Sunday, March 3, 2019

असमयमा निभेको सम्भावनाको दियो

रवीन्द्र अधिकारीबारे लेख्न बस्दा मेरा लागि कतै पनि तटस्थता अपनाउन सम्भव छैन । यो लेख लेख्न बस्नुअघि मात्रै म विद्या बहिनीका टोलाएका आँखा हेरेर फर्केको छु । सयौँ शुभचिन्तकका मुर्झाएका अनुहार देखेर आएको छु । देशको सबै तप्काले उसप्रति व्यक्त गरेको सम्मान अनुभव गरेको छु । सँगै आजभन्दा ३५ वर्षपहिले कमेज र जाँगे लगाएर शान्तिउदय माविमा फर्‍याकफुरुक गर्दै अखिलको प्रारम्भिक कमिटीको अध्यक्ष बन्दाको एउटा हँसिलो, फरासिलो र आन्दोलनप्रति विनाप्रश्न सधैं लोयल किशोरका चम्किला आँखा सम्झिरहेको छु । गैरीगाम जामुनबोटमा रहेको उसको घरमा आमाले माया मानेर दिएको दूध र दही, मीठो–मसिनो खाना र दिएको मातृवात्सल्य होस् या कस्टडीमा एउटै हत्कडी लगाएर बिताएका दिनहरू होऊन्, ऊसँग अनेक रमाइला र दुःख–सुखका क्षणहरू छन् । ऊसँगका सम्झनाहरू एउटा–दुईटा आलेखमा लेखेर सकिने कुरा होइनन्, मेरा लागि । त्यसैले यो आलेख उसको कोरा र छुरा राजनीतिक जीवनका आरोह–अवरोहका सामान्य समीक्षामा केन्द्रित हुनेछ । 
२०२६ सालमा तत्कालीन स्याङ्जा जिल्लाको भरतपोखरी गैरागाउँमा जन्मेको रवीन्द्र अधिकारी उक्त भेगमा मालेको राजनीति प्रवेश गर्दाको पहिलो छिमलको कार्यकर्ता थियो । उसका बा इन्द्रसाद अधिकारी तत्कालीन नेकपाको पुष्पलाल समूहका एक कार्यकर्ता थिए, जो पछि शिक्षक बनेर निवृत्त भए । उक्त गाउँमै विष्णु आचार्य, विश्वेश्वर हरामी, गोपाल र रामजी आचार्यहरू, निर्मलपोखरीका शालिग्राम पौडेल, कमल पौडेल, लेखनाथ आचार्य, भोला आचार्य, कृष्णप्रसाद आचार्य, कृस्तीका चन्द्रकान्त सुवेदीलगायत पहिलो छिमलका कम्युनिस्ट थिए, जसले गैरीगाउँ र निर्मलपोखरी–कृस्तीलाई कम्युनिस्ट प्रभावमा समेटेका थिए । ०३६ पछि पनि उक्त इलाका पुष्पलाल समूहकै प्रभावमा थियो । तर, विस्तारै माले त्यता प्रवेश गर्‍यो र रवीन्द्रहरूकै छिमलका युवाबाट सम्पूर्ण प्रभावलाई आफूतिर खिच्यो । 
बिकम पढ्दै गर्दा ०४५ वैशाखमा भएको पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा सदस्यमा निर्वाचित भएपछि रवीन्द्रको वास्तविक राजनीतिक सक्रियता थालिएको थियो । निर्वाचनका समयमा एउटा बोर्डिङ स्कुलको शिक्षक रहेको रवीन्द्र केही महिनापछि पूर्णकालीन राजनीतिमा तानिएको थियो । त्यसपछि उसले कहिल्यै पछि फर्केर थकाइ मारेन । निरन्तरको सक्रियता र सिर्जनात्मक प्रयासले उसलाई अहिलेको उचाइमा पुर्‍याएको हो । त्यसक्रममा उसले अखिलको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीको अध्यक्षसम्मको यात्रा तय गर्‍यो । पृथ्वीनारायण कलेज र कीर्तिपुर केन्द्रीय क्याम्समा स्ववियु सभापति, एमालेको कास्की जिल्ला सचिव र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेको थियो । सिर्जनात्मकता र निरन्तरको समर्पण उसका मुख्य गुण थिए । एउटा सच्चा देशभक्त थियो, सैद्धान्तिक राजनीतिक विचारधाराका विषयमा कम चासो राख्ने, तर व्यावहारिक राजनीतिका उहापोहबारे पर्याप्त सूचना भएको उसले आफ्ना प्रयासले प्रतिकूलतासँग जुधेर यो स्थान हासिल गरेको हो ।
