ओली भ्रमणको देव्रे पाटो


आफ्नो ६ दिने चिन भ्रमण सकेर फर्कदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा पत्रकारहरुसंग कुरा गरिरहेका प्रधानमन्त्री ओलीको दाहिनेपट्टी कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र देवे्रपट्टि नेकपाका कार्यवाहक अध्यक्ष कमरेड माधव नेपाल बसिरहेका थिए । यो केवल संयोग मात्र पनि हुनसक्छ, तर केपी ओलीको यसपटकको चिन भ्रमण भने ठ्याक्कै दुई भूमिकामा विभाजित देखिन्छ ः प्रधानमन्त्रीका रुपमा नेपाल सरकारको प्रतिनिधित्व गरिरहेका केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टिको अध्यक्षका रुपमा प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका ‘कमरेड’ केपी शर्मा ओली ।  
प्रधानमन्त्रीको चिन भ्रमणको धेरै चर्चा भैसकेको छ । भ्रमणका अन्य विविध पक्षहरुलाई ओझेलमा पार्दै तिव्वत नेपाल हिमाल आरपार गर्ने रेलमार्गको निर्माण सम्वन्धी सहमतिले व्यापक चर्चा बटुलेको छ । यस्तो रेल चाहिन्न चैं भन्न नसक्ने तर आउँदैन, ऋणमा डुविन्छ, फिजिविलिट छैन जस्ता तर्क गर्नेहरु र हैन आउँछ, ल्याउनुपर्छ, सम्भव छ भन्नेहरुका विच विभाजित भएर नेपाली समाज नै बहसमा ओर्लेको छ । यो आलेख भने रेलको रेलामा होईन नेकपाका अध्यक्षका रुपमा केपी शर्मा ओलीको चिन भ्रमणको सेरोफेरोमा केन्द्रीत हुनेछ । ओली भ्रमणको देव्रे पाटोको वरिपर चक्कर काट्नेछ ।
दुईतर्फको मनोविज्ञान
चिनीया कम्युनिष्ट पार्टी सोभियतसंघलाई घुँडा टेकाएको शितयुद्ध पछि पनि राजनीतिक सत्ता एकलौटि रुपमा उपभोग गरिरहेको विश्वको शक्तिशाली कम्युनिष्ट पार्टी हो । झण्ढै ९ करोड पार्टि सदस्य सहित चिनको राजनीतिक, आर्थिक, सामाजीक र साँस्कृतीक क्षेत्रलाई यसले नेतृत्व, नियन्त्रण र निर्देशित गरिरहेको छ । अर्थतन्त्रमा उदारवाद र राजनीतिमा एकदलीय सत्ताको अभ्यास गरिरहेको चिनीया नेतृत्वले १९७९ बाट आफ्नो वाह्य सम्वन्धलाई विचारधारात्मक पक्षको सेपमा पर्न दिएको थिएन । सबै देशका सरकारहरुसंग मिलेर काम गर, व्यापार बढाउ, नाफा कमाउ, आन्तरिक मामिलामा तटस्थ बस, मित्र बनाउ । यहि बाटोबाट उसले आफ्नो आर्थिक उन्नतीका लागि अनुकुल वाह्य वातावरण निर्माण गर्यो । यो बाटो हिँडेर आर्जित गरको उपलब्धी मानव जातिको ईतिहासमै अद्धितिय रहेको छ । देङले अप्नाएको लो प्रोफाईलमा बस्ने कुटनीतिलाई सम्पन्न भैसकेको चिनले नेता सि चिनफिङको समयमा आएर छाडेको छ । विश्व रंगमञ्चमा प्रष्टसंग फरक राजनीतिक पद्धतिको वकालत गर्न आरम्भ गरेको छ । आफ्नो राज्यप्रणालीलाई उदारवादी व्यबस्थाको विकल्पका रुपमा पेश गर्न थालेको छ ।
