार्यक्रमका लागि मुख्य अतिथि बनेर अखिलका संस्थापक नेता मध्यका एकजना मोहनचन्द्र अधिकारी आउने भएका थिए । अखिलको दशौं सम्मेलन आयोजक कमिटिको सदस्यका रुपमा मेरो जिम्मेवारी भएपनि यसको सबै व्यबस्थापन र नेतृत्वमा मुख्य भूमिका रविन्द्रले नै खेलेको थियो, म पुरै साईलेण्टमा । दशौं हजार जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । कार्यक्रम तत्कालीन माले पक्षले खुला रुपमा गरेको पहिलो ठुलो कार्यक्रम थियो पोखराका सन्दर्भमा । यसबाटै रविन्द्र स्वतन्त्र रुपमा विद्यार्थी संगठन र आन्दोलनको नेतृत्व गर्न सक्ने गरि तयार भएको थियो । साथै पार्टि भित्र पनि उसको उपस्थिती महशुस गर्ने अवस्था सिर्जना गरेको थियो ।
२०४७ जेठमा अखिलको दशौं राष्ट्रिय सम्मेलनसंगै मैले विद्यार्थि राजनीति छाडें र पार्टीको जील्ला कमिटिमा रहेर काम गर्न थालें । एक छिमल नेतृत्वको साथिहरुले विद्यार्थि राजनीति छाडेसंगै क्याम्पसमा अखिलको नेतृत्व रविन्द्रको काँधमा आयो । २०४९ मा स्ववियु सभापति भए र त्यहि सेरोफेरोमा अखिलको केन्द्रीय सदस्य बने । त्यस पछिको यात्रा त काठमाण्डौमा आएर तय भयो । त्रिविवि केन्द्रीय क्याम्पस स्ववियुको सभापति, अखिलको अध्यक्ष र त्यसक्रममा खेलेका भूमिकाले उसलाई पोखरा र गण्डकीको नेताबाट सिधा केन्द्रीय रुपमा चर्चामा आउने व्यक्तित्वमा फेरिदियो । एमालेमा चलेको महाकाली प्रकरण र विद्यार्थि नेताहरुमाथि कार्वाही, एमालेको विभाजन, ०५६ मा मालेको तर्फबाट कास्की क्षेत्र नम्वर एकमा उमेद्वारी, पारस प्रकरण लगायतका घटनासंगै उसले शान्तीउदय माविबाट थालेको यात्राले एउटा उचाई लिएको थियो । 
कम्युनिष्टहरुका विचमा व्यक्तिको भूमिकालाई गौण र समाज, पार्टी या आन्दोलनको भूमिकालाई प्रमुख मान्नुपर्छ भन्ने सैद्धान्तिक मान्यता हुन्छ । तर उहि खेत कुलो र विउ पनि उहि उसैगरि रोपदामा पनि उहिँ, हुँदैन धान्यादिक चैत्रमा किन तलाई मालुम छ कि यो कुरा मन ? भन्ने लेखनाथको प्रश्न जस्तो उहि प्रशिक्षण, उहि सहभागिता र सक्रियता हुँदा पनि कोही प्रभावशाली नेता बन्छन कोही पछि पछि पर्छन । रविन्द्रमा रहेको निष्ठा र निरन्तरता, व्यक्तिलाई आन्दोलनको मातहतमा राख्ने त्यागले उसलाई यो ठाउँसम्म पुर्याएको हो । 
जीवनको खोल्पाटो के पर्यो भने म भन्दा सात बर्ष कान्छो र राजनीतिक व्यक्तित्व निर्माणका समयमा सहयोग गरेको आफ्नो भाईजस्तो लाग्ने एउटा सहृदयी मित्र, देशको राजनीतिमा अघि बढ्ने र योगदान गर्ने सम्भावना वोकेको युवा नेतालाई आफुले घाटसम्म पुगेर विदा गर्नु पर्यो, समवेदनाका शब्दहरु लेख्नुपर्यो । मलाई त यस्तो उल्टो परेकोमा चिन्ता लागिरहेछ, उसका आमा बाले कसरी चित्त बुझाए होलान भन्ने कुराले पिरोल्छ । कोपिलाजस्ता छोराहरुलाई हुने बाबुको अभाव र आधा जीवन वाँकीरहेकी जीवन संगिनीका पिडाहरु, अभिभावकत्व गुमाएका परिवार जन, प्रतिनिधि गुमाएका पोखरेलीहरु सम्झनामा आउँछन । 

No comments:

Post a Comment