उसले नेपाली विद्यार्थी राजनीति र राष्ट्रिय विकासको बहसमा केही महत्वपूर्ण योगदान गरेको थियो । पहिलो हो– तत्कालीन दरबारका चहेता शाहज्यादा पारसको उद्दण्डताका कारण गायक प्रवीण गुरुङको हत्या भएपछि त्यसको विरोधमा गरेको संघर्ष । राजा वीरेन्द्रलाई लोकप्रिय बनाइँदै गरेको समय थियो, त्यो । त्यतिवेलाका शक्तिशाली दरबारियाहरूका अनुदारवादी नेता अधिराजकुमार ज्ञानेन्द्रका पुत्र पारसलाई सजाय दिलाउन रवीन्द्रको नेतृत्वमा भएको आन्दोलनले वास्तवमा नेपालमा गणतान्त्रिक आन्दोलनलाई महत्वपूर्ण योगदान पुर्‍याएको हो । यसैगरी, उसको नेतृत्वमा विद्यार्थीहरूलाई यातायातका साधनमा सहुलियत दिलाउन भएको संघर्षमा उसले खेलेको भूमिकाले नै आज पनि उक्त सुविधा लाखौँ विद्यार्थीले उपभोग गरिरहेका छन् । यसैगरी, महाकाली सन्धिलगायत भारतीय थिचोमिचोका विरोधमा भएका आन्दोलनमा उसले खेलेको भूमिकाले पनि उसलाई चर्चित बनाएको थियो । 
सांसदका रूपमा उसले विकास समितिको सभापति र त्यसअघि लेखा समिति सदस्यका रूपमा प्रभावकारी संसदीय भूमिका खेलेको थियो । पार्टीको सोपानक्रम (हाइरार्की)मा जुनियर सदस्य भएर पनि उसले संसद्मा स्थायी समितिका कतिपय सदस्यको तुलनामा आफ्नो उपस्थिति सार्थक र हस्तक्षेपकारी बनाएकै थियो । यही भूमिकाले उसलाई पछिल्लो समय पर्यटनमन्त्री बन्न सहयोग पुगेको थियो ।
मन्त्रीदेखि प्रधानमन्त्रीसम्म बन्ने आकांक्षा उसले पालेको थियो । अहिलेका युवा नेतामध्ये व्यावहारिक राजनीतिका दृष्टिले ऊ औंँलामा गन्न सकिने सम्भावनायुक्त नेतामा पथ्र्यो । जे जिम्मेवारी पायो, त्यसमा रमाउने र त्यसप्रति पूरै समर्पणका साथ लाग्ने उसको स्वभाव थियो । ऊ आफ्ना काममा मात्रै ध्यान दिने भएकाले मलाई लाग्छ, उसका छोराहरूले समेत बाबुको पर्याप्त समय पाउन सकेका थिएनन् । आफ्ना आकांक्षाहरूको सापेक्षतामा ऊ नेताहरूको दलाली गर्नबाट तर्कन्थ्यो । जे–जति आर्जन गर्‍यो, त्यो लोकप्रिय नेताको छवि बनाएरै गरेको थियो । लोकप्रिय छवि नभएको भए २०७१ मा सम्पन्न महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यका रूपमा सबैभन्दा बढी मत पाउनेमध्ये पर्ने थिएन, न त गत निर्वाचनमा पोखरामा टिकट पाउन नै सम्भव हुन्थ्यो । तत्कालीन एमाले र नेपाली कांग्रेसभित्र उसको पुस्तामा ऊ मात्रै त्यस्तो नेतामा पथ्र्यो, जसले एउटै निर्वाचन क्षेत्रबाट लगातार तीनपटक निर्वाचन जितेको थियो ।