केहि महिना पहिले काठमाण्डौमा भेट भएका चिनका एकजना अध्यतासंग जिज्ञासा राख्दा उनले भनेका थिए, पहिले त हामी धनि थिएनौ, जनताले पर्याप्त खान पनि पाएका थिएनन, त्यस्तो वेला विचारधाराको कुरा झिकेर आर्थिक विकासलाई रोक्न खोज्नु मुर्खता हुन्थ्यो । अब भने हामी सम्पन्न भएका छौं, चिनमा कम्युनिष्ट पार्टिको शासनले त्यहि जनताको सम्पन्न जिवन जिउने आधार निर्माण गरिदिएकाले वैधानिकता पाएको छ, अब चैं चिनको सरकार होईन कम्युनिष्ट पार्टि अरु देशका कम्युनिष्ट पार्टिहरुसंग मिलेर समाजवादका लागि काम गर्ने उद्देश्य र हैसीयत दुवै राख्छ । 
समाजवादी शक्तिहरुसंग मिलेर काम गर्नु अव चिनीया नरम कुटनीतिको एउटा हिस्सा बन्दै गएको बुझ्न सकिन्छ । यसको अर्थ हो मनोवैज्ञानिक रुपमा नेपालमा सत्तारुढ कम्युनिष्ट पार्टिसंग चिनीया कम्युनिष्ट सरकार निकट छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विच पार्टि एकिकरण या मोर्चा निर्माण होस भन्ने चिनीया चाहना विभिन्न रुपमा व्यक्त भएको थियो । अहिले कम्युनिष्टहरु एकिकृत भएको र एकलौटि सरकार बनाएको समयमा चिनले नेपाललाई आफ्नो निकटको मित्र र छिमेकी ठान्नु स्वभाविक हो । केपी ओली प्रधानमन्त्री हँुदै छन भन्ने पक्का हुने वित्तिकै देखि चिनीया सञ्चार माध्यमहरुले उनलाई चिनतिर ढल्केका नेता या चिनका मित्रका रुपमा प्रचार गर्नुको कारण पनि यहि हो ।
यता चिनको सत्तारुढ कम्युनिष्ट पार्टी र नेपालको सत्तारुढ कम्युनिष्ट पार्टिले आफ्ना आफ्नै तरिकाले माक्र्सको जन्मको दुई शतवार्षिकी मनाएका थिए । नेपालको कार्यक्रममा चिनीया कम्युनिष्ट पार्टिको प्रतिनिधित्व भएको थियो जसमा नेकपाका अध्यक्षका रुपमा केपी ओली र प्रचण्डले अलग अलग कार्यपत्र समेत प्रस्तुत गरेका थिए । अर्थात माक्र्सका शिक्षाहरुलाई आफ्ना आफ्ना अनुकुलतमा ग्रहण गर्ने र तिनलाई दिगो राख्ने विषय दुवैका साझा विषय बन्न पुगको थियो । यो सेरोफेरोमा भएको भ्रमणका क्रममा तिनवटा भिन्न भिन्न सन्दर्भमा ओलीको देव्रे पाटो अभिव्यक्त भएको छ । 
ओलीको कम्युनिष्ट ब्राण्डिङ
चिनिया कम्युनिष्ट पार्टिका महासचिव सि चिनफिङसंग डेलीगेशन तहभन्दा भिन्न २० मिनेट पार्टिका स्थायी समित सदस्यहरु रामवहादुर थापा, प्रदिप ज्ञवाली र विष्णु रिमालहरुसहित र १५ मिनेट एक्लै भएको भेट, चिनीया कम्युनिष्ट पार्टिको स्कुल विभागमा दिएको लेक्चर, चाईना ग्लोबल टेलिभिजन नेटवर्क र ग्लोबल टाईम्स पत्रिकालाई दिएका अन्तरवार्ताका क्रममा ओलीले कम्युनिष्ट पार्टिको अध्यक्षको रुपमा चिनसंगका सम्वन्धलाई फरक ढंगले बुझाउने र बुझ्ने प्रयास गरेका छन । विश्वभर आफुलाई कम्युनिष्ट नेताका रुपमा चिनाउन प्रयास गरेका छन ।