समाजका प्रत्येक हिस्सा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कलाकार, पत्रकार, लेखक, गायक, व्यवसायी, उद्योगपति, किसान युवा, किशोर सबैसँग सम्बन्ध राख्ने बहुआयामिक सम्पर्कको व्यवस्थापन गर्न सक्ने विलक्षणको क्षमता थियो । पछिल्लो समय तलका कार्यकताहरूको गुनासो थियो कि उसले समय दिन र रेस्पोन्स गर्न घटाएको छ । तर, उसको जे–जति सम्पर्क थियो, ती सबैको अभिभावकत्व र उसको पदीय जिम्मेवारीबीच सन्तुलन मिलाउन असम्भवजस्तै थियो । २०५८ मा माले र एमाले मिलेपछि उसको राजनीतिक जीवन अहिलेसम्म पनि चुनौतीपूर्ण रहेको थियो । यसै पनि एमालेमा माले बनेर फर्केकाहरूलाई हेप्ने एउटा प्रवृत्ति नै थियो । त्यसमाथि कास्की जिल्लाको नेकपा एमालेमा एउटा तत्व  छ, जसले भूमिगतकालदेखि नै खास–खास नेतालाई असहयोग गर्ने, खुइल्याउने र काम गर्न नसक्ने वातावरण बनाउन भूमिका खेल्ने गरेको छ । अहिले पनि कसैलाई माथि जान नदिने, खुट्टा तान्ने, खेद्ने, तर आफूले पनि पाएको भूमिका निर्वाह गर्न र माथि जान नसक्ने यो तत्वले रवीन्द्रलाई जिल्ला कमिटी सचिवमा निर्वाचित भएको एक वर्ष पनि काम गर्न दिएन । अविश्वास प्रस्ताव ल्याएर जर्बजस्ती हटायो । तर, रवीन्द्रले हार मानेन । कतै न कतै आफ्ना लागि भूमिका खोजिरह्यो । यसपटक पर्यटनमन्त्री भएपछि यही तत्व सक्रियताका साथ रवीन्द्रलाई असफल सावित गर्न, भ्रष्टाचारी प्रमाणित गर्न लागिरह्यो । यसको संरक्षण नेकपाको कतिपय केन्द्रीय नेतृत्वबाट पनि भइरहेको रवीन्द्रको अनुभव थियो । यो पंक्तिका अनेक अवरोध झेलेर, प्रतिरोध गरेर नै रवीन्द्र आजको उचाइमा पुगको हो । कसैका आशिर्वाद र हुक लगाएर तानेकाले ऊ नेता भएको थिएन, आफ्नै निष्ठा र लगनका कारण उठेको थियो ।
मानवीय कमजोरीको वशमा अरूजस्तै ऊ पनि थियो । विद्यार्थी नेताका रूपमा र पछि पनि आफ्नो निजी खर्चमा कार्यकर्तालाई सहयोग गर्ने र संगठनका लागिसमेत लगानी गर्ने दानी स्वभाव थियो । पछिल्लो समयमा उसमा आफ्नो काम र क्षमतामाथि घमण्ड बढेको पनि मलाई अनुभव भएको थियो । ‘म’बाट कुरा सुरु गरेर ‘मैले’ र ‘मेरो’मा टुंग्याउन थालेको थियो । सायद आफूभन्दा वरिष्ठ र समकालीन नेताहरूका काम र क्षमतासँग तुलना गरेर यसो भन्दो हो या आफूलाई श्रेष्ठ सावित गर्ने उसको तरिका थियो, त्योचाहिँ थाहा पाइँदैनथ्यो ।
उसको यो असामयिक मृत्युले उसका आलोचक र विरोधीहरूलाई मर्माहत बनाएको हुनुपर्छ । तिनले एउटा वाहियातको आरोप लगाएर उसको तेजोबध गर्न खोजेका थिए । सरकार र नेपाल वायुसेवा निगमका पूर्ववर्ती निर्णयहरूको बचाउ गर्दा, जसमा उसको कुनै संलग्नता थिएन, एउटा हुँदै नभएको भ्रष्टाचारको आरोप उसमाथि थोपरेर उसको राजनीतिक जीवन बर्बाद गर्न खोजिएको थियो । संसद्को सार्वजनिक लेखा समितिको कथित निर्णयका विपक्षमा प्रधानमन्त्री ओली आफैँ उभिएर बचाउ नगरेको भए रवीन्द्रलाई तत्काल राजनीतिक रूपमा निकै ठूलो झड्का लाग्ने थियो । ओलीले यस मामिलामा उसको बचाउ गरेको भए पनि एकथरी पार्टीभित्रको इष्र्यालु पंक्तिले उसलाई भित्रभित्र लखेटिरहेको थियो । सामाजिक रूपमा एउटा आपराधिक–परपीडक मानसिकताले ग्रस्त पंक्ति मृत्युपछि पनि उसलाई खेदिरहेको छ । मलाई एउटै दुःख के लागेको छ भने नेपालको वैधानिक निकायबाट छानबिन भएर उसमाथिको आरोप झुठो सावित गर्ने अवसर नआउँदै ऊ मृत्युको सिकार भयो ।
सबै काम आजै अहिले नै पूरा गर्छु र विरोधीलाई कामले जवाफ दिन्छु भन्ने उसको हुटहुटी नै सायद उसको मृत्युको कारण पनि बन्यो । अन्यथा मौसम खराब हुँदाहुँदै चौहानडाँडा जानैपर्ने कुनै बाध्यता थिएन । उसैको समयमा हवाई उड्डयनको क्षेत्रमा केही आशालाग्दा काम भएका थिए । लुम्बिनी र पोखरामा बनिरहेका विमानस्थलहरूको प्रगति, त्रिभुवन विमानस्थलको प्रगति र पर्यटन क्षेत्रमा आएको सकारात्मक परिणाममा उसको मिहिनेतको ठूलो योगदान छ । 
कम्तीमा पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नामाकरण रवीन्द्रका नाममा गरेर उसप्रति राष्ट्रले सम्मान अर्पण गर्न सक्छ । म नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेकपाको नेतृत्वको यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । 
उसप्रति श्रद्धाञ्जली अर्पण गरिरहँदा पनि म उसको मृत्युप्रति विश्वास गर्न सकिरहेको छैन । हाम्रोतिर उहिल्यै एउटा लोकलय थियो : ‘गैरी गाम्ले आयो के काम्ले ?’ यति छिट्टै, यति हतार गरी–गरी हामीलाई छाडी जाने रवीन्द्रसँग पनि मिल्ने भए यति त सोध्न मन थियो– ‘गैरी गाम्ले, गयौ के काम्ले ?

No comments:

Post a Comment