सिसंगको उनको सम्वादको भित्रि कुरा त उनैले सार्वजनिक गरेका छैनन । तर पनि केहि अनुमान र केहि अनौपचारिक रुपमा बाहिर ल्याईएका कुराहरुको आधारमा बुझिने कुरा के हो भने सिले नेकपाको नीतिगत स्थायीत्व र खासगरि ओली–प्रचण्ड केमेष्ट्रीबारे चासो राखेका थिए । उनको चासो नेकपाले नेपाली समाजको नेतृत्व दिर्घकालसम्म कसरी गरिरहन सक्ला, अहिलेको बहुमत प्राप्त सरकारका कामहरुले नेपालमा कत्तिको निरन्तरता पाउलान भन्ने कुरामा थियो । संगै अहिलेको नेतृत्व आफ्नो अनुकुल रहेको सन्दर्भमा यससंग रणनीतिक साझेदारीको सम्भावनाको खोजी पनि थियो । ओलीले चिनसंगका सम्वन्धमा अहिले सहज वातावरण रहेको र नेकपाले नै लामोसमय नेतृत्व गर्ने, प्रचण्ड र आफुका विच सबै काम सहमतीमा भैरहेको भनेर सिलाई आस्वस्त पारेका छन । चिनीयाहरु यस मामिलामा विश्वस्त भएको झल्को संयुक्त वक्तव्यमा पनि पाईन्छ जसमा दुई देशका विच झण्डै रणनीतिक साझेदारीको सम्वन्ध विकास गर्ने मनसाय व्यक्त भएको छ ।
सिजिटिएनसंगको अन्तरवार्तामा उनले साम्यवाद र समाजवादका बारेमा र माक्र्सवादमाथिको विश्वासका बारेमा आफ्ना धारणा दोहोर्याएका छन् । उनले माक्र्सवाद र समाजवादलाई सामाजीक न्याय, सम्वृद्धि र समानताको विचारका रुपमा अथ्र्याए ।  चीनियाहरुको चासो नेपालले कस्तो सामाजीक वाटो अवलम्वन गर्ला भन्ने विषयमा पनि छ । स्वभाविक छ कि चिनीयाहरु नेपालमा समाजवादी या माक्र्सवादी धारणा भएको पार्टिको नेतृत्वमा सरकार गठन भएको देख्न चाहन्छन जसले दुई देशका विचको सम्वन्धमा सफट् पावरका रुपमा चिनलाई सजिलो बनाउँछ । ओलीले चिनीया र विश्वका स्रोताहरुसंग आफ्नो वैचारिक प्रतिवद्धता जाहेर गर्न सम्भवतः उपयुक्त फोरमका रुपमा सिजिटिएन लाई लिए र भने हामीले माक्र्सको जन्मको दुई सतवार्षिकी मनायौं, माक्र्सको औचित्यता अहिले मात्र सान्दर्भिक छ भन्ने होईन यो संधै सान्दर्भिक रहने छ अझ बलियो हुँदै जाने मलाई विश्वास छ ।
ग्लोवल टाईम्समा प्रकाशित अन्तरर्वातामा केपी ओलीले नेकपाको अध्यक्षका रुपमा विश्व कम्युनिष्ट आन्दोलनमा नेपालले पुर्र्यारहेको योगदानको चर्चा गरेका छन र कम्युनिष्ट आन्दोलनप्रति प्रतिवद्धता व्यक्त गरेका छन । साथै उनले समाजवादको बाटो कस्तो अप्नाईने छ भन्नेमा चिनसंगका आफ्ना भिन्नतालाई पनि प्रष्ट पारेका छन । यहाँनिर उनले चिनीया समाजवादको प्रशंसा गरेर पनि नेपालले लिने बाटो चिनको जस्तो हुन्न, नेपालले लोकतान्त्रीक (उदार लोकतन्त्र) बाटोबाट, जनअनुमोदनको बाटोबाट नै समाजवादतिर जाने बाटो लिनेछ भन्ने प्रष्ट पार्न पनि छाडेका छैनन । उनले नेपालका कम्युनिष्टहरुले आफ्नै विशेषतामा आधारित साम्यवादी वाटो लिएको र कम्युनिष्ट आन्दोलनलाई योगदान गरेको भन्न विर्सेका छैनन । 
पार्टि स्कुल विभागमा उनले बोलेको भन्दै राससले प्रेसित गरेको समाचार हेर्दा ओलीले चिनीया कम्युनिष्टहरुलाई नेपालका कम्युनिष्टहरु पनि उनीहरुसंगै यात्रामा छन भन्ने सन्देश प्रवाहित गर्न खोजेको सन्देश दिन्छ । नेकपाको अहिलेका वैचारिक अवस्थाका बारेमा प्रष्ट पार्नुका साथै उक्त मञ्चमार्फत नेपालका दुई कम्युनिष्ट धारहरु बहुदलीय जनवादी र जनयुद्धबाट आएको माओवादीका ईतिहासको स्वामित्व ग्रहण गरेको सन्देश प्रवाहित गरेका छन । 
विश्वव्यापी पहुँच भएका सिजिटिएन र ग्लोबल टाईम्समा प्रकाशित अन्तर्वार्ताहरु र चिनीया कम्युनिष्ट पार्टिको वैचारिक कामको मुख्य नेतृत्व गर्ने स्कुल विभागको लेक्चरका आधारमा भन्दा ओलीले यसपटक आफुलाई कम्युनिष्ट नेताका रुपमा नै विश्वव्यापी रुपमा ब्राण्डिङ गर्न खोजेको संकेत मिल्छ । भरखरै माओवादी केन्द्रसंग एकता गरेर संसारकै ठुला कम्युनिष्ट पार्टि मध्यको एक बनेको र निर्वाचन बाट सत्तामा जाने यो एशियाकै पहिलो कम्युनिष्ट पार्टिको नेताका रुपमा उनीप्रति विश्वको ध्यान गएको समय पनि हो यो । यीनै फोरम मार्फत उनले पुँजीवादी व्यबस्थाको आलोचनामा पनि आफुलाई उभ्याएका छन । यी सबैले नेपालमा क्रोनी क्यापिटालिष्ट सिष्टमका खुट्टाहरुमाथि राखिएको घुम्ने मेचमा बसेर सरकार चलाईरहेका उनको वैचारिक धुरी नेपालमा चिनीएको भन्दा भिन्न देखाउँछन । 
ओलीको नेपाली समाजवाद
“चिनले अख्तियार गरेको नियन्त्रीत र अनुकुल समाजको उदार नीतिबाट हामीले सिक्न सक्छौं” कान्तीपुरका लागि बेईजिङबाट दिएको अन्तरवार्तामा अभिव्यक्त ओलीको भनाई र उनले आफुलाई कम्युनिष्ट नेताका रुपमा स्थापित गर्न विभिन्न मञ्चहरुलाई गरेको उपयोगका विच के तालमेल छ भन्ने प्रश्न नेपालमा उठेको छ । शक्तिको केन्द्रीकरणका लागि प्रधानमन्त्री कार्यालयले गरिरहेको प्रयास र यो अभिव्यक्तिप्रति विच तालमेल खोजेर प्रश्न उठाउनेहरु पनि छन । तर उनले माथि उल्लेखित फोरमहरुबाट नेपालले लिने समाजवादको बाटो वर्तमान संविधान भित्रैबाट खोजीने र  अरु देशको नक्कल गर्नेतिर नलाग्ने भन्दै उदार लोकतन्त्रलाई नै समाजवादसम्म पुग्ने बाटोको रुपमा व्याख्या गरेका छन । यी भनाईले कमसेकम वोलीले नै भएपनि यता उठाईएका आशंकाहरुको खण्डन गर्छन ।
ओली भ्रमणको यो देव्रे पाटोबारे विश्वले र खासगरि भारतीय तथा युरोपेली संस्थापनले कस्तो प्रतिक्रिया जनाउँछ, विश्वमै कम्युनिष्टहरुले ओलीलाई कसरी लिन्छन त्यो प्रष्ट हुन भने समय लाग्ने छ ।
Nayapatrika, Asar 14, 2018

Comments

Popular posts from this blog

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.

these Photos were taken in Qinghai lake China last year.